`

फिल्म ‘ममी’को टिजर सार्वजनिक

काठमाडौं । हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक भएको छ । माघ २५ बाट प्रदर्शनमा आउने फिल्मको निर्माण पक्षले आइतबार टिजरमा सार्वजनिक गरेको हो ।

फिल्मका मुख्य कलाकार प्रियंका कार्की, दिया मास्के र सुलक्षण भारतीलगायतलाई स्थान दिइएको छ । कालो बिरालो ‘अशुभ’ हुन्छ भन्ने मान्यतालाई टिजरमा अटाउने प्रयास गरिएको छ । फिल्ममा प्रियंका, दिया, शुलक्षणसहित समिप निरौला, धनश्याम जोशी, आयुषी ढकाल लगायतको अभिनय रहेको छ ।

एस ट्वान्टी फाइभको प्रस्तुतीमा निर्माण भएको यही फिल्मबाट समर निरौलाले निर्देशनमा डेब्यू गर्दैछन् । समर र पूर्णिमाको लेखन रहने यस फिल्मको निर्माता लोकराज जोशी र पूर्णिमा आफैँ हुन् ।

त्रिवि र विश्वविद्यालय सुधारको माग गर्दै धर्नामा बसेका विद्यार्थीबीच यस्तो भयो सहमति

काठमाडौं । विश्वविद्यालय सुधारका लागि ३५ बुँदे माग राखी मंसिर २६ गतेदेखि धर्नामा बसेका केन्द्रीय क्याम्पस स्ववियुका सचिव सिद्धान्त भट्ट लगायतका आन्दोलनरत विद्यार्थीहरु र त्रिवि पदाधिकारीबीच सहमति भएको छ ।

आइतबार साँझ त्रिविका उपकूलपति प्रा. डा. केशरजंग बराल, शिक्षाध्यक्ष प्रा. डा. खड्क केसी, रजिष्ट्रार प्रा. डा. केदार प्रसाद रिजाल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल र त्रिविका सभासद विराज अर्यालको रोहवरमा सहमति भएको हो ।

राष्ट्रिय किताबखानाका शाखा अधिकृत सेवाग्राहीसँग तीन लाख घुस लिँदै गर्दा पक्राउ

काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) तहाचल, काठमाडौंका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई आइतबार सेवाग्राहीबाट घुस लिँदै गरेको बेला पक्राउ गरेको हो । पेन्सनपट्टा बनाउने प्रयोजनका लागि शाखा अधिकृत प्रसाईंले सेवाग्राहीबाट ३ लाख रूपैयाँ घुस लिएका थिए ।

परराष्ट्रमन्त्री राणाद्वारा मनमोहन सिंहप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् ।

मन्त्री राणाले आइतबार साँझ काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा पुगी स्वर्गीय सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

पुस्तिकामा मन्त्री राणाले स्वर्गीय सिंहले नेपालमा लोकतन्त्र र विकासका लागि सधैँ सहयोग गर्नुभएको स्मरण गर्दै सो सहयोग र समर्थनका कारण उनी सधैँ नेपाली जनताको स्मृतिमा रहने पनि उल्लेख गरेकी छन् । सिंहको उपचारका क्रममा गत बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको थियो ।

नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मेयर बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेयर बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती

नवलपुर ।  सुस्तापूर्वको गैँडाकोट–११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान विस्तारै फेरिँदै गएको छ। केही वर्ष अगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा प्रयोगमा आउने उक्त फाँट अहिले तोरीले पहेँलपुर भएको हो।

पहिलो स्थानीय तहको निर्वाचन-२०७४ बाट निर्वाचित भएर आएका जनप्रतिनिधिको प्रयासले विस्तारै यस ठाउँमा परिवर्तन देखिन थालेको स्थानीय बताउँछन्। गैँडाकोट नगरपालिकाले यहाँको जमिनलाई सिँचाइ सुविधा पुर्‍याउन बोरिङ गाड्ने र सिँचाइको कुलो बनाउने काम गरेसँगै परिवर्तन आएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चैतेधानको पकेट क्षेत्रका रूपमा परेको यो ठाउँ धानजोनमा परिणत हुन लागेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले जानकारी दिए। यहाँ बोरिङ र सिँचाइको व्यवस्था गर्दै दुईखेती धान फल्ने वतावरण सिर्जना गरिएको उनले सुनाए।

“धानसँगै तोरी पनि उत्पादन गर्नका लागि तोरी पकेट क्षेत्र बनाउन हामीले यो वर्ष तोरीमा लगानी गरेका छौँ”, नगरप्रमुख अधिकारीले भने, “कृषकहरूलाई करिब चार सय बिघामा तोरीखेती गर्न ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेका छौं।”नगरपालिकाले यहाँको खेतबारीमा सिँचाइ सुविधासँगै बीउमा अनुदान दिँदा पूरै फाँटमा तोरी फुलेर पहेँलै भएको उनले बताए।

भेँडाबारीमा चैतेधानसँगै बर्खेधान पनि लहलह झुल्दै आएको अधिकारी बाउँछन्। पालिकाले निरन्तर रूपमा सिँचाइको व्यवस्था गरेको भन्दै पालिकाले सहयोग गरेकाले किसान पनि उत्साहित भएर धान, तोरी, विभिन्न जातका तरकारी र सागसब्जी खेती गरिरहेका उनको भनाइ थियो।

भेँडाबारीको केही क्षेत्रमा अझै सिँचाइ नपुगेको भन्दै यस वर्षको बजेटले भत्किएको बाँध मर्मत तथा थप बोरिङ निर्माणको व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले बताए।

“हामीले क्रमशः अन्य वडामा खेती विस्तार गर्दै ठूला बोरिङहरू निर्माण गर्ने योजना बनाएका छौँ”, उनले भने, “नमुनाका लागि वडा नं-११ मा उन्नत जातको तोरीको बीउ वितरण गरिएको छ। उत्पादन राम्रो भएमा तोरीखेतीलाई अझै विस्तार गरेर लैजाने योजनामा छौं।”

तोरीको उत्पादनअनुसार पालिकाले बजारीकरणमा सघाउने नगरप्रमुख अधिकारीले बताए। यहाँ उत्पादन हुने खाद्यान्न सामग्री बिक्री वितरणका लागि समस्या नभएको भन्दै पालिकाभित्रै ठूला मिलहरूसँग समन्वय गरिने उनले उल्लेख गरे।

गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले यसअघिका वर्षमा भेँडाबारीमा तोरीखेती थोरैमात्रामा हुने गरेकामा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि खेती विस्तार हुँदै गएको बताए। “केही किसानले लगाउने सबै तेरीखेतीमा लाईकीरा लागेर उत्पादन नहुने अवस्था थियो”, उनले भने, “भेँडाबारी फाँटमा हिउँदको समयमा पानी हुँदैनथ्यो। अहिले सिँचाइ पुगेपछि हिउँदमा पनि फाँट हराभरा भएको छ।”

स्थानीय तह निर्वाचन २०७४ पछि यस ठाउँलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ वडा र स्थानीय कृषक समूहको संयुक्त प्रयासमा हरेक वर्ष कुलो पक्की बनाउने र थप्ने, कुलोको छेउमा बाटो, बत्ती र पानी पुर्‍याउने योजनामा पालिकासँग समन्वय गरी अघि बढिएको वडाध्यक्ष सुवेदीले बताए।

गैँडाकोट–११ की कृषक चन्द्रकला महतोले दुई सय ५० किसानले चार सय बिघा क्षेत्रफलमा तोरीखेती गरेका बताए। पहिला स्थानीय प्रजातिको तोरीखेती गरिने गरिएकामा नगरपालिकाको ५० प्रतिशत अनुदानमा ‘मोरङ–२’ र ‘उन्नत’ जातका बीउ दिएपछि त्यसकै खेती गरिएको उनको भनाइ छ।

केही वर्षदेखि यहाँ तीनखेती अन्न उब्जनी हुने गरेको उल्लेख गर्दै महतोले किसानलाई फाइदा हुँदा खेती गर्ने क्षेत्रफल र किसानको सङ्ख्या बढ्दै गएको सुनाए। तोरीको उत्पादन राम्रो भएकाले व्यावसायिक तोरीखेतीतर्फ आफूहरू आकर्षित भएको उनको भनाइ थियो।

उत्पादन भएको अन्नबालीको बजारीकरणमा नगरपालिका र वडा कार्यालयले समन्वय गरिरहेकाले समस्या नभएको भन्दै कृषक समूहले बिक्रीको प्रबन्ध गरिदिने महतोले बताए।बालीमा दिइने अनुदानका कार्यक्रमले किसानलाई खेतीतर्फ प्रोत्साहन गरिरहेको उनले अनुदान कार्यक्रमलाई बढाउँदै लैजानुपर्नेमा जोड दिए।

यसवर्ष गैँडाकोट नगरपालिकाको भेँडाबारी ब्लकमा चार सय बिघासँगै पालिकाभित्र करिब दुई हजार बिघा क्षेत्रफलमा तोरीखेती गरिएको छ। पालिकाले यस वर्ष चार सय बिघा क्षेत्रफलमा तोरीको बिउमा अनुदान दिएको छ। गैँडाकोट–११ लाई केन्द्रमा राखेर १२, १४ र १५ लाई पनि समेट्दै खेती विस्तार गर्ने तयारी गरिएको पालिका कार्यालयले जनाएको छ।

गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

चितवन ।  गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् ।  

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आइतबार बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।  भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन् । नयाँ र वैकल्पिक वित्तीय स्रोत खोज्नका लागि नीतिगत व्यवस्था गर्न सरकारले विधेयक ल्याउने तयारी गरिरहेको पनि उनले बताए ।

“राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकाङ्क्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ”, अर्थमन्त्री पौडेलले भने, “त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई सम्बोधन गर्नेगरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयारी गरेका छौँ र यसलाई छिट्टै कानुनी प्रक्रियामा प्रवेश गराउँदैछौँ ।”

