शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय हो : डा.बाबुराम भट्टराई

शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय हो : डा.बाबुराम भट्टराई

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताउनुभएको छ ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समाजवादी महिला सङ्घले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भट्टराईले पछिल्लो समय बृहत् शान्ति सम्झौता मर्मबिपरितका कार्यहरू भएको र शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री प्रचण्डलाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताउनुभएको हो ।

उहाँले आफूहरू अदालतको सम्मान गर्ने भन्दै शान्ति सम्झौता संविधानकै एउटा अङ्ग भएकाले द्वन्द्वकालीन मुद्धाहरुलाई आयोग मार्फत समाधान गर्नुपर्ने जिकिर गर्नुभयो । द्वन्द्वकालीन मुद्धाहरुलाई निरूपण गर्न विभिन्न आयोग बनेको अवस्थामा केही द्वन्द्वको खेती गर्ने र डलरबादीहरुले शान्ति प्रक्रियाका कामलाई पूर्णता दिन नदिएको उहाँले बताउनुभयो । भट्टराईले अहिले संविधानमा रहेका महिला, लगायतका जनताका अधिकारहरूलाई उल्टाउनका लागि गम्भीर प्रकृतिका षडयन्त्रहरू भइरहेको बताउनुभयो ।

उहाँले बलिदानी पूर्वक बनाएको नयाँ संविधानमा रहेका अधिकारहरूमा केही त्रुटि रहेकाले आगामी दिनमा सबैलाई समान अधिकार दिनका लागि संविधान संशोधन आवश्यक रहेको धारणा राख्नुभयो ।

nepalone