`

 दसैँ उदात्त संस्कृतिको विराट आयाम

-डा शोभाकर पराजुली

बसन्त–शरदावेव सर्वनास करावुभौ ।
तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधैः ।।

वर्षा सकिएर हाम्रो माटो ओभाउन थालेसँगै यतिबेला नेपालीका घरआँगनमा दसैँको उल्लास छरिइसकेको छ । मौसम नै एक प्रकारले दसैंँको भावमा सुगन्धित हुन थालेको छ । देशको सबैभन्दा ठूलो यो पर्वले फेरि एकपटक सम्पूर्ण नेपालीलाई एउटा आत्मियताको मालामा गाँसेको आभाष छाएको छ ।

वसन्त अनि वर्षा ऋतु र शारदीय मौसमको आरम्भसँगै एउटा भव्य सांस्कृतिक सुगन्ध छाउँछ दसैँको । यो श्लोकमा दसैंँको सांस्कृतिक, प्राकृतिक अनि मानवीय संस्कारको एउटा आदिम साइनो गाँसिएको छ । यसको अर्थ हुन्छ, वसन्त अनि वर्षायामसँगै शारदीय मौसम सुरु भएसँगै चण्डीपाठ गर्दा त्यो बीचमा भएका अनि आउँदा सङ्कट पनि सबै नाश भएर जान्छन् भन्ने मान्यता हो ।

दसैंँको सांस्कृतिक पक्ष अर्थात यो पर्वमा हुने पूजाआजा त्यही मान्यताका आधारशीला हुन् । हिन्दूकुश हिमालय पर्वतको काखमा अवस्थित नेपाल राज्य स्थापनाका आफ्नै वैदिक अनि परम्परागत मान्यता छन् । उसै पनि अध्यात्मिक पवित्र भूमिका रुपमा चिनिने नेपाल राज्यमा सनातनदेखि नै दसैंँको परम्परा सुरु भएको देखिन्छ । नेपालको इतिहासमा लिच्छविकालको सुरुआतदेखि नै यस्ता वैदिक सनातन संस्कार प्रचलनमा आएको देखिन्छ । यहाँको आदिमानव सभ्यतामा वैष्णव, शैव, शात्तललगायत धर्ममा गरिने देवीको पूजाआजाको धार्मिक परम्परा नै दसैँका रुपमा स्थापित हुँदै गएको पाइन्छ ।

यद्यपि, यसका अनेक किंवन्दती छन् । यसका वैदिक अनि धार्मिक मान्यता छन् र यसका आ–आफ्नै मौलिकता छन् । धर्म अनि परम्पराबाट अलि परबाट हामीले यसलाई महसुस गर्यौं भने दसैँ एउटा सामाजिक उत्सव पनि हो । जहाँ नेपाली समाजको विविधताबीच एकता पनि झल्किन्छ । अनेक विविधताले भरिएको नेपालमा हरेक पर्व मनाउने सबैका आ–आफ्नै तरिका छन् । संस्कार अनि परम्परा छन् । तथापि हरेक पर्व अनि उत्सवहरूले दिने सन्देशमा भने तात्विक अन्तर देखिन्छ ।

अर्थात हरेक पर्वले सामाजिक र सांस्कृतिकसँगै एउटा मानवीय सन्देश पनि दिइरहेका हुन्छन् । जो अन्ततः मानव जाति र प्रकृतिको चक्रसँग गाँसिएको हुन्छ । दसैंँ पनि त्यस्तै हो । दसैंँ मान्ने तरिका फरक छन्, कसैले टीका लगाउँछन्, कसैले रातो लगाउँछन् त कसैले सेता, कसैले कालो । कसैले मासु खान्छन् कसैले खाँदैनन् । कसैले कस्तो वेष धारण गर्छन्, कसैले कस्तो । जसले जे नाम वा जसरी मनाए पनि दसैंँको महिमा अनि महत्व पनि एउटै हो । यो मानवजाति र प्रकृतिको अन्य सम्बन्ध र पारस्परिक परिचक्रसँग जोडिएको छ । यसको अन्तिम लक्ष्य भनेको मान्छे र प्रकृतिको आदिम साइनो पनि हो, जसको चक्रमा यो सिङ्गो ब्रह्माण्डको अस्तित्व अनादिकालदेखि नै रहिआएको छ ।

धार्मिक किंबदन्तीअनुसार देवीले दैत्यहरूको नाश वा बध गरेपछि त्यसलाई उत्सवका रुपमा मनाउने क्रममा दसैंँ स्थापित भएको मानिन्छ । त्यसैलाई विजयादशमी पनि भन्ने गरिन्छ । अनि कतिपय शास्त्रमा रामले देवीको पूजा गरेपछि रावणमाथि विजय प्राप्त गरेका मान्यताहरू स्थापित छन् ।

हिन्दू परम्परामा मानिँदै आएका कोटीकोटी देवीदेवता वा भगवानमध्ये दसैंँमा खासगरी शक्तिपीठ अर्थात देवीहरूको पूजा हुन्छ । त्यो भनेको दसैंँ असत्यमाथि सत्यको विजयोत्सवका रुपमा पनि लिइन्छ । यस अर्थमा दसैंँलाई शक्ति उपासनाको पर्वका रुपमा लिन सकिन्छ ।

हिन्दू शास्त्रहरूमा यसका आ–आफ्नै विधि र प्रक्रिया छन् । जस्तो कि विजयादशमीका बेला हामीले लगाउने टीका, जमरा अनि आर्शीर्वादका पनि आफ्नै मान्यता र अर्थ छन् । यसका वैज्ञानिक व्याख्यातिर नजाने हो भने यी दसैंँका यी सबै अवयवहरूमा मानव सभ्यताका गहिरा अर्थहरू गाँसिएका छन् । जस्तो कि– दसैंँका बेला आफूभन्दा ठूला, मान्यजन अनि अग्रज आफन्त दसैंँमा टीका लगाउँदा यसरी आर्शीर्वाद दिने चलन छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राधवे ।
ऐश्वयं नहुषे गतिश्च पवने मानंच दुर्योधने ।।
सौर्य शान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुते ।
विज्ञानं विदेरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसमा अष्ठ चिरञ्जीविको जस्तो दीर्घायू, राजा दशरथको जस्तो धन सम्पत्ति, रामचन्द्रको जस्तो शत्रु नाश गर्ने शक्ति, भीष्मका पराक्रम अनि कृष्णका दाजु बलरामको शक्ति, युधिष्ठिरको सत्यवादिता, विदूरको ज्ञान–विज्ञान अनि नारायणको अविनाश कीर्तिहरूको सन्देश गाँसिएको छ ।

खासगरी पुरुषहरूलाई दिइने यस्तो आशीर्वादमा मात्रै धर्म वा किंबदन्ती छैनन् । बरु यसमा ज्ञान–विज्ञानका कुरा पनि गाँसिएका छन् । यसरी दसैंँ र यसलाई मनाउने तरिका अनि परम्परामा विज्ञान पनि मिसिएको छ । हामीले दसैंँका बेला अपनाउने कतिपय संस्कार वैज्ञानिक पनि छन् । यी अनुसन्धानले पनि प्रमाणित गरेका कुरा हुन् ।

जयन्ती मङगला काली भद्रकाली कपालिनी ।
दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधा नमस्तुते ।।

महिलाका लागि टीका, जमरासँगै दिइने यो आशीर्वादको अझ गहिरो अर्थ लाग्छ । यो भनेको हाम्रा सृष्टिका हरेक नारीहरूको सम्मान हो । अर्थात् नारीलाई देवीशक्तिका रुपमा पूजा गर्ने हाम्रो सनातन परम्पराअनुसार नारीलाई देवीकै अवतारका रुपमा लिइन्छ । यसरी दसैंँले मानव सभ्यता र यसको सृष्टीलाई धर्मका माध्यमद्वार बलियो गरी बाँधेको हुन्छ ।

अर्को हिसाबबाट हेर्ने हो भने दसैंँका सामाजिक अनि आर्थिक शास्त्र पनि छन् । वर्षायामभरि खेतीपाती सकेर यो समयमा हरेक किसानले आनन्दपूर्वक दसैंँ मनाउने गर्छन् । टाढा टाढा रहेका आफन्त अनि परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर खुसी र आत्मियता साट्ने यो पर्वको आफ्नै सामाजिक मान्यता पनि छन् । यसबेला बजार पनि चलायमान हुन्छ । नयाँ नयाँ सामान भित्र्याउने अनि किनमेलका लागि यो पर्वले राज्यको अर्थबजारलाई पनि गतिशील बनाइरहेको हुन्छ । तसर्थ, दसैंँ आफैँमा धार्मिक पर्व त हो नै, त्यसका लागि सामाजिक अनि आर्थिक हिसाबले पनि दसैंँ एउटा परिवार, समाज मात्रै नभइ सिङ्गो राष्ट्रका लागि पनि महत्वपूर्व अवसर मानिन्छ । योसँगै सुरु हुने तिहार अनि छठपर्वले पनि एकअर्को समुदायलाई धार्मिक र आत्मिक गाथामा बाँधेको हुन्छ । यसबाट हाम्रो सनातन समाजको सहिष्णुता र मिलाप दर्साउँछ । त्यसमा पनि नेपाल आफैँमा एउटा बहुधार्मिक अनि बहुसांस्कृतिक समाज मिलेर बनेको एउटा सार्वभौम र स्वायत्त राष्ट्र हो । त्यसैले पनि यहाँका परम्परा अनि संस्कृतिहरूको पहिचान विश्व माझमै अलग प्रकारको छ ।

जे होस् अनेक संस्कृतिले भरिपूर्ण हाम्रो देशमा यस्ता हरेक पर्वले सामाजिक सद्भाव, भ्रातृत्व अनि हरेक समुदाय र समाजलाई प्रेमिल बनाउन सघाइरहेका हुन्छन् । त्यसैले पनि नेपाली समाज आफैँमा सभ्यता र संस्कृतिको विराट भूमि पनि हो । दसैंँ, तिहार र छठ पर्वको यो पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा दीर्घायु, उन्नति अनि समृद्धिको शुभकामना ।

सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, “चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो ।”

हाल सुनसरीको चतरादेखि बराहक्षेत्रहुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ । जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए ।

