नवगठित मन्त्रिपरिषद्को बैठक आजै बस्ने

नवगठित मन्त्रिपरिषद्को बैठक आजै बस्ने

काठमाडौँ । नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार सोमबार साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको हो ।

एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बन्नुभएको छ । एमाले उपाध्यक्षसमेत रहनुभएका पौडेललाई अर्थमन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मन्त्री बन्नेहरूमा एमालेबाट दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई रहनुभएको छ । त्यस्तै जनमत पार्टीका उपाध्यक्षसमेत रहनुभएका अब्दुल खानले पनि मन्त्रीको शपथ लिनुभएको छ ।

Reporter