`

भक्तपुरका अवैध फार्मेसी कारबाहीमा

भक्तपुर ।  जिल्ला प्रशासन कार्यालयले विभिन्न औषधि पसल (फार्मेसी)हरुलाई कारबाही गरेको छ । भक्तपुरका सहायक जिल्ला प्रमुख अधिकारी डोलेन्द्रप्रसाद निरौलाको नेतृत्वमा उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, औषधि व्यवस्था विभाग, नेपाल प्रहरी, उद्योग वाणिज्य सङ्घसहितको टोलीले सुरु गरेको यहाँका औषधि पसलहरूको अनुगमनमा अवैध रुपमा सञ्चालितलाई कारबाही गरेको हो ।

भक्तपुरमा अवैध रुपमा औषधि पसल सञ्चालनमा रहेका, अदक्ष व्यक्तिद्वारा औषधि बिक्री हुने गरेको, म्याद गुज्रेका औषधि बिक्री गर्ने गरेको, औषधि पसलबाट अवैध औषधि बिक्री भइरहेको लगायतका गुनासो आएपछि प्रशासनको नेतृत्वमा अनुगमन सुरु गरेको सहायक प्रजिअ निरौलाले जानकारी दिए।

अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित समृद्धि फार्मेसीबाट रु ३० हजार बराबरका औषधि जफत गरी १० जरिवाना गरिएको उनले जानकारी दिए। उक्त फार्मेसीले औषधि व्यवस्था विभागमा दर्ता नवीकरण नगरेको, तोकिएको तामक्रममा राख्नुपर्ने औषधिलाई जथाभावी राखिएको, निर्धारित मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि मिति नाघेका औषधि नष्ट गर्नाका साथै जरिवाना लगाइएको हो ।

त्यस्तै, दूधपाटीकै न्यातापोल फार्मेसीले औषधिको बिल देखाउन नसकेपछि कारबाहीस्वरूप पाँच हजार जरिवाना लगाएको छ । खरिद बिल र बिक्री बिल देखाउन नसकेको उक्त फार्मेसीले तापक्रम मिलाएर राख्नुपर्ने औषधि जथाभावी राखेको र मिति नाघेका ५० हजार बराबरको औषधि बिक्रीमा राखेका पाइएपछि उक्त औषधि जफत गरी नष्ट गरेको छ ।

त्यसैगरी, सोही ठाउँका मेरिल्यान्ड फार्मेसी एन्ड क्लिनिकले अनुमति नै नलिई अकुपञ्चर सेवा सञ्चालन गरेको पाइएको छ । टोलीले अनुमतिपत्र लिएर मात्रै अकुपञ्चर सेवा सञ्चालन गर्न, साइनबोर्ड राख्न, सेवा शुल्कको लिस्ट बनाएर देखिने गरी राख्न र १५ दिनभित्र जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । यहीँको भीमेश्वर फार्मेसीलाई औषधिको बिल काट्दा म्यादसमेत उल्लेख गर्न निर्देशन दिएको छ ।

सूर्यविनायक नपा–६ पाण्डुबजारको कल्पना फार्मेसीले औषधि विभागमा दर्ता नै नभएको औषधि बिक्रीमा राखेको पाइएपछि रु एक हजार ५०० बराबरको औषधि नष्ट गरेको छ ।

सोही ठाउँको मातृभूमि फार्मेसीले पनि बिग्रिएको फ्रिजमा औषधि राखेको पाइएपछि त्यहाँका औषधि जफत गरी नष्ट गरिएको छ । टोलीले सूर्यविनायक नगर अस्पतालमा नेपाल सरकारले तोकिएको सबै औषधि राख्न निर्देशन दिएको छ ।

अनुगमन नियमित रहने जनाउँदै सहायक प्रजिअ निरौलाले अधिकांश औषधि पसलमा औषधिहरू तापक्रम मिलाएर नराखेको, जथाभावी औषधि बिक्री गरेको, म्याद गुज्रेका औषधि बिक्रीमा राखेको पाइएको भन्दै मानवीय स्वास्थ्य माथि खेलबाड गर्ने औषधि पसललाई अब कडा कारबाही गरिने बताए।

निर्धारित समयमा सडक नबन्दा स्थानीयलाई सास्ती

नेपालगञ्ज । बाँकेको हुलाकी राजमार्गअन्तर्गत कम्दीस्थित राप्ती नदी नजिकको सडक निर्धारित समयमा निर्माण नहुँदा स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको छ ।

कम्दी मिलनचोकदेखि राप्ती पुलसम्मको करिब एक किलोमिटर सडक जीर्ण भएकाले आवतजावत गर्न अप्ठेरो भएको स्थानीय बताउँछन् । सडक समयमा नबनेका कारण स्थानीयले सास्ती खेप्नुपरेको कम्दीका भोला गुप्ता बताए।

ठेक्का लिएको कम्पनीले सडक निर्धारित समयमा निर्माण नगर्दा वर्षाको समयमा सबैभन्दा बढी सास्ती झेल्नुपरेको उल्लेख गर्दै उनले सडक निर्माणको काम समयमा नहुँदा त्यस आसपासका स्थानीय बासिन्दा बढी प्रभावित भएको बताए ।

‘वर्षाको समयमा आवतजावत गर्न निकै कठिन भएको छ’, उनले भने । हुलाकी राजमार्गअन्तर्गत मिलन चोकदेखि राप्ती पुलसम्मको सो सडक निर्माणका लागि विगत लामो समयदेखि स्थानीय र जनप्रतिनिधिले माग गर्दै आएका थिए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सडक जीर्ण भएका कारण सवारी साधन आवतजावत गर्न अप्ठेरो भएको र दुर्घटनाको जोखिम भएको उल्लेख गर्दै सात दिनभित्र सो सडक निर्माण नगरे हुलाकी सडकमा नै अनशन बस्ने चेतावनी दिएका छन् । उनले शीघ्र सडक निर्माणका लागि पटकपटक गरिएको आग्रहको बेवास्ता भएको जनाउँदै सात दिनभित्र सडक निर्माणको काम पूरा गर्न अनुरोध गरे।

‘जीर्ण सडकको अवस्थाका कारण गाउँबाट अस्पताल उपचारमा गइरहेकी गर्भवतीलाई चोट लागेको छ’, उनले भने ।

हुलाकी राजमार्ग निर्देशनालय नेपालगञ्जका प्रमुख लीला भण्डारीले उक्त सडकलाई ग्राभेल गरी यात्रुलाई ओहोरदोहोर गर्न सहज बनाउनका लागि काम भइरहेको जानकारी दिए।

सडक डिभिजन कार्यालयका प्रमुख नरेन्द्र भट्टले राप्ती पुलको छेउमा हुलाकी सडक जीर्ण बनेपछि स्थानीयले सास्ती खेप्नुपरेको स्वीकार गर्दै राप्ती नदीको पूर्वी खण्डमा पर्ने निर्माणाधीन पुलको निर्माणका लागि ठेक्का पाएको लुम्बिनी–रौताहा वन्दना भगवती जेभी कन्स्ट्रक्सन प्रालिको ढिलासुस्तीका कारण सडक निर्माण हुन नसकेको जानकारी दिए।

हुलाकी राजमार्ग निर्देशनालयसँग समन्वय गरी तीन दिनभित्र सो सडकको निर्माण गरिने उनको भनाइ छ । सो सडकबाट राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका स्थानीय आवतजावत गर्ने गर्छन् ।

बाबर आजमद्वारा पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा

काठमाडौं । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

साथै आफ्नो कप्तानीप्रति उनले खुसी व्यक्त गरेका छन् । आफ्नो कप्तानी करियरलाई बाबरले सानदार भनेका छन् । राजीनामा घोषणा गर्दै उनले समर्थकहलाई धन्यवाद दिएका छन् । उ

नले लेखेका छन्, ‘मैले पाकिस्तानी पुरुष क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिने निर्णय लिएको छु ।’ उनले कप्तानी छाडेर आफ्नो खेलमा ध्यान दिने समय आएकाले पदबाट राजीनामा दिएको बाबरले उल्लेख गरेका छन् ।

विपदमा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः प्रभु साह

काठमाडौं ।  आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले केही दिनअघि परेको अविरल वर्षापछि आएको बाढीपहिरोपीडित जनतालाई राहत प्रदान गर्ने कार्यमा राज्यका निकायलाई सक्रिय बनाउन सरकारसँग आग्रह गरेका छन् ।

बाढीपहिरोको चपेटामा परेका जनतालाई सङ्कटका बेलामा तीन तहका सरकारलाई सहारा बन्नलाई अनुरोध गर्दै उनले विपद्को समयमा मेरो पछाडि राज्य छ भन्ने नागरिकलाई अनुभूति दिलाउन सक्नुपर्ने बताए ।

बाढीपहिरोबाट लाखौँ जनताका अर्बौं मूल्य बराबरको क्षति भएको उल्लेख गर्दै साहले बेसहारा बनेका जनतालाई मल्हमपट्टी लगाउने कार्यमा राज्य गम्भीर र सक्रिय बन्न आवश्यक रहेको बताए । दसैँका नाममा लिइने पेश्की रकम यस वर्ष पीडित जनतालाई हस्तान्तरण गरी सहयोग पुर्‍याउन पनि उनले अपील गरेका छन् ।

इरानद्वारा इजरायलतर्फ १८० वटा क्षेप्यास्त्र प्रहार

बीबीसी । इरानले इजरायलतर्फ प्रहार गरेको झण्डै १८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिएको इजरेली सेनाले जनाएको छ ।

केही सैन्य अखडामा प्रहार लागेको बताएका छन् । केही रेस्टुराँ र विद्यालयमा समेत क्षति पुगेको छ । अधीनस्थ वेस्ट ब्याङ्कको जेरिको क्षेत्रमा एकजना प्यालेस्टिनी पुरुष मारिएको इजरायली डिफेन्स फोर्सेस (आइडिएफ) का एकजना प्रवक्ताले जनाएका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा इरानले आफ्नो सैन्य कारबाही ‘पूरा गरेको’ जनाएका छन्। तर इजरायलले जबाफी कारबाही गरेमा थप हमला गर्ने जनाएका छन् ।