आज विहान सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पुगेर प्रजिअ तिवारीसँगै सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेललगायतले निरीक्षण गरेका थिए ।

मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु

नारायणगढ । चितवन  जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडि बस्ने गरी छ जना घाइते भएको तथा घाइतेमध्ये गम्भिर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदिखोला गाउपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजेको समयमा मृत्यु भएको हो ।

स्कुटरको पछाडि सवार स्याङ्जाको फेदीखोला गाउपालिका-२ बस्ने १७ वर्षीय रश्मि शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ ।

त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको रिजालले जानकारी दिए।

ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडी बस्ने गैडाकोट नगरपालिका–८ नवलराससी (वर्दघाट सुस्ता पूर्व) की बिविका सापकोटाको अवस्था समान्य घाइते रहेको र उनीहरूको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए।

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरे ।

काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ ।

सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गरे । साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी  निर्वाध यातायात सञ्चालनको हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए ।

राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

सुनसरीका किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

इनरुवा । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका छन् । उनले ती मध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेमन थिए ।

उनले भने, ‘दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिए । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो ।’

यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उनले भने, ‘बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ ।’

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा  ४० हजार खर्च गरेका थिए । उनले भने, ‘बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो ।’

बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा  ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ ।

कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

 उनले  बाढीबाट  दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताए । उनले भने, ‘बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्यांक आउने क्रम जारी छ ।’

सिस्नेरी पहिरोमा मृत्यु भएका ६ खेलाडीका परिवारलाई एन्फाले आठ/आठ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आठ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आइतबार बसेको आपत्कालीन बैठकले उनीहरूको परिवारलाई राहतस्वरुप उक्त रकम दिने निर्णय गरेको हो । बैठकले प्रत्येक दिवंगत खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष खोल्दिने निर्णय पनि गरेको छ ।

एन्फाले श्री बत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्र (एकेडेमी) मा पहिरो जाँदा आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बाँनिया, अनुपम घलान र साईमन योञ्जनको पुरिएर मृत्यु भएको थियो । घटनाबारे सत्यतथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन एक महिना भित्र पेश गर्ने गरी एन्फा केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको नेतृत्वमा तीन सदस्सीय छानबिन समिति पनि गठन गरिएको छ ।

बाहिरियो यसवर्षको मनसुन

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका धेरै र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका थोरै स्थानबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने महाशाखाले जनाएको छ । नेपालबाट पूर्ण रूपमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ र भित्रने औसत मिति जुन १३ हो ।

एनपिएल अक्सनः कुन खेलाडी कहाँ अनुबन्ध ?

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको अक्सनमा विकेट किपर एवं ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आइतबार आयोजित अक्सनमा अनिलले न्यूनतम १० लाख राखेका थिए । उनलाई किन्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो ।

आठ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् । जनकपुरमा आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन् । यसैगरी, बायाँ हाते स्पिनर सागर ढकाल १५ लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् । ‘ग्रेड ए’ मा नाम राखेका उनलाई किन्न चितवन, सुदूरपश्चिम, पोखरा र कर्णालीले प्रतिस्पर्धा गरेका थिए । जसमा ‘लक्की ड्र’ मार्फत पोखराले पाएको हो ।

तीव्र गतिका बलर प्रतिश जिसीलाई १५ लाखमा विराटनगरले अनुबन्ध गरेको छ । ‘ग्रेड ए’ मा रहेका उनलाई अक्सनमा काठमाडाँैं, सुदूरपश्चिम र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । उनलाई लक्की ड्रमार्फत विराटनगरले पाएको हो ।

त्यस्तै,  लोकेश बमलाई विराटनगरले १५ लाखमा अनुबन्ध गरेको छ । विस्फोटक ब्याटरका रुपमा परिचित उनलाई किन्न जनकपुरबाहेक  सुदूरपश्चिम, काठमाडौँ, लुम्बिनी, विराटनगर, पोखरा, चितवन र कर्णालीले प्रतिस्पर्धा गरेका थिए ।

मध्यक्रमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । उनलाई १५ लाखमा सुदूरपश्चिमले किनेको हो । आरिफले न्यूनतम मूल्य  १० लाख राखेका  थिए । अक्सनमा उनलाई अनुबन्ध गर्न कर्णाली, सुदूरपश्चिम र काठमाडौँबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाखमा सुदूरपश्चिमले अनुबन्ध गरेका हो ।

यसैगरी, रिजन ढकाल १० लाखमा चितवन राइनोजमा आबद्ध भएका छन् । ए ग्रेडमा रहेका उनले न्यूनतम १० लाख पाएका छन् । त्यस्तै, अलराउन्डर दीपेश कँडेललाई काठमाडौँले  पाँच लाख तिरेर अनुबन्ध गरेको छ । अक्सनमा कँडेलले न्यूनतम मूल्य पाँच लाख राखेका थिए । यसैगरी, अलराउन्डर नारायण जोशी  १० लाखमा पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन् ।

युवा ब्याटर ऋत गौतम  पाँच लाखमा नै बिक्री भएका छन् । न्यूनतम मूल्य पाँच लाख राखेका उनलाई कर्णालीले मात्रै मूल्य लगाएको थियो ।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगताको अक्सनमा करिब डेढ सयभन्दा बढी खेलाडी सहभागी रहेको क्यानले जनाएको छ । अक्सन चलिरहेको छ । अक्सनको ग्रेड ‘ए’ न्यूनतम  १० लाख र उच्चतम  १५ लाख राखिएको छभने ग्रेड ‘बी’मा न्यूनतम पाँच लाख र उच्चतम १० लाख छ । त्यस्तै, ग्रेड ‘सी’मा न्यूनतम दुई र उच्चतम  पाँच लाख तोकिएको छ ।

ललितनारायण राजवंशी १५ लाखमा जनकपुरमा बिक्री

काठमाडौं । नेपाली टोलीका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका छन् । उनी ग्रेड ए क्याटोगोरीमा थिए । उनलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए । तर, बिड १५ लाखसम्म पुगेपछि गोलप्रथाबाट उनी जनकपुर बोल्ट्समा पुगेका हुन् ।

खुर्कोटस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सुरु

काठमाडौं । नेपाली सेनाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्न बेलिब्रिज निर्माणको काम सुरु गरेको छ । हेटौंडाबाट बेलिब्रिजका सामान लगेर आइतबारदेखि बेलिब्रिज निर्माणको काम सुरु भएको नेपाली सेनाले जनाएको छ ।

केही दिनअघि आएको बाढीले सुनकोसी नदीको पुलको रामेछापतर्फको आधा भाग बगाएको थियो । पुल बगाएपछि रामेछाप र तराईबीचको सम्बन्ध बिच्छेद भएको थियो ।

तस्बिरः नेपाली सेना

मैले प्रहरीबाट आधिकारिक जानकारीपछि सदनबाट सहकारी ठगीमा रवि निर्दोष भनेको हुँः प्रचण्ड

भरतपुर । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् ।

आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको दाबी गरेका हुन् ।

उनले लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनको भनाई छ। प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने बताए ।

उनले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्न कसैले नरोकेको बताए । आफू प्रधानमन्त्री हुँदा लामिछानेलाई गलत ढंगले क्लिन चिट दिने काम नगरेको र प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट लामिछाने निर्दोष रहेको धारणा राखेको उनले बताए ।

त्यस्तै प्रचण्डले अहिले जनताको बीचमा जाने राम्रो आधार बनेकाले अब एक्लै चुनाव लडेर जित्ने दाबी गरे। उनले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको उल्लेख गरे ।

प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आइतबार एक करोडको चेक हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले सो रकम हस्तान्तरण गरे ।

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलगायत सहभागी सो अवसरमा विकास निर्माणका काम र विद्यमान कानुनी एवं अभ्यासमा देखिएका समस्या फुकाउने विषयमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले समस्याबारे पटक पटक छलफल हुने तर समस्या यथावत् रहने अवस्था अन्त्य गर्न निर्देशन दिए ।

मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता

काठमाडौं । आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गरी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता भएका जानकारी दिएको हो । मांसिर १६ मा स्थानीय तहका रिक्त प्रमुख, उपप्रमुख र वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारको निर्णय

काठमाडौं । असोज १८ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २१ वटा निर्णय गरेको छ । आइतबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकउपर लोकसेवा आयोगसँग परामर्श लिने निर्णय गरेको छ । त्यस्तै बैठकले २०७८ साल चैत्र २४ गतेको निर्णयानुसार राष्ट्र बैकका गभर्नरउपर छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने निर्णय गरेको छ ।

बैठकले राजस्व न्यायाधीकरण विराटनगरको अध्यक्ष पदमा विराटनगर उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्दलाई तोक्ने निर्णय गरेको छ भने राजस्व न्यायधीकरण नेपालगन्जको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर इजलासका न्यायाधीश सुभाष पौडेललाई तोक्ने निर्णय गरेको छ।

सत्तारुढ कांग्रेस र एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे एक करोड सहयोग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ५० लाख सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने  र यसको अगुवाइ सरकारले गर्ने बताए । उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे ।

एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त कोषमा ५० लाख र सांसदहरुको आधा महिनाको तलब बराबरको रकम प्रदान गर्ने निर्णय गरेको थियो ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका नेताहरु सहभागी थिए ।

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

सभापति देउवाले प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताए । उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए ।

नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ ।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, सो दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत सहभागी थिए ।

लेबनान र इजरायलका राजदूतलाई नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएकी छन् ।


ती देशमा अवस्थित नेपाली राजदूतहरुसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन् । 


बैठकमा मन्त्री डा राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरु र उनका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएकी थिइन् ।


मन्त्री डा राणाले भनिन्, “कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरुको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु ।”


मन्त्री डा राणाले सम्बन्धित देशका दूतावासहरुलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका ‘हेल्पडेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी थिइन् ।


इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरुलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए । 
त्यहाँ हाल करिब एक हजार दुई सय नेपाली रहेका अनुमान गरिएको र उनीहरुमध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको र उनीहरु पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको उनले बताए ।


हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी जानकारी नगरेको तर नेपालमा रहेका आफन्तहरु बढी चिन्तित भएको पनि उनले जानकारी दिए ।


इजरायलका लागि नेपली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली सुरक्षित रहेका बताए । सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए ।

