राष्ट्रपतिमा पौडेलको जितसँगै गठबन्धन समृद्धिको यात्रामा अघि बढ्यो : नेता महर

राष्ट्रपतिमा पौडेलको जितसँगै गठबन्धन समृद्धिको यात्रामा अघि बढ्यो : नेता महर

काठमाडौं, २५ फागुन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएसँगै निर्वाचन अघिको गठबन्धन समृद्धिको यात्रामा अगाडि बढेको बताएका छन् ।

चुनावअघि संविधानको रक्षा, स्थिरता र समृद्धिको नारा दिएर चुनावी तालमेलमा होमिएको गठबन्धन विचमा केही विचलित भए पनि फेरि सही बाटोमा हिँडेको बताए ।

‘मुलुकको समृद्धि नचाहने तत्वले विचमा खेल्न खोजे । आत्तिएकाहरूले गठबन्धनलाई टुटाएर मुलुकमा अस्थिरता सिर्जना गर्नखोजे । तर, अन्तत्वगत्वा सत्यको जित भएको छ । संविधानको रक्षा, स्थिरता र समृद्धिको नारा दिएर जनतासामू मिलेर काम गर्ने वाचा गरेको गठबन्धन पुन: एक ठाउँमा उभिएको छ । अब पक्कै पनि मुलुकले अपेक्षित गति लिने छ,’ महरले भने । जनताले यही गठबन्धनलाई मिलेर जान म्यान्डेट दिएको हुनाले त्यो भन्दा दाँयाबाँया गर्न नहुने तर्क गरे ।

लोकतान्त्रिक आन्दोलनमा पौडेलले पुर्‍याएको योगदानको चर्चा गर्दै महरले सच्चा र आदर्श राजनीतिज्ञको आज उपयुक्त सम्मान भएको बताए ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।
 

nepal one