इजरायलका अन्तर्राष्ट्रिय साझेदारहरूले उक्त देशका दशौँ लाख मानिसहरूलाई बमबाट सुरक्षित रहन बनाइएका आश्रयस्थलमा पुग्न बाध्य पार्ने गरी भएका प्रहारको निन्दा गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले ‘ठूलो गल्ती गरेको’ बताउँदै त्यसको ‘मूल्य चुकाउनु पर्ने’ बताएका छन् । मन्त्रिपरिषद् बैठक सुरु भए लगत्तै बोल्ने क्रममा नेतन्याहूले इरानले इजरायल र उसका शत्रुविरुद्ध ‘जवाफ दिने दृढता’ आफ्नो देशको दृढतालाई ‘नबुझेको’ बताए ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मङ्गलबार राति गरिएका हमलालाई आफ्नो देशको ‘वैध अधिकार’ भन्दै त्यो “इरान र यस क्षेत्रको शान्ति र सुरक्षा“को उद्देश्यसाथ गरिएको बताएका छन्।

मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु

म्याग्दी । मुस्ताङको वारागुङ–रानीपौवाबाट मुक्तिनाथ–पुराङ–झोङ हुँदै तेताङ जोड्ने सडक खोल्ने तथा स्तरोन्नति गर्ने आयोजना सुरु भएको छ । आयोजनामार्फत रानीपौवाबाट झोङसम्म चार किलोमिटरमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र झोङबाट तेताङसम्म सात किलोमिटर नयाँ मार्ग निर्माण गरिने मुस्ताङ पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम मगरले जानकारी दिए ।

‘सम्झौता गरेको निर्माण कम्पनीले तेताङतर्फबाट डोजर परिचालन गरेर ‘ट्रयाक’ निर्माण थालेको छ‘, उनले भने, ‘रानीपौवा–झोङ खण्डमा कालोपत्रका लागि पहिलो चरणमा सडक फराकिलो बनाउन सुरु भएको छ ।’

यो आयोजनाका लागि गण्डकी प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ । विसं २०८३ साउन २८ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेको आयोजनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड ६० लाख बजेट विनियोजन गरेको छ ।

यो कालीगण्डकी करिडोरको कागबेनी–छुसाङ खण्डको वैकल्पिक सडक हो । कागबेनीबाट मुक्तिनाथ मन्दिरमा जाने पर्यटक तथा तीर्थयात्रीलाई यही सडक भएर उपल्लो मुस्ताङको यात्रा गर्न सहज हुनेछ ।

वारागुङ मुक्तिक्षेत्र, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सहज हुने भएकाले यो सडकलाई प्राथमिकता दिएको हो ।

तीन वटै सुरक्षा निकायका प्रमुखलाई ‘हाइ अलर्ट’मा रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएकाले सोहीअनुसार सतर्क रहन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई दृष्टिगत गरी तीन वटै सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र र स्थानीय तहहरूलाई बुधबार निर्देशन दिएका हुन् ।

महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आमनागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

सोही सन्दर्भमा उनले भने, ‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई सतर्क रहन निर्देशन दिएको छु ।’

थप समन्यव र सोसम्बन्धी आवश्यक काम कारबाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरणलाई तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए ।

मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकका प्रमुख राजमार्गहरु अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउनसमेत आग्रह गरेका छन् ।

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ ।

विश्व बैंकले बुधबार नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो ।

गत आवको तुलनामा यस आवमा आर्थिक वृद्धि बढ्ने अनुमान विश्व बैंकको छ । यद्यपि हाल मुलुकले भोगेको बाढीपहिरो र डुबानको कारण सिर्जित समस्याले अर्थतन्त्रमा पार्नसक्ने असरको भने लेखाजोखा गरिएको छैन ।

केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार, निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ । सन् २०२४ मा पर्यटन आगमन ३० प्रतिशतले बढ्दा सेवा क्षेत्रको वृद्धि हुने र यातायात, आवास तथा खाद्य क्षेत्रमा वृद्धि हुने अनुमान छ ।

जलविद्युत् र कृषि क्षेत्रको उत्पादन बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ । यसवर्ष जलविद्युत् उत्पादन चार सय ५० मेगावाट थपिने र धान उत्पादन चार दशमलव तीन प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

त्यस्तै, मुद्रास्फीति सन् २०२५ मा पाँच प्रतिशत र सन् २०२६ मा साँढे चार प्रतिशत रहने पनि विश्व बैंकको अनुमान छ । मुद्रास्फीति सन् २०२३ मा सात दशमलव सात प्रतिशत र सन् २०२४ मा पाँच दशमलव चार प्रतिशत रहेको छ ।

विश्व बैंकको श्रीलङ्का, नेपाल र माल्दिभ्सका देशीय निर्देशक डेबिड सिस्लेनले पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रको वृद्धिले अर्थतन्त्रलाई राम्रो टेवा दिने भए पनि आप्रवासन, बाह्य क्षेत्र व्यवस्थापनलगायतका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

पछिल्ला वर्षमा नेपालको आर्थिक वृद्धिदर निरन्तर बढ्दो क्रममा रहेको उनको भनाइ छ । वित्तीय क्षेत्रमा खराब कर्जा बढ्नु र बैंकको नाफा घट्नुलाई समस्याका रुपमा देखाइएको छ ।

त्यस्तै, बजेट कार्यान्वयन निकै कमजोर रहेको र पुँजीगत खर्च बढ्न नसकेको, सार्वजनिक ऋणको दायित्व बढेकोलगायतका विषयलाई नेपाल डेभलपमेन्ट अपडेटमा औँल्याइएको छ । राष्ट्र बैंकले नीतिगत दर घटाएको, चालु पुँजी कर्जा मार्गदर्शनमा सहजीकरण गरेको, ब्याजदर घटेकोलगायत लचिलो नीतिका कारण निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान गरिएको छ ।

व्याघार घाटा बढ्दा सरकारको चालु खाता बचत भने घट्ने अनुमान गरिएको छ । चालु आवमा निजी क्षेत्रको खपत एक दशमलव आठ प्रतिशत र सरकारी क्षेत्रको खपत पाँच दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसवर्ष चालु खाता बचत जिडिपिको दुई दशमलव छ प्रतिशत रहने र सरकारी राजस्व २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

लेबनानमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

काठमाडौँ ।  नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्ण रूपमा सचेत रहेको जनाएको छ ।


परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ । साथै, लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।


तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिक तथा उनीहरुका आफन्तहरूले नेपाली राजदूतावास कायरोमा द्वितीय सचिव दीपक घिमिरेलाई फोन नं +२०१०९७७७२३४८ मा, अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुतमा मोहम्मद गोजायललाई फोन
नं+९६१३३०११८१/+९६१७१६८८८२१/+९६१८१८८३७१३ मा र परराष्ट्र मन्त्रालयका अधिकृत श्रीकृष्ण सिलवाललाई फोन नं +९७७९८४११७९५२० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

नेपालथोकमा बगाएको सडक सञ्चालन गर्न रोशी र घ्याम्पे खोलालाई डाइभर्सन गरिँदै

राधिका बुढाथोकी, कमलामाई। यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान जस्तै छ। राजमार्ग छेउका होटल व्यवसाय ठप्प जस्तै छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिराले राजमार्गमा ठूलो क्षति गरेपछि सवारीसाधन चल्न सकेका छैनन्।

सिन्धुलीसहित पहाडी जिल्ला र पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको राजमार्ग बाढीपहिरोले क्षतविक्षत छ। रोशी र सुनकोसी नदीमा आएको बाढीले कतै सडक बगाएको छ, कतै सडक भासिएको छ। कतै चिराचिरा परेको छ।

गोलञ्जोर गाउँपालिकाको माथिल्लो बारादेखि नेपालथोक दुम्जासम्मको सडकमा मात्रै ४० ठाउँमा लेदोमाटो, गेग्रान र ढुङ्गामाटो खसेको छ। नेपालथोक दुम्जा, टुप्पीडाँडा, कमेरेफाँट झाँगाझोली रातमाटा, बोहोरेटार, माथिल्लो बारा, तल्लोबारालगायत स्थानमा खसेको पहिरो पूर्ण रुपमा पहिरो हटाउन सकिएको छैन। सडकमाथिबाट खसेको पहिरो थुप्रो लागेको छ।

राजमार्गका ठाउँठाउँमा सडकमाथिबाट बेलाबेलामा ढुङ्गा, लेदोमाटो झरिरहन्छ। कतिपय भिरका रुखहरु सडकतर्फ नै ढल्किएका देखिन्छन्। जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर बनाइएको राजमार्ग तीन दिनको वर्षाले तहसनहस बनाइदिएको छ।

महोत्तरीको बर्दिवादेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको कूल एक सय ६० किलोमिटर लामोे राजमार्गलाई चार खण्ड (पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किमी, दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी,तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर) मा विभाजन गरेर निर्माण गरिएको थियो।

यसमध्ये तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथो खण्ड नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्म ५० किलोमिटर सडकको विभिन्न भागमा बढी क्षति पुगेको छ।

राजमार्गको दुई खण्ड एकतर्फी सञ्चालन, एक खण्ड खुलाउने प्रयास

बिपी राजमार्गको पहिलो खण्ड बर्दिवास–सिन्धुलीमाढी ३७ किमी बाढीपहिरोले क्षति गरेको थिएन। यो खण्ड दुईतर्फ नै सञ्चालनमा छ। दोस्रो खण्ड सिन्धुलीमाढी–खुर्कोट ३९ किमी सडकको माथिल्लो बारा, तल्लो बारा क्षेत्रको सात ठाउँमा सानाठूला पहिरो खसेको थियो। दुई ठाउँमा खसेको ठूलो पहिरो एकतर्फ पन्छाएर सडक सञ्चालन गरिएको छ।

तेस्रो खण्ड खुर्कोट–नेपालथोकको विभिन्न भागमा कतै पहिरो पन्छाएर र भत्किएको ठाउँमा अस्थायी डाइभर्सन बनाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

कानढुङ्ग्रीमा डाइभर्सन निर्माण

बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा चिराचिरा परेर सुनकोसी नदीतर्फ धसिएपछि सोही सडकको भित्तातर्फ डाइभर्सन बनाएर एकतर्फी सडक सञ्चालन गरिएको छ। शनिबारसाँझसम्म सञ्चालनमा रहेको सडक आइतबार बिहान कालोपत्रसहित धसिएर नदीमा खसेको थियो। सोही सडकको भित्तापट्टीबाट ५० मिटर डाइभर्सन सडक बनाएको हो । खुर्कोट–नेपालथोक खण्डको ३२ ठाउँमा माथिबाट खसेको ढुङ्गामाटो पहिरो र लेदोमाटो एकतर्फ पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको छ।

