`

नृत्यकला प्रस्तुत गर्न सिनामंगलमा ‘नव्य नाचघर’ सञ्चालन हुँदै 

काठमाडौँ । नृत्यकला प्रस्तुत गर्ने उद्देश्यले सिनामङ्गलमा ‘नव्य नाचघर’ सञ्चालन हुने भएको छ । एस्थेटिक डान्स स्टुडियोले उक्त नाचघर सञ्चालन गर्न लागेको हो । 

डान्स स्टुडियोका प्रमुख नम्रता केसीले असार २१ गते ‘प्रेमारम्भ’ शीर्षकमा नृत्यनाटिका प्रस्तुत गरेर नाचघरको उद्घाटन गरिने जानकारी दिइन्   ।

प्रेमारम्भको निर्देशन र नाट्य परिकल्पना केसी आफैंले गरेकी छन् । भारतको लखनउबाट कत्थक नृत्य विधामा स्नातकोत्तर गरेकी उनले नृत्य प्रशिक्षण गराउँदै आएकी छन् । नृत्यकला प्रस्तुत गर्ने उपयुक्त स्थानको अभाव भएकाले नाचघर स्थापना गर्न लागेको उनले बताइन् ।

कत्थक पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको भारतीय शास्त्रीय नृत्य विधा हो । उनका अनुसार मनोरञ्जनका विभिन्न क्षेत्रमध्ये, नाटक, फिल्म, साहित्य विधा जस्तै पछिल्लो समय कत्थक नृत्यमा युवाहरुको आकर्षण बढ्दोछ । नाटकको नियमित मञ्चन भएझैँ अबदेखि नाचघरले नियमित रुपमा नृत्यकला प्रस्तुत गर्ने जनाएको छ ।

“हरेक शुक्रबार र शनिबार नृत्यको नियमित शृङ्खला सुरु गर्ने भएका छौँ”, उनले भनिन्, “जहाँ कत्थक र अन्य नृत्य शैली प्रस्तुत गर्नेछौँ ।” उद्घाटनको दिनदेखि सुरु हुने ‘प्रेमारम्भ’ नृत्यनाटिका यही असार २१ देखि भदौ २९ गतेसम्म मञ्चन हुनेछ । 

नाचघरमा एस्थेटिक डान्स स्टुडियोका विद्यार्थीले नृत्य देखाउनेछन् । नृत्यकार दिपीका खतिवडाले नृत्यघरको अभाव हुँदा कला प्रस्तुत गर्ने पालो नपाइने अवस्था रहेको बताइन् ।

“ठूला र महँगा नाचघरमा नृत्य देखाउँदा खर्चिलो हुने भएकाले कला देखाउने ठाउँको अभाव थियो, हामी कलाकारलाई सस्तो र सुलभ नृत्यघरको अभाव छ,” उनले भनिन्, “एस्थेटिक डान्स स्टुडियोले नृत्यघर खोलेर कलाकारको प्रतिभा फुल्ने मन्दिर दिएको महसुस भएको छ ।”

शिक्षा क्षेत्रमा संरचनागत सुधारका कार्यदल गठनको तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताइन् ।

“शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत सुधार मन्त्री परिवर्तन गरेर मात्र हुने कुरा होइन । सुधारका लागि सरकारको मुखमात्र ताकेर हुँदैन”, उनले भनिन्, “संरचनागत सुधारका लागि सुझाव दिने कार्यदल गठनको तयारी भइरहेको छ ।

शिक्षा मन्त्रालयमा बाहिरका कर्मचारी नआउने र शिक्षा क्षेत्रकै कर्मचारी आउने व्यवस्था गर्ने तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्नेगरी काम भइरहेको छ ।” शिक्षा क्षेत्रको रुपान्तरणका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबैको जिम्मेवारी हुने मन्त्री श्रेष्ठले भनिन् ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि छुट्टै सेवा आयोग बनाउने विषयमा काम भइरहेको जानकारी दिँदै शिक्षामन्त्रीले हालै सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) को निर्मम समीक्षा गर्नुपर्ने बताइन् ।

शिक्षालाई श्रम बजारसँग जोड्नेगरी ‘समाजसँग पाठ्यक्रम’ कार्यक्रम ल्याइएको र विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम बनाउँदा पनि रोजगारसँग जोड्नेगरी बनाउन निर्देशन दिएको उनले बताइन् ।

विद्यालय व्यवस्थापन समिति कसरी गठन भएको छ भनेर अध्ययन भइरहेको, विद्यार्थी र शिक्षकको अनुपात असन्तुलित देखिएकाले प्राथमिक तहका दरबन्दी काटेर माथिल्लो तहमा दरबन्दी बढाउन सकिनेबारे मन्त्रालयले गृहकार्य गरिरहेकोलगायत सुधारका काम भएका उनले जानकारी दिइन् ।

आगामी आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयमा एक हजार कक्षाकोठा थप्ने गरी योजना तर्जुमा गरिएको तथा त्यो मानव सुचकाङ्कमा पछाडि परेका दुई सय ४० वटा पालिकामा विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताइन् ।

त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणसम्बन्धमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठन भएको छानबिन कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनअनुसार निर्णय हुने उनले जानकारी दिइन् ।

शेयर बजारमा १६ अंकको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य एक अङ्कले उकालो लागेर तीन सय ६१ दशमलव ७७ मा पुगेको छ । कूल ७१ लाख ६५ हजार सात सय ३५ कित्ता शेयर रु दुई अब ९९ करोड ९९ दलाख ६५ हजार २१ मूल्यमा खरिद बिक्री भएको छ । 

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ७४, दोर्दी खोला जलविद्युत् कम्पनी आठ दशमलव ४७, कर्पोरेट डेभलपमेन्ट बैंक सात दशमलव ५२, हिमालयन बैंकको ऋणपत्र सात दशमलव ४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले सात दशमलव शुन्य सात प्रतिशतले कमाएका छन् । 

नेपाल फाइनान्स १०, मैलुङ खोला जलविद्युत् कम्पनी आठ दशमलव ४४, स्वाभिमान लघुवित्त तीन दशमलव ९७, कुमारी सबल योजना तीन दशमलव ६० र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले तीन दशमलव ४३ प्रतिशतले गुमाएका छन् ।

अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण

वाशिङ्टन (अमेरिका) ।  अमेरिकामा बस्दै आउनुभएका सुवास घिमिरेले लेखेको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ । 

लोकार्पण तथा पुस्तकमाथिको चर्चा कार्यक्रममा सहभागी वक्ताले ४७ वर्ष अगाडि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अदालतमा व्यक्त गरेका मानव अधिकार, प्रजातन्त्र र नागरिक अधिकारका विषयमा छलफल गरेका छन् ।

अमेरिकामा रहेका नेपालीले बिपीको सङ्घर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्रका कारण विदेशी भूमिमासमेत नेपालीले अवसर पाएका टिप्पणी गरेका हुन् ।

डा श्याम कार्कीले पुस्तकले नेपाल र नेपालका अग्रजहरुले गरेको त्याग समर्पणलाई समेटेको उल्लेख गरे । “त्यो बेलाको कङगारु कोर्टमा उपस्थित भएर बिपी कोइरालाले नागरिकको आवाज बुलन्द पार्नुभएको थियो”, उनले भने, “यस्तो महत्वपूर्ण दस्तावेजले अमेरिकी समाजमा नेपालको बारेमा थप जानकारी पस्किने अवसर प्रदान गरेको छ ।”