दसैंमा सोचे जस्तो व्यापार नभएको न्युरोडका व्यापारीको गुनासो

काठमाडौँ। ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर ग्राहकको सङ्ख्या भने पातलो छ ।

दसैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्यापार नभएको उनको अनुभव छ । उनी भन्छन्, ‘दुई/चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपाली व्यापार कम छ ।’

पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उनको भनाइ छ । यद्यपि फुलपाती सुरु भएपछि व्यापार बढ्छ की भन्ने उनको झिनो आशा छ ।

दसैँमा किनमेलका लागि न्युरोडमा भेटिएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुसी महत्वपूर्ण लाग्छ । चिसो मौसम सुरु भएकाले दसैँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्छिन्। ‘आफ्नो भन्दा छोराछोरीलाई दसैँमा खुसी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ’, उनले भनिन् ।

ठमेलमा किनमेल गर्न पुगेका गोपाल बुढाथोकीले यस पाली मुल घर सर्लाही नजाने बताए । बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उनले बताए ।

‘काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ”, उनले भने, ‘किनमेल पनि भर्खरै सुरु हुँदैछ ।’ उनले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताए । पर्वमा भारी छुट पाउने हुँदा उनलाई आवश्यक सामग्री किन मनपर्ने सुनाए ।

काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दसैँमा किनमेलमा खासै जोड नदिएको बताइन् । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आएकी उनले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाइन् ।

गाँउ बाढीका कारण तहसनहस भएपछि उनलाई यसपालीको दसैँ मनाउने जाँगर चलेको छैन । दसैँ पनि काठमाडौँमै मनाउने योजना रहेको सुनाइन् । ‘आफन्ती सबै दुःखमा छन्, दसैँ मनाउनु कसरी ?’, उनले भनिन् ।

भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताए । कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उनको अनुभव छ । ‘मान्छेहरुको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन’, उनले भने ।

शेयर बजारमा ५६ अंकको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शुन्य नौ अङ्कले उकालो लागेर दुई हजार छ सय ५३ दशमलव ५८ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७५ अङ्कले उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ ।

आजको कारोबारमा कूल एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर रु छ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय पाँच मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी नौ दशमलव ७६, इस्टर्न हाइड्रोपावर नौ दशमलव ६८,गुडबिल फाइनान्स नौ दशमलव २७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले आठ दशमलव १४ प्रशितले कमाएका छन् ।

यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना नौ दशमलव ४३, एनआइसी एशिया सेलेक्ट फण्ड छ दशमलव ७०, स्वरोजगार लघुवित्त पाँच दशमलव ४९ र उपकार लघुवित्तका लगानीकर्ताले चार दशमलव ४१ प्रतिशले गुमाएका छन् ।

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।

मस्जिदलाई पछिल्लो समय विस्थापितहरूलाई राख्ने आश्रयस्थल बनाइएको थियो ।

‘गाजाको मध्य क्षेत्र देइर अल–बालाहस्थित अल अक्सा शहीद अस्पतालको गेटअगाडि इजरायलले गरेको बमबारीका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने ठूलो सङ्ख्यामा घाइते भएका छन्,’ एजेन्सीका प्रवक्ता महमुद बसालले भने ।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मेवारी लिएको छ । विज्ञप्तिमा भनिएकोे छ, ‘मस्जिदमा रहेको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरभित्र सक्रिय हमासका आतङ्ककारीमाथि आक्रमण गरिएको हो ।’

सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकको नातेदार नहुने

टोकियो । जापानमा सन् २०५० मा ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या १.५ गुणाले वृद्धि हुने र १० प्रतिशतभन्दा बढी वृद्धवृद्धा नजिकको आफन्तबिहीन हुने हालै सार्वजनिक प्रतिवेदनले देखाएको छ ।

जापान रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणअनुसार हाल ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका वृद्धवृद्धाको सङ्ख्या ४४ लाख ८० हजार छ । सन् २०५० सम्ममा यो सङ्ख्या तीन करोड ९० लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

क्योदो न्यूजका अनुसार जापानमा विवाह गर्नेको सङ्ख्या कम भएकाले वृद्ध जनसङ्ख्या बढ्दै गएको र यस्तो अवस्थामा अवस्थामा अस्पताल र हेरचाह गृहका रहेका वृद्धवृद्धाको कसले ग्यारेन्टीको भूमिका निर्वाह गर्ने भन्ने चिन्ता बढेको छ ।

जापानको नागरिक संहिताले आफ्नो वृद्ध परिवारका सदस्यलाई सहयोग गर्ने जिम्मेवारी तीन पुस्ता भित्रका नातेदारलाई दिएको प्रतिवेदनमा उल्लेख छ ।

नेशनल इन्स्टिच्युट अफ पपुलेशन एण्ड सोसियल सेक्युरिटी रिसर्चको तथ्याङ्कमा आधारित अनुमानअनुसार कुनै नजिकको नातेदार नभएका र सार्वजनिक दीर्घकालीन हेरचाह बीमा अन्तर्गत दीर्घकालीन हेरचाह वा समर्थनको आवश्यकता को रूपमा प्रमाणित भएका वृद्ध व्यक्तिहरू २०५० मा तीन करोड ४० हजार देखि पाँच करोड ९० हजारसम्म पुग्ने अनुमान गरिएको छ।

प्रधानन्यायाधीश राउतले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गरेका छन् । राउतलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच नवनियुक्त प्रधानन्यायाधीश राउतले शपथ ग्रहण गरेका हुन् । यसअघि राउतलाई राष्ट्रपति पौडेलले आजै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको को उपस्थिति थियो ।

हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी

जेरुसेलम । इजरायलले आफ्नो भूमिमा प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा गरेको आक्रमणको बर्ष दिनको पूर्वसन्ध्यामा आफ्ना सेनालाई तयारी अवस्थामा राखेको छ।

इजरायली सैन्य अधिकारीले इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने तयारी गरिरहेको बताएका छन् ।

इजरायलले लेबनानी समूह हिजबुल्लाहसँग युद्ध चर्किरहेका बेला सैन्य प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले ‘कुनै छुट वा राहत बिना’ आक्रमण हुने बताए ।

सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हेगारीले अगस्ट ७ को भयानक वर्षगाँठको पूर्वसन्ध्यामा टेलिभिजनमा प्रसारण गरिएको ब्रिफिङमा भने, “हामी यस दिनको लागि थप सेनाको साथ तयार छौं।”

अक्टोबर ७ मा प्यालेस्टिनी समूहले इजरायलमाथि एक्कासी गरेको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको थियो । आक्रमणमा अधिकांश सर्वसाधारणको मृत्यु भएको थियो ।

एक वर्षपछि पनि गाजामा युद्ध जारी छ भने इजरायलले आफ्नो ध्यान लेबनान र इरान समर्थित हिजबुल्लाहतर्फ केन्द्रित गरेको छ ।

लेबनानको हिजबुल्लाहविरुद्ध इजरायली सेनाले ‘लक्षित’ कारबाही सुरु गरेयता ‘जमिनी र हवाई’ आक्रमणमा करिब ४४० हिजबुल्लाह लडाकू मारिएको बताएको छ ।

इजरायलले आफ्नो देशको उत्तरी क्षेत्रमा हिजबुल्लाहको रकेट आक्रमणका कारण विस्थापित भएका हजारौं नागरिकलाईस्वदेश फर्कन दिने लक्ष्य राखेको जनाएको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले मध्यपूर्वका सशस्त्र समूहलाई समर्थन गर्ने तेहरानले इजरायलमा करिब २०० क्षेप्यास्त्र प्रहार गरेपछि इरानबाट ‘खतरा’ रहेको बताए ।

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

कैलाली । नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन्। कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म धनगढीले जनाएको छ।

त्रिनगर सीमा नाकाबाट एक सातामा छ हजार नौ सय ४७ जना नेपाली भित्रिएका सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए। उनका अनुसार यही असोज १२ गते तीन सय १८, १३ गते तीन सय चार, १४ गते तीन सय ९८, १५ गते छ सय तीस, १६ गते छ सय ८०, १७ गते एक हजार ९०, १८ गते एक हजार पाँच सय ६९ र १९ गते एक हजार नौ सय ५८ जना नेपाली भारतका विभिन्न सहरबाट घर फर्किएका हुन्।

यात्रुहरुको आवतजावतमा सहजताका लागि बडादसैँ, तिहार र छठपर्वसम्म सीमा नाकामा यात्रु सहायता कक्षसमेत निर्माण गरिएको छ। बाजुराका मनोज कडारा पाँचजना परिवारसहित सोही नाकाबाट घर फर्किएका छन्।

दश वर्षदेखि भारतको मुम्बईमा सेक्युरिटी गार्डको जागिर गर्दै आएका कडाराले चाडपर्व मनाउनका लागि घर फर्केको बताए। भन्सार सीमा नाकामा हेल्प डेक्स निर्माणसँगै घर फर्कंदा पहिला भन्दा धेरै सहज भएको उनको भनाइ छ।

“चाडपर्वमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाइ रमाइलो गरी मनाउने गरिन्छ”, कडाराले भने, “जसले घर बाहिर लामो समय एक्लो भएर बस्दाको तनाब कम हुन्छ।”

भारतको राजकोटबाट रोजगारी गरी घर फर्कंदै गरेकी कैलालीको बौनियाकी शारदा साउदले बडादसैंमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफू घर फर्केको बताइन्। भारतको मुम्बईमा होटलमा रोजगारी गरी फर्कंदै गरेका कञ्चनपुरको पुनर्वास नगरपालिकाका रोशन विश्वकर्माले चाडपर्व मनाउनका लागि घर फर्केको बताए।

यस क्षेत्रका सर्वसाधारण युवा रोजगारी गर्न छिमेकी मुलुक भारत जाने गर्दछन्। खेतीपाती भएकाहरु आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन् भने खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेका पाइन्छन्।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठूला सहरमा जाने गर्दछन्। बिना भिसा जान पाइने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेका हुन्।

प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ । अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी र नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो ।

आजबाट सुरु भएको सेवाको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनिवार्य रूपमा दिनुपर्ने दुई सेवा अस्पतालले सुरुवात गर्नु राम्रो पक्ष रहेको बताए।