नेपालथोकमा बगाएको सडक सञ्चालन गर्न रोशी र घ्याम्पे खोलालाई डाइभर्सन गरिँदै

बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको काभ्रे र सिन्धुलीको सिमाना छेउ नेपालथोक देविस्थानमा रोशी र घ्याम्पे खोलाले बगाएको सडक सञ्चालन गर्न आजदेखि ट्र्याक खोल्ने काम सुरु भएको छ।

सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख पारशमणि हमालका अनुसार एस्काभेटरको सहयोगमा खोलालाई पूर्वतर्फ डाइभर्ट गरी अस्थायी ट्र्याक खोल्ने काम सुरु गरिएको हो। बाढी बगाएको एक सय मिटर सडकलाई रोशी खोलालाई डाइभर्ट गरेर अस्थायी ट्र्याक निर्माण सुरु गरिएको उनले बताए।

उनका अनुसार यो ट्र्याक खुलेपछि काभ्रेको मंगलटारसम्म सवारी सञ्चालन हुने र भकुण्डबेंसी देखि रोशी खोलासम्मको १० किलोमिटर क्षेत्रमा बगाएको सडकमा ट्र्याक खोल्नुपर्ने हुन्छ। बर्दिवासदेखि धुलिखेलसम्मको तीन खण्डको ११० किलोमिटर सडकमा यातायात सञ्चालन गर्न सकिने र ५० किलोमिटर पुनःनिर्माणको चरणमा रहेको उनले बताए।

नेपालथोकबाहेक यो खण्डमा छ स्थानमा रोशीको बाढीले कालोपत्रसहितको सडकमा पूर्ण रुपमा क्षति गरेको छ। नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ। सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ। रोशीगाउँपालिकाको कालढुङ्गा र बोक्सीकुनामा २०० मिटरभन्दा बढी सडकमा पूर्ण रूपमा क्षति भएको छ।

थली बेसीमा पनि रोशीखोलाले २०० मिटर र नार्के पुल नजिक २०० मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ। रोशी खोलामा बाढी घटेकाले खोलालाई डाइभर्सन गरेर अस्थायी सडक निर्माण गर्न स्थानीयले सुझाएका थिए।

विसं २०५० को भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र सडक सम्पर्क टुटेपछि नेपाल सरकारले बिपी राजमार्गलाई वैकल्पिकमार्गका रूपमा विकास गरेको थियो।

राजमार्ग पूर्ण रुपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने अनिश्चित छ। यद्यपि दसैँअघि नै राजमार्ग पूर्ण रुपमा सञ्चालनमा ल्याउने प्रयासस्वरुप जिल्लाका जनप्रतिनिधिसहित सरोकारवाला सबैपक्ष जुटेका छन्।

‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक

काठमाडौंं । फिल्म ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथावस्तु र चरित्रबारे चित्रण गरिएको छ । ट्रेलरमा विराज भट्टसहित उनका छोरा समीर भट्टलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

ट्रेलरले १२ गाउँ नामको एक थलोको रुपमा सामन्ती जमिनदार र शोषित जनताबीचको कथा भन्छ । फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दिया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । फिल्म दसैँको अवसरमा असोज २४ गतेबाट रिलिज हुनेछ।

ढोरपाटनका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि जेल चलान

बागलुङ  । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् । बागलुङ जिल्ला अदालतमा मंगलबार भएको सुनुवाइपछि न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

इमेज सहकारी संस्थाको करोडौं बचत रकम ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए । इमेज सहकारीकै बचत ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई भने अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बागलुङ बजारमा मुख्य कार्यालय, बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रका नाममा गैरकानुनी कारोबार गरेको इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली १६ महिनादेखि फरार थिए ।बचत घर र जग्गामा हालेका उनी सहकारी संकटमा परेपछि फरार भएका थिए ।

नेपालीविरुद्ध १२ माघ २०८० मा रेडकर्नर नोटिस जारी भएको थियो । त्यसपछि उनी अन्तर्राष्ट्रिय प्रहरी संगठनको पनि खोजीको सूचीमा थिए । फरार रहेर लुक्दै आएका उनी यही असोज ११ गते भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका थिए । उनीमाथि सहकारीको एक अर्ब ८० करोड बचत अपचलन गरेको आरोप छ ।

दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोड सहयोग

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  दुई करोड सहयोग  गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए ।

बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा एक अर्ब दाखिला गर्ने निर्णय गरेको थियो ।

राज्य व्यवस्था समितिमा सांसदको प्रश्न : विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?

काठमाडौं। सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन्। राज्यव्यवस्था समितिको मंगलबारको बैठकमा उनीहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नसकेको उल्लेख गरे।

बाढीपहिराका कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्न नसक्दा अझै पनि नागरिकहरू सडकमा अलपत्र परेका जनाउँदै उनीहरूले अलपत्र नागरिकलाई यथाशीघ्र उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

सांसद रवि लामिछानेले विपद्का समयमा अनवरत खट्नुपर्ने जिम्मेवार पदाधिकारी नै मुलुक बाहिर हुँदा प्रतिकार्यमा कमजोरी भएको सरकारले स्वीकार्नुपर्ने बताए।

‘राष्ट्रिय आपत्कालका बेला जिम्मेवार पदाधिकारी नै गैरजिम्मेवार बने, जुन ढंगको तयारी हुनुपर्नेथ्यो, त्यसखालको तदारुकता देखिएन, झारा टार्ने काम भयो’, उनले भने, ‘स्रोत साधन र क्षमता सीमित छ, तर असिमित इच्छाशक्ति भएको भए धेरै क्षति न्यूनीकरण गर्न सकिन्थ्यो।’

सांसद गगनकुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै सरकार, राजनीतिक दल र नागरिक एकताबद्ध हुनुपर्ने र जिम्मेवारी तहमा बसेका पदाधिकारीले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए। ‘बैठक धेरै भए, कतिपय निर्णय ‘डुब्लिकेसन’ भएका छन्, अब धेरै बैठक बस्नु पर्दैन, भएका निर्णय कार्यान्वयन गर्ने हो’, उनले भने।

सांसद चित्रबहादुर केसीले विपद्का समयमा वादविवाद नगरी राष्ट्र र जनताको पीडामा सिंगो मुलुक एकजुट हुनुपर्ने बताए। ‘सडकमार्ग अवरुद्ध छ, त्यही मौकामा प्लेनका व्यापारीले अस्वभाविक भाडा बढाएका छन्, सरकार भएको ठाउँमा यस्तो हुन्छ ?’, उनले प्रश्न गरे, ‘व्यापारीको तजबिजीमा मात्रै मुलुक चल्ने हो र ?’

सांसद रघुजी पन्तले विपद् प्रतिकार्यलाई चुस्त बनाउन सरकारले आफ्नो क्षमता बढाउनुपर्ने धारणा राख्दै बाढीपहिरोले भत्काएका संरचना निर्माण गर्न अन्तर्राष्ट्रिय सहायता लिन ढिलाई गर्न हुने बताए। ‘सडक बन्द भएको अवस्था छ, यही बेला हवाई भाडा वृद्धि भएको छ, आधारभूत संरचना ध्वस्त हुँदा त्यसको मर्मत गर्न अन्तर्राष्ट्रिय सहायता लिनु उचित हुन्छ’, उनले भने।

सांसद राजेन्द्र पाण्डेले सम्भावित जोखिमलाई मध्यजनर गर्दै सरकारले ‘ट्राभल एडभइजारी’ जारी गरेको भए पनि राजमार्गमा किन निर्वाध यातायातका साधन चल्न दिएको भनी प्रश्न गरे। उनले राष्ट्रिय विपद्का बेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निकम्मा बनेको आरोप लगाए।

सांसद प्रकाश अधिकारीले एक साता अघिदेखि नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि नदी किनारामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न किन ढिलाई गरेको भन्दै प्रश्न गरे। ‘राजमार्गमा किन निर्वाध रात्रि बस चलाउन दिएको’, उनले प्रश्न गरे, ‘विपद्पछि आउनसक्ने जनस्वास्थ्य चुनौती सामना गर्न सरकारको के तयारी छ ?’

सांसद दीलेन्द्रप्रसाद बडुले ठूलो मनसुनी वर्षा हुने पूर्वानुमान र पूर्वचेतावनीकाबीच राजमार्गमा यातायात चल्न दिनु कमजोरी भएको बताए। ‘फेरि पानी पर्ने पूर्वानुमान गरिएको छ, अब नागरिकको सुरक्षाका लागि भए पनि राजमार्गमा यातायात बन्द गर्नुपर्छ’, उनले भने, ‘पूर्वतयारी र प्रतिकार्यका लागि स्थानीय तहलाई साधनस्रोत सम्पन्न बनाइनुपर्छ।’

सांसद सरिता प्रसाईंले पछिल्लो विपद्को सन्दर्भमा पूर्वानुमानका बारेमा पर्याप्त सूचना प्रवाह भए पनि पूर्वचेतावनी कार्यान्वयनमा सरकार चुकेको बताइन्। ‘पुनः बद्ली हुने पूर्वानुमान छ, अझै पनि राजमार्गमा सयौँ नागरिक अलपत्र छन्, अलपत्र यात्रीलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्याऔँ’, उनले भनिन्।

सांसद बुद्धिमान तामाङले बुधबारदेखि पुनः मौसम बद्ली हुने पूर्वानुमानले नागरिकलाई झन् त्रसित बनाएको जनाउँदै पूर्वतयारीमा कुनै कमजोरी नगर्न सरकारको ध्यानाकर्षण गराए। सांसद सर्वेन्द्रनाथ शुक्लाले विषमी मौसमी अवस्था आउँछ भनेर पूर्वानुमान गरिएको, सावधानीका लागि पूर्वाचेतावनी पनि जारी गरिएको अवस्थामा सरकारले पूर्वतयारीमा ठूलो कमजोरी गरेको आरोप लगाए।

बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीपहिरोले सडक अवरुद्ध हुँदा सयौँ यातायात मजदूर राजमार्गमा अलपत्र परेको जनाउँदै उनीहरूलाई न्यूनतम आधारभूत सेवा दिनेतर्फ स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको बताए।

