समाचार

‘कोशी प्रदेश अब लगानीमैत्री गन्तव्य बन्छ’ : मुख्यमन्त्री कार्की

NepalOne
१६ वैशाख २०८२ २१:२४

बिर्तामोड, १६ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले कोशी प्रदेशलाई लगानीमैत्री गन्तव्य बनाउने सपना अब यथार्थमा परिणत हुने विश्वास व्यक्त गर्नुभएको छ ।

लगानी सम्मेलनको तयारीबारे राससलाई जानकारी दिँदै उहाँले आर्थिक समृद्धिको मूल आधार बनाउने दृढ विश्वासका साथ कोशी प्रदेश सरकार अघि बढेको र अथाह सम्भावनासहित तयारी अवस्थामा रहेको बताउनुभयो । 

कोशी प्रदेश सरकारले यही १८ गतेदेखि विराटनगरमा आयोजना गर्न लागिएको ऐतिहासिक लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले अबका दिनमा कोशी प्रदेशले आर्थिक छलाङ मार्ने विश्वास बढेको बताउनुभयो ।

मुख्यमन्त्री  कार्कीका अनुसार कोशी प्रदेश सरकारले ऊर्जा, पूर्वाधार, कृषि, पर्यटन, उद्योग तथा सूचना प्रविधिलाई प्राथमिक लगानी क्षेत्रका रूपमा पहिचान गर्दै सम्मेलनमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

“हामीले लगानीकर्ताका लागि सहुलियत, सुरक्षा र सहजीकरण सुनिश्चित गरेका छौँ”, उहाँले भन्नुभयो, “सम्मेलनपछि कोशी प्रदेशमा प्रत्यक्ष वैदेशिक र आन्तरिक लगानी प्रवाह तीव्र हुनेछ ।”

मुख्यमन्त्री कार्कीले सम्मेलनलाई प्रदेश विकासको ‘टर्निङ प्वाइन्ट’ का रूपमा चित्रण गर्दै भन्नुभयो, “यो केवल सम्मेलन मात्र होइन, दीर्घकालीन आर्थिक नीतिको यात्राको थालनी हो । हामीले नीति, संरचना र मनोवृत्तिमा आमूल परिवर्तन ल्याउने अठोट गरेका छौँ ।”

कोशी प्रदेशले सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, निजी क्षेत्रका अग्रणी व्यवसायी, बैंक तथा वित्तीय संस्था, विदेशी नियोग, विकास साझेदार र विभिन्न मुलुकका सम्भावित लगानीकर्ताको सहभागिता रहने जनाएको छ । प्रदेश सरकारले सम्मेलन सफल पार्न व्यापक प्रचारप्रसार, नीति सुधार र समन्वयात्मक पहलहरू अघि सारेको बताइएको छ ।

प्रतिक्रिया