नेपाल टी-२० लिगमा काठमाडौंको जित, विराटनगर ३४ रनले पराजित

82 Shares

काठमाडौं ।  काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले विराटनगर सुपर किंग्सलाई पराजित गरेको छ । टियु मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले पराजित गरेको हो ।

खेलाडी र आयोजक बीचको विवादका कारण ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो । जसमा काठमाडौंले दिएको ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि गौरान्शूं शर्मा २२ तथा विवेक यादव १२ रनमा आउट भए । काठमाडौंका लागि कमल सिंह ऐरीले ३ तथा सुनाम गौतम र अनिल खरेलले समान २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाडौंका लागि सन्दिप रजालीले अविजित ३२ रन बनाउँदा कमलसिंह ऐरी १४ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा एलेक्स ब्लेकले १३ रन बनाए । विराटनगरका लागि नन्दन यादवले ३ तथा हुसेन तलत र कियोन जोसेफले समान १\१ विकेट लिए ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सलाई पराजित गरेको छ । लुम्बिनीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

त्यसअघि पारिश्रमिक नपाएको भन्दै दुवै टोलीले टस गर्न मानेका थिएनन् । विवादपछि क्यानका पदाधिकारी, नेपाल टि२० गर्भनिङ काउन्सिलका पदाधिकारी लगाएतको छलफलपछि खेल सूचारु गर्ने सहमति भएको थियो । खेल सुरु हुनुअघि ४० प्रतिशत पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएपनि हालसम्म खेलाडीले पैसा नपाएको बताएका थिए । क्यानको रोहवरमा खेलाडीहरुलाई पारिश्रमिक उपलव्ध गराउने सहमति भएको बताइएको छ ।

सम्बन्धित समाचार

सबै