‘बिपी राजमार्गमा अझै पनि पाँच सय बस अलपत्र छन्, चित्लाङमा ५० वटा गाडी अड्किएका छन्’, उनले भने, ‘यात्रीको उद्धार भयो तर यातायात मजदुर अलपत्र छन्।’

सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय

काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि संयन्त्र विस्तार गर्ने भएको छ ।

केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा मंगलबार बसेको सञ्चालक समिति बैठकले सङ्घीय राजधानी काठमाडौँबाट उपलब्ध मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको योजनानुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि आवश्यक प्रक्रियाअघि बढाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब केन्द्रले बागमतीबाहेक थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाइने छ ।

सबै प्रदेशमा प्रादेशिक अस्पतालमार्फत विशिष्टीकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर रोगको उपचार सुरु भैसकेको जानकारी दिँदै मन्त्री पौडेलले केन्द्रमार्फत मुटु रोगको उपचारका लागि प्रदेशस्तरमा संयन्त्र विस्तार गर्ने निर्णय भएको बताए ।

उनले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकताअनुसार प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टीकृत उपचार सेवा विस्तार गर्न लागिएको स्पष्ट पारे ।

अर्थ मन्त्रालयबाट स्वीकृत भएसँगै अब सबै प्रदेशमा जलन उपचार सेवासमेत निःशुल्क रूपमा सञ्चालन गर्ने प्रक्रिया अघि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

उद्धार र राहतमा क्रियाशील रहन नेता कार्यकर्तालाई कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली काग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विप्दको बेला राहत तथा उद्धार कार्यमा सक्रिय रहन शुभेच्छुक संस्थाका पदाधिकारी एवम् सदस्यलाई आग्रह गरेको छ ।

विभाग प्रमुख अब्दुल सत्तारले मंगलबार विज्ञप्ति जारी गरी असोज १० गतेदेखि तीनदिनसम्म देशभर परेको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको भन्दै यस घडीमा विभागमा आबद्ध सङ्घ, प्रदेश र स्थानीय तहमा क्रियाशील शुभेच्छुक संस्थाका प्रतिनिधिहरूलाई राहत तथा उद्धार कार्यमा सक्रिय रहन आग्रह गरेका हुन् ।

यसैगरी दुःखद घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई उचित राहतको व्यवस्था मिलाउन, बेपत्ता भएकाको चाँडो खोजी गर्न र घाइतेको यथाशीघ्र निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

विभागले यस विषम परिस्थितिमा सुरक्षा निकाय, सडक विभागको समन्वयमा अवरुद्ध राजमार्ग, सहायक मार्ग तथा पुलको चाँडो मर्मतसम्भार गरी यातायातका साधन सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

संयोजक सत्तारले नेपालीहरूको पर्व विजयादशमीको पूर्वसन्ध्यामा भएको यस अकल्पनीय घटनाले जनतामा त्रास उत्पन्न भएकाले जनतालाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माणमा लाग्न सरकारलाई आग्रह गरे ।

पूर्वतयारीभन्दा ठूलो विपद् आएकाले उद्धार र खोजमा कमजोरी भयोः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैलाई आव्हान गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेका पीडालाई साझा समस्य मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आग्रह गरे ।

‘यो पीडा सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरू भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरूपमा सबल संरचना बनाइनेछ ।’

प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारीभन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुरालाई सच्च्याउने प्रतिबद्धता व्यक्त गरे । उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्नेमा जोड दिए ।

स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि कैद नै बस्नु परेपनि तयार छु :अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषय सर्वोच्च अदालतले आफ्नो विषय बनाउन आवश्यक नरहेको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले आफूले न्याय परिषदले गरेको काम, क्रियाकलापको सन्दर्भमा बोलेको विषयलाई लिएर अदालतको अवहेलना मुद्दा चलाउन आवश्यक नरहेको बताएका हुन् ।

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमेतले हस्ताक्षर गरेको हरिकृष्ण कार्कीको प्रतिवेदनले अदालतको बेथितिबारे आफूले बोलेभन्दा कडा रहेको उनले बताए ।

घिमिरेले अदालतको अवहेलना मुद्दाको डटेर मुकाविला गर्ने बताए । उनले भने, ‘न्याय परिषद्को अध्यक्ष हुनुहुन्छ, संवैधानिक परिषद्को सदस्य पनि हुनुहुन्छ । संवैधानिक संस्थामा बस्ने अनि, मुद्दाको रोहमा यो बोलिएको होइन । यो न्याय परिषदले गरेको काम, क्रियाकलापको सन्दर्भमा बोलिएको शब्द हो । त्यसैले यो विरोध गर्न पाइन्छ । हरिकृष्ण कार्कीको प्रतिवेदनमा स्वयं भोलि बन्न लाग्नुभएको प्रधानन्यायाधीश प्रकाश राउतले सिग्नेचर गर्नुभएको छ । त्यो प्रतिवेदन सार्वजनिक छ । त्यो प्रतिवेदन त मैले बोलेको कुराभन्दा धेरै कडा छ ।’

उनले अदालतको अवहेलना मुद्दा फेस गर्ने क्रममा त्यसको परिणाम कैद नै बस्नुपर्ने आएपनि आफू तयार रहेको बताए । परिस्थिति जेसुकै भएपनि आफू गैरकानुनी र गैरसंवैधानिक कामलाई सही भन्न नसक्ने उनले बताए ।

उनले भने, ‘संविधानको रक्षा, कानुनको रक्षामा हामी लागिरहने छौं । कानुनको शासन र स्वतन्त्र न्यायापालिकाको लागि मैले मुद्दा फेस गर्दा त्यसको परिणाम जे आएर कैद नै बस्नुपरेछ भने पनि म तयार छु । तर, म गैरकानुनी, गैर संवैधानिक कामलाई संवैधानिक भन्न सक्दिनँ ।’

घिमिरेविरुद्ध सर्वोच्च अदालत प्रशासनले चलाएको अदालतको अवहेलना मुद्दामा आगामी कात्तिक १ गतेका लागि पेशी तोकिएको छ ।

बाढीपहिरो प्रभावितको खोज र उद्धारको काम दुई दिनभित्र पूरा हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानबाट प्रभावित भएकाहरूलाई राहत रकम वितरण सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र पूरा गरिने बताएका छन् । 

प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका  लागि आवश्यक प्रबन्ध गरिएको बताए ।
क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युतका पूर्वाधार मर्मत तथा यथाशीघ्र सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको उनले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित  पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको विज्ञप्तिमा विपद्का कारण २२४ जनाको मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण  गरिएको उल्लेख छ ।

बाढीपहिराबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् ।

तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती

चितवन । असोज ११ र १२ गतेको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न सकेन । तटबन्ध नभएका केही स्थानबाट नदी बस्तीमा पसे पनि वितण्डा मच्चाउन पाएन ।

नारायणीको जलसतह मापन गर्न थालेको ६१ वर्षको अवधिमा ११ दशमलव ५४ मिटर यस अघि कहिल्यै मापन भएको थिएन । भरतपुर महानगरपालिका–१ देवघाटमा नारायणी नदीको सतह मापन नारायणी बेसिन फिल्ड कार्यालयले गर्दै आएको छ । कार्यालयका सूचना अधिकारी विशाल अधिकारीका अनुसार सन् १९६३ बाट सरु गरिएको मापनमा हालको तथ्याङ्क सबैभन्दा धेरै हो ।

सतह बढेसँगै देवघाटका वृद्धाश्रमबाट केहीलाई उद्धार गर्नु प¥यो । नारायणगढ बजार हुँदै पश्चिम चितवनको गोलाघाटसम्मको बस्ती उच्च जोखिममा थियो । यद्यपि नदी किनार क्षेत्रमा गरिएका तटबन्धनका कारण बाढी वस्तीमा पस्न पाएन ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार भरतपुरको वडा नं १, ३, १६, १७, २६, २७ र २८ का केही ठाउँहरुमा बाढी पसेर डुबान भएको थियो । नदीले ५१५ घर डुबानमा परेको र एक हजार ४१० जनालाई एक रातका लागि सुरक्षित ठाउँमा सार्नुपरेको उनले जानकारी दिए ।

डुबानमा परेर विस्थापित उनीहरु घर फर्किसकेका छन् । नदीले नारायणगढ बजार नजिक समुन्द्री किनार (विच मोडलं)का रुपमा विकास गरिरहेको ठाउँमा क्षति पुर्याएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले बनाएको मूल संरचनामा क्षति पुगेको छैन । माटो पुरेर ‘मोज्याक टायल’ लगाइएको पैदल मार्ग बगाएको छ ।

भरतपुर महानगरपालिका–२६ भगडीकी पार्वती पौडेल तटबन्धनले बचाएको बताइन् । उनले भनिन्, “तटबन्ध नभएको भए हाम्रो बस्ती डुबिसकेको हुन्थ्यो ।” पछिल्ला वर्षहरुमा तटबन्धका कारण बस्ती जोगिएको उनको भनाइ छ ।

वडा नं २६ हिरापुरस्थित नारायणी किनारमा भेटिएका वडाअध्यक्ष ज्ञानप्रसाद खनाल तटबन्धनका कारण पश्चिम चितवन जोगिएको बताउँछन् । आफ्नो वडाको हिरापुरमा छिरेको नारायणीको पानीको कारण ३० घर डुबानमा परे पनि दुई दिनमै सुकेको उनले बताए । उनले भने, “उहाँहरु घर फर्किसक्नुभएको छ । तटबन्धन नभएको भए हाम्रो वडा सखाप हुन्थ्यो ।”

वडा नं २६ सँगै २७, २८ पूर्ण प्रभावित हुने खनाल बताउँछन्  । वडा नं २८ का अध्यक्ष दण्डपानी रिजालले नारायणी नदी उर्लिएको भए पनि तटबन्धले जोगाएको बताए । पुरानो तटबन्ध भत्काएर सिसवार नजिकै बस्तीमा पानी पसे पनि रोक्न सकिएको रिजालको भनाइ छ ।

