`

विपदमा गर्नैपर्ने काम

–श्रीरामसिंह बस्नेत
हरेक वर्षा ऋतुमा मनसुन आउँछ, भारी वर्षात् हुन्छ, बाढीपहिरो डुवानले सताउँछ, अनाहकमा जनधनको क्षति हुन्छ, दुई/चार दिन मिडियामा कोकोहोलो मच्चाइन्छ, अनि विस्तारै हामी त्यस विपद्लाई बिर्सन्छौंँ र अर्को विपद्को मौन प्रतीक्षा गर्न थाल्छौंँ । तर एक पटकको विपद्बाट पाठ सिकेर अर्को विपद्मा क्षति न्यूनीकरण गर्ने सद्बुद्धि हामीलाई अहिलेसम्म आएको छैन, तथ्यले यही बताउँछ । यदि २०५० सालको भिषण बाढी, पहिरोबाट पाठ सिकेर त्यस्तो विपद्सँग सामना गर्ने क्षमता वृद्धि गरिँदो हो त योे दसैंको मुखमा यति ठूलो वियोग देशले खप्न पर्ने थिएन । गत साताको परिदृष्यले मनसुनी विपद् व्यवस्थापनमा हामी २०५० सालमा जहाँ थियौँ अहिले पनि त्यहीँ नै रहेछौँ भन्ने स्पष्ट हुन्छ । अझ अगाडिको मनसुनी विपद्लाई सम्झने हो भने २०११ सालको दसँैंताकाको वितण्डालाई सम्झनुपर्ने हुन्छ । त्यतिबेला काठमाडौँ उपत्यकाभित्र मात्र करिब ३०० जनाले ज्यान गुमाएका थिए भने देशभरमा गरी करिब एक हजार जनाले । के त्यो क्षतिको संस्थागत सम्झना राज्यसँग छ ? ३० वर्षअघिको बाढीपहिरोको त सम्झना राज्यसँग छैन भने ७० वर्ष अघिको के होस् ।

विपद् व्यवस्थापनको सन्दर्भमा हामी हरेक पटक मुख्यतः दुई वटा कुरामा चुक्ने गरेका छौँ– एउटा विपद् आउनुभन्दा अघिको पूर्वतयारीमा र अर्को विपद्को बेलामा हुनुपर्ने चुस्त र प्रभावकारी अन्तरनिकाय समन्वयमा । अहिलेसम्म विपद्का कारण हामीले जति जनधन गुमाएका छौंँ मुख्यत यही दुई कमजोरीका कारण गुमाएका छौं । मनसुनी विपद् मात्र होइन, भूकम्पमा पनि त्यही देखिएको छ । २०४५ को भूकम्पबाट पाठ सिकेको भए २०७२ को गोरखा भूकम्पमा त्यति धेरै क्षति ब्यहोर्नुपर्ने थिएन, अनि गोरखा भूकम्पबाट राम्रैसित पाठ सिकी त्यसअनुसार काम गरेको भए जाजरकोट भूकम्पमा अवश्य पनि जनधनको क्षति धेरै घटाउन सकिने थियो । तर वितेको घटनाबाट पाठ सिकेर सुध्रिने सायद हाम्रो संस्कार नै छैन । नत्र हरेक वर्ष पीडा, वियोग र क्षतिको चक्र घुमिरहेको टुलुटुलु हेरिरहनु पर्ने थिएन ।

गर्नै पर्ने काम

विपद् व्यवस्थापन एक जटिल र चुनौती पूर्ण काम त हुँदै हो तर यसले नवसिर्जनालाई अवसर पनि दिन्छ भन्ने यथार्थ बिर्सनु हुँदैन । विपद् त आउँछ नै, त्यसलाई रोक्न, छेक्न सकिंदैन तर त्यसबाट हुने जनधनको क्षतिलाई भने रोक्न वा न्यूनीकरण गर्न सकिन्छ, विपद्को चुरो कुरो बुझेका देशहरुले त्यसै गर्ने गरेका छन् । विपद्का सन्दर्भमा गर्नै पर्ने मुख्य काम वा लक्ष्य मानवीय क्षति हुन नदिनु हो । मानिसको जीवन यति अमूल्य हुन्छ, जसको क्षतिपूर्ति असम्भव हुन्छ । तसर्थ जुनसुकै विपद्मा पनि मानिसलाई जोगाउने पहिलो रणनीति हुनुपर्छ । यसमा वजेट छैन, साधन छैन, जनशक्ति छैन, आदेश छैन भन्ने जस्ता कुरा अक्षमताका प्रमाण मात्र हुन् ।

यदि हामीकहाँ राज्य संयन्त्रले मानिस जोगाउने रणनीतिलाई उच्च प्राथमिकतामा राखेको भए नक्खुमा चार घण्टासम्म मानिसहरुले ज्यान बचाई माग्न गुहार गर्दा पनि निरिह भएर बस्नुपर्ने थिएन । एक साधारण व्यक्तिले आँट गरेर दुई जनाको ज्यान बचाउन सकेका थिए । जब कुनै विपद् आइलाग्छ त्यसपछि हामी कहाँ अनेकौँ तहका बैठक बस्छन् । ती वैठकले निर्देशन दिने निर्णय गर्दछन्, जसको कुनै तुक छैन । त्यस्ता बैठक विपद् पूर्वतयारीको चरणमा बस्नु पर्छ, विपद्ले घेरी सकेपछि हैन । हाम्रो समाजमा एउटा आहान प्रचलित छ ‘माझीहरुले सल्लाह गर्दागर्दै सात गाउँ डुब्यो’ भन्ने । व्यवहारमा हाम्रो चलन ठ्याक्कै त्यस्तै हुने गरेको छ । तसर्थ बाढी, पहिरो, डुवान, शीतलहर, आगलागीजस्ता मौमसजन्य विपद् सुरु हुनुभन्दा पहिले नै सम्बन्धित निकाय, संघसंस्था आदिको बैठक बसी रणनीति तय गरेर कार्यन्वयन गर्नु पर्दछ । विपद् व्यवस्थापनका लागि सम्बन्धित प्राविधिक विज्ञहरुको सल्लाह र सहयोग लिनुपर्छ, प्रशासनिक कर्मचारीहरुका भरमा मात्र विपद् व्यवस्थापन गर्न खोजियो भने अहिले जे भएको हो त्यस्तै भइरहने छ ।

स्थानीय निकाय हाम्रो देशको सबैभन्दा महत्वपूर्ण र जनतासँग सोझै सम्बन्ध भएको निकाय हो । विप्द व्यवस्थापनको सन्दर्भमा स्थानीय निकायहरुलाई साधनसम्पन्न बनाउन अति जरुरी छ । यसका लागि प्रत्येक नगरपालिका र गाउँपालिकाले आफ्नो हरेक वडामा विपद् व्यवस्थापन कार्यदल गठन गरी निश्चित संख्यामा सक्षम जनशक्तिलाई विपद् व्यवस्थापनको तालिम दिएर विपद् स्वयमसेवकहरु तयार गर्नुपर्दछ । विपद् पूर्वतयारी, विपद् भइरहँदा र विपद्पश्चात त्यो जनशक्तिलाई स्रोत साधनसहित पूर्ण क्षमतामा परिचालन गर्न सकियो भने समुदाय धेरै हदमा सुरक्षित हुन्छ । विपद्मा सेना र प्रहरीको मात्र मुख ताक्दा धेरै क्षति भइसक्छ ।

विपद्मा अहिलेसम्म हामीले मार खाएको समन्वयको अभावले हो । एउटा निकाय र अर्को निकायबीच जुन सौहार्द्र सम्बन्ध र समन्वय हुनुपर्ने हो त्यो हामी कहाँ पटक्कै छैन । यसपालि पनि मौसम पूर्वानुमान महाशाखाले बेलैमा गरेको भविष्यवाणीलाई अरु निकायले गम्भीरतापूर्वक लिएर आवश्यक निर्णय गरेको भए राजमार्गमा भएको त्यो वियोग र विजोग टार्न सकिने थियो । नेपालमा निकाय र पदाधिकारीहरु भने धेरै छन् तर तिनको प्रभावकारिताको टिठलाग्दो हालत भने बितेका घटनाक्रमहरुले पटकपटक देखाएका छन् । जहाँसम्म यसपटक काठमाडौं उपत्यकामा बाढीको वितण्डाको सवाल छ, त्यसमा नदी, खोलानालाको हैन मानिसकै दोष छ । उपत्यकाभित्र बागमती, विष्णुमती, धोबीखोलालगायतका जति पनि खोलानाला छन् तिनको मूल स्रोत सुन्दरजीजल माथि छन् । त्यस क्षेत्रमा मनसुनको अवधिभर गम्भीर निगरानी गरेर पूर्वसूचना प्रणाली लागू गरेर मुहान क्षेत्रमा पानीको परिमाण सामान्यभन्दा बढी हुने वित्तिकै सार्वजनिक सूचना जारी गर्ने गरेमा बाढी शहरी इलाकामा प्रवेश गर्नुभन्दा अगावै मानिसहरुलाई सजिलै सुरक्षित स्थानमा सार्न सकिन्छ । अहिले हातहातमा मोबाइल, एफएम, अनलाइन, सामाजिक सञ्जाल आदि आमसञ्चार माध्यमहरु सक्रिय भएकाले तत्काल आमसञ्चार र साइरनलगायतका माध्यमबाट सूचना प्रशारण गरी मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन कुनै समस्या छैन । तर त्यस्तो सुरक्षित स्थान भनेको कहाँ हो ? त्यहाँ छिटो कसरी पुग्न सकिन्छ भन्नेबारे चाहीँ पूर्व तयारीकै बेलामा निक्र्यौल हुनुपर्छ ।

विपद्सँग सामना गर्न सेना, प्रहरी मात्र हैन नगर प्रहरी, राष्ट्रिय सेवा दल, स्काउट, कलेजका विद्यार्थी सङ्गठन, राजनीतिक पार्टीका युवा दस्ता, स्थानीय सामाजिक तथा गैरसरकारी संस्थाका स्वयमसेवक आदिलाई तालिम र अत्यावश्यक साधनहरु दिएर सक्षम बनाउनुपर्छ । यस्तो काममा बजेट छैन भनेर पन्छिनु हुँदैन । किनकी अहिले एक लाख खर्च गर्न बजेट छैन भनेर पन्छिएको कारण पछि एक करोडभन्दा बढीको क्षति व्यहोर्न पर्ने स्थिति आउन सक्छ । विपद्सँग सामना गर्ने राष्ट्रिय क्षमताको विकास गर्नु अति जरुरी छ । अहिले हामी कहाँ यस किसिमको क्षमता शून्यप्रायः छ । त्यसैले सेना र प्रहरीलाई थेग्नै नसक्ने दबाब पर्न गएको छ । सेना, प्रहरीसँग पनि विपद्सम्बन्धी पर्याप्त साधन, स्रोत छैनन् ।


