`

राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगका बेग्लाबेग्लै वार्षिक प्रतिवेदन प्रस्तुत भएका छन् । 

निर्वाचन आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०/८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन मंगलबार राष्ट्रपति भवनमा आयोजित बेग्लाबेग्लै कार्यक्रममा राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको हो । 

राष्ट्रपति पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गरे ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एउटा आधार भएको बताए ।

उनले निर्वाचनका माध्यमबाट जनताले लोकतान्त्रिक हकअधिकार प्राप्त गर्नसक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गरे ।

साथै उनले महिला आयोगको प्रतिवेदन ग्रहण गरेपछि धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसङ्ख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताए ।

‘तर, जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्ने मेरो विश्वास छ’, राष्ट्रपति पौडेलले भने ।

नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू

डा, नरेन्द्र लामिछाने

नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन् । यी उपचार पद्धतिहरूलाई धेरै शताब्दीयौँदेखि अपनाउँदै आइएको छ र तिनले स्वास्थ्य समस्याहरूको उपचारमा महत्वपूर्ण भूमिका खेलेका छन् । आयुर्वेदको विकास त नेपालको सांस्कृतिक र भौगोलिक विविधतामा आधारित जडीबुटीहरूको प्रयोगमा गरिएको छ, जसले धेरै परम्परागत औषधिहरू निर्माण गर्न सहयोग पुर्याएको छ ।

युनानी चिकित्सा पनि प्राचीन समयमा मुस्लिम समुदायमार्फत नेपालमा प्रवेश गरेको थियो र विभिन्न स्वास्थ्य समस्याहरूको समाधानका लागि लोकप्रिय रह्यो । तर, पछिल्लो समय नेपालमा आधुनिक चिकित्सा प्रणालीको प्रभाव बढ्दो छ । यसले गर्दा परम्परागत चिकित्सा पद्धतिहरूमा पनि परिवर्तन आवश्यक रहेको छ । पछिल्लो केही वर्षमा अकुपञ्चर चिकित्सा विधिको लोकप्रियता बढ्दो छ । यस पद्धतिको प्रयोग विशेषगरी सहरी क्षेत्रहरूमा बढी देखिएको छ, जहाँ आधुनिक चिकित्सा प्रणालीका साथै वैकल्पिक चिकित्सा विधि फिजियोथेरापी, मालिस जस्तैको खोजी हुने गर्दछ । स्वास्थ्य क्षेत्रमा नवीन दृष्टिकोण अपनाउँदै, केही नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले अकुपञ्चरको उपयोगिता र प्रभावकारितामा गहन अध्ययन गर्न थालेका छन् । अकुपञ्चरले विना औषधि दुखाइको उपचार गर्न सक्ने भएकाले, यसले लामो समयसम्म औषधि सेवन गर्दा उत्पन्न हुने नकारात्मक प्रभावहरूबाट जोगाउन सक्ने मान्यता छ ।

झन्डै दुई हजार वर्ष पुरानो उपचार विधि हो अकुपञ्चर । यसमा शरीरका विभिन्न ‘मेरिडियन’ भनिने ऊर्जा च्यानलहरूमा सुईहरूको प्रयोग गरी स्वास्थ्य समस्याहरूको उपचार गरिन्छ । चिनियाँ चिकित्सा सिद्धान्तअनुसार जब शरीरमा ‘चि’ भनिने ऊर्जा प्रवाहमा असन्तुलन हुन्छ, तब विभिन्न रोग र स्वास्थ्य समस्या उत्पन्न हुन्छन् । अकुपञ्चरले यी च्यानलहरूमा सुई राखेर असन्तुलनलाई सुधार्न र शरीरको प्राकृतिक उपचार क्षमतालाई मजबुत बनाउन मद्दत गर्दछ ।

यो विधिले नसासम्बन्धी रोग, शारीरिक दुखाइ, तनाव, पाचन समस्या, निन्द्रा समस्या, माइग्रेन, थाइराइड, हर्मोनल असन्तुलन, मोटोपन, अनुहारसम्बन्धी रोग, र अन्य रोगमा सकारात्मक प्रभाव पारेको छ । विशेषगरी, तनाव र दुखाइ व्यवस्थापनमा अकुपञ्चरले उल्लेखनीय नतिजा देखाएको छ, जसले गर्दा यो चिकित्सा पद्धति पछिल्ला वर्षहरूमा विश्वभर लोकप्रिय हुँदै गएको छ । अकुपञ्चरले विना औषधि नै शरीरका प्राकृतिक उपचार प्रक्रियाहरूलाई सक्रिय बनाउँछ । यसले गर्दा प्रयोग गर्ने मानिसहरूमा दीर्घकालीन औषधिको आवश्यकतालाई घटाउने सम्भावना हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले अकुपञ्चरको महत्वलाई औँल्याउँदै १०० भन्दा बढी रोगको उपचारमा यस पद्धतिको प्रभावकारिता प्रमाणित गरेको छ । सङ्गठनको मान्यता र अनुसन्धानले गर्दा विश्वभरका मुलुकहरूमा यस पद्धतिलाई व्यापक रूपमा वैकल्पिक चिकित्सा विधि भनेर अभ्यास गरिन थालिएको छ । चीन अकुपञ्चरको उद्गमस्थल हो र यहाँ सबैभन्दा व्यापक रूपमा प्रयोग गरिन्छ । जापानमा ‘हरिगेट्सु’ विधिबाट फरक तरिकाले अकुपञ्चर गरिन्छ, जबकि दक्षिण कोरियामा परम्परागत र आधुनिक चिकित्सा पद्धतिको मिश्रणमा यसको लोकप्रियता बढ्दै गएको छ ।

यसैगरी, संयुक्त राज्य अमेरिकामा दुखाइ र तनाव व्यवस्थापनमा यसको प्रयोग बढिरहेको छ र क्यानडामा यसलाई स्वास्थ्य बीमामा समेत समावेश गरिएको छ । अष्ट्रेलियामा यो विशेषगरी दीर्घकालीन रोग र दुखाइ उपचारमा लोकप्रिय छ । जर्मनीमा अकुपञ्चरलाई बीमा कभरेजसहित आधुनिक चिकित्सा पद्धतिमा समावेश गरिएको छभने ब्रिटेनमा राष्ट्रिय स्वास्थ्य सेवाले यसलाई वैकल्पिक उपचार विधिका रूपमा मान्यता दिएको छ ।

फ्रान्समा अकुपञ्चरलाई औपचारिक चिकित्सा विधिका रूपमा मान्यता प्राप्त छ, र स्विडेनमा तनाव व्यवस्थापन तथा दीर्घकालीन रोगहरूको उपचारमा यसको व्यापक प्रयोग गरिन्छ । भारतमा पनि अकुपञ्चरको प्रयोग वैकल्पिक चिकित्सा विधिका रूपमा बढ्दो छ र नेपालमा पछिल्ला वर्षहरूमा यो विधि सहरी र ग्रामीण दुवै क्षेत्रमा लोकप्रिय हुँदै गइरहेको छ ।

त्यस्तै छिमेकी मुलुक मलेसिया, थाइल्यान्ड, भेतनाम, सिङ्गापुरजस्ता देशमा अझै अकुपञ्चरको लोकप्रियता लोभलाग्दो छ । साथै, वैज्ञानिक र चिकित्सा अनुसन्धानहरूले अकुपञ्चरको प्रभावकारिता र यथार्थतामा गहिरो अनुसन्धान गर्न थालिसकेका छन् । विभिन्न बिश्वप्रख्यात जर्नल जस्तै ल्यान्सेट, नेचर, शेलमा अकुपञ्चरसम्बन्धी अनुसन्धान प्रकाशित भएको पाइन्छ । यो विधि स्वास्थ्य समस्याहरूको उपचारमा मात्र सीमित नरहेर, रोगहरूको रोकथाम र समग्र स्वास्थ्यमा सुधार ल्याउन पनि उपयोगी साबित भएको छ । यसको उपयोगबाट मानिसहरूले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा सुधारको अनुभव गर्दछन् ।

नेपालमा अकुपञ्चर पद्धतिको प्रयोगको इतिहास लामो नभए पनि पछिल्ला दुई–तीन दशकमा यसको लोकप्रियता उल्लेखनीय रूपमा बढेको छ । यो चिकित्सा विधि चीनसँगको सांस्कृतिक, शैक्षिक, र स्वास्थ्य सम्बन्धको परिणामस्वरूप नेपालमा प्रवेश गरेको मानिन्छ । अझै भैगोलिक विकासको रुपमा मुख्य गरेर अरनिको राजमार्ग बन्ने समयमा नेपालमा भित्रिएको दस्तावेज पाइन्छ । सन् १९८० को दशकमा वीर हस्पिटलमा अकुपञ्चरको शाखा नै खुलेर १७ वर्ष चलेको इतिहास छ । प्रारम्भमा सीमित स्थानहरूमा मात्र अकुपञ्चर सेवा उपलब्ध भए पनि अहिले यो सेवा नेपालका प्रमुख सहरहरूमा सहज रूपमा पाइन्छ । अझै सबैभन्दा पुरानो र ठूलो वैकल्पिक चिकित्सालय नरदेवी चिकित्सालयमा यसको उपयोगिता व्यापक रुपमा छ । पछिल्लो समय धेरै स्वास्थ्य संस्था, अस्पताल, र व्यक्तिगत क्लिनिकहरूले अकुपञ्चरलाई उपचारको एक विकल्पका रूपमा समावेश गरेका छन् । न्युरोसम्बन्धी नेपालको प्रमुख हस्पिटल अन्नपूर्ण न्युरोमा आइसियुदेखि नै अकुपञ्चर प्रयोग गरिन्छ भन्दा नौलो पनि लाग्न सक्दछ ।

नेपालमा अकुपञ्चरको विस्तारलाई चिकित्सा पर्यटनसँग पनि जोडेर हेर्न सकिन्छ । सन् २००० को दशकदेखि नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गर्दै अकुपञ्चर सेवा प्रदान गर्न थालिएको थियो । नेपालको प्राकृतिक सौन्दर्य, हिमाली वातावरण, र योग तथा ध्यानको प्राचीन परम्पराले गर्दा नेपाल शारीरिक र मानसिक उपचारका लागि आकर्षक गन्तव्य बनिरहेको छ । पर्यावरणीय शान्ति र आध्यात्मिकता खोज्ने पर्यटकहरूले अकुपञ्चरलाई आफ्नो शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि उत्कृष्ट विकल्पका रूपमा देख्न थालेका छन् । अकुपञ्चरलाई ध्यान, योग, र प्राकृतिक उपचार विधिहरूसँग एकीकृत गरेर थेरापी दिन थालेपछि यसको प्रभावकारिता र लोकप्रियता झन् बढ्दै गएको छ । एकजना ब्राजिल पर्यटकले परम्परागत भारतीय चिकित्सा आयुर्वेद र चिनियाँ चिकित्साको एकैचोटि अनुभव लिनको लागि नेपाल आएको सुन्दा त पर्यटन क्षेत्रमा अकुपञ्चरको अझै विकास हुन धेरै बाँकी रहेको भान हुन्छ ।

