ब्यापारीहरुलाई ६ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउन दुर्गा प्रसाईको माग

ब्यापारीहरुलाई ६ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउन दुर्गा प्रसाईको माग

काठमाडौ / मेडिकल व्यवसायी दुर्गा प्रसाईँले व्यापारीहरूलाई ६ प्रतिशत भन्दा कम ब्याजदरमा ऋण उपलब्ध गराउन माग गर्नुभएको छ । आज काठमाडौंको दरबारमार्गमा आयोजित ‘ब्याजदरका कारण व्यवसायमा परेको प्रभाव’ विषयक कार्यक्रममा बोल्नुहुँदै उहाँले चर्को ब्याजदरका कारण व्यापारीहरू आत्महत्याको बाटोमा गएको बताउनुभयो ।

उहाँले आफूहरूले गिरिजा प्रसाद कोइरालादेखि गणेशमानको झगडा, कृष्ण प्रसाद भट्टराईले सुराकी बोकेका देखि अहिलेका राजेन्द्र लिंगदेन, रवि लामिछाने र बालेनहरु सबैको स्टनबाजी देखेको भन्दै स्टनवाजीले मुलुक नबन्ने बताउनुभयो । गृहमन्त्री रवि लामिछाने प्रति इंकित गर्दै उहाँले भन्नुभयो, ‘लामिछाने जी गृहमन्त्री भएपछि हिजो जनकपुर चुरोट कारखाना बेच्ने, छाला जुत्ता कारखाना बेच्ने, जुट मिल बेच्ने, भृकुटी कागज कारखाना बेच्ने, झापाको ७ हजार विगाह चिया बगान बेच्ने नाइकेहरूलाई समाएर जेल हाल्नु हुन्छ, यै देशमा ती उद्योगहरू खोल्नुहुन्छ भन्ठानेको उहाँ पनि पासपोर्ट छिटो गर्देउन भन्न पो लाग्नुभयो ।’ उहाँले थप्नुभयो,‘यता बालेन फुटपाथमा मकै पोल्न नदिने, उता रवि पार्सर्पोट छिटो बनाइ देऊ भन्ने, यस्तो स्टनबाजीले देश बन्छ रु ’प्रसाईँले प्रश्न गर्नुभयो ।

उहाँले साँच्चिकै देश बनाउने भए धनी राष्ट्रसँग दुई प्रतिशतमा ऋण लिएर यहाँका उद्योगीहरूलाई सस्तो ब्याजदरमा पैसा दिनु पर्ने बताउनुभयो । ‘हामीलाई पासपोर्ट बाँड्ने मान्छे हैन दुई प्रतिशतमा ऋण दिलाएर उद्योग धन्दा खुलाउने मान्छे चाहिएको छ ।’ प्रसाईँको भनाई थियो । सस्तो लोकप्रियताको लागि गरिब जनता लखेट्ने, घर भत्काउने यस्तो धेरै बेर नचल्ने बताउँदै उहाँले सिंगम बन्नु नै छ भने दुबईमा अलपत्र परेका चेलीलाई नेपाल ल्याउन अनुरोध गर्नुभयो । आफ्नो मार्ग दर्शन गीता भएको बताउनु हुँदै प्रसाईँले भन्नुभयो । ‘अरूको दर्शन माक्र्श होलान्, लेनिन होलान् तर मेरो आफ्नो मार्ग दर्शन भनेको गीता हो ।’

आफूहरूले त्यत्रो लडेर ल्याएको गणतन्त्रमा हाम्रा चेलीहरू लघुवित्तको ऋण तिर्न नसकेर झुन्डिनु पर्छ भने त्यो गणतन्त्र लेराएको के काम भन्दै उहाँले सरकारले तत्काल बैङ्क तथा वित्तीय क्षेत्रलाई नियन्त्रण लिन जरुरी रहेको बताउनुभयो । उद्योग बाणिज्य संघका प्रतिनिधि प्रति लक्षित गर्दै प्रसाईँले सरकार सँग गरिएको उनहिरुको वार्ताले केही नुहुने बताउनुभयो । ‘आफै बैंकका साउँ छन्, अनि आफै सरकारसँग वार्ता गर्छन्, यो उद्योग वाणिज्य सङ्घको वार्ता त्यस्तै हो, पीडित व्यापारीलाई केही हुनेवाला छैन’ प्रसाईँले भन्नुभयो ।

