चर्चित प्रसाईँका ओझेलिएका पाटाहरू

चर्चित प्रसाईँका ओझेलिएका पाटाहरू

कोही केही नगरी चर्चित हुन्छन् । अर्थात् भाषा मिलाएर बोलेकै भरमा चर्चा बटुल्न सफल हुन्छन् र आम जनाताबीच लोकप्रिय भएको भ्रम छर्न खप्पिस हुन्छन् । कोही हल्ला गर्दैनन्, काम गर्छन्– निरन्तर । बरु गुमनाम हुन्छन्, बदनाम भएर चर्चित हुँदैनन् । कोही काम पनि गर्छन्, चर्चा पनि बटुल्छन् । अनि कोही–कोही काम गर्नेहरूको चाहिँ यस्तो हुन्छ कि, गरेका राम्रा काम ओझेल पर्छन् वा पारिन्छन् र केही नकारात्मक पक्षको फेरो समातेर जबरजस्त विरोध वा आलोचना गराइन्छ ।

हो– अधिकतम राम्रा र प्रभावशाली काम गर्दागर्दै केही स्वभावजन्य कारण चर्चासँगै विवादमा आइरहने एक व्यक्ति हुन्, दुर्गा प्रसाईँ । पेसाले उनी मेडिकल व्यवसायी हुन् । उनले मेडिकल कलेज स्थापनादेखि अस्पताल सञ्चालनसँगै स्वास्थ्यका क्षेत्रमा उल्लेख्य काम गरेका छन् । स्वास्थ्य क्षेत्र मात्रै होइन, अरू विभिन्न क्षेत्रमा उनको लगानी छ । समग्रमा उनी व्यवसायी हुन् । तर अहिले उनको चर्चा व्यवसायका कारण भइरहेको छैन । धेरैले अचेल उनलाई अभियन्ताका रूपमा चिन्छन् ।

हुन पनि उनी अहिले व्यवसायभन्दा जनहितका अनेक मुद्दा लिएर सङ्घर्षमा छन् । अहिले चिया पसल, चौतारो र भट्टीसँगै आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसाईँको पक्ष र विपक्षमा आम मानिस कित्ताकाट भएका छन् । पछिल्लो समय बैङ्कहरूले सर्वसाधारणमाथि ब्याजका नाममा गरेको ज्यादतीविरुद्ध आवाज उठाएर धेरैको मन जित्न सफल प्रसाईँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक गरेर झन् बढी चर्चामा छन् ।

केही सार्वजनिक मञ्चहरूमा भाषण गर्दा प्रयोग गरेका शब्दका कारण विवाद भए पनि गोप्य अडियो सार्वजनिक गरेर उनले धेरैको भ्रमको पर्दा खोलिदिए । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अन्धभक्त भीडले भने प्रसाईँकै खेदो खनिरहेको छ ।

एक औसत व्यवसायीले यो उचाइको चर्चा र लोकप्रियता पाउनु चानचुने कुरा होइन । देशका प्रमुख दलका प्रमुख नेतालाई नै प्रभावमा पार्न सक्ने खुबी भएका प्रसाईँकै वरिपरि रहेर मानिसहरूले राजनीतिक विश्लेषण गर्न थालेका छन् । केही साताअघि प्रसाईँले झापाको एक कार्यक्रममा पूर्व राजालाई उपस्थित गराएको विषयले मन्त्रिपरिषद्मै चर्चा पायो । किन यसरी दिन–प्रतिदिन प्रसाईँको प्रभाव बढ्दैछ रु आलोचकका कटु आलोचनाबीच पनि प्रसाईँले आफ्नो सञ्जाल विस्तार गरिरहेकै छन् । आखिर प्रसाईँको पछाडि के छ ? अर्थात् उनीमा के त्यस्तो शक्ति छ, जसले अहिलेको हलचल ल्याइरहेको छ ? मार्सी चामलसँगै प्रसाईँको पनि ब्राण्डिङ मेडिकल व्यवसायीका हिसाबमा त प्रसाईँ पहिल्यैदेखि चर्चित थिए ।

