पाँचथरको फिदिम नगरपालिकाको एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु, दुई घाइते

मिक्लाजुङ । पाँचथरको फिदिम नगरपालिकाको एक घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति मेघबहादुर गुरुङको घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार गए राति १ः३५ बजे अचानक आगलागी हुँदा २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया ममताको जलेर मृत्यु भएको छ । घरधनि मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका उपरीक्षक खतिवडाले बताए । घरमा आगलागी हुदाँ अन्य तीन जना भने भाग्न सफल भएका थिए ।

आगलागीबाट घर पूर्ण रूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षतिहुनसक्ने अनुमान गरिएको छ । आगलागी हुनुमा केही कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

आगलागी नियन्त्रणका लागि रानीटारस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ प्रहरी परिचालन गरिएको थियो ।

Reporter