नवनिर्वाचित सांसदहरुलाई समयसीमाको पालना गर्ने अध्यक्ष ओलीको निर्देशन

नवनिर्वाचित सांसदहरुलाई समयसीमाको पालना गर्ने अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नवनिर्वाचित सांसदहरुलाई समयसीमाको पालना गर्ने निर्देशन दिएका छन् । शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरुको दुई दिने प्रशिक्षण कार्यक्रमको शनिबार उदघाटन गर्दै उनले संसदीय गतिविधिमा सहभागी हुने कामलाई पहिलो प्राथमिकतामा राख्न र समयसीमाको पालना गर्ने निर्देशन दिएका हुन् ।

उनले भने, ‘हामीले कुनै पनि कार्यक्रमका लागि समयमा आउने र समयभरी बस्ने र खासगरी हामी सांसदहरुलाई संसदीय अभ्यासमा संसदको बैठकमा भाग लिन नभ्याउने, संसदको काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरु बाहिर–बाहिर भ्याउने भन्ने कुरा हुँदैन ।’ कहिले–कहिले नभ्याउने परिस्थिति पनि पर्न सक्छ । तर आमरुपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौं, हामी सांसद हौं । र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनुपर्छ ।

अध्यक्ष ओलीले नेपालमा नेपालीले सरकार बनाउन नपाउने बाह्य हस्तक्षेपविरुद्ध एमालेले असाधारण हस्तक्षेप गरेर राष्ट्रिय प्रतिरोध गरेको दाबी गरेका छन् । उनले विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय प्रतिरोध गरेर बनाइएको सरकारविरुद्ध खुलेआम चलखेल समेत शुरु भएको बताए । ओलीले नेपालमा अस्थिरताको डरलाग्दो र संगठित प्रयासलाई एमालेले असाधारण ढंगले कोर्स परिवर्तन गरेको भन्दै नेपालमा नेपालीले सरकार बनाउन र चलाउन नपाइने प्रयासलाई असफल पारिएको बताए ।

Reporter