अर्थ मन्त्रालयको आन्तरिक छलफलका क्रममा अर्थमन्त्री पौडेलले नेपालको तीव्र विकासका लागि नयाँ सोच र दृष्टिकोणका साथ अघि बढ्न आवश्यक रहेको र वैकल्पिक विकास वित्तबाट थप स्रोत जुटाउन तथा लगानी गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए । “आर्थिक समृद्धिका लागि पूर्वाधारमा मात्र नभए र दक्ष जनशक्तिको विकास र सफ्टपावरमा पनि ठूलो लगानी गर्न जरुरी छ”, अर्थमन्त्री पौडेलले भने, “वैकल्पिक वित्तले सार्वजनिक विकासका धेरै क्षेत्रमा सिर्जनशील र नयाँनयाँ दृष्टिकोणका लागि ढोका खोल्नेछ ।”

अर्थमन्त्री पौडेलले नेपालमा भएका विकासका धेरै कामप्रति अपनत्व लिँदै अघि बढ्न, थप स्रोत व्यवस्थापन तथा त्यसको परिचालनका लागि स्पष्ट योजनाका साथ खुला हृदयले अघि बढ्नुपर्नेसमेत धारणा राखे । “विकास र आर्थिक समृद्धिका लागि राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूले पनि विगतको आ–आफ्नो भूमिकालाई नयाँ ढङ्गले अघि बढाउनुपर्छ । सरकार पनि त्यसका लागि तयार छ”, उनले भने ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार वैकल्पिक विकास वित्तले पूर्वाधार क्षेत्रको प्राथमिकीकरण, पूर्वाधार लगानीका लागि स्वदेशी तथा विदेशी स्रोत लगानीको व्यवस्था, विभिन्न वित्तीय उपकरणको सही प्रयोग लगायतमा सहयोग गर्छ । यसैगरी सार्वजनिक निजी साझेदारी, पूर्वाधार बोन्ड, पूर्वाधार कोषलगायतले निजी क्षेत्र पनि अघि बढ्ने अझ फराकिलो अवसर सिर्जना गर्ने जनाइएको छ ।

नेपालको दीर्घकालीन आर्थिक र सामाजिक विकासको प्रमुख आधार भनेको पूर्वाधार तथा उत्पादनशील क्षेत्रको विकास तथा प्रवद्र्धन भएको उनको भनाइ थियो ।

“नेपालमा ऊर्जा, यातायात, स्वास्थ्य, शिक्षा, जलस्रोत, उत्पादनशील उद्योग र कृषियोग्य भूमिको उपयोगलगायत क्षेत्रमा ठूला परियोजना आवश्यक छन्, जुन राष्ट्रिय विकासका लागि अत्यन्त महत्त्वपूर्ण छन् । पारम्परिक सरकारी बजेट र वित्तीय स्रोतहरू यी ठूला र दीर्घकालीन परियोजनाहरूका लागि पर्याप्त नहुन सक्छन्”, उनले भने, “यस सन्दर्भमा वैकल्पिक वित्तीय स्रोतहरूको प्रयोग गरेर नेपालका महत्वपूर्ण पूर्वाधार तथा उत्पादनशील परियोजनाहरूलाई गति दिन आवश्यक देखिएको छ ।”

वैकल्पिक वित्तीय स्रोतअन्तर्गत विभिन्न प्रकारका लगानी संरचनाहरू जस्तै भेञ्चर क्यापिटल, म्युचुअल फन्ड, परियोजना विशेष ऋणपत्र, रेमिट कोष, पूर्वाधार कोष, परियोजना इन्कुबेशन कोष तथा अन्य वित्तीय साधन प्रयोग हुनेछन् । त्यसैगरी यसका लागि सरकारी योगदानका अतिरिक्त अन्तर्राष्ट्रिय बहुपक्षीय तथा द्विपक्षीय संस्थाहरूको लगानी, निजी क्षेत्रको लगानी, आप्रवासी नेपालीहरूको लगानी, संस्थागत लगानी, ग्रीन बण्ड, जलवायु कोष लगायतबाट स्रोत व्यवस्थापन गरिने जनाइएको छ ।

काठमाडौं महानगरको विकास बजेट घटाएर  ७२ करोड ४३ लाख कायम गरिने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौँ महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डङ्गोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी छन् ।


“महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न जरुरी देखिएको छ”, उपप्रमुख डंगोलले भनिन्, “विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेश गर्नुपरेको हो ।”


संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरपालिकाका विषयगत समिति एवं अन्य विभिन्न समितिहरुमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पास गरी नगरसभामा पेस गरिएको उपप्रमुख डङ्गोलले बताइन् । आर्थिक वर्षका लागि विनियोजित कूल बजेट रकम, चालुगत तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरेको नगरसभामा उनले स्पष्ट पारिन् ।


संशोधित प्रस्ताव अनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर  ७२ करोड ४३ लाख ७१ हजार बजेट कायम गर्न लागिएको छ । सो क्षेत्रमा यस अघि ७२ करोड ९९ लाख ७१ हजार विनियोजन भएको थियो ।


कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा रू तीन अर्ब ७० करोड ५३ लाख ८ हजार विनियोजन भएकोमा त्यसलाई बढाएर रू तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार कायम गर्ने प्रस्ताव गरिएको छ ।  


त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा रू १२ अर्ब एक करोड ९३ लाख ९१ हजार पाँच सय बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर रू ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।


सामाजिक विकासका क्षेत्रमा यसअघि रू पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार पाँच सय विनियोजन भएकोमा त्यसलाई घटाएर रू पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।


त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि रू दुई अर्ब २२ करोड ६५ लाख ८५ हजार बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ । उक्त क्षेत्रमा यस अघि रू दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार विनियोजन भएको थियो ।

पाँच महिनामा १६ प्रतिशत बजेट खर्च

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले रू २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म रू चार अर्ब एक करोड चार लाख ५६ हजार बराबर खर्च भएको उपप्रमुख डङ्गोलले नगरसभालाई जानकारी गराइन् । हालसम्मको बजेट खर्च कूल विनियोजनको १६ दशमलव १० प्रतिशत हो । 


महानगरपालिकाले हालसम्म चालु शीर्षकमा २३ दशमलव ५८ प्रतिशत र पुँजीगत खर्च १० दशमलव ९२ प्रतिशत खर्च भएको छ ।


“हालसम्म पूर्वाधार विकासमा १२ दशमलव १३ प्रतिशत, आर्थिक विकासमा २४ दशमलव १८ प्रतिशत, सामाजिक विकासमा १२ दशमलव २३ प्रतिशत खर्च भएको छ”, उपप्रमुख डङ्गोलले भनिन्, “त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात दशमलव ९२ प्रतिशत खर्च भएको देखिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा वढी ३६ दशमलव ५४ प्रतिशत खर्च भएको देखिन्छ ।”


महानगरपालिकाले चालु आर्थिक वर्षमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । यही पुस ११ गतेसम्म कुल रू चार अर्ब नौ करोड ८९ लाख ३६ हजार बराबर राजस्व प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।


जसमा आन्तरिक राजस्वतर्फ कुल रू दुई अर्ब ६१ करोड ५५ लाख ४३ हजार सङ्कलन भएको छ भने राजस्व बाँडफाँडबाट रू ५९ करोड ८९ लाख ४१ हजार र सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रू ८८ करोड ४४ लाख ५१ हजार रहेको छ । हालसम्मको कुल राजश्व सङ्कलन वार्षिक लक्ष्यको ३१ दशमलव ०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कुल लक्ष्यको ३२ दशमलव ५५ प्रतिशत प्रगति भएको देखिन्छ ।


स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२ दशमलव ७५ अङ्क प्राप्त गरेको पनि उपप्रमुख डङ्गोलले बताइन् । यो अङ्क काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च अङ्क हो ।

दुर्घटनाग्रस्त दक्षिण कोरियाली विमानको ‘ब्ल्याक बक्स’ फेला, १६७ जनाको मृत्यु भएको पुष्टि

सियोल । दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ ।

‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्याङ्क (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएका’ बताए ।

विमानमा १७३ दक्षिण कोरियाली र दुई थाइल्याण्डका नागरिकसहित १७५ यात्रु रहेका थिए भने ६ जना चालक दलका सदस्य थिए ।

दुर्घटनाग्रस्त विमान राजधानी सियोलबाट करिब २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयअनुसार आइतबार बिहान ९ः०७ बजे दुर्घटनाग्रस्त भएको थियो ।

थाइल्याण्डको बैङ्ककबाट उडेको जेजु एयरको विमान ७सी२२१६ रनवेबाट चिप्लिँदा धावनमार्गको बाहिरी भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा सवार १८१ जनामध्ये ३३ र २५ वर्षका दुई जना चालक दलका सदस्यबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ । हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।

अग्नि नियन्त्रक अधिकारीहरूले चराको आक्रमणका कारण विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन्।

पहिलो अवतरण प्रयासपछि, विमान अवतरण गियरको अनुमानित खराबीको कारण विमानले पुनः आकाशमा फर्किएकोे र दोस्रो अवतरण प्रयास ‘बेली–ल्यान्डिंग’को साथ गरिएको थियो ।

स्थानीय टेलीभिजनले प्रशारण गरेको एउटा फुटेजमा बोइङ ७३७–८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिएको छ । अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ । यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ ।

बेथिति र अस्थिरता हटाउनु यो सरकारको उद्देश्यः प्रधानमन्त्री ओली

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पार्न कांग्रेस एमालेको सरकार बनेको बताएका छन् ।

आइतबार पर्साको प्रसौनीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रहेका बेथिति र अस्थिरतालाई हटाउनु यो सरकारको उद्देश्य रहेको बताएका हुन् । उनले एमाले–कांग्रेसको संयुक्त सरकारले नै मधेस र देशको विकासको गति अघि बढाउने बताए ।

