चीनमा कोभिडः रातमा दम्पत्ति अलग्गै सुत्नू, चुम्बन पनि नगर्नू भन्दै सडकमा स्वास्थ्यकर्मीको उर्दी
एजेन्सी – कोभिड–१९ का कारण लकडाउनमा परेको सांघाईका स्थानीय बासिन्दा निकै कष्टकर जीवन बिताइरहेका छन् । प्रतिबन्धको समयमा सहरका सर्वसाधारणले झेल्नु परेका समस्या र उनीहरूलाई दिइएका निर्देशनका झलकहरू सामाजिक सञ्जालहरूमा पोष्ट हुन थालेका छन् । कतिपय पोस्ट भाइरल बनेका छन् ।
सांघाई कोभिड १९ को हटस्पट बनेको छ । पछिल्लो केही दिनयता दैनिक संक्रमितको संख्यामा कमी आए पनि अन्य देशको तुलनामा संक्रमण दर उच्च छ । सहरका २ करोड ६० लाख मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ ।
सांघाईका बासिन्दाहरूले पोस्ट गरेका भिडियोहरूमा ड्रोनहरूले सूचना दिएको देखिन्छ । ड्रोनहरू आकाशमा देखा परेपछि बासिन्दाहरू आफ्नो बार्दली बाहिर निक्लिएर आपूर्तिको अभावमा विरोध गरेका देखिन्छन् । चीनको सामाजिक सञ्जाल विबोमा पहिलो पटक सेयर गरिएको सो भिडियोलाई पछि ट्विटरमा राखिएको थियो ।
ड्रोनहरूले मानिसहरूलाई कोभिड प्रतिबन्ध पालना गर्न र ‘स्वतन्त्रताको लागि आफ्नो इच्छालाई नियन्त्रण गर्न’ निर्देशन दिएका छन् । मानिसहरूलाई झ्याल नखोल्न र गीत नगाउन भनिएको छ ।
As seen on Weibo: Shanghai residents go to their balconies to sing & protest lack of supplies. A drone appears: “Please comply w covid restrictions. Control your soul’s desire for freedom. Do not open the window or sing.” https://t.co/0ZTc8fznaV pic.twitter.com/pAnEGOlBIh
— Alice Su (@aliceysu) April 6, 2022
यस्तै अर्को भिडियोमा स्वास्थ्यकर्मीहरूले सांघाईको सडकमा सार्वजनिक घोषणा गर्न मेगाफोन प्रयोग गरेका देखिन्छन् । ‘आज रातिदेखि जोडीहरू छुट्टै सुत्नु पर्छ । चुम्बन गर्नु हुँदैन । अंगालो हाल्न अनुमति छैन । छुट्टै खाना खानु पर्छ । तपाईंको सहयोगका लागि धन्यवाद’, स्वास्थ्य कार्यकर्ताहरूले स्थानीय बासिन्दाहरूलाई भने ।