`

बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका क्रमशः सञ्चालनमा आउँदै

काठमाडौँ । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ।

धादिङको झयाप्ले खोलाको सडकमा खसेको पहिरो पन्छाउने कार्य पूरा भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ।

पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए।

नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको उनको भनाइ छ। दक्षिणकाली भएर उपत्यका छाड्ने सडक भने सञ्चालनमा आउन सकेको छैन। बाढीपहिरोबाट पक्की पुल बगाएका र नदीले सडक कटान गरी ठूलो क्षति पुर्याएका स्थानमा भने अझै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने छ।

केही दिनअघिको बाढीपहिरोबाट मुलुकका ५० भन्दा बढी सडकको एक सय बढी ठाउँमा क्षति पुर्याएको थियो। सानाठूला गरी २० वटा पुल बगायो। बाढीपहिरोका कारण यात्राका क्रममा बीच बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पुर्याउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन्। तथापि, केही राजमार्गका केही खण्डमा यातायातका साधन सञ्चालनमा आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ।

यसैबीच, नजिक आइरहेका बडादसैँलगायत चाडपर्वका कारण काठमाडौँमा न्यूरोडसहितका सहरी क्षेत्रमा किनमेल गर्नेको भीडभाडले केही दिनदेखि सवारीसाधन व्यवस्थापनमा चाप बढेको छ।

पछिल्ला दिन कोटेश्वर, त्रिपुरेश्वर, बानेश्वर, थापाथली, माइतीघर, पुतलीसडक, गौशला, महाराजगञ्ज चक्रपथ, गोङ्गबु, कालीमाटी र कलङ्की क्षेत्रमा तुलनात्मक रूपमा सवारी आवागमन बाक्लो देखिएको नायब उपरीक्षक कार्की बताउँछन्।

उपत्यकाभित्रका खोला करिडोर सडकमा बाढीपछिको हिलो पन्छाउने कार्य पूरा भयसँगै उपत्यकामा सडक यातायात व्यवस्थापन केही हदसम्म सहज हुने ट्राफिक प्रहरीको ठम्याइ छ।

बडादसैँलगायत चाडबाड मनाउन ठूलो सङ्ख्यामा राजधानी बाहिर जाने यात्रीका सहयोग र सहजताका लागि उपत्यका ट्राफिक कार्यालयले काठमाडौँ, ललितपुर र भक्तपुरका १४ स्थानमा नागरिक सहायता कक्षको व्यवस्था गरेको छ। उक्त सहायता कक्ष यात्रु बिचौलियाबाट ठगिन नपरोस् र सर्वसाधारण नागरिकको यात्रा सहज र सुविधाजनक होस् भन्ने हेतुले स्थापना गरिएको कार्यालयले जनाएको छ।

उपत्यका ट्राफिक कार्यालयले बिचौलियाबाट बच्न आधिकारिक टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रामा निस्कन सुझाव दिएको छ।

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

कमलामाई (सिन्धुली) । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए ।

गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दसैँअघि थन्क्याई सक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन् ।

जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ । “जेठ २९ गते  ८० हजार खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ । सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने रु चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन”, भने । किसान श्रेष्ठले २२ रोपनीबाट एक सय मुरी धान भित्र्याउने गरेका थिए । यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो ।

सुनकोशी–१ गोइरीकी कृष्णमाया तोलङ्गेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताइन् । तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उनले सुनाइन् ।

बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्काए । सुनकोशी–१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो । यसैबाट निर्वाह भएको थियो, पाँच जना परिवारको जीवन । पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उनलाई यतिबेला चिन्ता बढेको छ ।

नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ । सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए ।

गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ । सुनकोशमा आएको बाढीले विशेषगरी गोलञ्जोर–७ को बेसीँफाँट, वडा नं ६ को बलेनी, हैवारी क्षेत्र, वडा नं २ को कुखुरेटार, ३ नं वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उनले बताए ।

हरिहरपुरगढी गाउँपालिकामा वाग्मती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ । हरिहरपुरगढी–१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ ।

भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकारसँग पनि केही आशा छैन ।

जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताइन् । उनले भनिन्, “तीन दिनको अविरल वर्षासँगै आएको हुरी र बाढीपहिरोले जिल्लाको सबै पालिकाको धान बालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।”

कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आकलन छ । क्षति विवरण सङ्कलन भइरहेको उनले बताइन्। क्षति विवरण यकिन भएपछि सोही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनी बताउछिन् । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष सिन्धुलीको ११ हजार एक सय ८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए ।

परराष्ट्रमन्त्री राणा र एमसीसी प्रमुख कार्यकारी एलिसाबीच भेटवार्ता

वाशिङ्गटनडिसी (अमेरिका) । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ ।

अमेरिकास्थित नेपाली राजदूतावासमा भएको भेटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसीसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ ।

एमसीसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिका आएकी परराष्ट्रमन्त्री राणा यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि भेटघाट भएको हो ।

दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेकोे छ । सडक मर्मत गरेर आज बिहान ९ बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । सडक मर्मतलाई निन्तरता दिई आज नै दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ः०० बजेदेखि नै सडक मर्मतको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए। सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत सुरु गरेका जनाइएको छ ।

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । सोमबार साँझ सडक भासिएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पार्वतीको ‘पानी सलल’

काठमाडौं । पार्वती कार्की र गोविन्द दुलालको काँठे भाका ‘पानी सलल’ को भिडियो सार्वजनिक गरिएको छ । गीतको शब्द, संगीत पनि गोविन्द दुलालको हो भने एरेन्ज राकेश सोनीले गरेका हुन् ।

भिडियोमा सुवी शाही र मोहन डंगोलको अभिनय छ । इभा फिल्मस् प्रालिको प्रस्तुति रहेको गीतको भिडियोलाई सुरज खनालले निर्देशन गरेका हुन् । भिडियोमा शिवजी क्षेत्रीको कोरियोग्राफी, शिव बिकको छायाँकन र विनोद बमको सम्पादन छ ।

मीनबहादुर गुरुङद्वारा विपत्ति उद्धार कोषमा एक करोड ११ लाख जम्मा

काठमाडौं । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दम्पतीले प्राकृतिक विपत्ति उद्धार कोषमा एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेका छन् ।

कोषमा जम्मा गर्न उक्त रकम बराबरको चेक गुरुङ दम्पतीले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् । सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले गुरुङ परिवारलाई धन्यवाद पनि दिएका छन् ।

उनले भनेका छन्, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।’

सन् २०२५ मा रक्षा खर्चमा ३० प्रतिशतले वृद्धि गर्ने रुसको योजना

युक्रेनमा आफ्नो आक्रामक अभियानलाई वित्तीय सहयोग प्रदान गर्न थप स्रोतहरूको उपयोग गरिरहेको रुसले आगामी वर्ष आफ्नो रक्षा खर्चमा करिब ३० प्रतिशतले वृद्धि गर्ने योजना बनाएको सोमबार प्रकाशित बजेट योजनाको मस्यौदाले देखाएको छ । 

युक्रेनमा आक्रमण गर्न क्षेप्यास्त्र र ड्रोनहरू उत्पादन गरिरहेको र अग्रपङ्क्तिमा लड्ने आफ्ना लाखौँ सैनिकलाई लाभदायक तलब प्रदान गरिरहेको मस्कोले पहिलेदेखि नै आफ्नो सैन्य खर्चलाई सोभियत सङ्घको युगपछि नदेखिएको स्तरमा बढाइसकेको छ । 

संसदीय वेबसाइटमा प्रकाशित दस्तावेजअनुसार खर्चमा पछिल्लो योजनाबद्ध वृद्धिले रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल (एक खर्ब ४५ अर्ब डलर) को हुनेछ । 