नेपालमा अकुपञ्चरले विभिन्न स्वास्थ्य समस्यामा राम्रो परिणाम दिएको छ । विशेषगरी, ग्रामीण र सहरी दुवै क्षेत्रमा यसको पहुँचले गर्दा धेरै नेपाली जनतालाई प्राकृतिक उपचार पद्धतिहरूमा पुनः आकर्षित गरेको छ । चीनमा अध्ययन गरेर फर्किएका नेपाली चिकित्सकहरूले अकुपञ्चरलाई नेपाली स्वास्थ्य प्रणालीमा समावेश गर्न महत्वपूर्ण भूमिका खेलेका छन् तर हालसम्म सरकारी तवरबाट धेरै चासोको विषय नबनेको देखिन्छ ।

अकुपञ्चरको प्रभावकारिता विभिन्न प्रकारका स्वास्थ्य समस्याहरूको उपचारमा प्रमाणित भइसकेको छ । अनुसन्धानहरूले देखाएको छ कि अकुपञ्चरले विशेषगरी दुखाइ व्यवस्थापन, तनाव र मानसिक स्वास्थ्य समस्याहरू, निद्राको समस्या, पाचनसम्बन्धी विकारहरू, र प्रजनन स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ । दुखाइ व्यवस्थापनमा, अकुपञ्चरले शरीरमा प्राकृतिक पीडा निवारण गर्ने एन्डोरफिन्सको उत्पादनलाई प्रवद्र्धन गर्दछ । मांसपेशी र स्नायुहरूको रक्त प्रवाह सुधार गरेर यसले लामो समयदेखिको पुरानो दुखाइ, खासगरी घुँडा, डाढ–कम्मरको दुखाइ र माइग्रेनको उपचारमा सहयोग पुर्याउँछ ।

त्यस्तै, मानसिक स्वास्थ्य समस्याहरूमा अकुपञ्चरले तनाव र चिन्ता घटाउन मद्दत गर्दछ, जसले निद्राको गुणस्तरलाई सुधार्न प्रभावकारी देखिन्छ । त्यसैगरी, प्रजनन स्वास्थ्य सुधार गर्न र महिलाहरूमा मासिक धर्मसम्बन्धी समस्यालाई व्यवस्थापन गर्न पनि अकुपञ्चर प्रभावकारी छ । विशेषगरी बच्चा जन्माउन चाहने महिलामा यसको प्रयोग बढ्दो छ । यसको प्रभावकारिता प्रमाणित भएपछि यो पश्चिमी देशहरूमा पनि लोकप्रिय बनेको छ र पारम्परिक औषधिको कुनै असरविना दीर्घकालीन समस्याहरूको समाधान दिन सक्छ भन्ने विश्वासले यसको लोकप्रियता अझै बढ्दै गएको छ ।

साथै, प्रसिद्ध व्यक्तिहरूले अकुपञ्चरको प्रयोग गरेपछि आफ्नो अनुभव व्यक्त गर्न थालेपछि यसको विश्वसनीयता र पहुँच पनि बढेको छ । विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरूले अकुपञ्चर सेवा उपलब्ध गराउन थालेपछि यो सहज रूपमा पहुँचयोग्य बनेको छ, जसले यसको लोकप्रियतालाई थप बल प्रदान गरेको छ ।

नेपालमा अकुपञ्चर सेवाको विकाससँगै औपचारिक शिक्षा र प्रशिक्षणमा देखापरेका प्रमुख समस्यामध्ये एक भनेको देशभित्र अकुपञ्चर शिक्षाका लागि कुनै विशेष कलेज वा विश्वविद्यालयको अभाव हो । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनका लागि आवश्यक पूर्वाधार र पाठ्यक्रम विकास नहुनु ठूलो चुनौती बनेको छ । अकुपञ्चर अभ्यासका लागि औपचारिक शिक्षाको मान्यता नहुनाका कारण धेरै नेपाली विद्यार्थीहरूले चीन, दक्षिण कोरिया र जापानजस्ता मुलुकहरूमा गएर अध्ययन गर्नुपरेको छ, जसले आर्थिक र सांस्कृतिक चुनौती थप्दछ ।

विदेशमा शिक्षा प्राप्त गरेर फर्किएका विशेषज्ञहरूको प्रमाणीकरण प्रक्रिया भने अझै अस्पष्ट र जटिल रहेको छ । विदेशमा अध्ययन गरेका डाक्टरहरूले नेपालमा दर्ता गराउन र लाइसेन्स प्राप्त गर्न लामो समयसम्म प्रक्रियामा अड्किनुपर्ने हुन्छ । प्रमाणीकरणका क्रममा उनीहरूको योग्यता र दक्षतालाई ठोस रूपमा मूल्याङ्कन गर्ने प्रक्रिया स्पष्ट नभएकाले यो क्षेत्र व्यवस्थित हुन सकेको छैन । यसले अकुपञ्चर अभ्यास गर्ने योग्यतावान चिकित्सकहरूको प्रभावकारी सेवा प्रदान गर्नमा अवरोध खडा गरेको छ ।

यहाँको स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरूले अकुपञ्चरलाई व्यवस्थित गर्नका लागि ठोस मापदण्ड निर्माण गर्न आवश्यकता छ । विदेशमा अध्ययन गरेर फर्किएका डाक्टरहरूको योग्यता र अनुभवलाई मान्यता दिने सरल, छिटो र विश्वसनीय प्रक्रिया विकास गर्नु जरुरी देखिन्छ । यसले नीतिगत स्पष्टता ल्याएर अकुपञ्चरको गुणस्तरीय अभ्यासलाई प्रोत्साहन गर्नेछ र यो पद्धतिलाई संस्थागत रूपमा अगाडि बढाउन सहयोग पुर्याउनेछ । साथै, आन्तरिक रूपमा शिक्षा प्राप्त गर्ने कार्यक्रमहरूको विकास गर्नसमेत प्राथमिकता दिइनु पर्नेछ, जसले नेपालभित्रै दक्ष जनशक्ति उत्पादनमा योगदान पु¥याउन सक्छ ।

हालसम्म अकुपञ्चर अभ्यासलाई कानुनी रूपमा मान्यता दिने कुनै विशेष ऐन वा नियमावलीको अभावले यस पद्धतिका गुणस्तर र पारदर्शितामा विभिन्न चुनौती देखापरेका छन् । कानुनी संरचनाको अभावले गर्दा अकुपञ्चर सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाहरूको प्रमाणीकरण, योग्यता मापदण्ड र सेवाको गुणस्तर सुनिश्चित गर्न समस्या परेको छ । कानुनी आधारविना, यो पद्धतिको दुरुपयोगको सम्भावना रहन्छ, जसले सेवाग्राहीहरूलाई ठगी र त्रुटिपूर्ण उपचारको जोखिममा पार्न सक्दछ ।

अकुपञ्चरलाई चिकित्सा सेवाका रूपमा कानुनी मान्यता दिनु अत्यावश्यक भइसकेको छ । कानुनी संरचनाले मात्र अकुपञ्चरको औपचारिकता र विश्वसनीयता सुनिश्चित गर्न सक्छ । यसले अभ्यास गर्ने विशेषज्ञहरूको योग्यता, दर्ता र लाइसेन्सिङ प्रक्रियालाई पारदर्शी र सङ्गठित बनाउँछ, जसले अकुपञ्चर सेवाको गुणस्तर बढाउन र सर्वसाधारणमा यसको लोकप्रियता फैलाउन सहयोग पुर्याउनेछ ।

स्वास्थ्य मन्त्रालयले आयुर्वेद, होमियोप्याथी र अन्य वैकल्पिक चिकित्सा विधिहरूसँगै अकुपञ्चरलाई पनि समान तहमा राखेर नीतिगत सुधार गर्नुपर्ने देखिन्छ । यसका लागि एकीकृत शिक्षा, अभ्यास, र अनुसन्धानको संरचना तयार पार्न जरुरी छ । अकुपञ्चरलाई वैकल्पिक चिकित्सा प्रणालीमा आधिकारिक रूपमा समावेश गरिएमा यस विधिको अनुसन्धानलाई प्रोत्साहन दिने, विशेषज्ञहरूको प्रशिक्षणलाई सुव्यवस्थित गर्ने र जनमानसलाई गुणस्तरीय सेवा उपलब्ध गराउने अवसर मिल्नेछ ।

अकुपञ्चरप्रति सर्वसाधारणमा अझै पनि केही हदसम्म गलत धारणाहरू देखिन्छन् । धेरैजसोले यसलाई केवल परम्परागत वा धार्मिक उपचारका रूपमा मात्र हेर्ने गरेका छन् । यसले गर्दा यसको वास्तविक विज्ञानमा आधारित पक्ष र प्रमाणित प्रभावकारितालाई नजरअन्दाज गरिएको छ । कतिपय मानिसहरू अकुपञ्चरलाई वैज्ञानिक रूपमा प्रमाणित नभएको र वैकल्पिक उपचारका रूपमा मात्र लिने प्रवृत्ति देखिन्छ तर पछिल्ला वर्षहरूमा विश्वभरिका अध्ययनहरूले अकुपञ्चरको वैज्ञानिक आधार पुष्टि गर्दै आएका छन्, विशेष गरी पीडा व्यवस्थापन, तनाव निवारण र अन्य स्वास्थ्य समस्याहरूमा यसको सकारात्मक प्रभाव प्रमाणित भएको छ ।

जनचेतना अभावका कारण यस्तो गलत धारणा अझै कायम छ । यसलाई सुधार गर्नका लागि व्यापक जनचेतना कार्यक्रमहरू आवश्यक छ । यसले अकुपञ्चरको वैज्ञानिक आधार र यसको प्रभावकारितालाई सर्वसाधारणसमक्ष पुर्याउन सक्दछ । प्रचार–प्रसार र सही जानकारीको अभावमा यो चिकित्सा पद्धतिको वास्तविक फाइदा बुझ्न नसक्ने अवस्था रहेको छ ।

स्थानीय स्तरमा समेत अकुपञ्चर सेवा प्रदायकहरूलाई सही तालिम दिनु अत्यन्त महत्वपूर्ण छ । तालिमप्राप्त विशेषज्ञहरूमार्फत मात्र गुणस्तरीय सेवा प्रदान गरिनुपर्छ भन्ने धारणा स्थापित गर्नुपर्छ । तालिम र प्रमाणीकरण बिना सेवा प्रदान गर्ने व्यक्तिहरूको कारणले बिरामीहरूले गलत सेवा प्राप्त गर्ने जोखिम हुन्छ । योग्यतावान् विशेषज्ञहरूले मात्र यो सेवा दिनुपर्ने बाध्यता राखेर सेवाको गुणस्तर सुनिश्चित गर्न सकिन्छ । यसले अकुपञ्चरलाई व्यापक रूपमा फैलाउन र सर्वसाधारणमा यसको सही जानकारी पुर्याउन सहयोग पुग्नेछ ।

भविष्यको सम्भावना र आवश्यक सुधारहरू

नेपालमा अकुपञ्चरको भविष्य वास्तवमै उज्ज्वल देखिन्छ, किनकि यो प्राकृतिक र वैकल्पिक चिकित्सा विधिका रूपमा जनस्तरमा स्वीकृति पाउँदैछ । दीर्घकालीन स्वास्थ्य समस्याहरूको रोकथाम, उपचार र पुनःस्थापनामा अकुपञ्चरको भूमिका महत्वपूर्ण बन्न सक्छ । यसको प्रभावकारितालाई बुझ्दै, नीतिगत सुधार र संस्थागत संरचना विकास गर्नु अत्यावश्यक छ । नेपालमा अकुपञ्चरको अभ्यासलाई कानुनी मान्यता दिएर, शिक्षा र प्रशिक्षणको मापदण्ड विकास गर्दै योग्य विशेषज्ञहरू उत्पादन गर्न स्वास्थ्य मन्त्रालय, चिकित्सा संस्थाहरू र विशेषज्ञहरूबीच सहकार्य आवश्यक छ ।