उहाँले हिजो हजुरबाहरूले गाउँका सामन्त विरुद्ध आन्दोलन गरेको स्मरण गर्दै अहिलै तिनै गाउँका सामान्तहरु बैङ्क तथा वित्तीय संस्थाका नाउँमा ब्याज उठाइरहेकाले यिनीहरूको विरुद्ध लड्नु पर्ने बेला आएको बताउनुभयो । उहाँले सम्पूर्ण बैङ्क तथा सहकारीहरूलाई सरकारीकरण नगरी मुलुकको अर्थतन्त्र नसुध्रिने दाबी गर्नुभयो । उहाँले कुनै पार्टी र विचारको पछि नलाग्न र आफूहरूको अभियानमा लाग्न पनि सबै व्यापारी,आम जनता र नेताहरूलाई आग्रह गर्नु भयो ।

‘सबैभन्दा पहिला राष्ट्र बचाउ राष्ट्र, त्यसपछि धर्म बचाउ अनि जसलाई प्रधानमन्त्री, मन्त्री के के बन्न मन लाग्छ बनौँला।’ उहाँले भन्नुभयो ।
प्रसाईँले अहिले लाखौँ युवाहरू वैदेशिक रोजगारमा जान विवश हुँदा यो देश हजुरबुवा र नातिहरूको देशमा परिणत भएको बताउनुभयो । दिनहुँ २५ सय भन्दा बढी युवाहरू मुलुक बाहिरिएको भन्दै उहाँले दैनिक जसो सयौँ नेपालीको लास आउने अवस्थाको अन्त्य यै देशमै रोजगारी सृजना गरेर मात्र हुने बताउनुभयो ।

आफूले मात्र पनि दुबई, साउदी र कतारमा रहेका २९ वटा लास आफ्नै नीजि खर्चमा नेपाल ल्याएको बताउँदै उहाँले दुबईका जेलमा रहेका १सय ७० जनामध्ये आफूले ४० जनालाई जेलमुक्त गर्न सकेको बताउनुभयो । विभिन्न देशमा अलपत्र परेका १०० जनाभन्दा बढी नेपाली दाजुभाइलाई निजी खर्चमा उद्धार गरिसकेको बताउँदै प्रसाईँले आफु अहिले षडयन्त्रपूर्ण ढङ्गबाट जेलमा पारिएका अमरबहादुर बमलाइ मुत्यूदण्डबाट मुक्ति दिलाउन दुबईको राजपरिवारसँग आवश्यक परामर्श गरी उनको जीवन रक्षाका लागि आवश्यक रकमको प्रबन्धमा जुटिरहेको बताउनुभयो ।

आफु यत्तिखेर चिसो कठाग्रिंदो जाडोमा लगलग काँप्दै रात बिताउन बाध्य गरिब नेपालीको दुःख देखेर निदाउन नसकेको भन्दै प्रसाईँले अहिले पनि आफूले जाडो पीडित नेपालीहरूलाई हजारौँ सिरक, डसना, ब्लांकेट वितरण गरेका बताउनुभयो । उहाँले मेचीमा किरिया गर्न नसकेका नेपालीहरूलाई आफूले किरिया खर्च र चेलीहरूको विवाह गर्न नसकेका परिवारलाई प्रति व्यक्ति २० हजार दिने बताउनुभयो ।
प्रसाईँले बैङ्क, वित्तीय संस्था तथा सहकारीहरूको साहु महाजनको शैलीको चर्को ब्याजदरका कारण मुलुकमा उद्योग धन्दा खुल्न नसकेको र भएका उद्योग धन्दाहरू धमाधम बन्द हुँदै गएको बताउनुभयो । उहाँले आफु स्वदेशमै रोजगार सृजना होस्, ६ प्रतिशतमा भन्दा न्यून ब्याजमा उद्यमीले कर्जा प्राप्त गर्न सकुन, उद्योग धन्दाहरू खुल्दै जाउन् र सबै नेपालीले घर परिवारसँगै जीवन जीउन पाउन भनेर अभियानमा लागेको बताउनुभयो ।

उहाँले अब बैक तथा वित्तीय संस्थाको अत्याचारको विरुद्धमा देशव्यापी रुपमा अभियान चलाइने बताउँदै त्यसको सुरुवात मेचीबाट गरिने बताउनुभयो ।

Reporter