ओलीले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने यी हुन् आधारहरू

ओलीले रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने यी हुन्   आधारहरू

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ बन्ने राजनीतिक समीकरणबारे अनेकखाले चर्चा सुरु भएका छन् । रास्वपाको टेको खुस्किएसँगै अहिलेको सरकार मात्रै धर्मराएको छैन, सत्ता गठबन्धनमा नै हलचल पैदा भएको छ ।

यति सम्म कि, सत्ता गठबन्धन छिन्नभिन्न भएर नयाँ सरकार बन्ने सम्भावना पनि चुलिएको छ । संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा नयाँ सरकार बन्ने आँकलन धेरैले गरेका छन् ।

केही दिनअघि संसदको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा अध्यक्ष लामिछानेलाई ‘प्रधानमन्त्रीको अफर’ गरेको चर्चाले पनि बजार पायो । बजार हल्लाले दिने रियाक्सन बुझेपछि दुवै नेताले उक्त अफरबारे आफूलाई थाहा नभएको बताए । तर, उक्त हल्ला ‘हावा नचली पात नहल्लिएको’ अर्थमा बुझ्नेहरु धेरै छन् ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उपचुनावलगत्तै राजनीतिक कोर्ष करेक्सन हुने अनुमान पनि सही सावित भएको छ । र पहिलेदेखि नै रवि–ओली कनेक्सनबारे अनेक आँकलन गरिरहेकाहरुलाई पनि सजिलो बनाएको छ । रविको दोहोरो नागरिकता र पोसपोर्ट प्रकरणरमा समेत एमाले अध्यक्ष ओली सफ्ट बन्नुलाई पनि धेरैले रहस्यका रुपमा बुझेका थिए । त्यस्तै गृहमन्त्रीबाट राजीनामा दिने बेला पनि रविले ओलीनिवास बालकोट पुगेर पटक–पटक परामर्श गरेका थिए । अनि, सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने रास्वपाको निर्णय पनि ‘ओलीटिक्स’बाटै प्रेरित भएको अनुमान गरिन्छ । नत्र, रास्वपाको उक्त निर्णयले कुनै राजनीतिक औचित्य पुष्टि गर्न सकेको छैन ।

अत्यधिक मतका साथ उपचुनाव जितेसँगै रविलाई लोभलाग्दो मन्त्रालय र रास्वपालाई चाहेजति मन्त्री दिने प्रचण्डको आश्वासनलाई समेत इग्नोर गर्दै रास्वपाले सरकारलाई दिएको फिर्ता लिने जिम्मेवार राजनीतिक निर्णय गरेको छ । सरकार टिकाउनकै लागि रविको पासपोर्ट प्रकरणलाई समेत सरकारीस्तरबाटै ढिसमिस गराएका प्रचण्डलाई रविले यो तहको इग्नोर किन गरे ? भन्ने प्रश्न पनि उठिरहेको छ ।

रास्वपालाई सरकारमा जाने लोभ नभएको होइन । तर, पब्लिकलाई मन्त्रीको लोभ गरेको नदेखाइ सरकारमा जानको लागि नयाँ समीकरण बनाउन आवश्यक थियो नै । अझ ताकपरे प्रधानमन्त्री हुने रविको महत्वाकांक्षा ओलीले पूरा गरिदिने छाँट पनि छ । अहिले नै प्रधानमन्त्री नभए पनि अर्को चुनावमा भोट बढाउन र ओलीसँगको कनेक्सन मजबुत बनाइराख्न सरकार छाड्नुनै रास्वपाका लागि बुद्धिमानी कदम थियो ।

एमाले अध्यक्ष ओलीलाई प्रचण्डभन्दा रवि प्रधानमन्त्री हुनु निकै कम्फरटेबल हुन्छ नै । कहिलेकाहीं राजनीतिमा अस्वभाविक लाग्ने खेल खेल्न खप्पिस ओलीले एकफेर रविलाई अघि सारेर पोलिटिकल कोर्ष अन्तै मोड्नसक्ने सम्भावना ज्यादा छ । जनमत पार्टीका अध्यक्ष सीके राउतसँग नजिक रहेका रविलाई साथमा लिएर अहिलेको सरकार ढाल्न ओलीले व्यापक प्रयास गर्ने निश्चित छ । अबको एक महिनाभित्र प्रचण्डलाई फेरि एकचोटि संसदबाट विश्वासको मत पाउन फलामको च्यूरा चपाउनुसरह हुनेछ ।

प्रधानमन्त्री बनेको आधा वर्षमा तीनपटक विश्वासको लिनुपर्ने निकृष्ट राजनीतिक अभ्यासको अन्त्यका लागि अहिलेको सरकार ढल्नैपर्छ । सरकारको मुख्य काम नै सरकार टिकाउनु मात्रै हुने अवश्थाको अन्त्य गर्न पनि अहिलेको सरकारको विकल्प खोज्नै पर्छ । अप्राकृतिक राजनीतिक गठबन्धनका कारण मुलुकमा बढ्दो अश्थिरताको अन्त्य गर्ने एउटा महत्वपूर्ण भूमिकामा पुगेको रास्वपाले अब पनि जिम्मेवार राजनीतिक निर्ण लिनै पर्दछ ।

दलगत हितसँगै मुलुकको हितका लागि अहिले रास्वपा नेकपा एमालेसँगै प्रतिपक्षीको भूमिकामा बस्नु नै समयसापेक्ष छ । र मौका आउँदा नयाँ सत्तासमीकरण बनाउन पनि तयार रहनुपर्दछ । त्यसो हुँदा यहीं कार्यकालमा रवि प्रधानमन्त्री बन्ने सम्भवना प्रबल हुन्छ । यो कार्यकालमा एमालेलाई सघाएर चुनाव लडे पनि रास्वपालाई अर्कोपालि फलिफाप नै हुने निश्चित छ ।

Monika Singh