जनचेतनामा सुधार ल्याउनु र सही जानकारी सम्प्रेषण गर्नु महत्वपूर्ण छ, ताकि अकुपञ्चरको वैज्ञानिक पक्ष र चिकित्सकीय लाभ सर्वसाधारणले बुझ्न सकून् । सरकारी र निजी क्षेत्रले ग्रामीण र दुर्गम क्षेत्रहरूमा पनि यो सेवा विस्तार गर्न पहल लिनुपर्छ, जसले गर्दा सहरी र ग्रामीण सबै क्षेत्रका जनताले एकैसमान सेवा पाउन सकून् । यसले अकुपञ्चरको पहुँच बढाउनाका साथै यस पद्धतिको स्थायित्व र लोकप्रियतामा सहयोग पुग्नेछ ।

(लेखक ब्लू लोटस हेल्थ होममा कार्यरत हुनुहुन्छ)

‘निश्चय नै’ मैले मेरो ग्लक चलाएको छु: ह्यारिस

वासिङटन । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले एक अन्तरवार्तामा आफूसँग ग्लक अर्ध–स्चालित पेस्तोल रहेको खुलासा गरेकी छन् । ‘निश्चय नै’ उनले यसलाई सुटिङ रेन्जमा चलाएको बताइन् । 

अमेरिकी उपराष्ट्रपतिको हतियार रोजाइबारे अटकलबाजी चलिरहँदा उनले हालै टेलिभिजन स्टार ओप्रा विन्फ्रेलाई आफूसँग बन्दुक रहेको र आफ्नो घरमा कोही चोर पसेमा गोली हान्ने बताएकी थिइन् । 

“मसँग एउटा ग्लक धेरै समयदेखि छ”, प्राइमटाइम सिबिएस सो ६० मिनेटमा अन्तरवार्ता दिने क्रममा कस्तो किसिमको बन्दुक छ भनेर सोधिएको प्रश्नमा पूर्वअभियोजक एवं क्यालिफोर्नियाकी पूर्वमहानायाधिवक्ता ह्यारिसले भनिन्, “मेरो पृष्ठभूमि कानून प्रवर्तनमा छ र त्यसैले त्यहाँ तपाईँको जवाफ छ ।”

अन्तरवार्ताकार बिल ह्विटाकरले त्यसपछि उनलाई कहिल्यै ग्लक चलाउनुभएको छ भनेर सोधे । उनले हाँस्दै जवाफ दिइन्, “निश्चय नै मैले सुटिङ रेन्जमा चलाएको छु ।”

अस्ट्रियाली निर्माता ग्लकले अमेरिकाको सबैभन्दा बढी बिक्री हुने ह्यान्डगनहरूमध्ये एक बनाउँछ । प्रहरीले व्यापक रूपमा प्रयोग गर्ने ग्लकले आफ्नो उपस्थितिका कारण चलचित्र र हिप–हप संस्कृतिमा लोकप्रियता पाएको छ ।

ह्यारिसको डेमोक्रेटिक पार्टीले नियमित रूपमा सशस्त्र अपराध र ठूलो मात्रामा गोलीकाण्डले प्रभावित अमेरिकामा बन्दुकको पहुँच कटौती गर्ने कुरामा जोड दिइरहेका बेला अहिलेसम्म ह्यारिसले आफूसँग बन्दुक रहेको कुरा बिरलै उल्लेख गरेकी थिइन् । 

यद्यपि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको कडा निर्वाचनमा ५९ वर्षीया डेमोक्रेट ह्यारिसले आफ्नो बन्दुकधारकको योग्यता देखाउन थालेकी छन् ।

ह्यारिसले अमेरिकी संविधानको दोस्रो संशोधनको उल्लङ्घन गर्दै अमेरिकीहरूको बन्दुक जफत गर्न चाहेको ट्रम्पले बारम्बार दाबी गर्दै आएका छन् । गत महिना भएको उनीहरूबीचको एउटा मात्र टेलिभिजन बहसमा पनि ट्रम्पले यो कुरा दोहोर्याएका थिए । 

आफू र आफ्नो उपराष्ट्रपति उम्मेदवार टिम वाल्ज दुवै बन्दुकधारक रहेको उल्लेख गर्दै ह्यारिसले उक्त आरोपलाई जोडदार रूपमा अस्वीकार गरिन् । “म बन्दुक मालिक हूँ”, उनले  विन्फ्रेसँग हाँस्दै भनिन्, “यदि कोही मेरो घरमा प्रवेश गर्छ भने उसलाई गोली लाग्नेछ ।”

आप्रवासन र अर्थतन्त्र जस्ता संवेदनशील विषयहरूमा सावधानीपूर्वक कठिन प्रश्नहरूको सामना गर्नुहुने ह्यारिसको अन्तरवार्तामा ग्लक खुलासा सबैभन्दा आकर्षक विषय थियो ।

चीनले सन् २०२४ को वृद्धि लक्ष्य हासिल गर्नेमा शीर्ष आर्थिक अधिकारी ‘विश्वस्त’

बेइजिङ । चीन यसवर्षको आर्थिक वृद्धि लक्ष्य हासिल गर्ने कुरामा ‘पूर्ण विश्वस्त’ रहेको चिनियाँ शीर्ष अधिकारीले बताएका छन् । चीनमा गत महिना घोषणा गरिएको उत्प्रेरणात्मक उपायहरूको शृङ्खलाले शेयर बजारहरूमा उछाल ल्याएको थियो । 

अधिकारीहरूले करिब पाँच प्रतिशतको विस्तारलाई लक्षित गरेकाले बेइजिङले व्यावसायिक गतिविधिलाई पुनः सुरु गर्न सङ्घर्ष गरिरहेको छ । लामो समयदेखिको आवास सङ्कटदेखि सुस्त उपभोग र स्थानीय सरकारी ऋणसम्मका धेरै प्रतिकूल परिस्थितिलाई हेर्दा यो लक्ष्य आशावादी रहेको विश्लेषकहरूले बताएका छन् । 

चीनको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडिआरसी) का प्रमुख झेङ शान्जीको नेतृत्वमा मङ्गलबार भएको पत्रकार सम्मेलनमा सबैको ध्यान केन्द्रित छ । लगानीकर्ताहरूले बेइजिङले थप अर्थतन्त्र बढाउने नीतिहरू सार्वजनिक गर्ने आशा गरेका छन् ।

“हामी वर्षका लागि आर्थिक र सामाजिक विकासका लक्ष्य कायमा राख्नेमा पूर्ण विश्वस्त छौँ”, उनले भने, “हामी स्थिर, स्वस्थ र दिगो विकास कायम राख्नमा पनि पूर्ण विश्वस्त छौँ ।”

व्यापारीहरूले एक साताको विश्रामपछि बेइजिङबाट थप उपायहरूको आशामा जोडदार र्यालीलाई जारी राख्दा मुख्य भूमि चीनका सेयरहरू मङ्गलबार १० प्रतिशतभन्दा बढीले बढे । यसले स्वर्णिम हप्ता बिदाअघिको २० प्रतिशतभन्दा बढीले वृद्धि भयो । 

अधिकारीहरूले लामो समयदेखि मन्द आर्थिक वृद्धिलाई उल्ट्याउन उत्प्रेरणात्मक उपयाहरूको शृङ्खला घोषणा गर्न थालेसँगै लगानीकर्ताहरू मुख्य भूमि चीन र हङकङका सेयरहरूमा फर्कन थालेका छन् । 

हालसम्म घोषणा गरिएका धेरै उपायहरू कमजोर रियल स्टेटलाई लक्षित गरिएका छन् । यो लामो समयदेखि वृद्धिको प्रमुख चालक रहेको भए पनि अहिले लामो समयसम्म ऋण सङ्कटमा फसेको छ । 

उक्त उद्देश्यका लागि बेइजिङको केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई एक वर्षको ऋणको ब्याज दर घटाएको छ, ऋणदाताहरूको राशिमा कटौती गरेको छ र विद्यमान बन्धकहरूमा दरहरू घटाउन प्रोत्साहित गरेको छ । 

साङ्घाई, ग्वाङ्जाऊ र सेन्जेन जस्ता वित्तीय केन्द्रसहित धेरै सहरले पनि रियल स्टेट खरिदमा प्रतिबन्धहरू खुकुलो पारेका छन् । 

“समग्रमा हामीले वर्तमान विकास र विकासको पूर्वानुमान हेर्दा हाम्रो मुलुकको आर्थिक विकासको आधारभूत तत्वहरू परिवर्तन भएका छैनन्”, झेङले भने, “विभिन्न नीति विशेषरूपमा वृद्धिशील प्याकेजको निरन्तर जारी हुने क्रमसँगै बजारको अपेक्षा हालै उल्लेखनीय रूपमा सुधार आएको छ ।”

अधिकारीहरूले थप वित्तीय समर्थन उपायहरू घोषणा गर्ने विश्लेषकहरूले आशा गरेका छन् । यसमा खर्बौं युआनको बन्ड जारी र उपभोग बढाउने नीतिहरू रहेका छन् । 

यद्यपि बेइजिङ वृद्धिका आधारभूत अवरोधहरू समाधान गर्न गम्भीर छ भने रियल स्टेट क्षेत्रमा ऋण सङ्कट कम गर्न र घरेलु मागलाई बढावा दिन आर्थिक प्रणालीमा गहिरो सुधारहरू आवश्यक रहेको विश्लेषकहरूले बताएका छन् । 

“चीनको अर्थतन्त्र सङ्कटमा छैन र बेइजिङलाई चीनको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) हासिलमा मद्दत गर्न सन् २०२४ को बाँकी समयका लागि ठूलो वित्तीय खर्च प्याकेजको घोषणा गर्न आवश्यक छैन”, चाइना बेइज बुकका शेहजाद काजीले भने, “वास्तविक प्रश्न के हो भने बेइजिङले सन् २०२५ र त्यसपछिका लागि बहुचरणको खर्च कार्यक्रम घोषणा गर्नेछ र यसमा अर्थतन्त्रलाई उपभोगमा आधारित सङ्क्रमणबाट रोक्ने संरचनागत समस्याहरूलाई सम्बोधन गर्ने कुरा समावेश छ ।”

‘लौन सरकार खत्रा लाग्नुपर्‍यो’ भन्दै हर्क सम्पाङले लेखे केन्द्र सरकारलाई पत्र

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् ।

उनले धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो बजेट दिन माग गरेका हुन् ।

धरानको फोहोर जंगलमा फ्याँक्नुपर्ने बाध्यता रहेको भन्दै फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उल्लेख गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, ‘अध्ययन गर्ने भन्छन् । कति लामो अध्ययन हो ? कति वर्षे कोर्ष हो ? जनतालाई देशलाई सेवा, सुविधा तत्काल चाहिएको छ । हाम्रो सरकार र कानुनलाई प्रक्रिया माथि प्रक्रिया अध्ययनै अध्ययन मात्रै चाहिएको छ । ‘लौन सरकार खत्रा लाग्नुपर्यो । सेवा ढोग गरेँ फेरि पनि।’