पत्रकार मधुकर अधिकारीले आधा शताब्दी अगाडि बिपी कोइरालाले अदालतमा व्यक्त गर्नुभएको विषय नागरिकको मौलिक हक, अधिकार र प्रजातन्त्रका लागि महत्वपूर्ण दस्तावेज भएको बताए ।

कार्यक्रममा पुस्तकका लेखक घिमिरेले विदेशमा बस्ने दोस्रो पुस्ताका युवालाई लक्षित गरेर बिपीले अदालतमा व्यक्त गरेको विषयलाई अनुवाद गरी पुस्तकका रुपमा तयार पारिएको बताए ।

जय नेपाल इन्टरनेशनल फाउण्डेशनको संयोजनमा भएको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा यादव पण्डितले बिपीको योगदान भावी पिँढीसम्म पुर्याउन लेखकले गरेको प्रयासको प्रशंसा गरे । 

केशव शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनका पूर्वअध्यक्ष रविना थापा, नेपाली कांग्रेसका महासमिति सदस्य गौतम दाहाल, गोपाल विश्वकर्मा, राज सेञ्चुरी, आनन्द घिमिरे, विष्णु बराल, प्रवासी मञ्चका प्रभुराम थापा, नारायण थापा, नेत्र केसी, चित्रा केसी, शोभा घिमिरे, डोलनाथ घिमिरेलगायत वक्ताले बिपीको योगदान र अदालती बयानका विभिन्न पक्षको बारेमा आ–आफ्नो धारणा राखेका थिए । 

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्ष मण्डल गठन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो । अध्यक्षमण्डलमा डा वेदुराम भुषाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रवेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुषाल, महबुज आलम र गणेश विक सदस्य रहेका छन् ।

बन्दसत्रले पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहेको तीन सदस्सीय माइन्यूट लेखन कमिटी गठन गरेको छ । समितिका सदस्यमा डा गङ्गालाल तुलाधर र  डा विजय पौडेल रहेका छन्।

यसैगरी बन्दसत्रले उपमहासचिव जगन्नाथ खतिवडा संयोजक तथा सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भविश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खाँन, सरिता खड्का र नवराज श्रेष्ठ रहेको बहस नोट कमिटी गठन गरेको छ ।

त्यसअवसरमा अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष मण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरे  । अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने, विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी रहेको छ ।

त्यसअवसरमा पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पु¥याउने पुराना कम्युनिष्ट नेताहरु सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित,  शम्भु शाह, रामऔतार पासवान, हुन्छेबहादुर ढुकुचु, नारायणप्रसाद वैद्य, शित्तल झा, विजयलाल श्रेष्ठलगायतलाई सम्मान गरियो ।

एक हजार आठ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको उक्त महाधिवेशन यही असार २० गतेसम्म सञ्चालन हुने महासचिव डा घनश्याम भुषालले जानकारी दिए ।

प्रचण्ड र ओलीबीचको सम्बन्धमा कुनै दरार नआएको प्रधानमन्त्रीको सचिवालयको दाबी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटलाई नयाँ सत्तासमीकरणका रुपमा बुझ्न नहुने बताएको छ । गत शनिबार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो ।

दुई नेताबीचको भेटपछि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि घण्टौं लामो भेटवार्ता भएका छन् । प्रधानमन्त्रीको सचिवालयले देउवा र ओलीबीच बालकोटमा भएको कुराकानीले नेपाली राजनीतिमा तरङ्ग ल्याए पनि त्यसको असर सत्ता समीकरणमा केन्द्रित नरहेको दाबी गरेको छ ।

प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहालले ओली देउवा भेटलाई सत्तासमीकरणसँग जोड्न नपर्ने बताएकी छन् । उनले प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सरकारलाई प्रभावकारी बनाएर लैजाने विषयमा छलफल भएको बताइन् ।

प्रधानमन्त्रीका अर्का स्वकीय सचिव रमेश मल्लले प्रचण्ड र ओलीबीच कुनै समस्या नआएको जिकिर गरेका छन् । उनले दुई नेताबीच सरकारका कामको अझ प्रभावकारी कार्यान्वयन, संक्रमणकालिन न्याय सम्पादन लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।

तर ओली देउवाबीचको भेटपछि भने सरकार परिवर्तन हुन लागेको भन्दै राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ । खासगरी बजेटपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्रीसँग रुष्ट देखिएका छन् । उनले बजेटको आलोचना गर्न सांसदहरुलाई निर्देशन नै दिएका थिए ।

सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख ठगी

काठमाडौं । सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भारतको उडिसाका ४० वर्षीय कलाकार दास र ५ जना नेपालीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलाका दाससहित म्याग्दीका ६४ वर्षीय क्षेत्रबहादुर शाही, धादिङ निलकण्ठ नगरपालिकाका वर्ष ३८ का दीपक थापा, दाङका वसन्त चौधरी र काठमाडौंका रविन महर्जन छन् ।

दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा विक्री गरेका प्रहरीले जनाएको छ। तर नक्कली भएको पाइएपछि पीडितले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुको साथबाट १४ लाख नगद र नक्कली सुनको मूर्ति बरामद गरेको छ।

टिआरसीमा सहमति खोज्न कार्यदल गठन

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई टुंगो लगाउन कार्यदल गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गत बिहीबार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुंगो लगाउन सहमति भएको थियो ।

त्यही सहमति अनसार टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न तीन दलबाट एक–एक जना सदस्य रहेको कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।

कार्यदललाई छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने कार्यादेश दिइएको छ । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर साझा धारणा बनाउने छ । कार्यदलले छलफल गरेर बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने छ ।

सरकार २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको तयारीमा छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार नियन्त्रणमा कानुनीलगायतका विभिन्न अड्चनले आशा गरिए अनुसारको काम हुन नककेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भ्रष्टाचार लागि इमान्दार भएर लागेको बताएका हुन् । उनले भ्रष्टाचारी एक दिन कानुनको दायरामामा आउँछ भन्ने विश्वास जनतामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, ‘कुनै एक पक्षले मात्रै सक्रियताका साथ काम गर्दैमा भ्रष्टाचार नियन्त्रण सम्भव हुने होइन । पर्याप्त कानूनी आधार, स्रोतसाधनसहित भएका संरचनाहरुको स्तरोन्नति आवश्यक छ । राजनीतिक नेतृत्व तयार हुने र अख्तियार प्राप्त नेतृत्वले राजनीतिक स्वार्थ प्रेरित नभइ निष्पक्ष अनुसन्धान र अभियोजन गर्ने हो भने न्यूनीकरण हुँदै भ्रष्टाचार नियन्त्रण सम्भव छ ।’

उनले भ्रष्टाचारमा संलग्नहरुमाथि कारबाही गर्न निर्मम भएर लाग्ने बताए । उनले मेरो र उसको नभनी सबैको पालामा प्रत्येक प्रकरणको छानबिन गर्ने र अख्तियारले पनि निष्पक्ष रूपमा अभियोजन र न्यूनीकरण गर्नुपर्ने बताए । गृहमन्त्रीले कुनै पनि कालखण्डमा भएकामध्ये २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि भइरहेको काण्डहरूको मात्र हैन कुनै पनि कालखण्डमा भएको काण्डहरूलाई छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी छ । यो साहस आँटका साथ प्रस्तुत भएका छौँ ।’

