मधेस प्रदेशमा सत्ता गठबन्धनकै सरकार बन्छ : रघुवीर महासेठ

जनकपुर /  नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले पुस २८ गते मधेस प्रदेशको मुख्यमन्त्रीको टुङ्गो लाग्ने बताउनु भएको छ ।सचिव महासेठले केन्द्रीय सरकार गठनमा सहयोग गर्ने दलहरूसँग मिलेर मधेस प्रदेशमा पनि सरकार गठन गर्ने र सम्भवतः २८ गते मुख्यमन्त्री चयन गरिसक्ने बताउनु भयो ।

प्रदेशमा २३ सांसदसहित सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेले मुख्यमन्त्रीको दाबी गर्ने कि नगर्ने भन्ने प्रश्नमा उहाँले सो सन्दर्भमा अहिले छलफल भइरहेको बताउनु भयो ।सचिव महासेठले नयाँ सरकार गठनमा सहयोग गर्ने क्रियाशील पार्टीहरू जनमत, जसपा नेपाल, राप्रपा, माओवादी केन्द्रसँग कै सहमतिमा मधेस प्रदेशमा सरकार गठन हुने बताउनु भयो । उहाँले पुस २६ गते प्रधानमन्त्रीले लिने विश्वासको मत लिइसकेपछि मधेस प्रदेशसहित सातै प्रदेशका सरकार गठनको निर्धारण हुने बताउनु भयो ।

मधेस प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमालेको प्रत्यक्ष र समानुपातिक गरी कुल २३, नेपाली काँग्रेसको २२, जसपा नेपालको १६, जनमतको १३, लोसपाको ९, माओवादी केन्द्रको ८ र स्वतन्त्र तर्फ ६ सांसद रहेको छ ।

Reporter