नुवाकोट । बेल्कोटगढी नगरपालिकाको ऐतिहासिक क्षेत्र चिम्टेश्वरको विकासको लागी होमस्टे व्यवस्थापन तालिम कार्यक्रम शुरु गरिएको छ । बेल्कोटगढी नगरपालिकाका प्रमुख राजेन्द्र रमण खनालले होमस्टे व्यवस्थापन तालिम कार्यक्रमको उद्घाटन गरेका छन् ।

उनले नगरपालिकाको ऐतिहासिक र सांस्कृतिक स्थल चिम्टेश्वर क्षेत्रको विकासको लागी तालिम कार्यक्रम शुरु गरिएको बताए । उनले होमस्टे संचालनको लागी नगरपालिकाबाट तत्काललाई तामाङ जातिको पहिचान झल्कने भेषभुषा र बाजा किन्न सहयोग उपलब्ध गराइने बताए ।

पाँच दिन चल्ने उक्त कार्यक्रममा बेल्कोटगढी नगरपालिका १ चिम्टेश्वर क्षेत्रका भञ्याङ, काफलचौर, शेरा, आरुखर्कका ३० जनाको सहभागिता रहेको छ ।

उक्त कार्यक्रममा छहारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद खनालले होमस्टे संचालनको लागी सामुदायिक भवन, भेषभुषा सहितको बाजागाजा तथा क्षमता अभिवृद्धि कार्यक्रम नियमित संचालनको लागि नगरपालिको ध्यानार्कषण गराए । चिम्टेश्वर क्षेत्रमा भ्यूटावर निर्माणाधिन छ भने पैदलयात्रुलाई सिढि निमार्ण गरिएको छ । उक्त भ्यूटावरबाट हिमालको अवलोकन गर्न सकिन्छ ।