उनले आफ्नो दोहोरो पासपोर्टबारे आफू अहिले बोल्न नमिल्ने बताए । पासपोर्टको मुद्दा अदालतमा विचाराधीन रहेकाले बोल्न उपयुक्त नभएको बताए ।

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते

इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा परी १८ जना इजरायली सैनिक घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको इजरायली रक्षा बल (आईडीएफ)ले जनाएको छ ।

आईडीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गोलान हाइट्सको उत्तरी क्षेत्रमा आक्रमण भएको थियो, यद्यपि ड्रोन कताबाट आएको थियो भन्नेबारे केही बताइएको छैन ।

घाइते सैनिकहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।

प्रतिक्रियामा इजरायली वायु सेनाले आइतबार राति दक्षिणी लेबनानको हिजबुल्लाह शिविरलाई लक्षित गरी आक्रमण गरेको छ ।

आक्रमणमा मर्काबा नजिकैको हिजबुल्लाह अवलोकन चौकी र आयता एस शाब नजिकैको उत्तरी इजरायलतर्फ मिसाइल प्रक्षेपण गर्न प्रयोग गरिएको लञ्चरस्थलमा प्रहार गरिएको इजरायली सेनाले बताएको छ ।

पछिल्लो घटनाले इजरायल र लेबनानको सशस्त्र समूह तथा राजनीतिक दल हिजबुल्लाहबीच सन् २०२३ को अक्टोबरदेखि जारी सीमापार हिंसाको निरन्तरतालाई सङ्केत गरेको छ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाद्वारा गठबन्धन सरकार गठनको घोषणा

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विभिन्न राजनीतिक दलका मन्त्रीहरू सम्मिलित नयाँ राष्ट्रिय कार्यकारी मन्त्रीमण्डलको घोषणा गरेका छन् ।

प्रमुख विपक्षी दलले थप मन्त्रीपदको माग गरेपछि लामो वार्ता लगभग असफल भएको अनुमानहरू भइरहेका समय राष्ट्रपति रामाफोसाले अन्ततः लामो समयदेखि प्रतिक्षा गरिएको संयुक्त सरकार गठन प्रस्तावको घोषणा गरेका हुन् ।

गत जुन १९ मा रामाफोसाले आफ्नो दोस्रो कार्यकालका लागि सपथ लिएको एक साताभन्दा बढी समयपछि यो घोषणा गरिएको हो । निर्वाचन उनको दल अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी) ले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन असफल भएपछि एएनसीले तीन दशकमा पहिलो पटक सत्ता साझेदारी गर्न बाध्य भएको छ ।

एएनसीले डेमोक्र्याटिक एलायन्स (डीए), इन्काथा फ्रिडम पार्टी, अजानियाको पान अफ्रिकनिस्ट काङ्ग्रेसजस्ता १० विपक्षी पार्टीहरू मिलेर संयुक्त सरकारको गठन भएको हो ।

रामाफोसाले अबेर राति टेलिभिजनमा सम्बोधन गर्दै अर्थतन्त्र र सरकारको स्थायित्व नयाँ मन्त्रीमण्डलका लागि सबैभन्दा ठूलो चिन्ताको विषय हुने बताएका थिए ।

“आगामी सरकारले तीव्र, समावेशी र दिगो आर्थिक वृद्धि र गरिबी र असमानताको सामना गर्दै न्यायपूर्ण समाजको निर्माणलाई प्राथमिकता दिनेछ,” राष्ट्रपति रामाफोसाले नयाँ सरकारमा मन्त्रीमण्डलको घोषणा गर्दै भने ।

हालैको चुनावमा २१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको डीएलाई छ वटा मन्त्री दिइएको छभने पार्टीका नेता ४८ वर्षीय जोन स्टेनहुसेनलाई कृषिमन्त्री नियुक्त गरिएको छ । केही साना दलले पनि आफ्ना नेतालाई मन्त्रीमा देख्न पाएका छन् ।

चौबिसै घण्टा खुला गरिएसँगै चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय

काठमाडौँ । ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग पर्यटन बोर्डको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ का दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग २४सै घण्टा खुला रहने घोषणा गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न आचारसंहिता बनाइ कार्यान्वयनमा ल्याएको हो । कार्यान्वयनमा आएसँगै ठमेलभित्रका होटल, रेष्टुरेन्ट, क्लब, दोहोरी, कफी सप, बर्गर हाउस, मार्ट, किराना पसल, मदिरा पसल, फलफूल पसल २४ सै घण्टा खुल्न थालेका थिए ।

ठमेलमा फलफूल पसल सञ्चालन गर्दैै आएका राज जयसवाल रात्रिकालीन समयमा फलफूल र जुसको राम्रो व्यापार हुने बताउँछन् । “दिनको तुलनामा रातको समय दोब्बर बिक्री हुँदै आएको छ,” उनले भने ।

ठमेलमा मदिरा सञ्चालन गर्दै आउनुभएका राजेन्द्र श्रेष्ठले पनि आफ्नो आम्दानी विगतभन्दा दोब्बरले वृद्धि भएको बताउनुभयो । रातको समयमा भोक लागेका व्यक्ति होस् या चिया कफीको पारखी हुन् ठमेल र दरबारमार्गमा सहजै भोक र प्यास मेटाउन सक्ने व्यवसायी बताउँछन् ।

     ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा ठमेलको रात्रिकालीन व्यवसायले विस्तारै लय लिएको बताउँछन् । “सुरुको समयमा ठमेलमा व्यापार व्यवसाय गर्न निश्चित समय तोकिएको थियो, २४ सै घण्टा सञ्चालन भएसँगै व्यवसायी निर्धक्क भएर व्यवसाय गर्न पाएका छन्,” उनले भने ।

अध्यक्ष शर्माले अर्को सिजनमा ठमेलका अधिकाशं रात्रिकालीन सपिङ सेन्टरहरु खुल्ने र राती दुई बजेसम्म ठमेल ‘बिजनेश हब’का रुपमा चलायमान हुने बताए । ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी तथा घरबेटी छन् । यस क्षेत्रले झण्डै एक लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) का अध्यक्ष सङ्घर्ष विष्ट ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्नु सकारात्मक भएको बताउँछन् । 

“ठमेल र दरबारमार्गभित्रको अर्थतन्त्रलाई चलायमान बनाउन यस किसिमका गतिविधिले सहयोग पुग्नेछ,” उनले भने । रेवानमा आवद्ध रेष्टुरेन्ट तथा बार अर्को पर्यटकीय सिजनबाट २४सै घण्टा सञ्चालन गर्ने अध्यक्ष विष्टको भनाइ छ । जिल्ला प्रशासनले ठमेल र दरबारमार्ग क्षेत्रलाई रात्रिकालीन समयमासमेत सुरक्षा व्यवस्था मजबुद बनाएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्र सञ्चालन गर्न तयार गरिएको विशेष सुरक्षा योजनाभित्र पर्यटक प्रहरीलाई व्यवस्थित र प्रभावकारी बनाइने उल्लेख छ । ठमेलभित्र व्यवसायी मात्रै नभइ स्थानीय बासिन्दाको पनि बसोबास भएकाले कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरे ठमेल र दरबारमार्गको सुरक्षा अवस्थालाई मजबुद बनाइएको बताउँछन् । “रात्रिकालीन व्यवसायको सिलसिलामा हुनसक्ने आपराधिक गतिविधि रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरेका छौँ,” उनले भने । 