जसरी पनि जनधनको सुरक्षा गर्ने वृहद् राष्ट्रिय अभिष्ट पूरा गर्न राज्यले परिस्थितिअनुसार अप्रिय निर्णय लिन र त्यसलाई कार्यान्वयन समेत गर्न खुट्टा कमाउनु हुँदैन । लोकप्रिय बन्ने लालचमा वा कुनै दबाब समूह, स्वार्थ समूहको मोलाहिजामा परेर जनधन जोगाउने आफ्नो मूल दायित्वबाट विमुख भएमा पछि ठूलो मूल्य चुकाउनु पर्नेहुन्छ । जस्तै मौसम प्रतिकूल भएर भारी वर्षा हुने स्थितिमा ठीक अवस्थामा नरहेका मार्गहरुमा जोखिमपूर्ण यात्रा गर्न प्रतिवन्ध लगाउन सक्नुपर्दछ । यसमा यातायात व्यवसायीको दबाबमा आएर त्यस्तो निर्णय लिन नसकेमा जनधनको ठूलो क्षति व्यहोर्नपर्ने हुन्छ । अहिले पनि दशैं अगाडि देशका धेरै भूभागमा सुरक्षित आवजजावत गर्न सकिने सडकको अवस्था छैन । अझै मनसुन पनि बाँकी नै छ । यस्तोमा राज्यले ‘यसपालिको दशैं जो जहाँ छौंँ त्यहीं बसेर मनाऔंँ, मौसम र बाटोको अवस्था सुधार भएपछि तिहार भने घर गएर मनाउँला’ भनेर सार्वजनिक सूचना जारी गर्न र त्यसलाई कडाइका साथ लागू गर्न सक्नुपर्छ । त्यति गर्न नसके पनि कम्तीमा पनि जोखिमपूर्ण अवस्थामा रहेका मार्गहरुमा रात्रि आवागमन पूर्णतया निषेध गर्न सकिन्छ । दशै हरेक वर्ष आउँछ तर मानिसको जिन्दगी फर्केर आउँदैन ।

गर्नै नहुने काम

अक्सर कुनै विपद परेको घटनास्थलमा सर्वसाधारणले ‘खै सरकार नै आएन, राज्यको उपस्थिति नै छैन’ भनेर गुनासो गरेको देखिन्छ । वास्तवमा यो ठीक होइन । घटनास्थलमा तत्कालै प्रधानमन्त्री वा कुनै मन्त्री गएर समस्याको समाधान हुँदैन, बरु भिआइपीको स्वागत, सत्कार, तामझाम, तस्विर खिच्ने आदि कामले उद्धार कार्यमा नराम्रो असर पर्दछ । कुनै भिआइपी नपुग्दैमा सरकार नपुगेको भन्ने हुँदैन । नीति, नियम र पद्धतिले काम गरेको हुनुपर्छ, पदाधिकारीको भौतिक उपस्थितिले होइन । त्यसैले त्यस्तो बेलामा नागरिकले मन्त्री खोज्ने होइन, प्रभावकारी काम खोज्ने हो । प्रधानमन्त्री वा सम्बन्धित मन्त्रीहरुले आफ्नो संयन्त्रबाट निगरानी गर्नुपर्दछ ।हामी कहाँ ‘उद्धार’ शब्द गलत अर्थमा प्रयोग भइरहेको पाइन्छ । उद्धार भनेको कुनै विपद्मा परेको मानिसलाई सकुशल त्यस विपदबाट मुक्त गर्नु वा ज्यान बचाउनु हो । तर यहाँ भग्नावशेष वा पहिरोमा पुरिएर ज्यान गुमाएको मानिसको लास निकाल्ने कार्यलाई समेत उद्धार भन्ने गरेको पाइन्छ, त्यो गलत हो । उद्धार जीवित मानिसको मात्र हुन्छ ।

विपद्को संवेदनशील अवस्थामा पनि नाजायज फाइदा उठाउने अत्यन्तै अमानवीय र लुब्ध चरित्र हाम्रा कतिपय व्यापारी र व्यवसायीहरुमा पाइन्छ । त्यो एकदमै निन्दनीय र दण्डनीय प्रवृत्ति हो । यसपालि पनि अविरल वर्षाले राजमार्ग अबरुद्ध भएको मौका छोपी विमान सेवा कम्पनीहरुले समेत बाध्यतामा परेका यात्रुहरुसँग तेब्बर भाडा असुलेको गुनासो व्यापक रुपमा आयो । यस्ता विषयमा सरकार गम्भीर हुनुपर्छ । यस सन्दर्भमा ९० सालको महाभूकम्पपछि खाद्यान्नको भाउ नबढाई यथावत् राख्न नमान्ने साहुमहाजनलाई तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले दिएको जवाफ चर्चित मानिन्छ । समयमै प्रभावकारी पूर्वतयारी गर्न नसक्दा गत साता दुई दिनको अविरल बर्षामै नेपालको विपद्सँग सामना गर्न सक्ने क्षमता उदाङ्ग भएको छ । अब करिब तीन महिनापछि विशेषगरी तराई भेगमा आउने शीतलहरबाट यसपालि एक जना मानिसले पनि जीवन गुमाउनु नपर्ने सुनिश्चित गर्न के तीन तहका सरकार र सबै सम्बन्धित पक्ष तयार छनर त ?

(लेखक राससका पूर्व महाप्रबन्धक तथा ‘विपत् पत्रकारिता’ पुस्तकका सह–लेखक हुनुहुन्छ)

दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

काठमाडौँ । सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो ।

सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो ।   

बिपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडामा बगाएको सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारी

काभ्रे । काभ्रेको रोशी खोलाको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ।

रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

विभागले बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम सुरु गरेको हो। रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाईमा कटान गरेको छ।

सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताए। ‘हिजोदेखि काम थालिसकेका छौँ, अब दुई दिनभित्र एकतर्फी भए पनि यातायात सञ्चालन गर्नेगरी अस्थायी सडक बनाउने काम गर्नेछौँ’, उनले भने।

उनकाअनुसार छिट्टै सडक सञ्चालन गर्न सकिने ‘क्रस-डाइभर्ट’ विधि खोलामा पानीको बहाव नघटेकाले हाललाई असम्भव छ। बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाइभर्ट गर्न असम्भव भएको उनले बताए।

अविरल वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि स्थानीय तथा यात्रु अलपत्र परेका थिए। उनीहरुलाई गत आइतबारदेखि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एकमात्र छोटो दुरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ। माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न असहज छ।

उक्त राजमार्गमा रोकिएका सवारी सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मत थालिएको हो। सडक डिभिजन भक्तपुरले मंगलबारदेखि रोशीले सबैभन्दा बढी क्षति गरेको सडक १ नं पुलदेखि नेपालथोकसम्म मर्मत सुरु गरेको हो।

पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल-भकुण्डेबेँसी सडक गत सोमबारदेखि नै एकतर्फी सञ्चालन गरिएको छ। भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मत अघि बढाइएको सडक डिभिजनले जनाएको छ।

डिभिजनले काभ्रेतर्फबाट स्काभेटर लगायत चार उपकरण प्रयोग गरेको छभने नेपालथोकबाट पाँच डोजरलगायतका उपकरण प्रयोग गरेको छ। जनकपुरबाट आएका पाँच उपकरणले मंगलटार र नार्केसम्म बाटो मर्मत गरी सडकमा अलपत्र सवारीसाधन सिन्धुलीतर्फ फर्काउने योजना छ।

हालसम्म भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेको भए पनि २९ किमिको यस खण्डमा करिब दुई किलोमिटर सडक बाढीले पूर्ण रुपमा बगाएको अनुमान छ।

राजमार्गको कुल एकसय ६० किमीमध्ये अविरल वर्षाले तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पुगेको कार्यालयले जनाएको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड रूपैयाँ लागत थियो। सो रकम हालको मूल्यांकन अनुसार ५० करोड रूपैयाँभन्दा माथि हो। क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानको क्षतिको मूल्यांकन प्रारम्भिक अनुमान दुई अर्ब रूपैयाँभन्दा माथि रहेको डिभिजन प्रमुख योगेशले बताए।

बीपी राजमार्गको भकुण्डे-नेपालथोक सडकको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। अवरुद्ध राजमार्गको नेपालथोक-खुर्कोट सडक भने सोमबारदेखि सञ्चालनमा ल्याइएको छ।

जाइकाको सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास सडक) निर्माण सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते सम्पन्न सडक जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो।

हनुमानढोकाको दशैंघरमा राखियो जमरा

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरुको महान् पर्व बडादशैँ आजबाट सुरु भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।

बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा तथा दशैँघरमा विधिपूर्वक जौको जमरा राख्ने गरिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

आज वसन्तपुरको हनुमानढोकास्थित दशैँघरमा बिहान ९ बजेर १६ मिनेटको शुभसाइतमा विधिवत रुपमा जमरा राखिएको छ ।

राष्ट्रपति पौडेलद्वारा राष्ट्रपति भवनमा घटस्थापना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन् ।

दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उहाँले घटस्थापना गरेर जमरा राखेका हुन् ।

आज विधिपूर्वक जमरा राखिएको स्थानमा महानवमीसम्म दुर्गा सप्तशति पाठका साथै वैदिक नियमअनुसार नवदुर्गाको पूजाआराधना गरिन्छ । विजयादशमीका दिन देवी विसर्जन गरी घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी प्रसादस्वरुप टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ ।

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

गोरखा । गोरखा दरबारको दसैँघरमा बिहीबार विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।


परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उनले बताए ।


“गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौ को जमरा राखिएको छ”, उनले भने, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एक/एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।”


यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ ।


बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।

लेबननमा हिज्बुल्लाहसँगको लडाइँमा आठ इजरायली सैनिकको मृत्यु

बीबीसी । इजरायली सेनाले दक्षिण लेबननमा लडाइँका क्रममा आफ्ना आठ जना सैनिकको मृत्यु भएको जनाएको छ । लेबननी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध स्थल आक्रमण सुरु गरेयताको यो इजरायलले बेहोरेको पहिलो मानवीय क्षति हो ।

इरान समर्थित हिज्बुल्लाहले लडाइँमा इजरायली ट्याङ्कहरू ध्वस्त पारेको जनाउँदै इजरायली फौजलाई फिर्ता पठाउन आफूसँग पर्याप्त बल र अस्त्र भएको जनाएको छ । यसअघि इजरायली सेनाले थप स्थल सेना र बख्तरबन्द फौज लेबननमा भइरहेको कारबाहीमा जोडिएको जनाएको छ ।

इजरायलले उक्त कारबाहीको उद्देश्य लेबननी सीमावर्ती गाउँका ‘आतङ्कवादी पूर्वाधार’ नष्ट गर्नु रहेको जनाउँदै आएको छ । लेबननमा स्थल अतिक्रमण गरेको दोस्रो दिन इजरायली फौजले पहिलो पटक हिज्बुल्लाह लडाकुको सामना गरेका थिए ।

इजरायल डिफेन्स फोर्सेस (आइडीएफ)ले विज्ञप्तिमार्फत् हवाई सेनाको साथ पाएका आफ्ना सैनिकहरूले कैयौँ दक्षिण लेबननी क्षेत्रमा ‘आतङ्कवादीहरूलाई मारेको र उनीहरूका आतङ्कवादी पूर्वाधारलाई ठिक निशानामा पर्ने अस्त्र र नजिक दूरीबाट लडेको’ जनाएको थियो ।