उनले भने “मनोस्वास्थ्य ओपिडीले गर्भवती तथा महिलालाई सहयोग पुर्‍याउनेछ । नवजात शिशुहरूको परीक्षण सेवा पनि अत्यावश्यक सेवा हो।”, मन्त्री पौडेलले यी सेवा व्यवस्थापनका लागि आवश्यक साधन स्रोतको व्यवस्थापनमा कमी हुन नदिने आश्वस्त पारे।

अस्पतालका निर्देशक डा. निर्देशक श्रीप्रसाद अधिकारीले गर्भधारण गरेका वा सुत्केरीमा समस्याको जोखिम बढी भएकाले मनोस्वास्थ्य ओपिडी सेवा सुरु गरिएको बताए। उनले भने “गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याहरूले महिलाको मात्रै नभएर बच्चाको समेत शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकासमा नकारात्मक असर पर्छ । यस्तो अवस्थामा देखिने समस्यालाई समयमै पहिचान गर्न सकिएमा समाधान गर्न सकिन्छ ।”

डा. अधिकारीले नवजात शिशुमा हुनसक्ने ‘मेटाबोलिक डिसअर्डर’ पहिचान गरी समयमै उपचार गर्न र नवजात शिशुको मृत्युदर घटाउनका लागि सेवा सुरु गरिएको बताए।

अस्पतालले गत साउनदेखि हालसम्म २०५ जना शिशुहरूमा यो परीक्षण गरिसकेको छ । नवजात शिशु जन्मेको केही दिनभित्र गरिने ‘ब्लड स्पट टेस्ट’लाई ‘न्यु बर्न स्क्रिनिङ टेस्ट’ भनिन्छ । उक्त जाँचबाट नवजात शिशुमा हुनसक्ने विभिन्न प्रकारका वंशाणुगत समस्या पत्ता लगाउन सकिन्छ ।

उक्त परीक्षणबाट हाल छ वटा वंशाणुगत रोगहरू पहिचान गर्न सकिने र भविष्यमा थप साधन स्रोत थपेर अरु रोगका लागि पनि सेवा सञ्चालन गर्ने लक्ष्य छ । परीक्षणमा पोजिटिभ आएका शिशुका लागि तुरुन्त आवश्यक उपचार सुरु गरिनेछ ।

नेपाल र बङ्गलादेशबीच भएको विद्युत् बिक्री सम्झौताको इप्पानद्वारा स्वागत

काठमाडौँ  । नेपाल र बङ्गलादेशबीच भएको विद्युत विक्री सम्झौता (पिएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले स्वागत गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बङ्गलादेशको अन्तरिम सरकारका जलस्रोत मन्त्री सैयदा रिजवाना हसनको उपस्थितीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत रेनु नारङ र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहमद रिजाउल करिमबीच भएको यो सम्झौतालाई ऐतिहासिक सम्झौताको रुपमा इप्पानले टिप्पणी गरेको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकिराखेको विद्युत् खरिद सम्झौता (पिपिए) पूर्ण रुपमा खुल्ला गर्नुपर्ने बताए ।

निजी क्षेत्रलाई विद्युत् निर्यातका लागि अनुमतिपत्र दिने, बैक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउने, सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियत घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याको समाधानका लागि सरकार तत्पर हुनुपर्ने उनको भनाइ छ ।

भारत र बङ्गलादेशमा लक्ष्य अनुसारको निर्यातका लागि तत्काल नीतिगत र प्रक्रियागत सुधारका लागि पनि सरकारसँग इप्पानले आग्रह गरेको छ ।

सन् १९७१ देखि नेपाल र भारतबीच विद्युत् आदानप्रदान भएकोमा सन् २०१४ मा दुई देशबीच विद्युत् व्यापार सम्झौता (पीटीए) भई अल्पकालीन रुपमा विद्युत् व्यापार हुँदै आएकोमा २०८० साल पुस १९ गते भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालिन सम्झौता भइसकेको छ ।

“बङ्गलादेशसँग भएको यो सम्झौताले नेपालको बिजुलीको बजार बङ्गलादेशलाई खुलेको मात्र छैन, दुई देशबीच सरकार–सरकारसँगसँगै निजी–निजी क्षेत्रबीचमा ऊर्जा विकास र विस्तारका लागि सहकार्य, साझेदारी र लगानी आदानप्रदानका लागि बाटो खुलेको छ”, अध्यक्ष कार्कीले भने ।

बङ्गलादेश सरकारले सन् २०३९ भित्र नेपालबाट नौ हजार मेगावाट आयात गर्ने लक्ष्य राखेको छ । नेपाल सरकारले सन् २०३५ सम्म १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेकामा पाँच हजार मेगावाट बङ्गलादेश निर्यात गर्ने लक्ष्य राखेको छ । सो लक्ष्य कार्यान्वयनका लागि नेपालको निजी क्षेत्र सधै तयार रहेको पनि उनले जानकारी दिए ।

नेपाल बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को छैटौ बैठकले नेपालको जलविद्युत् क्षेत्रमा लगानीको प्रवद्र्धन गर्नका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलनको आयोजना गरी सम्भावनाको खोजी गर्ने सहमतिले दुई देशका निजी क्षेत्रबीचमा सहकार्य अगाडि बढाउन सहज भएको इप्पानले जनाएको छ ।

दुई देशबीच भएको सहमति कार्यान्वयनका लागि नेपालको निजी क्षेत्र तयार रहेको जानकारी दिँदै यसका लागि दुवै देशका निजी क्षेत्रबीचमा आवश्यक संयन्त्र निर्माण गरी अघि बढ्न ठोस वातावरण निर्माण गर्न इप्पानले माग गरको छ ।

अर्थ मन्त्रालयद्वारा बाढी प्रभावितका लागि स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाडौँ । अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ ।

अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही असोजको दोस्रो साता आएको बाढीपहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनःनिर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिएका हुन् ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसायलगायतका क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भएपनि राहत र पुनःनिर्माणलाई व्यवस्थित रुपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न आवश्यक भएको बताए ।

बाढीपहिरो जानु भन्दाअघि अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंकलगायतले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको बताएका थिए ।

धरानमा चाडपर्वलाई लक्षित गर्दै तालिम प्राप्त कुकुरसहित प्रहरी जाँच सुरु

धरान (सुनसरी) । चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ । चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए ।

चाडपर्व लक्षित सुरक्षा योजना अनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न र चाडपर्व नजिकिएसँगै अपराधजन्य घटना घट्न नदिनका इलाका प्रहरी कार्यलयमा प्रहरी परिचालन गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको उनले बताए ।

उपरीक्षक तिमल्सिनाले भने, “कुकुरको माध्ययमबाट सवारी जाँच गर्दा लागुऔषध कारोबार गर्ने व्यक्ति, लागुऔषध र शङ्कास्पद वस्तु बरामद गरिँदै आइएकाले धरान सीमा क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दै आइएको हो ।”

सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, गाँजा, पटका, विष्फोटक पदार्थ, अन्य आपाराधिक गतिविधि नियन्त्रण गर्न कुकुरसहितको प्रहरी जाँच प्रभावकारी बन्दै गएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरी उपरीक्षक तिमल्सिनाले बताए ।

बाढीपहिरो र डुबानपछिको स्वास्थ्य जोखिम

डा. प्रकाश बुढाथोकी
यही असोज ११ र १२ गतेको अविरल वर्षापछि प्रभावित जिल्ला र पालिकाका नागरिकहरुको खानपान जीवनशैली र बसोबासमा असर परेको छ । उपलब्ध आधारभूत सेवा खानेपानी, शौचालय, बत्ती, स्वास्थ्य सबै आधारभूत सेवामा असर परेको छ । तत्काल खोज, उद्धार, राहत र उपचारपछि अब महामारीको जोखिम कसरी कम गर्नेमा सबैको ध्यान जरुरी छ । प्रदूषित पानी, खाना, लामखुट्टेको वृद्धि र विकास, अस्वस्थ तथा पानीको न्यून उपलब्धता, सामूहिक विकास र भएको धनजनको क्षतिले पारेको मानसिक समस्याले सङ्क्रमण र प्रकोपको जोखिम बढाउँछ ।

मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति भनेको स्वास्थ्य हो । अस्वस्थ भइसकेपछि उपचार गर्ने र स्वस्थ हुने प्रयत्नभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा बढी सुरक्षा र बुद्धिमता मानिन्छ । नेपाल खुला दिसाामुक्त देश घोषणा भएको २०७६ देखि हाल चार वर्ष नाघे पनि तराईमा मैदान जाने क्रममा कमी आएको छैन । खानेपानी मन्त्रालयका अनुसार एक दशकअघि कुल ८५ प्रतिशतमाझ खानेपानीको पहुँच पुगेकामा हाल ९४ प्रतिशत र ७५ प्रतिशत घरमा शौचालय रहेकामा हाल ९५ प्रतिशत पुगेको छ । त्यस्तै देशभर १० प्रतिशत ढलसहितको व्यवस्थापन र प्रशोधित फोहरपानीको स्तर तीन प्रतिशतमा सिमित छ । तथापि सरसफाईजन्य सङ्क्रमणमा उल्लेखनीय कमी आएको छैन । किनभने पूर्ण सरसफाईका ५+१ विषय र सूचकहरुका कार्यान्वयन नै पूर्ण सरसफाइयुक्त हो । उक्त विषय र सूचकहरुमा चर्पीको प्रयोग, पानी प्रयोगसम्बन्धी सुरक्षित व्यवहार, साबुनपानीले हातधुने बानी (चर्पीको प्रयोग पछि, खाना बनाउनु, खानु र खुवाउनु अघि, कुनै फोहर कुरा वा विषादी छोएपछि र बिरामी तथा बच्चाको स्याहार गर्नुअघि र पछि), खाना प्रयोगसम्बन्धी सुरक्षित व्यवहार, सफा घरआँगन र सफा वातावरण पर्दछन् ।

