चितवन – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वन्यजन्तु संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जको ५०औँ स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस, २०७९ को अवसरमा आज कसरामा आयोजित कार्यक्रममा उहाँले वन र वन्यजन्तु संरक्षणमा ठूलो चुनौती रहेको भन्दै यसमा साथ र सहयोग समुदायको हुनुपर्ने बताउनुभयो ।

उहाँले वन्यजन्तु वनमा र मानव समुदायमा रहनुपर्ने बताउँदै भन्नुभयो, “तपाईंहरूले वन्यजन्तुको संरक्षण गर्नुहोस् । तपाईंहरुको संरक्षण सरकारले गर्छ ।” समुदायका लागि जीविकोपार्जनका कार्यक्रम मन्त्रालयले गर्ने उहाँको भनाइ थियो ।

निकुञ्ज ऐन, २०२९ ले समस्या सिर्जना गरेको भन्दै उहाँले भन्नुभयो, “यो ऐन मानिसको आवश्यकताअनुसार परिवर्तन हुन्छ ।” यस ऐनका कारण पनि मानव र जनावरबीच द्वन्द्व बढ्दै गएको उहाँले बताउनुभयो ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन सरकारले काम सुरु गरेको उहाँले बताउनुभयो । वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन नयाँ उपकरण जडान गरी वन्यजन्तु बस्तीमा पस्न रोक्ने तथा अन्य गतिविधि निकुञ्जले गर्ने उहाँको भनाइ थियो । भारतमा सफल परीक्षण भइसकेको एनाइडर प्रविधिको यहाँ पनि प्रयोग गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भारतको झारखण्ड र उत्तर प्रदेशमा जनावर र मानवबीचको द्वन्द्व कम गर्न प्रयोग भएको उपकरण यहाँ पनि प्रयोग गर्ने तयारीमा छौँ ।” यसका लागि सरकारले रु दुई करोड बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “अहिले बोलपत्र आह्वान गर्ने तयारी भइरहेको छ ।” यसले जनावरलाई बस्ती पस्न रोक्न मद्दत पुग्ने उहाँले जानकारी दिनुभयो ।

वातावरणको संरक्षण गर्न नसक्दा अहिले जलवायु परिवर्तनको समस्या बढ्दै गएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “वातावरण संरक्षण गर्न नसक्दा जलवायु परिवर्तनको असर नेपालमा देखापर्न थालेको छ ।” जलवायु परिवर्तनको विषयमा विज्ञहरुसँग परामर्श गर्ने काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पनि ‘क्लाइमेट इमर्जेन्सी’ लगाउनुपर्ने समय आइसकेको छ । विज्ञहरुको राय आएपछि निर्णय लिन्छौँ ।”

वक्ताहरुले निकुञ्ज र समुदायबीच द्वन्द्व न्यूनीकरणका लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताएका थिए । राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउन नसक्दा निकुञ्ज र समुदायबीच दूरी कम हुन नसकेको उनीहरुको भनाइ थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जमा अहिले भएका गतिविधि र विगतका कामका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा जैविक विविधता संरक्षणमा सहयोग पु¥याउने, वन्यजन्तु संरक्षणमा काम गर्ने, संरक्षणका विषयमा कलम चलाउने पत्रकारलाई सम्मान गरिएको थियो ।

निकुञ्जले ५०औँ स्थापना दिवस पारेर वर्षभरि विभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ । निकुञ्जले प्रकाशन गरेको स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण र वृत्तचित्र प्रदर्शन गरिएको थियो । विसं २०३० मा स्थापना भएको यो नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । असोज ४ गते निकुञ्ज ५०औँ वर्षमा प्रवेश गरेको छ ।

YouTube0
YouTube
RSS
Follow by Email