पछि आइडीएफले त्यस क्रममा आफ्ना आठ जना सैनिक मारिएको घोषणा गरेको छ । मारिनेमा धेरैजसो कमान्डो छन् । विवरणहरूका अनुसार ६ जनालाई हिज्बुल्लाह लडाकुहरूले एम्बुसमा पारेका थिए भने अन्य दुईजना मोर्टार हमलामा परेका थिए ।

एस्टन भिल्लाको ऐतिहासिक जित

काठमाडौं । एस्टन भिल्लाले बायर्न म्युनिखलाई १-० ले हराउँदै ऐतिहासिक जित हात पारेको छ। कोलम्बियन स्ट्राइकर जोन डुरानले खेलको अन्तिम ११ मिनेटमा म्यानुएल नुयरलाई चकित पार्दै गोल गरे, जसले ४१ वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको भिल्लालाई दुई खेलमा लगातार जित दिलायो।

बायर्नले भिल्ला पार्कमा अपराजित यात्रा कायम राख्दै उच्च फर्ममा प्रवेश गरेको थियो। तर, प्रशिक्षक उनाई एमरीको खेल योजनाले बायर्नलाई निरुत्साहित बनायो।

७९औं मिनेटमा डुरानले म्यानुएल नोयरलाई उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। डुरानले पाउ टोरेसको लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रणमा लिएर नुयरलाई अगाडि नै छलेर लामो दूरीबाट गोल गरे।

प्रिन्स विलियम पनि ४०,००० भन्दा बढी समर्थकहरूसँगै भिल्ला पार्कमा थिए, जसले भिल्लालाई प्रेरित गरे। पाँच वर्षअघि दोस्रो श्रेणीमा संघर्ष गरिरहेको एस्टन भिल्ला एमरीको नेतृत्वमा छोटो समयमा चमत्कारी रूपमा सुधारिएको छ।

युवटोन ब्वाइजविरुद्धको ३–० को सहज जितपछि, ६ पटकको युरोपियन च्याम्पियन बायर्न म्युनिखको आगमन भिल्लाका समर्थकहरूको लागि विशेष क्षण बन्यो।

बायर्नका स्टार स्ट्राइकर ह्यारी केनले चोटको बाबजुद मैदानमा उत्रिएका थिए, तर एमरीको सुनियोजित रक्षात्मक रणनीतिले बायर्नलाई रोक्न सफल भयो।

खेलको सुरुवाती समयमा बायर्नले बलको नियन्त्रण राखेको थियो, तर एस्टन भिल्लाको गोलरक्षक एमी मार्टिनेजले ह्यारी केनको हेडरलाई उत्कृष्ट बचाउ गरे।

जोन डुरानको गोलपछि, खेलको अन्त्यसम्म बायर्न म्युनिखले बराबरीको लागि निकै प्रयास गरे। तर, मार्टिनेजको शानदार बचाउले अन्त्यसम्म बायर्नलाई निराश बनायो।

भिल्ला पार्क खेलअघि, खेलको क्रममा, र खेलपछि उत्साहले भरिएको थियो। मुख्य प्रशिक्षक उनाई एमरीले यस रातलाई क्लबका सबै सदस्यहरूका लागि अविस्मरणीय क्षणका रूपमा वर्णन गरे।

एमरीले भने, ‘म हाम्रो समर्थकहरू, कोचहरू, मालिकहरू, र यहाँ काम गर्ने सबैका लागि धेरै खुशी छु। बायर्न म्युनिख जस्तो स्तरको टिमविरुद्ध खेल्नु र जित्नु एक महान उपलब्धि हो।’

सर्वोच्चका उपरजिष्ट्रार घिमिरेले बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने

काठमाडौं । सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दामा आफूले तयार पारेको प्रतिवेदन फिर्ता लिने भएका छन् ।

सामाजिक संजालमार्फत घिमिरेले निवेदन फिर्ता लिने बताएका हुन् । उनले अदालत खुला हुँदा आफ्ना भनाइसहित फिर्ता लिन औपचारिक निवेदन दिने उल्लेख गरेका छन् ।

उनले आफू कसेको प्यादा नबन्नेसमेत बताएका छन् । उनले लेखेका छन्, ‘म हिजोदेखि निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैं यसकै लडाई लड्नु भयो । बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु । अदालत खुला हुँदा आफ्ना भनाईसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिन । ३६४ दिन आज्ञापालक कुकुर जस्तै बनियो । एक दिन स्वतन्त्र हुन चाहन्छु ।’

उपरजिस्ट्रार घिमिरेले प्रधानन्यायाधीश विश्वम्र श्रेष्ठको बिदाइ लगत्तै यस्तो लेखेका हुन् ।
उपरजिष्ट्रार घिमिरेको प्रतिवेदनका आधारणमा सर्वोच्चले बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलनाको मुद्दा चलाएको छ । घिमिरेविरुद्धको पेसी कार्तिक १ गतेलाई तोकिएको छ ।

‘चाहिँदैन मलाई सिसाको महल…’

गण्डकी ।


         ‘चाहिँदैन मलाई सुनको दरबार
चाहिँदैन मलाई हिरामोती हार
यसै राम्रो छ मेरो पैदल यात्रा
चाहिँदैन मलाई टल्कने कार…’


जनगायक जीवन शर्माले यो गीत गाउँदा दर्शकदीर्घाबाट एकनासले तालीको गड्गडाहट सुनिन्थ्यो । कसैले शर्माको स्वरमा स्वर मिलाए, कतिले नाचेर साथ दिए । बुधबार सन्ध्यापख जनगायक शर्मालाई रक्तिम सांस्कृतिक अभियानले पोखरा सभागृहको मञ्चमा उभ्याएपछिको माहोल यस्तै थियो । उनले ‘चाहिँदैन मलाई सिसाको महल…’, ‘सिमली छायाँमा बसी…’ लगायत आफ्ना चर्चित सनाए ।


वर्षौँपछि घर फर्केको प्रवासीको मनोभावना समेटिएको ‘म हिँडेको गाउँको बाटो मुस्कुरायो…’बाट गाउन सुरु गरेका शर्माले पूरा अवधि दर्शकको मन जितिरहे । गायन प्रस्तुति सँगसँगै उनले गीतको रचनागर्भ, तत्कालीन समाज र परिवेशबारे पनि प्रसङ्ग उप्काउन भ्याए । शर्माले गणतन्त्र स्थापनापछि पनि भ्रष्टचारले मुलुकलाई गाँजिरहेपछि ‘चाहिँदैन मलाई सुनको दरबार…’ गीत जन्मिएको सुनाए ।


“भ्रष्टचार गरेर ठुल्ठुला दरबारमा बस्ने, चिल्ला कार चढ्ने र कालो धन थुपार्नेको मनमा चिसो पस्छ कि भनेर यो गीत गाएको हुँ तर सोचेजस्तो हुन सकेको छैन, अहिले पनि अवस्था उस्तै छ”, शर्माले भने । उनले श्रम र पसिना बगाएर सम्पत्ति आर्जन गर्नेहरूका प्रति भने आफूले सधैं सम्मान गर्ने बताए । “राम्रो घर, गाडी त श्रमिक र मजुदुरले पनि पाउनुपर्छ, मालिकले मात्र होइन, तिनै गरिब, सर्वहाराको सुदिन पक्कै आउँछ भन्दै हामीले गीत गाउँदै हिँडेका छौँ”, उनले भने ।


उनले सुशासन र सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणका लागि सांस्कृतिक फाँटबाट आफूहरूले सँधै राज्यलाई घच्घच्याइरहेको बताए । शर्माले नेपालको जनसांस्कृतिक आन्दोलनलाई नयाँ ढङ्गले पुर्नजागृत गर्नुपर्ने बेला आएको धारणा राखे । उनले आफ्नो बहुचर्चित गीत ‘सिमली छायाँमा बसी…’ गाउँदा कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायत मञ्चमै उक्लेर नाचेका थिए ।


उक्त विविध जनसांस्कृतिक कार्यक्रममा रक्तिम र सामना परिवारका कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गति माथि खबरदारी गरेका थिए । न्याय, मुक्ति र समानताका पक्षमा कलाकारहरूले स्वर भरे । सर्वहारा वर्गका दुःख, वेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे । दर्जनबढी कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए ।


कार्यक्रममा थारु समुदायमा प्रचलित गीतसहित टप्पा नाच र अपेरा पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक दलबहादुर विकले ‘पाखुरी यिनै हुन्…’, गायिका सुशीला थापा र उदय रिजालले ‘पूर्व क्षितिज…’लगायत गीत सुनाएका थिए ।


व्यवस्था फेर्न जनताले बलिदानीपूर्ण सङ्घर्ष गरे पनि अवस्था उस्तै रहेकाले परिवर्तनका गीत गाउँदै हिँड्नुपरिरहेको र समाजमा अहिले पनि विभेद तथा शोषण कायमै रहेकाले गीतसङ्गीतमार्फत खबरदारी गरिहरनुपरको कलाकारहरूको कथन थियो ।


देशमा देखिएका बेथिति, विसङ्गति, भ्रष्टाचार र महँगीका विरुद्ध सांस्कृतिक सचेतना नथा जनजागरणका लागि सांस्कृतिक अभियान सञ्चालन गरिएको रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ज्ञवाली नियुक्त

बागमती । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

प्रदेश सरकार मन्त्रीपरिषद्को बुधबार साँझ बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा पाल्पा निवासी डा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

यसअघि प्रतिष्ठानको उपकुलपतिका लागि डा ज्ञवालीसहित सर्लाहीका डा हरिबहादुर खड्का र काठमाडौँ निवासी डा सुजन मानन्धरको नाम सिफारिस भएको थियो ।

डा ज्ञवालीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजिमा मास्टर्स गरेका छन् । उनी महाराजगन्ज मेडिकल क्याम्पस ‘एसोसियट प्रोफेसर’समेत हुन् । डा ज्ञावालीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव भएर काम गरिसकेका छन् ।

चारवर्षे कार्यकाल पूरा गरी प्रतिष्ठानको उपकुलपति डा विश्वराज जोशी बिदा भएपछि गत साउन १५ गतेदेखि सो पद रिक्त थियो । यसैगरी आजैको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले पठाएका तीन जना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रिक्त सचिव पदमा बिदुर खनाललाई जिम्मेवारी दिएको छ । यस्तै प्रदेश नीति तथा योजना आयोगको सचिवमा केशवराज सुवेदी, प्रदेश लोकसेवा आयोगको सचिवमा तुलसीनाथ गौतमलाई जिम्मेवारी दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता लामिछानेले जानकारी दिए ।

प्रक्रिया पूरा गरेर आएमा निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी रोकिँदैनः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण सम्पन्न भइसकेका र प्रक्रिया पूरा गरेर भुक्तानी माग भई आएका आयोजनाको रकम नरोकिएको बताएका छन् ।

आफूले सरकारबाट पाउनुपर्ने भुक्तानी माग गर्दै बुधबार ज्ञापनपत्र बुझाउन गएको नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डललाई अर्थमन्त्री पौडेलले हालसम्म करिब २० अर्ब बराबर भुक्तानी भइसकेको र बाँकी रकम पनि प्रक्रिया पुर्याएर भुक्तानी गर्ने बताए ।