वडा नं १६ मा दुई सय घर बाढीबाट प्रभावित भएको वडाअध्यक्ष अमृत हमालले जानकारी दिए । झन्झने, गुम्बाचौर र सिद्धिगणेश सामुदायिक वन क्षेत्रबाट नदी पसेको उनले बताए । यी क्षेत्रमा तटबन्ध गर्न बाँकी छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी प्रकाश लम्साल तटबन्ध नगरिएका क्षेत्रबाट बस्तीमा बाढी पसेको बताउँछन् । वडा नं २८ र वडा नं २७ को दुई ठाउँमा १० वर्षअघि बनाइएका तटबन्ध बाढीले खोतलेको भए पनि अहिले नयाँ तटबन्धमा सामान्य समस्याबाहेक नदेखिएको उनले बताए। लम्सालले भने “कम्तीमा थप तीन किलोमिटर क्षेत्र तत्काल तटबन्ध गर्नुपर्ने देखिएको छ ।”

नारायणी पुलबाट गोलाघाटसम्म ३५ किलोमिटर क्षेत्र पर्दछ । आयोजनाले चितवनतर्फ पाँच योजनासहित नवलपरासीसमेत गरी चार अर्ब ७२ करोडमा ठेक्का लगाएर तटबन्ध लगाइरहेको छ । चितवनतर्फका सबै ठाउँमा तटबन्ध लगाउँदा रु दुई अर्ब बजेट थप आवश्यक पर्ने लम्सालको भनाइ छ ।

भरतपुर महानगरतर्फ मात्रै तटबन्धनका लागि  २६ अर्ब लाग्ने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल तटबन्धका कारण नारायणी नदीले भरतपुर महानगर क्षेत्रमा क्षति हुन नपाएको बताउँछिन् । डुबान भएको ठाउँमा तटबन्ध गर्न नभ्याएका कारण बाढी पसेको उनको भनाइ छ । उनले भनिन्, “भरतपुरतर्फको ३५ किलोमिटरमध्ये झन्डै १० किलोमिटर तटबन्ध गर्न बाँकी छ । ती ठाउँका लागि पहल भइरहेको छ ।”

भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर बनाएको पैदल मार्गमा केही क्षति पुगेको नगर प्रमुख दाहालले जानकारी दिइन् । दुई संस्थाले ९० लाख लागतमा पैदल मार्ग बनाएका थिए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नदी तटीय सबै क्षेत्रमा तटबन्धको आवश्यकता देखिएको बताइन्।

नारायणगढस्थित नारायणी नदी किनारका मुख्य संरचनामा क्षति नभएको र खाल्टो परेको ठाउँमा मर्मत गरेर पूर्ववत् अवस्थामा फर्काउन सकिने उनले बताइन् । उनले भनिन्, “हामीले थाहा पाएपछिको ठूलो बाढी आयो तर जनधनको क्षति हुन पाएन ।”

दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । प्रसाईं साइबर अपराधको आरोपमा हिरासतमा थिए ।

प्रसाईँका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दुई वटा मुद्दामा ५०/५० हजार धरौटीमा छाड्ने आदेश भएको जानकारी दिए ।

विपद प्रभावितको राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढाउन सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपद व्यवस्थापनमा सरकारले गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् ।

प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको मंगलबार काठमाडौ बल्खुको सुकुम्बासी वस्तीमा उदघाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको बताए । उनले यो संकटको बेलामा सत्ता पक्ष विपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न पनि आग्रह गरेका छन् ।

२०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । बल्खुको जागरण टोलमा ४१७ घरका झण्डै चार बढी नागरिक प्रभावित भएका छन् ।

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १ सय १८ पुग्यो

अमेरिका । दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ’हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको सङ्ख्या ११८ पुगेको छ ।

दक्षिणपूर्वी अमेरिकी राज्यमा सयौं अझै बेपत्ता छन् र मृत्युको सङ्ख्या बढ्दै जाँदा, राष्ट्रपति जो बाइडेनले उद्धार प्रयासको निरीक्षण गर्न बुधबार आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने घोषणा गरेका छन् ।

आँधीबेहरी र त्यसले निम्त्याएको बाढीबाट उत्तर क्यारोलिनामा ४९, दक्षिण क्यारोलिनामा २५, जर्जुयामा २५, फ्लोरिडामा १४, टेनेसीमा ४ र भर्जिनियामा एक गरी कम्तिमा ११८ जनाको मृत्यु भएको एएफपीले संकलन गरेको स्थानीय अधिकारीको तथ्याङ्कले जनाएको छ ।

संघीय आपतकालीन व्यवस्थापन प्रशासन (फेमा) का कर्मचारीले प्रभावित राज्यमा मानिसको उद्धार र खोजी कार्य जारी राखेका छन् । उनीहरूले प्रभावित क्षेत्रहमा पानी र बिजुली आपूर्ति पुनर्स्थापना गर्ने, आँधीले ढालेका रूखहरू पन्छ्याउने, आवश्यक सामग्री उपलब्ध गराउने र सहायता आवश्यक हुने मानिसको नाम दर्ता गर्ने काम गरिरहेका छन् ।

अधिकारीहरूले मृतकको सङ्ख्या बढ्ने चेतावनी दिँदै अझै ६०० जना बेपत्ता रहेको जानकारी गराएका छन् ।

इरानमा बाढीका कारण १५ जनाको मृत्यु

इरानको दक्षिणी सहरमा आएको आकस्मिक बाढीले छ जनाको मृत्यु भएको प्रारम्भिक तथ्याङ्कलाई अपडेट गर्दै कुल १५ जनाको मृत्यु भएको राष्ट्रिय सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ ।

“हलिल नदीमा आएको बाढीकारण बेपत्ता हुनेमध्ये अन्तिम शव जिरोफ्टमा फेला परेपछि कुल १५ जनालाई मृत घोषित गरिएको छ”, आधिकारिक इर्ना समाचार समितिले भनेको छ । त्यससँगै खोजी र उद्धार अभियान समाप्त भएको इर्नाले जनाएको छ ।

सोमबारको बाढीमा परी मृत्यु भएका लगभग सबै इस्लामिक गणतन्त्रमा बसोबास गर्ने अफगान नागरिक रहेको इरानको आइएसएनए समाचार समितिले जनाएको छ ।

जिरोफ्ट सामान्य रूपमा सुख्खा दक्षिणी प्रान्त केरमानमा अवस्थित एउटा सहर हो ।

इरानले विगत एक दशकमा बारम्बार विनाशकारी बाढीको सामना गर्दै आएको छ । सन् २०२२ मा इरानको दक्षिणी क्षेत्रमा आएको भारी वर्षाले कम्तीमा ८० जनाको ज्यान लिएको थियो र करिब २० करोड डलरको क्षति भएको अनुमान गरिएको थियो ।

एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

गलकोट । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो खोज्ने र बेच्नेमा बित्छ ।

लेकाली जङ्गलमा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरुलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले १० लाख ५० हजारको निगुरो बिक्री गरिन्।

पुर्जाले भने, ‘वन उपभोक्ता समिति, संकलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एकजनाले एक ‘सिजन’मा एक लाखभन्दा माथिको निगुरो बिक्री गर्छौं ।’

पुर्जाले मात्रै यस वर्ष आठ लाख ५० हजार र माया पुनले रु दुई लाख ५० हजारको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए। रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जङ्गलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङबजार ल्याउने गरिएको छ । बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आएका छन् ।

बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा ८० र खुद्रा प्रतिमुठा १०० रुपैयाँमा बिक्री हुने गरेको छ ।

दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या

काठमाडौँ  । अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि त्यस भन्दामाथि डाँडामा रहेको प्रसारणलाइनको टावर ढलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझदेखि बन्द भएको छ ।

होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सोझै सेवा लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युत्भार (लोड) स्वीकृत पाएको छ । त्यसमध्ये हाल दैनिक रुपमा १० मेगावाटलोड लिइरहेको प्राधिकरणको कावासोती वितरण केन्द्रले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पु¥याउने घोषणा अनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो ।

डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो । उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ । 

शेयर बजारमा उछाल, ११४ अंकले बढ्दा सात अर्ब ६१ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६२३ दशमलव ५६ को अङ्कमा कायम भएको छ ।

आज तीन सय सात कम्पनीका एक करोड ७५ लाख सात हजार ५५५ कित्ता शेयर ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ बराबरको कारोबार भएको छ । वित्त समूह आज सबैभन्दा धेरै नौ दशमलव ७४ प्रतिशतले बढेको छ । 

त्यस्तै, बैङ्किङ तीन दशमलव ८३, विकास बैङ्क पाँच दशमलव ४८, होटल तथा पर्यटन पाँच दशमलव ९७ र जलविद्युत् पाँच दशमलव ९८ प्रतिशतले बढेको छ । लगानी छ दशमलव १०, जीवन बीमा चार दशमलव १२, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, लघुवित्त तीन दशमलव ९८, म्युचुअल फन्ड एक दशमलव ६६, निर्जीवन बीमा तीन दशमलव शून्य नौ, व्यापार तीन दशमलव ९९ र अन्य समूह चार दशमलव ६७ प्रतिशतले बढेको छ ।

आज १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी–५० म्युचुअल फन्डको शेयर मूल्य तीन दशमलव ८६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको रु २८ करोड ८२ लाख ८३ हजार ९५६ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको छ लाख १२ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ ।

अवरुद्ध राजमार्ग पुनःसञ्चालन तथा वैकल्पिक सहायक मार्गको उचित प्रबन्ध मिलाउन संसदीय समितिको

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।

 समितिको मंगलबारको बैठकले अवरुद्ध राजमार्ग पुनःसञ्चालन तथा वैकल्पिक सहायक मार्गको उचित प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो । 

सडक यातायात अवरुद्ध भएका बेला अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि भएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै हवाई भाडाको अनुगमन गर्न, सडकको पहुँच नपुगेको जिल्लामा हवाई यातायातको व्यवस्था गर्न, दैनिक उपभोग्य वस्तुको कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई दिर्नेशन दिइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । 

बैठकले सम्भव भएका सबै उपाय अवलम्बन गरी विपद् प्रभावितलाई राहत सामग्री वितरण र पुनःस्थापनाको काम अघि बढाउनसमेत निर्देशन दिएको छ । 

विपद्पछि ललिपतुरमा खानेपानीको पखाइमा उपभोक्ता

प्रगति ढकाल, ललितपुर । गोदावारी नगरपालिका–१० को चापागाउँको राधा घिमिरेका लागि अत्यासलाग्दो विपद् टरे पनि खानेपानी धारामा नआउँदाको पीडाले सताएको छ । उनी भन्छिन्, “विपद्बाट त जोगियो, तर चार दिनदेखि धारामा पानी आएको छैन । कसरी गुजारा चलाउने ?” धारामा पानी आइहाल्छ कि भनेर आधा रातमै उठेर हेर्छिन्, पानी नआएपछि निरास उनी छिन् । ट्याङ्कीमा जम्मा भएको पानी पनि सकियो । “कहिलेसम्म नआउने हो ? तनावै गरायो,” उनी भन्छिन् ।


गोदावारी–१० प्याङ्गाउँकै रीता अर्याललाई पनि धारामा पानी नआउँदाको छटपटी उस्तै छ । पानी आउला कि भन्ने आशामा बसेको चार दिन बितिसक्यो । “खानेपानी नहुँदा गुजारा टार्नै गाह्रो हुने भयो, विपद् पीडितहरुको हालत अझै कस्तो होला ?” अर्याल भन्छिन् । खुमुलटार बस्ने मनमाया गुरुङ उमेरले ७० पुग्नै लागिन् । छोराबुहारी विदेश छन् । श्रीमान् पनि ७५ वर्ष टेके । बुढ्यौली शरीर । घरमा पानी छैन । बोकेर ल्याउन पनि सक्नुहुन्न । “जारकै पानीले गुजारा चलाएका छौँ, जारको पानी चलाएर कहिलेसम्म पुग्छ र ?”, उनी भन्छिन् ।


हालैको वर्षामा गोटीखेल बाढी, पहिरोका कारण तहसनहस बनेको छ यतिबेला । हराभरा क्षेत्र एक्कासि बगरमा परिणत भयो । यसले गर्दा खानेपानीको स्रोत पनि पुरिएको र समस्या उत्पन्न भएको बताउँछन् महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट ।

“यहाँ हिजोसम्म टेलिफोन सम्पर्क नै भएको थिएन, खानेपानीको पनि उस्तै समस्या छ, न त कतै गएर पानी ल्याउन सक्ने सम्भावना छ, बाटो पनि छैन,” उनले भने, “विशेषगरी पहिरोले खानेपानीको स्रोत पुरिँदा चन्दनपुर, मानीखेल, टण्डनपुरवासीलाई समस्या भएको छ ।”

रामेछाप घर भई हाल जडीबुटी बस्दै आएकी प्रभा श्रेष्ठको धारामा पानी त आएको छ । तर धमिलो छ । “पानी धमिलो छ, छुन समेत घिन लाग्छ कसरी खानु ? पिउनका लागि जारकै पानी प्रयोग गरे पनि कपडा धुन, भाँडा सफा गर्न, नुहाउन पानीको समस्या छ”, उनी भन्छिन् ।

काठमाडौँ थापाथलीस्थित सुकुम्वासी टोलमा बस्ने बलबहादुर मोक्ताङको कहानी पनि उस्तै छ । पिउनसम्म त जारको पानी नै प्रयोग गर्छन् तर सबै प्रयोजनका लागि जारको पानी प्रयोग गर्न गाह्रो भएपछि उनी धमिलै भए पनि बागमती नदीको पानी प्रयोग गर्छन् । “खानका लागि जारको पानी प्रयोग गरेका छौँ तर लुगा धुन, भाँडा सफा गर्नलगायतका अन्य प्रयोजनका लागि बागमतीको पानी ल्याएर गुजारा गरेका छौँ,” उनी भन्छन् ।

उनीहरु त केही प्रतिनिधि पात्र मात्रै हुन् । बाढी, पहिरोजस्ता विपद्ले थपिएको पीडा त छँदैछ । त्यसमाथि खानेपानी नपाउँदा जीवन गुजारा गर्न धौधौ हुने यस्ता थुप्रै पात्र छन् । पानीको मुहान पुरिएको छ । पाइपलाइन क्षतविक्षत भएको छ । कतै मूल खोज्दै जाने बाटोसमेत छैन ।

गत शुक्रबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण राज्यले ठूलो धनजनको क्षति बेहोर्नुपरेको छ । नेपालीको महान् चाड दसैँ नजिकिँदै गर्दा यो प्राकृतिक विपद्को घटनाले दुई सयभन्दा बढीले कालमै ज्यान गुमाउनुप¥यो भने कतिको घर भत्किने, पुरिने हुँदा अब कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताएको छ ।

विपद् प्रभावित क्षेत्रहरुका बासिन्दाले भोग्नुपरेको चरम खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने दायित्व सरकारलाई थपिएको छ । पीडितले पानीविनाको जीवन कसरी कटाएका होलान् ? पानी नै पाए पनि कतै ढलसहित मिसिएको छ ? कतै धमिलो खोला छिरेको छ ? प्रभावित क्षेत्रका जनतालाई यतिबेला सफा खानेपानीको पहुँच अत्यन्त जरुरी छ ।

पहिरोका कारण अधिकांश स्थानमा खानेपानीको मुहान नै पुरिएकाले समस्या भएको बताउँछन्, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाशकुमार राई । “वर्षाका कारण फर्पिङ हेल्थपोष्टदेखि फर्पिङ पम्पहाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइपमा ठूलो क्षति पुगेका कारण ललितपुरका अधिकांश स्थानमा पानीको समस्या भएको छ,” उनले भने, “धेरै ठाउँमा खानेपानीको स्रोत नै पुरिएको छ, मर्मतका लागि जाने बाटो पनि छैन ।”

उनका अनुसार खुमालटार क्षेत्रमा भने सुन्दरीजलको पानी ल्याएर वितरण गर्ने योजना छ । राईले गुणस्तरीय पानी उपलब्ध गराउन केयुकेएलले पानी प्रशोधनको प्रक्रिया अपनाएर वितरण गरेको भए पनि बीचमा पाइपलाइन बिग्रिएर फोहोर पानी छिरेको हुनसक्ने हुँदा पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न अनुरोध गरे । अधिकांश स्थानमा बाटो बिग्रिएको, हिलो जमेकाले गर्दा क्षतिको अवस्थाबारे अवलोकन गर्न र सुधारका लागि आवश्यक प्रक्रिया अपनाउन समेत गाह्रो भएको उनको भनाइ छ । “अहिले नै कति क्षति भयो भन्ने अवस्था छैन,” उनले भने, “चाँडोभन्दा चाँडो मर्मत गर्ने छौँ ।”

वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले अब सरकारले नागरिकको मौलिक हक प्रत्याभूतिका लागि पहल गर्नुपर्ने बताएको छ । “नेपालको संविधान २०७२ ले नागरिकको बाँच्न पाउने अधिकार प्रमुख हकका रुपमा राखेको छ,” उनले भने, “स्वच्छ खानेपानी पाउनु र स्वास्थ्यसम्बन्धी नागरिकको हक उपलब्ध गराएर उनीहरुलाई बचाउन राज्यलाई स्रोत साधन छैन भन्ने छुट अब हुन्न ।” उनले फोहोर पानीका कारण महामारी फैलने सक्ने खतरा भएकाले समयमा नै पहल गर्नुपर्नेमा जोड दिएको छ ।

राहतमा खानेपानी वितरण गर्न माग

खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले बाढी पहिरोको कारण खानेपानीको चरम समस्या भोग्नेहरुलाई राज्यले खानेपानीको राहत वितरण गर्नुपर्ने बताएको छ । तत्कालका लागि खानेपानीको व्यवस्थापनमा समस्या रहेका स्थानहरुमा चाँडोभन्दा चाँडो खानेपानी राहत वितरण गर्न नसके सर्वसाधारणमा अर्को समस्या आइपर्ने उनको भनाइ छ ।

“बाढी पहिरोको जस्ता प्राकृतिक विपद् आएमा खानेपानी तथा सरसफाइको वैकल्पिक पूर्वतयारी हुन सकेन, अब विपद्पछि पनि समस्या पहिचान गरेर समयमा नै राहत उपलब्ध गराउन आवश्य छ,” अर्यालले भने, “समस्या भएको क्षेत्रमा चाँडोभन्दा चाँडोे काम गर्नका लागि हामीले पनि सरकारदेखि दातृ निकायसँग पनि कुरा गरिरहेका छौँ ।” बाढीका कारण धेरै उपभोक्ताहरुले प्रदूषित खानेपानी पिउनुपरेको भन्दै उनले स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रदूषित पानीले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्नसक्ने

जनस्वास्थ्यविद् डा समीर अधिकारीले विपद्को बेलामा स्वच्छ खानेपानी र सरसफाइको अभावका कारण सर्वसाधारणमा झाडापखालाजस्ता रोग लाग्नसक्ने बताएको छ । “बाढी, पहिरो, ढुबानपछि जनस्वस्थाका ठूला समस्या आउन सक्छ, फोहोर पानी पिउँदा पखला, टाइफाइड, छालारोग तथा अन्य दीर्घकालीन रोगसमेत लाग्न सक्छ,” उनले भने, “विपद्पछि पानीको स्रोत सफा गर्नुपर्छ, पानी उमालेर मात्रै प्रयोग गर्नुपर्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनहितका लागि जारी गरेको सूचनामा विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने र यस्तो समयमा विभिन्न किसिमका रोगहरूको सङ्क्रमण हुने सम्भावना अधिक रहने उल्लेख छ ।

“दूषित पानीबाट सर्ने रोग, लामखुट्टेको टोकाइबाट सर्ने रोगलगायत रोगहरूको सङ्क्रमण हुनेगर्छ । मन्त्रालयका अनुसार सडेगलेका, बासी र झिँगा भन्केका खानेकुराहरू नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर खाने, खाना पकाउनुअघि, खाना खानुअघि, बालबालिकालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बालबालिकाको दिसा धोएपछि साबुनपानीले मिचीमिची हात धुन लगाउनुपर्छ ।