‘स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने कहिलेसम्म ?’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले स्मार्ट लाइसेन्स वितरणमा भएको समस्यालाई चाँडो समाधान गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा पौडेलले स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्दा पनि समयमा वितरण नहुने समस्या रहेको भन्दै तत्काल समाधान गर्न माग गरेका हुन् ।

उनले भने, ‘स्मार्ट लाइसेन्स दिने भनेर काम सुरु गरेको एक दशक बढी भइसक्यो । अब छिटो छरितो हुन्छ भनिएको थियो तर उल्टो भयो । ट्रायल पास गरेको वर्ष दिनसम्म लाइसेन्स आउँदैन । आएकाको पनि फोटो प्रस्ट नभएको र ट्राफिक जाँचमा अप्ठ्यारो परेको गुनासो सुनिन्छ ।’

उनले स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता रहेको भन्दै त्यसले झनै लाइसेन्सको दुरुपयोग बढेको बताए ।

उनले भने, ‘स्मार्ट लाइसेन्सको ठाउँमा भौचरले काम चलाउनुपर्ने बाध्यता छ । त्यसैले यसमा बढी दुरुपयोग पनि हुन्छ । पुरानो भएपछि अक्षर पनि स्पष्ट हुँदैन । जनशक्ति थपेर छिटो छपाई गर्न आग्रह गर्दछु ।’

एमाले र कांग्रेसका शीर्ष नेताको संवादले आशाको संचार गरेको छः सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भएको संवादबाट आशाको सञ्चार गरेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद गिरीले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताएका हुन् ।

उनले संविधान संशोधनसम्मका लागि काँग्रेस र एमालेका बीचमा संवाद र सहकार्य गर्नुपर्ने बताए । उनले भने, ‘चारैतिर निराशा फैलिएका बेला संसदका दुई ठूला दल नेपाली काँग्रेस तथा नेकपा एमालेका शीर्ष नेताहरुबीच शुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ। ठूला दलहरु बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन। यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु।’

वायुसेवा निगमको गरिमा रक्षा गर्न पर्यटनमन्त्रीको आग्रह

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन् ।

निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले  विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पुर्याउन नहुनेमा जोड दिए ।

पर्यटनमन्त्री तामाङले भने, “वायुसेवा निगम लामो इतिहास पार गर्दै आज ६७औँ वर्षमा प्रवेश गर्दैछ । यसले  इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै  आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । अझै यसको अभिवृद्धि गर्न ठोस् योजना बनाउन आवश्यक  छ  ।”
    
वार्षिकोत्सवको अवसरमा सोमबार बिहान प्रभातफेरी गरिएको थियो । निगमको नयाँ सडकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी नयाँ सडक, बसन्तपुर, आकाशभैरव, घण्टाघर, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन गरिएको थियो । विसं २०१५ असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो ।

निगमले हाल  काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ ।

निगमले दुई थान वाइड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । आन्तरिकतर्फ दुर्गम भेगका २२ भन्दा बढी गन्तव्यमा निगमले सेवा दिइरहेको छ ।
     
डगलस डिसी–३ ‘डकोटा’ विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले विसं २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो ।

२०७७ असार २९ सम्ममा निगमको  कूल सात विमान सेवामा प्रयोग गरिएको छ । निगमले विसं २०१७ मा पिलाटस पोर्टर र २०१९ मा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ–२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडिएको थियो । 

स्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा स्थापित कोसेलीघर सञ्चालनमा

म्याग्दी । म्याग्दी भित्रने प्रमुख नाका कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोसेली घर) सोमबारदेखि सञ्चालनमा आएको छ ।

जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले जिल्लास्थित उद्योग वाणिज्य सङ्घ र महिला उद्यम विकास समितिले बेनी नगरपालिकासँगको समन्वयमा बिक्री कक्ष सञ्चालन गरेका हुन् । 

उक्त कक्षमा जिल्लामा उत्पादित सिमी, भागो, आलु, टिम्मुर, अल्लो र ढाकाका कपडा, मुडा, मह, मकै, अचार, भागोलगायत स्थानीय परिकार राखिएको महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

“म्याग्दी भित्रने र मुस्ताङ जाने–आउने मुख्य नाकामा स्थापना गरिएको कोसेली घरले स्थानीय उत्पादनको बजारीकरणका साथै जिल्लाको पहिचान बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष श्रेष्ठले भनिन्, “गाउँका किसान र उद्यमीले उत्पादन गरेका कृषि उपज र सामग्री खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएका छौँ ।”

कोसेली घर रहेको भवनमा आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका धार्मिक, पर्यटकीयस्थलका बारेमा जानकारी गराउने उद्देश्यले गत वैशाखमा पर्यटक सूचना केन्द्र सञ्चालन गरिएको छ ।

सूचना केन्द्र र कोसेली घरले पर्यटन प्रवद्र्धनका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । “विसं २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि विसं २०७७ देखि बन्द भएको थियो”, उनले भने, “तीन वर्षपछि पुनःसञ्चालनमा ल्याएका छौँ ।”

केन्द्रमा एकजना कर्मचारीसहित धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृतिसम्बन्धी जानकारीमूलक तस्बिर तथा दृश्य सामग्री राखिएको वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

“जिल्लाका छवटै स्थानीय तहका पर्यटकीय, धार्मिकस्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्बिर, सोको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खानबस्नको सुविधालगायत विषयमा जानकारीमूलक सूचनापाटी राखेका छौँ”, उनले भने ।

सूचना केन्द्र र कोसेली घर स्थापनाका लागि तत्कालीन जिल्ला विकास समिति र बेनी नगरपालिकाले २५ लाख बजेट खर्च गरेर भवन बनाइएको नगरप्रमुख सुरत केसीले जानकारी दिए  ।

कोसेली घरको आज उद्घाटन गर्दै उनले बेनीमा पर्यटकको बसाइ लम्ब्याउन, उद्यम व्यवसाय प्रवद्र्धन गर्न कासेली घर र सूचना केन्द्र सहयोगी बन्ने विश्वास गरे ।

कालीपुल बसपार्कलाई व्यवस्थित गरिएको भन्दै बेनी–जोमसोम–कोरला खण्डमा आक्सफाल्ट प्रविधिबाट कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्का आह्वान गरी काम अगाडि बढाएको नगरप्रमुख केसीले बताए ।

नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले कोसेली घर सञ्चालनमा आएसँगै स्थानीय महिलाले उत्पादन गरेका ढाकाका कपडा तथा विभिन्न परिकारका अचारलगायत सामग्रीको बिक्री वितरणमा सहजता हुने अपेक्षा लिइएको बताइन् ।
महिलालाई सीप सिकाउँदै आत्मनिर्भर बनाउन र उद्यमशीलताको विकास गर्न ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ सञ्चालन गरिएको उनले जानकारी दिइन् ।

उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीन मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ मा प्राप्त संशोधनबारे उनले प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

मन्त्रालयमा सोमबार भएको उक्त छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का महेश बर्तौला र नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डेसँग मन्त्री भण्डारीले छलफल गरेका हुन्।

सो क्रममा उनले लगानी सहजीकरण सम्बन्धी कानुन लचकताका साथ संसद्बाट पास गर्न प्रमुख सचेतकहरुसँग आग्रह गरे । लगानीमैत्री वातावरण बनाउन सबै राजनीतिक दलको सहयोग आवश्यक रहेकाले सहयोगका लागि मन्त्री भण्डारीले उनीहरुलाई आग्रह गरे ।

