गभर्नर अधिकारीलाई हटाएकोमा ओली असन्तुष्ट, ‘थुतुनोभरि रौँ भएको मुसाले धान खायो, भ्यागुतोले चोट पायो’ (भिडियोसहित)

काठमाडौं । सरकारले गभर्नर महाप्रसाद अधिकारी निलम्बन गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट व्यक्त गरेका छन् । महत्वपूर्ण सूचना चुहाएको भन्दै शुक्रबार सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।
यही कुरालाई लिएर शनिवार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले अधिकारीलाई कारबाही गरेकोप्रति असन्तुष्टि जनाएका हुन् । अर्थतन्त्र ध्वस्त पार्ने काम अर्थमन्त्री जनार्दन शर्माले गरेको तर कारवाहीमा चाहीँ गभर्नर परेको बताए ।
देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई नै सरकारले निलम्बन गरेको भन्दै उनले व्यंग्य पनि गरे । अर्थतन्त्र जोगाउनेलाई बलिको बोको बनाइएको उनको भनाई छ ।
उनले भने – ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो । एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्यो। धान खाने मुसो । चोट खाने भ्यागुतो । त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो, ध्वस्त पार्यो।’
गभर्नर निलम्बन गर्नु गलत भएको भन्दै ओलीले भने – ‘राष्ट्र सेवक, एउटा अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो ।’