गठबन्धन जति ठूलो भए पनि एमाले जति पुग्दैन – ओली

गठबन्धन जति ठूलो भए पनि एमाले जति पुग्दैन – ओली

बझाङ – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बझाङ जिल्लाका मतदातालाई सम्बोधन गर्दै विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।

एमाले प्रतिपक्षमा भए पनि जनआर्कषर्ण भएको उनले बताए । नेकपा एमाले जनताको पार्टी भएकाले एमालेमा गोलबद्ध हुन उनले बझाङवासीलाई आग्रह गरेका छन् ।उनले एमाले बालबालिकादेखि वृद्धवृद्धाको पक्षधर पार्टी भएको बताए । उनले आफूहरू आधुनिक नेपाल निर्माणको अभियानमा लागेको बताएका थिए ।

‘जब एमाले पहिलो पटक सरकारमा सहभागी भयो, आफ्नो गाउँ आफै बनाऊँ अभियान, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका उत्कृष्ट कार्यक्रम ल्यायो,’ उनले भने ।

एमालेले नेतृत्व गरेको समयमा मुलुकले उत्कृष्ट विकास गरेको ओलीको दाबी थियो । एमाले नेतृत्वको सरकार सधैँ निर्माण कार्य गरेर अर्थतन्त्रको विकास गर्ने तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र समाप्त गरेको उनले बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए ।

nepal one