रोगीको मलमूत्रलाई पानीको मुहान नजिक वा जथाभावी नफाली खाल्डोभित्र पुर्नुपर्दछ । खानेकुरालाई झिंगाबाट बचाउनु पर्दछ । झिगा लागेको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खुला स्थानका खाद्य पदार्थ खानु हुुँदैन । बजारको बरफ, आइसक्रिम तथा दुग्धजन्य पदार्थ खानु हुुँदैन । आफैंले बोक्रा ताछेका फलहरु मात्र खाऔँ । तातो खाना, तरकारी राम्ररी पकाएर मात्र खाऔँ । सम्भव भए दाँत माझ्दा पनि उमालेर चिसिएको पानी प्रयोग गर्नु राम्रो हुन्छ । गाजर, मूलालगायतका हरियो सलाद सङ्क्रमणमुक्त बनाएर मात्र सेवन गर्नुपर्दछ । उपलब्ध सबै तरल पदार्थहरु उमालेर मात्र प्रयोग गर्नुपर्दछ । पटकपटक र कम्तीमा खाना खानुअघि र दिसापिसाबपछि सङ्क्रमणमुक्त झोल वा साबुनले हात धुनै पर्दछ । भान्साकोठामा प्रयोग गरिने सबै सरसामान सङ्क्रमणमुक्त बनाएर मात्र प्रयोग गर्नुपर्दछ ।

हात धुँदाका फाइदा

झाडापखाला सबैभन्दा बढी खानेपानी र सरसफाई हात नधोएर नै हुुने गर्दछ । शुद्ध खानेपानी र सरसफाईका कारण ८८ प्रतिशत झाडापखाला हुने गर्दछ, मिचीमिची साबुनपानीले हात धुँदा झाडापखाला लाग्ने दर र मृत्यृदर आधा वा ४५ प्रतिशतले कम हुन जान्छ । साबुनपानीले हातधुने बानी बसाल्दा श्वासप्रश्वासजन्य सङ्क्रामक रोगहरु तथा त्यसबाट हुने मृत्यृ ५० प्रतिशत कम हुन्छ । सुँडेनीले हात धोएर प्रशव गराउँदा १९ प्रतिशत तथा सुत्केरी आमाले साबुनपानीले हात धोएर नवजात शिशुको स्याहार गर्दा ४४ प्रतिशतले नवजात शिशुको मृत्यृदरमा कमी आउँछ । विद्यालयमा साबुनपानीले हात धुवाउँदा बालबालिकामा लाग्ने सङ्क्रामक रोग ५० ले कम हुछ । झाडापखालालाई पानीजन्य रोग भनिए पनि हातधुने बानीले कम गर्न सकिने डब्लुएचओले जनाएको छ ।

लण्डन स्कुल अफ हाइजिनलगायतका विभिन्न निकायहरुको खोज, अनुसन्धानमा हातधुने बानीले छातीको सङ्क्रमण, निमोनिया हुने दर, पेटमा जुका, छाला र आँखाको सङ्क्रमण समेत न्यून हुन्छ । अमेरिकाको सिडिसीका अनुसार उचित तरिकाले हात धोएर आधाजति खाद्यजन्य रोगहरु पनि कम गर्न सकिन्छ । स्कुले विद्यार्थीमा गरिएको सर्वेक्षणमा चार पटक हात धुनेमा श्वासप्रश्वास रोग २४ प्रतिशत र पेटसम्बन्धी रोग ५१ प्रतिशतले कम भएको देखिएको छ । सङ्क्रमणको कारण खानामा विषाक्त हुने, पेट दुख्ने, झाडापखाला लाग्ने, बान्ता हुने, टाउको दुख्ने तथा पेटमा अन्य रोग लाग्न सक्दछ । प्रतिरोधात्मक क्षमता कम भएका तथा दीर्घरोगीलाई तुरुन्तै असर देखिन सक्छ । बालबालिका र वृद्धाहरुमा बढी समस्या देखिने सम्भावना हुन्छ । तसथ, विपद र बाढी, पहिरो र डुबानपछि झनै हातको सरसफाइको महत्व छ ।

लामखुट्टेजन्य रोगहरु

अव्यवस्थित सहरीकरण, स्वास्थ्य असावधानी तथा मौसम परिवर्तनका कारण डेंगु, औलो, कालाजार, हात्तीपाइलेलगायतका किटजन्य रोग दिन प्रतिदिन बढ्दै र प्रकोपको रुप लिंदैछ । जनस्वास्थ्यका दृष्टिले रोगको उपचारभन्दा नियन्त्रण महत्वपुर्ण रहन्छ । यसका लागि लामखुट्टको बासस्थान, जीवनचक्र, सार्ने किटाणुका प्रकार, स्वरुप आदिका बारेमा गहन अनुसन्धान हुनु पर्दछ । यसैका लागि स्थापना भएको कीटजन्य रोग अनुसन्धान केन्द्र त्यत्ति प्रभावकारी रुपमा अघि बढेको देखिंदैन ।

लामखुट्टेको टोकाइबाट ब्याक्टेरिया, भाइरस र परजिवीद्वारा लाग्ने छ खतरनाक रोगहरु पर्दछन ।  सङ्क्रमित एनोफिलिज लामखुट्टेको टोकाइले प्लाज्मोडियम परजीवीबाट लाग्ने औलो, एडिज एजिप्टाई र केही हदसम्म अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो, एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट जिका फिवर, एडिज एजिप्टाई र अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट चिकनगुनिया, लामखुट्टेको टोकाइबाट बुचेरीया ब्यान्क्राफ्टी, ब्रुइयामलयी, बु्रइयाटिमोरीजस्ता परजीवीले लिम्फेटिक फिलिरियासिस र लामखुट्टेको टोकाइबाट जाप्नीज इन्सेफलाइटिस पर्दछन् । संसारभर लामखुट्टेको टोकाइबाट हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यृ हुने गरेको छ । यसको अधिकांश हिस्सा औलोले लिने गरेको छ ।

सफा पानीमा पाइने पोथी एडिस एजिप्टीले दिउँसो मात्र टोक्दा हुने डेंगु सङ्क्रमण टाइप १ बाट २ मा जाने, मृत्यृ कम हुने क्लासिकबाट बढी मृत्यृ हुने हेमोरेजिक र शक डेंगुमा जानसक्ने, मुलुकका केही स्थानका ठूला अस्पताल र मेडिकल कलेजमा मात्र उपलब्ध भेन्टिलेटर, जनचेतनामा कमी, रक्तसञ्चार सेवा तथा रगतको अभाव आदिले सङ्क्रमण बढे धेरै धनजनको क्षति हुनसक्छ । औलो उन्मूलन भइसकेको घोषणा गरिएको भनिए पनि नेपाल सरकार इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण केन्द्रका अनुसार नेपालका ६५ वटा जिल्ला (५२ वटा सामान्य समस्याग्रस्त र १३ अति नै प्रभावित) र ७५ प्रतिशतभन्दा बढी जनता अझँै पनि जोखिममा छन् । त्यसो त महामारी देखाउने औलो, डेंगु, इन्सेफलाइटिस्, फिलिरियालगायतका भेक्टरबर्न सङ्क्रमण लामखुट्टेको टोकाइबाट मात्र सर्दछ ।

यस्ता रोग फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभई हुँदैन । तसर्थ रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु पर्दछ । जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस पनि जोगिने गर्नु पर्दछ । कुनै पनि किसिमको पानी जम्ने ठाउँ हुनु हुँदैन, फोहोरलाई पुर्ने, सुकाउने, गाड्ने वा जलाउने गर्नुपर्दछ । लामखुट्टेको टोकाइबाट बच्न घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने, सुत्दा किटनाशक झुलको प्रयोग गर्ने, पङ्खा, एयरकुलर, एयर कण्डिसन प्रयोग गर्ने गर्नुपर्छ । जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउँमा लामखुट्टे भगाउने धुप, झोलको प्रयोग गर्ने, घर बाहिर जाँदा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने वा तोरीको तेल, निमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित क्षेत्रमा जाँदा वा बस्दा पूरै शरीर ढाकिने गरी पूरा लामो बाहुला भएको सेतो हलुका रङको कमिज र पाइन्ट लगाउनु पर्दछ् । लामखुट्टेको नाश गर्न आ–आफ्नो घरगोठमा कीटनाशक औषधि छर्कने, औषधि छर्केको तीनदेखि छ महिनामासम्म लामखुट्टे मर्ने भएकाले किटनाशक छर्केको भित्तामा कम्तिमा तीन महिनासम्म लिपपोत नगर्ने, किटनाशकयुक्त झुलको प्रयोग गर्ने, पानी सोस्ने रुखहरु जामुन, सिमल, मसला रोप्नुपर्छ । सडकका खाल्डाखुल्डी पुर्ने, पोखरी, इनार र कुलोको वरिपरीको घाँसपात सफा गर्ने, मट्टितेल, डिजल, डिडिटी मालाथियन, क्लोडिन, डेल्ड्रिन छर्कने, जमेको पानीलाईं बग्नदिने गर्नु पर्दछ । लामखुट्टेको बच्चा विनाश गर्न लामखुट्टेले विशेषगरी जमेको पानीमा फुल पार्ने र प्रजनन् गर्ने भएकाले त्यस्ता खाल्डा तुरुन्त पुरिदिएमा वा सात दिनभित्र सुकाउने, जमेको पानीलाई बगाइदिने गर्दा फुल र लार्भाहरु मर्दछन् । गाउँका पोखरी, दह, तलाउ, नाला र खाल्डामा लामखुट्टेको लार्भा खाने माछा पाल्ने, घर वरिपरि जमेको पानीमा मट्टितेल, डिजल, डिडिटी छर्कने, जामुन, सिमल, मसलाजस्ता पानी सोस्ने रुखहरु पानी जम्ने ठाउँमा रोप्ने गर्दा पनि बच्न सकिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्यमा प्रभावित प्रदेश, जिल्ला र स्थानीय तहसँगको सहकार्य, समन्वयमा स्थानीय तहका द्रूत प्रतिकार्य टोली परिचालन, नियमित केस अनुसन्धान, प्रभावित स्थानमा थप सक्रिय बिरामीको खोजी, सम्पर्कमा रहेकाहरुको लक्षणको निगरानी तथा स्वास्थ्य शिक्षाका सामग्रीहरु तयार र प्रशारण गरिरहेको छ । निगरानीअन्तर्गत झाडापखालाका बिरामीहरुको एक सय ४४ अस्पतालमा नियमित रुपमा हैजाको निगरानी, खानेपानीको गुणस्तरमा निगरानी, एउटै टोलमा एक हप्तामा पाँच जना बढीमा झाडापखालाका बिरामी देखिएमा टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ । बिरामी देखिएका स्थानहरुमा खानेपानीको नमुना जाँच, खानेपानीको शुद्धीकरण तथा व्यक्तिगत सरसफाईका जनचेतनामूलक कार्यक्रम सञ्चालन, खानेपानी शुद्धीकरणजस्त कार्यहरु स्थानीय तह र विकास साझेदारसँगको समन्वयमा भइरहेको छ । खानेपानी गुणस्तर समितिलाई सक्रिय बनाइएको छ । आवश्यकतानुसार विज्ञ परिचालन र अन्तरमन्त्रालय, प्रदेश, तह एकिकृत समन्वय तथा सहकार्य गर्देछ । एकिकृत पानीजन्य स्वास्थ्य प्रकोप नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय र खानेपानी मन्त्रालयका सहसचिवको नेतृत्वमा सात सदस्यीय समिति बनेको छ ।