उक्त आँकडामा रुसले ‘आन्तरिक सुरक्षा’ भनेर लेबल लगाएको खर्च र अति गोप्य वर्गीकृत गरिएका खर्च जस्ता सैन्य अभियानका लागि निर्देशित गरिएका केही अन्य स्रोत समावेश छैनन् ।

रक्षा र सुरक्षामा संयुक्त खर्चले रुसको कूल सरकारी खर्चको करिब ४० प्रतिशत हिस्सा ओगट्नेछ । यो सन् २०२५ मा चार सय १५ खर्ब रुबल हुने अनुमान गरिएको छ । 

रुसको संसद्मा मस्यौदा बजेट पठाउनुअघि मस्कोले उच्च सैन्य खर्चका साथै लगानी र सामाजिक कल्याणमा वृद्धिको घोषणा गरेको छ । 

अर्थमन्त्री एन्टोन सिलुआनोभले गत मङ्गलबार एक टेलिभिजन सरकारी बैठकमा बजेटको ‘शीर्ष प्राथमिकता’ ‘नागरिकहरूको सामाजिक समर्थन’ रहेको बताए । 

“दोस्रो रक्षा र सुरक्षामा खर्चको प्रावधान हो, विशेष सैन्य अभियानका लागि स्रोतहरू प्रदान गर्ने र विशेष सैन्य अभियानमा सहभागिता जनाउने मानिसका परिवारलाई सहायता प्रदान गर्ने हो”, युक्रेनमा आफ्नो आक्रमणका लागि रुसको आधिकारिक भाषा प्रयोग गर्दै उनले भने । 

यद्यपि आँकडाहरूले सैन्य खर्चले अर्थतन्त्रका अन्य क्षेत्रहरूमा हुने खर्चलाई बाहिर पारेको सङ्केत गरेका छन् । ‘राष्ट्रिय रक्षा’ मा योजनाबद्ध खर्च मस्कोले ‘सामाजिक नीति’ भनेर लेबल गरेका क्षेत्रहरूमा विनियोजन गरिएको रकमको दोब्बरभन्दा बढी छ ।

विपदमा परी ज्यान गुमाउनेको परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख रुपैयाँ दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपदका कारण मृत्यु हुनेको परिवारलाई जनही दुई लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै मृतकको सम्झनामा तीन दिन राष्ट्रिय शोक मनाउने बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या २०९ जना पुगेको छ भने २९ जना बेपत्ता छन् ।

इन्धनको मूल्य घट्यो

काठमाडौँ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।


सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा  एक, डिजेलमा  दुई, हवाई इन्धनमा आन्तरिकमा ६ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा  ४५, मट्टीतेलमा  दुई रुपैयाँ घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली  ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । 


इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।

नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सोमबार सर्वोच्च अदालत प्रशासनले बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता गरेको हो ।

अध्यक्ष घिमिरेले न्याय परिषद्ले न्यायाधीश सिफारिस गरेको विषयलाई घुसको हिसाब मिलानको विषयसँग जोडिएको अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिपछि घिमिरेविरुद्ध अवहेलनाको मुद्दा दर्ता गरिएको हो ।

अध्यक्ष घिमिरेले न्याय परिषद्ले दुई जना न्यायाधीश नियुक्ति गर्न सिफारिस गरेपछि प्रधानन्यायाधीशले घुस खाएको आरोप लगाएका थिए । न्याय परिषद्ले दुई जना न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई नियुक्तिका लागि सिफारिस गर्ने बैठकको दिन पनि बारले बैठकस्थलबाहिर धर्ना दिएको थियो ।

म कुनै भैंसी दुहुन गएर, दुध लिएर आएँ भनेजस्तो होइनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई सोमबार अपरान्ह स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले बाढी आउने कुरालाई रोक्न नसकिने र सरकारले आफ्नो बुताअनुसार गरेको र अझै गर्ने बताएका हुन् । उनले अहिले विरोध गर्ने समय नभएको पनि बताए ।

उनले भने, ‘सरकारले आफ्नो बुताअनुसार गरेको छ । यस विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु । यो विरोध गर्ने समय होइन । अनि बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्याउने नै हो । मैले बाहिर हुँदा पनि जानकारी लिएको छु ।’

उनले आफ्नो भ्रमणलाई लिएर नकारात्मक टिप्पणी नगर्न आग्रह गरे । उनले भने, ‘म कुनै भैंसी दुहुन गएर, दुध लिएर आएँ भनेजस्तो होइन । हाम्रा विचारहरू, हाम्रा समस्याहरू त्यहाँ राख्न गएको हो राखियो ।’

प्रधानमन्त्रीले महासभामा जलवायु परिवर्तनका मुद्दा संयुक्त राष्ट्रसंघमा उठाएको बताए । प्रधानमन्त्री ओली न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले महासभालाई यही असोज १० गते सम्बोधन गरेका थिए ।

ट्युनिसियामा आप्रवासी चढेको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु

दक्षिणपूर्वी टापु जेर्बाको तटीय क्षेत्रमा सोमबार आप्रवासी चढेको डुङ्गा पल्टिँदा तीन बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको एक न्यायिक अधिकारीले बताएका छन्।

मेडेनिन अदालतका प्रवक्ता फेथी बाकुचेले मृत्यु हुनेमा पाँच पुरुष र चार महिला रहेका छन् । डुङ्गा के कारणले डुबेको थियो भन्ने कारण समाचार तयार पार्दासम्म थाहा हुनसकेको छैन। ट्युनिसियाली नेशनल गार्डले चार जना आप्रवासी पौडी खेलेर किनारामा फर्किएको जनाएको छ ।

ट्युनिसिया र छिमेकी लिबिया युरोपमा राम्रो जीवन यापन गर्न चाहने आप्रवासीका लागि प्रमुख प्रस्थान बिन्दु बनेका छन्।

सन् २०२३ मा ट्युनिसियाको स्थिर अर्थतन्त्रले ०.४ प्रतिशतको मात्र आर्थिक वृद्धि दर हासिल गरेको छ भने बेरोजगारी बढेको छ । प्रत्येक वर्ष, दशौं हजार मानिसहरू ट्युनिसिया हुँदै यूरोपतर्फ जान समुद्रको खतरनाक यात्रा गर्ने गर्छन् ।

जनवरी १ देखि ट्युनिसियाको तटीय क्षेत्रमा कम्तीमा १०३ वटा अस्थायी डुङ्गा डुबेको र ३४१ जनाको शव निकालिएको सरकारले जनाएको छ ।

एफटिडीईएस अधिकार समूहका अनुसार गत वर्ष ट्युनिसियामा डुङ्गा दुर्घटना हुँदा एक हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का अनुसार गत दशकमा भूमध्यसागरमा ३० हजार ३०९ भन्दा बढी आप्रवासीको मृत्यु भएको छ ।

श्रीलङ्काको निर्यातमा वृद्धि

कोलम्बो । सन् २०२४ अगस्टमा श्रीलङ्काको कुल निर्यात एक अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा यो ४.६७ प्रतिशतले वृद्धि भएको निर्यात विकास समितिले सोमबार जनाएको छ ।

श्रीलङ्का भन्सारको तथ्याङ्क उद्धृत गर्दै समितिले अगस्ट २०२४ मा व्यापारिक निर्यात प्रदर्शन एक अर्ब १० करोड अमेरिकी डलर रहेको जनाएको छ । यो सन् २०२३ कोे सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।

मुख्यतया कपडा, चिया, रबर, नरिवल आधारित उत्पादन र मसलाजन्य सामानको पैठारीले निर्यातमा वृद्धि भएको तथ्याङ्कमा जनाइएको छ । दुई वर्षको अन्तरालपछि, निर्यातले अगस्टमा ५० करोड अमेरिकी डलरको सीमा पार गरेको हो ।