केही आयोजनामा स्रोत सुनिश्चितताबिनै बहुवर्षीय ठेक्का लागेकाले समस्या भएको उल्लेख गर्दै  अर्थमन्त्री पौडेलले निर्माण सम्पन्न भइसकेका र प्रक्रियामा गएका आयोजनाको भुक्तानी नरोकिने स्पष्ट पारे । विकास आयोजनाको गुणस्तर कायम गर्न र तोकिएको समयमा निर्माण सम्पन्न गर्न पनि पौडेलले आग्रह गरे ।

महासङ्घले बुधबार अर्थ मन्त्रालयमा पुगेर सरकारी ठेक्काको भुक्तानी माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । लामो समयदेखि भुक्तानी रोकिँदा आफूहरू समस्यामा परेकाले जतिसक्दो चाँडो पैसा निकासा गर्न महासङ्घले माग गरेको छ । आफूहरूले पाउनुपर्ने रकम दसैंअगावै  भुक्तानी गर्न व्यवसायीहरूले माग गरेका थिए ।

“विगत लामो समयदेखि राज्यले राष्ट्रिय राष्ट्रिय गौरवको आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, सङ्घबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताललगायत आयोजनाको निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब  ४५ अर्ब बराबर छ”, महासङ्घले अर्थमन्त्री पौडेललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

सरकारबाट समयमा भुक्तानी नपाउँदा बैंकको ऋणको किस्ता तथा सरकारलाई बुझाउनुपर्ने करसमेत तिर्न नसकेको गुनासो व्यवसायीहरुको थियो ।

आर्थिक वर्ष २०७९/८० यताकै भुक्तानी पाउन बाँकी रहेको महासङ्घको भनाइ छ । सरकारले पटकपटक भुक्तानी गर्ने आश्वासन दिए पनि आफूहरूले रकम नपाएका कारण समग्र निर्माण उद्योग नै सङ्कटको अवस्थामा पुगेको महासङ्घको ज्ञापनपत्रमा उल्लेख छ ।

सार्वजनिक खरिद नियमावली २०६४ (तेह्रौं संशोधन) को नियम १० मा भएका व्यवस्थाअनुसार आयोजनाको थप भएको अवधिभित्र सम्पन्न नभएका आयोजनाको ठेक्का तोड्नुपर्ने प्रावधानले व्यवसायीहरूलाई थप समस्या निम्ताएको गुनासो पनि महासङ्घले गरेको छ ।

नियमावलीको व्यवस्थाअनुसार म्याद थप भएका तर बजेट अभाव, डिजाइन परिमार्जन, रुख कटान, मुआब्जा, स्थानीयको विवाद, भुक्तानीको समस्यालगायत कारण म्याद थप भएको अवधिभित्र पनि सम्पन्न नभएका आयोजनाई सरकारले विशेष व्यवस्था गरेर निकास खोज्न माग गरेको छ ।

साथै यसैहप्ता आएको बाढी र पहिरोका कारण धेरै वटा निर्माण आयोजना समस्यामा परेको र तोकिएको अवधिमा कामसक्ने अवस्था नरहेकाले विपद्का कारण समस्यामा परेको आयोजनाको निर्माण सम्पन्न गर्ने म्याद थपका लागि पनि महासङ्घले माग गरेको छ ।

नेपालका विपद पीडितका लागि चिनियाँ रेडक्रसले गर्‍यो एक लाख अमेरिकी डलर सहयोग

काठमाडौं । चिनियाँ रेडक्रस सोसाइटीले विपदका घटनामा परेका नागरिकहरूको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ ।

बुधबार नेपालका लागि चीनका राजदूत चेन सङले गृह मन्त्रालयमार्फत उक्त चेक रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको सहयोगका लागि गृह मन्त्रालयमार्फत् नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ ।

चेक हस्तान्तरणका क्रममा राजदूत सङले विपदमा परी ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना व्यक्त गरे । उनले विपदमा चिनियाँ सरकारले थप सामग्री समेत सहयोग गर्ने बचन दिएका छन् ।

‘सुगर ड्याडी’ पुर्पक्षका लागि जेल चलान

काठमाडौं । अदालतले ‘सुगर ड्याडी’ भनेर चिनिने आशिष देउलालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा देउलासँगै अन्य तीनजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले देउलासँगै उनका साथीहरू उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’बाट परिचित देउलाको समूहले युवायुवतीलाई रडले डामेर यातना दिने गरेका थिए ।

डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री गुरुङ

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत डिजिटल फाउन्डेसन कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत नेपाल सरकारले ‘डिजिटल सार्वजनिक पूर्वाधार’ निर्माण गर्ने लक्ष्य राखेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा आज आयोजित तीनदिने दोस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्य–२०३० को सफल कार्यान्वयनका लागि सरकारको नीति तथा कार्यक्रम डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता दिने दिशामा अघि बढ्ने बताए।

‘सरकारले चालु आर्थिक वर्षमा ललितपुरको खुमलटारमा सूचना प्रविधि हब स्थापना र ज्ञान पार्क स्थापनालाई प्राथमिकतामा राखेको छ, यी सूचना प्रविधि दशकको कार्यान्वयनका लागि आधारभूत स्तम्भ हुने विश्वास गरेका छौँ’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने ।

उनले सरकार सूचना–प्रविधिको विस्तृत कार्यान्वयन योजना बनाउने प्रक्रियामा रहेकाले डिजिटल रूपान्तरणका लागि नीति, कानुनी र पूर्वाधारका बाधाहरूलाई सम्बोधन गरी निजी क्षेत्रको दिगो पूर्वाधारसहितको ‘डिजिटल इकोसिस्टम’ निर्माणमा सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र सम्भव गराइने बताए ।

मन्त्री गुरुङले सञ्चार आधुनिक शासनको मुटुमा भएकाले नागरिकसम्म वास्तविक समयमा जडान गर्न, तथा सूचना प्रविधिमार्फत जानकारीलाई प्रभावकारी रूपमा साझा गर्न तथा थप पारदर्शी रूपमा सेवाहरू प्रदान गर्न सक्षम बनाउने बताए।

मन्त्री गुरुङले मन्त्रालयले विद्यमान नीति, कानुन र संरचनामा नयाँ तर्जुमा र आमूल परिवर्तनलाई प्राथमिकता दिएको बताउँदै सूचना प्रविधि तथा साइबर सुरक्षा ऐनको मस्यौदा सरोकारवालाको सहमतिको चरणमा रहेको बताए।

कार्यक्रममा केयुका उपकुलपति प्रा डा भोला थापाले सूचना प्रविधिले निम्त्याउने चुनौतीलाई अवसरमा बदल्ने चुनौती प्रमुख विषय रहेको बताए।

कांग्रेसद्वारा भ्रातृ संस्थाका महाधिवेशन गर्न तीन निर्देशन समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका भ्रातृ संस्थाका महाधिवेशन निर्धारित सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याइ आवश्यक निर्देशनसमेत गर्न विभिन्न तीन समिति गठन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २३ गतेको निर्णय बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले बुधबार नेपाल महिला सङ्घ, नेपाल तरूण दल र नेपाल विद्यार्थी सङ्घको महाधिवेशन आगामी चैत मसान्तसम्ममा अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन समिति गठन गरेका हुन् ।

नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री उमाकान्त चौधरी तथा सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र रुक्मिणि कोइराला रहेका छन् ।

त्यस्तै नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा सदस्यमा केन्द्रीय सदस्यद्वय र सरिता प्रसाइं र जीतजङ्ग बस्नेत छन् ।

नेपाल विद्यार्थी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री किशोरसिंह राठौर तथा सदस्यहरूमा केन्द्रीय सदस्यद्वय राजिव ढुङ्गाना र प्रतिमा गौतम रहेका पार्टी कार्यालयले जनाएको छ ।

हेलिकप्टर दुर्घटनामा भारतमा तीन जनाको मृत्यु

नयाँदिल्ली । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६:४५ बजे दुर्घटना हुदाँ हेलिकप्टरमा आगो लागेको थियो । ।

दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी देवेन्द्र पोटफोडले पत्रकारहरू समक्ष बताउनु भएको छ । उनले आफुहरु घटनास्थलमा पुग्दा, हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गरेका छन् ।

उनले दुर्घटनामा मृत्यु वरण गरेका तीनैजनालाई निकाली उनीहरूलाई प्रहरीलाई हस्तान्तरण गरेको बताएका छन् । हेलिकप्टर विपक्षी राष्ट्रवादी काङग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ ।

दुर्घटनाको आधिकारिक कारण अहिलेसम्म पत्ता लागेको छैन यद्देपी स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेकोले दुर्घटना भएको रिर्पोट गरेका छन् ।

भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु

हनोई । ‘एच५एन१’ बर्ड फ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ ।

आधिकारिक भियतनाम समाचार एजेन्सी (भिएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरुको मृत्यु भएको हो ।

‘नेसनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस”को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु ‘एच५एन१ टाइप–ए भाइरसको सङ्क्रमणबाट भएको भिएनएले जनाएको छ ।

चिडियाखानाहरूले यस विषयमा कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था ‘एजुकेशन फर नेचर भियतनाम (इएनभी)’ ले सन् २०२३ को अन्त्यमा भियतनाममा कुल ३ सय ८५ बाघ बन्दी अवस्थामा रहेको बताएको छ । सन् २०२२ देखि एच५एन१ सहित इन्फ्लुएन्जा भाइरसका कारण स्तनपायीहरूमा घातक प्रकोप बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

भियतनामले मार्चमा विश्व स्वास्थ्य सङ्गठनलाई यस भाइरसबाट मानिसको मृत्यु भएको जानकारी दिएको थियो । 

म्यानमाबाट ५० हजारभन्दा बढी अवैध विदेशी निर्वासित

यांगन (म्यानमा)  । म्यानमाले सन् २०२३ अक्टोबर देखि २०२४ अगस्ट सम्ममा ५० हजार भन्दा बढी अवैध विदेशीहरूलाई निर्वासित गरेको म्यान्माको सरकारी मिडिया मिररले बुधबार रिपोर्ट गरेको छ ।

यस अवधिमा २८ देश तथा क्षेत्रका जम्मा ५४ हजार ४३३ जनालाई विश्वब्यपी रुपमा निर्धारित प्रक्रियागत रुपमा निष्कासन गरिएको जनाइएको छ ।

मङ्लबार म्यानमा प्रहरी दिवसको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा म्यानमाको राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लाइङले पाँच छिमेकी देशसँग सीमा सम्पर्क कार्यालय (बीएलओ) को सञ्जाल स्थापनाको उद्देश्य अग्रिम जानकारी प्राप्त गर्नु तथा सीमापार अपराधमा प्रभावकारी रूपमा लड्नु रहेको बताएका छन् ।

समयमै सूचना आदान प्रदान गर्न सहज बनाउन बीएलओको बैठक गर्न पनि उनले आग्रह गरेका छन् । 

राष्ट्रपति पौडेलले एक महिनाको तलव उद्धार कोषमा जम्मा गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएका छन् ।

त्यसैगरी राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलवसुविधा कोषमा प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

काठमाडौँ । अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले यादवको नाम अनुमोदन गरेको हो ।

यादवले समितिमा आजै आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनले समितिमा पेस गरेको कार्ययोजानमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अष्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एव विस्तृत बनाउन कटिबद्ध रहने उल्लेख गरेकी छन् ।

