`

कर्णालीलाई एभरेस्ट महिला भलिबल लिगको उपाधि

काठमाडौं । महिला भलिबल फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीले जितेको छ । शनिबार भएको फाइनलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधि उचालेको हो ।

त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको फाइनल खेलमा कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो भने ललितपुरले तेस्रो र चौथो सेट जितेको थियो ।

महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्समा श्रीलंकासँग पराजित

काठमाडौं । घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलमा महिला टोली श्रीलंका सँग १७–१५ को स्कोरमा पराजित भएको हो ।

यसैगरि आज भएको अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ । फिलिपिन्सले भने बहराइनलाई १९–१४ ले पराजित गरेको छ।

त्यस्तै उज्वेकिस्थानले काजकिस्थानलाई १०–५,भारतलाई श्रीलंका २२–० ले पराजित गर्याे । जोर्डनले चाईनिज ताईपेईलाई २७–७ र इनडोनेसियाले फिलिपिन्सलाई २४–१० को स्कोरले पराजित गर्याे।

सरकारले विपद प्रभावित लाभग्राहीको नाम आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम दिने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित लाभग्राहीको नाम आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम दिन सकिने बताएका छन् ।

पालिकाहरूलाई चाँडो भन्दा चाँडो लाभग्राही परिचालन गरी नाम पठाउन आग्रह गर्दै शनिवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताएका हुन् ।

उनले भने, ‘मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेका छौँ । घाइतेहरूको अस्पतालमा निःशुल्क उपचार अघि बढेको छ।’

सरकारले विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको बताउँदै उनले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको दाबी गरे ।

उनले भने, ‘उद्धार, राहत र पुनर्स्थापनाका सवाल सरकार गम्भीर भएर अघि बढेको छ । पूर्ण रूपमा घर क्षति भएका पीडित नागरिकहरूलाई तत्काल अस्थायी घरबास बनाउन रकम निकासा गर्ने कुरा अगाडि बढेको छ।’

‘बाँचुन्जेल’मा टिकटकर मिस पवी र किरण भुजेल

काठामाडौं । गायक किरण भुजेल र गायिका प्रतिमा केसीको ‘बाँचुन्जेल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा मिस पवीसँगै गायक किरणले अभिनयमा साथ दिएका छन् ।

गायक तथा संगीतकार सिएल शर्माका शब्द सृजनामा तयार सार्वजनिक गीतमा नागेन्द्र श्रेष्ठको संगीत तथा बिषम आचार्यको एरेन्ज रहेको छ । भिडियोमा एक प्रेमील जोडीबिचको रोमान्टिक प्रेम कहानीलाई कलात्मक शैलीमा देखाइएको गीतको भिडियोले चर्चा पाइरहेको छ ।

कुमार केसीको मिक्सिङ्ग तथा मास्टरिङ रहेको गीतको सम्पादन दिनशन शाहले गरेका हुन् । केशल विश्वकर्माको छायाँकन रहेको भिडियोको निर्देशन राजीव शमरले गरेका हुन् ।

&nbsp

हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ ।

हुम्लाबाट नेपालगञ्ज गइरहेको लु १ ज २३४३ नम्बरको जिप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका–६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो । मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर गइरहेका थिए ।

युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

मस्को । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको जनाएको छ । रूसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको झेलानोय भ्टोरोयको बस्तीलाई ‘स्वतन्त्र’ बनाएको शनिबार रक्षा मन्त्रालयले जनाएको हो ।

रुसी सेनाको खतरामा रहेको पोक्रोभस्क नजिक अवस्थित यो गाउँ युक्रेनी सेनाका महत्त्वपूर्ण केन्द्र हो ।

गोर्लिभ्का सहरमा खटिएका रुसी अधिकारीहरूले शनिबार युक्रेनी पक्षको गोलाबारीमा ११ जना सर्वसाधारण घाइते भएको बताएका छन् भने रूसले युक्रेनको सिमानामा रहेको बेलगोरोड, भोरोनेज र कुर्स्क क्षेत्रमा रातारात १० युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ ।

भोरोनेजका गभर्नर अलेक्जान्डर गुसेभले टेलिग्राममार्फत युक्रेनी ड्रोनले एक जना सर्वसाधारणलाई घाइते बनाएको बताएका छन् । यसैगरी युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी हमलामा दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर इभान फ्योडोरोभले टेलिग्राम मार्फत जानकारी गराएका छन् ।

रूसले सन् २०२२ फेब्रुअरी मा युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसपछिको श्रृङ्खलाबद्ध आक्रमणपछि, रूसी सेनाले सन् २०२३ देखि युक्रेनको जमिन कब्जा गरी हाल निरन्तर युद्धलाई अगाडी बढाइ रहेको छ ।

लेबनान नछाड्ने लेबनानका लागि राष्ट्रसङ्घीय शान्ति सेनाको दाबी

बेरुत । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शनिबार स्थानान्तरण गर्ने इजरायली अनुरोधका बाबजुद दक्षिणी लेबनान नछोड्ने जनाएको छ ।

गत सेप्टेम्बर–३० मा इजरायली सेना (आइडिएफ) ले लेबनानमा आक्रमण गर्ने आफ्नो योजनाबारे खुलासा गरेपछि उनीहरूले केही स्थानबाट स्थानान्तरण गर्न अनुरोध गरेको लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय सुरक्षा बलले जनाएको छ ।

सुरक्षा बलले इजरायली अनुरोधको बावजुत शान्ति सेनाहरु सबै स्थानमा उपलब्ध रहने उल्लेख गर्दै निरन्तर रुपमा शान्ति सुरक्षाको पहलसहित संयुक्त राष्ट्रको झण्डा निरन्तर फहराइरहने बताएका छन् ।

यसै क्रममा नियमित रूपमा आफ्नो मुद्रा तथा गतिविधिहरू समायोजन गर्ने जनाउँदै आवश्यक भएमा आकस्मिक योजनाहरू तयारी अवस्थामा रहेको जनाइएको छ ।

इजरायलले सेप्टेम्बर–२३ देखि लेबनानी लडाकू समूह हिजबुल्लाह विरुद्धको अभियानलाई तीव्र बनाएको छ जसमा एक हजार १ सय १० भन्दा बढी मानिसहरु मारिएका छन् भने लाखौं विस्थापित भएका छन् ।

इजरायलले यस हप्ताको सुरुमा दक्षिण लेबनानमा आक्रमण गर्न सुरु गर्ने जनाएको थियो ।

लेबनान र इजरायललाई सुरक्षा परिषद्को प्रस्ताव –१७०१ अनुरुप दिगो शान्तिका पुनप्रतिबद्ध हुन युनिफिलले आग्रह गरेको छ ।

सन् २००६ मा इजरायल र हिजबुल्लाहबिचको युद्धको अन्त्य गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ले लेबनानी सेना र राष्ट्रसङ्घीय शान्ति सेना दक्षिण लेबनानमा तैनाथ गर्ने व्यवस्था गरेको थियो ।

‘आँटेको पुर्याइदेउ रेशम बागलुङ कालिका…’

गण्डकी । नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल देखिन्थ्यो । कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए । कोही भाकलको बोका डोर्याइरहेका त कोही भाले कोखिलामा च्यापरिहेका देखिन्थे । शक्तिरुवरुपा देवी कालिकाको पूजाअर्चनाका लागि टाढा–टाढाबाट दर्शनार्थी बागलुङ आइपुगेका थिए । मन्दिरको माहोलले दसैँ आएको आभास दिलाएको थियो ।

भक्तजनहरु एकापसमा शुभकामना साटिरहेका थिए । मन्दिर परिसरको वातावरण पर्वमय बनेको थियो । पूजाआजाका लागि व्यग्र भक्तजनले धर्मप्रतिको आफ्नो आस्थालाई झल्काइरहेका थिए ।

घण्टौँसम्म लाममा उभिँदा पनि उनीहरु शान्त र धैर्य देखिन्थे ।  पर्वतको पातीचौरकी चीनमाया पुनले विदेशमा रहेका छोराछोरीले धूपध्वजा चढाइदिन भनेकाले उनीहरुको मनोकामनाका लागि कालिका मन्दिर आएको सुनाइन् । धर्मकर्ममा विश्वास भएकाले बेलाबखत पूजाआजाका लागि मन्दिर आउने गरेको उनको भनाइ थियो ।

भाले भाकल चढाउन म्याग्दीको सिँगाबाट आएका खड्कबहादुर कार्कीले मनले चिताएको पूरा हुने विश्वासमा भाकल गरेको बताए। देवी भगवतीको दर्शन गर्नाले मनले आँटेताकेको पूरा हुने जनविश्वासले भक्तजनहरु मन्दिर परिसरमा लामबद्ध थिए । मनोकाङ्क्षा पूरा गर्नकै लागि कतिपयले बोका, कुखुरा, हाँस, परेवा आदिको भाकल गरेका सुनाए ।

कोही भाकलको वाचा पूरा गर्न मन्दिर आएका भेटिए । बडादसैँको घटस्थापनादेखि मन्दिरमा भक्तजनको चहलपहल बढेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । दसैँको फूलपाती र अष्टमीका दिनमा ठूलो सङ्ख्यामा भक्तजन आउने उनको भनाइ थियो ।

‘बडादसैँभर बिहान तीन बजेदेखि नै मन्दिर खुला हुन्छ, यस अवधिमा दैनिक हजारौँ भक्तजन मन्दिर दर्शनका लागि आउनुहुन्छ’, उनले भने,’भक्तजनको सेवा सुविधा र सहजताका लागि पूजाको सम्पूर्ण व्यवस्थापन चुस्त बनाइएको छ ।’ मन्दिरको सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रशासन र स्वयंसेवक खटाइएको उनले बताए ।

