मोनिका सिंह / महिनौँसम्म सिट बाँडफाँड टुङ्ग्याउन नसकरहेको  सत्ता गठबन्धनलाई  सिट बाँडफाँड भारभारत मात्र भइरहेको छैन यसको व्यवस्थित व्यवस्थापन गर्न नसकै आफ्नै लागि  गलपासो बन्ने देखिएको छ ।

टिकट पाउने र नपाउनेहरू बिच दलभित्र देखिएको आन्तरिक असन्तुष्टिले आमनिर्वाचन गठबन्धन दललाई आफैमा घातक साबित हुनसक्ने अवस्था बन्दै गएको  छ।

निर्वाचनको मिति नजिकिए पनि अझै गठबन्धनमा आबद्ध दलहरूले टिकटको टुङ्गो लगाउन सकिरहेका छैनन् । टिकट बाँडफाँडको सकसमा फसिरहेका गठबन्धनका शीर्ष नेताहरूलाई यत्तिखेर आ–आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको घुर्की सहनु परिरहेको छ ।

दैनिकै जसो बस्दै आएका बैठकलाई निर्णायक बैठक भन्ने गरिए पनि, गठबन्धनको निर्णायक बैठक कहिले सकिने हो त्यसको अझै कुनै टुङ्गो छैन । यता गठबन्धन भित्रैका दलहरूभित्र देखिएको किचलोले भने, आगामी चुनाव गठबन्धन भित्रैका दललाई फलामको चिउरा चपाउनु सरह हुने देखिँदै छ ।

सिट बाँडफाँट गर्न गठित कार्यदलले दिएको सुझावका आधारमा भन्दै दैनिक जसो गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा निर्णय बैठक बसिरहेका छन् । जति नै बैठक बसे पनि गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस १०० सिटबाट ८० मा झर्न तयार छैन । उता गठबन्धन गरेर ठुलै भाग पड्काउला भनेर मुख मिठ्याइरहेको माओवादी केन्द्र ५० बाट तल झर्न चाहाँदैन । अनि खाँसै उल्लेख्य सिट नजित्ने आँकलन गरिएको नेकपा समाजवादी अझै २५ बाट टसमस गर्ने पक्षमा देखिँदैन ।

१ सिट भागमा पाउने चाल पाइसकेको जनर्मोर्चाको,दुई सिटको दाबी अझै कायमै छ । उता नेता र कार्यकर्ताहरूले रातारात पार्टी छोड्दै रित्तिँदै गएका जसपाका उपेन्द्र यादव पनि २५ सिटको दाबीबाट पछि हट्ने मोडमै देखिदैन्न ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले दुई हप्ताअघि नै ८० प्रतिशत सिटमा सहमति जुटिसकेको बताएका थिए । दुई साता अघि मिल्यो भनेर प्रचार गरिएको गठबन्धन भित्रको ८०–२० को यो किचलो अझै जारी छ ।

उता यिनै दलभित्रको आन्तरिक असन्तुष्टि थप चुलिँदै गइरहेको देखिन्छ । आफ्नो भागमा के कति भाग पाउने भनेर विवादमा बसेका दलका नेताहरूलाई यत्तिखेर आ–आफ्नै पार्टी भित्रका गुट, उपगुट र आकाँक्षिहरुको दबाब व्यवस्थापन थप चुनौती बन्दै गइरहेको देखिन्छ ।

आफ्नै पार्टीभित्रको दबाब र गठबन्धनभित्रको सीमितताको चेपुवामा फसिरहेका गठबन्धनका शीर्ष नेताहरूसँग अबको एक साता भित्र आन्तरिक र बाह्य अन्तर्विरोध हल गर्न नसके परिणाम भयानक व्यर्होनु पर्ने निश्चित छ ।

यतिखेर गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको शेखर समूह आन्तरिक न्याय नपाएको भन्दै सानेपाको ढोकाबाटै विद्रोहको धम्की दिइरहेको छ । माओवादीका जिल्ला जिल्लाबाट पनि सामूहिक राजीनामा र पार्टी छोड्नेको लर्को लागेको छ । नेकपा एस र जनता समाजवादीका कार्यकर्ताहरूलाई एमालेले स्वागत गरेको गरै छ ।

पार्टीले आफ्नो समूहलाई सम्मानित भाग नदिए काँग्रेसको शेखर समूह धेरै ठाउँबाट बागी उठ्ने तयारीमा देखिन्छ । त्यसोहुँदा टिकट व्यवस्थापनमा सही तरिका मिलाउन नसके निर्वाचन अघि नै  काँग्रेस चिरा पर्न सक्छ ।