जब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पानी बाराबार भएका बेला आफ्नो घरमा बोलाएर दुवै नेतालाई मार्सी चामलको भात खुवाए, तब आम मानिस र राजनीतिक वृत्तमा पनि पनि प्रसाईँको चर्चा ह्वात्तै चुलियो । देशका दुई ठुला कम्युनिस्ट नेतालाई आफ्नो घरमा ल्याएर खाना खुवाउँदै वाम एकताको प्रयास गराएसँगै प्रसाईँले खुवाएको मार्सी चामलको ब्रण्डिङ भयो । र, उनी आफैँ पनि राजनीतिक भीडमा दरिए । ओली र प्रचण्डलाई एकै ठाउँमा ल्याउन सक्ने प्रसाईँ चानचुने मान्छे होइनन् भनेर चर्चा हुन थाल्यो । हुन पनि हो– एक व्यवसायी, जसले देशको भविष्य र राजनीतिमा दूरगामी अर्थ राख्ने गरी दुई ठुला कम्युनिस्ट पार्टीलाई मिलाउने प्रयास गरेका थिए । अहिले प्रसाईँलाई औँला ठड्याउँदै सस्तो प्रश्न गर्नेहरूले बुझ्न जरुरी छ कि– के त्यो विषम परिस्थितिमा देशका दुई ठुला नेतालाई एक ठाउँ ल्याउने प्रसाईँको प्रयास ख्याल ख्याल थियो ?

उतार–चढावयुक्त तर प्रभावशाली राजनीतिक यात्रा प्रसाईँ रातारात राजनीतिमा आएका होइनन् । तत्कालीन समयमा माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा होमिएका प्रसाईँले गरेका सङ्घर्ष प्रेरणादायी छन् । विषम पारिवारिक पृष्ठभूमिबीच अघि बढेका प्रसाईँ माओवादी आन्दोलन उत्कर्षमा पुग्दा अध्यक्ष प्रचण्डका निकटस्थ सहयोद्धामध्येका एक थिए । प्रचण्ड भनेको को पो होला ? प्रचण्ड भन्ने नै छैन कि क्या हो ? भन्ने स्थितिमा प्रचण्ड सँगैसँगै प्रसाईँ हिँड्नु स्वभाविक सवाल थिएन, होइन ।

प्रचण्डसँगै माओवादीले प्रसाईँबाट सक्दो फाइदा लियो । प्रसाईँले पनि ज्यान बाजी राखेर पार्टीका लागि सहयोग गरेको प्रस्ट छ । तर, आफ्नो योगदानको राजनीतिक मूल्य नपाएर चिडिएका प्रसाईँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ खोजे । र, उनी एमाले प्रवेश गरे ।

एमालेमा रहँदा पनि अध्यक्ष ओलीका निकटस्थ भएर काम गरेका प्रसाईँले पार्टीको हितमा उल्लेख्य काम गरे । तर त्यहाँ पनि आफ्नो योगदानको उचित मूल्याङ्कन हुन नसकेको निष्कर्ष निकाल्दै प्रसाईँ पार्टी राजनीतिमा निष्क्रिय रहे । परिणामतः उनी अहिले एमालेबाट पनि बाहिरिएर एक स्वतन्त्र अभियान चलाइरहेका छन् ।

पछिल्लो समय राजसंस्थासँग नजिक रहेको सङ्केत गरिरहेका छन्, प्रसाईँले । एमालेबाट बाहिरिएपछि उनले पूर्व युवराज पारस शाहसँग खिचेको फोटो सार्वजनिक हुँदा सामाजिक सञ्जालमा हङ्गामै मच्चियो । त्यस्तै झापाको एक कार्यक्रममा उनले पूर्व राजा लैजाँदा सरकारकै मुटु हल्लियो । जुन दलमा गए पनि वा जहाँ भए पनि शीर्षस्थ नेतृत्वसँग छिटै नजिक हुनसक्ने र प्रभाव पार्न सक्ने उनको खुबी अद्वितीय छ । के यसलाई कसैले कमजोर आँक्न सक्छ ? परिस्थितिजन्य कारणबाट उनको राजनीतिक यात्रा अस्थिर एवम् उतार–चढावयुक्त देखिए पनि प्रभावको हिसाबमा भने कम छैन । स्वदेशमा मात्रै होइन, विदेशका नेता एवम् व्यवसायीसँग पनि उनको घनीभूत सम्बन्ध हुने गरेको प्रमाणित भइसकेको छ ।

