नेपाल टी २० मा जकपुरको चौथो जित

नेपाल टी २० मा जकपुरको चौथो जित

काठमाडौं  / समिउल्लाह शिनवारीको अविजित ७८ रनप्रेरित जनकुपर रोयल्सले शनिबार नेपाल टी २० लिगमा विराटनगर सुपर किङ्ग्सलाई ४९ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले पाँच विकेटको क्षतिमा एक सय ८९ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा सात विकेट गुमाएर एक सय ४० रन मात्रै बनाउन सक्यो।

विराटनगरका लागि ओपनर गौरान्सु शर्माले ३३ रनको योगदान गरे। त्यस्तै, हुसेन तलत ४२ रन जोडेर पेभेलियन फर्किँदा प्रदीप ऐरी ३६ रनमा अविजित रहे।

जनकपुरका लागि शिनवारीले सर्वाधिक तीन तथा ललित राजवंशीले दुई विकेट लिए।

पहिलो इनिङमा जनकपुरका लागि ४० बलको सामना गरेका शिनवारीले ६ चौका र ६ छक्कासहित अविजित ७८ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, चाडविक वाल्टनले २९ र कप्तान ट्रेभोन ग्रिफिथले १९ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।

बलिङतर्फ विराटनगरका लागि सूर्य तामाङ र हुसेन तलतले दुई–दुई तथा नन्दन यादवले एक विकेट लिएका थिए।

जितसँगै जनकपुर पाँच खेलबाट आठ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। पाँच खेलमा चार अंक जोडेको विराटनगर चौथो स्थानमा छ।

Reporter