‘महिलाको अर्थपूर्ण सहभागितामा विशेष जोड दिनुपर्छ’

‘महिलाको अर्थपूर्ण सहभागितामा विशेष जोड दिनुपर्छ’

जनकपुरधाम – महिला अधिकारर्की तथा सरोकारवालाले महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिकरुपमा अर्थपूर्ण सहभागिता र आर्थिकरुपमा सशक्तिकरणमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोग, काठमाडौँले आज जनकपुरधाममा आयोजना गरेको राजनीतिक पार्टीका प्रमुख एवं प्रतिनिधिसँगको प्रदेशस्तरीय अन्तक्र्रियाका वक्ताहरुले महिलालाई अधिकारसम्पन्न बनाउन राजनीतिक सहभागिता र सशक्तीकरण अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा आयोगका सदस्य विद्याकुमारी सिन्हाले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव र हिंसाको अन्त्यका लागि संविधान तथा महिला अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्तावेजको प्रभावकारी कार्यान्वयनद्वारा सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले महिला हिंसाका हिसाबले संवेदनशील मानिएको मधेस प्रदेशमा सबै महिलाको समान अधिकार, समानुपातिक तथा अर्थपूर्ण प्रतिनिधित्व, न्याय तथा सुरक्षामा सहज पहुँचलाई सुनिश्चित गर्न सबै सरोकारवाला सङ्घ, संस्था, राजनीतिक दल तथा प्रहरी प्रशासनले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले महिला हिंसा अन्त्यका लागि नैतिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले महिला र पुरुषबीचको मनोवैज्ञानिक खाडल एवं पितृसत्तात्मक सोचलाई निरुत्साहित गर्न सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

सहभागी जनप्रतिनिधिले सहभागिताको नाममा महिलालाई उपप्रमुख वा उपाध्यक्षमा थन्काउने अवस्थाबाट राजनीतिक दल माथि उठ्नुपर्ने बताउनुभयो । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले राजनीतिक दलले कार्यकारी पदमा महिलालाई उठाउने र समाजले त्यसमा सहयोग गर्नुपर्ने भन्दै महिलाले पाएको अधिकारलाई अधिकतम उपयोग गर्न सक्नुपर्नेसमेत बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले मधेसमा महिलाका लागि सुरक्षितरुपमा बाँच्न पाउने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले घरेलु हिंसा र मानसिक दबाबका कारण धेरै महिलाको ज्यान जोखिममा रहेको भन्दै यसलाई अन्त्य गर्न प्रहरीले कानुनको अधिनमा रही सम्पूर्ण सहयोग गरिरहेको बताउनुभयो । कार्यक्रममा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले महिला हिंसाको अवस्था र आयोगका उपसचिव चमिला भट्टराईले महिला आयोगले गरिरहेको कार्यका बारेमा प्रस्तुतीकरण राख्नुभएको थियो ।

nepalone