हिमाली पदयात्राका क्रममा रसुवामा पोल्याण्डका नागरिकको मृत्यु

रसुवा । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ ।

रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो ।

नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको छ ।

रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौँ ल्याएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिए ।

थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताए ।

सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’

काठमाडौँ । नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ ।

अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा स्वामी प्रपन्नाचार्यको तस्बिमा समर्पण गरी मंगलबार पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक गरिएको हो ।

शोधकर्ता सोडारीले यसअघि पनि ‘के ईश्वर छ ?’, ‘साधनाको अनन्त यात्रा डा स्वामी प्रपन्नाचार्य’ र ‘धर्मभित्रको विज्ञान’ कृति प्रकाशन गरिसकेका छन् । एउटा अनुवाद र २२ वटा ग्रन्थ सम्पादन गरेका सोडारीले यस ग्रन्थमा तन्त्र, मन्त्र, यन्त्रसहित साधनाका विषयलाई प्राथमिकता दिएका छन् ।

झण्डै १३ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको लेखक सोडारीले जानकारी दिए । वेदका अध्येता गुरु डा स्वामी प्रपन्नाचार्यको आशीर्वचन राखी नेपालको माटोदेखि मठमन्दिर, शिवालय, देवस्थल, तीर्थस्थलको महिमालाई मुख्य विषयवस्तु बनाइएको उनले जानकारी दिए ।

ऋषिमुनि, साधक, साधनाको गरिमालाई वैज्ञानिक दृष्टिले हेर्ने चिन्तनलाई सोडारीले तीन सय ५६ पृष्ठको यस कृतिमा समावेश गरेका छन् । अन्तिम खण्डमा पुस्तकमा वर्णित तथ्यलाई पुष्टि गर्ने ३५ वटा चित्र समावेश गरिएका छन् ।

उखुको समर्थन मूल्य तोक्न सरकारसँग सांसद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन् ।

उनले समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेको भन्दै सरकारलाई छिटो समर्थन मूल्य तोक्न र अघिल्लो वर्षभन्दा मूल्य बढाउन ध्यानाकर्षण गराएका हुन् ।

नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् ।

सांसद चौधरीको निर्वाचन क्षेत्र उखु खेतीका लागि पकेट क्षेत्र मानिन्छ । गत वर्ष सरकारले तोकेको अनुदानवापतको रकम किसानले अहिले पनि नपाएको र केहि चिनी मिलले पनि किसानलाई अझै भुक्तानी नदिएको सांसद चौधरीले बताए ।

उनले बजारमा बढेको महंगीलाई ध्यान दिएर उखुको समर्थन मूल्य र अनुदान रकम पनि बढाउन माग गरेका छन् । उखुको न्यूनतम मुल्य प्रतिक्विन्टल ७३५ रुपैयाँ र ढुवानी वापतको नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल १०० रुपैयाँ गरी ८३५ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका छन् ।

‘समयमै मूल्य नतोकिदिँदा यस क्षेत्रका किसानहरु अन्योल र साह्रै मर्कामा परिरहेका छन् । समयमै मूल्य नतोकिदा उद्योगहरुले पनि उखु खरिद नगरी दिने वा अघिल्लो वर्षकै मूल्यमा मात्र खरिद गर्ने छन्,’सांसद चौधरीले अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा भने, ‘आर्थिक वर्ष २०८१/८२ का लागि उपरोक्त बमोजिम यथाशीघ्र समर्थन मूल्य निर्धारण गरिदिनु भई अनुदान वापतको रकम समयमै भुक्तानी हुने व्यवस्था समेत गरी दिनु हुन आग्रह गर्दछु ।’

साथै सांसद चौधरीले नवलपरासी जिल्ला केरा तथा उखुको पकेट एरिया भएको हुँदा अन्य बाली भन्दा केरा तथा उखुलाई बढी मलको आवश्यकता पर्ने भएको र हाल प्राप्त मलको कोटा अपुग भएको हुँदा सो क्षेत्रका लागि मलको कोटा वृद्धि गर्न पनि सरकारसँग माग गरे ।

टंकबहादुरको ‘दिलमायाको चिया दोकान’

फुङ्लिङ (ताप्लेजुङ) । गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गीत सार्वजनिक गर्दै ताप्लेजुङको आर्थिक र सांस्कृतिक पर्यटन, व्यवसायको उन्नयनमा गीतले विशेष योगदान पुर्याउने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा ‘दिलमायाको चिया दोकान’ गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिने जनाइएको छ । पाथीभरा क्रिएसन हाउसका प्रमुख हर्कराज गुरुङले गीतको म्युजिक भिडियो निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

गीतमा राजनराज शिवाकोटीको सङ्गीत, मिलन नेवार र गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर समावेश गरिएको छ । साना उद्यमी र ताप्लेजुङको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा गीतका शब्दले विशेष भूमिका खेल्ने गायक श्रेष्ठले बताए ।

उनकाअनुसार ‘दिलमायाको चिया दोकान’ले चिया पसलजस्तो सानो व्यवसायलाई सम्मान दिनुका साथै व्यावसायिक अनुशासन, लगनशीलता र इमान्दारिता झल्काउने प्रयास गरेको छ ।

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

कमलामाई (सिन्धुली) । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री यहाँ आइपुगेका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली मंगलबार बिहान खुर्कोट आइपुगेका हुन् ।

उनीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन् ।

रामेछापतर्फको ५१ मिटर बगेको बेलीब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उनीहरूले सो कामको निरीक्षणसमेत गरेका छन् ।

अहिले उनले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनःनिर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग छलफल जारी राखेका छन् । मन्त्रीहरु सिन्धुपोल्चोकको चौतारा जाने कार्यक्रम रहेको जनाइको छ ।

कञ्चनपुरमा जङगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।

गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा वडा नं ६ स्थित ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई हात्तीले आक्रमण गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।

वन क्षेत्रमा हात्ती कराएको आवाज सुनेपछि उमेशसहित २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी मोटरसाइकल छाडेर भागेका थिए । मोटरसाइलमा सवार रोशन र नवीन सम्पर्कमा आए पनि उमेश सम्पर्कमा नआएपछि खोजतलास गर्दा उनी सामुदायिक वन क्षेत्रमा आज विहान मृत फेलापरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उमेश मृत फेलापरेको स्थानमा जङ्गली हात्तीको दिसा रहेको र रुख मडारेको जस्तो देखिएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । एक साताअघि मात्र जङ्गली हात्तीको आक्रमणमा परी लालाझाडी गाउँपालिका–४ डाँडाजाइका ५९ वर्षीय रामदल रानाको मृत्यु भएको थियो ।

दक्षिणकाली मन्दिरमा दर्शनार्थीको घुइँचो

दसैँ नवरात्रको छैठौँ दिन मङ्गलबार बिहान काठमाडौँ दक्षिणकालीस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन ।

तस्बिर : हरिराम भेटुवाल / रासस

मेलम्चीको पानी मंगलबारदेखि काठमाडौं ल्याइने

सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो । 

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका हुन् । दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।

मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौँमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि मेलम्चीको पानी काठमाडौँ आउने भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।

निर्देशक लामिछानेले भने,“मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा सङ्घर्ष समितिसँग सहमति भएको छ । मेलम्चीबाट भोलिदेखि सुन्दरीजलमा पानी पथान्तरण गरिनेछ ।”

उनका अनुसार सहमतिअनुसार आयोजना पुनःनिर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्नेगरी अबको तीन महिनाभित्र बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढाउने गरी खानेपानी मन्त्रालयले पहल गर्नेछ । 

कार्यकारी निर्देशक लामिछानेका अनुसार आजैका मितिदेखि बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडाँै उपत्यकामा पानी पथान्तरण गर्नको लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको छ ।

प्रकाश दुतराज र मेलिना राईको ‘रेशम’

काठमाडौं । गायक प्रकाश दुतराजले नयाँ गीत ‘रेशम’ सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गीतमा प्रकाश र गायिका मेलिना राईको युगल स्वर छ ।

गीतको शब्द र संगीत प्रकाशकै हो भने संगीत संयोजन बिबी अनुरागीले गरेका छन् । यसको भिडियोमा एक गोठालोको प्रेम कथालाई देखाइएको छ । भिडियोमा प्रकाशसँगै विमला लिम्बुको अभिनय छ ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार भएको हो । भिडियो धादिङको रूबी भ्यालीमा छायाँकन गरिएको हो । अनिल के. मानन्धरको छायाँकन रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन छ ।

विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक

धुलिखेल । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र आग्रह पूर्वाग्रहमा बसेर काम नगर्न आग्रह गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकलाई सोमबार सम्बोधन गर्दै गृहमन्त्री लेखकले पीडा कुनै एक पार्टीको मान्छेलाई मात्रै भएको नभई सबैको एउटै समस्या भएकाले विपद्लाई राजनीतिकरण नगर्न आग्रह गरे ।

सबै मिलेर काम गर्नुपर्ने अहिलेको अवस्था भएकाले विपद् र पीडामा परेकालाई राहत दिन सक्नुपर्नेमा जोड दिँदै मन्त्री लेखकले विपद्का बेलामा सबै मिलेर व्यवस्थित ढङ्गले काम गर्ने बताए ।

खोजी र उद्धारको काम निरन्तर चलिरहने भन्दै उनले अहिलेको अवस्था विस्तापित भएका, घर ध्वस्त भएर सुत्ने, खानेपानी, औषधि लुगाफाटोको व्यवस्था हुन नसकेकालाई राहतको व्यवस्था गर्ने चरणमा रहेको बताए ।

‘हामी अहिले अत्यावश्यक मानवीय सेवा सञ्चालन गर्नुपर्ने अवस्थामा छौँ,’ उनले भने, ‘राहत, अवरुद्ध सडक सञ्चालन गर्ने, दूरसञ्चार सेवा, विद्युत्, स्वास्थ्य सेवालगायतका कामलाई प्राथमिकता दिएर काम गर्न जरुरी छ ।’

वितद् व्यवस्थापनका लागि चार वटा तह रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सङ्घमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सङ्घमा विपद् व्यवस्थापन परिषद् र प्रदेशमा कार्यकारी समिति, जिल्ला विपद् व्यवस्थापन समिति र पालिकास्तरमा स्थानीय विपद् व्यवस्थापन समितिले सबैले आ–आफ्नो तहबाट समन्वयकारी भूमिका निर्वाह गरेर समस्याको समाधान गर्ने काम भइरहेको बताए ।

विपद्मा परेका परिवारलाई दुई लाख राहत दिने भनेर सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित पालिकाले विवरण उपलब्ध गराएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल वितरण गर्ने र घर पूर्णरुपमा क्षति भएर अर्को बस्नयोग्य घर नभएकालाई स्थानीय तहले पहिचान गरेर सिफारिस गरेर पठाएको आधारमा तीन दिनभित्रमा अस्थायी घर निर्माणको लागि पहिलो किस्ता २५ हजार उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै खाद्यन्नको लागि पाँच जनासम्मको परिवार भएकालाई १५ हजार र त्यसभन्दा बढी भएमा ३० हजार रुपैयाँका दरले उपलब्ध हुने मन्त्री लेखकले जानकारी गराए । त्यसका लागि स्थानीय तह, प्रदेश र सङ्घले आ–आफ्नो काम तत्काल गर्न उनले निर्देशन दिए ।

सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने क्रममा काभ्रेपलाञ्चोकका केही पालिकामा मात्रै भएको र अरु पनि पालिका र वडाभित्र मात्रै भएको अवस्थामा त्यसलाई पनि समेट्नु पर्ने माग राखिएकामा मन्त्री लेखकले त्यसलाई प्रमुख जिल्ला अधिकारीबाट सिफारिस गरेर पठाउन आग्रह गरे ।

‘अहिलेसम्म जति घोषणा भएका छन्, त्यसबाहेक थप पालिकालाई पनि विवरण प्राप्त भएपछि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सकिने भनेर निर्णय गरेको हुनाले छुटेकालाई प्रक्रियामार्फत आएको खण्डमा त्यसलाई समावेश गरिनेछ,’ उनले भने ।

उनले खाद्यन्न पुर्याउन बाटो नभएका पालिकामा पुर्याउनका लागि हेकिप्टरमार्फत व्यवस्थापन हुने जानकारी दिनुभयो । त्यससँगै गर्नुपर्ने क्षेत्रगत काम (विद्युत्, सडक, सञ्चार, खानेपानी र स्वास्थ्य)लाई तीव्रता दिन सम्बन्धित निकायलाई उनले निर्देशन दिए ।

बैठकमा सङ्घीय सांसद सूर्यमान दोङले विपद्को बेलामा काम गरिरहेको सुरक्षा निकायलाई आवश्यक व्यवस्थापन गर्न नसकिएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

उनले व्यवस्थापनको सवालमा कतै बस्ति नै व्यवस्थापन गर्नुपर्ने, सडक सञ्जालको तत्काल व्यवस्था, विद्युत् नभएर सबैजसो पालिका अन्धकारमय भएको सबै काममा सरकार गम्भीर भएर लाग्नुपने बताए ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सडक, विद्युत्, सञ्चार पूरै बन्द रहेको कारण सबैतवरबाट पालिका खेबरजस्तै भएको बताए । सडक सञ्जालको लागि खोपासी–तालढुङ्गा, च्याल्टी–तालढुङ्गा र सुकमफेदी–तालढुङ्गा तीन वटा नै नाका पूर्णरुपमा बन्द रहेकाले समस्याग्रस्त रहेको उनले बताए ।

खुलेखानी ड्यामबाट बगेको पानीले वाग्मती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा वस्ती पूर्णरूपमा बगाएको, बाढीपहिरोबाट ३० वटाभन्दा बढी खानेपानीको संरचना, तीन सय किलोमिटरभन्दा बढी स्थानीय सडक क्षति, सिँचाइका २५ र विद्यालयको पाँच वटा र लघुजलविद्युतका साट वटा संरचना ध्वस्त भएको पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आग्रह गरे ।

विपद् क्षेत्रका जनताले दसैँका लागि चामल र चिउराको बन्दोबस्ति गर्न सक्ने अवस्था नरहेको भन्दै अध्यक्ष थिङले स्थिति भयाभह रहेकामा स्थानीय चौकीमा रहेको सुरक्षाकर्मी बाहेक थप सुरक्षा जनशक्ति नपुगेको, जिल्लाका कुनै पनि राजनीतिक नेतृत्व नपुगेको तथा सञ्चार सम्पर्क विहीन भएकाले त्यहाँको तथ्य सूचना अहिलेसम्म आउन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले बिपी राजमार्ग वैकल्पिक बाटोबाट नार्केसम्म पुगे पनि भरपर्दो नभएको र क्षतिको विवरण ल्याउन वल्लो घरदेखि पल्लो घरसम्म जान नसक्ने स्थिति रहेको बताए ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोक जिल्लालाई पूरै सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

बैठकमा प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री तीर्थबहादुर लामा, कञ्चनचन्द्र बादे श्रेष्ठ, रुक्कु चौलागाई, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष भोला अर्याल, नेकपा (एमाले)का अध्यक्ष राजन भुर्तेललगायतले विपद्का समयमा सरकारले गम्भीर भएर उद्धार, खोज, राहत, अस्थायी बासस्थान तथा पुनःबासको लागि ध्यान दिन आग्रह गरे । काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा भइरहेको विपद् व्यवस्थापनको गतिविधि र गरिरहेको प्रगतीको बारेमा जानकारी दिएका थिए ।

स्रोत नखुलेको १९ लाख नगदसहित काठमाडौंमा दुई जना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीलेदोलखाको बिगु गाउँपालिका–४ स्थायी घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र सोही ठाउँ घर भई न्यूरोड बस्ने २५ वर्षीय सुरेश वलीलाई १९ लाख नगदसहित सोमबार न्यूरोडबाट पक्राउ गरेको हो ।

साबित्रीको साथबाटबाट १५ लाख र सुरेशबाट ४ लाख गरी १९ लाख रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनीहरु न्यूरोडस्थित भारतीय नागरिकको कार्यालयमा काम गर्दै आएका थिए ।

प्रधानमन्त्रीद्वारा राष्ट्रसङ्घको महासभामा सहभागिताबारे राष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ ।

सोमबार भएको भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे ‘रिपोर्टिङ’ भएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे जातको खुर्सानीको व्यावसायिक खेती थालेका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रूपमा व्यावसायिक अकबरे खेती गर्न थालेको जानकारी दिए ।

‘भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ,’ उनले भने, ‘बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ ।’

भकिम्लीको गङ्गा पशुपक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय किलोग्राम अकबरे खुर्सानी बेचेर  एक लाख ७५ हजार आम्दानी गरेको बताए ।

‘बेनीका तरकारी पसलमा होलसेलमा प्रतिकिलो २५० रुपैयाँका दरले अकबरे खुर्सानी बिक्री भएको छ,’ उनले भने, ‘परम्परागत अन्नबालीको तुलनामा खुर्सानीखेतीबाट धेरै गुणा बढी आम्दानी गर्न सकिन्छ ।’ आलेका साथै बेलढुङ्गा कृषक समूहले सात रोपनी, चिनाखेतका दीपक पुन, दिवस घर्तीलगायतका किसानले व्यावसायिक अकबरे खुर्सानी खेती गरेका छन् ।

बेलढुङ्गा कृषक समूहका सचिव भीमबहादुर रोकाले ताप्लेजुङबाट बिउ ल्याएर परीक्षणका लागि गरेको अकबरे खुर्सानी खेती सफल भएपछि व्यावसायिक खेती थालेको बताए ।

१९ जना किसानले ५/५ लाखका दरले लगानी गरेर ३५ रोपनी जग्गा भाडामा लिएर बसाइँसराइसँगै बाँझिएको खेतबारीमा खनजोत गरी खुर्सानी, किबी, सुन्तला, आलुखेती र नर्सरी सञ्चालन गरेका छन् ।

दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ । खुर्सानी खेती भकिम्लीका किसानलाई तरकारी खेती प्रवर्द्धन कार्यक्रममार्फत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाले बताए ।

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

बागलुङ। बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याए ।

तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्र्याएका थिए । मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढेको हो ।

एक सय चार वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेको छ्याङ्तो गुरुङले बताए । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरबाट ११ दिन लगाएर बागलुङमा च्याङ्ग्रा ल्याएको गुरुङको भनाइ छ ।

गतवर्ष रोज्जा च्याङ्ग्रालाई रु ५५ हजारमा बिक्री गरेको बताउँदै यो वर्ष रु ४५ हजारमा बिक्री गरिरहेको बताए । ‘छोसेरबाट हिँडेर ११ दिनमा बागलुङ आइयो, बाटोमै ५० च्याङ्गा बिक्री भइसके, अझै ५४ च्याङ्ग्रा रहेका छन्, अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फष्टाएको छ’, गुरुङले भने, ‘परम्परागतरुपमा पाल्दै आएको च्याङ्ग्रा बिक्रीका लागि आफैँ बिक्री गर्दै आएको छु, आफैँ च्याङ्ग्रा उत्पादन र आफैँ बिक्री गर्दा नाफा धेरै हुन्छ’

कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने चलनका कारण मुस्ताङको च्याङ्ग्रा बिक्रीका लागि म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने गरेको छ । च्याङ्ग्राको मूल्यमा १० देखि १५ हजारसम्म घटेकाका कारण चाँडो व्यापार भएको च्याङ्ग्रा व्यापारी छेक्तेन गुरुङले जानकारी दिए ।

बागलुङमा महेन्द्र केसीले भित्र्याएको ७४ च्याङ्ग्रामा १६ वटा बिक्री भइसकेको बताए । गतवर्ष च्याङ्ग्राको व्यापार घट्दा यस वर्ष बागलुङका थोरै च्याङ्ग्रा व्यापारी बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा खरिद गरेको केसीले जानकारी दिए ।

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा भाउ महङ्गो भएपछि यस वर्ष केही सस्तो भएको हो। हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसैँमा भेडाच्याङ्ग्रा खोज्ने केसीले जनाए ।

जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारत सरकारले सहयोग गर्ने

काठमाडौँ। भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।

त्यस क्रममा मन्त्री पौडेलले राखेको प्रस्तावअनुसार ट्रमा सेन्टरको स्तरोन्नति तथा डायलासिस सेवा थप्न र सर्पदंशका बिरामीको उपचार र ‘डिजिटल हेल्थ’ अभियान कार्यान्वयनका लागि सघाउन पनि भारतीय समकक्षी नड्डाले प्रतिबद्धता जनाउनुभएको स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

आवश्यक तयारीपछि चाँडै यसबारे द्विपक्षीय समझदारी गर्ने सहमतिसमेत भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले जानकारी दिए । मन्त्री पौडेलले नेपाल भ्रमणका लागि दिएको निम्तोसमेत भारतीय समकक्षी नड्डाले स्वीकारेको उनले बताए ।

“नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ”, भेटपछि मन्त्री पौडेलको भनाइ उद्धृत गर्दै महानिर्देशक देवकाटाले भने, “भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।”

विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय सम्मेलनका लागि भारतमा रहेका स्वास्थ्यमन्त्री पौडेलले आज साँझ कार्यक्रममा सम्बोधन गर्ने तह भएको उनको सचिवालयले जनाएको छ ।

सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

कमलामाई (सिन्धुली) ।  काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । सोमबार दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फूलपातीका दिन निगमको न्यारोबडी जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने

काठमाडौं । नेपाल वायु सेवा निगमले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ । निगमले सोमबार विज्ञप्ति जारी गरी असोज २४ गते न्यारोबडी जहाजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको जानकारी दिएको हो ।

काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको निगमले जनाएको छ ।

खेलाडीलाई उपचार खर्च

काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कोषले सिद्धिकीताज बबरलाई एक लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार प्रदान गरेको हो । सिद्धिकी सवारी दुर्घटना परी घाइते भएका थिए भने विपिन मिर्गौलाको समस्याबाट पीडित छन् ।

कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सो अवसरमा कोषका सदस्यसचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का उपनिर्देशक एवं शारीरिक सुगठनका मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरको उपस्थिति थियो ।

पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् ।

मन्त्रालयमा सोमबार राष्ट्रिय पुस्तक नीति–२०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिनेक्रममा उनले पुस्तक पढ्ने बानी बसाउने र पुस्तकालयलाई अत्यावश्यक पुस्तकसहित उपयोगी बनाउने उद्देश्यले यो नीति ल्याउन लागिएको उल्लेख गरिन् ।
      