उनले आगामी २०८४ को निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्ने र त्यसका लागि नेता कार्यकर्तालाई आजदेखि लाग्न निर्देशन दिए । उनले मधेशका नेताहरूले संविधानको धाराधारामा राजनीति गरेर जनता अलमल्याइरहेको आरोप लगाए । उनले भने, ‘यहाँका नेताहरूको माग संविधानको फलानो धारा फेनुपर्छ मात्रै भन्नुहुन्छ । संविधानको धाराको राजनीति गरेर जनता अलमल्याइरहनुहुन्छ ।’

प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै अब म्याजिक नम्बरको धक्कु लगाउनेहरुको राजनीति पनि सकिएको बताए । उनले भने, ‘म्याजिक नम्बरको धक्कु लगाएर मनपरी राजनीति गरेकाले नेकपा एमाले र नेपाली कांग्रेसको समीकरण बनेको हो । अब यसरी धक्कु लगाउनेहरुको दिन गए ।’

एमाले सरकारमै रहेका बेला प्रचण्डले आफूहरुसँग म्याजिक नम्बर रहेको र पाँचै वर्ष सरकारको नेतृत्व गर्ने अवस्था आउने बताएका थिए । प्रचण्डले यस्तो अभिव्यक्ति दिएको केही दिनमै प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेस एमालेको सरकार गठन भएको हो ।

श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । समितिको आइतबारको बैठकले नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो । प्रस्तावित राजदूत नेपालीले लुम्बिनीको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन पहल गर्नेलगायत प्रतिबद्धता जनाएका थिए ।

नेप्सेमा २१ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से २१ दशमलव १२ अङ्कले घटेर दुई हजार ६ सय नौ दशमलव ५८ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स, नारायणी विकास बैंक, सप्तकोशी विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

समग्रमा बजार घटेको दिन महिला लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशत र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज तीन सय १६ वटा कम्पनीका एक करोड १० लाख कित्ता शेयर पाँच अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएको छ ।

काठमाडौंबाट पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले काठमाडौँको कोटेश्वरबाट नौ एमएमको पेस्तोलसहित आइतबार एकजनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाट बस्ने ३३ वर्षीय सनराइज खड्का रहेका काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।


उनले भने, “कोटेश्वर क्षेत्रमा हतियारको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो टोलीले होटल विश्पुलबाट निज खड्कालाई पक्राउ गरेको हो ।” 


पक्राउ परेका खड्काको साथबाट प्रहरीले एक थान नौ एमएमको पेस्तोल, त्यसमा लाग्ने एक थान म्याग्जिन र नौ राउन्ड गोली समेत बरामद गरेको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताए । 

जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा

जमुना शर्मा, पोखरा । अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा गुलजार बनेको छ । जल, जमिन र आकाश लक्षित महोत्सवले स्वदेशी र विदेशी पर्यटक आकर्षित मात्रै गरेको छैन, यहाँको पर्यटकीय गतिविधि चलायनमान बनाएको छ ।

हाल यहाँ २६औँ संस्करणको सडक महोत्सव, बिवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस चलिरहेका छन् । क्रिसमस सकिएर नयाँ वर्षको रौनक सुरु भइसकेको पर्यटन राजधानी पोखरामा महोत्सवले थप गतिविधि बढाएका छन् । महोत्सवले पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विश्वसामु चिनाउन थप भूमिका खेल्ने विश्वास गरिएको छ ।

रेस्टुरेन्ट एन्ड बार एशोसिएशन (रेवान) पोखराले सन् १९९८ मा सुरु गरेको पोखरा सडक महोत्सव अहिले पोखराको ब्राण्डनै बनेको छ “सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नारालाई जीवन्त बनाउँदै महोत्सवले हजारौँ पर्यटकलाई आकर्षित गरेको छ । लेकसाइडको तीन किलोमिटर क्षेत्र साङ्गीतिक कार्यक्रम, मौलिक झाँकी, वेषभूषा प्रदर्शनी र अन्तर्राष्ट्रिय खानाको प्रदर्शनीले भरिएको छ ।

महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई पोखराको सांस्कृतिक र प्राकृतिक सौन्दर्यसँग परिचित गराउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग पुर्‍याएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल बताए । उनका अनुसार यो महोत्सव नेपाली पर्यटनलाई अन्तर्राष्ट्रिय मानचित्रमा स्थापित गर्ने महत्वपूर्ण माध्यम हो । महोत्सवमा कृषि उत्पादन, हस्तकला, र वनस्पतिको प्रदर्शनी विशेष आकर्षण बनेको छ ।

स्थानीय किसान, व्यवसायी, र कलाकारले आफ्नो उत्पादन प्रदर्शन गर्दै नयाँ बजारको पहुँच पाएका छन् । विभिन्न जातजातिका परम्परा, साङ्गीतिक झाँकी र कला प्रदर्शनी प्रस्तुत गरेर सांस्कृतिक विविधतालाई उजागर गर्दै आएको महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको संयोजक विकास भट्टराईको भनाइ छ ।

पहिलो पटक आयोजना गरिएको बीवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटकीय महत्वलाई अझै उचाइमा पु¥याइएको छ । फेवातालको शिरानमा सुरु भइरहेको यो महोत्सवमा नेपालसहित १५ देशका पाइलटले सहभागिता जनाएका छन् । रङ्गिन र विभिन्न आकार र डिजाइनका १७ वटा भव्य बेलुन आकाशमा उडिरहँदा आकाश शृङ्गारिएको छ भने तालमा देखिने सुन्दर दृश्य अवर्णित छन् ।

पर्यटकले आकाशबाट हिमालय शङ्खला, हरियाली र फेवातालको सौन्दर्यको अनुभव गर्दै पोखरालाई नयाँ दृष्टिकोणबाट नियाल्न सकेको पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् ।

“यो महोत्सवले पर्यटकको बसाइँ लम्ब्याउने मात्र नभइ अन्तर्राष्ट्रिय मिडियामासमेत ध्यानाकर्षण गरेको छ”, पहारीले भने, “यो महोत्सवले पोखरालाई साहसिक र मनोरञ्जनात्मक गतिविधिको आकर्षक गन्तव्यका रूपमा स्थापित गरेको छ ।” बेलुन महोत्सव, ड्रागन बोट रेस र सडक महोत्सवले पोखराको पर्यटकीय महत्वलाई नयाँ उचाइमा पु¥याउँदै पर्यटनमा नयाँ आयाम थपेको उहाँको भनाइ छ ।

बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेका अनुसार बेलुन महोत्सवले मनोरञ्जन मात्र होइन, साहसिक पर्यटनको नयाँ ढोका खोल्दै पोखरालाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्रविन्दु बनाउने प्रयास गरिरहेको छ ।

आजदेखि फेवातालमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसले पोखरामा पर्यटनमा रौनक थपेको छ । नेपाल, चीन, र सिङ्गापुरका २० टोलीबीचको यो प्रतिस्पर्धाले खेलकुद र पर्यटनलाई जोड्ने कार्य गरिरहेको छ ।

बेलुन नेपाल प्रालिका बीबी ढकालले नेपालको हट एयर बेलुनले अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा पाएको उल्लेख गर्नुभयो । “महोत्सवबारे अन्तर्राष्ट्रिय अखबारले पहिलो पृष्ठमै तस्बिर प्रकाशित गरेका छन्, यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा यसले ठूलो सहयोग पुगेको हाम्रो विश्वास छ ।”

पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, र नेपालस्थित चिनियाँ दूतावासको सहकार्यमा आयोजित महोत्सवले फेवाताललाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा चिनाउने विश्वास लिइएको छ ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले महोत्सवले साहसिक गतिविधिमा पोखराको भूमिका विस्तार गर्न यस महोत्सवले सघाउने विश्वास व्यक्त गरे । “ड्रागन बोट रेसको रोमाञ्चकता, बेलुन महोत्सवको साहसिकता, र सडक महोत्सवको सांस्कृतिक झल्कोले पोखरालाई त्रिकोणीय महोत्सवको उत्कृष्ट उदाहरण बनाएको छ ।”

त्रिकोणीय महोत्सवले पोखराको सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, स्थानीय उत्पादनलाई उजागर गर्दै अर्थतन्त्र र पर्यटनमा दीर्घकालीन योगदान पुर्‍याउने सफल हुने उनको विश्वास छ । पर्यटकीय राजधानी पोखरामा अहिले भइरहेका महोत्सवले साहसिक पर्यटनको सम्भावना र नेपाली पर्यटनको उज्ज्वल भविष्यप्रति सकारात्मक सङ्केत गरेको र दीर्घकालीन पर्यटनमा पनि प्रभाव पार्ने उनको बुझाइ छ ।

प्रदेशसभा सदस्यसमेत रहेकी पर्यटन व्यवसायी देवका पहारीले त्रिकोणीय महोत्सव सडक महोत्सव, बेलुन महोत्सव र ड्रागन बोट रेस पोखराको पर्यटनलाई नयाँ ऊर्जा र पहिचान प्रदान गर्ने महत्वपूर्ण माध्यम बनेको बताइन् ।

“यी गतिविधिले केवल पोखराको सांस्कृतिक र प्राकृतिक सम्पदाको उजागर मात्र नगरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल भएको छ ।” उनले पोखराको फेवाताल, हिमालय, र सांस्कृतिक विविधताले भरिएको यो अनुभवले साहसिक खेलकूद, साङ्गीतिक उत्सव, र मौलिक उत्पादनको प्रदर्शनले पोखरालाई नयाँ उचाइमा पुर्‍याएको बताइन्।

यी महोत्सवले नेपाली पर्यटनमा थप आयाम थप्ने विश्वासका साथ, पोखरा अब सांस्कृतिक, साहसिक र मनोरञ्जनात्मक पर्यटनका लागि विश्वका शीर्ष गन्तव्यमध्ये एक बन्ने दिशामा अग्रसर देखिएको उनको भनाइ छ ।

सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना

काठमाडौँ । सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ । यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटनाहरू प्रतिबिम्बित गर्ने यो राम्रो समय पनि हो । सन् २०२४ मा विश्वभरका विभिन्न सङ्कटहरू देखिएको वर्ष थियो । यस वर्ष धेरै ठूला घटना र प्रकोपहरू भए र तिनीहरूको प्रभाव सम्भवतः लामो समयसम्म महसुस गरिने छ ।
सन् २०२४ मा चर्चित केही घटनाहरू यहाँ प्रस्तुत गरिएको छः

– मध्यपूर्व द्वन्द्व –

सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणबाट भएका घटनाहरू सन् २०२४ मा मध्यपूर्वमा प्रतिध्वनित भएका छन् । इजरायलले गाजामा आफ्नो युद्ध जारी राख्यो । इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको सङ्ख्या अहिले ४५ हजार नाघेको छ र उत्तरी गाजा अनिकालको सङ्घारमा छ ।

इजरायलले हमासका नेता र अक्टोबर ७ मा मुख्य योजनाकार याह्या सिनवारको हत्यासहित धेरै रणनीतिक विजय प्राप्त गर्यो । यद्यपि यसको रणनीतिक उद्देश्य–हमासलाई पराजित गर्नु–अधुरो नै रह्यो ।

अप्रिलमा इजरायलले दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा बम प्रहार गरेपछि इरानले इजरायलमा अभूतपूर्व मिसाइल र ड्रोन आक्रमण ग¥यो । इजरायलले अमेरिका र पश्चिमी सहयोगका साथ आक्रमणलाई पराजित गर्यो। इजरायलले इरानको हवाई रक्षामा सीमित हवाई आक्रमण गरेर जवाफ दियो ।

इजरायलले जुलाईमा तेहरानमा नयाँ इरानी राष्ट्रपतिको उद्घाटनमा सहभागी भएका हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको थियो । दुई महिनापछि इरानले इजरायलमाथि अर्को क्षेप्यास्त्र आक्रमण गरेर जवाफ दियो । अक्टोबरको अन्त्यमा इजरायलको जवाबी हवाई आक्रमणले इरानको क्षेप्यास्त्र उत्पादनलाई कमजोर बनायो र यसको हवाई सुरक्षालाई ध्वस्त बनायो ।

सेप्टेम्बरको मध्यमा इजरायलले उत्तरी इजरायल विरुद्ध मिसाइल र रकेट आक्रमण गरिरहेको हिजबुल्लाहलाई एक गोप्य अपरेसनसँगै सजाय दियो । यस घटनामा दर्जनौँ हिजबुल्लाह कार्यकर्तालाई मार्न विस्फोटक पेजरहरू प्रयोग गरिएको थियो ।

दुई हप्तापछि इजरायली हवाई आक्रमणमा लामो समयदेखिका हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिए । त्यसपछि इजरायली स्थल सेनाले दक्षिणी लेबनानमा आक्रमण गरी हिजबुल्लाह सेनालाई पछाडि धकेलेको थियो ।

हमास र हिजबुल्लाहको कमजोरीले सिरियामा टर्की समर्थित सेनाहरूलाई डिसेम्बरमा बशर अल–असदको सरकारलाई अपदस्थ गर्ने अवसर सिर्जना गर्यो । दुई महिनाको खुला युद्धपछि लेबनानमा नोभेम्बर २७ मा एउटा नाजुक युद्धविराम लागु भयो ।

– बशर अल–असदको पतन –

सिरियामा इस्लामवादी विद्रोही समूह हयात ताहरिर अल–साम (एचटिएस) द्वारा नोभेम्बर २७ मा सुरु गरिएको ११ दिनको अप्रत्याशित आक्रमणपछि राष्ट्रपति बशर अल–असद देशबाट मस्को भाग्न बाध्य भए ।

दमास्कसको पतनको एउटा प्रतीकात्मक क्षण कुख्यात सेदनया जेलबाट कैदीहरूको रिहाइ थियो । राजधानीको उत्तरमा रहेको त्यो जेल विशेष गरी २०११ मा सिरियाको गृहयुद्ध सुरु भएदेखि असद वंशको ५० वर्षको शासनअन्तर्गत यातना र मृत्युदण्डको प्रतीक थियो ।

देशको इस्लामवादी नेतृत्वको सरकारले देशमा रहेका अल्पसङ्ख्यक र विदेशमा रहेका सरकारहरूलाई सबै सिरियालीको सुरक्षा गर्ने आश्वासन दिन खोजेको देखिन्छ । यद्यपि अलकायदासँगको सम्बन्धका कारण अन्तर्राष्ट्रिय समुदायले नयाँ सरकारको गतिविधिलाई ध्यानमा राख्दै तत्काल सिरियामाथि लगाइएको प्रतिबन्ध हटाएका छैनन् ।

असदको निष्कासनपछि देशको हतियारहरू अन्तरिम सरकारको हातमा पर्नबाट रोक्न चाहेको भन्दै इजरायलले सिरियाको सैन्य स्थलहरूमा सयौँ आक्रमण गरेको छ ।

इजरायलले गोलान हाइट्समा संयुक्त राष्ट्र–नियन्त्रित बफर जोन पनि कब्जा गरेको छ ।

– रुस–युक्रेन द्वन्द्व –

सन् २०२२ फेब्रुअरी २४ मा रुसको आक्रमणपछि युक्रेनले अगस्टमा रुसको कुस्र्क क्षेत्रमा आश्चर्यजनक आक्रमण सुरु गर्यो । यद्यपि युक्रेन पूर्वी युक्रेनमा लडाइँबाट मस्कोको सेनालाई विचलित गर्ने आफ्नो लक्ष्यमा असफल भएको छ ।

रुसले घातक आक्रमणका साथ जवाफ दियो । किएभको सेना विशेषगरी पूर्वी डोनबास क्षेत्रमा रूसी सेनाको स्थिर प्रगति रोक्न सङ्घर्ष गरिरहेको छ ।

नोभेम्बरमा युक्रेनले अमेरिका र बेलायतको स्वीकृति पाएपछि पहिलो पटक रूसी भूभागमा पश्चिमबाट आपूर्ति गरिएको लामो दूरीको क्षेप्यास्त्र प्रयोग गरेको थियो ।

रुसले युक्रेनलाई आणविक वारहेड बिना हाइपरसोनिक ओरेसनिक मिसाइलले प्रहार गरेर जवाफ दियो । साथै किएभले पश्चिमी हतियारले आक्रमण जारी राखे त्यस्ता आक्रमणहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गर्यो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई हतियार उपलब्ध गराउने देशहरूमा आक्रमण गर्ने धम्की समेत दिएका छन् ।

नोभेम्बरको अन्त्यमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गर्यो । हालैका सातामा रुसले दक्षिणी युक्रेनमा आक्रमणहरू बढाउँदा यस क्षेत्रमा नयाँ रूसी आक्रमणको डरलाई बलियो बनाएको छ ।

– युरोपेली युद्धमा उत्तर कोरियाली सैनिक –

यस वर्ष ११ हजारभन्दा बढी उत्तर कोरियाली सैनिकको तैनाथीले रुस–युक्रेन युद्धलाई वास्तवमै विश्वव्यापी सङ्घर्षमा परिणत गर्यो ।

उत्तर कोरियालीहरू पहिले भाषा सिक्न र आफ्ना नयाँ साथी सैनिकहरूको सञ्चालन कार्यप्रणाली बुझ्न रुसी अड्डाहरूमा तालिमका लागि तैनाथ भएका थिए ।

रुसको कुस्र्क प्रान्तमा युक्रेनी फौजलाई पछि धकेल्ने प्रयास गर्दै वर्षको अन्तिम साताहरूमा तिनीहरू युद्धमा होमिए । युक्रेन र अमेरिकी अधिकारीहरूका अनुसार सयौँ उत्तर कोरियाली सैनिक लडाईंमा मारिए वा घाइते भएका छन् ।

– सुडान गृहयुद्ध –

सन् २०२३ अप्रिलमा सुडानमा सुरु भएको गृहयुद्ध सन् २०२४ मा निरन्तर जारी रह्यो । लडाइँले जनरल अब्देल फताह अल–बुरहानको नेतृत्वमा सुडानी सशस्त्र बल (एसएएफ) लाई मोहम्मद हमदान ‘हेमेदी’ दागालोको नेतृत्वमा रहेको र्यापिड सपोर्ट फोर्स (आरएसएफ) मिलिशिया विरुद्ध खडा गरेको छ ।

यी दुई व्यक्तिले अक्टोबर २०२१ मा एक विद्रोहमा संयुक्त रूपमा सत्ता कब्जा गरेका थिए । दुई दशकअघि डार्फर नरसंहारका लागि जिम्मेवार कुख्यात आरएसएफले सुडानको राजधानी खार्तुम र डार्फरको धेरैजसो नियन्त्रण कब्जा गर्यो ।

सेप्टेम्बरको अन्त्यमा एसएएफले खार्तुमलाई पुनः प्राप्त गर्न ठूलो आक्रमण सुरु ग¥यो । तिनीहरूले सहरका केही भागहरू पुनः कब्जा गरे तर आरएसएफ सेनाहरूलाई पूर्ण रूपमा हटाउन असफल भए ।

लडाइँ सुरु भएपछि सुडानी जनताले दुःख भोगेका छन् । मृत्युको सही सङ्ख्या अज्ञात छ । मृतकको सङ्ख्या २० हजार पुगेको अनुमान गरिए पनि युद्धसँग सम्बन्धित रोग र भोकमरीलाई समावेश गर्दा यो सङ्ख्या ६० हजारभन्दा बढी वा अझ बढी हुनसक्छ । डार्फरमा अनिकाल घोषणा गरिएको छ ।