अगस्ट सम्मका लागि सेवा निर्यातको अनुमानित मूल्य ३१ करोड ८० लाख ७७ हजार अमेरिकी डलर तय गरिएको थियो । यो सन् २०२३ को समान अवधिको तुलनामा ६.४९ प्रतिशतले बढी हो ।

रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले युद्धको तेस्रो वर्षमा युक्रेनका लागि तय गरेका सबै लक्ष्यहरू पूरा गर्ने बताएका छन् ।

सत्य आफ्नो पक्षमा रहेको दावी गर्दै ‘पुनर्मिलन दिवस’को वार्षिकोत्सव मनाउन जारी गरिएको भिडियो सन्देशमार्फत् पुटिनले निर्धारित लक्ष्यहरू प्राप्त हुने बताएका हुन् ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना परिचालन गरेपछि रूसले लुगान्स्क, डोनेट्स्क, जापोरिझिया र खेरसन लगायतका क्षेत्रहरू कब्जा गरिसकेको छ ।

सम्बोधनमा पुटिनले युक्रेनमा सेना पठाउनुको उद्देश्य रूसी भाषीलाई नव–नाजीवादबाट जोगाउने रहेको बताउदै यसले नाजीवादीहरूलाई रूसको ऐतिहासिक भूमिबाट सदाका लागि छुट्याउने रहेको उल्लेख गरेका छन् ।

पुटिनले ‘पश्चिमी’ गठबन्धनको आलोचना गर्दै ‘युक्रेनलाई आफ्नो उपनिवेशमा परिणत गरी, रूस लक्षित सैन्य आधार खडा गर्न रूसविरूद्ध घृणा, कट्टरपन्थी राष्ट्रवादलगायतका कुरामा शत्रुता फैलाएको बताए ।

‘अहिले हामी हाम्रा भावी सन्तानको सुरक्षा र समृद्धीका लागि लडिरहेका छौँ,’ पुटिनले भने ।

कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस संसदीय दलले सोमबार विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मङ्गलबार बस्न लागेको जनाएको छ ।

उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो । दुवै बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।

२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि

 गण्डकी । मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नागडाँडाका मनहरि भण्डारीले २२ वर्षअघि यो घर किन्दा वरिपरि वनपाखा मात्र देखिन्थ्यो । पक्की घर बनिसकेका थिएनन् । धवलागिरि क्षेत्र जोड्ने उक्त राजमार्ग भएकाले सो क्षेत्र हुँदै यात्रुको आवातजावत भने बाक्लै हुन्थ्यो ।

नजिकैको पर्यटकीय सहर पोखराबाट घुमफिरका लागि पनि मनिस नागडाँडासम्म पुग्थे । पुर्ख्यौली थलो नजिकै राजमार्गछेउ घर किनेका ६० वर्षीय भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गरे ।

‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहेका उनले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहेका छन् ।

राजमार्गमा यात्रुको चापसँगै पर्यटकीय गतिविधि बढेपछि खाजाघरको क्षमता विस्तार गर्दै लगेको उनले बताए । यात्रुदेखि अन्य पाहुना त्यहाँको रैथाने जातको बोका र कुखुराका परिकारमा बढी लोभिने गर्छन् । खानादेखि खाजाका सबै परिकार दाउराको आगोमा पकाएर पस्कने गरेको भण्डारीले बताए ।

जैविक र गाउँले स्वादका कारण उक्त खाजाघर ग्राहकको रोजाइमा परेको हो । ‘स्थानीय खानाका परिकार पाहुनालाई टकार्छौँ’, उनले भने, ‘भात पनि रैथाने जेठोबुढो, पहेँलेलगायत चामलको पकाउँछौँ ।’ खाजाघरमा पाइने तातो दूधले पनि पाहुनालाई लोभ्याउने गरेको छ ।

स्थानीय किसानकहाँबाट ल्याइने भैँसी र गाईको दूध पाहुनाले स्वाद मानेर खान्छन् । खाजाघरमै बसेर दूध पिउनेदेखि किनेर घरमा लैजानेसम्मको सुविधा रहेको उनको भनाइ छ । मासु, तरकारी लाई चाहिने मरमसला पनि सिलौटौमा पिन्ने गरेको उनले सुनाए ।

यामअनुसार गाउँमा उब्जेको तरकारी पनि उनले बिक्रीमा राख्दै आएका छन् । लेकाली निगुरो, काँक्रो, घिरौँलालगायत हरियो तरकारी अहिले पनि बेचिरहेको भण्डारीले बताए । ‘बजारबाट हामीले धेरै सामान किन्दैनौँ, भान्छामा अधिकांश थानीय उत्पादनको प्रयोग हुन्छ’, उनले भने, ‘ग्राहकले हाम्रो खाना र आतिथ्यता संस्कारलाई मन पराइदिनुभएको छ, यसमै हामी खुसी छौँ, व्यवसायबाट हाम्रो परिवार सन्तुष्ट छ ।’

भण्डारीलाई व्यवसायमा श्रीमती चन्द्रकला, छोरा सुदर्शन, सुनिल र बुहारी बिमलाले सघाउँदै आएका छन् । दैनिक एक सयभन्दा बढी पाहुनालाई खाजाघरले सेवा पुर्‍याउँदै आएको छ । ‘धेरैजसो यहाँ खाजाका लागि आउनुहुन्छ, खाना खानेको संख्या केही कम छ’, भण्डारीका छोरा सुनिलले भने, ‘विशेष गरी दाउराको चुलोमा पाक्ने स्थानीय जातको बोका र कुखुराका परिकार पाहुनाको रोजाइमा पर्ने गरेको छ ।’

इञ्जिनियर विषयको पढाइ पूरा गरिसकेका सुनिल पनि अहिले बुबासँगै सोही व्यवसायमा जोडिएका छन् । दस वर्ष विदेश बसेर फर्किएका भण्डारीका जेठा छोरा सुदर्शन पनि अहिले घरमै बसेर सोही व्यवसायमा हातेमालो गरिरहेका छन् ।

६० वर्षको उमेरमा पनि उहाँले व्यवसायप्रति देखाएको लगाव र परिश्रमलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । उनको प्रेरणाबाट सो क्षेत्रमा अन्य व्यवसायीले पनि खाजाघर सञ्चालनमा ल्याएका छन् । ती खाजाघरले पनि मौलिक ढंगबाट व्यवसाय प्रवर्द्धन गरिरहेका छन् ।

‘हामीले सुरुमा खाजाघर सञ्चालन गर्दा यहाँ यतिधेरै घर पनि बनेका थिएनन्, अहिले खाजाघर पनि थपिएका छन्, यस क्षेत्रको व्यवसाय विस्तार हुँदै गएको छ’, भण्डारीले भने ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिई प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई सोमबार अपरान्ह स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली स्वदेश फर्कनेक्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गरेका थिए ।

त्यस अवसरमा मन्त्रीगण, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत सहभागी भएका थिए । त्यक्रममा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले महासभालाई यही असोज १० गते सम्बोधन गरेका थिए ।

महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो ।

न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । उनी अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए ।

उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरे ।

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत थिए ।

दसैँ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले लिए अग्रिम टिकट

काठमाडौँ । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा ३० हजार अग्रिम टिकट बिक्री भएको हो ।

सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।

नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए ।

सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मनाउन घर जाने यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलमा लैजान महासङ्घ लागिपरेको बताए ।

