नयाँ मन्त्रीको शपथ आज,रक्षामा पूर्णबहादुर, गृहमा नारायणकाजी,परराष्ट्र र स्वास्थ पनि कांग्रेसलाई

नयाँ मन्त्रीको शपथ आज,रक्षामा पूर्णबहादुर, गृहमा नारायणकाजी,परराष्ट्र र स्वास्थ पनि कांग्रेसलाई

काठमाडौं – लामो रस्साकस्सीपछि सत्ता गठबन्धन दलले मन्त्रिपरिषद् सदस्यको भागबन्डा टुंगो लगाएका छन्।

भागबन्डा टुंगो लागेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। सत्ता गठबन्धनमा मन्त्रालय संख्या भागबन्डा टुंगिएसँगै प्रधानमन्त्रीले बिहीबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।  बिहीबार नै सबै मन्त्रीको शपथग्रहण गराउने प्रधानमन्त्रीको तयारी छ।

बुधबार बसेको गठबन्धन दलको बैठकले दलहरूले पाउने मन्त्रालयको संख्या टुंगो लगाए पनि मन्त्रालय भागबन्डालाई भने अन्तिम रूप दिन बाँकी छ। बैठकमा सहभागी एक नेताका अनुसार कुन दलले कतिवटा मन्त्रालय लिने भन्ने विषय टुंगो लागे पनि कसलाई कुन मन्त्रालय दिने भन्ने अन्तिम निर्णय हुन भने बाँकी छ।

दलका शीर्ष नेताहरूबीच सल्लाह गरेर प्रधानमन्त्रीले निर्णय लिने गरी सहमति जुटेको जसपाका नेता अशोक राईले बताए। उनका अनुसार गठबन्धनको सबैभन्दा ठुलो दल कांग्रेसले अर्थ मन्त्रालयसहित ८ वटा मन्त्रालय पाउने सहमति भएको छ।

उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी पूर्णबहादुर खड्काले पाउने भएका छन्। कांग्रेसले खड्काकै नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउन लागेको हो। त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत बन्ने भएका छन्। परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ। यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निर्णय भइसकेको छैन। 

सत्ता नेतृत्वकर्ता दलले प्रधानमन्त्रीसहित ५ वटा मन्त्रालय पाउने भएपछि अब उसले १ जना मन्त्री थप गर्न पाउने भएको छ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ। श्रेष्ठले सम्हाल्दै आएको भौतिक मन्त्रालयको नेतृत्व भने एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी भएको छ।  ३ मन्त्रालय पाउनुपर्ने अडानमा रहेको नेकपा एकीकृत समाजवादीले २ मन्त्रालय पाउने छ।

बुधबार बसेको नेकपा एसको सचिवालय बैठकले उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । १ राज्यमन्त्रीको नाम भने टुंगो लगाउन बाँकी रहेको पार्टी प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

१ साता लामो रस्साकस्सीपछि गठबन्धन दलको बैठकमा जनता समाजवादी पार्टीलाई २ मन्त्रालय दिने सहमति जुटेको छ। सो पार्टीबाट अकोश राईले नेतृत्व गर्ने टुंगो लागे पनि अर्का १ जनाको नाममा भने सहमति जुट्न बाँकी रहेको जसपा नेताहरू बताउँछन् ।

स्वतन्त्र उठेर सांसद जितेर आमजनता पार्टी खोलेको प्रभु शाह र बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट माओवादी केन्द्रको चुनाव चिह्न लिएर जितेका महिन्द्र राय यादव पनि मन्त्री बन्ने पक्का भएको छ। गठबन्धनमा आबद्ध लोसपाले पाएको १ मन्त्रालयमा नेता शरत्सिंह भण्डारी मन्त्री बन्ने पक्का भएको छ। जनमत पार्टीले भागबन्डामा एउटा मन्त्रालय पाएको छ।

जनमतका तर्फबाट अब्दुल खान अहिले नै खानेपानीमन्त्री छन्। नागरिक उन्मुक्ति पार्टीको भागमा परेको एक मन्त्रालयमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री हुने पक्का छ। नेता रेशम चौधरीको रिहाइलाई सरकारमा जाने मुख्य सर्त बनाउँदै आएको सो पार्टी माग पूरा नहुँदै सरकारमा सहभागी हुनसमेत राजी भएको छ।

२२ मन्त्रालयको भागबन्डा टुंगो लाग्दा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा तत्काल सहभागी हुने देखिएको छैन। तर, रास्वपा सरकारमा सहभागि भएको अवस्थामा बाँकी ३ मन्त्रालयमध्ये कुनै मन्त्रालय दिने गरी स्थान खाली नै राखीएको छ।

गृह मन्त्रालयको अडानमा रहेको सो पार्टी मन्त्रालय नपाउने भएपछि सरकारमा सहभागी नहुने भएको हो । गृहको नेतृत्व भने माओवादी केन्द्रकै भागमा परेको नेताहरूले बताएपछि अन्य मन्त्रालय बाँडफाँट र क–कसलाई उपप्रधानमन्त्री बनाउने भन्ने विषय भने टुंगो लागिनसकेको नेताहरूले बताएका छन्।

एक नेताका अनुसार २ जनासम्म सरकारमा सहभागी भएको दललाई उपप्रधानमन्त्री दिने सहमति भए पनि यसलाई अन्तिम रूप दिन भने बाँकी छ। माओवादी, कांग्रेस, नेकपा एस र जसपाबाट नेतृत्व गरेर मन्त्री बन्ने नेता उपप्रधानमन्त्री बन्ने पक्का भए पनि लोसपा, नेसपा र नागरिक उन्मुक्तिले पनि उपप्रधानमन्त्रीको वरीयता पाउनुपर्ने माग छाडेका छैनन्।

Monika Singh