द्वन्द्वले लगभग पाँच करोड कूल जनसङ्ख्यामध्ये करिब एक करोड १० लाख मानिसलाई विस्थापित गरेको छ । एसएएफ र आरएसएफ दुवैलाई लडाइँ जारी राख्न सक्षम बनाउने शक्तिशाली बाह्य समर्थकहरू रहेकाले दुवैले आफू विजयी हुने विश्वास गर्छन् ।

– ट्रम्पको पुनरागमन

डोनाल्ड ट्रम्पले एक पटक फेरि विश्वलाई स्तब्ध पारे । अमेरिकी राष्ट्रपति चुनाव जित्नका लागि धेरै कडा दौडको प्रक्षेपणलाई उहाँले गलत साबित गरे ।

चुनावी अभियानबाट पछि हटेका राष्ट्रपति जो बाइडेनको स्थानमा उम्मेदवारी दिएकी डेमोक्रेट कमला ह्यारिसलाई ट्रम्पले सजिलै पराजित गरे ।

चार अभियोग र आपराधिक सजायको सामना गर्ने ७८ वर्षीय ट्रम्पमाथि दुई असफल हत्या प्रयास भएका थिए । ट्रम्प सन् २०२५ जनवरी २० मा ह्वाइट हाउस फर्कनेछन् ।

अमेरिकामा ट्रम्पको विजयले ‘अमेरिका पहिलो’ को पुनरुत्थानका साथसाथै अमेरिकालाई धेरै अन्तर्राष्ट्रिय संस्थाहरूबाट फिर्ता लिने सम्भावना छ । ती संस्थाहरूलाई ट्रम्पले अमेरिकी करदाताहरूको पैसा खाएको ठान्छन् ।

– जलवायु प्रकोप –

मौसम लगातार तातो हुँदै गइरहेको छ । वैज्ञानिकहरूले दशकौँदेखि जीवाश्म इन्धनको हाम्रो लतले जलवायु परिवर्तन गर्ने चेतावनी दिँदै आएका छन् । तथ्यहरूले तिनीहरूलाई समर्थन पनि गरेको छ ।

वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर बढ्दै गएको छ । सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा तल जानेछ । सन् २०२४ मा पहिलो पटक औसत विश्वव्यापी तापमान पूर्व–औद्योगिक समयको तुलनामा १.५ डिग्री सेल्सियस बढी थियो । सन् २०१५ को पेरिस सम्झौताले विश्वलाई स्थायी रूपमा त्यो स्तर उल्लङ्घन गर्नबाट रोक्न खोजेका बेला यो खतरनाक सङ्केत हो कि ।

बदलिँदो मौसमका केही परिणामहरू देखिएका छन् । सन् २०२४ को पहिलो १० महिनामा संयुक्त राज्य अमेरिकामा मौसम सम्बन्धी आएका २४ वटा प्राकृतिक प्रकोपले कम्तीमा एक१ अर्ब डलरको क्षति पुर्याएको थियो । रेकर्ड खडेरीले उत्तरी दक्षिण अमेरिकालाई तहसनहस पारेको छ । विश्वको सबैभन्दा ठूलो नदी प्रणाली अमेजनका केही भाग सुकेको छ ।

आप्रवासनको अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) का अनुसार पश्चिम र मध्य अफ्रिकामा असामान्य रूपमा तीव्र वर्षाको मौसममा एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ ।

सेप्टेम्बरमा हेलेन नामको आँधीले दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा प्रहार गर्यो । टाइफुन क्राथन ताइवानमा ठोक्कियो र आँधी बोरिसले मध्य युरोपमा बाढी र विनाश ल्यायो ।

टाइफुन यागी र बेबिन्काले एसियामा विनाश निम्त्यायो । अक्टोबरमा विनाशकारी भूमध्यसागरीय आँधीले पूर्वी स्पेनमा प्रहार गर्दा यसले दशकहरूमा यसको सबैभन्दा खराब बाढी निम्त्यायो र दुई सय ३० भन्दा बढी मानिसको मृत्यु भयो ।

डिसेम्बरमा चक्रवात चिडोले फ्रान्सेली ओभरसिज क्षेत्र मायोट्टलाई ध्वस्त पारेको थियो । जलवायु सम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप २९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्नमा केही मात्र प्रगति गर्न सकेको छ ।

सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार

भोजपुर । देश सङ्घीयतामा गएपश्चात् भोजपुरमा विकासले गति लिएको छ । थुप्रै ऐतिहासिक महत्व बोकेको र विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचेअनुसारको फड्को मार्न सकेको थिएन । देश सङ्घीय संचरनामा गएसँगै दुई नगरपालिका र सात वटा गाउँपालिकाले विकासका गतिविधिलाई अघि बढाएका छन् ।

भोजपुर विभिन्न कारणले देशमा परिचित जिल्ला पनि हो । भोजपुरको चिनारी धेरै क्षेत्रबाट लिन सकिन्छ । पहिलो त यो जिल्ला खुकुरीका लागि प्रख्यात छ । त्योसँगै राणाकालमा नेपालभर चाहिने टक (डोली पैसा) छापिएको जिल्ला पनि हो ।

यहाँ विसं १८७२ सालमा भोजपुर नगरपालिका १२ टक्सारमा तामाको टक अर्थात मुद्रा छापिन्थ्यो । ती मुद्राहरु अहिले पनि भेट्न सकिन्छ । भोजपुर शिक्षाको क्षेत्रमा पनि अग्रस्थानमा रहेको जिल्ला हो । यहाँको दिङ्लामा आबाल ब्रह्मचारी षडानन्द अधिकारीले १९३२ सालमै नेपालकै पहिलो सस्कृत पाठशाला सञ्चालनमा ल्याएको थियो । त्यो समयमा देशका विभन्नि ठाउँ तथा भारतबाटसमेत अध्ययनको लागि मानिसहरु आउने गरेका थिए ।

सतिप्रथाको अन्त्यका लागि लड्ने क्रान्ति योदा योगमाया न्यौपानेको जन्मभूमि रुपमा पनि यो जिल्ला परिचित छ । १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडामा जन्मिएकी न्यौपानेले सतिप्रथाविरुद्ध गरेको योगदान अतुलनीय छ ।

सतिप्रथा, छुवाछूत प्रथा अन्त्यको लागि आफ्नो अभियानको नारा लगाउँदै १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले मृत्युवरण गरेर क्रान्तिको शुरुआत गरेका थिए । त्योसँगै राजनीति तथा निजामति सेवा पनि यहाँका मानिसहरुले उच्च तह प्राप्त गरिसकेका छन् । गणतन्त्र प्राप्तिपछि दुई पटक राष्ट्रपतिको जिम्मेवारी पनि भोजपुरकै विद्यादेवी भण्डारीले सम्हालिन् ।

भोजपुरमा सडक पूर्वाधारसँगै पर्यटकीय क्षेत्रमासमेत नमूनायोग्य कामहरु भइरहेका छन् । सीमित स्रोतको अधिकतम सदुयोग गर्दै स्थानीय तहहरुले प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा दीर्घकालीन महत्व योजनाहरुको थालनी गरेका छन् ।

यहाँको पौवादुङमा गाउँपालिकाले आफ्नो श्रोत, प्रदेश तथा संघ सरकारसँगको सहकार्यमा तिवारीभञ्याङ–अधेँरीघाट ३६ किलोमिटर सडक कालोपत्र थालेको छ । यो गाउँपालिकाले कृषि तथा पर्यटकीय क्षेत्रमा पनि योजनावद्ध विकास थालेको अवस्था छ ।

सुक्खा क्षेत्रका रुपमा परिचित यो गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानीले अकबरे खुर्सानीबाट मात्र वार्षिक आठ करोडसम्म आम्दानी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाउँपालिकाले कृषकलाई दुग्ध उत्पादनसँग जोड्न चालु आर्थिक वर्षमा करिब दुई सय वटा उन्नत जातका गाईका बाछी वितरणको कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकालाई फुसको छानोमुक्त बनाउने लक्ष्यले धमाधम फुसको छानो हटाउने काम भइरहेको छ । “देश सङ्घीय संरचनामा गएपछि स्थानीय सरकार सञ्चालनमा छन्”, अध्यक्ष राईले भने, “स्थानीय सरकार सञ्चालन आएपछि केही नमुनायोग्य काम गर्न सफल भएका छौँ । जनताले स्थानीय सरकार भएको महशुस गर्न पाएका छन् ।”

प्रदेश सरकारको लगानीमा भोजपुर सदरमुकाम–टक्सार विमानस्थलसम्मको करिब साढे चार किलोमिटर कालोपत्र भएको छ । कोशी प्रदेश सरकार सञ्चालनमा भएपछि आस्फाल्ड प्रविधिमा निर्माण गरिएको पहिलो सडक पनि हो । भोजपुरमा २०६५ सालमा कच्ची सडक विस्तारपछि हेलिकप्टरबाट जिप ल्याएर सवारीसाधनको सञ्चालन गरिएको थियो । त्यो बेलासम्म जिल्लामा कालोपत्र सडक देख्न पाउने अवस्था थिएन । धनकुटा जिल्लामा सडक पुगेको ३१ वर्षपछि भोजपुरमा सडकको विस्तार भएको स्थानीय समाजसेवी गणेश श्रेष्ठ बताउँछन् ।

स्थानीय सरकार सञ्चालनपछि धेरै दूरगामी महत्व बोकेका योजनाहरु सञ्चालन भइरहेका छन् । जिल्लामा अहिले सडक, पुल, खानेपानी, कृषि पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा स्थानीयबासीले महशुस गर्ने खालको विकास भएको श्रेष्ठले बताए । उनले भने,“ठूला कालोपत्र सडक, पुलसँगै भौतिक संरचनाहरु निर्माण भइरहेका छन् । यसले नागरिकको जनजीवनमा प्रत्यक्ष लाभ पुगेको छ ।”