स्वास्थ्य संस्थाभित्र पनि बाढी

असोज ११ र १२ गतेको अविरल वर्षापछि देशभरका ५७ वटा स्वास्थ्य संस्थाहरुमा क्षति पुगेको छ । यसमा पाँच वटामा पूरै क्षति भएकाले अस्थायी पाल वा टहराबाट आधारभूत सेवा प्रदान गरिरहेका छन् । स्वास्थ्य संस्थामा बाढी पसेपछि र डुबानमा परेपछि किटाणुयुक्त भएकाले ज्ञात अज्ञात सङ्क्रमण फैलने जोखिम छ । पानी जम्मा रहँदा डेंगीलगायत किटजन्य सङ्क्रमण बढ्नसक्छ, लेप्टोस्पाइरोसिस हुनसक्छ । काठमाडौँका धेरै अस्पतालहरुमा बाढीको हिलाम्यै पानी पसेको सम्भवत पहिलो पटक हो । यसले उपचाररत बिरामीलाई भिन्दै अस्पतालमा सार्नु परेको थियो भने उपचारका लागि जानेमा समेत प्रभाव पारेको छ । ती अस्पताललाई सङ्क्रमणरहित बनाउनुपर्ने पहिलो आवश्यकता छ । घरवारविहिन बालबालिका, गर्भवती महिला र दीर्घरोगी जेष्ठ नागरिकहरु सबैभन्दा बढी प्रभावित र जोखिममा छन् । सङ्क्रमणयुक्त स्वास्थ्य संस्थाहरुबाट सङ्क्रामक रोगहरुको उच्च जोखिम रहन्छ, जसलाई हस्पिटल एक्वाइरड अर्थात नोसोकोमियल इन्फेक्सन भनिन्छ । यस्तो समय अस्पतालमा हुने सङ्क्रमण नियन्त्रण इकाई सक्रिय हुन जरुरी हुन्छ ।

जुनसुकै स्रोत र मुहानको पानी भए पनि उमालेको वा क्लोरिन÷आयोडिनले उपचार गरिएको पानी मात्र प्रयोग गर्नु पर्दछ । क्याण्डिल फिल्टरले रोग उत्पन्न गर्ने किटाणु छान्न नसक्ने भएकाले पानी उमालेर प्रयोग गर्नुपर्छ । पाँच मिनेटसम्म उमालेर सफा भाडोमा चिसो पारेर राखेको पानी मात्र सेवन गर्नु पर्दछ । शुद्ध खाना, खानेपानी, पर्याप्त सरसफाई, व्यक्तिगत स्वच्छता नै हैजालगायतका खाना र पानीजन्य सङ्क्रमणबाट बचाउ गर्ने उपाय हुन् । स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षा पनि उत्तिकै महत्वपूर्ण कारक हुन् । तथ्याड्ढअनुसार सरसफाईमा सुधारले झाडापखालाले हुने मृत्यु ३२ प्रतिशतसम्म कम गर्न सकिन्छ । खानेपानीको गुणस्तरमा सुधारले २५ प्रतिशतसम्म मृत्युदर कम गर्न सकिन्छ । स्वच्छ पानी, सरसफाई, व्यक्तिगत स्वच्छता तथा हात धुनेजस्ता स्वास्थ्य शिक्षामार्फत झाडापखाला ४५ प्रतिशतसम्म कम गर्न सकिन्छ । खानेपानीलाई क्लोरीनेसन गरेर शुद्ध बनाउँदा झाडापखाला ३९ प्रतिशतसम्म कम गर्न सकिने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

अन्तमा, झाडापखालाजन्य रोगहरु, हैजा, जण्डिस, आउँ, टाइफाइड, झाडापखाला, बान्ता, पेटका रोग, श्वासनलीका रोग, सार्स, घाँटीको सङ्क्रमण, हेपाटाइटिस ए र ई, जुका, ट्राइकुरियोसिस, आँखापाक्ने, ट्रकोमा, निमोनिया, रुघाखोकी, फ्लु, स्वाइनफ्लु, बर्डफ्लु, क्षयरोग, छालाजन्य सङ्क्रमण र रोगलगायतका निकै सङ्क्रामक रोगहरु र ८० प्रतिशतभन्दा बढी रोगहरु पनि साबुनपानीले हात धुँदा रोक्न सकिन्छ । मिचीमिची साबुनपानीले हात धुँदा किटाणु, चिल्लोपना र फोहर टुँक्रिन्छ र हात मिच्न, घर्षण गराउन, सजिलो, सफा सुगन्धले प्रोत्साहन दिन्छ । पानीको सेवन उमालेर मात्र प्रयोग गर्ने तथा पूरा बाहुला भएका कपडा लगाउने, झुलमा सुत्नेजस्ता काम गर्दा पनि लामखुट्टेजन्य रोगहरुबाट बच्न सकिन्छ । हात धुन सम्भव नभएमा दुई हातलाई आपसमा मज्जाले रगडेमा पनि किटाणु मर्दछन् । नेपालीहरुमा युरोपेली र अमेरिकीभन्दा रोग प्रतिरोधात्मक शक्ति बढी छ भन्दैमा जे पायो त्यही र जहाँ पायो त्यही जसरी पनि खानेलाई रोगले छाड्दैन । रोगलाई प्राविधिक, आर्थिक, सामाजिक र राजनीतिक रुपमा बहुक्षेत्रीय सम्बोधन गरिनुपर्दछ ।

(लेखक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ)

दाउन्नेमा सडक दुईतर्फी सञ्चालन

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ।

गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो।

मन्त्री दाहाललाई प्रश्नः मुलुकका राजमार्गहरु यतिबेला लथालिङ्ग अवस्थामा छन्, ती कहिलेसम्म बनिसक्लान् ? 

काठमाडौँ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकले बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्को सामाना गर्नुपरेको छ । यसले गर्दा मुलुकको भौतिक संरचनाको पनि ठूलो क्षति भएको छ । नेपालीहरुको महान् चाड विजयादशमी पनि घरआँगनमा भित्रिसकेको छ । राजधानी बाहिरिने कहिले सडक सहज बन्ला भनेर कुरिरहेका छन् ।

यतिबेला सडक मर्मत तथा सुधारको काम धमाधम भइरहेको बताउँछन्, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल । प्रस्तुत छ, आगामी दसैँसम्म राजमार्ग सञ्चालनको अवस्था, यातायात व्यवस्थापन, सडक सुरक्षासम्बन्धी सरकारको रणनीतिलगायत विषयवस्तु समेटेर राष्ट्रिय समाचार समिति (रासस) की उपसम्वाददाता प्रगति ढकालले मन्त्री दाहालसँग गरेको कुराकानीको अंश:


भर्खरै मुलुकले बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्को सामना गर्नुपर्यो । यसले भौतिक संरचनाको पनि ठूलो भएको छ, यसलाई सरकारले कसरी लिएको छ ?

यही असोजको ११ र १२ गते आएको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानजस्ता मनसुनजन्य घटना घटेका छन् । यसले हाम्रो भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ । प्राकृतिक विपत्तीबाट हामी आक्रान्त भएका छौँ  । यसलाई सामना गर्न सरकारले योजना बनाएको छ । योजना बनाउने क्रममा पहिलो प्रथामिता उद्धारको काम हो । अब करिबकरिब उद्धारको काम सकिएको छ । अझै पनि बिपी राजमार्गमा छ सय गाडीहरु फसिरहेको छ । सहचालक र ड्राइभरहरु गाडी रुगेर त्यही बसिरहेका छन् । उनीहरुलाई हामीले उद्धार गर्नुपर्नेछ । यति हुँदाहुँदै पनि जटिल खालका उद्धारका कामहरु हामीले गरिसकेका छौँ । अब विस्तापित भएकाहरुलाई पुनःस्थापना, मृतकका परिवारलाई राहतको कुरा छ । यी समस्याहरुको समाधानको दिशातर्फ अगाडि बढिरहेका छौँ । 


मुलुकका राजमार्गहरु यतिबेला लथालिङ्ग अवस्थामा छन्, ती कहिलेसम्म बनिसक्लान् ? 

