म्याग्दीका तीन युवा कलाकार दीपक शर्मा, सुधिर श्रेष्ठ र झलक पुनको ‘डाँडै पिपल’को चर्चा
काठमाडौँ । म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलक पुन सांगीतिक दुनियामा रमाउन रुचाउने युवक हुन् । स्वदेशमा बस्दा होस् वा परवासमा रहँदा नै किन नहोस् यी सुमधुर स्वरका म्याग्देली गायक झलकले म्याग्दीकै लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्मासँग सहकार्य गरेर सार्वजनिक गरेको डाँडै पिपल बोलको गीतको भिडियो रिलिज गरेसँगै यसले राम्रो चर्चा पाइरहेको छ ।
गायक झलक र गायिका समिक्षा अधिकारीको स्वरमा तयार डाँडै पिपलमा पछिल्लो समयका चर्चित गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियो यो समाचार तयार पार्दासम्म करिब साडे २ लाख दर्शकले हेरिसकेका छन् । लोक शैलीमा तयार पारिएको छमछम नचाउने डाँडै पिपलको एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् । भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र आरुषी मगरको बेजोड अभिनय देख्न सकिन्छ ।
लोक शैलीको रोमान्टिक डाँडै पिपललमा एक जोडीको सफल प्रेम कहानीलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा तयार पारेका छन् । भिडियोमा प्रेमीलाई गर्मी हुँदा प्रेमीकाले शितलता दिने र प्रेमीकालाई घाम हुँदा प्रेमीले चर्को घाम सहने कुरा रोमान्टिक लाग्छ । जसमा सुधिर आरुषी गज्जबसँग खुलेका छन् । हाल अष्ट्रेलियामा रहेका गायक पुनका यसअघि मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पप, लगायत अन्य गीतका भिडियोहरु बजारमा आइसकेका छन् ।