काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संक्रमणकालीन न्यायसँग सम्बन्धी संशोधन विधेयकप्रति आपत्ति जनाएको छ ।

सिंहदरबारमा शनिबार बसेको राप्रपा संसदीय दलको बैठकले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धी संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

विधेयकमा द्वन्द्वको एक पक्षीयलाई मात्रै सम्बोधन गर्ने प्रयास गरेकाले आफूहरूको विरोध रहेको उहाँको भनाइ छ । बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको लिङ्देनले बताउनुभयो । बैठकले सङ्घ र प्रदेशका सांसदहरूलाई अनुशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको लिङ्देनको भनाइ छ ।