वर्षाका कारण तीन दिनदेखि काठमाडौँमा रोकिएका सार्वजनिक सवारीसाधान क्रमशः नयाँ बसपार्कबाट गन्तव्यस्थलतर्फ जान थालेका छन् । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्याङ्क छ ।

झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेपछि काठमाडौंबाट छुट्न थाले लामो दुरीका सवारी साधन, उपत्यका भित्रिए १७ सय

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएका जानकारी दिए । उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए ।

“आजदेखि काठमाडौँ उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरने छन्”, उनले भने, “मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।”

आजै दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले बाढीपहिरो, डुबान तथा विपद्मा भइरहेको उद्दार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका थिए ।

“आज साझँसम्म काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरुको उद्धार भइसक्छ”, प्रवक्ता तिवारीले भने, “अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरुको उद्धार गरिरहेको छ ।”

प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गर्नुभएको छ । “अबरुद्ध सडक खुल्ने र खुलाउने क्रम  जारी छ”, उनले भने, “अझै पहिरोलगायत जोखिम टरिसकेको छैन ।”

अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ । “रोशी गाउँपालिकालगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदैछ”, प्रवक्ता तिवारीले भने, “घाइतेहरुको उद्धार र उपचार निःशुल्क भइरहेको छ ।”

माओवादीका सांसदले बाढी पीडित राहत कोषमा दश दिनको पारिश्रमिक दिने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।
पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ ।

पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । 

केन्द्रीय राहतकोषमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरुले दश÷दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् । स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्रसमेत गरेको छ ।

पार्टीका प्रदेश समितिले पनि राहत रकम सङ्कलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको कार्यलय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । केन्द्रीय कार्यालयमा पार्टीको विपद् व्यवस्थापन विभागले ‘हेल्प डेस्क’ स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था माओवादीले जनाएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ उजुरी, मंगलबार उजुरीकर्तासँग छलफल गरिने

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । संवैधानिक परिषद्ले राउतलाई सर्वोच्च अदालतको प्रधानन्ययाधीशमा सिफारिस गरेकोमा संसदीय समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।

समितिले राउतको सुनुवाइ असोज १६ गते गर्ने निर्णय गरेको छ । समितिले मंगलबार उजुरीकर्तासँग छलफल गर्ने जनाएको छ । संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध दुईवटा उजुरी परेका समितिले जनाएको छ ।

शेयर बजारमा ४४ अंकको बृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक नेप्से ४४ दशमलव ४५ अङ्कले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज सीईडीबी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै कुमारी सबल योजना, युनाइटेड मोदी हाइड्रोपावर, सर्वाेत्तम सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढेको दिन प्रभु सेलेक्ट फन्डको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ । आज नेप्से बढे पनि शेयर कारोबार रकम भने घटेको छ । हिजो चार अर्ब रुपैयाँभन्दा धेरैले कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका ९७ लाख १७ हजार कित्ता शेयर तीन अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ ।

रौतहटमा बाढीले दुईजनाको मृत्यु, पाँच हजार भन्दाबढी विस्थापित

वीरगञ्ज । अविरल वर्षासँगै गएको बाढीले रौतहटमा दुई जनाको मृत्यु भएको छ भने डुबानका कारण पाँच हजार ५०० भन्दा बढी विस्थापित भएका छन् ।

प्रहरीकानुसार बाढी तथा डुबानका कारण सोमबारसम्म दुई जनाको मृत्यु भएको हो । दुर्गाभवानी गाउँपालिका– ४ पचरुखी बस्ने ४५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा बाढीमा डुबेर मृत्यु भएको हो ।

यस्तै, परोह नगरपालिका–७ नरकटियामा घाँस काट्ने क्रममा १४ वर्षीया बालिका आशाकुमारी साहको पनि डुबेर मृत्यु भएको छ । बाढीमा परेर छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक रामकुमार महतोले अविरल वर्षासँगै गएको बाढीले जिल्लामा एक हजार आठ सय १० घरधुरीमा बसोबास गर्ने पाँच हजार ५९५ जना विस्थापित भएको जानकारी दिए ।

‘‘बाढीका कारण १३ घर भत्केको विवरण आइसकेको छ । एक हजार दुई सय ४५ घर डुबानमा परेका जानकारी छ”, उनले भने, “ जिल्लाका सात ठाउँको सडक अवरुद्ध भएकोमा अहिलेसम्म तीन ठाउँमा सडक सञ्चालनमा आएको छ । यहाँका आठ वटा प्रहरी चौकी विस्थापित भएका छन् ।”

विस्थापित हुने प्रहरी चौकीमा बेलबिछुवा, बसतपुर, बर्डवा, भन्सार सुरक्षा, कासुगार्ड, अस्थायी ट्राफिक पोष्ट गौर, इलाका प्रहरी कार्यालय बञ्जारा रहेका छन् ।

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष २०८०-८१ को ३४औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।

संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्थाबमोजिम आयोगको पोखरा कार्यालय प्रमुख अस्मान तामाङले प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन अख्तियार क्रियाशील रहेकामा प्रशंसा व्यक्त गरे। मुलुकमा विकासको बाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न नागरिकदेखि राज्यको सबै तह र ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उनले जोड दिए।

कार्यालय प्रमुख तामाङले आयोगले नेपालको संविधानले व्यवस्था गरेबमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा प्राप्त उजुरीको प्रारम्भिक छानबिन एवम् विस्तृत अनुसन्धान गर्ने काम गरिरहेको जानकारी गराए। उजुरीउपर विशेष अदालतमा आरोपपत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य सम्पादन भइरहेको उनले बताए।

प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०८०-८१ मा आयोगमा २६ हजार ९१८ उजुरी प्राप्त भएका छन् । जसमध्ये अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका नौ हजार २६८ गरी कूल ३६ हजार एक सय ८६ कारबाही गर्नुपर्ने सङ्ख्या रहेका छन् ।

आयोगको पोखरा कार्यालयबाट गत वर्ष एक हजार तीन सय १५ उजुरी प्राप्त भएकामा तीमध्ये अघिल्लो वर्षको चार सय ५५ सहित एक हजार ७७० उजुरी रहेका र एक हजार छ सय १५ अर्थात् ९१ दशमलव ०२ प्रतिशत उजुरी फछर्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।

देशभरको तुलनामा प्रदेशगत हिसाबमा गण्डकीमा उजुरी सङ्ख्या सबैभन्दा कम रहेका र स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाका उजुरी रहेका तामाङले बताए। गत वर्ष पोखरा महानगरमा मात्रै छ सय ४४ उजुरी परेका छन् ।

अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीरः महासंघ

काठमाडौं । अनलाइन न्युज पोर्टल सिधाकुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले जेल सुनाएपछि नेपाल पत्रकार महासंघले चासो जनाएको छ ।

सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट भएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन-प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, उनले भनेका छन्, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्च्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

त्रिशूली । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार काठमाडौँबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपरान्ह एक बजे अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल पुगेको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

उनका अनुसार उक्त गाडीमा १८ जना सवारिमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । पृथ्वीराजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग १ ख ४५३५ नं. माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा ठूलोभीर भएपनि मौवाको रुखमा गाडी अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो ।

तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपज भण्डारण गर्न सहज बनाउने उद्देश्यले म्याग्दे–३ मा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

सुरुमा दुई करोड र चालु आर्थिक वर्षमा एक करोड बीस लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरेको हो । गाउँपालिकामा विशेष गरी सुन्तला, आलु खेती राम्रो हुन्छ । चिस्यान केन्द्र बनेपछि किसान उत्साहित भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