शिक्षामन्त्री भट्टराईले पुस्तक नीतिलाई अन्तिम रूप दिन वृहत् छलफल आयोजना गरिएको उल्लेख गर्दै सुझाव सङ्कलन गर्न र सानो समूहबाट त्यसलाई प्रविष्टि गराई स्वीकृतिको प्रक्रियामा लैजाने बताइन् ।

उनले लेखक, प्रकाशकलाई मानव पुँजीका रूपमा लिएर अथाह ज्ञानका विषयवस्तुलाई पढेर र पढेका कुरा अरुलाई सिकाएर एवम् पढ्नेले पढ्न सिकाएर पुस्तकको महिमा बढाउन सकिने धारणा राखिन् ।

उनले प्रकाशक, लेखक पुस्तक व्यवसायीसहित सरोकारवाला सबैको सहजीकरणका लागि पुस्तकालय ऐन ल्याउने सोच रहेको बताइन् ।    

      मन्त्रालयले राष्ट्रिय पुस्तक नीति–२०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको हो । मन्त्री भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

अन्तरक्रियामा सांसद मनिष झाले विद्यालय र विश्वविद्यालयमा मात्र नभइ होटल, रेस्टुरेन्टमासमेत पुस्तक पढ्ने सुविधा प्रदान गर्नुपर्ने र नेपाली पुस्तकलाई विदेशमासमेत पहुँच बढाएर गुणस्तरीय पुस्तक सबैलाई उपलब्ध गराउने सहज वातावरण बनाउन केन्द्रित हुनुपर्ने बताए ।
    
अन्तरक्रियामा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, विभिन्न प्रकाशन, काठमाडौँ उपत्यका सार्वजानिक पुस्तकालयसहित रिड नेपाल, बालपुस्तक विकास तथा छनोट मस्यौदा कार्यदल, डिल्लीरमण रेग्मी पुस्तकालय, नेपाल राष्ट्रिय पुस्तक तथा विक्रेता सङ्घ ,नेपाल सामुदायिक पुस्तकालय सङ्घ, त्रिवि केन्द्रीय पुस्तकालय, नेपाल पुस्तकालय सङ्घ, मन्त्रालयका कर्मचारी लगायतको उपस्थिति थियो ।

अन्तरक्रियामा पुस्तक नीतिमा समेटिएका सकारात्मक पक्षको समीक्षासहित सुधारका लागि विभिन्न सुभाव प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

विसं २०६४ देखि विभिन्न कार्यदल गठन हुँदै मस्यौदा तयार पारिएको भए पनि हालसम्म पुस्तक नीति स्वीकृत हुन सकेको छैन ।

दसैँमा पनि वर्षाको सम्भावना

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ । 

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरिएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् ।

‘यसपटक मनसुन बाहिरिने समय र दसैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ उनले भनिन्, ‘तसर्थ यो दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’

शेयर बजारमा ३७ अंकको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सोमबार ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ ।


ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर ४८३ दशमलव ७८ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट हुँदा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।


कुल एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर रु सात अर्ब नौ करोड ५९ लाख ५३ हजार २७ मूल्यमा खरिद बिक्री भए ।


नेप्सेका अनुसार, थ्री स्टार हाइड्रोपावर नौ दशमलव ९३, डोल्टी पावर कम्पनी नौ दशमलव ६८, एनआइसी एसिया फ्लेक्सी क्षप फन्ड आठ दशमलव ८०, जोशी हाइड्रोपावर आठ दशमलव ४२ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सात दशमलव ५९ कमाएका छन् ।


यस्तै, इस्टर्न हाइड्रोपावरको शेयरमा आज नकारात्मक सर्किट लागेको छ । साथै कुमारी सबल योजना सात दशमलव ४० प्रतिशत, विन नेपाल लघुवित्त छ दशमलव १४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त चार दशमलव शून्य सात प्रतिशत र पोखरा फाइनान्सका लगानीकर्ताले तीन दशमलव ७६ प्रतिशतले गुमाएका छन् ।

जसपा नेपालले पायो अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव एलाइन्सको सदस्यता

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको नयाँ सदस्यता पाएको छ । दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई संगठनको सदस्यता दिने निर्णय गरेको हो ।

समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरूको साझा अन्तर्राष्ट्रिय संगठनको यो निर्णयसँगै जसपा नेपाल प्रोग्रेसिभ एलाइन्सको नयाँ सदस्य पार्टी बन्न सफल भएको छ ।

विश्वका १९० वटा राजनीतिक पार्टीहरू सदस्य रहेको उक्त सम्मेलनमा नयाँ सदस्यताका लागि भएको मतदानमा जसपा नेपाललाई सर्वसम्मतबाट सदस्यता प्रदान गर्ने निर्णय गरिएको हो ।

सबै महादेशबाट प्रोग्रेसिव एलाइन्सका करिब दुई सय राजनीतिक दलका प्रतिनिधि सहभागी उक्त अन्तर्राष्ट्रिय अधिवेशनमा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।

प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता, सामाजिक न्याय, मानवअधिकारको सुनिश्चितता, लैङ्गिक विभेद, सामाजिक-आर्थिक तथा जातीय विभेद, असमानता र उत्पीडनको अन्त्य एवं पर्यावरणीय सुरक्षा जस्ता अवधारणाहरूका साथ उक्त सम्मेलन सम्पन्न भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने

घोराही (दाङ) । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिए ।

एमडिजिपी डा धिरज जैसवालमार्फत विशेषज्ञ सेवा दिन लागिएको उनले बताए । बडादसैँको बिदाका दिनहरूमा समेत प्रतिष्ठानको विशेषज्ञ चिकित्सकद्वारा सञ्चालन गरिनेछ । यो सेवा असोजको २४ गत बिहीबारदेखि २८ गते सोमबारसम्म सञ्चालन गरिने उनको भनाइ छ । 

लेबनानबाट नौ सयभन्दा बढी अष्ट्रेलियाली नागरिकको उद्धार

क्यानबेरा   । लेबनानमा इजरायलले आफ्नो आक्रमणलाई तीब्र पारेपछि अष्ट्रेलियाले सोमबारसम्ममा ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ ।

अस्ट्रेलियाको सरकारी तथ्याङ्क अनुसार अष्ट्रेलिया सरकारको समन्वय तथा सहायता प्राप्त प्रस्थान उडानहरू मार्फत ९०४ भन्दा बढी अस्ट्रेलियालीहरूले सोमबारसम्म लेबनान छोडेका छन् । यसरी उद्धार भएकामध्ये अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाबाट लेबनानमा गई बसोबास गर्दै आएका बासिन्दा तथा उनीहरूका परिवारका सदस्यहरू रहेको जनाइएको छ ।

अस्ट्रेलिया सरकारले शनिबार अस्ट्रेलियालीहरूका लागि बेरुतबाट साइप्रसका लागि अष्ट्रेलियाली ध्वजाबाहक क्वान्टास र कतार एयरवेजका दुईवटा चार्टर उडानहरू सञ्चालन गरेको थियो । क्वान्टास र कतार एयरवेजले साइप्रसबाट सिड्नीका लागि गरिएका उडानमार्फत् उनीहरूलाई अष्ट्रेलिया पुर्‍याएका थिए ।

क्वान्टासको पहिलो उडान आइतबार राति ३४९ अष्ट्रेलियाली लिएर स्वदेशतर्फ उडेको थियो । अस्ट्रेलियाको प्रशासनका अनुसार अझै तीन हजार ७५० भन्दा बढी अष्ट्रेलियालीहरू लेबनान छोड्न विदेश मामिला विभागमा दर्ता भएका छन् ।

सरकारले बेरुत विमानस्थल बन्द हुनसक्ने चेतावनी दिँदै लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई देश छोड्न महिनौँदेखि बारम्बार आग्रह गर्दै आएको छ । तथ्याङ्कअनुसार बुधवारसम्म लेबनानमा अनुमानित १५ हजार अस्ट्रेलियालीहरू रहेका थिए ।

युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ नरोकिने ह्यारिसको भनाइ

वासिङ्टन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इजरायल र अरब नेताहरूलाई बन्धक रिहाइ र गाजामा युद्धविरामका लागि सम्झौता गर्न अमेरिकाले आफ्नो ‘दबाब’ कम नगर्ने बताएकी छन् ।

वासिङ्टनले इजरायलसँग मानवीय सहायताका लागि काम गरिरहेको छ र ‘बन्धकहरूलाई रिहा गर्ने र युद्धविराम गर्ने सम्झौताको आवश्यकता छ। हामी इजरायल र अरब नेतासहित यस क्षेत्रमा दबाब दिने सन्दर्भमा रोकिने छैनौं,’ ह्यारिसले सीबीएसको ‘६० मिनेट्स’ लाई दिएको अन्तवार्तामा भनिन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘सुनिरहनुभएको छैन नि’ भनी सीबीएसका बिल ह्वाइटेकरले ह्यारिसलाई अन्तर्वार्ताका क्रममा उनको भनाईप्रति प्रतिप्रश्न गरेकी छन् ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका उम्मेदवार ह्यारिसले अमेरिकी प्रयासका कारण इजरायलले त्यस क्षेत्रमा धेरै महत्त्वपूर्ण कामहरू गरेको तर्क गरिन् ।

इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको उल्लेख गर्दै उनले भनिन्, ‘इजरायललाई यस प्रकारका आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्न हामीले सक्दो प्रयास गर्नु हामीलाई अनिवार्य छ।’

गाजामा अक्टोबर ७ मा हमासले एक्कासी गरेको एक बर्षको सन्दर्भमा इजरायल उच्च सतर्कतामा छ । इजरायलले लेबनानमा हमासको इरानसमर्थित सहयोगी हिजबुल्लाहतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ र इरानी क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रतिबद्धता जनाएको छ ।

गत वर्ष अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले इजरायलमाथि गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो ।

इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४१ हजार ८७० जनाको मृत्यु भएको छ । दुव पक्षले गरेका आक्रमण र कारबाहीका क्रममा अधिकांश सर्वसाधारणको मृत्यु भएको थियो ।

ह्विटेकरले नेतन्याहू अमेरिकाको ‘वास्तविक र घनिष्ठ सहयोगी’ हो वा होइन भनी सोधेको प्रश्नमा ह्यारिसले भनिन्, ‘राम्रो प्रश्न के हो भने के अमेरिकी जनता र इजरायली जनताबीच महत्वपूर्ण गठबन्धन छ ? र उक्त प्रश्नको जवाफमा कुनै दोधार छैन । अमेरिकी र इजरायली जनताबीच अत्यन्त्यै राम्रो सम्बन्ध छ ।’

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा

नयाँदिल्ली  । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पाँच दिने द्विपक्षीय भ्रमणका लागि भारतको नयाँदिल्ली आइपुगेका छन् ।

राष्ट्रपति मुइज्जुलाई राजधानी नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको स्रोतले जनाएको छ । राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीले मालदिभ्सका राष्ट्रपति मुइज्जु र प्रथम महिला साजिद मोहम्मदलाई सोमबार बिहान राष्ट्रपति भवनमा स्वागत गरेका छन्।

राष्ट्रपति मुइज्जु र प्रथम महिला साजिदा मोहम्मदले सोमबार नै नयाँदिल्लीको राजघाट पुगी महात्मा गान्धीको समाधीस्थलमा श्रद्धाञ्जलि अर्पण गरी आगन्तुक पुस्तिकमासमेत हस्ताक्षर गरेका छन्।