मन्दिर परिसरमा आकस्मिक स्वास्थ्य सेवाकक्ष सञ्चालन गरिएको छ । भक्तजनको मनोरञ्जनका लागि नियमित भजन र साँझमा आरतीको प्रबन्ध मिलाइएको छ । नवरात्रभर पाँच लाख भक्तजनले मन्दिरको दर्शन गर्ने आँकलन गरिएको अध्यक्ष खड्काले बताए ।

यसपटकबाट भक्तजनलाई प्रसादी पनि वितरण गर्न सुरु गरिएको छ । विसं १५९१ मा बागलुङ नगरपालिका–१ मा स्थापित कालिका भगवती मन्दिरमा बर्सेनि बडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्ने गर्छ ।

बडादसैँको पूजासँग कालिका भगवती मन्दिरको लामो इतिहास र परम्परा जोडिएको अध्यक्ष खड्काले बताउनुभयो । मध्यकालमा पर्वत राज्य हुँदादेखि नै यस मन्दिरमा पूजाआजाको थिति बसेको इतिहासमा उल्लेख छ ।

तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरि पूजापाठ सुरु गरिएको किम्बदन्दी छ ।

पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ । पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको हो । तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पूजिन्छ ।

सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप लिएको हो । उक्त मन्दिरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ ।  ‘देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन, अध्यक्ष खड्काले भने, “कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठका रुपमा चिनिन्छ ।’

नवरात्रको अष्टमी र नवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने गरिएको छ । मन्दिरमा परेवा, कुखुरा, हाँस, बोका, सु्ङ्गुर र राँगोकोसमेत बलि दिइन्छ ।

नवदुर्गाका बेला विवाहको समेत शुभमूर्हत पर्ने भएकाले मन्दिरमा विवाह गर्न  पनि उत्तिकै आउने गरेका छन् । विवाह, पूजाआजा, यज्ञ, भेटी, दान लगायतबाट मन्दिरको आम्दानी यस अवधिमा बढ्ने गरेको छ ।

विशिष्ट पहिचान बोकेको कालिका मन्दिरको महिमागान अनेक तबरबाट भइरहेको छ । गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले २३ वर्षअघिको गीतमा देवी कालिकालाई समेटेका थिए ।

अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्छः प्रचण्ड

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन् ।


नेकपा माओवादी केन्द्र दोलखा –काठमाडौँ सम्पर्क– समन्वय समितिले शनिबार आयोजना गरेको छलफलमा प्रचण्डले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताए । उनले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताए ।


आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति  जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एक्लै विजयी हुनेगरी अभियान थाल्ने बताए । 


जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । 


हालैको अविरल वर्षाका कारण उत्पन्न सङ्कट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उनले जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने बताए । उनले प्राकृतिक विपत्तिको घडीमा आफ्नो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताए ।


समस्यामा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्दै अध्यक्ष दाहालले अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेका बताए ।  


जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएका, भूकम्पका बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयन,  सत्तापक्ष र विपक्षको आँखाले नहेरी राष्ट्र र जनतालाई केन्द्रमा राखेर माओवादी केन्द्रले काम गरिरहेको जनताले बुझेका बताए । 

अन्तर्राष्ट्रिय जगतमा पनि आफ्नो पार्टीको गरिमा बढेको भन्दै उनले मुलुकको कूटनीति कुशलतापूर्वक सञ्चालन गरेको तथा त्यस क्रममा राष्ट्रसङ्घीय खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभा र जलवायु सम्मेलनमा सहभागी भएर पार्टी र देशको गौरव बढाएको बताए । भारत र चीनसँगको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायमाझ  स्थापित भएको दाबी उनले गरे ।   

विदेशी हस्तक्षेप स्वीकार्य छैनः नारायणकाजी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरुले देशमाथि कसैको हस्तक्षेप नचाहने बताएका छन् ।

शनिबार ‘नेपाल–भेनेजुएला मैत्री संघ’ को घोषणा कार्यक्रममा श्रेष्ठले कुनैपनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलत रहेको बताए ।

आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिवद्धताबारे अन्य देशहरुले भेनेजुएलाबाट सिक्नुपर्ने भन्दै श्रेष्ठले पूर्वराष्ट्रपति चावेजविरुद्ध विगतमा देशी तथा विदेशी शक्तिको हस्तक्षेपलाई जनताले परास्त गरेको समेत बताए ।

उनले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा सम्बन्ध राख्नुपर्ने बताए । उनले संविधानका प्रावधानहरुलाई पकडेर समाजवादमा पुग्न सकिने दाबी समेत गरे ।

बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छ: सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताएका छन् ।

फास्ट फुड एशोसिएसन नेपालले आज यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उनले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताए ।

“देशका विभिन्न स्थानमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयोे, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन् । यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ,” मन्त्री गुरूङले भने । उनले दसैँतिहारमा यातायात सेवा सहज ढङ्गले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको तथा सडक विभागसँगको समन्वयमा अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको बताए ।

पृथक् प्रसङ्गमा सञ्चारमन्त्रीले लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको, लगानी बढेपछि सेवा क्षेत्र विस्तार भई रोजगारीका अवसर सृजना हुने भएकाले त्यसप्रति नै सरकारले ध्यान दिएको बताए । उनले भने, “स्थिर सरकार भएन भने नीतिगत स्थायित्व हुँदैन । नीतिगत स्थायित्व भएनभने विकास र समृद्धिले फड्को मार्न सक्दैन । राजनीतिक स्थायित्वका लागि नेकपा एमालले नेपाली कांग्रेससँगखसहकार्य गरेको हो ।”

नेपाली जनताले तत्काल परिणाम खोजेका तर नीतिगत सुधार गरी त्यसलाई कार्यन्वयनमा लैजान केही समय लाग्ने भएकाले तत्काल परिणामको अपेक्षा गर्नु स्वाभाविक नहुने तर्क गरे । जनताले महसुस गर्नेगरी परिणाम निकाल्न सरकार क्रियाशील रहेको उनको कथन थियो ।

त्यस अवसरमा एसियाली खेलकुदमा पदक विजेता एरिका गुरूङ, सेफ गोविन्दनरसिंह केसीलगायत उच्च शिक्षा हासिल गरेका ‘फास्ट फुड’ व्यवसायीका सन्तति, लायन्स क्लबलगायत सामाजिक सङ्घसंस्थालाई सम्मान गरिएको एशोसियसनका अध्यक्ष राजु श्रेष्ठले बताए ।

भक्तपुरमा प्रदर्शन गरिएको ऐतिहासिक महाकाली नाच(फोटोफिचर)

मध्यपुर थिमि पोबुबाट प्रदर्शन भएको ऐतिहासिक महाकाली नाच शुक्रबार राति शङ्खधर चोकमा प्रदर्शन गर्दै कलाकार । महाकाली नाचमा महाकाली, महालक्ष्मी, देवी, सिंह, बेता , कवां, भूतभैरव , ख्याक र माकको प्रतिकका १५ जना कलाकारबाट विभिन्न तालमा नृत्य नाचिन्छ ।

तस्बिर : रत्न श्रेष्ठ / रासस

कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल

फुङ्लिङ(ताप्लेजुङ) । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सुरु भएसँगै शिखर आधार शिविर गुलजार भएको छ । शुक्रबार ६५ जना विदेशी पर्यटक आधार शिविरतर्फ प्रस्थान गरेका छन् ।

घुन्सास्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासी तेन्जिङका अनुसार स्पेन, फ्रान्स, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, र भारतका आधार शिविरतर्फ गएका हुन् ।

पर्यटकको आगमनसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका–६घुन्साका होटल व्यवसायी पेमा शेर्पाले पर्यटकको चहलपहल बढेसँगै बन्द होटल खुल्न थालेका जानकारी दिए । विराटनगर, धरान, दमकलगायत सहरबाट पनि कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटक पनि आउन थालेका छन् ।

फक्ताङलुङ गाउँपालिका–६ का क्याप्ला, फले, घुन्सा, खाबाजेन, र लोनाकका स्थानीयको मुख्य आम्दानी पर्यटन व्यवसाय हो ।

कञ्चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्या्कअनुसार, कञ्चनजङ्घा हिमालको आधारशिविर जाने मार्गमा ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका—६ स्थित ग्याप्लामा सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गीनामजोङ होटल पनि सञ्चालनमा छ । यहाँका होटलमा स्थानीयका उत्पादन खपत हुँदा उनीहरूको आर्थिक अवस्था सबल बन्दै गएको छ ।

पर्यटकका सहयोगीको मृत्यु

कञ्चनजङ्घा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुङ्गाले लागेर मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुङ्गाले लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राईको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त ठाउँमा पहिरो झरिरहेकाले प्रहरी चौकी लुङ्थुङबाट गएको टोलीले निजको शव निकाल्न नसकेपछि थप सुरक्षाकर्मी परिचालन गरिएका छन् । उक्त टोलीका अन्य सबै सदस्य सकुशल छन् ।

मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु

लमजुङ ।  मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनीहरूबीच विवाद भएको थियो। ५७ वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा गम्भीर निजको मृत्यु भएको हो।

अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ। मृतककी एक छोरी र श्रीमती छन्। समयमा अस्पताल पुर्‍याउन सकिएको भए निजको ज्यान जुगिनसक्ने तामाङका छिमेकीले बताएका छन्। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजादा आज बिहान मृत्यु भएको हो ।

निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन् ।

सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उदृत गर्दै बाइडेनले यो टिप्पणी गरेका हुन् ।

ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा व्यापक घोटाला भएको आरोप लगाएपछि उनका समर्थकहरुले राजधानीमा तोडफोड गरेका थिए ।

‘म विश्वस्त छु कि यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ । तर यो शान्तिपूर्ण हुन्छ वा हुँदैन मलाई थाहा छैन’, बाइडेनले चुनावको बारेमा छलफल गर्दा सञ्चारकर्मीलाई भने ।

ट्रम्पले अन्तिम पटक चुनावको नतिजा मन नपराउँदा गरेका टिप्पणीहरु निकै खतरनाक थिए।

रिपब्लिकनको पराजयपछि उनका सयौँ समर्थकहरुले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाभियोग लगाइएको थियो।

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार जनाएको छ ।

इजरायली सैनिकले अदासेह गाउँ छेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेसँगै हिजबुल्लाह लडाकुले उक्त प्रयासको सामना गर्दा झडप भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुहरूले इजरायली सेनालाई त्यस क्षेत्रबाट “पछि हट्न“ बाध्य पारेको विज्ञप्तिमा जनाइएको छ ।

इरान समर्थित लेबनानी समूहले दक्षिण लेबनानको यारुन क्षेत्रमा ‘साल्वो रकेट’ साथै सीमापार क्षेत्रमा रहेका सैनिकलाई लक्षित गरी आक्रमाण गरेको बताएको छ । हिजबुल्लाह र इजरायलले लामो समयदेखि दैनिक सीमापार गोलाबारी गर्दै आएका छन् ।

विस्थापितहरूको उचित व्यबस्थापनका लागि इजरायलको उत्तरी क्षेत्रलाई सुरक्षित बनाउने प्रयासमा हिजबुल्लाहलाई लक्षित गरिरहेको भन्दै इजरायलले बमबारीलाई तीव्र बनाएको छ भने यसै हप्तामा आफ्नो सेनाले दक्षिणी लेबनानका केही भागहरूमा भूमि आक्रमण सुरु गरेको घोषणासमेत गरेको छ ।

मालुखोला नजिक सडक भासिएपछि मन्थली–काठमाडौँ आवागमन अवरुद्ध

मन्थली । लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको  मन्थली–काठमाडौँ यातायात शनिबार बिहानदेखि अवरुद्ध भएको छ । 

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरे भन्ने ठाउँमा बाटो तामाकोशी नदी किनारमा भाँसिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो ।

मन्थलीबाट खुर्कोट हुँदै नेपालथोक–काठमाडौँसम्मको आवागमन खुर्कोटमा भएको पुल बगाएपछि र नेपालथोकदेखि भकुण्डेबेँसीसम्मको सडक रोशी खोलाले बगाएपछि वैकल्पिक मार्गका रुपमा मन्थलीबाट चरिकोट हुँदै सिन्धुपाल्चोकको खाडिचौर निस्केर काठमाडौँ आवतजावत गर्ने गरी बाटो खुलाइएको  थियो ।  

बाटो अवरुद्ध भएपछि रामेछाप, सोलु र ओखलढुंगाका विभिन्न भागबाट काठमाडौँ जाने र तीनै स्थानका लागि काठमाडौँबाट छुटेका मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन् । अवरुद्ध बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

पर्यटकको रोजाइमा म्याग्दीको टोड्के

म्याग्दी । म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको गोठ लैजाने गर्दथे । टोड्के तत्कालीन समयमा खर्कका रुपमा पनि परिचित थियो ।


  रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाईवस्तुको घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।  जङगलमा भएको करिब ५० मिटर लामो सुरुङमा गाईवस्तु अडिकिने र तिनलाई बाघभालुले खाइदिने हुनाले गाउँलेले टोड्को भएको ठाउँ भन्दा भन्दै ठाउँकै नाम टोड्के रहन गएको किम्बदन्ती रहेको पूूर्णगाउँका दुर्गादत्त आचार्यले जानकारी दिए । 


“हामी तन्नेरी हुदाँसम्म टोड्केमा गाईभैसी, भेडाबाख्राको गोठ राख्ने गरिन्थ्यो,” ७० वर्षीय आचार्यले भने, “प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।” 


समुन्द्री सतहदेखि दई हजार ४३० मिटरको उचाइमा रहेको टोड्के प्राकृतिक सौन्दर्ययुक्त गन्तब्य हो । काठमाडौबाट आएका रोशन राउतले टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन दुवै चंगा बनाएको अनुभव सुनाए ।  “शान्त वातावरण, सुन्दर हिमाल र शीतल हावाले टोड्केलाई रमणीय बनाएको छ,” उनले भने, “बिहान घाम लाग्दा र साँझ डुब्दो घामको लालीसँगैको हिमालको दृष्य जति हेरे पनि धितै मर्दैन् ।”


ऋतु, मौसम र समय अनुुसार टोड्केमा फरक फरक दृष्य अवलोकन गर्न सकिन्छ । फागुन–चैतमा टोड्केको दायाँ र बाँया रहेको जङगलमा ढकमक्क फुल्ने लालीगुराँसको दृष्य मनमोहक हुन्छ । पुस–माघमा सेताम्मे हिउँ पर्ने टोड्केमा हिउँ खेलेर रमाउन पाइन्छ । बिहान, दिउँसो र बेलुकीपख हिमालको सौन्दर्य फरकफरक हुने झिँका स्थानीय गमबहादुुर पाइजाले बताए । 


“पृष्ठभूूमिमा गुर्जा, चुरेन, मानापाथी, धवलागिरी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लर्कनसँगै सुर्योदय र सुर्यास्तका समयमा फरक फरक दृष्य देखिन्छ,” उनले भने, “शान्त वातावरण । बर्खामा भुईफुलले रंगिएको फाँटबाट देखिने शरदयामको हिमाली मुस्कान । कुहिरो र हिमालको लुकामारी । चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ ।”


स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो ।


स्वर्गद्धारी, शिष्यहरू पूजारी महाराज र रखाल महाराज लगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिंग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा रहेको छ । आश्रम परिसरमा गौशाला पनि रहेको छ । 


मगरको पुरख्र्यौली नाच, सोरठी, यानीमायाँ, सालैजो, भजन कीर्तन र पञ्चेबाजामा रम्न पाउनु टोड्केको थप विशेषता हो । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको रघुुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुुर शेरमञ्जाले बताए । 


“वनभोज खान जानेहरुका लागि पनि पूर्वाधारको व्यवस्था मिलाइएको छ,” उनले भने,“खेल पर्यटनको सम्भावनालाई मध्यनजर गरेर टोड्केमा हाइ अल्टिच्युड खेलमैदान निर्माणाधीन छ ।” 


टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ । छ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको टोड्के हिल रिसोर्ट र होमस्टेमा एक दिनमा ६० जनासम्म बास बस्न मिल्ने शौचालय सहितका कोठा र टेन्टको सुविधा रहेको सञ्चालक भीम शेरचनले बताए ।


दसैं तिहार, नयाँ वर्ष, फागु पूर्णिमाको समयमा घुुम्न र बिदा मनाउनका लागि आन्तरिक पर्यटकहरु टोड्के आउने गरेका उनले बताए । नव विवाहित जोडिहरुको लागि टोड्के हनिमुन गन्तब्य बनेको उनले बताए ।  


तालिम गोष्ठि सञ्चालन गर्न सेमिनार हल पनि छ । विद्युत, इन्टरनेट, तातोपानी सुविधा भएको रिसोर्ट तथा होमस्टेमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ । स्वर्गद्धारी आश्रमको तिर्थयात्री निवासमा पनि बास बस्न सकिन्छ । टोड्के घुमेर फर्कदा सिजनमा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ ।


बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुदै टोड्के (१४ किलोमिटर) दुरीको सडक प्रयोग गर्न सकिन्छ । 


२९ किलोमिटर दुरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवत जावत गर्ने क्रममा प्राकृतिक उपचार स्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किमी दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिक स्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ । 


पैदलयात्रा गर्न चाहनेहरुका लागि बेनी देखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरवार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् ।


धवलागिरी हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे सुविधा छ ।  


टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुदै धौलागिरि हिमालको आधार शिविर र आइसफल हुदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको परिकल्पना गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए । टोड्के पुग्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिएको उनले जानकारी दिए ।  


टोड्केदेखि झिँ–पाखापानी–कोटगाउँ–रायखोर–मुलपानी हुँदै घ्यासीखर्क जोडिने धौलागिरि सेञ्चुरी पदमार्ग पनि रहेको छ ।


म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्ण रुपमा विस्थापित भएको अवस्थामा टोड्के धौलागिरि पानोरमा साँस्कृतिक र धौलागिरि सेञ्चुरी पदमार्ग महत्वपूर्ण बैकल्पिक रुटका रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए । 


सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरु मासिदै गएको सन्दर्भमा संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर समेतलाई समेटिएको यो पदमार्ग गण्डकी पदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुने प्रचुर सम्भावना रहेको टे«किङ व्यवसायी एशोसियसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।


नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र  गण्डकीले टोड्केको प्रर्वद्धनमा सघाएका छन् । पर्यटन बोर्ड गण्डकीका बरिष्ठ अधिकृत कुन्दन मिश्रले टोड्केको प्रर्वद्धनका लागि गत आर्थिक वर्षमा बुकलेट बनाएर पोखराका होटलहरुमा वितरण तथा वृत्तचित्र बनाएर सामाजिक सञ्जालबाट ‘डिजिटल मार्केटिङ’ गरिएको बताए ।