काँग्रेस सभापति देउवालाई आफ्नै पार्टी मिलाउन नसक्नेले पाँच दलीय गठबन्धनको नेता बोकेर हिँडेको भन्दै विद्रोहको धम्की प्रत्येक दिन सुन्न परेको परै छ उता काँग्रेसको विवाद मिलाउन नसके माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेसकै बागीसँग भिड्न पर्ने खतरासमेत देखिँदै छ ।
काँग्रेसका नेता गुरुराज घिमिरेले त विद्रोह नै गर्न परे देउवा मात्र होइन गठबन्धनका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताविरुद्ध नै उम्मेदवारी दिइने घोषणा नै गरिसक्नुभएको छ ।

गठबन्धनमा रहे कोइराला समूहका नेताहरूले प्रतिनिधि सभामा १६५ मध्ये १०० सिट काँग्रेसले राख्नुपर्ने बताउँदै आइरहेका छन्न । गगन शेखरले आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्न आफैले पाएको टिकटसमेत च्यातेर आउनुपर्ने अवस्था बन्दै छ । उता सभापति देउवा भने ८० देखि ८५ सिटसम्म पाए पनि पुग्ने मनस्थितिमा अझै छन् ।

उता काँग्रेसलाई गलाएर अन्तिम समयसम्म ठुलै भाग हात पार्ने र स–सनादलहरुलाई चुनावपछि एकता गरेर मुलुकको सबैभन्दा ठुलो दलको अध्यक्ष बन्ने सपना देखिरहेका माओवादी अध्यक्ष प्रचण्डलाई पनि यत्तिखेर काँग्रेस भित्रको आन्तरिक किचलो टाउको दुखाइको विषय बनी रहेको छ ।

कोइराला समूहको विद्रोह रोक्न नसके गठबन्धनको सबै सपना क्षणभरमै सखाप हुने खतरा देखेका प्रचण्डसामु काँग्रेसलाई बढी सिट दिएर काँग्रेस एक्लैको बहुमत  बनाइदिने छुट छैन । काँग्रेसले मागे जति दिए आफै नाङ्गिने, नदिए गठबन्धन नै समाप्त हुने खतरा देखेका प्रचण्ड यत्तिखेर आफ्नै पार्टीभित्रको असन्तुष्टिको थप चेपुवामासमेत छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा हुन नसकिरहेको टिकट बाँडफाँडको सकसले मात्र हैन, सम्भावित टिकट बाँडफाँडपछि अवसर पाइने वा नपाइने भन्ने अग्रिम आकंलनले गठबन्धन भित्रका दलहरूको जरा यत्तिखेर नराम्ररी हल्लाइदिएको छ ।

आफूले र आफ्नो पार्टीले भनेको ठाउँमा टिकट नपाए गठबन्धनको औचित्य नै नभएको घुर्की र धम्की प्रत्येक पार्टीका नेता र कार्यकर्ताले गरेसँगै सत्ता गठबन्धनको ठुलो दल नेपाली काँग्रेस कतै गठबन्धन नै भत्काएर एक्लै चुनावमा त होमिँने होइन ? प्रश्न सर्वत्र चासाको बनिरहेको छ ।

अन्तिम समयसम्म  सम्भावित  बाम पार्टीहरूको एकता रोक्ने र आन्तरिक व्यवस्थापनको समस्या देखाएर नेपाली काँग्रेस एक्लै चुनावी संग्राममा होमियो भने काँग्रेसले अहिले भागबन्डामा पाएको भन्दा बढी सिट जित्ने आङ्कलन शेखर समूहले गरिरहेको छ । यदि त्यसो भयो भने उता काँग्रेसको मतबाट संसद्को कठिन यात्रालाई सहज तुल्याउन मुख मिठ्याएर बसेका साना दलहरूको चुनावी परिणाम सर्वनाक हुने निश्चित छ ।

शक्तिअनुसारको बाँडफाँड र हैसियत बिनाको असन्तुष्टिको विवाद मिलाउने वा त्यसै छोड्ने भन्ने कुराले गठबन्धनको आगामी चुनावी यात्राको छिनोफानो हुने देखिन्छ । अहिलेलाई चाहिँ यत्ति मात्र भनौँ, गठबन्धन भित्रको आन्तरिक असन्तुष्टि र असन्तुलित टिकट बाँडफाँड, जारी नै रहे,यो कदम उसैका लागि गलपासो बन्ने निश्चित छ ।

YouTube0
YouTube
RSS
Follow by Email