दुबईका राजकुमारले सुनको लौरो नै उपहार ल्याइदिएकोबाट उनको प्रभाव अन्तर्राष्ट्रिय समुदायसम्म फैलिएको पुष्टि हुन्छ । प्रसाईँले बेलाबेलामा चीनलगायत देशका नेतासँग पनि आफ्नो सम्बन्ध सुमधुर रहेको बताउँदै आइरहेका छन् । एक जना व्यक्तिले स्वदेशसँगै विदेशका नेता, राजपरिवार र विश्व प्रख्यात व्यवसायीसँग व्यक्तिगत सम्बन्ध मजबुत बनाउने कुरा सामान्य हुँदै होइन ।

व्यवसायसँगै समाजसेवा पनि दुर्गा प्रसाईँले व्यवसायबाट कमाउँदै राजनीतिक गरेका होइनन् । विगतदेखि नै उनले समाजसेवाका विविध आयाममा हात हालेका छन् । उनको सहयोगबाट हज्जारौं दुखी पीडित लाभान्वित भएका छन् । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनेदेखि गाउँ गाउँमा निःशुल्क स्वास्थ्य क्लिनिक राखेर कतिपय दीर्घ रोगीलाई उनले पुनर्जीवन दिएका छन् । वर्षौँदेखि खोरमा थुनिएर बस्न बाध्य अपाङ्गलाई आफ्नै अस्पतालमा ल्याएर उपचार गराएका छन् । उपचार खर्च नपाएर रोग पाल्न विवश कतिपय गाउँलेले उनको अस्पतालमा निःशुल्क उपचार पाएका छन् । कतै पानी नभएको ठाउँमा कल बाँडेका छन्, कतै विद्यालयका लागि शैक्षिक सामग्री दिएका छन् । तर उनले गरेका सत्कर्मको चर्चा कम हुने गरेको छ ।

व्यवसायीमा ब्याज आतङ्क र प्रसाईँको आन्दोलन केही समयअघि व्यवसायी प्रेम आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवनअघि आत्मदाह गरे । बैङ्कहरूको ब्याज आतङ्कसँगै सरकारको गलत नीतिका कारण व्यवसायमा चौतर्फी असफलता पाएपछि आत्मदाह गर्न विवश भएको मार्मिक स्ट्याटस लेख्दै आचार्यले आत्मदाह गरेको विषयले निकै चर्चा पायो । प्रेम आचार्य त एक प्रतिनिधि पात्र मात्रै हुन्, बैङ्क तथा लघुवित्तहरूले मनलाग्दी ब्याज बढाउँदा दिनदिनै भित्रभित्रै जलिरहेकाहरू धेरै छन् । ऋण लिँदा ७ प्रतिशत ब्याज तिर्ने सहमतिमा लिएको रकमको १८ प्रतिशतसम्म ब्याज बढाउँदा पनि सरकार मूकदर्शक बनेको प्रति आपत्ति जनाउँदै प्रसाईँले सडक आन्दोलन नै सुरु गरे । केही निश्चित घरानियाँ व्यापारीले सबै पैसा थुपारेर देशको अर्थतन्त्र नै धराशायी बनाएको आवाजसहित प्रसाईँले सुरु गरेको आन्दोलनलाई थुप्रै पीडितले साथ दिए ।

देशमा बढ्दो आर्थिक अराजकताविरुद्ध अघि बढाएको आन्दोलन शक्तिशाली भए पनि कतिपयले आफ्नै ब्याज तिर्न गाह्रो भएपछि प्रसाईँले आन्दोलनको नाटक गरेको आरोप पनि लगाए । तर जब सरकारले ब्याज घटाउन बैङ्कहरूलाई निर्देशन दिनुपर्ने स्थिति आयो, तब उनको आन्दोलन अर्थपूर्ण भएको पुष्टि भयो ।

वित्तीय संस्थाको अराजकताविरुद्ध अहिले मिटर ब्याज पीडितहरू पनि आन्दोलनरत छन्, जुन अहिले राष्ट्रिय मुद्दा भएको छ । हो, प्रसाईँले उठाएका हर मुद्दा सही भएको क्रमशः प्रमाणित भइरहेको छ । तर, कतिपय आलोचकहरू उनका केही स्वभावको आलोचना गरेर मूल पाटोलाई ओझेल पारिरहेका छन् ।

Monika Singh