टोड्के र झिँका बासिन्दाहरुले टोड्के विकास कोष गठन गरि दुई पटक गुराँस महोत्सव आयोजना गर्नुका साथै पदमार्ग, सडक निर्माण र निजी क्षेत्रको लगानी भित्राउन अगुवाइ गरेका छन् । 

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकिकृत गर्न खोजिरहेको बताएका छन् ।

ह्वाइट हाउसमा पूर्वजानकारी बिना अकस्मात आयोजित ब्रिफिङमा बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्को कदमबारे निर्णय गर्दा इजरायलका लागि अमेरिकी समर्थनलाई स्मरण गर्नुपर्ने बताए ।

‘यदि म इजरायलको ठाउँमा हुन्थे भने म तेल साइटमा आक्रमण गर्ने बाहेक अन्य विकल्पको बारेमा सोच्ने थिएँ’, बाइडेनले भने ।

‘इजरायलमा मङ्गलबार इरानले गरेको विशाल ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलीहरु के गर्ने, कसरी गर्ने भन्ने निष्कर्षमा पुगेका छैनन्’ उनले भने ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमहरूबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो ।

राष्ट्रपतिय निर्वाचन नजिँकिदै गर्दा कुनै पनि दीर्घकालीन वृद्धि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि हानिकारक हुन सक्छ ।

यसैबीच, उत्तरी क्यारोलिनामा चुनावी प्रचारमा लाग्नुभएका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानको आणविक सुविधलाई इजरायलले लक्षित गर्ने सम्भावनाबारे बाइडेनलाई यस हप्ता सोधिएको प्रश्नलाई उदृत गर्दै इरानप्रति प्रतिक्रिया कस्तो हुनुपर्छ भन्नेबारे अझ बढी उत्तेजक दृष्टिकोण प्रस्तुत गरेका छन् ।

११ करोडको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ बराबरको आठ किलो २४३ ग्राम सुन बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका २५ वर्षका अभिषेक अजिनाथ कुटी र २७ वर्षका राहुल भिट्टिहाल रछन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्दा सुन फेला परेको थियो ।

उनीहरुको साथबाट आठ किलो २४३ ग्राम सुन बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

पहिरोमा परी ज्यान गुमाउने धादिङका तीन परिवारलाई घरमै पुगेर राहत वितरण

मलेखु (धादिङ) । एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।

पानी परिरहेका बेला शरीर भिज्नबाट जोगिन ओडारमुनि ओत लागेका बेला ओडार नै खस्दा पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र शन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई उनीहरूको घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई रु दुई लाखका दरले राहत रकम वितरण गरिएको हो । सरकारले तय गरेको स्वीकृत मापदण्डका आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

“राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरेका छौँ । यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मलमको काम गर्ने अपेक्षा गरेका छौँ”, उनले भने ।

त्यस्तै, निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की छ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिए । कागजात जुटाउने तथा प्रक्रियामा रहेकाले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उनको भनाइ छ ।

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ । 

बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि  आज विहान साढे ९ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । 

उनले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताए । तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए । 

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन् । तर उनीहरुमा जति बाढीका कारण पाएको दुःख छ त्योभन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी सुरु हुने हो कि भन्ने चिन्ता पनि छ ।

बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ । बाढीका कारण ढल फुटेको छ । आफूहरुले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितको भनाइ छ । यसले महामारी फैलने जोखिम बढाएको उनीहरुको चिन्ता छ ।

ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न औषधि हालेपछि दुर्गन्धमा केही कमी आए पनि खोला छेउका बस्तीमा काम गर्न निकै मुस्किल रहेको वडा नं ४ का मिलन यसमाइली मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि छर्केदेखि दुर्गन्ध अहिले कम भएको छ, तर पूर्ण रुपमा हटिसकेको छैन । यस्तै दुर्गन्ध रहिरह्यो भने महामारी फैलिन्छ कि भन्ने त्रास छ ।”

नगरप्रहरीले तीन दिनयता निरन्तर खोलामा औषधि छर्केको वडा नं १३ का वडाध्यक्ष गणेश केसीले बताए । उनले भने, ‘विद्युत् अवरुद्ध भएको सबै ठाउँमा विद्युत् सञ्चालन गरेका छौँ, पानीको अझै समस्या छ । बाढीका कारण ढलमा आएको समस्याले दुर्गन्ध फैलिने समस्या छ । हामी व्यवस्थापनमा जुटेका छौँ ।’

हावा चलेको समय र दिउँसो घाम लागेको समयमा खोलाको गन्धले काम गर्न मुस्किल भएको वडा नं २५ खोलामा बस्दै आएकी रेणुको लिम्बूले बताइन् । उनले भनिन्, ‘दुर्गन्ध निकै छ । बाढीले पुरेको सामान निकाल्न खोजेको गन्धका कारण निकाल्नै गाह्रो छ । गन्धका कारण आफू बिरामी परिन्छ कि भन्ने डर छ ।’

विदेशीसँग हात थाप्ने तर प्रभावित नागरिकलाई अलपत्र पार्ने दुष्कर्म नगरौं’

डा. बाबुराम भट्टराई
नेपालको विपद् व्यवस्थापन संयन्त्र र क्षमता अत्यन्त कमजोर छ भन्ने कुरा गत दशक यता मात्रै आइपरेका विनाशकारी भूकम्प, कोभिड, बाढीपहिरो, हवाइ/सडक दुर्घटनाको बेला छताछुल्ल भैसकेका छन् । देशको अति विविधतायुक्त भूगोल/हावापानी,मनपरी प्राकृतिक सम्पदाको दोहन, निर्माण कार्य र शहरीकरण, तीव्र गतिको पर्यावरण विनाश आदिले आगामी दिनमा प्राकृतिक विपत्ति अरू थपिने निश्चित छ।

छेपारोको आहान झैं प्रत्येक पटक भन्ने एउटा गर्ने अर्को अनि रुने कराउने, आरोपप्रत्यारोप गर्ने, क्षणिक स्टन्टवाजी गर्ने, विदेशीसँग हात थाप्ने तर प्रभावित नागरिकलाई अलपत्र पार्ने दुष्कर्म नगरौं । अहिलेको गृहमन्त्रालय अन्तर्गत रहेको कमजोर र वेवारिसे विपद् व्यवस्थापन संयन्त्रलाई राज्यको प्रमुख कार्यकारी अन्तर्गत बलियो,अधिकारसम्पन्न, साधनश्रोतयुक्त, स्वायत्त/स्वचालित संयन्त्रमा रूपान्तरण गरेर संघ,प्रदेश र स्थानीय तहसम्म व्यवस्थित गरौं!

विपत्ति आउने बित्तिकै तत्काल उद्धार,राहत,पुनर्स्थापना, पुनर्निर्माण स्वचालित ढंगले अघि बढ्ने संस्था र संस्कार विकास गरौं । तत्काल ठूला चाडपर्वको मुखमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय तहहरूसंगको संयोजनमा बाढीपहिरो पीडितहरूलाई अस्थायी आवास, खाद्यान्न,लत्ताकपडालगायतको व्यवस्था र जरूरी सडकमार्गहरू खोल्ने कार्य गरौं ।

नेपाल अभ्यास खेलमा पनि पराजित

काठमाडौं । क्यानडामा रहेको नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । शुक्रबार राति भएको खेलमा नेपाल क्यानडा हाइ पर्फमेन्ससँग ३ विकेटले पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको नेपाल ३६.५ ओभरमा अलआउट हुँदै १ सय ४३ रनमा समेटिएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको क्यानडाले ३९.४ ओभरमा ७ विकेटको क्षतिमा १ सय ४५ रन बनाउँदै लक्ष्य भेट्टाएको हो ।

फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार सूचना जारी गरी बोर्डले चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरुपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने भन्दै प्रतिलिपि अधिकार ऐन अन्तर्गतको सजाय हुने व्यवस्था जनाएको छ ।

बोर्डले भनेको छ, ‘अर्काको सिर्जना तथा सम्पत्तिको गैर कानुनी रूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ । त्यसैले चलचित्रघर भित्र मोबाइल क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु, नगराउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ । चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनाधिकृत रूपमा कहिल्यै प्रयोग नगरौँ, दण्ड,जरिवाना र क्षतिपूर्तिबाट बचौँ।’

बाढीपहिरो तथा डुबानबाट प्रभावित १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।


उनले भने, “बाढीपहिरो प्रभावित क्षेत्रमा अहिले पनि उद्धार तथा राहत वितरण जारी छ, प्रभावित क्षेत्रमा विशेष योजनाका पुनःस्थापना र पुनःनिर्माण गर्ने योजनाका साथ लाग्न विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।”


प्रवक्ता गुरुङका अनुसार कोशी प्रदेश पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका, उदयपुरको वेकला नगरपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । 


साथै बागमती प्रदेशअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, धुनिवेशी नगरपालिका र गजुरी गाउँपालिका, दोलखाको गौरीशङ्कर गाउँपालिका, बिगु गाउँपालिका, शैलुङ गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिकालाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । 


उनका अनुसार विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका अन्य स्थानीय तहमा सिन्धुपाल्चोकाको भोटेकोशी गाउँपालिका, ललितपुरको बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदाबरी नगरपालिका, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका, नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, चौरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका रहेका छन् । 


साथै सिन्धुलीको गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बकैया गाउँपालिका, चितवनको भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।  