कांग्रेसका प्रमुख सचेतक लेखकले आफ्नो पार्टीका संशोधनकर्ता सांसदहरुसँग छलफल गरेर सहजीकरणको वातावरण बनाउने प्रतिबद्धता जनाए । उनले लगानी सहजीकरणका लागि केही बुँदा संशोधन गर्न आवश्य रहेको बताए ।

एमालेका प्रमुख सचेतक बर्तौलाले उद्योग कलकारखाना स्थापनाको विषय सबै दलको साझा ऐजेण्डा भएकाले सत्ता पक्ष र विपक्ष नभनीकन दलिय स्वार्थभन्दा माथि उठेर कानुन निर्माणमा जुट्नुपर्ने बताए । केही जटिल बुँदामा संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संशोधन प्रस्ताव राख्नु उचित भए पनि समय अभावका कारण नगरी नहुने विषय मात्र संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए । छलफलका क्रममा वनसँग सम्बद्ध निकुञ्ज र मध्यवर्ती क्षेत्र तथा जग्गा हदबन्दीका विषयमा संशोधन जरुरी रहेको औँल्याइएको थियो । उक्त छलफलमा सरोकारवाला मन्त्रालयका सचिवसमेत सहभागी थिए । 

युवा, विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्यः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयसभाको ३९औँ बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय विदेशिने युवा, विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए । 

“युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरु स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,” प्रधानमन्त्री दाहालले भने, “अतः २१औँ शताब्दीका युवा, विद्यार्थीका चाहना, आवश्यकता र प्राथमिकता बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु ।”

पाठ्यक्रममा आमूल परिवर्तन गरेर अध्ययनसँगसँगै उद्यम अथवा निर्वाहमुखी रोजगारीको व्यवस्थाका लागि विश्वविद्यालयहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले वैकल्पिक साधन–स्रोतको खोजीका पनि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

“अब विश्वविद्यालयहरूले सरकारको मुख ताकेर बस्ने होइन, हरेक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि वैकल्पिक साधन–स्रोतका खोजीका लागि ध्यान केन्द्रित गर्नैपर्छ,” प्रधानमन्त्रीले भने, “यस सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका सरकारसँगको सहकार्यमा आइपर्ने बाधा, कानुनी एवं नीतिगत समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।” उनले ऐनको समयानुकूल परिमार्जनका लागि सरकारबाट आवश्यक सहयोग हुने बताए ।

उच्चशिक्षामा विकासको गतिलाई व्यापक, व्यावहारिक र जीवनोपयोगी बनाउनुपर्ने सुझाव दिँदै प्रधानमन्त्री दाहालले जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको बढ्दो प्रभाव घटाउनका लागि सूक्ष्म खोज–अनुसन्धान, प्राकृतिक सम्पदा र परम्परागत ज्ञान–सीपको संरक्षणमा लाग्नुपर्ने बताए ।

उनले पर्यटन प्रवद्र्धन र कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणका माध्यमबाट प्रदेशका साथै समग्र देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

खासगरी अलैँची, चिया, रूद्राक्ष, जडीबुटी, जुट, फलफूललगायत देशका मौलिक उत्पादनहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धान गर्न विश्वविद्यालयलाई सुझाव दिँदै प्रधानमन्त्रीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तारमा विश्वविद्यालयले महत्वपूर्ण योगदान गर्नुपर्ने बताए ।

गोठगाउँमा सुविधासम्पन्न अस्पतालका साथै मेडिकल कलेज सञ्चालन गरेर यस क्षेत्रका आम जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले त्यसका लागि आर्थिक स्रोतको सुनिश्चतताका साथै वैकल्पिक उपायहरूको खोजी गरेर चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

फिक्कल–नयाँबजार सडक कालोपत्र

फिक्कल । इलामको फिक्कल-जोगमाई-नयाँबजार-दुधाङ सडकअन्तर्गत फिक्कल-नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका-९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका-१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो ।

कोशी प्रदेश सरकारको लगानीमा जीर्ण सो सडक कालोपत्रे गरिएको हो । ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ रुपैयाँको लागतमा सडक कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका इञ्जिनियर वीरेन्द्र लामाले बताए ।

सडकको अप्ठ्यारो भूभागमा आठ सय मिटर पक्की ढलाइ गरिएको छ । डिबिएसटी (डबल बिटुमिन एस ट्रिटमेन्ट) प्रविधिको कालोपत्र गरिएको हो । सडक कालोपत्रबाहेक किलोमिटर पोष्ट, सेफ्टी बारलगायतको कामसमेत गरिएको छ ।

सो कार्यका लागि निर्माण कम्पनीसंग सम्झौता भएको थियो । विसं २०७९ कात्तिक १५ गते सम्पन्न हुनुपर्ने भए पनि सम्पन्न नभएपछि एक पटक म्याद थप भएको थियो । विसं २०७६ देखि नै काम सुरु भए पनि २०७७ कात्तिक २ गते ठूलो बाढी आएर पुलसमेत बगाएकाले काममा ढिलाइ भएकाले म्याद थप्नुपरेको निर्माण कम्पनीका प्रतिनिधि डिल्लीराम खनालले बताए ।

सडक कालोपत्रे भएपछि सर्वसाधारणलाई दैनिक यात्रा गर्न सहज भएको छ । सडक कालोपत्र भएसँगै सूर्योदय नगरपालिकाको गोर्खे तथा माइजोगमाई गाउँपालिकाको जोगमाई, नयाँबजार, प्याङलगायत विभिन्न क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

‘पहिले बर्खामा याममा सडक हिलाम्मे हुने भएकाले दैनिक उपभोग्य सामग्री ल्याउन फिक्कल बजारसम्म पुग्न धेरै कष्ट भोग्नुपर्दथ्यो’, माइजोगमाई गाउँपालिका–१ का किसान बिनु खड्काले भनिन्, ‘सडक कालोपत्रे भएसँगै यो वर्षदेखि त्यो कष्ट अन्त्य भएको छ, पहिले चार घण्टा समय खर्चेर फिक्कल पुग्नुपर्दथ्यो, अहिले आधा घण्टामा पुग्न सकिन्छ ।’

सडक कालोपत्रे भएसँगै बिरामीलाई उपचारका लागि अस्पताल लैजानसमेत सहज भएका माइजोगमाई –१ नयाँ बजारका देवी अधिकारी बताउँछिन् । ‘विगतमा कच्ची सडकमा रहेका खाल्डाखुल्डीका कारण बिरामीलाई अस्पतालसम्म पुर्याउनसमेत हम्मेहम्मे पर्दथ्यो’, उनले भनिन्, ‘सडक कालोपत्र भएपछि सहजरुपमा सवारी साधन गुडाउन तथा बिरामीलाई अस्पताल पुर्याउन सकिने भएको छ ।’

सडक कालोपत्रसँगै कृषकलाई धेरै फाइदा पुगेको उनीहरु बताउँछन् । ‘सडक कालोपत्र भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन निकै सहज भएको छ, व्यवसायी गाडी लिएर गाउँगाउँसम्म आउन थालेका छन्’, स्थानीय मनिकुमार राईले भने, ‘यहाँ उत्पादित कृषिउपज बारीबाटै बिक्री हुन थालेको छ, आउँदो दिनमा कृषि उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरेका छौँ ।’

