सबै राजनैतिक दल दलिय स्वार्थभन्दा मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी – गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबै राजनैतिक दल दलिय स्वार्थभन्दा मुलुकलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ । गण्डकी प्रदेशसभा सचिवालयद्वारा पोखरामा आज आयोजित शुभकामना आदानप्रदान तथा कदरपत्र वितरण समारोहमा उहाँले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै मुलुकको विकास र समृद्धिका लागि राजनैतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भई तीन तहका सरकार निर्माण भएको स्मरण गराउँदै उहाँले उक्त उपलब्धिलाई टेकेर प्रदेशसभा निर्माण भएको स्पष्ट पार्नुभयो । जनताले प्रदेश सरकारबाट जुन आशा गरेका थिए त्यो पूरा गर्न सकियो वा सकिएन आत्मसमीक्षा गरेर अघि बढनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “चुनावमा हारजितभन्दा पनि महत्वपूर्ण मुलुक र संविधान हो भन्ने सबैले बुझ्नु अपरिहार्य छ ।”
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले शून्य अवस्थाबाट शुरु भएको प्रदेश सरकारले स्थापनाको पाँच वर्षको अवधिमा कानुन निर्माणसँगै विकास निर्माणको जग बसाल्न सफल भएको बताउनुभयो । मुलुकमा भएका परिवर्तनसँगै जनताका इच्छा र आकांक्षा पूरा गर्न नसकिए पनि विकास निर्माणका आधार तयार भएको उल्लेख गर्दै उहाँले कतिपय अधिकार सङ्घले हस्तान्तरण नगर्दा कामले सोचे जस्तो गतिलिन नसकेको बताउनुभयो । विकास निर्माण र समृद्धिको अभियानमा प्रदेशसभामा सबै दलको आपसी सहयोग रहेको बताउँदै उहाँले भन्नुभयो, “निर्वाचनपश्चात बन्ने प्रदेशसभा र सरकारलाई काम गर्ने वातावरण बनेको छ ।”
सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाबाट पाँच वर्षको अवधिमा ५९ कानुन निर्माण गरी कार्यान्वयको चरणमा रहेको जानकारी दिनुभयो । प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वव्यापीरुपमा पैmलिएको कोभिड–१९ को सङ्क्रमणमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेर औचित्य पुष्टि गरेको बताउनुभयो ।
प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रसहित उज्यालो प्रदेश, एकघर एक धाराजस्ता जनतासँग जोडिएका कार्यक्रम सञ्चालन गरेर मुलुकमा अब्बल प्रदेश बनेको बताउँदै उहाँले निर्माण भएका कानुनको कार्यान्वयन तथा समृद्धिका आधारको निरन्तरतामा जोड दिनुभयो । कार्यक्रममा पाँच वर्षे सफल कार्यकाल पूरा गर्न सफल गण्डकी प्रदेशसभाका सम्पूर्ण सदस्यलाई कदरपत्र वितरण गर्नुभएको थियो ।