भारतको भ्रमणमा रहेका मुइज्जुले सोमबार राष्ट्रिय राजधानीको हैदराबाद हाउसमा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति मुइज्जु माल्दिभ्सकी प्रथम महिलासहित आफ्नो पहिलो द्विपक्षीय भ्रमणका लागि आइतबार भारत आइपुगेका हुन् ।

मुइज्जुले आइतबार राष्ट्रिय राजधानीमा विदेश मन्त्री एस जयशङ्करसमक्ष भेटवार्ता भएको थियो । जयशङ्करले मालदिभ्सका राष्ट्रपतिको भारत भ्रमणका लागि स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेका थिए भने राष्ट्रपति मुइजुले आफु लगायत आफ्नो प्रतिनिधिमण्डलको न्यानो स्वागतका लागि भारत सरकारप्रति कृतज्ञता व्यक्त गरेको माल्दिभ्सको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

द्धिपक्षीय बैठकमा जयशङ्कर र मुइज्जुले दुई देशबिचको प्रगाढ सम्बन्धलाई बढावा दिनेबारे छलफल गरेको माल्दिभ्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै राष्ट्रपतिले मुइज्जुले प्रथम महिला साजिद मोहम्मदसँगै नयाँ दिल्लीमा बसोबास गर्ने माल्दिभ्स समुदायसँग पनि भेटवार्ता गरेको स्रोतले जनाएको छ । अन्तरक्रियाको क्रममा उनले माल्दिभ्स समुदायको कल्याण र चुनौतिहरू सम्बन्धि मुद्दाहरू सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस वर्षको जुन महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि मुइज्जुको यो दोस्रो भारत भ्रमण हो ।

कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरूको महान पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभरि चार हजार ३५१ प्रहरी परिचालन गरिएको हो ।

चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए ।

‘चाडपर्व सुरक्षा योजनाका साथै विपद्लाई पनि लक्षित गरेर यो योजना कार्यान्वयन गर्न/गराउन प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरूबाट उल्लिखित सङ्ख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको छ’, उनले भने, उनका अनुसार परिचालित प्रहरीमध्ये चार हजार ९९ जनपद र २५२ ट्राफिक प्रहरी रहेका छन् ।

चाडपर्वका समयमा जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी विभिन्न आपराधिक घटना हुनेसक्ने, सवारी दुर्घटनाका घटना, बैङ्क तथा वित्तीय सङ्घसंस्थालगायत क्षेत्रमा हुने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, पाकेटमारीजस्ता आपराधिक गतिविधि कम तथा निरुत्साहित गर्ने उद्देश्यले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरी नायब महानिरीक्षक भट्टराईले जानकारी दिए।

सुरक्षा योजनाअनुसार प्रदेश तथा जिल्ला कमान्ड १२ पोष्टहरुमा १४५ जना प्रहरी परिचालन गरिएको छ । प्रदेश तथा जिल्ला ‘रिजर्भ’ टोली १४ वटामा ४०१ प्रहरी जनशक्ति परिचालन गरिएको छ ।

भवितव्य वा आकस्मिक रुपमा कुनै घटना घट्दा परिचालित प्रहरी जनशक्ति अपुग भएमा रिजर्भ टोलीले सहयोग गर्ने प्रहरी नायब महानिरीक्षक भट्टराईले बताए।

त्यसैगरी, ४८ मोबाइल गस्ती टोलीमा २३४, एक सय दुई मोटरसाइकल गस्तीमा १५२, पैदल गस्तीअन्तर्गत २३३ गस्तीमा ६२७, एक सय नौ तत्काल प्रतिकार्य टोली (क्युआरटी) परिचालन गरी सोअन्तर्गत २४८, लामो तथा छोटो दूरीको एक सय गस्तीमा तीन सय ७७, पिकेट एक सय १३ स्थानमा दुई सय ७६, स्ट्राइकिङ नौ स्थानमा ७६ र मातहत प्रहरी अनुगमन तीनवटामा २४ जना प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

लामो तथा छोटो दूरीको गस्तीअन्तर्गत एक सय गस्तीमा ३७७ जना प्रहरी खटाइएको छ । नियमित, विशेष तथा आकस्मिक चेकिङका लागि १६२ स्थानमा ३९०, पचासी ठाउँमा ट्राफिकसहित १९९ प्रहरी र बैङ्क तथा वित्तीय सङ्घसंस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षालगायतको सुरक्षाका लागि १९८ स्थानमा ७५० प्रहरी परिचालन गरिएको प्रहरी जनाएको छ ।

सिएमसीमा महिलाहरूको निःशुल्क क्यान्सर परिक्षण

चितवन ।  चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरूको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो ।

अस्पतालका निर्देशक प्रा.डा दयाराम लम्सालका अनुसार अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण सुरु गरिएको हो । महिला पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको उनले बताए।

‘एचबि ब्लड सुगर’, ‘क्रिएटिनिन’ र ‘एसजिपिटी’ परीक्षण निःशुल्क गरिएको निर्देशक लम्सालले बताए। साथै पाठेघरको मुखको ‘भिआइए’ परीक्षण गरिने भन्दै उनले परीक्षणका क्रममा ‘भिआइए पोजेटिभ’ आएकाहरूका लागि सर्भाइकल बायोप्सी (क्यान्सर भएरनभएकोबारे गरिने परीक्षण) निःशुल्क गरिएको उनले जानकारी दिए।

स्तन क्यान्सरको परीक्षण भने आवश्यकता अनुसार स्तनको भिडियो एक्सरे निःशुल्क गरिने प्रा.डा लम्सालले बताए।

लक्षित समूहअन्तर्गत भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविका, महानगरको मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारी र महिला पत्रकारहरूको आज परीक्षण गरिँदै छ । यसैगरी मङ्गलबार रत्ननगर नगरपालिका र देवघाट गाउँपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारीहरूको परीक्षण गरिने छ ।

बुधबार देवचुली र गैँडाकोट नगरपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका स्वास्थ्य शाखाका महिला कर्मचारीको निःशुल्क परीक्षण गरिने अस्पतालले जनाएको छ । सबै परीक्षणहरू सिएमसी क्यान्सर इन्स्टिच्युटमार्फत गरिने छ ।

चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको उपचार गर्न आउनेहरुले स्वास्थ्य बीमामार्फत् एक लाखसम्म, विपन्न उपचार कोषबाट एक लाखसम्मको सुविधा पाउँछन् भने प्रदेश सरकारबाट अधिकतम थप दुई लाखसम्म पाउँछन् ।

सामाजिक सुरक्षा कोषमार्फत उपचार गर्नेहरूले ८० प्रतिशत छुट पाउँछन् । अस्पतालले सरकारी अस्पतालको दररेटमा नै क्यान्सरको उपचार गर्दै आएको जनाएको छ ।

अत्याधुनिक उपकरण, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकबाट सेवा दिँदै आएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बताए । अस्पतालमा क्यान्सरसँगै मुटुसम्बन्धी सबै किसिमका रोगको उपचार हुँदै आएको उनले जानकारी दिए।

कञ्चनपुरका थारु बस्तीमा सखिया नाचको रौनक

कञ्चनपुर । कञ्चनपुरमा थारु समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ । यहाँ थारु समुदायका युवायुवती रातिका समयमा वडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन् ।

मादलको तालमा कम्मर मर्काउँदै थारू युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारुलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन् । युवाहरूले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन् । स्थानीय राजेन्द्र चौधरीले दसैँ नजिकिँदै जाँदा दिनप्रतिदिन यहाँका बस्तीमा नाचको रौनक थपिँदै गएको बताए। थारू समुदायमा दसैँका समयमा सखिया नाचलाई विशेष आकर्षणका रूपमा हेरिने गरेको उनले बताए ।

‘पहिला फुर्सद हुने भएकाले कृष्णजन्माष्टमीका दिनदेखि दसैँको टीकासम्म एक महिनासम्म नाच देखाइन्थ्यो’, जोनापुर गाउँका थारु वडघर सुरेश चौधरीले भने, ‘हाल सबै जना आ–आफ्नो कार्यमा व्यस्त हुने भएकाले यो नृत्य पाँचदेखि सात दिनसम्म मात्र देखाउने गरिन्छ ।’

नृत्यमा सहभागी युवतीले भगवान श्रीकृष्णको गाथासहितको गीत मौलिक तरिकाले गाउँने गर्दछन् । गाउँका भद्रभलादमी, वडघर, गुरुवा, केसौका लगायतको बैठक बसि सखिया नाचको व्यवस्थापन गर्ने गरिन्छ । गुरुवाले तान्त्रिकविधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट जोगाउनका लागि पूजापाठ गरेपछि मात्रै नृत्यको आयोजना गरिने थारु अगुवा चेतराज चौधरीले बताए।

यस नाचमा मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिन्छ । नृत्यसँगै गीत गाउने युवतीको अगुवाई गर्ने मोहिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ ।

नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीहरूले सामूहिक रूपमा नृत्य पस्कने गर्दछन् । जसलाई थारू भाषामा खोट (पैँया) भन्ने गरिन्छ । पैँया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरूले आफैँ सिर्जना गरेर पैँयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुने गरेको थारू बुद्धिजीवी दानसिंह दहितले बताए।

उनका अनुसार यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतालासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेस गर्नुपर्ने हुन्छ । सप्‍तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने पौराणिक नृत्य अष्टमीको रातभरि आयोजना गरिन्छ ।

पञ्चमीको दिनअघि सादा पोसाकमा यस नृत्यलाई पस्किने र पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती तथा कमिज लगाउने गर्छन् भने नृत्य गर्ने युवतीले रङ्गिविरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोला, अगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् । मादलको तालसँगै महिलाले हातमा मैजरी लिएर बजाउने गर्दछन् । अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई अन्य समय दिउँसो नाच्ने गरिन्छ ।

दसैँपछि गाँउमा नृत्यमा सहभागी सबै जनालाई भोज खुवाउने चलन रहेको स्थानीय फुलराम चौधरीले बताए।

धार्मिक मान्यताअनुरूप यो नाच आयोजना गरेमा गाँउमा अन्नबाली बढी फल्ने, रोगव्याधी हट्ने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास रहेको छ । थारू समुदायमा यस नाचको परम्परा कायमै रहे पनि मौलिकतापन भने केही हराउँदै गएको थारू अधिकारकर्मी हवलदार चौधरीले बताए।

“युवाहरूले बुढापाकाबाट मादल बजाउने कला सिक्नै चाहेनन् र बुढापाकाहरूले पनि मादल बजाउन सिकाउनुपर्छ भन्नेमा ध्यान नदिँदा संस्कृतिको महत्वपूर्ण पक्ष नै संकटमा रहेको छ”, उनले भने।

लवाइखवाइ र पहिरनले जातजातिको संस्कृतिबारे पहिचान दिने भए पनि सखिया नृत्यमा लगाउने पहिरनमा तथा गहनामा परम्परागत मौलिकपन हराउँदै गएको चौधरीको भनाइ छ ।

‘महिलाहरूले आफैँले सियोको माध्यमले सिलाएर लेहङ्गा, चोलीलगायत पहिरन तयार पार्थे । हाल त्यो सीप थोरै महिलासँग मात्रै संरक्षित छ तर पुस्तान्तरण हुनसकेको छैन’, उनले भने, ‘कामको खोजीमा अरु ठाउँमा जानुपर्ने भएकाले परिवार छिन्नभिन्न भएकाले यस्तो समस्या आएको हाम्रो बुझाइ छ । त्यसैले मौलिकता जोगाउन सरकारी तवरबाटै संरक्षणको पहल हुन आवश्यक छ।’