चर्पीमा मात्र दिसापिसाब गर्ने गरौँ र बालबालिकाको दिसालाई पनि चर्पीमा नै विसर्जन गर्ने, फोहरलाई सधैँ निश्चित ठाउँमा सही तरिकाले व्यवस्थापन गर्ने, खोक्दा, हाच्छिउँ गर्दा सफा कपडाले नाकमुख छोप्ने गर्ने, झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने मन्त्रालयका भनाइ छ । लामखुट्टेबाट रोग सर्ने सम्भावना अधिक हुने भएकाले वर्षाका कारण आसपासमा भरिएका पानीलाई हटाउने वा बगाइदिने, वर्षाका कारण भाडाहरुमा पानी भरिएका छन्भने त्यसलाई बगाइदिनुपर्ने मन्त्रालयले जानकारी गराएको छ ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ को प्रभावकारी रुपमा कार्यान्वयनमा आउनुपर्नेमा जोड दिएको छ । खानेपानी तथा सरसफाइ विषयगत क्षेत्रको बैठक आयोजना गरी बाढी, पहिरो एवं पानीजन्य विपद् जोखिमको नक्साङ्कन गर्नुपर्ने उनको भनाइ छ ।

कार्ययोजनामा उल्लेख भएअनुसार सरसफाइ र शुद्ध पानी पिउनका लागि जनचेतना अभिवृद्धि गर्ने, बाढी र पहिरोको जोखिमबाट ‘ल्यान्डफिल्ड साइट’ सुरक्षित गर्न आवश्यक तयारी गर्ने बाढी र पहिरोको जोखिमबाट क्षतिग्रस्त हुने सम्भावनालाई दृष्टिगत गरी वैकल्पिक ‘ल्यान्डफिल्ड साइट’ पहिचान गर्नुपर्ने अर्याल बताउँछन् ।

‘खानेपानीका लागि अत्यावश्यक पाइपलगायत निर्माण सामग्रीको पर्याप्त मौज्दात राख्ने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सम्बद्ध क्षेत्रसँग समन्वय गरी कार्य गरिनेछ,’ कार्ययोजनामा उल्लेख छ, ‘शुद्ध खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतनामूलक सामग्रीको प्रचारप्रसारमा वृद्धि गर्ने, बाढी, डुबान र पहिरो जोखिमयुक्त बस्तीहरूमा चुन छर्कने र निःसङ्क्रमित गर्ने व्यवस्था मिलाइनेछ ।’

सरसफाइ, खानेपानी, चर्पी र हात धुने व्यवस्था मिलाउने, खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई चुस्त राख्न आवश्यक मर्मतसम्भार गर्ने कार्ययोजनामा उल्लेख छ । बाढी, पहिरो प्रभावित क्षेत्रमा पानी शुद्धीकरण गर्न क्लोरिन वितरण गर्ने, डुबानको बेला पानीलाई कसरी पिउनयोग्य बनाउने भन्ने सीप विकासमा जोड दिने पनि कार्ययोजनामा व्यवस्था गरिएको छ ।

खानेपानी तथा सरसफाइका अवरुद्ध संरचनाहरूलाई अद्यावधिक राख्न आवश्यक सामग्रीहरूको सुनिश्चित गर्ने, प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेश राजधानी तथा जिल्लाहरूमा पर्याप्त मात्रामा खानेपानीका पाइपहरुको मौज्दात राख्नुपर्नेलगायत व्यवस्था गरिएको छ । 

चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको छ । चितवन मेडिकल कलेज स्वामित्वको चितवन राईनोजले मंगलबार टीमको लोगो सार्वजनीक गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा पाइने एक सिङ्गे गैंडा र जैविक विविधतालाई लोगोमा झल्काइएको छ । लोगोले चितवनको हृदयको प्रतिनिधित्व गर्ने र चितवनको समृद्धि र वैभव झल्काउने राजसी गैंडा र जैविक विविधतालाई प्राथमिकतमा राखिएको टीमले जनाएको छ ।

चितवन राईनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले खेलकुद र स्वास्थ्यलाई एक साथ जोड्दै नेपालको क्रिकेट विकासमा योगदान गर्न चाहेको बताएका छन् ।

राष्ट्रसङ्घको महासभामा देशको स्वाभिमान र राष्ट्रियता उच्च पार्ने काम गरेंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकलाई अवगत गराएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको अवगत गराउँदै त्यसक्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखसँग भेटवार्ता गरेको बताए ।

प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिसहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री र अन्य विशिष्ट व्यक्तिसँग भेटघाट भएको तथा कोलम्बिया र हार्वर्ड विश्वविद्यालयका कार्यक्रम अनुभव आदानप्रदानमा महत्वपूर्ण भएको बताए ।

प्रधानमन्त्री ओलीले देशको स्वाभिमान र राष्ट्रियता उच्च पार्ने तथा नेपालको उपस्थिति ‘देखिने र सुनिने’ तुल्याउन आफूले संसदमा गरेको सङ्कल्पबमोजिम काम गरेर स्वदेश फर्किएको बताए ।।

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न अष्ट्रेलियाको आग्रह

क्यानबेरा । बढ्दो द्वन्द्व र अशान्तिकाबीच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अष्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ ।

विदेश मामिलामन्त्री पेनी वोङले लेबनानमा रहेका अस्ट्रेलियालीलाई हवाइ टिकटको व्यवस्था गर्नका लागि विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी) ले एयरलाइन्ससँग समन्वय गरिरहेको बताए ।

पछिल्लो समयमा मध्यपूर्वमा चलिरहेको द्वन्द्वको बीच अष्ट्रेलियाली नागरिकहरूलाई लेबनान यात्रा नगर्न तथा पहिले नै लेबनानमा रहेका नागरिकहरूलाई लेबनान छोड्नका लागि सरकारको बारम्बार चेतावनी दिइरहेको छ ।

लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई स्वदेश फर्कने अवसर लिन आग्रह जारी गर्दै उचित मार्ग चयनको लागि केही समय धैर्य गर्न आग्रह गरेको छ ।

क्यानबेरामा मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री जिम चाल्मर्सले बढ्दो द्वन्द्वको मानवीय मूल्यका बारेमा सरकार गम्भीर रूपमा चिन्तित रहेको बताए ।
डिएफएटीद्वारा सञ्चालित सेवाले सन् २०२३ अक्टोबर देखिनै लेबनानका लागि “यात्रा नगर्न सल्लाह दिदै आएको जनाइएको छ ।

लेबनानका लागि शनिबार जारी गरिएको निर्देशनको पछिल्लो अपडेटले आतङ्ककावादी आक्रमण कुनै पनि समय र स्थानमा हुन सक्ने चेतावनी दिएको छ ।

यसै बीच अष्ट्रेलियाली नागरिक र लेबनानका स्थायी बासिन्दालाई डिएफएटीको सङ्कट दर्ता पोर्टलमा दर्ता गर्न आग्रह गरिएको छ भने लेबनान नछोड्नेहरूका लागि आक्रमणको समयमा सुरक्षित आश्रयसहित पूर्वतयारीका साथ आक्रमणको सामना गर्न तयार हुन जानकारी दिइएको छ ।

यसअघि अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले सेप्टेम्बरमा सरकारले कम्तिमा १५ हजार देखि ३० हजार अष्ट्रेलियालीहरू अझै पनि लेबनानमा रहेको अनुमान गरेको थियो ।

बाढीपहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले बाढीपहिरो प्रभावितका लागि प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । मंगलबार बसेको सचिवालयको बैठकले प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकलेएक अर्ब रुपैयाँ विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । उनले भने, ‘राज्यको तर्फबाट एक अर्ब छुट्याउने काम गरिसकेको छ । त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।’

यसैगरी उनले विपत्तिमा परेकाहरूको राहत र उद्धारमा पार्टी पंक्तिलाई खटाइएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताए ।

तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण

तनहुँ  । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

उक्त अस्पताल आगामी कात्तिक मसान्तभित्र सञ्चालनमा ल्याउने तयारीका साथ रङरोगन भइरहेको गाउँपालिकाले जनाएको छ । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार भवन निर्माणको ठेक्का ऋषि शक्ति/होम निर्माण जेभी कम्पनीले पाएको थियो ।

उक्त भवन विसं २०८० जेठ १० गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । अस्पताल भवन निर्माण गर्न सात करोड ३४ लाख ५० हजार एक सय ९६ रुपैयाँमा ठेक्का लागेको थियो ।

हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णय बमोजिम अस्पताल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

‘मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा छन्’, उनले भने, ‘अब अस्पताल सञ्चालनमा आएसँगै यो समस्या समाधान हुनेछ ।’

अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार ‘हेल्थ असिसटेन्ट’ र दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहने छ । 

शिगेरु इशिबा औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित

टोकियो । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबाले मङ्गलबार संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

नव–निर्वाचित इसिबाले देशमा बढ्दै गएको आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर– २७ का लागि आकस्मिक निर्वाचन बोलाउन चाहेको बताए ।

एलडिपीको बहुमत रहेको जापानी संसदले मङ्गलबार इसिबाको नियुक्तिलाई अनुमोदन गरेको छ भने बुधबार नयाँ मन्त्रिपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको छ ।

पूर्व मुख्य क्याबिनेट सचिव कत्सुनोबु काटोलाई अर्थमन्त्री बन्ने सुझाव दिइएको तथा जनरल नाकातानीले रक्षा र ताकेसी इवायाको विदेश मामिला लिने स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

इसिबाको जितले “एलडिपीले अर्को राष्ट्रिय चुनावमा पार्टीलाई नेतृत्व गर्न मतदाताको अपील भएको अनुभवी नेताको खोजी गरेको सङ्केत गरेको सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडीजका युको नाकानोले बताए ।

सत्तारूढ गठबन्धनले नयाँ जनादेश प्राप्त गरे पछि इसिबाले मतदाताले महसुस गरेको आर्थिक स्थिरता र क्षेत्रीय सुरक्षा चिन्तासहित जापानका व्यापक चुनौतिहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक गतिशीलतालाई पुनः आकार दिने र जनताको विश्वास पुनःस्थापित गर्ने अवसर पाएको बताए ।

जम्मु–कस्मिरमा विधानसभा निर्वाचनको परिणाम अक्टोबर ८ मा घोषणा हुने

श्रीनगर । भारत प्रशासित कश्मीरमा मङ्गलबार विधानसभा निर्वाचनअन्तर्गत तेस्रो एवं अन्तिम चरणको मतदान सुरु भएको छ ।  

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ मा जम्मु–कस्मिरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो । भारत–पाकिस्तानबीच विभाजित रहेको क्षेत्र त्यसबेलादेखि संघीय रूपमा नियुक्त गभर्नरको नियन्त्रणमा रहँदै आएको छ ।  

