सकियो टोपबहादुरको बयान, खाँणको पनि आजै सकिने

सकियो टोपबहादुरको बयान, खाँणको पनि आजै सकिने

काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता एवं सांसद टोपबहादुर रायमाझीको बयान सकिएको छ। सोमबार सुरु भएको उनको बयान राति अबेरसम्म लिइएको र मंगलबार बिहान त्यसलाई भेरिफाइ गरेर सकिएको हाे । 

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले रायमाझीको बयान सकिएको बताउनुभयाे ।

म्याद थपका लागि अदालत उपस्थित गराउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं पुर्‍याएका रायमाझीलाई त्यहींबाट बयान पनि सुरु गरिएको थियो। सुरुमा रायमाझीले अर्को दिन बयान गरौं भनेका थिए तर अनुसन्धान टोलीले समय धेरै दिन नभएकोले बयान गरिहालौं भनेपछि साँझ ४ बजेबाट बयान सुरु गरिएको थियो।

करिब ९ बजेसम्म सरकारी वकिलको कार्यालयमा उनलाई बयान लिइएको थियो।  राति अबेरसम्म बयान गराएर सकेको र आज मंगलबार अर्का प्रतिवादी पूर्व गृहमन्त्री बालकृष्ण खाणको बाँकी बयान हुने नेउपानेले बताउनुभयाे। रायमाझीलाई उनको स्वास्थ्यदेखि छोराको नाममा काटिएको चेक र बिचौलियाहरुसँगको उठबससम्मका कुराहरुबारे प्रश्न गरिएको थियो। रायमाझीले अधिकांश बयान इन्कारी दिएको सरकारी वकिल कार्यालयको दाबी छ। 

अर्का प्रतिवादी पूर्व गृहमन्त्री खाणको डेढ घन्टा मात्र बयान लिएको र बाँकी बयान आज सक्दै अभियोगपत्रको तयारीमा लाग्ने अनुसन्धान टोलीको लक्ष्य छ।

रायमाझी आइतबार राति पक्राउ परेका थिए भने खाण वैशाख २७ गते पक्राउ परेका थिए। खाणसँग बरामद भएको मोबाइल फरम्याट गरेको देखिएपछि प्रहरीले केही दिन बयान राेकेकाे थियाे ।

nepalone