गठबन्धनभित्र तालमेलको टुङ्गो भोलिसम्म लाग्छ, भरतपुर महानगरको विषय आरामसँग टुङ्गिन्छ – प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीच बैशाख ३० गते हुने स्थानीय तहको चुनावको तालमेलको टुङ्गो भोलिसम्म लाग्ने बताएका छन् ।
शनिवार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सो कुरा गरेका हुन् । उनले शनिवार साँझ सम्मनै खाका तयार हुने बताए । उनले भने – ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।’
निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै दलहरुबीचमा सहमति हुन समय लाग्नु स्वभाविक भएको बताए ।
भरतपुर महानगरको मेयरका विषयमा पनि छलफल भइरहेको भन्दै यो आरामसँग टुंगिने बताए । उनले भने – ‘केही समस्या हुँदैन। सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।’ उनले उम्मेदवारीका बिषयमा पनि गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको बताए ।