महावीर पुनसँगको भेटमा प्रधानमन्त्रीले भने- विज्ञान–प्रविधिको विकासमा प्रतिवद्ध छु

महावीर पुनसँगको भेटमा प्रधानमन्त्रीले भने- विज्ञान–प्रविधिको विकासमा प्रतिवद्ध छु

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् । 

‘वैज्ञानिक आविस्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन,’ उनले भने । वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए । ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन,’ प्रधानमन्त्रीले भने । 

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्ने जानकारी दिए । 

आविस्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । 

कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नविनतम आविस्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । 

छलफलमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीनबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायतको उपस्थिति रहेको थियो।
 

Reporter