जिल्लामा स्थानीय सरकार सञ्चालनमा आएपछि सबै ८१ वटै वडामा कच्ची नै भए पनि सडक विस्तार भएको छ । प्रदेश सरकार लगानी तथा पहलमा यहाँका १२ वटा खोलामा पक्की पुल निर्माण भएका छन् भने दुई वटा पुल निर्माणको चरण रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको लगानीमा भोजपुर सदरमुकामबाट उत्तरको व्यापारिक केन्द्र दिङ्ला जोडने भोजपुर– दिङ्ला सडक कालोपत्रको काम भइरहेको छ । करिब ४७ किलोमिटर लामो यो सडकलाई दुई भागमा विभाजन गरी कालोपत्र गर्नको लागि काम भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

उनका अनुसार भोजपुर–दिङ्ला पहिलो प्याकेजअन्तर्गत पानीट्याङ्कीबाट तीनतलेसम्म ५८ करोड ४० लाखमा ठेक्का सम्झौता भएर काम भइरहेको छ भने दोस्रो प्याकेजअन्तर्गत तीनतले–दिङ्ला सडक ६३ करोड ९२ लाख लागतमा ठेक्का सम्झौता भएर काम सुरु भएको छ । कालोपत्र गर्ने लक्ष्यका साथ षडानन्द १२–तुर्के–झ्याउपोखरी–फालिदोबाटो सडकमा पनि काम भइरहेको छ । त्यस्तै भोजपुर–टक्सार–मानेभञ्ज्याङ–आरी खोला–बालङ्खा रानीटार सडक पनि कालोपत्र गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

जिल्लाको खेलकुद क्षेत्रको विकास लागि प्रदेश सरकारको लगानीमा भोजपुर नगरपालिका–७ कोदारमा अन्तर्राष्ट्रियस्तरको भोजपुर रङ्शाला निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । रङ्शाला कोशी प्रदेश सरकारको करिब रु १४ करोड लागतमा निर्माण सम्पन्न भएको हो ।

जिल्लामा अन्तर्राष्ट्रियस्तरको रङ्शाला निर्माणले भोजपुरबासीमा उत्साह थपिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविन सुवालले बताए । विगतमा खेलमैदानको अभावले ठूलो प्रतियोगिता सञ्चालनमा समस्या भए पनि रङ्शाला निर्माणले त्यो समस्याको अन्त्य भएको उनको भनाइ छ ।

भोजपुरमा पर्यटन क्षेत्रमा पनि उल्लेख्य काम भइरहेका छन् । स्थानीय तहहरुले आफ्नो ठाउँका पर्यटकीय क्षेत्रको पहिचान गरेर संरक्षण तथा विकासको लागि काम गरिरहेका छन् । नेपाल सरकारको सय घुम्नै पर्ने पर्यटकीय गन्तव्यमा पर्न सफल मुन्दुम पदमार्गको विकासमा टेम्केमैयुङ गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको छ ।

भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुलाई छोएको यो पदमार्गको विकासमा प्रदेश सरकार, सङ्घीय सरकार, स्वीस सरकार र भोजपुरका स्थानीय तहसँगै अन्य जिल्लाका स्थानीय तहहरुले पनि आवश्यक भूमिका खेलिरहेका छन् ।

यस पदमार्गलाई पूर्वको स्थापित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ विकास तथा विस्तारमा योजनावद्ध रुपमा काम भइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । “मुन्दुम पदमार्गलाई पूर्वको एक स्थापित गन्तव्य रुपमा विकास गरिरहेका छौँ”, अध्यक्ष बस्नेतले भने, “यो पदमार्गलाई स्थानीयबासीको दिगो आम्दानीको श्रोतको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

रामप्रसाद राई गाउँपालिकाले डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिएको हो । यो क्षेत्रमा रहेको नेपालको राष्ट्रिय फूल लालीगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्ग निर्माण थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताए । पदमार्ग निर्माणमा करिब रु ५४ लाख खर्च भएको उनको भनाइ छ ।

रामप्रसाद राई गाउँपालिका–१ ओख्रेमा निर्माण भइरहेको यो स्थानलाई आधार बनाएर आन्तरिक पर्यटन परिपथ निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । हाल आख्रे बजारबाट करिब छ किलोमिटर पदमार्ग निर्माण भएको अध्यक्ष राईले बताए ।

यस पदमार्गलाई वडा ४ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना रहेको छ । पर्यटकलाई लक्षित गरेर यहाँ करिब एक सय रोपनी क्षेत्रमा चिया खेती विस्तार थालिएको अध्यक्ष राईले बताए । यहाँ आउने पर्यटकलाई लक्षित गरेर घरबास (होमस्टे) निर्माण गरिने अध्यक्ष राईले जानकारी दिए । यसलाई बृहत मुन्दुम ट्रेलसँग जोड्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।

हतुवागढी गाउँपालिकाले पनि जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएको हो ।

विभिन्न आर्थिक वर्षमा यो पदमार्ग निर्माण लागि प्रदेश सरकारसँगको सहकार्यमा करिब तीन करोड लगानी भइसकेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको उनको भनाइ छ ।

यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा सिद्धकाली देवी मन्दिर, नागछाँगा, पशुपति मन्दिर तिम्मा, रामजानकी मन्दिर दिङला, ट्याम्केडाँडा, नेपालको पहिलोबौद्ध विहार टक्सार, च्याङग्रेपोखरी, शन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी, कालिकादेवी, सेल्मेडाँडा, सुन्तलेडाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत पर्दछन् ।

त्यस्तै बेहेश्वर मन्दिर, हतुवागढी, हाँसपोखरी, चार हजार १५३ मिटर उचाईरहेको भोजपुरको सवै भन्दा अग्लो स्थान सिलिचुङ चुचुरो र १५३ मिटर उचाइ रहेको जिल्लाको सबैभन्दा होचो धार्मिक क्षेत्र माइवेँनी यहाँका प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रहरु हुन् । 

सोवारिग्पा शिक्षालाई व्यवस्थित गर्न जोड

काठमाडौँ। शताब्दीऔँदेखि प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्दतिसम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई मान्यता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

हाल लुम्बिनी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बौद्ध जोरपाटीमा स्थापना भएको सोवा रिग्पा इन्टरनेशनल कलेजबाट उत्तीर्ण गरेका विद्यार्थीहरुले मेडिकल काउन्सिलबाट प्रमाणपत्र पाउन नसक्दा थप अध्ययन वा सरकारी सेवामा प्रवेश गर्न समस्या भएको भन्दै उनीहरुलाई यसबाट वञ्चित गरिन नहुने उनीहरुको माग रहेको छ । हाल सो कलेजबाट नेपाललगायत भुटान, भारत, फिनल्याण्ड, कोस्टारिका, स्पेन र तिब्बतबाट आएका ३५ जना विद्यार्थीले साढे पाँच वर्षको कोर्ष पूरा गरी एक वर्ष इन्टर्न कोर्षसमेत गरिसकेका छन् ।

आडरा नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले परम्परागतरुपमा प्रचलनमा रहेको सोवा रिग्पा उपचार पद्दतिको संरक्षण र विस्तारका लागि यससम्बन्धी उच्च शिक्षामा अध्ययनलाई व्यवस्थित गर्न मन्त्रालय सकारात्मक रहेको बताए ।

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले स्वास्थ्य नीतिमा सोवारिग्पाको व्यवस्था गरिएकाले सम्बन्धित स्वास्थ्य संस्थाहरुमा दरबन्दीको व्यवस्था गर्न आवश्यक नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।

आयुर्वेद मेडिकल काउन्सिलका रजिष्टार डा निर्मल भुसालले भारतलगायत अन्य देशहरुमा सोवारिग्पालाई सरकारी मान्यता दिइएको सन्दर्भमा नेपालमा पनि यससम्बन्धी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई काउन्सिलमा दर्ता गराउन प्रकृया अगाडि बढाउन सकिने धारणा राखे ।

लुम्बिनी विश्वविद्यालयका पूर्व डीन उकेशराज भुजुले विश्वविद्यालयले विज्ञहरुको सुझावअनुसार तयार गरिएको सोवारिग्पाको पाठ्यक्रमलाई विषयगत समिति, प्राज्ञसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइएकाले यसलाई सरकारी मान्यता दिनबाट रोक्न नहुने बताए ।

कार्यक्रममा आयुर्वेद तथा चिकित्सा विभागका महानिर्देशक डा श्यामबाबु यादवले सोवारिग्पा विभागअन्र्तगत रहेकाले यसलाई मान्यता दिन सकिनेछ भने। आडरा नेपालका राष्ट्रिय प्रतिनिधि प्रविण ढकालले हिमाली क्षेत्रमा सोवारिग्पा उपचार पद्दतिको अभ्यास गरिरहेका आम्चीहरुबाट जनतालाई सुलभ ढङ्गबाट स्वास्थ्यसेवा पुर्याउनुको साथै सामुदायिक विकासमा पनि महत्वपूर्ण योगदान रहेको बताउँदै सबै उपचार पद्दतिहरुलाई राज्यले उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सोवा रिग्पा इन्टरनेशनल कलेजका निर्देशक डा तेन्जिङ धार्के गुरुङले सातौँ शताब्दीबाट थालनी भएको सोवा रिग्पासम्बन्धी अभ्यासलाई भारत, चीन लगायत विश्विका थुपै्र देशहरुमा औपचारिक रुपमा पठनपाठन भइसकेको सन्दर्भमा नेपालमा पनि केही वर्षदेखि शुरु भएकामा ती विद्यार्थीहरुको मेडिकल काउन्सिलबाट दर्ता नहुँदा समस्या भएकाले यसतर्फ सम्बन्धित निकायहरुको ध्यान जान जरुरी भएको बताए ।