फ्रान्समा अतिदक्षिणपन्थी दलको चुनावी अग्रता

बीबीसी । फ्रान्समा भएको पहिलो चरणको संसदीय निर्वाचनमा अतिदक्षिणपन्थी दलले अग्रता लिएको छ । त्यसले अब त्यहाँको संसद्मा उक्त दलको वर्चश्व हुनसक्ने देखिएको छ र सम्भवतः उनीहरूका निम्ति सत्ताको ढोका पनि खुल्न सक्छ ।

मारिन ल पेनको आप्रवासी विरोधी ‘न्याशनल र्याली’ (आरएन) पार्टीले पहिलो चरणको नतिजापछि उल्लास मनाइरहेको छ। पेनले ‘राष्ट्रपति एमानुएल माक्रोँको खेमा मेटिने’ दाबी समेत गरेकी छन् ।

पहिलो चरणको निर्वाचनमा ‘आरएन’ ले ३३.२ प्रतिशत मतका साथ अग्रता लिएको छ भने वाम घटकहरूले २८.१ प्रतिशत मतका साथ उक्त अतिदक्षिणपन्थी दललाई पछ्याइरहेका छन् । राष्ट्रपति माक्रोँको गठबन्धन भने २१ प्रतिशत मतका साथमा तेस्रो स्थानमा रहेको अवस्था छ ।

‘यदि फ्रान्सेलीहरूले हामीलाई उनीहरूको मत दिए भने म सबै फ्रान्सेली जनताको प्रधानमन्त्री बन्ने लक्ष्य राख्छु,’ आरएन पार्टीका २८ वर्षे नेता जोर्डन बार्डेलाले भने ।

ल पेन र बार्डेलाले ५७७ सीट रहेको ‘न्याशनल एसेम्बली’मा स्पष्ट बहुमतका लागि कुल २८८ सीट ल्याउन चाहेका छन् । तर आगामी आइतबारको दोस्रो चरणको मतदानमा उनीहरूको सीट सङ्ख्या घट्ने र बहुमत पुर्याउन उक्त दललाई सीट सङ्ख्या कम हुने ठानिएको छ ।

स्पष्ट बहुमत पाएन भने फ्रान्सको विशाल संसदमा आरएनले आप्रवासन, कर कटौती र कानुनी व्यवस्थासम्बन्धी आफ्ना योजनाहरू पारित गराउन सफल हुने छैन ।

फ्रान्सेली संसदीय निर्वाचनको पहिलो चरणमा सन् १९९७ यता यसपालि सबैभन्दा बढी मत खसेको बताइएको छ । पहिलो चरणबाट न्याशनल र्यालीका ३९ जना सांसदहरू निर्वाचित भइसकेका छन् भने वामपन्थी न्यू पपुलर फ्रन्टबाट ३२ जना निर्वाचित भएका छन्।

एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । एक जना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो ।

बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

एकीकृत समाजवादी महाधिवेशनमा बन्दसत्र सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ ।

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिइन् । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् ।

पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने छ ।

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । यसअघि उनीहरुबीच आइतबार दिउँसो पनि भेटवार्ता भएको थियो ।

दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल भएको बताइएको छ । शनिबार ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।

त्यसपछि ओली र प्रधानमन्त्रीबीच लगातार भेटवार्ता भइरेको छ । पछिल्लो समय कांग्रेस र एमालेबीच सत्ता सहकार्यका विषयमा संवाद भइरहेको छ ।

भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

काठमाडौँ । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार बिहान जमैकामाथि ३–० को सहज जित दर्ता गरेको हो । टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो ।

भेनेजुएलालाई एडवार्ड बेलोले ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला ३–०को सहज जितका साथ अन्तिम ८मा पुग्न सफल भयो । जमैका भने समूह चरणका सबै खेलमा हार व्यहोरेर बाहिरिएको छ ।

यही समूह बीमा रहेका इक्वेडर र मेक्सिोको बराबरी खेले । बराबरीले इक्वेडरलाई अन्तिम ८ मा स्थान पक्का गराउँदा मेक्सिको भने प्रतियोगिताबाट बाहिरिएको छ ।

दुवै टिमको समान चार चार अंक भए पनि गोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा भेनेजुएलालले क्यानडासँग खेल्दा इक्वेडरले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ ।

नागरिक उन्मुक्तिको संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो

कैलाली । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता परिवर्तन भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन् । चौधरी यसअघि प्रमुख सचेतक थिए ।

प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् ।

नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् । दलको नेता परिवर्तनको निर्णय गरिएको विषय अहिले बहुमत सांसदहरूले शीर्ष नेताहरूलाई जानकारी गराइसकेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्नेछ ।

सभापति देउवाले पार्टीको गतिविधि लगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।

उक्त छलफल कुनै राजनीतिक फेरबदलका लागि हो कि भन्ने आशंका गरिएको छ । त्यस्तै, एमाले र माओवादीको सत्तासहयात्रामा केही चिसोपन आइरहेका बेला आइतबार अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच समेत सिंहदरबारमा छलफल भएको थियो ।

संविधान संशोधन र सत्ता सहकार्यको प्रस्तावसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि सत्ता राजनीति फेरि तरंगित भएको छ।

असई थमन विक हत्या आरोपमा जन्मकैद पाएका पूर्वसांसद पक्राउ

जलेश्वर । महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असइ थमन विकलाई मधेस आन्दोलनको क्रममा आठ वर्षअघि विसं २०७२ भदौ २५ गते हत्या गरिएको प्रकरणमा फरार रहेका पूर्वसङ्घीय तथा प्रदेश सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सोनमा गाउँपालिका–५ खैरबनी घर भएका उनलाई शनिबार राति जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँमा उनले चढेको प्रदेश २–०२–००१–च ००४५ नम्बरको महिन्द्रा पिकअप गाडीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डीएल ३ सीएवाई ८६१५ नम्बरको स्कारपियोमा ठक्कर दिँदा दुर्घटनामा परेपछि उनी पक्राऊ परेका महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

उनीविरुद्ध २०७२ साल भदौ २५ गतेको प्रेम बहादुर विकको जाहेरीले वादी नेपाल सरकार रहेको कर्तव्य ज्यान मुद्दा अदालतमा दायर भई  हालसम्म फरार रहँदै आएकोले उनको हकमा प्रस्तुत मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९८ बमोजिम मुल्तबीमा राखिएको हुँदा आइतबार आवश्यक कारबाहीको लागि महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पक्राउ परेका कौशलकुमार यादव तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट २०६४ को निर्वाचनमा महोत्तरीको क्षेत्र नम्बर ४ बाट सङ्घीय सांसद बनेका थिए । विसं २०७४ को निर्वाचनमा सङ्घीय समाजवादी फोरमबाट मधेस प्रदेशसभा सदस्यमा महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४ क बाट निर्वाचित भएका छन् ।

सशस्त्र प्रहरीका असइ विकको हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले २०८० मङ्सिर २८ गतेमा लोसपा नेपाल मधेस प्रदेशका संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य अभिराम शर्मासहित सात जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

त्यसैगरी अदालतले सोही मुद्दामा वर्तमान महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पवन कापरलाई सफाइ दिएको हो । पक्राउ परेका पूर्वसांसद यादवसहित १९ जनाको हकमा मुद्दा मुल्तबी राखिएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ मूल्य बढाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

प्रधानमन्त्रीलाई सानातिना नियुक्ति र सरुवा बढुवामा नअल्झिन ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्ति, सरुवा र बढुवामा नअल्झिन आग्रह गरेका छन् ।