बाढी, पहिरोबाट भौतिक संरचनाहरु नष्ट भएका छन् । पहिलो त हामीले लगत सङ्कलन गरिरहेका छौँ । कति सडकहरु भत्किए ? कति पक्की पुल तथा झलुङ्गे पुलहरु भत्किए भनेर लगत सङ्कलन गरिरहेका छौँ । अहिलेसम्म पाँच ओटा ठूलाठूला पुलहरु भत्किएका छन् । मुख्य पाँच वटा सडकहरु अवरुद्ध भएका छन् । ती सडकहरुको कति स्तरसम्मको क्षति हो भनेर हेरिसकेपछि त्यसको मूल्याङ्कनका आधारमा हामी दुई चरणमा काम गर्छौं । एउटा भनेको तत्काल सडकहरु खोल्ने र अर्काे पुनःनिर्माणको काम गर्छौं । 


पुनःनिर्माणको काम अलि ढिलै होला । सडक खोल्ने काम चाहिँ चाँडो नै हुनेछ । यसमा हामी सफलता पनि प्राप्त गरिरहेका छौँ । किनभने नागढुङ्गा मुग्लिङ सडक हामीले १३ गते नै एकतर्फी रुपमा खोल्न सफल भएका थियौं । बिपी राजगमार्ग चाहिँ तत्कालै खोल्ने नसक्ने स्थिति छ किनभने रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । यसोहुँदा यसलाई निर्माण गर्नका लागि चाहिँ समय लाग्छ । त्यहाँ ड्राइर्भसन निकाल्न नै समस्या छ । यसोहुँदा त्यो बाटो चाहिँ हामी दसैँ अगाडि खोल्न सक्दैनौं होला । तर पनि प्रयत्न चाहिँ हामीले गरेका छौँ । नदीको बहाव कम हुनेबित्तिकै ड्राइभसन खोलेर अस्थायी रुपमा यातायात सञ्चालन गर्न प्रयत्न गरिरहेका छौँ । सडक बनाउने कुरालाई उच्च प्राथमिकता दिएका छौँ । यसका लागि बजेट पनि चाहियो । हामीलाई तत्कालै सडक खोल्नका लागि दुईदेखि तीन अर्ब रकम आवश्यक पर्छ भनेर । देशभरिका अन्य सडकहरु निर्माण गर्न पनि २० देखि २५ अर्ब लाग्ने पूर्वानुमान गरेका छौँ । यसो हुँदा बाटो बनाउने कुरा त्यति सजिलो कुरा होइन । ठ्याक्कै यति समयभित्र बनिसक्छ भनेर भन्ने स्थिति छैन । 

भनेपछि दसैँसम्म सबै राजमार्गहरु खुल्ने सम्भावना छैन ? 

दसैँअगाडि कान्ति राजपथ खाल्नेछौँ । बिपी राजमार्गबाहेकका सडकहरु दसैं अगाडि नै खोल्नेछौँ । रामेछाप जोड्ने जुन पुल भत्किएको छ, त्यो पुलमा चाँडै बेलिब्रिज लगाएर सञ्चालन हुनेछ । नेपाली सेनाले यो कामको जिम्मा लिएको छ । बेलिब्रिज लगाइसकेपछि रामेछापतिरको सम्बन्ध पनि स्थापित हुनेछ । तातोपानी जाने अरनिको राजमार्गलाई पनि खुलाउनका लागि लागेका छौँ । यसमा पनि बेलिब्रिज लगाएर बाटो खोल्न लागेका छौँ । यसले गर्दा तातोपानीबाट आउने अनि अत्यावश्यक आवश्यक समाग्रीहरु आइरहेका छन् । छ सय जति कन्टेनरहरु उतातिर अड्किएका छन् । तिनीहरुलाई पनि काठमाडौँतिर ल्याउनुपर्नेछ । बिपी राजमार्गको १२ किलोमिटरबीचको भागबाहेक वैकल्पिक मार्गहरु पनि खोल्नका लागि लागिपरेका छौैँ । सायद दसैँ अगाडि त्यति धेरै सहज त नहोला तर असहज पनि हुने छैन । असहज भए पनि राजधानीसँग देशका विभिन्न जिल्लाहरुलाई जोड्ने सडकलाई व्यवस्थित गर्नेछौँ । 


जथाभावी रुपमा खनिएका सडकहरु, मापदण्डविपरीत सञ्चालन गरिएका क्रसर उद्योगका कारण वातावरण विनाश भई अहिलेको जस्तो विपत्तीहरु निम्ताइरहेका छन् ।  आगामी दिनमा यस्ता विपद्हरु बढ्दै जाने भनिएको छ । यसलाई व्यवस्थापन गर्दै विकास र वातावरण सन्तुलन गरेर अगाडि बढ्ने यहाँको लक्ष्य के छ ? 

क्रसर उद्योग पनि चाहिन्छ । निर्माण सामग्री पनि चाहिन्छ तर जथाभावी रुपमा खोल्ने कुरालाई रोक्नुपर्छ । हामी कडाइका साथ यो काममा लागेका छौँ । क्रसर उद्योगकै कारण यो किसिमको विनास भयो भन्ने कुराहरु पनि आएको छ । वातावरणीय सन्तुलनको हिसाबले पनि बेठीक छ । यसो हुँदा यसलाई निश्चित मापदण्ड र निश्चित स्थानहरु तोकेर अगाडि बढ्नुपर्छ । 


जथाभावी रुपमा सडक खनेर डोजरे विकास भयो भन्ने पनि छ । अधिकांश स्थानीय तहबाट हुने विकास निर्माणको काम मापदण्ड विपरीत रहेका छन् । सडक निर्माण गर्दा वातावरणमैत्री हुनुपर्छ । वातावरण र विकासलाई सन्तुलन गरेर अगाडि बढाउन स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रभावकारी रुपमा कार्यान्वयन गरेर पूर्वाधार विकासको गतिविधिलाई अगाडि बढाउनेतर्फ मेरो सक्रिय पहल हरनेछ ।  


नेपाल जस्तो भौगोलिक अवस्था भएको क्षेत्रमा सुरुङमार्ग उचित विकल्प पो रहेछ भन्ने वहस चलेको बेलामा सुरुङमार्ग थप विकासका लागि यहाँको रणनीति के छ ? 

सुरुङ युगमा त हामी प्रवेश नै गरिसकेका छौँ । सबैभन्दा पहिले नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्नेछौँ । नेपालमा सुरुङमार्गको पहिलो अभ्यास भएको छ । सडकलाई छोटो बनाउने र घुमाउरो सडकलाई एकदमै नजिक बनाउने कुरामा सुरुङमार्गको महत्वपूर्ण भूमिका रहेको छ । कतिपय वैकल्पिक मार्गहरु पनि नहुँदा सुरुङमार्गले पनि काम गरेका छन् । खास भन्ने हो भने नागढुङ्गा सुरुङमार्गले त्यति बनाउने नभए पनि यसले अप्ठ्यारो पर्दा उद्धारमा सहज बनाउने रहेछ भनेर हामीले थाहा पायौँ । किनभने उतातिर रोकिएका गाडीहरु नागढुङ्गा सुरुङमार्ग भएर हामीले काठमाडौँ प्रवेश गराएका थियौँ । यसो हुँदा बाटो छोट्याउन, वातावरणीय सन्तुलनलाई कायम राख्न, वातावरण संरक्षण गर्न पनि सहज गर्न सुरुङमार्गको आवश्यकता छ । तराई मधेश दू्रतमार्गमा त धेरै सुरुङमार्गहरु बनिरहेका छन् । अरु पनि सुरुङमार्गहरु बनाउने तयारी भइरहेको छ । यसो हुँदा सुरुङमार्गलाई प्रथामिकता नै दिएर अगाडि बढ्ने योजना बनाएका छौँ । 


रेलमार्गको चर्चा पनि छन्, त्यसको प्रगतिको अवस्था कहाँ पुगेको छ ? 


रेलमार्गका कुरा २०६६/६७ देखि नेपालमा सुरु भएको हो । तर अलि यसले अलि बढी चर्चा २०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पालादेखि सुरु भएको हो । अझै नेपालमा रेल आवश्यक छ कि छैन भन्ने पनि बहस छ । पूर्व–पश्चिम रेलमार्गको औचित्य छ कि छैन भन्ने पनि वहश छ । पूर्व–पश्चिमको चार वटा सडकहरु त बनिसकेका छन् । हुलाकी मार्ग, मुख्य राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग रहेका छन् । यी पूर्वदेखि पश्चिमका सडक भएपछि रेलमार्ग किन चाहियो भन्ने बहस पनि चलेको छ । तर यो विषय नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका लागि मात्रै होइन । यो दक्षिण एसियाका रेल सञ्जालसँग जोड्ने र व्यापार व्यवसायलाई सहज बनाउने कुरासँग जोडिएको छ । यसले गर्दा पूर्व–पश्चिम रेलमार्ग अति आवश्यक छ । तर अहिले स्रोत र साधनको अभावका कारणले गर्दा तत्काल निर्माण गर्न कठिनाई छ । हामीले बर्दिबाससम्मको रेल सञ्जाललाई पहिलो प्राथमिकता दिएका छौँ । त्यो बर्दिबासमा आउन पनि लागेको छ । यो बिजरपुरासम्म त आइसकेको छ । बिजरपुरादेखि १८ किलोमिटर आइसकेपछि बर्दिबास आइपुग्छ । बर्दिबाससम्म रेल तुरुन्तै ल्याउँदैछौँ । अहिले जनकपुरदेखि जयनगरसम्म रेल चल्दैछ । बर्दिवाससम्म पनि आउँछ । बार्दिबाससम्म रेल ल्याउने र बर्दिबासदेखि निजगढसम्म जोड्ने र द्रुतमार्गबाट काठमाडौँसँग जोड्ने भन्ने हाम्रो योजना हो । त्यो चाहिँ हामी आयोजनाकै रुपमा तुरुन्तै गर्दैछौँ । पूर्व–पश्चिम रेलमार्ग पनि जनताको मुआब्जा वितरण गर्दै अगाडि बढ्ने हाम्रो सोचाइ रहेको छ ।

यातायात व्यवस्थाको क्षेत्रमा भएका प्रगतिहरु के के छन् ? 

यातायातका क्षेत्रमा भएका प्रगति भनेको, लाइसन्स र एम्बुस नम्बर नै हो । हाम्रो समस्या भनेको मुख्य त यिनै हो । ड्राइभिङ लाइसन्स हकमा चाहिँ यो प्रदेशको अधिकार हो । सम्पूर्ण यातायातको अधिकार नै प्रदेशको अधिकार हो । यातायतको सन्दर्भ चाहिँ प्रदेशले सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो सोचाइ हो । मेरो संयोजकत्मा एउटा समिति रहेको हुन्छ, प्रदेशका सम्बन्धित मन्त्रीज्यूहरु त्यसको सदस्य हुनुहुन्छ ।  सङ्घीयताको मर्मअनुसार आ–आफ्नो अधिकार प्रयोग गर्ने कुरामा हामी प्रतिवद्ध छौँ । स्मार्ट लाइसन्सको सवाल छ, त्यो प्रदेशले गर्छ । गत शुक्रबार मात्रै पनि बागमती प्रदेशबाट स्मार्ट लाइसन्स छाप्ने, त्यसमा क्यूआरकोड राख्ने र फोटो राख्ने कामको थालनी भएको छ ।  स्मार्ट लाइसन्समा सम्बन्धित व्याक्तिको वितरण हुनेछ । त्यसको लागि वितरणहरु पढ्ने उपकरण ट्राफिकलाई बाँडेका छौँ । यसो हुँदा लाइसन्समा चिप्स नराखे पनि हुन्छ । त्यो चिप्स कसैले पनि पढेका छैनन् । त्यो महङ्गो पनि हुन्छ । हाम्रो नियमवालीमा भएको चिप्स राख्नुपर्ने प्रावधानलाई संशोधन गरेर हामीले बिना चिप्सका तर पक्का लाइसन्स वितरण गर्ने सोचेका छौँ । त्यसका लागि प्राविधिक सहयोग केन्द्रले गर्छ । यातायात व्यवस्था विभागबाट सबै प्रदेशमा त्यसको सहजीकरण हुन्छ । प्रदेश प्रदेशबाट लाइसन्स वितरण हुनेछ । र एम्बुस नम्बर प्लेटको पनि अहिलेसम्म हामीले नै गरिरहेका छौँ । त्यो पनि हामी प्रदेशलाई नै हस्तान्तरण गर्नेछौँ । 

सडक सुरक्षा अहिले मुख्य चुनौतीको विषय बनेको छ, सडक दुर्घटना रोक्नका लागि के काम भइरहेको छ ? 