यी स्थानीय तहमा पर्ने राजमार्ग क्षति भएको, सडकसञ्जाल विच्छेद भएको, नदीको तटीय क्षेत्र डुबानमा परेको, पुल बगाएको, विद्युत् र टेलिफोनको टावर तथा पशुचौपाया र कृषि क्षेत्रमा क्षति पुगेकाले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्री गुरुङको भनाइ छ ।

थिम्पुमा पूर्वराजा शाह र भुटानी नरेशबीच भेटवार्ता

काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र भुटानी नरेश जिग्मे केशर नामग्याल वाङ्चुकबीच भेटवार्ता भएको छ । शुक्रबार उनीहरुबीच थिम्पुमा भेटवार्ता भएको हो ।

भेटमा भुटानी नरेश तथा रानी जेत्सुन पेमा वाङ्चुक लगायत राजपरिवारका सदस्यसमेत थिए । त्यस्तै पूर्वअधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी सिंह, पूर्व शाहाज्यादी शिताष्मा राज्य लक्ष्मी देवी शाह पनि सहभागी भएका थिए । पूर्वराजा बिहीबार भुटानको थिम्पु पुगेका हुन् ।

पूर्वराजा थिम्पु पुग्दा उनलाई रातोकार्पेट बिछ्याएर स्वागत गरिएको थियो भने उनको स्वागतमा भुटानी राजकुमारी विमानस्थल पुगेकी थिइन् ।

इजरायलसँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने खामेनीको भनाइ

लेबनान । इरानका सर्वोच्च नेताले एक दुर्लभ सम्बोधनमा यस क्षेत्रका आफ्ना सहयोगीहरूले इजरायलविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको गरेका छन् ।

इरानले इजरायलमाथि दोस्रो पटक आक्रमण गरेपछि र इजरायली सेनाविरुद्ध हिजबुल्लाह समूहले विभिन्न स्थानमा गरेको आक्रमणको बदलामा इजरायलले लेवनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाहलगायत हमासका सहयोगी कमाण्डरको मृत्यु भएपछिको यो पहिलो सम्बोधन हो ।

प्यालेस्टिनी लडाकू समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि आफ्नो इतिहासकै सबैभन्दा घातक आक्रमण गरेको करिब एक वर्षपछि इजरायलले लेबनानसँगको आफ्नो सीमा सुरक्षामा ध्यान केन्द्रित गर्ने घोषणा गरेको छ ।

फारसी भाषी इरानमा हजारौँको भीडलाई सम्बोधन गर्दै उनले अरबी भाषामा भने, “यस क्षेत्रको प्रतिरोध समूहले यी शहादतहरूबाट पछि हट्नेछैन र जित्नेछ।”

तेहरानले नसरल्लाह र अन्य शीर्ष नेताको हत्याको बदलामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले हिजबुल्लाहविरूद्ध आक्रमण गरिरहेको बेला उक्त सम्बोधन आएको हो ।

खामेनीले हिजबुल्लाहले सम्पूर्ण क्षेत्र र सम्पूर्ण इस्लामी विश्वका लागि महत्वपूर्ण सेवा प्रदान गरिरहेको भन्दै यसको प्रशंसा गरे ।

लेबनानमा जारी हिंसाको तत्काल अन्त्य नहुने हो कि भन्ने डर लेबनानका मानिसहरुमा देखिएको छ । बेरुतकी ३५ वर्षीया विस्थापित नर्स फातिमा सालाहले भने, “मानिसहरु हाम्रा बालबालिकाका लागि डराएका छन् र यो युद्ध लामो हुनेछ ।”

इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले इजरायलमाथि आक्रमण गर्नेले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

इरानले यदि इजरायलले जवाफी हमला गरेमा आफ्नो प्रतिक्रिया बढाउने बताएको छ ।

इरानले प्रहार गरेका २०० क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरायलले रोकेको छ, यद्यपि यस आक्रमणले इजरायलमा अझै हिंसा हुने डर पैदा गरेको छ।

अमेरिकी राष्ट्रपति बाइडनले मध्यपूर्वमा जारी युद्धबाट बच्न सकिने तर अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले संयुक्त राज्य अमेरिकाले इरानी तेल प्रशोधन केन्द्रहरूमा इजरायलको सम्भावित आक्रमणको बारेमा ‘छलफल’ गरिरहेको पनि बताए ।

‘रुसी जासुस’ ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको नर्वे प्रहरीको आशङ्का

ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको आशङ्का नर्वे प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । ह्वेल अगस्ट ३१ मा नर्वेको दक्षिणपश्चिमी तटमा रहेको खाडीमा मृत फेला परेको थियो ।

पशु अधिकार सङ्गठन एनओएएच र वन ह्वेलले ह्वेललाई गोली हानेर मारिएको दाबी गर्दै प्रहरीमा रिपोर्ट दर्ता गरेका छन् । ह्वलेका लागि नर्वेली शब्द (हवल) र मस्कोसँग यसको कथित सम्बन्धमा यसको उपनाम ‘ह्वाल्डिमिर’ राखिएको छ ।

नर्वेली पशु चिकित्सा संस्थानले शव परीक्षण गर्दा ह्वेलको मुखमा ३५ सेन्टिमिटरको काठको टुक्रा पेला पारेको थियो ।

शव परीक्षणको रिपोर्टले मृत्युको सम्भावित कारण ब्याक्टेरिया सङ्क्रमण भनेको थियो । मुखमा काठको टुक्रा अड्किएकाले घाउ भई सङ्क्रमण भएको प्रहरी अधिकारी अमुन्ड प्रिडे रेभहेमले शुक्रबार विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । काठको टुक्राले ह्वाल्डिमिरलाई खान गाह्रो बनाएको तथा सङ्क्रमणको जोखिम बढेको हुन सक्ने विज्ञप्तिमा जनाइएको छ ।

प्रहरीले शव परीक्षणमा गोलीको कुनै निशान फेला नपरेकाले थप अनुसन्धान नगर्ने निर्णय गरेको जनाएको छ । परीक्षणमा ह्वाल्डिमिरलाई अवैध रूपमा मारिएको सङ्केत गर्ने केही प्रमाणहरु फेला नपरेको प्रिडे रेभहेमले बताए ।

नर्वेका अधिकारीहरूले ह्वेल एउटा घेराबाट भागेर रूसी नौसेनाद्वारा प्रशिक्षित भएको हुनसक्ने बताएका छन् । ह्वेल ‘रूसी जासुस’ हुनसक्ने दाबीमा मस्कोले भने कुनै पनि आधिकारिक प्रतिक्रिया दिएको छैन ।

काठमाडौँ महानगरपालिकाले काभ्रेका बाढी प्रभावित तीन स्थानीय तहलाई २०-२० लाख सहयोग गर्ने

काठमाडौँ । काभ्रेका बाढी प्रभावित तीन स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन साहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले पालिकाहरुको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसरी सहयोग प्रदान गरिने पालिकाहरुमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन् ।

पालिकाहरुबाट सहयोगको माग भएपछि विपद व्यवस्थापन समितिमा छलफल गरेर सहयोगका सिफारिस गरेर महानगर विपद व्यवस्थापन समितिमा पठाइएको, समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।

आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरुलाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो । आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरुलाई पत्राचार गरिएको छ ।

वाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरुलाई ‘विपद व्यवस्थापन कोष’ बाट सहयोग उपलब्ध गराएको हो । अनधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढावा नदिने महानगरपालिकाको नीति छ ।

सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल बर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले व्यक्तिका बस्ने घर पूर्ण र आंशिक रुपमा क्षति गरेको छ ।

सार्वजनिक सेवा प्रदान गरिने कार्यालयहरुबाट सेवा प्रवाह गर्न कठिन हुने अवस्था सिर्जना भएको छ । सडक, खानेपानीका ट्याङ्की तथा पाइप लाइन, सञ्चार र विद्युत सञ्जाल विच्छेद भएको छ ।

खेतीबाली बगाएको र पुरिएको छ । लत्ताकपडा, खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ । यस्तो मानवीय संकटमा राहत र पुनःस्थापना गर्न महानगरपालिकाले सहयोग गरेको हो ।

बाढी पहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जनाको मृत्यु भएको छ । ५ सय वटा घर पूर्ण र ७१३ वटा घर आंशिक रुपमा क्षति भएका छन् । २ हजारभन्दा धेरै पशु धनको क्षति भएको छ ।

रोशी गाउँपालिका क्षेत्रभित्र १२ जनाको मृत्यु भएको छ । आवासीय करिब ५ सय घरमा पूर्ण क्षति भएका छन् । करिब १ हजार ५ सय घरमा आंशिक क्षति भएको छ । खसीबोका, गाई, भैंसी गरेर करिब ५ सय र कुखुरा चल्ला करिब २ हजार संख्यामा क्षति भएको छ ।

वेथानचोक गाउँपालिकाभित्र १२ जनाको मृत्यु भएको छ । पूर्ण र आंशिक गरेर ९७० वटा घरहरुमा क्षति पुगेको छ । गाई, भैँसी र बंगुर गरेर १ हजार वटा, ८ हजार ५ सय वटा कुखुरा गरी ९ हजार ५ सय बढी पशुधनको क्षति भएको छ । गाउँपालिकाको प्रशासनिक भवनमा पनि क्षति पुगेको छ ।

१४ जिल्लालाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरो तथा डुबान प्रभावित १४ वटा जिल्लालाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यका सहितका १४ जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस गरेको हो । समितिले ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, सङखुवासभा, भक्तपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर सिन्धुपाल्चोक र धादिङ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरेको छ ।

प्राधिकरणका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले कार्यकारी समितिको सिफारिसअनुसार प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नेछ ।

