सत्तारुढ आठ दलको बैठक : बुधबार काठमाडौं आइपुग्न सांसदलाई निर्देशन

सत्तारुढ आठ दलको बैठक : बुधबार काठमाडौं आइपुग्न सांसदलाई निर्देशन

काठमाडौँ – सत्ता गठबन्धनमा रहेका दलहरूले राष्ट्रपति निर्वाचनका सन्दर्भमा आफ्ना मतदातालाई प्रशिक्षण दिने भएका छन् । यसका लागि मतदानमा सहभागी हुने सदस्यहरूलाई बुधबार ११ बजेसम्म काठमाडौँ आउन भनिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको सत्ता गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकले यस पटक यसअघि भन्दा फरक ढङ्गले राष्ट्रपतिको निर्वाचन हुन लागेकाले आवश्यक प्रशिक्षण दिने निर्णय गरेको हो ।

बैठकपछि काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदानका लागि प्राविधिक तयारी गरिएको जानकारी दिनुभयो । निर्वाचनसँग जोडिएका विषयसँग सम्बन्धित विषयमा छलफल भएको र आवश्यक तयारी गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँले देशभरबाट आएका मतदाताहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रम तय भए पनि निर्वाचन आचारसंहिता लागू भएकाले सो कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।

त्यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले निर्वाचनका सम्बन्धमा गर्नुपर्ने सबै कामलाई व्यवस्थित गर्न सम्बन्धित दलले तयारी गर्ने निर्णय भएको बताउनुभयो । उहाँले निर्वाचनमा कुनै समस्या नरहेको र आफ्ना पक्षमा धेरै मत खस्ने दाबी गर्नुभयो ।

राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार बन्नुभएको छ । राष्ट्रपति निर्वाचन फाल्गुन २५ गते बिहीबार काठमाडौँमा हुँदै छ ।

nepalone