“कृषि उपज भण्डारण गर्दा किसानसँग न्यूनतम शुल्क लिएर प्रोत्साहन गर्न लागिएको छ”, उनले भने, “गाउँपालिकामा चिस्यान केन्द्र बनेपछि उत्पादन भएका कृषि उपज भण्डारणका लागि पोखरा र चितवन जानुपर्ने बाध्यता हटेको छ ।”

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा

रुपन्देही । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाबमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको सुनिश्चित गरिएपछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/०८१ रणनीतिअनुसार १६ देखि ५९ महिनाका १३० शून्य डोजका र दुई हजार ३४३ खोप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ ।

लुम्बिनीमा दुई लाख ६२ हजार ८५६ बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । घोषणा कार्यक्रममा स्वास्थ्यमन्त्री खेम सारुलगायत स्थानीय तहका प्रमुख रउपप्रमुखहरुको सहभागिता थियो ।

बालबालिकामा विभिन्न सरुवा रोगविरुद्ध खोप लगाइँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस, जापानिज इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखालाविरुद्ध खोप उपलब्ध गराउँदै आएको छ ।

नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाको तत्कालीन भागेश्वर गाउँविकास समितिबाट पूर्ण खोप घोषणा गरी सुरु गरिएको थियो ।

अन्तरिक्षमा फसेका दुई यात्रीको ‘स्पेसएक्स मिशन’ सँग भेट

वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’ को ‘ड्रयागन क्याप्सुल’ इनटरनेशनल स्पेस स्टेसन (आइएसएस) सँग जोडिएको छ।

फाल्कन ९ रकेटले फ्लोरिडाको केप क्यानवेरलबाट शनिबार अपराह्न १ः१७ बजे उडान भरेको थियो र ड्रैगन अन्तरिक्ष यानमा सवार क्रू–९ मिसनले आइतबार साँझ ५ः३० बजे आईएसएससँग सम्पर्क गरेको थियो।

‘ड्रयागन क्याप्सुल’ ले आइएसएससँग जोडिएपछि नासाका अन्तरिक्ष यात्री निक हेग र रूसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ साँझ ७ बजेपछि आफ्ना तैरिरहेका सहकर्मीलाई अँगालो हालेर स्टेसनमा चढेका थिए ।

‘म ड्रागन फ्रिडमबाट हाम्रो नयाँ कम्प्याडरहरूलाई स्वागत गर्न चाहन्छु,’ फसेका दुई अन्तरिक्ष यात्रीहरूमध्ये एक यात्री स्टेशन कमान्डर सुनी विलियम्सले भने ।

हेग र गोर्बुनोभ फेब्रुअरीमा अन्तरिक्ष स्टेशनबाट फर्किँदा उनीहरूले अन्तरिक्षविद् विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउनेछन् ।

बोइङले डिजाइन गरेको अन्तरिक्ष यान (स्टारलाइनर) को समस्याका कारण आईएसएसमा उनीहरूको बसाई महिनौंसम्म लम्बिएको थियो।

विल्मोर र विलियम्सलाई गत जुनमा आईएसएसमा पुर्याउँदा नयाँ विकसित स्टारलाइनरले चालक दलसहितको आफ्नो पहिलो उडान गरिरहेको थियो।

उनीहरू त्यहाँ केवल आठ दिनका लागि मात्र हुनुपर्ने थियो, तर त्यहाँ उडानको क्रममा स्टारलाइनरको ‘प्रोपल्सन सिस्टम’ मा समस्या देखा परेपछि नासाले योजनामा आमूल परिवर्तन गर्न बाध्य भएको थियो।

स्टारलाइनरको सफल अवतरणको विश्वसनीयताको बारेमा हप्तौंको गहन परीक्षणपछि नासाले अन्ततः यसलाई आफ्नो चालक दल बिना पृथ्वीमा फर्काउने निर्णय गरेको थियो ।

अर्बपति एलन मस्कद्वारा स्थापित निजी कम्पनी स्पेसएक्सले आईएसएस चालक दलका सदस्यहरूलाई घुमाउन अनुमति दिन प्रत्येक छ महिनामा नियमित मिसनहरू उडान गर्दै आएको छ।

तर नासाका विशेषज्ञहरूलाई स्टारलाइनरको विश्वसनीयताको मूल्याङ्कन गर्न र कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्न थप समय दिनका लागि क्रू–९ को प्रक्षेपण अगस्टको मध्यदेखि सेप्टेम्बरको अन्त्यसम्म स्थगित गरिएको थियो।

हेग र गोर्बुनोभले करिब पाँच महिना आईएसएसमा बिताउनेछन् । विल्मोर र विलियम्सले त्यहाँ आठ महिना बिताउनेछन्।

क्रु–९ ले आफ्नो बसाइको क्रममा करिब २०० वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्नेछ।

निर्वाचन गर्ने तयारीमा एलडिपी नेता इसिबा

टोकियो । जापानका नव निर्वाचित लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) नेता शिगेरु इसिबाले आगामी आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर २७ का लागि आकस्मिक निर्वाचन गराउने तयारी रहेको बताएको सञ्चारमाध्यमले जनाएका छन् ।

उनी अक्टोबर १ अर्थात् मङ्गलबार औपचारिक रूपमा जापानको प्रधानमन्त्रीको रूपमा नियुक्त हुनेछन् । संसदमा बहुमत रहेको एलडिपीबाट शुक्रबार पार्टी नेता चुनिएपछि उनी प्रधानमन्त्रीको लागि निर्विकल्प उम्मेदवार बनेका हुन् ।

इसिबाले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि अक्टोबर ९ मा संसद विघटन गर्ने योजनालाई अन्तिम रूप दिइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले एलडिपी नेतृत्वको दौडमा भाग लिने मन्त्रीमण्डलका पूर्व मुख्यमन्त्री कत्सुनोबु कातोलाई अर्थमन्त्रीको रूपमा नियुक्त गर्ने सम्भावना प्रवल रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ मन्त्रीमण्डलमा पूर्व रक्षामन्त्री जनरल नाकातानी पुरानै काममा फर्किनु हुनेछ भने अर्का पूर्व रक्षा मन्त्री ताकेसी इवाया विदेशमन्त्रीका रूपमा आउने सम्भावना छ ।

एनएलआई रिसर्च इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री तारो साइतोले इसिबाले अहिलेसम्म जापानमा सार्वजनिक वित्त कसरी सुधार गर्ने भन्ने कुरामा ध्यान केन्द्रित गरेको बताएका छन् ।

प्रभावकारी रुपमा बजार अनुगमन गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन दिएका छन् ।

उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै डाकेर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रुपमा अनुगमन गर्न निर्देशन दिएका हुन् ।

“बजारबाट हामीलाई पनि विभिन्न माध्यमबाट दिनहुँ महङ्गी, कालोबजारी र कृत्रिम अभावसम्बन्धी जानकारी प्राप्त भइरहन्छ, ती सूचना पनि यहाँबाट विभागलाई प्राप्त होला, तर विभागले देशभरका मातहतका निकायलाई सक्रिय बनाएर अनुगमनलाई तीव्रता दिनुपर्छ”, मन्त्री भण्डारीले भने । साथै उहाँले मन्त्रालयबाट अनुगमनका लागि विभागलाई गर्नुपर्ने सहयोगमा कमी नहुने बताए ।

यस्तै, मन्त्री भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्य र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसललाई सर्वसुलभ बनाउन निर्देशन दिएको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए ।

वाणिज्य मन्त्रालय मातहतका उक्त व्यापारिक संस्थालाई उपभोक्तामुखी भएर अत्यावश्यक दैनिक उपभोग्य सामानको मौज्दात बढाउन मन्त्री भण्डारीले द्वय प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिए । उनले भने, “उपभोक्ताले सर्वसुलभरुपमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु पाउनुप¥यो, सुपथ मूल्य पसल व्यवस्थित बनाउनु होला, पसल थप सञ्चालन गर्नुपर्ने भए त्यो पनि गर्नुस्, न्यूनतम मौज्दात कायम जुनसुकै हालतमा पनि हुनुपर्छ, मन्त्रालयले के सहयोग गर्नुपर्छ जानकारी गराउनूस् ।” साथै मन्त्री भण्डारीले नेपाल आयल निगमका चण्डीकाप्रसाद भट्टलाई एलपी ग्यासको आवश्यक मौज्दात बढाउन निर्देशन दिए ।

यसैबीच, होटल सङ्घ नेपालले निराधार रुपमा आफूखुसी कुनै सम्झौता नै नगरेको विषयमा प्रचारबाजी गरेकामा मन्त्री भण्डारीको सचिवालयले आपत्ति जनाएको छ ।

“होटल सङ्घसँग अनुगमन नगर्ने कुनै सहमति भएको छैन, बरु केही होटलहरुले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा अत्यावश्यक वस्तुको बेचबिखन गरिरहेका सूचना प्राप्त भएका छन्, अनुगमनलाई मन्त्रीज्यूले कडाइ गर्न निर्देशन गरिसक्नुभएको छ”, मन्त्री भण्डारीका स्वकीय सचिव भट्टले भने ।

यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग राज्यका प्रचलित कानुनबमोजिम नियमित बजार अनुगमन गर्ने कामलाई निरन्तरता दिँदै गुणस्तरीय वस्तुको उचित मूल्यमा सुलभ आपूर्तिको सुनिश्चितताका लागि हरदम प्रयत्नशील रहिरहेको जनाएको छ ।

विभागका प्रवक्ता डिकबहादुर काकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विभागले वर्षेभर गर्ने नियमित बजार अनुगमनका अतिरिक्त चाडपर्व लक्षित विशेष अनुगमनलाई अझ सशक्त र प्रभावकारी बनाएको, सार्वजनिक बिदामा समेत अनुगमन टोली परिचालन गरिएको र होटल तथा रेष्टुरेन्टलगायत सबै व्यापार व्यवसायमा विशेष अनुगमन गरिँदै आएको र यसलाई अझ सशक्त बनाइने व्यहोरा सबै सरोकारवालालाई जानकारी गराइन्छ ।” रासस

प्राधिकरणद्वारा ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन

काठमाडौँ । अविरल बर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ ।

यही असोज ११ र १२ गतेको अविरल बर्षाका कारण ललितपुरको अधिकांश स्थानमा बिजुली आपूर्ती अवरुद्ध भएको थियो । कैयौँ स्थानमा पोल ढलेको, वितरण लाइनमा क्षति पुगेका कारण विद्युत् आपूर्तिमा कठिनाई हुँदै आएको थियो ।

काठमाडौँ र भक्तपुरमा आइतबारदेखि नै नियमित रुपमा बिजुली उपलब्ध भइसकेको भएपनि ललितपुरका सहरी क्षेत्र बाहेकका स्थानमा अझै मर्मत सम्भार जारी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणको लगनखेल वितरण केन्द्रका प्रमुख विजय महतोका अनुसार कतिपय स्थानमा सडक यातायात सञ्चालन हुन नसक्दा मर्मत सम्भारमा समस्या भएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार मर्मत सम्भारका लागि आवश्यक जनशक्ति परिचालन गरिएको र आज साँझसम्म धेरै स्थानमा नियमित बिजुली उपलब्ध हुनेछ ।

लाकुरी भञ्जाङमा १० वटा पोलमा क्षति भएको छ भने सडकमा पहिरो आउँदा मर्मत समभारमा जनशक्ति परिचालन गर्न समस्या परेको छ । बाटो खुलेको अवस्थामा दुई दिनभित्र नियमित गर्न सहज हुनेछ । गोदावरी–३ पुल्चोकी जाने बाटोमा अवरोध छ । बाटो सञ्चालन भएपछि तीन दिनभित्र बिजुली उपलब्ध हुनेछ ।

भट्टेडाँडामा रहेको नागरिक उड्डयन प्राधिकरणको राडार नजिक भएको क्षतिको यकिन विवरण रुपमा प्राप्त हुन सकेको छैन । तर सो स्थानमा आज अबेरसम्म बिजुली उपलब्ध गराउने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

ललितपुर–१४ स्थित कान्तिपुर कोलनी, कुसुन्तीको केही क्षेत्रमा आजै आशिंक रुपमा बिजुली उपलब्ध गराउने गरी लगनखेल वितरण केन्द्रले जनशक्ति परिचालन गरेको छ । यस्तै, किस्ट मेडिकल कलेज पछाडिका २० घरमा आजै बिजुली उपलब्ध हुनेछ ।

प्राधिकरणका अनुसार, लिटिल एजेन्ल्स स्कुल, जग्ग एकीकरण आयोजना, ललितपुर २३ का विभिन्न स्थानमा पनि आजै बिजुली उपलब्ध गराउने गरी काम भइरहेको छ ।

गोदावरी लेलेतर्फको क्षतिको विवरण पनि यकिन हुन सकेको छैन । सडकमा पहिरो आएको र कतिपय स्थानमा बगाएका कारण अवरोध उत्पन्न भई मर्मत सम्भारमा समस्या पैदा भएको छ । सबै स्थानमा यथेष्ट जनशक्ति परिचालन गरी हरेक पोलको अवस्था हेरेर मर्मत सम्भारलाई तीव्र पारिएको छ ।

यस्तै, देशका अन्य स्थानमा भएको क्षतिको विवरणका आधारमा मर्मत सम्भारको कामलाई तीव्र पारिएको जानकारी दिँदै प्राधिकरणले बत्ती नभएको स्थानबारेमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

यस्तै, प्राधिकरणले बाढीका कारण क्षति भएका ठूला प्रसारण लाइनको समेत मर्मत सम्भारको प्रक्रिया अगाडि बढाएको छ । काबेली करिडोर, खिम्ती लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनमा समेत क्षति पुगेको छ । ती प्रसारण लाइनको टावर ढल्दा बिजुली प्रवाहमा समस्या उत्पन्न भएको छ ।

बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

ललितपुर ।  शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौं उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्‍यायो ।

ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्ण रूपमा डुबानमा परे । घर, पसल र बासस्थानमा पानी पसेर यहाँको जनजीवन, व्यापार, व्यवासय अस्तव्यस्थ छ । खोला किनारामा बसोबास गर्नेहरूको टहरासहित सबै सरसमान बगाएको छ ।

शनिबार बेलुकीदेखि नख्खु खोलाको बहाव घटेपछि बाढीपीडितहरू बाढीबाट जोगिएका तर निथ्रुक्क भिजेका सरसमानको व्यवस्थापनमा जुटेका छन् । हाल घर, पसल तथा भवनका कोठाभित्र पसेको लेदो हटाउने काम भइरहेको छ ।

मोटरसाइकल, गाडीलगायत धेरै सामग्री बगाएको कपितय बाढीपीडितको भनाइ छ । बाढीले आफ्ना छ बङ्गुर र ७० हाँस तथा लोकल कुखुरा बगाएको ललितपुर महानगरपालिका–१८ नख्खुपुल छेउमा बस्दै आएकी रेणुका लिम्बूले बताइन् । उनले भनिन्, ‘शुक्रबार राति १२ बजे कोठाभित्र पानी पसेको थियो । पानी पस्नेबित्तिकै सामान अर्को ठाउँमा सार्दै थियौँ । सामान सार्दासार्दै खोला बढ्दै गएर बिहान ७ बजेसम्म सबै बगायो । हाम्रो मात्र होइन, अरूको पनि धेरै क्षति भएको छ ।’

ललितपुर महानगरपालिका–१४ नख्खुडोल र ललितपुर वडा नं २५ भैँसेपाटी जोड्ने पुलमा बाढीले क्षति पुर्‍याएपछि अहिले आवतजावतमा रोक लगाइएको छ । नख्खुडोल पुल छेउमा बसोबास गर्नेको अस्थायी टहरा सबै बगाएको छ । खोलाले डुबाएको सरसमान व्यवस्थापनका लागि आफन्तको सहायता लिएर जुटेका छन् ।

करिब १३ लाख लगानी रहेको नर्सरी र अस्थायी टहरमामा रहेको सबै सरसमान बगाएको स्थानीय रोम रानाको भनाइ छ । उनले भने, ‘समाचारअनुसार बाढी आउलाकि भनेर हामी सचेत त थियौँ तर तत्काल सरसमान अर्को ठाउँमा सार्ने अवस्था भएन । जब राति कोठामा पानी पस्यो त्यसपछि महत्त्वपूर्ण कागजपत्र निकाल्न भ्यायौँ, अरु सबै बाढीले बगायो । अब के खाने र कहाँ बस्ने भन्ने चिन्ता छ । तत्कालका लागि त आफन्तकहाँ बसेका छौँ ।’

त्यसैगरी नख्खु डोलमा पाँच वटा पसल बगाएको छ । अस्थायी टहरामा सञ्चालित पसल पूर्ण रूपमा बगाएकाले कति क्षति भएको छ भन्ने यकीन गर्न नसकिएको स्थानीय बताउँछन् । दुःखले जोडेको सबै सामान बगाएकामा बाढीपीडित नारायण सुनुवार हाल निकै चिन्तामा छन् ।

‘म मजदुरी गरेर जीविका चलाउने मान्छे हुँ । काम गरीखाने सबै सामग्रीसमेत बगाएको छ । अब कहाँ बस्ने, के खाने भन्ने चिन्ता छ । अहिलेसम्म कतैबा राहातको व्यवस्था भएको छैन । ज्यान जोगिए पनि लत्ताकपडा र अत्यावश्यक सबै समान बगाएको छ’, उनले भने ।

नख्खु खोलाले क्षति पुर्‍याएको ठाउँमा तत्काल विद्युत्, पानी र बाटोको व्यवस्थापनमा जुट्ने ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले बताए । उनले भने, ‘नख्खु खोलाले क्षति पुर्‍याएकोमा हामी निकै दुःखी छौँ । हाम्रो वडामा अवरोध भएको बाटो, विद्यत् र खानेपानी आपूर्ति व्यवस्थापनलाई पहिलो प्राथामिकता दिएर व्यवस्थापनमा लागिरहेका छौँ ।’

लेबनानमा भएको हवाई आक्रमणमा श्रीमती र छोराछोरीसहित हमास नेता फतहको मृत्यु

लेबनान । प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ ।

“हमासका नेता फतह शरीफ अबु अल अमीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लेबनानमा रहेका हमासका विदेशमामिला हेर्ने नेताको दक्षिण लेबनानको अल बास क्याम्पमा रहेको आफ्नो घरमा भएको हवाई आक्रमणमा मृत्यु भएको छ ।”

आक्रमणमा उनकी श्रीमती, छोरा र छोरीसहितको मृत्यु भएको हमासले बताएको छ ।

लेबनानी राष्ट्रिय समाचार संस्थाले टायर शहर नजिकै अल बासमा हवाई आक्रमण भएको र शिविरलाई निशाना बनाइएको यो पहिलो पटक भएको जनाएको छ ।

पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन (पिएफएलपी) ले बेरुतको कोला जिल्लामा सोमबार बिहान भएको आक्रमणमा आफ्ना तीन जना सदस्यको मृत्यु भएको बताएको केही घण्टापछि उक्त वक्तव्य आएको हो ।

करिब एक वर्षअघि गाजा युद्ध सुरु भएयता इजरायलले लेबनानमा रहेका हमासका अधिकारीलाई पटक–पटक निशाना बनाउँदै आएको छ ।

गत जनवरीमा इजरायलले गरेको आक्रमणमा हमासका उपनेता सालेह अल–अरुरी र अन्य छ जना लडाकू मारिएका थिए ।

गत अगस्टमा दक्षिण लेबनानको सिदोन शहरमा इजरायली आक्रमणमा हमासका कमाण्डर समर अल हजको मृत्यु भएको थियो ।

लेबनानमा रहेका ती शिबिरहरू गाजामा इजरायल स्थापनाको समयमा सन् १९४८ को युद्धताका स्थापना गरिएको थियो ।

लामो समयदेखिको परम्पराअनुसार लेबनानी सेना शिविरबाट बाहिर रहन्छ र प्यालेस्टिनी समूहलाई त्यहाँको सुरक्षा सम्हाल्ने जिम्मेवारी दिइन्छ ।

दुईसातामा एक सय २८ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एवं मातहतका कार्यालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीब्रता दिएका छन्।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम असोजका दुई सातामा एक सय २८ खाद्य उद्योग एवं व्यवसायको निरीक्षण, अनुगमन तथा कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। जसमध्ये ६१ किराना पसल तथा मार्ट, ४१ होटल-रेस्टुरेन्ट, २४ खाद्य उद्योग र दुई वटा डायट्री सप्लिमेन्ट बिक्रेता फर्ममा निरीक्षण अनुगमन गरिएको उनले बताए।

यस्तै, ललितपुरमा २३ खाद्य कम्पनीमा अनुगमन गरिएको छ। धापाखेलस्थित पचली भैरव पानी प्रशोधन उद्योगमा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड २०७४ बमोजिमका मापदण्ड र अभिलेख नपाइएको हुँदा खाद्य ऐनबमोजिम नमूना संकलन तथा हाललाई उत्पादन रोक्का गरी प्रशोधित पिउने पानी फिलिङ गर्ने स्थान सिलबन्दी गरिएको छ।

टोखा नगरपालिका-६ धापासीस्थित सनराइज वेभेरेज नेपाल प्रालिमा निरीक्षणका क्रममा अनुमतिपत्र नवीकरण नभएको र अर्कैको नामको कम्पनीको जारमा पानी फिलिङ गरी बिक्री गरेको पाइएको हुँदा प्रशोधन कक्ष सिल गरिएको छ। सो कम्पनीलाई अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको प्रवक्ता महर्जनले बताए।

अनुगमनका क्रममा काठमाडौं महानगरपालिका-११, एकता मार्ग, नयाँ बानेश्वरस्थित अर्जुन डेरी प्रालि सिलबन्दी गरिएको छ। ढुसी लागेको नौनी, घ्यू र चिज स्थानीय जानप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ। जसमा दुई सय ४० केजी नौनी, २५ केजी चीज र ४४ केजी घ्यू रहेको छ।

ललितपुरको गोदावरी नगरपालिका-११ स्थित प्रशंसा कलेक्शन एण्ड रिफाईन प्रशोधन केन्द्रमा पनि शिलबन्दी गरिएको छ। यहाँ स्थानीय जनप्रतिनिधिको रहोबरमा ९५ केजी घ्यू नष्ट गरिएको छ। काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित ‘प्राप्ति फुड प्रोड्क्ट्स’को घ्यूको गुणस्तर विश्लेषण प्रतिवेदन गर्दा न्यूनस्तरको आएकाले असोज १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधिको रहोबरमा ८० केजी घ्यू र ३० केजी नौनी नष्ट गरिएको प्रवक्ता महर्जनले जानकारी दिए।

