प्रधानमन्त्रीलाई गगनले भने : नागरिकलाई नतर्साउनुस्,देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुस्

प्रधानमन्त्रीलाई गगनले भने : नागरिकलाई नतर्साउनुस्,देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुस्

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री अहिले एक्लै बस्न सक्ने अवस्था नरहेको बताएका छन्।

आज सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्। प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने उनले बताए ।

उनले भने, ‘अहिले म साँच्चिकै डराएको छु। मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु। नागरिकलाई नतर्साउनुस्। तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ। एक्लै बिहान बेलुका एक्लै बस्दा खेरी। म आग्रह गर्न चाहन्छु कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस्। भेटघाट बन्द गर्नुस् र एक पटक सोच्नुस्। आफूसँग भएको एक एक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस्’ उनले भने, ‘कुर्सीमा बसेको प्रधानमन्त्री यति बेला डराउनुपर्छ। प्रधानमन्त्री डरायो भने मात्रै नागरिक डरबाट मुक्त हुने अवस्था आउँछ। प्रधानमन्त्रीले बायाँ हेर्‍यो भोट दायाँ हेर्‍यो भोट मसँग त १७२ भोट छ भनेर ढुक्क भएर बस्नुभयो भने टाउको टाउकोले मञ्च भरिन्छ तर, भुईँमा सुन्ने मान्छे बाँकी नरहन सक्छ।’

महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए। उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए।

nepalone