हाल मुस्ताङको ल्हो घेकर दामोदरकुण्ड र गोरखाको चुमनुव्री गाउँपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरी सोवारिग्पालाई आधिकारिक मान्यता दिएका छन् भने अन्य पालिकाहरुले पनि प्रकृया अगाडि बढाएको सो अवसरमा जानकारी दिइयो । 

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति तेस्रो पटक पनि अनुसन्धानमा प्रक्रियामा अनुपस्थित

सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले आइतबार सोधपुछका लागि उपस्थित हुन गरिएको आग्रहलाई पनि अस्वीकार गरेका छन् । यसअघि पनि उनले दुई पटकसम्म अनुसन्धानका लागि उपलब्ध हुन अस्वीकार गरेका थिए ।

दक्षिण कोरियाली नेता युनविरूद्धको महाभियोग प्रस्तावबारे अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले उनलाई स्थानीय समय अनुसार आइतबार बिहान १० बजे सोधपुछका लागि उपस्थित हुन पत्राचार गरेका थिए । पूर्व अभियोजक युन गत बुधबारका लागि बोलाइएको सुनुवाइमा पनि उपस्थित हुन अस्वीकार गरेका थिए ।

गत डिसेम्बर १४ मा संसदले केही समयका लागि सैनिक कानुन लागु गरिएको घोषणा गरेका थिए । यद्यपि उक्त कदमलाई व्यापक विरोधपछि केही घण्टामा नै फिर्ता लिइएको थियो ।

उनको निर्णयले दक्षिण कोरियालाई दशकौँको सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको थियो ।

युनमाथि महाभियोग र विद्रोहको फौजदारी अभियोग लागेको छ । यो अभियोग पुष्टि भएमा उहाँले आजीवन कारावास वा मृत्युदण्डसमेत पाउने सम्भावना रहेको छ ।

नेता युनको कदमले विश्वभरका प्रजातान्त्रिक दक्षिण कोरियाका सहयोगीहरूलाई स्तब्ध बनाएको छ ।

“निलम्बित राष्ट्रपति युन सुक योल आज बिहान १० बजेका लागि बोलाइएको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) मा उपस्थित हुनुभएन,” कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“आगामी कदमबारे संयुक्त अनुसन्धान मुख्यालयले समीक्षा गर्नेछ र भविष्यका उपायहरूबारे निर्णय लिनेछ,” विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा, सीआईओले युनलाई चौथो पटक सुनुवाईका लागि बोलाउने वा सोधपुछका लागि उपस्थित हुन बाध्य पार्न पक्राउ पुर्जी जारी गर्न अदालतलाई आग्रह गर्ने भन्ने निर्णय गर्ने अपेक्षा गरिएको छ।

उनीमाथि अभियोजनकर्ताका साथै प्रहरी, रक्षा मन्त्रालय र भ्रष्टाचार विरोधी अधिकारीहरूको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ भने संवैधानिक अदालतले संसदले पारित गरेको महाभियोग प्रस्तावमा छलफल गरिरहेको छ।

सीआईओल महाभियोगको छ महिनाभित्र फैसला सुनाउनुपर्नेछ र महाभियोग सदर गरेमा अदालतबाट फैसला भएको ६० दिनभित्र उपनिर्वाचन गरिसक्नु पर्नेछ ।

पूर्व राष्ट्रपति पार्क ग्युन–हेलाई पनि यस्तै परिस्थितिमा महाभियोग लगाइएको थियो, तर संवैधानिक अदालतले उनलाई सत्ताबाट हटाएपछि मात्र उहाँमाथि अनुसन्धान गरिएको थियो।

एएफपीलाई प्राप्त १० पृष्ठलामो अभियोजकको रिपोर्टमा युन सुक येओलले सैनिक शासन लागू गर्ने असफल प्रयासका क्रममा संसद्मा प्रवेश गर्न आवश्यक परेको खण्डमा सेनालाई हतियार प्रयोग गर्ने अधिकार दिएको उल्लेख छ ।

तस्करी र भ्रष्टाचार नियन्त्रण श्रीलङ्का सरकारको प्राथमिकता

कोलम्बो । श्रीलङ्काले तस्करी र भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकतामा राखेको छ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेले लागूऔषधको ओसारपसार, भ्रष्टाचार र अवैध आप्रवासन रोक्न एकीकृत अनुगमन महाशाखा स्थापना गर्न विमानस्थल तथा उड्डयन सेवा र श्रीलङ्का भन्सारका अधिकारीलाई निर्देशन दिएको छ ।

अनुगमन महाशाखाले अन्य निषेधित वस्तुको प्रवेश, विमानस्थल र भन्सारमा हुने अनियमितता र देशबाट अनधिकृत रुपमा बाहिरिने कार्य रोक्न पनि ध्यान केन्द्रित गरिने जनाएको छ ।

अध्यागमन तथा आप्रवासन विभाग, श्रीलङ्का भन्सार र विमानस्थल तथा उड्डयन सेवाका प्रमुखसँग शनिबार भएको भेटमा राष्ट्रपति दिसानायकेले अधिकारीहरूलाई उक्त निर्देशन दिएको हो ।

राष्ट्रपतिले तस्करी रोक्न व्यावहारिक र आधुनिक प्रक्रियाको आवश्यकतामा जोड दिँदै हालको ‘स्क्यानिङ’ उपकरणलाई उन्नत स्क्यानरले प्रतिस्थापन गर्न निर्देशन दिए ।

संविधान संशोधन सबैसँग छलफल गरेर मात्र हुन्छः उपप्रधानमन्त्री सिंह

साेलुखुम्बु । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढंगले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् ।

आइतबार सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने बताउँदै प्रकृतिमैत्री हुनेगरी प्रविधिको प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए ।

‘विकास निर्माणको काम त गर्नुपर्छ । तर, विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएको छ । अब त्यही अनुसार विकास निर्माणको काम गर्नुपर्छ,’ उनले भने ‘घर बनाउँदा, प्रशासनिक भवन बनाउँदा होस् वा विकास निर्माणको अरू काम गर्दा अब समय बमोजिम हामी चल्नैपर्छ । गाउँठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।’

सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवन पालिकाको आन्तरिक स्रोतबाट २ वर्षभित्रै बनाइसक्ने पालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए ।

सरकारको काम सन्तोषजनक छैनः शेखर कोइराला

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रमा बसेका नेताहरुले संघीयताको मर्मअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

जनकपुरधाममा आइतबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले प्रदेश सरकारको कामबाट जनतामा वितृष्णा बढिरहेको जिम्मा केन्द्रका नेताले लिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘संघले निजामती ऐन, शिक्षा ऐन तथा प्रहरी ऐन बनाएर नदिँदा प्रदेश सरकारहरुले आफ्नो गतिमा काम गर्न सकेका छैनन् । ती ऐन संघ सरकारले नदिनुको पछाडिको एउटै कारण छ, केन्द्रमा बसेका नेताहरुले संघीयताको मर्म बुझेका छैनन् ।’

कोइरालाले वर्तमान सरकारको काम सन्तोषजनक नरहेकोसमेत बताए । उनले राजनीतिक स्थायित्वका साथै देशमा सुशासन कायम गर्नका लागि दुई ठूला दल मिलेर सरकार बनाएपनि त्यो स्पिरिट अनुरुप सरकार हिँड्न नसकेको बताए ।

उनले भने, ‘दुई ठूला दल मिलेर बनेको यो सरकारको काम सन्तोषजनक छैन तर यो सरकारलाई असफल हुने छुट पनि छैन ।’

यो सरकार असफल भएमा देशमा अराजकता बढ्ने कोइरालाको भनाई छ । फरक प्रसंगमा उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो मनमा कुनै किसिमको राग द्वेश नरहेको स्पष्ट पारे ।

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१’ जारी गरेका हुन् ।

संविधानको धारा ११४ को उपधारा (१) अनुसार राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गतसाता बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

सुशासन कायम गर्न प्रधानमन्त्री कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्ने दिशामा अग्रसर हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने बताएका छन् ।

प्रभावकारी सेवा प्रवाह तथा सरकारी कामकाजलाई देश र जनताप्रति केन्द्रित गर्न ‘गभर्मेन्ट रिफर्म सेन्टर’ आवश्यक भएको उनको अभिमत छ । आइतबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो सेन्टर स्थापनाका साथै त्यसका एकाइ हरेक कार्यालयमा स्थापना गर्ने गरी गृहकार्य थालिएको बताए ।

दुई ठूला राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले जनताका अपेक्षा पूरा हर सम्भव प्रयत्न गरिरहेको बताए । महासचिव पोखरेलले विगतको तुलनामा सार्वजनिक निकायहरूबाट प्रभावकारी ढंगले सेवा प्रवाह भएको बताए । साथै उनले मुलुकमा लगानीको वातावरण पनि बनेको बताए ।

लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण

भोजपुर। अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको हो ।

कोशी प्रदेशका पहाडी जिल्लामा तीन पाङ्ग्रे सवारी साधन पार गर्ने सक्ने मापदण्डमा निर्माण भएको यो पहिलो पुल भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत कोशी प्रदेश सरकारको रु तीन करोड दुई लाख लागतमा पुल निर्माण भएको हो ।

लम्सुवाघाटमा सङ्घीय सरकारको लगानीमा २०६४ सालबाट पक्की पुल निर्माण थालिएको थियो । करिब रु चार करोड लागतमा सात वटा पिलर राखेपछि नदी बीचमा ठूलो चट्टान भेटिएसँगै यहाँ पक्की पुल निर्माण रद्द गरिएको थियो । प्राविधिक कारणले पक्की पुल निर्माण रोकिएपछि प्रदेश सरकारले स्थानीयको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरेको हो ।

झोलुङ्गे पुल पाँच फुट चौडाइ र दुई सय तीन दशमलव ८ मिटर लम्बाइको रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । “लम्सुवाघाटमा कुनै किसिमको पुल नहुँदा स्थानीयवासीको दैनिकी कष्टकर थियो”, प्रमुख रेड्डीले भने, “यहाँ पक्की पुल निर्माण ठेक्का रद्द भएपछि प्रदेश सरकारले झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणपछि जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता हटेको छ ।”

