भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा एकमहिने माधवनारायण मेलाको शुभारम्भ

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा एकमहिने माधवनारायण मेलाको शुभारम्भ

भक्तपुर ।  भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण मेलाको व्रत शुभारम्भ भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एकमहिने सो मेला आज शुक्रबारबाट सुरु भएको हो ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु भएको छ । साँखुको शालिनदीमा भन्दा पहिलादेखि यस मेला एवं व्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको भनाइ छ ।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ । नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ ।

त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेका छन् । वर्तालुले खाली खुट्टा पैदल नै तील माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने, द्धादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एक महिने व्रत समापन गर्ने परम्परा छ ।

Reporter