आफूलाई सरकारले मुद्दा लगाउने तयारी गरिरहेको रवि लामिछाने जिकिर

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्य सहकारीको समस्या समाधान गर्न भन्दा आफूलाई फसाउन लागिपरेको आरोप लगाएका छन् ।

शुक्रबार चितवनको इच्चाकामना गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सभापति लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको संसदीय छानबिन समितिले उल्लेख गरेको बताए ।

उनले भने, ‘राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ। त्यसको व्याख्या अपव्याख्या जे गरे पनि। त्यो पैसा ल्याउने कुरामा मेरो संलग्नता छैन।’

उनले अनुसन्धानमा अझै सघाउने बताए । उनले यसरी समितिले समेत आफूलाई सहकारीको रकम लैजानमा संलग्न नभएको बताएपनि आफूलाई सरकारले मुद्दा लगाउने तयारी गरिरहेको बताए ।

सभापति लामछिानेले कांग्रेस महामन्त्री गगन थापासहित सरकारका मान्छेहरूले नै आफूलाई मुद्दा हाल्न अनेक उपाय खोजिरहेको बताए । उनले आफूले सहकारी ठगीमा क्लिन चिट पाइसकेकाले सत्यको अगाडि कसैको केही नलाग्ने जिकिर गरे ।

गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको बचत रकम अपचलनमा संसदीय समितिले उनको पनि संलग्नता देखाउँदै प्रतिवेदन तयार पारेपनि पनि लामिछाने आफूले क्लिन चिट पाएको बताउँदै आएका छन् ।

मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका पदाधिकारीसँग खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन्। उनले उपभोक्तालाई मर्का नपर्ने गरेर बजारमा खानेतेलको आपूर्तिको व्यवस्था गर्न आग्रह गरे।


सङ्घका अध्यक्ष विकास दुगडसहितको टोलीले मन्त्री भण्डारीलाई आज सिंहदरबारस्थित मन्त्रालयमा खानेतेलको मूल्य र आपूर्ति अवस्थाबारे जानकारी गराएको हो। अध्यक्ष दुगडले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन र जलवायु परिवर्तनका कारण मूल्यवृद्धिको अवस्था आएको मन्त्री भण्डारीसमक्ष जानकारी गराए।

मन्त्री भण्डारीले विपद् र चाडपर्वका बेला मूल्य वृद्धि गर्न नहुने उल्लेख गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसहित बैठक बसेर उपभोक्तालाई मर्का नपर्ने गरेर समाधान निकाल्न निर्देशन दिए।

सो क्रममा सङ्घका अध्यक्ष दुगड, पूर्वअध्यक्ष सन्दीप अग्रवाललगायतले खानेतेल उत्पादक उद्योगीले वाणिज्य मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिधै खरिद गरेर बिक्री गर्दा उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा खानेतेल खरिद गर्न पाउने बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अध्यक्ष रमेश आचार्यले उद्योगबाट सिधै तेल खरिद गरेर उपभोक्ताले सस्तोमा पाउने भएकाले खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी गराए।

यसैबीच सोही क्रममा नेपाल चामल तेल उत्पादक सङ्घका विभोर अग्रवालले विगतको तुलनामा चामलको मूल्य कम रहेको र चाडपर्वका बेला चामल तथा दालको मूल्य वृद्धि नहुने जानकारी दिए। उनले तिहारपछि भारतले निर्यात शुल्क १० प्रतिशत वृद्धि गर्न लागेकाले वाणिज्य मन्त्रालयले पहल गरे त्यो हट्ने र मूल्य वृद्धि नहुने बताए।

विपद् पीडितलाई राहत

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घ र नेपाल चामल तेल उत्पादक सङ्घले मन्त्री भण्डारीको आग्रहमा विपद्का कारण पीडित भएका सर्वसाधारणका लागि खाद्यान्न उपलब्ध गराएको छ। दुवै सङ्घले आज ललितपुरलगायत विभिन्न ठाउँका सर्वसाधारणका लागि खाद्यान्न उपलब्ध गराएको हो। नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले चामल तीन सय ६० बोरा, चिउरा एक सय बोरा, मसूर दाल ४० बोरा र तोरीको तेल दुई सय लिटर उपलब्ध गराएको छ।

यस्तै नेपाल चामल तेल उत्पादक सङ्घले चामल एक सय ४० बोरा र मसुरको दाल ४० बोरा उपलब्ध गराएको छ। यसैबीच दुवै सङ्घले नागरिकमा पर्न गएको ठूलो विपत्ति तथा जनधनको क्षतिमा गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिको समयमा विपत्तिमा पर्न गएका व्यक्ति र परिवारमा केही भए पनि राहत प्रदान गरेको जनाएको छ।

आन्तरिक हवाई उडानमा अत्यधिक चापले त्रिभुवन विमानस्थलमा एयर ट्राफिक जाम

सिबी अधिकारी, काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन पाँच सय ५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे । आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुबै यो उडान र यात्रु सङ्ख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ । 

असोज १५ गते बिहीबार हेलिकप्टरसहित पाँच सय ११ उडान भए । बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित एक सय ८२ उडान र एक सय ८२ वटा अवतरण भएका थिए । साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । यसबाट १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । 

कार्यालयका अनुसार गत सोमबार कूल पाँच सय ९९, मङ्गलबार पाँच सय ११ र बुधबार चार सय ७३ वटा उडान भएका छन् । बिहीबार र शुक्रबार केही उडान चाप घटेको छ । दैनिक सरदर आन्तरिक र अन्तर्राष्ट्रिय दुबैगरी चार सय हाराहारी उडान हुने गरेकामा अहिले एक सयदेखि एक सय ५० सम्म थप उडान व्यवस्थापन गर्नु परिरहेको विमानस्थलले जनाएको छ ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चालन अवरुद्ध भएपछि विकल्पको रुपमा रहेको हवाई उडानमा अध्याधिक चाप बढेको हो । उडान चाप ह्वात्तै बढेपछि केही एयरलाइन्सले उडान सङ्ख्या पनि थपेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानमा चाप हुँदा विमानस्थलको टर्मिनलमा भीडभाड बढेको छ भने एयरलाइन्सलाई उडान व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ । विमानको उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढेको छ । आन्तरिकमा धेरै उडान एकदेखि दुई घण्टासम्म ढिला हुने गरेका छन् । अन्तर्राष्ट्रियतर्फ एकघण्टा भन्दा बढी समयसम्म विमान होल्डमा बसेर अवतरण गर्नुपरेको छ ।

  हवाई उडान चाप बढेपछि एयर ट्राफिक व्यवस्थापनका साथै हवाई उडानको सुरक्षाको सन्दर्भ पनि आउँछ । उडान चापले विमानस्थल व्यवस्थापनदेखि एयरलाइन्स, विमान चालक (पाइलट) तथा गन्तव्यका विमानस्थलको व्यवस्थापकीय र सुरक्षाको प्रश्न उठ्नु स्वभाविक पनि हो । त्यसो हो भने उडान चाप हुँदा हवाई सुरक्षाको सन्दर्भलाई कसरी हेरिन्छ त ! यसै सन्दर्भमा हवाई क्षेत्रका जानकारहरुसँग केही जिज्ञासाको उत्तर खोज्ने प्रयास गरिएको छ ।

हवाई उडान चाप रहेपनि हवाई सुरक्षालाई चुस्त दुरुस्त र प्रभावकारी बनाइएको नियामक निकाय एवं एयरलाइन्सका अधिकारीले दाबी गरेका छन् । उनीहरुले हवाई उडान सुरक्षामा कुनै सम्झौता नहुने उल्लेख गरेका छन् ।

आन्तरिक उडानमा आवश्यक जनशक्ति २४सै घण्टा खटिएर सेवालाई चुस्त र प्रभावकारी बनाइएको उनीहरुको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले यात्रुको चाप बढेपछि उडान व्यवस्थापन र हवाई सुरक्षाको पाटोलाई विशेष ध्यान दिएर नागरिकलाई गन्तव्यमा पुर्याउन सबै सक्रिय रुपमा लागेको बताए ।

“हवाई सुरक्षामा शून्य सहनशीलता अपनाइएको छ । सुरक्षा र सेवालाई समानान्तर रुपमा अघि बढाइएको छ”, महानिर्देशक अधिकारीले भने, “विपद्को समयमा सहर–सहरबीच सम्पर्कविच्छेद छ, अहोरात्र खटेर उड्डयन क्षेत्रका कर्मचारी, एयर ट्राफिक कन्ट्रोलर (एटिसी), प्राविधिक, प्रशासनिक कर्मचारी, सुरक्षा निकाय, ‘फायर फाइटिङ’का कर्मचारीले मेहनतकासाथ काम गरिरहेका छन् अनेकौँ असहजताकाबीच यो स्तरको सेवा दिइएको छ, यसमा सबैले सकारात्मक कोणले हेर्नुपर्छ ।”

वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले उडान चाप व्यवस्थापन र हवाई सुरक्षाको पाटोलाई सम्पूर्ण एयरलाइन्सले तदारुकताका साथ ध्यान दिएर यात्रुलाई सुरक्षित तवरले गन्तव्यमा पुर्याइरहेको बताए ।

उनले भने, “सबै हवाई सेवा कम्पनीले पूर्ण क्षमताका साथ उडान सञ्चालन गरिरहेका छौँ, हवाई सुरक्षामा कुनै सम्झौता हुदैन, प्राविधिक जनशक्तिको क्षमता र विमानको क्षमता हेरेर आवश्यक जनशक्तिसहित व्यवस्थापन गरिएको छ ।”