भोजपुरको षडानन्द नगरपालिका–६ कुमालटार र खाँदबारी नगरपालिका ९ जोड्ने यो स्थानमा पुल बनेपछि स्थानीयवासी, विद्यार्थीले काठको डुङ्गा तथा गाडीको ट्यूबको सहायताले नदी वारपार गर्नुपर्ने बाध्यता थियो । स्थानीयवासी हिउँदको समयमा काठको डुङ्गा तथा ट्युबको सहायताले नदी पार गरे पनि वर्षातको समयमा करिब तीनदेखि चार घण्टा घुमेर तुर्केघाट र सतिघाटबाट नदी तर्दै आएका थिए ।

आधारभूत विद्यालय मात्र रहेको षडानन्द कुमालटारका विद्यार्थीलाई अरुण नदी पार गरेर माध्यमिक शिक्षा लिन सङ्खुवासभाका विद्यालय जान समस्या थियो । पुल बनेपछि विद्यार्थी करिब आधा घण्टामा विद्यालय पुग्ने वातावरण बनेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए ।

पुल निर्माणले षडानन्द नगरपालिका–६, ७, ८, १०, ११ र १२ का स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष विसुन्केले जानकारी दिने । “लम्सुवाघाटमा सङ्घीय सरकारको बजेटमा पक्की पुल निर्माणका लागि २०६४ सालमा शिलान्यास भएर काम सुरु भएको थियो”, वडाध्यक्ष विसुन्केले भने, “पुल बन्छ भन्ने आशामा हाम्रो करिब १७ वर्ष बित्यो । अहिले त्यो पुलको ठेक्का रद्द भएको अवस्थामा यहाँ झोलुङ्गे पुल निर्माणले हामीलाई राहत मिलेको छ ।”

नदीको बहावलाई ध्यानमा राखेर यहाँ ‘सस्पेन्सन एन’ डिजाइनमा पुल निर्माण गरिएको झोलुङ्गे पुल विषेशज्ञ तथा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयका सिभिल इञ्जिनियर लाल झाले बताए । यो पुलको ५० वर्ष डिजाइन अवधि रहेको उनको भनाइ छ ।

पुल निर्धारित समयमै निर्माण सम्पन्न भएको निर्माण कम्पनी अधिकारी अप्पर तामाकोशी मुकुल जेभीका प्रतिनिधि सुरेस कार्कीले बताए । विसं २०७९ पुस २६ मा सम्झौता भएको पुलको निर्माण अवधि २०८१ पुस २५ सम्म थियो । 

प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस

काठमाडौँ । प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस भएका छन् । आइतबार सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले गत मंसिर ९ गते राजीनामा दिएपछि यो पद रिक्त थियो । झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

बागमती । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।

उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ । आर्थिक सङ्कटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए।

उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । “हामीसँगै कच्चा पदार्थको अभाव छैन”, अध्यक्ष भण्डारीले भने, “उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ,”, उहाँले भन्नुभयो ।

आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

सोलुखुम्बु । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ ।

मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताए । उनले भने, ‘चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहानबेलुका सबै एक ठाउँमा भेला भएर आगो ताप्छौँ ।’

पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन । चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेको छ । ‘बालबालिकाको पढनपाठन प्रभावित भएको छ भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ’, उनले भने ।

चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप उच्च भएको अस्पतालले जनाएको छ । पछिल्लो एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिभराउ बनेको अस्पताल प्रमुख डा प्रशान्त शाहले बताए । उनले भने, ‘चिसोका कारण बिरामी धेरै वृद्धि भएको छ, आकस्मिक कक्ष त्यत्तिकै भरिभराउ छभने शय्यासमेत खाली छैन, केही दिनअघि पनि शय्या अभावमा भुइँमा राखेर पनि बिरामीको उपचार गरिरहेका छौँ ।’

चिसोको असर हिमाली क्षेत्र खुम्बुमा झनै बढी देखिएको स्थानीयले बताएका छन् । खुम्बुमा पछिलो समय न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल पुगेको छ । चिसोका कारण विद्यालय बन्द भएको लुक्लाका तोयाकुमार श्रेष्ठले बताए । अधिकांश विद्यालय बन्द भएपछि बालबालिका आगो तापेर समय कटाउनु यहाँका नागरिकको बाध्यता भएको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिए ।

चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बु क्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् ।

उनीहरु बढीजसो काठमाडौँ र कतिपय तीर्थयात्रामा भारतको बुद्धगैयालगायत क्षेत्रमा जाने गरेका छन् । अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बु क्षेत्र सुनसान बनेको लुक्लाका अमृत मगरले बताए । उनका अनुसार पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन् ।

सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चेका साथै गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायत ठाउँमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेपछि व्यवसायी घरेलु कामदारलाई होटल छाडेर अन्यत्र गएको नाम्चेका लामाकाजी शेर्पाले बताए । केही होटल पसल खुला भए पनि व्यवसायीको जनजीवन कष्टकर बन्दै गएको छ । यामको बेला दैनिक एक सयभन्दा बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक पाँच–छवटा मात्र उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय लुक्लाले जनाएको छ ।

भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडोयाममा यस भेगमा एकछिन पनि बस्न नसकिने र वर्षमा छ महिनामात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ ।

पानी आपूर्तिमा समस्या

जिल्ला सदरमुकामसहित खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमा पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेका बेला पनि जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय माया शेर्पाले बताइन् ।

यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको छ । चिसोका कारण विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलापसमेत प्रभावित बनेको छ भने गाउँघरमा मानिसको चहलपहल न्यून हुँदै गएका छन् । धारा बन्द गरेर राख्दा पानी पाइपमा जम्ने भएकाले खुला नै छाड्ने गरेको स्थानीयले बताएका छन् । बेलुका धारा बन्द हुँदा रातको समयको चिसोमा जमेको पानी घाम नलागेसम्म नपग्लिने गरेको नाम्चेका नुरु शेर्पाले बताइन् ।

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

भारत । भारतको पुणेमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो ।

दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा बंगलादेश, श्रीलंकालगायत तथा भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् ।

प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा महिला तथा पुरुष गरी १८ जना खेलाडी सहभागी छन् ।

ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा

वीरगञ्ज । तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ ।

पुरातात्विक सम्पदामा स्थानीय, प्रदेश र सङ्घीय तीनवटै सरकारको ध्यान नपुग्दा स्थानीयको अतिक्रमणमा परेको हो । पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गल क्षेत्र स्थानीय जनताले कब्जा गरेर आफ्नो नाममा ल्याएको बताए ।

“ऐतिहासिक पर्सागढीको ५० बिघाभन्दा अधिक क्षेत्रफलमा वन फैलिएको थियो”, उनले भने, “स्थानीयको अतिक्रमणले हाल एक बिघा दुई कट्ठामा सीमित भएको छ ।”

अध्यक्ष चौधरीले जग्गा फिर्ता ल्याउने कोसिस गरे पनि त्यसमा सफल नभएको बताए । उनले आफ्ना सातौँ पुस्ताका अग्रज रञ्जित चौधरीले गोर्खाली सेनासँग मिलेर ब्रिटिस फौजसँग युद्ध जितेको ऐतिहासिकस्थल भावी पुस्ताका निम्ति संरक्षण गर्नुपर्नेमा जोड दिए।

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउने तयारीमा जुटेको जानकारी दिए ।

“ पर्सागढीको जग्गा फिर्ता ल्याउनका लागि आवश्यक पहलकदमी भइरहेको छ”, उनले भने, “आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जग्गा फिर्ता लिनेछौँ”, पर्सागढीको बृहत्तर गुरुयोजना बनाएर व्यवस्थित गर्न जरुरी भएको छ ।”

यस्तो छ इतिहास

विसं १८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिस इष्ट इन्डिया कम्पनी फौज पर्सागढीमा युद्ध भएको थियो । अङ्ग्रेज फौजको नेतृत्व मेजर जनरल मार्लेअन्तर्गतका कप्तान सिब्लीले गरेका थिएभने नेपाली फौजको नेतृत्व भने रञ्जित चौधरीले गरेको बताइन्छ ।

साविक गाउँ जिगना, पचरुखी, चैनपुर, वागीश्वरी, वागवान, हरपुर, बिरुवा, बकनेर्वाका स्थानीय बासिन्दाले ठूलो सङ्ख्यामा स्थानीय हातहतियारसहित भैँसी तथा राँगाको सिङमा मसाल बाँधी दुवै खोलाको मुहान र दोभान छाडी गोर्खाली फौजको ठूलो सङ्ख्या आएको भान पारी अङ्ग्रेजलाई त्यहाँबाट भगाएको कथन छ ।

के छ पर्सागढीमा ?

पर्सागढीको युद्धमा सक्रिय भूमिका निर्वाह गरेका रञ्जित चौधरीका कूलदेवता वन्हरबाबाको मन्दिर निर्माण गरिएको छ । पर्सागढी मन्दिर परिसरमा धर्मशाला पनि सञ्चालनमा छ । समितिका अध्यक्ष चौधरीले पुराना हतियार पनि सङ्ग्रह गरिए पनि सङ्ग्रहालय निर्माण गर्न नसकिएको बताए ।

यसरी मनाइँदैछ २१०औँ विजय महोत्सव

ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थलमा बर्सेनि विजय महोत्सव हुने गरेको छ । यस वर्ष पनि उक्त दिनको स्मरण गर्दै यही पुस १९ गते पर्सागढी २१०औँ विजय महोत्सव आयोजना हुँदैछ । पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेनाको श्रीजङ्ग गण, पर्सागढी नगरपालिकाको सहकार्यमा महोत्सव हुनेछ ।