आइतबार एमालेको कृषि विभागले आयोजना गरेको ’नीति संवाद कार्यक्रम’मा अध्यक्ष ओलीले कृषि लगायतका क्षेत्रमा नीतिगत काम गर्नुपर्ने अवस्थामा सानातिना नियुक्ति, सरुवा र बढुवामा अल्झिन नहुने बताएका हुन् ।

उनले कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ लानका लागि नीतिगत व्यवस्था गर्नुपर्ने बताए । उनले भने,’मैले सरकातिर पनि प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु हामी सानातिना नियुक्ति, सरुवा, केजाती बढुवामा नअल्झिउँ । पोलिसी म्याटरमा जाउँ ।’

उनले विज्ञहरूसँग छलफल गरेर कुन क्षेत्रमा कस्ता नीतिगत परिवर्तन आवश्यक छ भन्ने कुरा पत्ता लगाउन आवश्यक रहेको बताए । नेपालमा टुक्राटाक्री जग्गा जमिन रहेको तर त्यसलाई व्यवस्थित गरी खेती गर्नेतर्फ काम नभएको र नीति पनि नरहेको उनको भनाई थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् ।

काठमाडौँमा आइतबार सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए ।

यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित हुनुभएको छ । महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए ।

अब दलहरुबीच सुशासनका लागि प्रतिस्पर्धा हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनवादी र समाजवादी क्रान्तिबारे जानकारी दिँदै राष्ट्रको विकास तथा सुशासनका लागि सबै दलहरुले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।

आइतबारपार्टीको दशौं महाधिवेशनको उद्घाटन समारोहमा खनालले कसरी भ्रष्टाचारलाई समााप्त गर्न सकिन्छ भन्ने कुरामा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।

उनले उनले, ‘हामी यो देशमा कसरी भ्रष्टाचारलाई समााप्त गर्न सकिन्छ भन्ने कुरामा प्रतिस्पर्धा गरौं। यो देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, यो देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा गर्ने काममा हामी कसरी प्रतिस्पर्धा गरे अघि बढ्न सक्छौं।’

जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले हजारौँ सहिदको बलिदानबाट प्राप्त अहिलेको व्यवस्थालाई कमजोर हुन नदिनुपर्ने बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमाथि स्वेच्छाचारी, कमिसन, भ्रष्टाचार बढ्दै गएकाले त्यसको न्यूनीकरण गर्न संविधान संशोधन गर्नुपर्ने विचार व्यक्त गरे ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतान्त्रिक आन्दोलनमा एकीकृत समाजवादीका नेताहरुको ठूलो योगदान रहेको भन्दै समाजवादी आदर्श अवलम्बन गर्ने नेताहरुले सोहीअरूप आचरण सरल बताउनुपर्ने बताए ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विशेष परिस्थितिमा गठित पार्टीले देश र जनताको सेवामा क्रियाशील रहन सुझाव दिए । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सम्पूर्ण राष्ट्रको विकास तथा जनताको समृद्धिका लागि पार्टीभित्र नयाँ वैचारिक दृष्टिकोण महाधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरिन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वाधिनता बलियो बनाउन सबै दलहरुबीच सहमतिको खाँचो औँल्याए । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले जनताको सामाजिक आर्थिक रुपान्तरणका लागि संविधान संशोधन आवश्यक रहेको बताए । 

ओली आउने बाटोमा नेपालले आँखा बिछ्याइरहे तर…..

मोनिका सिंह ।

काठमाडौ । नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिव तीनवर्ष एक आपसमा आँखा समेत जुधेन । कुनै औपचारिक मञ्चमा भेट भए पनि हेराहेर र हात मिलाउने काम समेत लामो समयदेखि भएन ।

तर यस्तो तिक्ततापूर्ण सम्बन्धलाई परिस्थितिले तोड्न बाध्य पार्यो गएको फागुनमा । जब फागनु २१ मा कांग्रेससंगको सत्ता समीकरण बदलेर माओवादी फेरि एमालेको आंगनमा पुग्यो , तब नेपालसंग आँखा समेत जुधाउन नचाहने ओलीलाई नेपालको दैलोमा पु¥यायो। कारण थियो सरकारमा सुविधाजनक बहुमत पुर्याउनु।

फागनु २२ गते नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली टुप्लुकै नेपाल निवास कोटेश्वर पुग्नु भयो। यसभन्दा अघि छलफलमा बोलाउदा नेपाल नआएपछि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली नेपाल निवास पुग्नु भयो। अघिपछि हात पनि मिलाउ र सिधा हेराहेर गर्न समेत नचाहने एमाले अध्यक्ष ओली बडो मधुर शैलीमा नेपाल निवास पुग्नु भएको थियो। ओलीले त्यसबेला नेपाललाई हातै समातेर नयाँ समीकरणमा सहभागि हुनका लागि प्रेम पूर्बक आग्रह गर्नुभएको थियो ।

हुन त एमाले अध्यक्ष ओलीले भने फोन गरेर गठबन्धनमा सहभागी हुन बाराम्बार आग्रह गर्दा नेपालले अस्विकार गर्दै आउनु भएको थियो । तर त्यो दिनको भेटले चट्टान जस्तो छाती गरेका नेपाल पग्लनु भएको थियो र हुन्छ भन्दै आश्वस्त पार्नुभएको थियो ।

त्यसपछि नेपाल ओली एउटै डुंगाका यात्री बन्दै नयाँ समीकरणमा अगाडि बढेका थिए। तर यो सम्बन्ध पनि लामो समय टिकेन । नेकपा एसका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने आश्वासनको पछि कुदेपछि उहाँ र ओेलीबीचको सम्बन्धमा फेरि तिक्तता देखियो। यो कहिले सुदुरपश्चिम सरकारमा गएर पोखियो, कहिले कोशी प्रदेशमा पुगेर पोखियो।

अहिले पनि नेपाल र ओली एउटै डुंगाका सत्ता सहयात्री हुनुहुन्छ। तर नेपालको मुन्टो कांग्रेस तिर फर्किएको छ भने ओलीको प्रचण्ड तर्फ । तर एउटै सरकारमा सहभागि भएपनि दुई नेताहरुबीचको सम्बन्धमा भने माधुर्यता छैन।
सबैले थाहा पाउने गरि आइतबार प्रष्ट दुई नेताबीचको सम्बन्धको तितो नेकपा एसको महाधिवेशनमा देखियो। जब नेकपा एसको महाधिवेशन उद्घाटन समारोहमा ओलीका लागि राखिएको कुर्सी रित्तै भयो। नेकपा एसले अध्यक्ष ओलीलाई अतिथि वक्ताका रुपमा निम्तो दिएको थियो । अध्यक्ष ओलीको त कुरा छाडौँ एमालेले कुनै प्रतिनिधि समेत पठाएन।

उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसी लगायत नेता सहभागी हुनुहुन्छ । त्यो मञ्चमा अर्को एउटा गजबको अर्को दृष्य थियो – उपेन्द्र यादव र अशोक राईको जम्क भेट । तर एमालेको कोही नेताहरु नदेखिएपछि अध्यक्ष नेपालले निकै समय ओली बाटोमा आँखा बिछ्याइरहेको भान हुन्थ्यो।

महाधिवेशनको उद्घाटन सत्रमा निम्तो पाए पनि एमाले किन सहभागी भएन ? यो प्रश्न राजनैतिक वृतमा उठिरहेको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले कार्यव्यस्ततको कारणले उद्घाटन सत्रमा उपस्थित हुन नसकिएको बताउनुभयो । “हामीलाई औपचारिक रूपमा निमन्त्रणा आएको थियो । तर सबै कार्यक्रममा जान सकिँदैन । शीर्ष नेताहरूको पनि व्यस्त हुनुभयो” उहाँले भन्नुभयो, “त्यसैले व्यस्तताका कारणले हामी नेकपा (एस)को बैठकमा सहभागी हुन सकेनौ ।”गौतमको भनाई थियो –निम्तो आएका सबै कार्यक्रममा जान भ्याइन्छ भन्ने छ र ?

