कांग्रेस बैठक एक हप्ता सर्‍यो, कहिले बस्दै छ संसदीय दलको बैठक ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

२२ गतेकालागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक २८ पुसका लागि स्थगित भएको र २३ पुसमा संसदीय दलको बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनकाअनुसार २३ पुसको दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बस्नेछ । दलका नेतासमेत रहेका देउवाले दलको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनीत गरेका छन् ।

सभापति शेरबहादुर देउवाले चुनावको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही शुक्रबारदेखि बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका थिए । तर प्रतिनिधिसभाको अधिवेशन पुस २५ देखि प्रारम्भ हुने भएपछि सभापति देउवाले पार्टीको बैठकलाई संसदको अधिवेशनभन्दा पछि सारेका हुन् ।

Reporter