प्रधानन्यायाधीशमा राउत अनुमोदन

काठमाडौँ । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । यसअघि आजै राउतमाथि संसदीय सुनुवाइ भएको थियो ।

समितिले मंगलबार उजुरीकर्तासँग भिडियो छलफल गरेको थियो । त्यसपछि उनलाई प्रधानन्यायाधीशमा अनुमोदन गरिएको हो । उनले २४ बुँदे योजना पेस गरेका थिए । संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

दीपेन्द्र आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिए

काठमाडौँ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी–२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । उनी यसअघि छैटौं स्थानमा थिए ।

त्यस्तै अलराउण्डरको शीर्ष स्थानमा भने इङ्ल्याण्डका लियाम लिभिङस्टोन रहेका छन् । सूचीमा तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बाबेका सिकन्दर राजा, पाँचौं स्थानमा श्री लंकाका वानिन्दु हसरंगा , छैटौ स्थानमा अफगानिस्तानका मोहमद नवि, सातौं स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन् ।

यस सूचीमा नेपालका कुशल मल्ल ६ स्थान तल झर्दै ४०औं स्थानमा पुगेका छन् । त्यस्तै नेपालका गुलशन झाले अलराउण्डरको वारियतामा ११ स्थानको सुधार गर्दै ५३औ स्थानमा उक्लिएका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि ५३औ स्थानमै छन् ।

जुम्लाबाट पाँच हजार आठ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला निर्यात

जुम्ला । जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका कृषि प्रसारण अधिकृत शेरबहादुर भण्डारीले गत साउनदेखि यही असोज ८ गतेसम्ममा सडक तथा हवाई यातायातमार्फत स्थानीय स्याउ बाहिरी जिल्ला पठाइएको जानकारी दिए। जुम्लाका आठ वटै स्थानीय तहमा गरी करिब १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको उनले बताए।

जिल्लामा चार हजार दुई सय हेक्टरमा स्याउखेती भए पनि उत्पादन भने दुई हजार आठ सय हेक्टरमा मात्र हुने गरेका जानकारी दिँदै अधिकृत भण्डारीले आगामी कात्तिकको अन्तिम सातासम्म स्याउ उत्पादन र निर्यातको यकिन विवरण प्राप्त हुने बताए।

आठवटै स्थानीय तहका करिब १६ हजार परिवार स्याउ खेतीमा निर्भर रहेका जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए। बगैँचामा पुगेर व्यापारीले प्रतिकेजी रु ६५ का दरले स्याउ खरिद गर्दै आएका छन् ।

जिल्लामा स्थानीय जातका जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फूजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय जुम्लाले जनाएको छ ।

सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी

नारायण न्यौपाने, काठमाडौँ । केही दिनअघिको अविरल वर्षाका कारण सिन्धुलीको गड्तिर भेगमा सडक, पुल, भवन, खानेपानीलगायत पूर्वाधार र कृषिबालीमा ठूलो नोक्सानी भएको छ।

यस भेगका विभिन्न क्षेत्रमा आवासीय तथा व्यावसायिक भवन डुबानमा परेका छन्भने विद्यालय भवन र स्वास्थ्य संस्थाहरु पनि ठूलो सङ्ख्यामा प्रभावित भएका छन्। खानेपानी र विद्युत् आपूर्तिमा समस्या देखिएको छ। पाक्ने बेलाको धानबालीमा नदी र खोला पसेर क्षति पुर्‍याएको छ।

विपद्पछि तीनवटै तहका सरकारको सहयोग र समन्वयमा प्राथमिकता निर्धारण गरी राहत तथा पुनःस्थापनाका कार्यक्रमहरु सुरु गरिएका छन्। घर आवास नै गुमाएका परिवारहरुलाई अस्थायी आवास र खाद्यान्नलगायत आधारभूत आवश्यकताका सामग्री वितरणमा स्थानीय सरकार जुटेका छन्। यसै सन्दर्भमा सिन्धुली जिल्लामा बाढीपहिरो र डुबानले गरेको क्षति, राहत तथा पुनःस्थापना तथा विपद् पछिको व्यवस्थापनको अवस्थाबारे त्यहाँका जनप्रतिनिधिसँग राससले गरेको कुराकानीको सम्पादित अंश :

‘विपद् प्रभावितलाई दसैँअघि नै घर पस्ने वातावरण बनाउँछौँ’: सांसद लेखनाथ दाहाल

बाढी, पहिरो र डुबानका कारण सिन्धुली जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा मात्रै करिब एक हजार ५०० बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ। विपद्का कारण जिल्लाका यी तीनवटा पालिका सबैभन्दा बढी प्रभावित भएका छन्। त्यस्तै, सुनकोशी गड्तिर क्षेत्रमा मात्रै करिब छ सय बिघा खेतीयोग्य जमिनमा सुनकोशी नदी र रोशी खोलाले पुरेर बालीनालीमा क्षति पुर्याएको छ। खेत खण्डहरमा परिणत भएका छन्।

जिल्लामा प्राकृतिक प्रकोपको असर अकल्पनीय र क्षति ठूलो छ। छोटो समयमा आधुनिक र पर्यटकीय सहरतर्फ उन्मुख भइरहेका खुर्कोट, नेपालथोक र मूलकोटमा अर्बौंको लगानीमा खोलिएका होटल र रिसोर्टमा ठूलो क्षति पुगेको छ। फाँटहरु नदी कटानमा परेका छन्। निजी घर, विद्यालय, वडा कार्यालयलगायत संरचना र बस्ती डुबानमा परेर क्षति पुगेको छ। बाढीले घर पुरिएकाले घरभित्रका सामानहरु के–कस्तो अवस्थामा छ भन्ने हालसम्म यकिन नभएकाले पीडितहरु चिन्ता छन्।

कैयौँ घरका सटर बाढीको बालुवाले छोपेको छ। अहिले प्रभावित क्षेत्रमा १०÷१२ वटा ‘ब्याकहो लोडर’ र डोजर लगाएर पुरिएको र बिगे्रभत्केको ठाउँको मर्मतसम्भार गर्ने कार्य भइरहेको छ। जनतालाई दसँै अगाडि घरभित्र पस्ने वातावरण बनाउने लक्ष्यका साथ पुनःनिर्माण र उद्धार कार्यलाई तीव्र तुल्याइएको छ। नदी कटान भएको ठाउँमा व्यवस्थित योजनासहित वैकल्पिक मार्ग निर्माण गर्ने र कोशी किनारलाई तटबन्ध गर्ने कार्यलाई प्राथमिकतामा राखेर धमाधम काम सुरु भएको छ।

नेपालथोकदेखि भकुण्डेसम्म मुख्य रुपमा सडकमा ठूलो समस्या छ। करिब तीन किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ। त्यस स्थानमा वैकल्पिक मार्ग बनाएर सवारी आवागमन सहज बनाउने प्रयासमा लागेका छौँ। सुनकोशी माथिको सित्खा, खुर्कोट र रोशीका विभिन्न ठाउँमा पक्की पुलसमेत बाढीले बगाएको अवस्था छ।

बाटो मर्मतका लागि भाडामा लिइएका लोडर, डोजरहरु स्थानीय सरकारबाट इन्धनको व्यवस्था मिलाइएको छ। खानेपानी र विद्युत्को ठूलो समस्या समाधान हुँदै गएको छ। यो समस्या केही दिनभित्रै हल हुनेछ। सबै स्थानीय सडकहरु क्षतिग्रस्त छन्। सडकसँगै विद्युत्का पोलहरु पनि ढलेका छन्। रोशी र कोशीदेखि फिक्कलसम्ममा ५२ वटा विद्यालय भत्केको र डुबानमा परेको प्रारम्भिक विवरण आएको छ। केही स्वास्थ्य चौकीका बाहिरी पर्खालहरु भत्किएका छन्।

प्रदेश र सङ्घ सरकारबाट राहत र पुनःस्थापनाको प्रतीक्षामा छौँ। उधारोमा काम गरिएको छ। आवश्यक स्वास्थ्यकर्मी परिचालन, इन्धनलगायत सुविधाका लागि विभिन्न निकायसँग समन्वय भइरहेको छ। सामूहिक भोजन र अत्यावश्यक सामग्रीसहित राहतका प्याकेट पनि वितरण गराइएको छ। तत्कालका लागि दाल चामल, नुनतेल जस्ता आधारभूत खाद्य सामग्री स्थानीय सरकारबाट उपलब्ध गराइएको छ।

‘सडक खुलाउने कार्य प्राथमिकतामा छ’: राजकुमार बराल, उपाध्यक्ष–फिक्कल गाउँपालिका

फिक्कलमा नदी कटान र डुबानबाट निकै ठूलो क्षति भएको छ। खेतीयोग्य जमिनमा नदीको भङ्गालो पसेका छन्। केही घर बगाएको छ। पालिकाको सुम्नाङबेँसी, झहरे, सोखुबेँसी, सर्किनीबँेसी, बान्द्रेबेँसीलगायत स्थान बढी प्रभावित भएका छन्। विद्यालय भवन, झोलुङ्गे पुल, स्वास्थ्यचौकीहरुमा क्षति पुगेको छ।

उद्धार, राहत र पुनःस्थापनाका कार्यक्रम सुरु भइसकेका छन्। अब व्यवस्थित रुपमा कसरी जाने भनेर सर्वदलीय बैठक बोलाएर त्यसको निर्णयका आधारमा हामी अघि बढ्छौँ। क्षतिका आधारमा राहत दिनेगरी तयारी भइरहेको छ। डोजरहरु प्रयोग गरेर बाटो खोल्ने काम भइरहेको छ। हामी सडक खुलाउन लागिरहेका छौँ।

‘खुर्कोटमा ३५ घर पूर्ण रुपमा क्षति भएका छन्’: ज्वालाप्रसाद न्यौपाने, उपाध्यक्ष–गोलन्जोर गाउँपालिकाका

पालिकाको खुर्कोट क्षेत्रमा मात्र करिब ३५ घरमा क्षति हुँदा ६२ परिवार पूर्ण रुपमा प्रभावित भएका छन्। त्यो क्षेत्रमा ४० वटाको हाराहारी पसलमा क्षति पुगेको छ। के–कति धनजनको क्षति भएको भन्ने विवरण सङ्कलन हुँदैछ। त्यस्तै, बलेनी क्षेत्रमा ११ घर डुबाएको छ। मुर्की, च्याकुटारबेँसी, र बलेनीका तीनवटा प्राथमिक विद्यालय डुबानमा परेका छन्। पालिकाको छ नम्बर वडा कार्यालयमा पनि बाढी पसेर क्षति पुगेको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत हैबार, हर्देनी, कुखुरेटारमा ठूलो पहिरोका साथै त्यहाँका झोलुङ्गे पुलमा क्षति पुगेको छ। खुर्कोटका दुईवटा र दिङदिङको माथिल्लो क्षेत्रको पुल बगेको छ। मध्यपहाडी राजमार्ग पुरैजसो पुनः निर्माण गर्नुपर्ने भएको छ। सबै बिग्रिएको छ। त्यसमा करोडौँ खर्च हुने देखिएको छ। सिन्धुलीमा सुनकोशीपछि गोलन्जोर गाउँपालिकामा बढी क्षति देखिएको छ।