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण सडक अवरुद्ध हुदाँ रोकिएका यात्रु विभिन्न गन्तव्यमा पुग्न हवाई माग रोज्जुको विकल्प छैन । सडकमार्ग अवरुद्ध हुँदा अहिले हवाई उडानमा चाप रहेको र यसले एयरलाइन्सबीचको प्रतिस्पर्धा पनि बढाएको हवाई विज्ञ अच्युत पहाडीले बताए । 

“फेयर पाइटिङ र एयरलाइन्सको प्रतिस्पर्धाले पनि जोखिम बढी हुनसक्छ, हवाई सुरक्षाप्रति सतर्क हुनुपर्छ, हवाई सुरक्षालाई नियामक निकायले प्रभावकारी अनुगन गर्नुपर्छ”, उनले भने ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडान चाप बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढ्ने र उडान डिले हुने तथा होल्डमा बस्नुपर्ने अवस्था हुन्छ । नियामक प्राधिकरणले एयरलाइन्सको माग र विमानस्थलको क्षमताका आधारमा उडान अनुमति दिने गरेको छ । 

“एयरलाइन्सको माग अनुसार आवश्यकता हो की हैन प्राधिकरणले विमानस्थलको एयर ट्राफिक क्षमता, टर्मिनलको क्षमतालाई विचार गरेर अनुमति दिने गर्छ”, प्रवक्ता शेर्पाले भने ।

विमान होल्ड हुनुमा विभिन्न कुराले काम गर्ने बताइन्छ । विज्ञहरुका अनुसार इन्स्टुमेन्ट फ्लाइट रुल (आइएफआर) उड्ने विमानको मापदण्ड बढी हुन्छ । 

“विमान आइएफआरमा उडेपछि उसको नियम र आफ्नै मापदण्ड अनुसार कुन ठाउँमा विमान पुगेपछि अर्को विमानलाई कहाँसम्म जान दिने भन्ने हुन्छ । आइएफआरको मापदण्ड अनुसार उड्नुपर्ने भएकाले मौसम जस्तो भएपनि मापदण्ड कडिकडाउ हुन्छ”, प्रवक्ता शेर्पाले भने ।

भिजुअल फ्लाइट रुल (भीएफआर) उड्ने विमानको कम ‘सेप्रेसन स्टान्डर मेन्टेन’ गर्नुपर्ने हुन्छ । आइएफआरको मापदण्ड बढी भएकाले आवश्यकता, औचित्य हेर दिन मिल्ने नमिल्ने निर्णय लिइन्छ ।

यती एयरलाइन्सका हवाई सुरक्षा समेत हेर्ने प्रवक्ता सुदर्शन बर्तौैलाले उडान चाप व्यवस्थापनसँगै हवाई सुरक्षालाई पनि विशेष ध्यान दिएर सोही अनुरुप दक्षशक्ति परिचालन भइरहेको बताए ।

“यात्रुको चाप बढ्दैमा ‘सेफ्टीलाई कम्प्रोमाइज’ गरेर विमानहरु उड्दैनन्”, उनले भने, “हवाई सुरक्षामा कुनै सम्झौता हुँदैन । उडान ढिलो हुनुमा विमानको मर्मतलगायतको पाटोलाई पनि सँगै लैजानुपर्ने भएकाले हो, एयरलाइन्सले हवाई सुरक्षालाई मध्यनजर गर्दै दैनिक तीन सिफ्टमा प्राविधिक जनशक्ति परिचालन गरेर काम गरिरहेका हुन्छन्, त्यसैले उडान चापले सुरक्षा जोखिम हुँदैन ।”

लामो मर्मत र उडानको समयमा हुने छोटो मर्मत दुबैलाई एयरलाइन्सले समानान्तर रुपमा लगिरहेका हुन्छन् । सीमित सङ्ख्याका विमान र उडान व्यवस्थापनालाई मध्यनजर गर्दै उडान सञ्चालन गरिरहेका एयरलाइन्सहरुले जनाएका छन् । 

“यात्रुले टिकट पाएनन् भने पनि एयरलाइन्सलाई नै दोष दिने, बढी पैसा लिए, ढिलो उडाए जस्ता आरोप खेपिरहेकै छौँ”, श्री एयरलाइन्सका संस्थापक प्रबन्धक अनिल मानन्धरले भने, “आरोप पनि खेपिरहेका छौँ, दबावमा सेवा पनि सञ्चालन गरिरहेका छौँ, हवाई सुरक्षाको पाटोलाई विशेष ध्यान दिइएको छ ।”

हवाई सुरक्षा मापदण्डलाई कडिकडाउ गरिएको छ । एउटा विमान अवतरण गरेपछि कति समयपछि उडान भर्ने भन्ने आफ्नै नियम हुन्छ । सोही अनुरुप मापदण्डका आधारमा उडान सञ्चालन हुन्छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उडान चापले उडानहरु ‘डिले’ भइरहेका छन् । उडान डिले हुनुमा एयर ट्राफिक जाम र मौसममा पनि भर पर्ने गरेको उनको भनाइ छ । अहिले सबै गन्तव्यको ‘अकुपेन्सी फुल’ भएको छ । जहाज सङ्ख्या कम भएकाले पनि यात्रुको माग धान्न नसकिएको हो ।

 विगत वर्षहरूमा पनि दसैँ, तिहार छठलगायत महत्त्वपूर्ण चाडपर्वमा हवाईयात्रुको चाप हुने गरेको थियो । यसपटक अविरल वर्षापछिको बाढी पहिरोलगायत विपद्का घटनाले सडकमार्ग अवरोध हुँदा  हवाई उडानमा थप चाप बढ्न गएको हो ।

उडान सङ्ख्या बढेपछि आन्तरिक विमानस्थमा अबेर रातिसम्म उडान भइरहेका छन् । सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै दसैँको पहिलो दिन आज (घटस्थापना)देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको जनाएको छ ।

रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान ४ः३० बजेदेखि राति अपरेशनको समयसम्म आवश्यकतानुसार उडान हुने जनाइएको छ । सडकमार्ग असहज भएकाले यात्रुहरू महँगो भए पनि हवाईजहाजको यात्रा गर्न चाहँदा पनि टिकट नपाउँदा समस्या भएको गुनासो गर्छन् ।

काठमाडौँबाट दुर्गम क्षेत्रमा मात्र होइन, सुगम क्षेत्रका विमानस्थलमा पनि यात्रुले हवाई टिकट पाएका छैनन् । सीमित उडान हुने तुम्लिङटार र सुर्खेत विमानस्थलमा त यात्रुलाई टिकट पाउन निकै सास्ती हुने गरेको छ ।

यसैबीच हवाई यात्रुको चाप अत्याधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । श्री एयरलाइन्सले पनि आजदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा उडान सञ्चालन गरेको छ । कम्पनीले कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ ।

यती एयरलाइन्सले पनि काठमाडौँ–भद्रपुर–काठमाडौँ र काठमाडौँ–नेपालगञ्ज–काठमाडौँमा एक–एक उडान थपेको छ । साथै आजबाट काठमाडौँ–जनकपुर–काठमाडौँ गन्तव्यमा एक उडान थपिएको एयरलाइन्सले जनाएको छ ।

एसिया रग्बीमा नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो। यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो ।

एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको हो । यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पराजित गरेको हो ।

चाइनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो ।

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ। प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।

नागरिकलाई सहजरुपमा सेवा दिन स्वास्थ्यमन्त्री पौडेलको आग्रह

पाटन (ललितपुर) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रतिष्ठानको शुक्रबार निरीक्षण गर्दै मन्त्री पौडेलले अन्य सरकारी अस्पतालको तुलनामा प्रतिष्ठानको सेवा अझ उदाहरणीय बनाउनुपर्नेमा जोड दिए । “यहाँको सेवा तुलनात्मक रुपमा राम्रो छ, यसलाई अझ राम्रो बनाउन जरुरी छ”, उनले भने ।

प्रतिष्ठानले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै मन्त्री पौडेलले कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सहज सेवा दिन आग्रह गरे । “अनलाइन सेवा अझ प्रभावकारी बनाउनुपर्छ”, उनले भने । अस्पतालको अवस्थाबारे जानकारी लिन आएको उल्लेख गर्दै मन्त्री पौडेलले सेवा प्रभावकारी बनाउनका लागि सघाउन मन्त्रालय तयार रहेको बताए ।

निरीक्षणका क्रममा मन्त्री पौडेललाई प्रतिष्ठानका उपकुलपति प्रा डा राजेशनाथ गंगोलले स्वागत गरेका थिए । आफ्नै स्रोत साधनमा धेरै बिरामीलाई सेवा प्रदान गर्नुपरेको उल्लख गर्दै उनले अस्पतालको नयाँ भवन निर्माणका लागि सहयोग गर्न मन्त्री पौडेल समक्ष आग्रह गरे । सो अवसरमा मन्त्री पौडेलले अस्पतालको नयाँ भवन निर्माणका लागि पहल गर्ने आश्वासन दिए ।

मन्त्री पौडेलले विपद्का क्रममा घाइते भएका बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिए । प्रतिष्ठानका रजिष्टार डा पारसकुमार आचार्यले सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

सुनकोशीको खुर्कोटमा ५० मिटर लामो बेलिब्रिज जडान गरिने

काठमाडौँ । अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब बराबर लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुक्रबार संसदको पूर्वाधार समितिको बैठकमा यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको क्षतिका बारेमा जानकारी गराउँदै अस्थायी रुपमा भएपछि राजमार्ग नियमित सञ्चालनका लागि अधिकतम प्रयास गरिरहेको जानकारी दिए ।