पाकिस्तान र इरानबाट १३ हजारभन्दा बढी अफगान आप्रवासी फिर्ता

इरान र पाकिस्तानबाट गत हप्ता १३ हजार ४४७ जना अफगानी आप्रवासीलाई स्वदेश फिर्ता पठाएको ‘द खामा प्रेस’ले जनाएको छ ।

तालिबान नेतृत्वको मन्त्रालयका अनुसार महिला र बालबालिकासहित कुल शरणार्थीमध्ये १० हजार २२५ लाई इरानबाट र तीन हजार दुईसय २२ जनालाई पाकिस्तानबाट फिर्ता गरिएको थियो ।

अफगानी आप्रवासीहरू तोरघुन्डी, स्पिन बोल्डक, इस्लाम काला र मैत्री पुल जस्ता सीमाबाट अफगानिस्तान फर्केको मन्त्रालयले विस्तृत जानकारी दिएको छ ।

हालैका महिनामा पाकिस्तान र इरानबाट अफगान आप्रवासीहरूको फिर्ती तीव्र रूपमा बढेको छ । दुवै देशले उचित आवासीय कागजात नभएकाहरूलाई अफगानिस्तानमा फिर्ता पठाएको दाबी गरेको द खामा प्रेसले जनाएको छ ।

केही निर्वासित आप्रवासीहरूले वैध निवास कागजातहरू भए पनि उनीहरूलाई प्रहरीले हिरासतमा लिएको र जबरजस्ती अफगानिस्तान फिर्ता गरेको आरोप लगाएका छन् । धेरै अफगान आप्रवासीहरूले आफ्नो शिविरमा इरानी प्रहरीले दुब्र्यवहार गरेको उदाहरणसहित दस्तावेज तयार पारेका छन् ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यसअघि अफगानिस्तानसँगको सिमानामा अन्तर्राष्ट्रिय कानुन कडाइका साथ लागु गर्ने इच्छा व्यक्त गरेका थिए ।

यी घटनाक्रमबीच, अफगानिस्तानले हजारौँ आप्रवासीहरूको जबरजस्ती फिर्तीबाट बढेको गम्भीर मानवीय संकटको सामना गरिरहेको छ । यो अवस्थाले अफगानी शरणार्थीहरूको अधिकार र सुरक्षाको रक्षा गर्न जारी मानव अधिकारको उल्लङ्घन र चुनौतिहरूलाई प्रकाश पार्छ ।

मुलुकको परिवर्तनमा माधव नेपालले खेलेको भूमिकाको देउवाले गरे प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको दिगो शान्ति,सुशासन तथा समृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दैसभापति देउवाले संविधानको रक्षा, संघीय लोकतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्तिको महत्वपूर्ण एजेण्डामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

उनले अहिलेको व्यवस्थाको नेकपा एकीकृत समाजवादी गहिरो प्रतिबद्धताका साथ लागि अघि बढेको बताए । मुलुकको परिवर्तनमा माधव नेपालले खेलेको भूमिकाको उनले स्मरण गरे । उनले आगामी दिनमा देशको महत्वपूर्ण एजेण्डमा समाजवादीले आवश्यक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन् : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोकतन्त्र खतरामा परे जनताले नै जोगाउने भन्दै नेताहरुले चिन्ता लिन आवश्यक नरहेको बताएका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले लोकतन्त्रलाई खतरा जनताबाट नभइ नेताहरुबाट नै भएको भन्दै नेताहरुले चिन्ता गर्न आवश्यक नरेको बताएका हुन् । उनले लोकतन्त्रलाई खतरा छ भने हामीबाट भएको बताए ।

उनले नेतृत्व वर्गले एक ठाउँमा उभिएर कसरी ठूला ठूला विकासको काम गर्न सकिन्छ भन्नेतिर ध्यान दिन आवश्यक रहेको बताए ।

बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

आइतबार अदालतले झालाई सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । झा शुक्रबार राति पक्राउ परेका थिए । झा पक्राउ परेसँगै यो प्रकरणको दोस्रो चरणको अनुसन्धानले तीव्रता पाउने अपेक्षा छ । झालाई भारतबाट पक्राउ गरि ल्याइएको बताइएको छ ।

प्रधानमन्त्रीलाई माधव नेपालको आग्रहः हिजो संसद विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः संसद् विघटन गर्न सक्ने भन्दै सजग रहन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।

आइतबार पार्टीको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीतर्फ संकेत यस्तो बताएका हुन् । अध्यक्ष नेपालले अहिले संसद विघटनको आवश्यकता नभएको बताए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू सुनिन्छ विघटन गरेर ठीक गरियो भनेर कतिपयले बोल्ने गरेका छन्, हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्नुहोला । अहिले विघटन गर्ने आवश्यकता छैन, हामी पनि छौं संख्या कम भयो भनेर आत्तिनुपर्दैन ।’

उनले पार्टी निर्माण गरेर कार्यकर्ता रक्षा गरेको समयमा नै विद्रोहको पुष्टि भएको बताए। उनले भने, ‘विद्रोह त त्यही बेला पुष्टि भएको थियो, जुन दिन संविधानलाई समाप्त पार्न खोजिएको थियो त्यो विफल पारेका थियौं। विद्रोह नगरेको भए हामी सबै समाप्त हुने थियौं। कि राजनीतिबाट पलायन हुनुपर्थ्यो ।’

उनले एकीकृत समाजवादीमा नेता र कार्यकर्ताको कमी नभएको बताए । उनले भने,’यो पार्टीमा नेता र कार्यकर्ताको कमी छैन। अधिकांश पालिकामा हामी पुगेका छौं। निकै अनुभवि नेता र कार्यकर्ता हामीसँग छन्।’

अध्यक्ष नेपालले पार्टी बलियो बनाउन सही विचार र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्ने बताए । एमालेबाट विभाजन भएको र एमालेलाई दस्तावेजमा प्रमुख शत्रु किटान गरेको भन्दै एकीकृत समाजवादीको महाधिवेशनमा एमाले भने सहभागी भएन ।

गलत बकपत्र दिनेविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घूस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रुपमा उपस्थित भई गलत बकपत्र गरेको आयोगको भनाइ छ । आयोगले वन अधिकृत पार्धेलाई सेवाग्राहीसँग  सात हजार घूससहित पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गलत बकपत्र दिई कानुन विपरीतको गतिविधि गरेको अभियोगमा पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । सभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए ।

त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

कोरोना भाइरसविरुद्धको ४६ लाख डोज खोप ल्याइयो

काठमाडौँ । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आइतबार कतार एयरवेजमार्फत ल्याएको हो ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आइतबार ४६ लाख ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो ।

उनले आजदेखि नियमित रुपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइने बताए । उनले उक्त खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई लगाइने बताए ।

खोप ग्लोबल अलायन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)को अनुदानमा ल्याइएको हो । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ ।