पूर्वअर्थमन्त्रीहरुको एउटै आवाज – अर्थतन्त्र गलत व्यक्तिको हातमा पुग्यो, अर्थमन्त्री शर्मा नै भाग्ने अवस्था आउन सक्छ (भिडियो)

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनले सो कुरा गरेका हुन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको भनाई छ ।
मुलुकमा व्यापार घाटा निकै बढेको भन्दै उनले भने – ‘आठ महिनामा आठ खर्ब आयात भइसकेको छ । अवर्षभरिमा २२ खर्बको आयात हुनेछ । दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ । ‘
यस्तै पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अहिलेको अवस्थामा राजनीतिकभन्दा पनि आर्थिक समस्या सुल्झाउनेतिर लाग्नुपर्ने बताए । देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको भन्दै पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा नै भाग्ने अवस्था आउन सक्ने बताए ।
सरकारका अर्थतन्त्रलाई सुधार गर्न नसकेर त्यसको दोष राष्ट्र बैकमा गर्भनरमाथि लगाइरहेको भन्दै उनले अहिलेकै अवस्था रहने हो भने एकदिन अर्थमन्त्रि नै भाग्नुपर्ने अवस्था आउने सक्ने बताए ।
पूर्व अर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ ।
उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए । ‘यो सरकारले सही नीति लिएर प्रभावकारी ढंगबाट अगाडि बढ्न चाहेको भए यो अवस्थामा आउने थिएन् । आर्थिक अवस्था यस्तो हुने थिएन् । पुरै अर्थतन्त्र ध्वस्त बनाइसक्यो । मुलुक श्रीलंका बन्ने अवस्थामा पुगिसक्यो ।’ पौडेलले भने ।