दशैं सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल

 दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।

राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका होटल व्यवसायी चुडामणि दाहालले बताए । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार यहाँ पर्यटकको बढी घुइँचो हुने गरेको उनले जानकारी दिए ।

उनले भने, ‘दशैंका बेला विद्यालय तथा कार्यालयहरु बिदा हुने भएकाले आन्तरिक पर्यटक बढ्न थालेका हुन् । दुर्गापक्षअन्तर्गत सप्तमीदेखि पर्यटकको आगमन अझै बढ्ने अनुमान गरेका छौं ।’

स्थानीय अनिल अधिकारीले बिहानै यहाँबाट देखिने सूर्योदय र कुहिरोले पर्यटक लोभिने गरेका बताए ।

उनले भने, ‘दमौली बजारलाई ढपक्क कुहिरोले ढाकिएको सुन्दर दृश्य हेर्न एकपटक आएकाहरु पुनः आउने गरेका छन् ।’

मानुङकोट घुम्न पुगेका व्यास–४ का मनोज राउतले यहाँबाट देखिने कुहिरो, सूर्योदय र हिमशृङ्खलाको दृश्यले मोहित बनाएको बताए । उनले भने, ‘यो ठाउँ कोरोनाको समयदेखि चर्चामा आएको हो । यहाँको पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जनसँग जोड्दै धेरै पर्यटक भित्र्याउन जरुरी छ ।’

मानुङकोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ नयाँ र आधुनिक होटल सञ्चालन हुन थालेका छन् । विगतमा एउटा पनि नरहेको यस ठाउँमा अहिले एक दर्जन बढी होटल सञ्चालित छन् ।

दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छभने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ निर्माण गरी व्यवस्थित गरिएको छ । रेलिङसँगैको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने आन्तरिक पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः फर्किएर व्यवसाय गर्न थालेका छन् ।

यसअघि खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

मानुङकोट जाने सडक कालोपत्र भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्र गरिएको हो ।

अलैँचेबाट मानुङकोटसम्मको चार हजार ३०० मिटर सडक कालोपत्र भएको होटल व्यवसायी दाहालले बताए । उनका अनुसार कालोपत्र गर्न अप्ठ्यारो रहेको ठाउँमा १८० मिटर आरसिसी ढलान गरिएको छ ।

इमान्दार र योग्य व्यक्तिले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित हुन्छः शेखर कोइराला

काठमाडौंँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् ।

सोमबार बिहान नेपाल दलित संघका नेताहरूसँगको भेटमा कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।

उनले भने,‘कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला । दशैँ तिहारको रमाइलोमा मात्रै होइन, जनताको सुखदुःखमा पनि पुग्नुस् ।’

कांग्रेसमा पैसा नहुनेहरूले निर्वाचनमा टिकट पाउँदैनन् भन्ने धारणा विकास भएकाले त्यसलाई चिर्नका लागि १५औं महाधिवेशन पर्खनुपर्ने बताए ।

उनले भने, ‘१५ औं महाधिवेशनपछि यस्तो धारणा हटेर जान्छ । इमान्दार र योग्य जोकोहीले अवसर पाउँछ भन्ने मान्यता १५ औं महाधिवेशनपछि स्थापित गरिछाड्छौ ।’

दशैं बजारः वीरगञ्ज सुनसान, रक्सौलमा भीड

वीरगञ्ज । नवरात्र सुरु भएसँगै वीरगञ्जको सीमावर्ती बजार रक्सोलमा चहलपहल बढेको छ । वीरगञ्ज आसपासका सर्वसाधारण दशैंको किनमेल गर्न गएसँगै त्यहाँको बजार चलपहल बढेको हो । तर स्वदेशी बजार वीरगञ्ज भने किनमेलमा सुनसानजस्तै देखिन्छ ।

सडक र फुटपाथमा फलफूल, जेरी र बच्चाका खेलाना बेच्ने मौसमी व्यापारीको भीडभाड देखिए पनि अन्य ‘सपिङ सेन्टर’ हरू सुनसानजस्तै देखिन्छन् । वीरगञ्ज महानगरपालिका–९ घण्टाघरका मुन्ना ठाकुर वीरगञ्जमा भन्दा रक्सोल बजारमा २० देखि ३० प्रतिशत खाद्यान्न र लत्ताकपडा सस्तो हुने भएकाले प्रायःजसो सबै उतै खरिद गर्न जाने गरेको बताउँछन् ।

‘वीरगञ्जमा भन्दा रक्सोलमा खाद्यान्नदेखि लत्ताकपडा सस्तो हुने भएकाले उतै जाने गर्छौं, यहाँ त गाह्रोसारो परेका बेलामात्र हो किनमेल गर्ने त,’ उनले भने ।

वीरगञ्जमा भन्दा सीमावर्ती बजार रक्सोलमा खाद्यान्न र लत्ताकपडालगायत सामान सस्तो मूल्यमा पाइने भएकाले पनि यहाँको बजारमा खासै चहलपहल देखिन्न ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ता चाडपर्वका बेलामा पनि वीरगञ्जको भन्दा रक्सोलको सीमावर्ती बजारमा नै भीडभाड हुने बताउँछन् ।

‘यहाँका अधिकांश सर्वसाधारण खाद्यान्न र लत्ताकपडालगायत सामान खरिद गर्न रक्सोल जाने गर्छन्,’ उनले भने, ‘वीरगञ्जमा भन्दा सस्तो मूल्यमा पाइने भएकाले पनि रक्सोल सधैँ गुल्जार भइरहने, वीरगञ्ज भने सुनसानजस्तै हुने परिपाटीको विकास हुँदै आइरहेको छ ।’

केन्द्रीय सदस्य गुप्ता सरकारले भारतबाट आयातित वस्तुमा अत्यधिक मात्रामा कर लगाउँदा पनि अवैध ढङ्गले चोरी, तस्करी गरेर सामान भित्रिने प्रवृत्ति बढेको बताउँछन् ।

‘खुला सीमाको कारणले एकातर्फ क्यारिङ गरेर भन्सार छली गरेर सामान भित्र्याउने प्रवृत्ति पनि रोकिएको छैन । अर्कातर्फ सीमावर्ती बजारबाट सर्वसाधारणले दैनिक उपभोग्य सामान पनि खरिद गर्दै आइरहेका छन्,’ उनले भने, ‘सरकारले भन्सार महसुलदर सीमावर्ती बजारभन्दा १०–१५ प्रतिशतमात्र फरक गराउने हो भने अवैध रूपमा भित्रिने वस्तु तथा सामानको आयात रोक्न सकिन्थ्यो ।’

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने सीमावर्ती क्षेत्रका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु तथा सामानबाहेक अन्य वस्तु तथा सामान ल्याउन कडाइ गर्दै आइरहेको दाबी गरे ।

‘पहिलाभन्दा अहिले धेरै सुधार भइसकेको छ,’ उनले भने, ‘छिल्लो डेढ महिना क्यारिङबाट सामान ओसारपसार गर्नेमा कमी आएको छ ।’

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको अवधिमा ४३ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात् ३२ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ । असोजभरिमा १७ अर्ब ४२ करोड रुपैयाँ लक्ष्य राखिएकामा १५ असोजसम्मको अवधिमा भने ६ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई असोजका लागि मात्र ४ अर्ब ८३ करोड २० लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । तर १५ असोज अवधिमा मासिक लक्ष्यको ४८ प्रतिशत राजस्व संकलन गरिसकेको छ ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले दशैंमा विदेशी मदिराजन्य पदार्थको आयात भएसँगै राजस्व संकलन उत्साहजनक रहेको बताए ।

उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाको सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

छिमेकी भारतको सबैभन्दा ठूलो जलविद्युत् कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पाेरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट एक करोड, अरुण तेस्रो जलविद्युत् आयोजना लिमिटेडका प्रमुुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट एक करोड, प्रभुु बैङ्कका अध्यक्ष देवीप्रसाद भट्टचनबाट एक करोड र प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट ३१ लाखको चेक हस्तान्तरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैगरी, प्रभु इन्सुरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।

सहयोग रकम बुझ्दै प्रधानमन्त्री ओलीले हालैको बाढीपहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सम्बद्ध सबैलाई धन्यवाद दिए ।

गृहमन्त्रीद्वारा काभ्रेका बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

धुलिखेल ।  गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न. १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पुर्‍याएको थियो । मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी दिएका छन्।

सो क्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थ्यस्थितिमा पुर्‍याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समयमा नभएको पुनर्स्थापना लगायतको विषयमा मन्त्री लेखकलाई जानकारी गराएका थिए ।

त्यस्तै उनले बेथानचोक वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थान आपसको क्षेत्रको स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाभित्रमा बाढीपहिरोले पुर्‍याएको क्षतिले नागरिकले ब्यहोरिरहेको कष्टकर अवस्था र त्यसमा पालिकाले गरेको उद्धार सेवा लगायतको विषयमा जानकारी दिएका थिए।

पालिका अहिले खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य सेवा र विषेश गरी यातायात सेवालाई प्राथमिकतामा राखेर काम भइरहेको उनले जानकारी दिए।

गृहमन्त्री लेखकले आज नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएर आज नै विपी राजमार्ग खण्डअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडा र रोशी गाउँपालिकाको कटुञ्जे खण्डमा रोशी खोलामा गएको बाढीले पुर्‍याएको क्षतिको अवस्थाबारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

अनुगमनका क्रममा काठमाडौंका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गर्यो । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल, मैजुवहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएका महानगरले जनाएको छ ।

८२ वटा पसलमा देखिने गरी मूल्य सूची राखिएको थिएन । यस्ता पसललाई देखिने गरी सूची राख्न लगाइयो । ६२ वटाको व्यवसाय दर्ता थिएन । यस्ता व्यवसायीलाई ७ दिनभित्र व्यवसाय दर्ता गर्न समय दिइएको छ । यसरी समय दिएकामध्ये १ जनाले दर्ता गरिसकेका छन् ।

चाडपर्वमा फलफुल, माछामासु, दूध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुन्छ । यसबेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुन सक्छ । अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिद विक्री विलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएका छन् । यस्तै व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रुपमा देखिएका छन् ।

पसलमा बेच्न राखिएका सामानहरुमध्ये प्याकेजिङ् गरिएका जुस, कुकिजलगायत विस्कुटहरु, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरु, भिनेगर, केचअप जाम जस्ता खाद्य तथा पेय पदार्थमा गुणस्तरको समस्या देखिएको छ ।
अनुगमनका क्रममा विक्रीका राखिएका खाद्य सामग्री तथा पेय पदार्थको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्ष हेर्ने गरिएको छ । त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, विक्री कक्षको प्रबन्ध, खरिद तथा विक्री बिल, दर्ता तथा नविकरण जस्ता सूचकका आधारमा अनुगमन गरिन्छ ।

उपभोक्ताहरुले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन गरिएको हो । अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको लक्ष्य हो ।

फुड टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेका छन् । ‘सुरक्षा, सुनुवाई, क्षतिपूर्ति र छनोट’ उपभोक्ताका प्रमुख ४ वटा अधिकार छन् । यी अधिकारको प्रत्याभूत गराउन महानगरपालिकाले काम गरिरहेको हो ।