गोलन्जोर गाउँपालिका क्षेत्रको मध्यपहाडी राजमार्गमा भएको अवरोध हटाउन दुईवटा डोजर प्रयोज भइरहेका छन्। मङ्गलबार अक्करेभीर क्षेत्रको अवरोध हटाइएको छ। नेपालथोकबाट घुर्मीसम्म बिपी राजमार्ग र मध्यपहाडी राजमार्गका धेरै ठाउँमा सडक भत्किएको, भासिएको, माथिबाट पहिरो खसेर ठूलो क्षति भएको छ। सडक भएको ठाउँमा नदीको भङ्गालो र खोलो पसेको छ।

गोलन्जोरको मात्र करिब ३० बिघा धान खेतमा क्षति पुगेको छ। खुर्कोट, दिङदिङ्, हैबार, मुर्की, कुखुरेटारलगायत क्षेत्र बढी प्रभावित भएका छन्।

राेशीमा आएको बाढीले अस्पतालसहित विद्यालय भवनमा क्षति

काभ्रे । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ फलामेसाँघुमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पतालसहित विभिन्न स्थानका विद्यालय भवनमा क्षति भएको छ । वर्षासँगै आएको बाढीपहिरोबाट जनधनको क्षति हुनुका साथै बस्ती, औद्योगिक ग्राम र डम्फु जीवन्त सङ्ग्रहालय बगाएको हो ।

रोशी गाउँपालिकाले बाढीपहिरोबाट अर्बौंको क्षति व्यहोर्नु परेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । बाढीले रोशी–१ फलामे साँघुमा निर्माणाधीन १० शय्याको अस्पताल भवनसहित सो क्षेत्रको बस्ती, रोशी–११ कालढुङ्गामा रहेको औद्योगिक ग्राम र सोही ठाउँमा निर्माण भएको डम्फु जीवन्त सङ्ग्रहालयसहितको उद्यान बगाएको उहाँले जानकारी दिए ।

पक्की तथा झोलुङ्गे पुल, नार्क पुल र कालढुङ्गाको बस्ती बगाएको छभने वडा नं ४ थिङटोलमा सात घर पहिरोले पुरेर क्षति पुर्‍याएको अध्यक्ष लामाले जानकारी दिए । पालिकाभित्र मात्रै १२ जनाको मृत्यु भएको छभने ५२ जना घाइते भएका उनले बताए ।

बाढीपहिरोबाट सडक, विद्युत्, टेलिफोन, खाद्यन्न र खानेपानीको तत्काल आपूर्ति गर्न स्थलमार्ग सबै टुटेकाले हवाईमार्ग वा हेलिकप्टरको सहायताबिना सम्भावन नहुने बताउँदै अध्यक्ष लामाले त्यसका लागि तीनै तहका सरकारले गर्नुपर्ने कामको वर्गीकरण सहकार्य र समन्वयबाट अघि बढ्नुपर्ने बताए ।

गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइबाले सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले यकिन विवरण सङ्कलन गर्न समस्या भइरहेको बताए । उनका अनुसार अहिलेसम्ममा १२ वटा विद्यालय भवनमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।

रोशी–८ मा रहेको देवीश्वरी प्रावि, वडा नं ५ सिसाखानी घिसिङटोलको विद्याविकास भवनको कक्षाकोठा र विद्यालय परिसर पुरिएको, वडा नं ७ को अमरनाथ प्रावि परिसरसहित रोशी खोलाले कटान गरेको, वडा नं ९ मङ्गल जनविजय मावि परिसरमा बाढी पसेर कम्पाउण्ड वाल बगाएको, वडा नं १० पञ्चकन्या मावि वाल्टिङ विद्यालयमा बाढी पसेर क्षति भएको, वडा नं ११ कालढुङ्गामा रहेको शान्तिबुद्ध प्राविको भवन खोलाले कटान गरेको र वडा नं ४ ज्वालादेवी प्रावि खोला कटानका कारण जोखिममा रहेको उपाध्यक्ष वाइबाले जानकारी दिए ।

त्यस्तै वडा नं ११ भीमेश्वर माविको पर्खालमा क्षति भएको, वडा नं ५ लुर्पुङ भूमेस्थान माविको कक्षाकोठामा भल पसी क्षति हुनाका साथै पहिरोले भवन चर्किएको, वडा नं १० महाभारत प्रावि भवनमा पहिरो पसी एउटा कक्षाकोठा पुरेको तथा विद्यालय कम्पाउण्ड बगाएको, वडा नं ३ मसराङगीमा रहेको भूमेस्थन प्राविमा पहिरोले विद्यालय कम्पाउण्ड र कक्षाकोठा पुरेको र वडा नं ९ मा रहेको भूमेस्थान प्रावि सल्लेनीमा पहिरोले विद्यालय भवन आंशिक पुरेको छ। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ ।

निष्पक्ष र छिटोछरितो न्याय सम्पादनका लागि सवेदनशील छुः प्रस्तावित प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको जिम्मेवारीप्रति आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको बताएका छन् ।

बुधबार संसदीय सुनुवाइका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत गर्दै राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको बताएका हुन् ।

उनले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढाउने पनि बताए ।

उनले भने, ‘नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु मेरो प्रमुख जिम्मेवारी रहेकोप्रति म स्पष्ट र प्रतिबद्ध छु । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सचेत र संवेदनशील छु ।’

उनले अदालतमा विचौलियाले अवाञ्छित गतिविधि गर्ने गरेको र त्यसलाई नियन्त्रण गर्न कानुनको खाँचो रहेको बताए ।

उनले भने, ‘अदालतमा बिचौलियाहरूको अवाञ्छित गतिबिधिलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सोसम्बन्धी छुट्टै कानुन निर्माण गर्न पहल गर्नेछु ।’

उनले सर्वोच्च अदालतमा भएका अध्ययन प्रतिवेदनले दिएका सुझावको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । अदालतमा मुद्दाको सुनुवाइको प्रत्यक्ष प्रसारणका सम्भावनाको अध्ययन गरी कार्यान्वयनमा लैजाने पनि प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजनामा उल्लेख छ ।

दसैंमा बिहान साढे चार बजेदेखि नै आन्तरिक उडान

काठमाडौँ । चाडपर्वमा हवाई चाप घटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे नै खोल्ने भएको छ ।

हवाई यात्रुको चाप बढेपछि असोज १७ गतेदेखि ३० गते पूर्णिमासम्म बिहान साढे चार बजेदेखि राति १२ बजेसम्म विमानस्थल खुल्ने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध विमानस्थल, पोखरा, नेपालगन्ज, भद्रपुर, विराटनगर, जनकपुर विमानस्थलमा बिहान ६ देखि राति १० बजेसम्म उडान हुँदै आएको छ ।

सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

धरान ।  सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो ।

पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको मापन गरिएको छ । पछिल्लो तीन घण्टामा तरहरा क्षेत्रमा ७२.७ मिलिमिटर र मोरङकाे केराबारी क्षेत्रमा ५२.४ मिलिमिटर वर्षा भएको धरानस्थित मौसम पूर्वानुमान शाखा प्रमुख रुद्रबहादुर परियारले जानकारी दिए।

उनका अनुसार अहिले पनि सुनसरीको धरान, तरहरा, इटहरीलगायत पूर्वी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। आज र भोलि सुनसरीसहित पूर्वी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले नदीतटीय क्षेत्रका स्थानीयलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख परियारले बताए।

विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। धरानको सर्दु, खर्दु, सुनसरी खोला, इटहरीको बुढी खोला, खेसलियालगायत स–साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने, होचो भू–भागमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह गरेको हो।

स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान !

रामबहादुर थापा, गण्डकी ।  डेङ्गी सङ्क्रमणविरुद्ध उक्त रोग सार्ने लामखुट्टेको बासस्थान ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफ्नै मन्त्रालय परिसरको सरसफाइमा भने बेवास्ता गरेको पाइएको छ । मन्त्रालयको वरिपरि यत्रतत्र रुपमा रहेका पुराना टायर, चर्के–फुटेका भाँडावर्तन, खाली बोतल, कवाडी सामग्री, भान्छाको फोहर आदि नहटाउँदा मन्त्रालयमै डेङ्गी सङ्क्रमणको जोखिम बढेको हो ।

मङ्गलबार अपराह्न मन्त्रालय परिसरमा पुग्दा पार्किस्थलको छेउमा रहेका साना टहराको चेपमा रहेका पुराना टायरमा सफा पानी जमेको देखिन्थ्यो । स्वास्थ्यकर्मीका अनुसार डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको छ ।

पुराना टायर, ड्रम, खाली बट्टा, पुराना भाँडाकुँडालगायतमा रहेको सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको हो ।

तर, सिङ्गो गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रको जिम्मा लिएको मन्त्रालय नै डेङ्गीको सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्नमा चुकेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट अलग्गिएर छुट्टै मन्त्रालयको अस्तित्वमा आएको स्वास्थ्य मन्त्रालय अहिले प्रदेश स्वास्थ्य निर्देशनालयको भवनबाट सञ्चालन भइरहेको छ ।

मन्त्रालयका भित्री कक्ष र कोठा सफा र चिटिक्क देखिएपछि बाहिरी परिसर भने अव्यस्थित देखिन्छ । मुख्य भवनको अगाडिपट्टि रहेको उद्यान पनि सरसरफाइ नहुँदा घाँसको झाडीले ढाकिएको छ ।

चमेना गृहबाट निस्कने फोहर पनि भवनको पछाडिपट्टि लगेर जथाभावी फाल्ने गरिएको भेटिएको छ । पत्रु परेका गाडी, फर्निचरलगायत सामग्री समयमा लिलाम नगरी भद्रगोल अवस्थामा राखिएको छ । पार्किङ परिसरमै थन्किएको मिनिट्रकभरि टायर, कार्पेटलगायत कवाडी सामान अलपत्र छाडिएको छ ।

खुला ठाउँमा राखिएका ती सामानमा पनि आकाशबाट परेको पानी जमेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक गरेकै दिन मन्त्रालयको सरसफाइको अवस्था दयनीय थियो । हातमुख धुने बेसिनको पाइप फुटेपछि पानीको निकासका लागि तलपट्टि फोहर राख्ने भाँडो थापिएको थियो ।

पुराना फलामका सामान, जस्ता पाता, प्लाष्टिक, पानीका खाली बोतल जहीतहीँ छरिएको अवस्थामा थिए । अरुलाई सरसफाइको सबक सिकाउने स्वास्थ्य मन्त्रालयकै सरसफाइको अवस्था किन त्यस्तो ? मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले मन्त्रालयलमा नियमित सरसफाइ गर्ने गरिए पनि कतै छुटेको हुन सक्ने बताए । ‘सरसफाइमा कमी भएको रहेछ भने हामी सम्बन्धित कर्मचारीलाई कुरा गर्छौँ, नयाँ मन्त्रालय भएकाले पनि केही व्यवस्थापकीय काम गर्न बाँकी छ’, उनले भने ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले डेङ्गी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने बताए । महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । ‘वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ’ रेग्मीले भने ।

जमेको सफा पानीमा बस्ने र दिउँसोमा मात्र मानिसलाई टोक्ने उक्त लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको उनले बताए । डेङ्गीको शङ्का लागेमा तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने उनको भनाइ छ ।

डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको रेग्मीले बताउनुभयो । डेङ्गीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशभर हालसम्म झण्डै १२ हजार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकामा मात्रै गत पुसयता पाँच हजार बढीमा सङ्क्रमण पुष्टि भएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलने हुँदा मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो ।

आगामी कात्तिक महिनासम्म डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने देखिएको महाशाखाका जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर ५, ८ लगायतका वडा डेङ्गीबाट बढी प्रभावित भएको रेग्मीले जानकारी दिए ।

होटल सङ्घद्वारा राहत कोष स्थापना

काठमाडौं ।  होटल संघ नेपालले बाढी पहिरोपीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ ।

देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल संघले राहत कोष स्थान गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

‘होटल संघले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरूलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र सरकारमार्फत बुझाइनेछ’, विज्ञप्तिमा भनिएको छ ।

बाढीपहिरोबाट धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै संघले मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

शेयर बजार २६ अंकले घट्यो, ६ अर्ब ७७ करोडको कारोबार

काठमाडौं । मंगलबार ११४ अङ्कले बढेको शेयर बजार नेप्से बुधबार भने ह्वात्तै घटेको छ । बुधबार नेप्से २६ दशमलव ०७ अङ्कले घटेर २ हजार ५ सय ९७ दशमलव ४९ विन्दुमा झरेको छ ।

आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज विन नेपाल लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशत र न्यादी हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । यस्तै स्वरोजगार लघुवित्त र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज कारोबार रकममा पनि कमी आएको छ । हिजो साढे ७ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय १० वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ६ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा

वीरगञ्ज  । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै  भन्सार नाका नियमित रुपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार कार्यालयमा भन्सार जाँचपासको प्रक्रिया भने अहिलेसम्म रोकिएका छैनन् ।

मुलुकको कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट झन्डै आधा आयात हुने गर्छ तर अहिलेसम्म यी दुवै नाकामा निर्बाध रुपमा आयात–निर्यात भइरहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बाढीपहिरोले राजमार्ग अवरुद्ध भए पनि भन्सार जाँचपासको प्रक्रिया रोकिने काम नभएको जानकारी दिए ।

“अहिलेसम्म राजमार्ग अवरुद्ध भएकै कारणले भन्दै व्यवसायीहरुले वस्तु तथा सामानको भन्सार जाँचपासको प्रक्रिया रोकेका छैनन,” उनले भने, “राजमार्ग अवरुद्ध हुँदा भारतबाट आयात हुने समानमा समस्या हुने गरे पनि तेस्रो मुलुकबाट आयात हुने सामानमा कुनै समस्या देखिएको छैन ।” 

प्रमुख भन्सार प्रशासक लामिछानेले सडक अवरुद्ध भएको कारणले भन्सार जाँसपास गरेका सामान गन्तव्यमा पुर्याउन पाइएन भन्ने खालका गुनासा अहिलेसम्म नआएको दाबी गरे । “सडक अवरोध भएकै कारणले भन्सार जाँचपास गराउन सकिएन भन्ने खालका गुनासा आजका दिनसम्म आएका छैनन,” उनले भने, “अहिले चितवन, हेटौँडा जाने मालवाहक सवारीसाधन नियमित चलेकाले पनि कुनै ठूलो समस्या देखिएको छैन ।” 

वीरगञ्ज भन्सार नाका हुँदै करिब ६० प्रतिशत पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हुनेगर्छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको अवधिमा ४३ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म  कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात् ३२ अर्ब ५४ करोड ५५ लाख राजस्व सङ्कलन भइसकेको छ ।

असोज महिनामा मात्रै १७ अर्ब ४२ करोड लक्ष्य राखिएकामा छ अर्ब ९५ करोड राजस्व सङ्कलन भइसकेको छ । बाढीका कारणले वीरगञ्ज भन्सार कार्यालय मात्रै नभई सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पनि कुनै असर नपारेको बताइएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले अविरल वर्षापछि पनि भन्सार जाँचपासको काम भने नरोकिएको बताए। “अहिले पनि व्यवसायीहरुले दैनिकजसो भन्सार जाँचपासको प्रक्रिया अघि बढाइरहनुभएको छ”, उनले भने,“अहिलेसम्म व्यवसायीले राजमार्ग अवरुद्ध भएर वस्तु तथा सामान लैजान अप्ठेरो भएको भन्ने गुनासो गर्नुभएको छैन ।” 

प्रमुख भन्सार अधिकृत बरुवालले चाडपर्वको बेला भएकाले पनि व्यवसायीले जाँचपास गराउने काम धमाधम गरिरहेको बताए ।

“शनिबार बिदाको दिन भएकाले खासै भन्सार जाँचपासको काम हुँदैन । आइतबार र सोमबार भने भन्सार जाँचपासको काम सामान्य दिनको तुलनामा कमै भएको थियो,” उनले भने, “मङ्गलबार भने भन्सार जाँचपासको काम भने धेरै नै भएकाले पनि राजस्व पनि बढ्यो ।”  

प्रमुख भन्सार अधिकृत बरुवालले राजमार्ग अवरुद्ध भएर गाडी नपाउने समस्या भएको खण्डमा अबका केही दिनभित्रै भन्सार जाँचपासमा समस्या देखिन सक्ने दाबी गरे । भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई असोज महिनाका लागि मात्रै चार अर्ब ८३ करोड २० लाख ४८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य  दिएको छ ।

तर असोज महिनाको १५ दिनको अवधिमा मासिक लक्ष्यको ४८ प्रतिशत राजस्व सङ्कलन गरिसकेको छ । “चालु आवमा विदेशी मदिराको आयातले राजस्व सङ्कलनमा ठूलो योगदान दिएको छ,” उनले भने, “मङ्गलबार मात्रै ११ करोडभन्दा धेरै राजस्व मदिराजन्य पदार्थबाट सङ्कलन भएको छ ।” 

सुक्खा बन्दरगाह कार्यालयले औसतमा दैनिक १५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि अहिले औसतमा सरदर ११ देखि १२ करोडको हाराहारीमा सङ्कलन हँुदै आइरहेको छ । गत आर्थिक वर्ष २०८०/८१ कुल १५ खर्ब ९२ अर्ब आठ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालयको योगदान ३४ दशमलव ३० प्रतिशत अर्थात् पाँच खर्ब ४५ अर्ब ४३ थियो । 

त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयको आयातको योगदान १२ दशमलव ७८ प्रतिशत अर्थात् दुई खर्ब तीन अर्ब ६३ करोड रहेको छ । कुल आयातमध्ये वीरगञ्जका दुई भन्सार कार्यालयबाट हुने आयातको हिस्सा भने ४७ दशमलव ०८ प्रतिशत रहेको छ ।

बाढीले विद्यालय डुबेपछि विद्यार्थीलाई प्रतीक्षालयमा राखेर पठनपाठन

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–५ साडेबगरस्थित महादेव आधारभूत विद्यालयको भवन बाढीले डुबाएपछि प्रतीक्षालयमा विद्यार्थी राखेर पठनपाठन सञ्चालन भएको छ । गत बिहीबार रातिदेखि परेको वर्षाका कारण विद्यालय डुबानमा परेपछि विद्यार्थीलाई प्रतीक्षालयमा राखेर पठनपाठन गराइएको हो । 

विद्यालय भवनभित्र बाढी पसेर कुनै पनि कोठामा तत्काल पठनपाठन गर्न सम्भव नभएपछि विद्यालय नजिक रहेको प्रतीक्षालयमा राखेर पढाइरहेको विद्यालयका प्रधानाध्यापक शिवहरि वाग्लेले जानकारी दिए ।

उनले भने, “वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले विद्यालय भवनमा क्षति पुगेको छ । विद्यालयमा पठनपाठन सम्भव नभएपछि प्रतीक्षालयको सहारा लिएका छौँ ।”

वाग्लेका अनुसार प्रशासनिक कक्षमा रहेका सबै सामग्री नष्ट भएका छन्भने कक्षा कोठाका टेबल, कुर्सी, खाना पकाउने भाडा, शैक्षिक सामग्रीमा बाढीले क्षति पुगेको छ । उक्त विद्यालयमा १४ विद्यार्थी अध्ययनरत छन् । 

नदी किनारमा विद्यालय भएकाले बाढी आउँदा जोखिममा परेको प्रअ वाग्लेले बताए । उनले भने, “सुरक्षित रुपमा विद्यालय सञ्चालन गर्ने हो भने विद्यालय स्थानान्तरणको विकल्प छैन ।”

गृहको कार्यदल बाढीपहिरो प्रभावित जिल्लामा परिचालन

काठमाडौं । गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् ।

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानकारी दिएका छन् ।

बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो । गृह मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपालञ्चोकमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।

कार्यदललाई अति भारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, अति भारी वर्षाका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत संम्भार गरी सञ्चालनमा ल्याउन सडक निमार्ण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् ।

कार्यदललाई आगामी असोज २१ सम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ । साथै कार्यदलले दैनिक रुपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितीका बारेमा केन्द्रमा जानकारी समेत गराउने छ ।

त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि १० जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ । प्राधिकरणका सहसचिव बसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकाहरूमा खटाइएको जानकारी दिए ।

नौ महिनामा भित्रिए आठ लाख भन्दाबढी विदेशी पर्यटक

काठमाडौँ । सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार तीन सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।


बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले पर्यटक आगमन बढेको छ । अगष्ट महिनाको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन्भने चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उनले बताए ।


सेप्टेम्बारमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा आठ हजार ४२ र अगष्टमा छ हजार छ सय १४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिए ।


मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाबाट अगष्ट पाँच हजार छ र सेप्टेम्बारमा १० हजार ८४ पर्यटक नेपाल भित्रिएका छन् । श्रीलङ्काबाट सेप्टेम्बरमा चार हजार नौ सय १५ र अगष्टमा चार हजार आठ सय ५१ पर्यटक नेपाल आएका थिए ।
    
बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४, सन् २०२१ को सेप्टेम्बारमा नौ हजार नौ सय सात र सन् २०१९ मा ९२ जार छ सय चार पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।


कुन महिनामा कति पर्यटक ?


मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सुनसान छन् बागलुङका पर्यटकीय क्षेत्र

ढोरपाटन । बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन्। बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन्।

बराह ताल, बेलढुङ्गा, गाजाको दह, घुम्टे, दिदीबहिनी झरना, सोलेडाँडालगायत दर्जनौँ पर्यटकीय क्षेत्र सुनासन छन्। धेरै पर्यटक पुग्ने ढोरपाटन बराह मन्दिर र सिकार आरक्ष क्षेत्रमा पनि यो बेला पर्यटकको सङ्ख्या निकै कम छ।

गत वर्ष यो बेला पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको थियो। अहिले वर्षा नरोकिएको हुँदा सडक खुल्न सकेका छैनन्। सडक खुल्न नसक्दा घरबास (होम–स्टे) पनि सञ्चालन हुन सकेका छैनन्।

घरबासमा पाहुन पुग्न नसक्दा स्थानीय उत्पादनले बजारसमेत पाउन सकेका छैनन्। जिल्ला सदरमुकाम बागलुङबजार नजिकै रहेको कालिका मन्दिर, पञ्चकोट र शालग्राम सङ्ग्रहालयमा पनि पर्यटकको सङ्ख्या घटेको छ। यस वर्ष लामो झरीले गर्दा आधा असोज बितिसक्दा पनि सडक खुल्न सकेका छैनन्।

गत वर्ष यति बेला सोलेडाँडामा पर्यटकको चहलपहल बढेको भए पनि अहिले सुनासन रहेको तमानखोला गाउँपालिका–३ का पूर्ण बुढा मगरले बताए। असोज लागिसक्दा पनि वर्षा नरोकिँदा सडक खुलाउन नसकेको उनको भनाइ छ। सडक बन्द हुँदा घुम्न आएका पर्यटक बीच बाटोबाटै फकिर्ने गरेको बुढा मगर बताउँछन्।

उनले भने, ‘असोजको पहिलो सातातिर वर्षा रोकिएको थियो, अहिले फेरि वर्षा हुन थालेको छ, बर्खाले गर्दा बाटो धेरै ठाउँ बिग्रिएको छ, पर्यटक सजिलै घुम्ने ठाउँमा पुग्न सकेका छैनन्, सोलडाँडामा यो बेला पोहोर परार साल निकै धेरै मान्छे आउँथे, तर अहिले आएका छैनन्, आएकाहरु पहिरोले सडक पुरिएपछि फर्किएर जान्छन्, अब कात्तिक लागेपछि मात्रै बाटो खुल्छ होला, त्यसपछि बल्ल पर्यटकको लर्को लाग्छ।’

यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त समय मानिन्छ। तर सडकको दुरवस्थाका कारण निकै कम सङ्ख्यामा पर्यटक आएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैले बताए। अघिल्लो महिनासम्म सयौँ पर्यटक ढोरपाटन पुग्ने गरेको भन्दै असोज लागेपछि धेरै ठाउँमा सडक बिग्रिँदा यात्रा कठिन हुँदा पर्यटक घटेको उनको भनाइ छ।

बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडकमा यात्रा गर्दा पर्यटकले सास्ती खेप्नुपरेको अध्यक्ष अदै बताउँछन्। यो सडक स्तरोन्नति नभएसम्म हजारौँ पर्यटकले बर्सेनि समस्या बेहोर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

‘धेरै पर्यटकको रोजाइमा अहिले ढोरपाटन परेको छ, ढोरपाटन आउने बुकीपाटन पनि जान चाहन्छन्, तर बुर्तिबाङबाट यहाँसम्म आउने सडकको अवस्था खराब हुँदा पर्यटक चाहेर पनि आउन सकेका छैनन्’, अध्यक्ष अदैले भने, ‘अघिल्लो महिनासम्म पर्यटकको सङ्ख्या राम्रो थियो, पछिल्लो झरीले गर्दा ह्वात्तै घट्यो, दसैँ नजिकिँदैछ, यो बेला हजारौँको सङ्ख्यामा पर्यटक आउँथे, तर सडकका कारण आउन सकेका छैनन्, वर्षा रोकिएर सडक सुधार भयो भने आउनेछन्।’

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले वर्षा रोकिएपछि पर्यटकीय क्षेत्रमा पुग्नेसहित ग्रामीण सडक खुलाउने बताए। यस वर्षको वर्षाले मध्यपहाडी लोकमार्गसहित ग्रामीण सडकमा ठूलो क्षति पु¥याएको हुँदा खुलाउन केही समय लाग्ने उनको भनाइ छ। वर्षा रोकिए दसैँ अगावै सबै अवरुद्ध सडक खुलाउने गरी तयारी गरिएको भण्डारीले जानकारी दिए।

कार पुरिएको आशंकामा झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी सुरु

मलेखु (धादिङ) ।  धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ ।

तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो ।

झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो ।

दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशङ्का रहेकाले पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारी साधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।  

निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर आज बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ ।

सवारी साधन चापकै कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ । निरन्तरको बर्सातसँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो ।

इरानमा अनेकौ यातना भोग्नुपरेको निर्वासित अफगानी शरणार्थीहरूको गुनासो

अफगानिस्तान । इरानसँग अफगानिस्तानको सीमाबाट अफगानी शरणार्थीहरु बच्चा च्यापेर, आफ्नो सम्पूर्ण सांसारिक सम्पत्ति झोलामा अटाएर स्वदेश फर्किरहेका छन् ।

प्रत्येक दिन तीन हजार अफगानी जसमध्ये कोही इरानमा जन्मेका थिए, आफ्नो उज्ज्वल जीवन जिउने प्रयास असफल भएपछि स्वदेश फर्किरहेका छन् ।

“शरणार्थीहरूले धेरै शारीरिक र मानसिक यातनाको सामना गर्नुपरेको छ”, इस्लाम कालाको सीमावर्ती सहरमा आगमन दर्ता गर्ने अधिकारी अब्दुल घानी काजीजादाले भने ।

कोही अवैध रूपमा इरान प्रवेश गरेका र कोहीको भिसा म्याद सकिएका कारण उनीहरु आफ्नो देश फर्कन बाध्य भएका हुन् । लगभग ९० प्रतिशतलाई अफगानीलाई इरानबाट निर्वासित गरिएको छ भने बाँकी स्वेच्छाले फर्किरहेका छन् ।

“उनीहरूलाई १८ वर्ष माथिका जो कोहीले १० करोड तोमान बैङ्कमा जम्मा गराउनुपर्ने अन्यथा एक हप्ताभित्र इरान छाड्न चेतावनी दिइएको थियो”, काजीजादाले भने ।

यी शरणार्थीहरू देश भित्रनु अघी अफगान अधिकारीले दर्ता गरिरहेका छन् र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनद्वारा जाँच गरिएका छन् । आफ्नो परिवारसँग जीवन पुनर्निर्माण गर्न फर्किरहेका शरणार्थीका लागि प्रति व्यक्ति दुई हजार अफगानी दिइने व्यवस्था गरिएको छ भने एक्लै फर्किनेको हकमा यो सुविधा लागू गरिएको छैन ।

३६ वर्षीया रमजान अजिजी आफ्नी श्रीमती र तीन बच्चासहित आगमन दर्ता गराउन पर्खिरहेका थिए । उनी सन् २०२३ मा एक दलाललाई १ हजार २२० डलर दिएर अवैध रूपमा इरान प्रवेश गरेका थिए । तर बढ्दो बेरोजगारी साथै अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्तर्गत देशमा अपराधको आरोपमा अफगानहरूले बढ्दो शत्रुताको सामना गर्नुपरेको छ ।

२६ वर्षीया फाजिला कादेरीले राजधानी तेहरान नजिकैको करज शिविरमा आफू र आफ्नो पतिले भोगेका कष्टको स्मरण गरे ।

“सुरक्षाकर्मीले पुरुष र महिलामा कुनै भेद नगरी हामीलाई छ वा सात दिनसम्म लठ्ठीले धेरै कुटपिट गरे”, उनले भने । कुटपिटका कारण उहाँको पतिको हड्डी भाँचिएको थियो । उनी मध्य–उत्तरी प्रान्त काजभिनमा एकजना तस्करलाई पैसा दिएर चार वर्षअघि इरान आएका थिए ।

वैध पासपोर्ट र भिसा हुँदाहुँदै पनि आफूलाई पक्राउ गरी इरानबाट निष्कासन गरिएको २९ वर्षीया मजदुर अब्दुल बसीरले बताए । “पासपोर्ट लिएर म १० दिनका लागि सैन्य शिविर मा पुगेँ”, उनले भने ।
उनले एक पटक शिविरमा घाइते हुनेगरी कुटपिट गरिएको बताए ।

सुरक्षाकर्मीहरूले अफगानी पासपोर्ट वा वैध इरानी निवास अनुमतिहरू च्यातेको पनि उनले दाबी गरे । तसर्थ उनलाई अफगान पासपोर्ट बिना अफगानिस्तान निर्वासित गरियो ।

सीमामा रहेका अफगानी अधिकारी काजीजादाले करिब ७० प्रतिशत शरणार्थीलाई इरानी कागजातबिना फिर्ता पठाइएको जानकारी गराए ।

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सेप्टेम्बरको अन्त्यमा तेहरानलाई “ इरानको विकासमा योगदान पुर्याएका अफगानी शरणार्थीलाई“ सहयोग गर्न आग्रह गरेका थिए ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियनले गत महिना तेहरानले अवैध नागरिकहरूलाई “सम्मानजनक ढङ्गले” आफ्नो देशमा फिर्ता गरिरहेको बताएका थिए ।

इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

पेरिस । । तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन्।

तेहरानले लेबनानमा हिजबुल्लाह विरुद्ध भूमि आक्रमण गरिरहेको भन्दै आक्रमण इरान समर्थित लडाकु नेताहरूको हत्याको प्रतिक्रिया स्वरुप भएको जनाएको छ।

दमास्कसमा इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा अप्रिलमा भएको मिसाइल र ड्रोन आक्रमणपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो दोस्रो पटक हो।

मिसाइलको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्व’ को निन्दा गरेका छन्।

गाजामा प्यालेस्टिनी हमास लडाकुसँगको युद्धसगैँ हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको बताए।

यसै गरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई “इरानी आक्रमण विरुद्ध इजरायली रक्षामा सहयोग गरी इजरायललाई लक्षित मिसाइलहरू नष्ट गर्नसमेत आदेश दिएका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उक्त आक्रमण “पूर्ण रूपमा अस्वीकार्य“ भएको बताएका छन्।

इजरायलले इरानी आक्रमणको बदला लिने वाचा गरेको छ। इरानमा प्रतिक्रियात्मक आक्रमण गर्ने इजरायली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हागारीले बताए।

बेरुतमा हिजबुल्लाह प्रमुख हसन नस्रल्लाह र तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्याको प्रतिशोधमा उक्त आक्रमण भएको हमासले जनाएको छ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले इरानी आक्रमणको निन्दा गर्दै मध्यपूर्वमा व्याप्त ‘हिंसाको चक्र’ अन्त्य गर्न आह्वान गरेका छन्। विदेशमन्त्री जोस म्यानुएल अल्बेरेसले म्याड्रिडले द्वन्द्व पक्षलाई संयमता साथ अघि बढी तनाव नियन्त्रण गर्न आह्वान गरेका छन्।

जर्मनी विदेशमन्त्री एनालेना बारबकले इरानलाई इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गर्दै हिंसा अन्त्य गर्न आग्रह गरेका छन्।

त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले इजरायल विरुद्ध इरानको आक्रमणको निन्दा गर्दै फ्रान्सले तेहरानको सामना गर्न मध्यपूर्वमा आफ्नो सैन्य स्रोतहरू “परिचालन“ गरेको बताए।

बेलायती प्रधानमन्त्री कीर स्टारमरले इरानको आक्रमणको निन्दा गरेका छन्। आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको कुराकानीमा स्टारमरले ‘इजरायली सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि बेलायतको दृढ प्रतिबद्धतासमेत पनि व्यक्त गरे।

जापानका नयाँ प्रधानमन्त्री सिगेरु इसिबाले इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमण ‘अस्वीकार्य’ भएको बताएका छन्। यद्धको निन्दा गर्दै स्थितिलाई शान्त पार्न आवश्यक रहेको उनले बताए।