जनताप्रति जिम्मेवार नभएको गैरजिम्मेवार गठवन्धन सरकार – ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले परमादेशबाट बनेको अहिलेको गैरजिम्मेवार गठवन्धन सरकारको केहि भर नभएको बताएका छन् ।
मंगलबार ‘संघर्षशील योद्धाहरु’ नामक पुस्तक लोकापर्ण समारोहमा बोल्दै ओलीले सो कुरा गरेका हुन् । सरकार जनताबाट नभई परमादेशबाट बनेको भन्दै ओलीले यो सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने बताए ।
समय हिजोको जस्तो नभएको भन्दै उनले यो सरकार जनताप्रति जिम्मेवार नभएको बताए । उनले भने – ‘समय त हिजोको जस्तो छैन । तर सरकार चाहिँ उसै वेलाको जस्तो छ, जालझेल, तिक्डम गर्ने खालको, जनताबाट नआएको परमादेशबाट आएको, जनताप्रति जिम्मेवार नभएको गैरजिम्मेवार भएको’
उनले यो सरकार चुनाव गरेर लोकतन्त्र जोगाउनेभन्दा चुनावका लागि काम नगरेर षडयन्त्र गर्ने खालको पनि आरोप लगाए ।