गत हप्ताको भीषण वर्षा र बाढीका कारण ३४ राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा सात सय ७४ स्थानको पहिरो हटाइएको छ । कूल २९ वटा राजमार्गमा विभागीय तथा भाडाकायन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको छ ।

हालसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालनका गर्न अनवरत प्रयास जारी छ । कतिपय स्थानमा पहिरो हटाउनुका अतरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह््यूम पाइप र अस्थायी प्रकृतिको बेजिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

अरनिको राजमार्गको लार्चा– कोदारी खण्डको पाँच किलोमिटर क्षेत्रमा समस्या रहेको छ । लिपिङ पुल र लार्चाको बेजिब्रिज बगाएका कारण यातायात अवरुद्ध भएको छ । त्यसका लागि लार्चामा ह्यूम पाइप र पेनस्टक पाइप र लिपिङमा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गरिनेछ ।

बिपी राजमार्गको चौकीडाँडा– कालढुङ्गा खण्डको १८ किलोमिटर क्षेत्रमध्ये १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारणबीच बीचमा सवारी साधन रोकिएका छन् । दुवै तर्फबाट पहिरो सफा गर्ने कार्य भइरहेको, रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरी अस्थायी रुपमा यातायात सञ्चालनको प्रयास गरिएको छ ।

पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत दोलालघाट राकथुम ८० किलोमिटर खण्डको धेरै स्थानमा पहिरो गई सडकसमेत बासआउट भएको, दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक सफा गरी बर्दिबासबाट बिपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुँदै काठमाडौँ प्रवेश गराइनेछ ।

कान्ति राजपथको घपेली बगुवा खण्डको १३ किलोमिटर र बागमती पुलको दाँयाबाँया एप्रोचमा समस्या भएको छ । कमवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ । बाग्मती पुलको एप्रोच छिटो भन्दा छिटो निर्माण गरी सवारीसाधन नियमित गराइने छ ।

मेची राजमार्ग अन्तर्गत रमिते फिदिमको आठ किलोमिटर खण्डको रमितेडाँडाको पहिरो हटाउने काम भइरहेको छ । हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिनेछ ।

यस्तै, अरनिको राजमार्गको लिपिङमा १७ मिटर लामो बेलिब्रिज जडान गरिनेछ । यस्तै अरनिको राजमार्गको लार्चामा ४५ मिटर, बिपी राजमार्गको सुनकोशी खैरेनीटारमा ५० मिटर लामो बेलिब्रिज जडान गर्नुपर्नेछ । यस्तै, बिपी राजमार्ग रामेछाप जोड्ने सडकको सुनकोशी खुर्कोट खण्डमा ५० मिटर लामो बेलिब्रिज जडानका लागि आवश्यक पहल सुरु गरिएको छ ।

सगरमाथा राजमार्गको सुनकोशी फोक्सिङटारमा एक सय १० मिटर लम्बाइको पुल बगाएको छ । त्यसका लागि मन्त्रालयले आवश्यक पहल थालेको छ । मेची राजमगएको हेवा खोलाको ५० मिटर लामो पुल बगाएको छ ।

त्यसका लागि डाइभर्सन निर्माण गर्नुपर्नेछ । यस्ते, कान्ति लोकपथको १५ मिटर लामो बागमती पुल बगाएको छ । अप्रोच सडक निर्माण गरी सो पुल सञ्चालनमा ल्याउने तयारी छ । माईपोखरी सन्दकपुर इलामका रातेखोलाको ३५ मिटर लामो पुल बगाएको छ ।

पुल निर्माणका लागि आवश्यक पहल भइरहेको छ । क्षतिग्रस्त सडक पूर्वाधारको मर्मत सम्भारका लागि सङघीय सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रभावकारी पहल गरेको स्पष्ट पारेको छ ।

संसद्को भौतिक पूर्वाधार समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले बाढीपहिरोका कारण राजमार्ग एवम् पुलहरुमा भएको क्षतिका कारण अस्तव्यस्त बन्न पुगेको यातायात क्षेत्र व्यवस्थापन र सञ्चालनका लागि मन्त्रालय तथा यातायात व्यवस्था विभागले विभिन्न पक्षसँग छलफल र परामर्श गरी सामान्य बनाउन विभिन्न पहल गरिएको जानकारी दिए ।

विपदका कारण अलपत्र परेका यात्रु एवम् यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलब्ध गराउन गृहमन्त्रालयलाई अनुरोधसहित पत्राचार गरिएको मन्त्री दाहालले जानकारी दिए । विषम परिस्थितिका कारण उत्पन्न हुनसक्ने दुर्घटना एवम् जोखिम न्यूनीकरण गर्न अति आवश्यक काम बाहेक यात्रा नगर्न र गर्नै परे सावधान अपनाउन अनुरोध गरिएको थियो ।

यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरिएको, देशैभरीको विपद एवम् सडकको अवस्थाको एकीकृत र भरपर्दो सूचना व्यवस्थापनका लागि नोल प्रहरी प्रधान कार्यालयलाई नियमित रुपमा फेसबुक पेजमार्फत ताजा सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको मन्त्री दाहालले जानकारी दिए । काठमाडौँ छुट्ने यात्रुबहाक बसलाई सडकको अवस्था हेरी सुरक्षित ढङ्गले सवारीसाधन परिस्थिति हेरी उज्यालो समयमा नै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको छ ।

यातायात क्षेत्रमा विपदले सिर्जना गरेको समस्या समाधानका लागि पहल गर्न प्रचण्डलाई व्यवसायीको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिसँग प्राकृतिक विपद्ले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन् । 

बाढीपहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गरेका अध्यक्ष दाहालले दसैँको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुरलगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिँदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् ।

आफूले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै अध्यक्ष दाहालले यससम्बन्धी विस्तृत जानकारी लिएर प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा समाधानका लागि पहल गर्न छलफल थालेको बताए ।

अध्यक्ष दाहाल निवास खुमलटारमा भएको शुक्रबार भएको छलफलमा यातायात महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारीले यातायात क्षेत्रले ठूलो सङ्कट व्यहोर्नुपरेको, व्यावसायी मारमा परेको, यातायात मजदुरको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्याङ्क सङ्कलनसमेत नगरिएकोलगायत धारणा राखेका थिए ।

सरकारले पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको  बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुको आग्रह थियो । 

आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकामा खुसी व्यक्त गर्दै उनीहरुले विपद्ले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेन्डाका रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि आग्रह गरेका थिए । 

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर सङ्घका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका भीम ज्वाला राईलगायत पदाधिकारी सहभागी थिए ।

अमेरिका र भारतले महत्त्वपूर्ण खनिजहरूमा सहकार्य गर्ने

वासिङ्टन । संयुक्त राज्य अमेरिका र भारतले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको आपूर्तिको शृङ्खलामा सँगै काम गर्ने अमेरिकी वाणिज्य मन्त्रालयले  बताएको छ ।

अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले बिहीबार अमेरिकी राजधानी वासिङ्टनमा भेट गरी महत्त्वपूर्ण खनिजहरूको आपूर्ति लाइनहरूलाई ‘विस्तार र विविधीकरण’ गर्न सम्झौतामा हस्ताक्षर गरे ।

समझदारीपत्रको उद्देश्य महत्त्वपूर्ण खनिज क्षेत्रमा लचिलोपन बढाउनु रहेको अमेरिकी वाणिज्य मन्त्रालयले वक्तव्यमा बताएको छ ।

दुवै पक्षले ‘अमेरिका र भारतका महत्त्वपूर्ण खनिजको खोज, निष्कर्षण, प्रशोधन र शुद्धीकरण, पुनःचक्रण र पुनःप्राप्ति’ को व्यावसायिक विकासलाई सहज बनाउने तरिकाहरू पहिचान गर्ने वक्तव्यमा उल्लेख छ ।

विद्युतीय कारहरूको बेट्री जस्ता स्वच्छ ऊर्जा प्रविधिहरूमा प्रयोगलाई ध्यानमा राख्दै दुर्लभ पृथ्वी तत्व र खनिजहरू तीव्र रूपमा महत्त्वपूर्ण हुँदै गएका छन् । यद्यपि विद्युतीय सवारी (इभी) का लागि अनुमानित माग पूरा गर्दा अमेरिकाले आपूर्तिमा अभावको सामना गर्नुपर्नेछ ।

चीन महत्त्वपूर्ण खनिजहरूको आपूर्ति शृङ्खलामा प्रमुख खेलाडी हो । अमेरिका र भारतले बिहीबार सेमीकन्डक्टरहरूको क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

भारतीय मन्त्री गोयलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भने, “हामी भारत–अमेरिका व्यापार र वाणिज्यिक साझेदारीका लागि विशाल अवसरहरूको फाइदा उठाउँदै नयाँ क्षेत्रहरूमा सहयोग विस्तार गर्न र विद्यमान क्षेत्रहरूलाई सुदृढ गर्न जारी राख्नेछौँ ।”

चीनको प्रभुत्वको सामना गर्दै आपूर्ति शृङ्खलाहरूलाई सुदृढ गर्न गत वर्ष अमेरिका र जापानले महत्त्वपूर्ण खनिजहरूको व्यापारमा सम्झौता गरेका थिए । अमेरिका–जापान सम्झौतामा द्विपक्षीय रूपमा ढुवानी गरिएका महत्त्वपूर्ण खनिजहरूमा निर्यात शुल्क नलगाउने प्रतिबद्धताहरू समावेश थिए ।