हामीले सडक सुरक्षाको विषयलाई गम्भीरताका साथ लिदै स्थिति के भइरहेको रहेछभन्दा अहिलेसम्म कामचलाउ मात्रै रहेछ । सडक सुरक्षासम्बन्धी कानुन पनि रहेनछ । सडक सुरक्षा ऐनको हामीले मस्यौदा बनाउका छौँ । यो अन्तिम अवस्था पुगेको छ । यसपछि सबै सडकमा अनिवार्य सडक सरक्षाको उपायहरु राख्नुपर्ने कुरा लागू गर्छौं । जनचेतनाका कुराहरु छन् । अहिलेसम्म भएको दुर्घटनाहरुको पनि अध्यायन गर्नुपर्छ । ती दुर्घटनाहरु सडकका कारण भएका छन् कि चालकका कारण भएका हुन् कि वा गाडीको अवस्थाका कारण भएका हुन् कि भनेर अध्ययन गर्नुपर्छ । अलिलेसम्म के देखिएको छ भने सडकका कारण ठूलो दुर्घटना भएको पाइएन । चालकको लापरबाहीका कारणले नै अलि बढी दुर्घटना भएको पाइयो । यसो हुँदा चालकलाई प्रशिक्षण दिनुपर्नेछ । गाडीको जाँज गर्नुलाई अनिवार्यता गर्नुपर्छ । सडक सुरक्षाका विषय यिनै हुन् । अनिवार्य रुपमा सडक सुरक्षासम्बन्धी प्रावधानहरु लागू गर्नुपर्ने हुन्छ । 

दशैँ अगाडि नै निर्माण व्यवसायीहरुको भुक्तानी दिने भन्नुभएको थियो नि । सम्भव छ ? 

दशैँ  त आउन लाग्यो । राज्यले काम लगाएपछि भुक्तानी दिनुपर्छ भन्दै आएको छु । हाम्रो मन्त्रालयले  आठ अर्ब ६६ करोड भुक्तानी दिन बाँकी रहेछ । त्यो भुक्तानी दिनुपर्छ भनेर अर्थ मन्त्रालयसँग पनि कुरा गरेका थियौँ । उहाँहरुले तपाइँहरुकै रकमबाट दिँदै गर्नुस् भन्ने कुरा आएपछि हामीले अहिले साढे पाँच अर्ब भुक्तानी दिइसकेका छौँ । करिब तीन अर्ब रुपैयाँ जति हाम्रो मन्त्रालयले भुक्तानी दिन बाँकी छ । त्यो पैसा पनि नदिएकाले निर्माण व्यवसायीले भुक्तानी नै पाएनन् भन्ने कुरा मात्रै प्रचारमा आएको छ । बाँकी रकम भुक्तानी गर्न केही समस्या भएको छ । तीन महिनाभन्दा अगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लागेपछि निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी हामी दिन्छौँ । त्यसमा हामी प्रतिबद्ध छौँ । 

भौतिक तथा यातायको क्षेत्रमा मन्त्रालयको प्रथामिकताहरु के के छन् ? 

खासगरी चालु आयोजनालाई अगाडि बढाउने नै हाम्रो मुख्य प्राथमिकता रहेको छ । जनताका जीवनसँग जोडिएका सडकलाई प्राथमिकता दिनेछु । त्यसमध्ये नागढुङगा मुग्लिङ–पोखरा सडकको स्तारोन्नति गर्नैछ, नारायणघाट–बुटवल सडकलाई पनि चाँडो निर्माण गर्न निर्माण कम्पनीलाई हामीले भनिसकेका छौँ । हुलाकी राजमार्ग पूर्ण रुपमा सञ्चालन गर्ने योजना छ । मदनभण्डारी राजमार्ग पूरा हुन लागेको छ । उत्तर–दक्षिणका करिडोरका विभिन्न सडकहरु पूरा गर्नेछौँ । यति सडक निर्माण भइसक्दा सडक सञ्जाल विस्तार हुनुको साथै व्यापार बढेर स्वरोजगार पनि बढ्ने विश्वास लिएको छु । 

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला  एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने  एक लाख ६१ हजार निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला  एक हजार नौ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने  क हजार नौ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको छ । 

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड सहयोग

काठमाडौँ । नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  दुई करोड सहयोग गरेको छ । 

नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आइतबार  चेक हस्तान्तरण गरेका छन् । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे ।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा  एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी छ ।

तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन

ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन्।

आइतबार ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्यांकन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए।

‘सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको छ, सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो, खोजी तथा उद्धारको काम भइरहेको छ। बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ’, गृहमन्त्री लेखकले, ‘क्षतिको यकिन विवरण संकलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक छ’, उनले भने।

उनले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताए।

गृहमन्त्री लेखकले आज बिहान सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिएका थिए। यसैक्रममा उनले पहिरोले क्षति पुर्‍याएको लेलेको आनन्दवन अस्पताल क्षेत्रको पनि निरीक्षण गरे। अस्पताल परिसरमा गएको पहिरोमा परी ३२ वर्षदेखि अस्पतालको रिसर्च टेक्निकल अफिसरमा कार्यरत विवेक सिंहको मृत्यु भएको थियो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई दुई लाख रूपैयाँका दरले घरमै पुगेर रकम प्रदान गरिएको जानकारी गृहमन्त्री लेखकलाई गराएका थिए। उनले बाँकी मृतकका परिवारलाई रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेकाले तत्काल उपलब्ध गराइँने जानकारी गराए।

निरीक्षणका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरु सहभागी थिए। 

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो हुँदैछ । यसअघि असोज १६ गते राउतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदित भएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १९ मा अनिवार्य अवकाश गएपछि राउतले न्यायालयको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् । राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ चैतसम्म रहनेछ । राउन देवानी, फौजदारी र संवैधानिक कानुनका विज्ञ मानिन्छन् ।

हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ ।

चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् ।

काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो सात सय २० देखि सात सय ५५, पहाडका खसी ६ सय ७० देखि सात सय पाँच, बोका ६ सय ७० देखि सात सय २० रुपैयाँसम्म र च्याङ्ग्रा प्रतिकिलो एक हजार तीन सय रुपैयाँमा बिक्री भइरहेका छन् । काठमाडौँ उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिए ।

सिङमा हरियो रङ छिटेको हेर्नुस्

यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ । टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहेका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले भने,“स्वस्थ खसीबोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न ।” विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न सुझाव दिए ।

भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै

धुलिखेल । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।

यात्रुवाहक बसलाई पनि आजैदेखिसञ्चालनको दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताए। तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिन्दुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले जनाकारी दिए । उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ ।

बिपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मङ्गलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए ।

बिपी राजमार्गमा फसेका सवारीसाधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट काठमाडौँ पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका–११ डम्फुपार्क तथा वडा नं ९ मङ्गलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारीसाधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइनेछ ।

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् ।

गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । अगष्टमा त्यस क्षेत्रमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या छ हजार तीन सय १४ थियो ।

आयोजना प्रमुख डा रविन कडरियाका अनुसार यो यामको सेप्टेम्बर र अक्टोबरमा सबैभन्दा बढी पर्यटक उक्त क्षेत्रको भ्रमणमा आउने गरेका छन् । सेप्टेम्बरमा घुमफिरका लागि आएका विदेशी पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ८२ र अन्य देशका ११ हजार चार सय छ जना छन् ।

अगष्टमा सार्क क्षेत्रका तीन हजार तीन सय ८३ र अन्य मुलुकका दुई हजार नौ सय ३१ पर्यटकले एक्यापको भ्रमण गरेका थिए । जुलाईमा सार्क क्षेत्रका तीन हजार तीन सय ५० र अन्य मुलुकका एक हजार आठ सय ९३ जनाले भ्रमण गरेका थिए ।

एक्यापभित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमैडाँडा, मनाङको तिलिचो ताल, थोरङभञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । आन्तरिक पर्यटक पनि यही याममा बढी आउने गरेका छन् ।

गत आर्थिक वर्षमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए भने तिनमा एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ जना थिए ।

काभ्रेमा बाढीपहिरोमा परी एक विदेशीसहित ७७ जनाको मृत्यु

काभ्रे । हालैको बाढीपहिरोमा परी काभ्रेमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।

पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन् । तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ ।

यसैबीच, हराएकाहरूको खोजी तथा प्रभावित परिवारलाई राहत रामग्री वितरण जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते गर्ने निर्णय

भक्तपुर । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार निर्वाचन गर्ने निर्णय गरेको छ ।

शनिबार भक्तपुरको बोडेमा शनिबार राति सम्पनन्न भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।

भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिए ।

उनका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।

नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।

कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।

चलचित्र ‘छक्कापञ्जा पाँच’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्कापञ्जा पाँच’ को ट्रेलर सार्वजनिक भएको छ । असोज २४ गते फूलपातीको दिन पारेर प्रदर्शन हुन लागेको चलचित्रको शनिबार साँझ ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा दीपकराज, केदार र वर्षाका साथमा निर्मल शर्मा, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक लगायत कलाकारहरूको अभिनय छ ।