३५ वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कस्मिर क्षेत्रमा करिब पाँच लाख भारतीय सेना तैनाथ गरिएको छ र मङ्गलबारको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  

उच्च बेरोजगारी दर र सन् २०१९ को परिवर्तनप्रति आक्रोशले अभियानलाई उत्प्रेरित गरेको छ र स्थानीय दलहरूले कस्मिरको स्वायत्तताको पुनर्स्थापनाका लागि लड्ने वाचा गरेका छन् ।  
मतदानको पहिलो दुई चरणमा ५५ प्रतिशतभन्दा बढी योग्य मतदाताले मतदान गरेका थिए ।

विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्। करिब एक दशकपछि जम्मु–कस्मिरमा भएको निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
निर्वाचनको परिणाम अक्टोबर ८ मा घोषणा गरिनेछ । 

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २१८ पुग्यो, २७ बेपत्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको मंगलबारको बैठमा उनले विपदमा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए ।

उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए ।

“खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”,उनले भने ।

बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरोमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए ।

पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौँ उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका बताए । उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएको उनले जानकारी दिए ।

दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव

काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन् ।

यही असोज ११ गतेदेखि नै काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रुपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौँबाट छुटाउन थालिएको थियो । दसैँका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए ।


राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा र चालकको ‘ओभरटेक’ गर्ने पुरानै नराम्रो बानीले सडक खुले पनि जामको समस्या कायमै छ । यद्यपि बीचबीचमा पुनः पहिरो खस्ने क्रम जारी तथा ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ ।

त्यसैले अब यात्रुहरुले यो दसैँमा घर पुग्न ठूलै युद्ध जिते झैँ हुने अवस्था रहेको चितवन जान लागेका यात्रु कृष्ण शर्माले बताए । सोमबार राति ११ बजे नागढुङ्गा नाका हुँदै उपत्यका छाड्ने यात्रु बोकेका सवारी साधनहरु काठमाडौँको नैकापसम्म लाइन थियो ।

आज पनि ती सवारी साधन राम्ररी अघि बढ्न सकेका छैनन् । यस्तै, पूर्व र पश्चिम नेपाल जाने राजमार्ग पनि राम्ररी सञ्चालन हुन सकेका छैनन् । नेपाल प्रहरीका अनुसार आज पनि २० भन्दा बढी ठाउँमा राजमार्ग अवरोध नै रहेको तथ्याङ्क छ । केही ठाउँमा पहिरो हटाउने र सडक खुलाउने काम पनि जारी छ ।

सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको सङ्ख्या थेगिनसक्नु भएको छ । नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भाँसिएका कारण उक्त खण्ड पनि पूर्णरुपमा बन्द हुँदा सवारी साधनको चाप थपिएको छ । बिपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ–नारायणगढ सडकका दर्जनौँ ठाउँँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्री सवारी साधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन । हेर्दा कामचलाउका रुपमा मात्रै यातायात सञ्चालन गरिएको छ । सामान्य पानी परेको खण्डमा यातायात पूर्णरुपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन् ।

समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दसैँसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ । यातायात व्यवस्था विभागले यही असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ ।

पानी पर्दै नपरेको खण्डमा दसैँ आसपाससम्म यातायात पूर्णरुपमा सहज पार्ने प्रयास जारी रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारी अहिले कसरी हुन्छ रोकिएका यातायातलाई गन्तव्यमा पुर्याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको बताउँछन् । उनले भने, “प्राथमिकताका आधारमा अत्यावश्यक र यात्रुवाहक साधनलाई पठाउने गरिएको छ, त्यसपछि खाद्यान्न, इन्धनलगायत बोकेका अत्यावश्यक सवारी साधनलाई प्राथमिकतामा राखेर व्यवस्था भइरहेको छ ।”

प्रवक्ता तिवारीका अनुसार केही ठाउँमा पहिरो गएको र झ्याप्ले खोलामा पनि एकतर्फी जस्तै छ । त्यसैले समस्या भएको उनले बताए । अब दाउन्नेमा पनि एकतर्फी खुलेको र धादिङको पहिरो हटाइसकेका कारण यातायात आवागमन सहज बन्दै जाने उनले बताए ।

उनका अनुसार अहिले बिहान ११ देखि १ बजेसम्म बीचबीचमा सवारी साधन रोकेर दुईतर्फी यातायात खुलाउने गरी काम अघि बढाउने निर्णय भएको छ । अबको केही दिनमा पुरानै अवस्थामा यातायात आवागमन सहज हुनेगरी व्यवस्थापन कार्यलाई तीव्रता दिइएको उनले बताए । यो चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो ।

यही अवस्थामा गाडी लैजान सक्दैनौँ

नेपाल याातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अब दसैँको बुकिङ नै बन्द गर्न लागिएको बताउँछन् । यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने उनले बताए ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, “विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन, विपी राजमार्ग ठप्पै छ, त्यहाँ ६०० सवारी साधन रोकिएका छन्, चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन्, दुवै पट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना नै पुर्याउन सकिरहेका छैनौँ, सरकारले पनि सकेको छैन, अनि कसरी चलाउन सकिन्छ गाडी ?”

वरिष्ठ उपाध्यक्ष सिटौलाले नागढुङ्गाबाट बाहिर जान चार दिनअघिका गाडी बल्ल पठाइएको बताए । “जाम जारी छ, धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठूलो छ, फेरि वर्षा हुने भनिरहेको छ, बीचमा रोकिएका गाडी र यात्रु जोखिममा परे, केही भए जिम्मा कसले लिन्छ ? वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको छ, यातायात रोकिँदा अब हाम्रो सबै ‘सेडुअल’ बिग्रियो, अब हामीले टिकट बुक गर्न सक्ने अवस्था छैन, यदी गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौँ ।”

वर्षाका कारण विपत्तिको सङ्कटग्रस्त क्षेत्र घोषण गर्न ढिला गर्न नहुनेमा उनले सरकारलाई सुझाव दिए । मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्छ भन्दै सिटौलाले दसैँ पछि पनि मनाउन सकिने भएकाले अहिले ख्याल गर्नुपर्ने बताए । आज पनि बिहान ११ बजेदेखि गाडी रोक्न अनुरोध आएको सुनाउँदै उनले एक ठाउँमा भए गाडी रोकौँला पन्छाएपछि सहज जाउँला भन्ने हुन्छ, जताततै भत्किएको अवस्थामा सहज सञ्चालन हुने अवस्था नै नरहेको उनले सुनाए । पहिरोको त्रास कायमै रहेको अवस्थामा बेलैमा सरकारले निर्णय गरोस् भन्ने आफूहरुको माग रहेको उनले बताए ।

‘अहिले घर जान हतार नगरौँ’

यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल अहिलेको अवस्थामा यातायात सहज बनाउन सकिने अवस्था छ भने सहज बनाउने, होइन अवस्था जटिल छ भन्ने देखिएको त्यो सडक बन्द नै गरेर काम गर्नुपर्ने बताउँछन् । उनले भने, “कहाँ–कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्नसक्ने ठाउँमा सुधार गर्नुपर्छ, तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ, दसैँ छ भनेर जोखिममा यात्रा गराउनु हुन्न ।”

अहिले पनि सडकमा पहिरो खस्ने र ढुङ्गा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उनले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने सुझाव दिए । “दसैँमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारी साधन सञ्चालन गर्नु भएन”, उनले भने, “त्यसैगरी सञ्चालन गर्दा झ्याप्ले खोलामा त्यती ठूलो घटना भयो, गाडी नचलाउ भन्दाभन्दै चलाएका कारण झ्याप्ले खोलामा घटना भएको थाहा नै छ ।”

उनका अनुसार जहाँ पनि सडक खनेको ठाउँमा सानो ठूलो पहिरो खसरिहेको र यसले जोखिम कायम छ भनेर देखाउँछ । आगामी दिनमा पनि ठूलो क्षति गराउन सक्ने उनको भनाइ छ । “यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नु हुँदैन, ज्यान रह्यो भने दसैँ त फेरि पनि मनाउन पाइहालिन्छ”, गजुरेलले भने, “यात्रुले पनि जबरजस्ती जान नखोजौँ, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ ।” 

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक राजधानीको एक होटलमा सुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय डुबानमा परेकाले बैठक अयन्त्र आयोजना गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै  हालैको बाढीपहिरो, राहत तथा उद्धारबारे समीक्षा हुने उनले जानकारी दिए । बैठकमा पार्टीको भावी रणनीतिबारे पनि छलफल हुनेछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी छ ।

ललितपुरमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

पाटन  । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले मंगलबार दिएको जानकारी अनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।  

फेला परेका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिइन् ।

‘पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोष्टमार्टम भइ आफन्तले बुझेर लैजानुभएको छ, अरु फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोष्टमार्टमका लागि पाटन ल्याउने काम भइरहेको छ’, उनले भनिन् ।

नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल गाउँपालिका वडा नं २ मानिखेल लक्ष्यबास बस्ने वर्ष ९ का आयुष स्याङ्तान, महाङ्काल–२ ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, निजका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्का छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष नौकी सलिना स्याङ्तानको शव फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता रहेका छन् । प्रहरीले अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल–३ गोटीखेल बस्ने इश्वर तिमल्सिना, उनकी आमा र श्रीमती गोमा असोज १२ गतेबाट बेपत्ता छन् ।

त्यस्तै रौतहट घर भई ललितपुर महानगरपालिका–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष पाँचका सेतु साह, ओखलढुङगा घर भई ललितपुर बस्ने वर्ष ४० का देवराज कार्की, रौतहट गौर गाउँपालिका वडा नं ६ घर भई ललितपुर–१४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ३२ का बिकाउ साह बेपत्ता छन् ।

गोदावरी नगरपालिका–६ आनन्दवन अस्पतालमा काम गरी बस्ने वर्ष ३० का विवेक सिंह, बागमती गाउँपालिका–१ घुसेलका वर्ष ५० का केशव न्यौपाने, महाङ्काल वडा नं २ बस्ने  वर्ष १२ की सञ्जिता स्याङ्तान, वर्ष ३५ का छविलाल स्याङ्तान र छविलालकी भाउजु (नाम नखुलेको) बेपत्ता छन् ।