सत्तारुढ गठबन्धनमा तालमेलको बिषय नै विवादमा

काठमाडौं – सत्तारुढ गठबन्धनमा आउँदो स्थानीय तहको चुनावमा तालमेल गर्ने निर्णय भएपनि कहाँ कसरी तालमेल गर्ने भन्ने बिषयमा निष्कर्ष निस्कन सकेको छैन । केही जिल्लामा तालमेलको बिषयमा छलफल भएपनि कुनै जिल्लामा अझै यस बिषयमा कुरा हुन सकेको छैन । गठबन्धनबाट कुन दलको को उम्मेदवार बन्ने भन्ने बिषय नै विवादमा छ ।
आइतबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिले चुनावी तालमेल गर्दा स्थानीय सहमतिलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
उक्त बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनको बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना अनुसार अगाडि बढ्ने, प्रदेश र जिल्लाले चैत मसान्तभित्र पाँच दलीय बैठक राखी सहमती कायम गरी केन्द्रमा पठाउने र गठबन्धनको शिर्ष नेतृत्वबाट स्थानीय तह निर्वाचन लगायत आवश्यक समसामायिक बिषयमा संयुक्त अपिल जारी गर्ने निर्णय गरेको थियो ।
गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बस्दैछ । विहान ९ बजे बस्ने सत्ता गठबन्धनको बैठकले चुनाव परिचालन समितिले आइतबार गरेको छलफलको निष्कर्ष र सुझावहरूमाथि छलफल गर्नेछ ।