यसैगरी उपभोग्य मिति समाप्त भएका, लेबल विवरण नभएका र उचित तवरले भण्डारण नगरेका चाउमिन छ थान, खुवा ६० किलो, मापदण्डभन्दा बढी खाद्य रङ प्रयोग गरिएको पुरी दुई किलो, बिस्कुट, ससेज चार केजी, बिर्यानी मसला पाँच केलो, मह चार किलो, कोदोको पिठो छ किलो, पेयपदार्थ ५१ बोतल, चिली हट ससलगायत अन्य खाद्य पदार्थ गरी करिब रु १० हजार ८५० बराबरको सामान नष्ट गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य व्यवसायीलाई विभागले आग्रह गरेको छ। लेबल विवरण नभएका खाद्य पदार्थ बिक्री वितरण नगर्न, सरसफाइमा विशेष ध्यान दिन, खाद्यवस्तु खरिद बिक्री गर्दा लेवल अनिवार्य हेर्न, स्टोर तथा भण्डार व्यवस्थित गरी सफा राख्न, उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ छुट्टै भण्डारण गर्न, पकाएको खाद्यपदार्थ छोपेर राख्न, मसिजन्य पत्रिकामा खाद्य पदार्थ नराख्न, किट नियन्त्रण गर्न र अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन नगर्न निर्देशन दिइएको छ। निरीक्षणका क्रममा कमजोरी देखिएका करिब १३ वटा खाद्य कम्पनीलाई बयानका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ।

खाद्य उद्योग एवं व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम निषेधित कार्य नगर्न, नगराउन अनुरोध गरिएको पनि प्रवक्ता महर्जनले सुनाउनुभयो । अनुरोधविपरीत काम गरेमा ऐन, नियमबमोजिम कानुनी कारबाही हुने विभागले जनाएको छ।

चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एक जनाको मृत्यु

चितवन । गत साउनयता जिल्लामा दुई सय २९ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । संक्रमितमध्ये खैरहनी नगरपालिका-२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका एक हजार ८१५ बिरामीको परीक्षणका क्रममा २५९ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जानकारी दिए। सङ्क्रमितमध्ये १३० जना चितवनका रहेका छन्भने १२९ जना जिल्लाबाहिरका रहेका उनले बताए ।

गत आर्थिक वर्षमा ७६२ जनाको परीक्षणका क्रममा २४८ जनामा स्क्रब टाइफस देखिएको थियो । यो रोग मुसा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । यसबाट संक्रमण भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुन, टाउ, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछन् ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने पट्टेलले बताए ।

सरकारले बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण गर्न अनुदान उपलब्ध गराउने

काठमाडौँ ।  सरकारले विपद्बाट भएको क्षतिको मूल्याङ्कन गर्न एक विशेष कार्यदल गठन गरी १५ दिनभित्र विवरण सङ्कलन गर्ने भएको छ । 

अविरल वर्षाका कारण देशव्यापी रुपमा भएको जनधनको क्षतिबारे तत्काल विवरण सङ्कलन गरी राहत उपलब्ध गराउने उद्देश्यका साथ यस्तो निर्णय गरिएको हो । यही असोज ११ र १२ गतेको अविरल बर्षाका कारण आएको बाढी पहिरोका कारण जनधनको क्षति भएको छ । 

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सोमबार बसेको ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यसमिति’को बैठकले गृह, अर्थ, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंछी, सहरी विकास, खानेपानी, ऊर्जा जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव र सम्बन्धित क्षेत्रमा विज्ञ सम्मिलित कार्यदल गठन गरिएको छ । 

बैठकले क्षतिग्रस्त सरकारी तथा सार्वजनिक भवन, सडक, पुल, खानेपानी, विद्यालय, स्वास्थ्य संस्थालगायतका संरचनाको तत्काल पुनःनिर्माण कार्य सम्बन्धित मन्त्रालयले अगाडि बढाउने निर्णय गरेको छ । 

बैठकले कानुन मन्त्रालयको राय लिई ‘विपद् संवेदनशील सामाजिक सुरक्षा मापदण्ड, २०८१’ लाई स्वीकृत गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन’, २०४७ को दफा ३९ बमोजिम मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न सिफारिस गरेको छ । 

अस्थायी आवास निर्माणका लागि सात दिनभित्र लाभग्राही पहिचान गरी अनुदान उपलब्ध गराइने भएको छ । अस्थायी आवास निर्माणका लागि विपद् प्रभावितको पहिचान गरी ‘अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराइनेछ । 

राजमार्गमा अलपत्र परी गन्त्वयमा पुग्न नसकेका यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध भएका सडक खण्ड तत्काल सञ्चालनमा ल्याउने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक काम गर्नेछ । बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा सडक, खानेपानीलगायतका पूर्वाधार यथाशिघ्र सञ्चालन गरी सेवा प्रवाह गर्न सम्बन्धित निकायले द्रुत प्रक्रियाबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने निर्णय भएको छ । 

मौसमजन्य विपदबाट प्रभावितलाई राहत वितरणको प्रक्रिया एकद्धार प्रणालीबाट तत्काल सुरु गर्ने र मृत्यु भएका व्यक्तिको परिवारलाई ‘विपद्पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम बेपत्ता भएका व्यक्तिका परिवारलाई मन्त्रिपरिषद्को गत असार ३१ को निर्णय बमोजिम राहत उपलब्ध गराइनेछ । 

बैठकले विपद् पश्चातको खोज, उद्धार, राहत, बाढीले थुपारेका गेग्रानलगायतका पदार्थ हटाउने कार्यका लागि स्वयम्सेवकले पुर्याएको योगदानलाई धन्यवाद दिएको छ ।

पुनःस्थापना र पुनःनिर्माणका लागि स्थानीय तहले ‘विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन. तथा परिचालन कार्यविधि, २०७८’ बमोजिम राष्ट्रिय, प्रदेश, जिल्ला एवं पालिकास्तरीय स्वयंसेवक ब्यूरोले सक्रियतापूर्वक स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको छ । 

विपद् प्रभावित प्रदेशका प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति र स्थानीय विपद् व्यवस्थापन समितिले ऐनले तोकेको जिम्मेवारी बमोजिमका विपद् पश्चातको खोज उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माण एवं पुनःलाभका कार्यका लागि अनुरोध गरेको छ । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सञ्चार रणनीति, २०८१ मा एकहप्ताभित्र समितिका सदस्यबाट राय लिई संशोधनसहित स्वीकृत गरिनेछ । आपतकालीन गोदामघर सञ्चालन कार्यविधि, २०८१  को पनि संशोधनको प्रक्रिया अगाडि बढाइने छ । 

विपद् पश्चात फैलिन सक्ने महामारीको आकलन गरी महामारीजन्य रोग फैलन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरिनेछ । 

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ संशोधन गरी आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ ।

तोलामा एकसय रुपैयाँले घट्यो सुन

काठमाडौँ । सामेबार सुनको  मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि भने  एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा  पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि  एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ ।

अखिल क्रान्तिकारीमा नयाँ नेतृत्व चयनअघि उमेरको हदबन्दीका लागि निर्वाचन हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दीको निर्णय निर्वाचनमार्फत टुंग्याउने भएको छ ।

उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्पमा मतदानबाट निर्णय गर्न दिर्नेशन दिएको नेता मदन भुलले बताए । उनका अनुसार अब पहिला उमेरको हदबन्दी टुंगो लगाउन निर्वाचन हुनेछ ।

अनि मात्र नेतृत्व चयनको लागि मतदान हुन्छ । अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ । नेयाँ नेतृत्वमा दाबेदार धेरै भएपछि सहमति जुटेको छैन । साथै उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा पनि प्रतिनिधिहरू एकमत छैनन् ।

मधेश प्रदेशमा बाढीमा परी तीनजनाको मृत्यु

धनुषा । हालैको अविरल वर्षासँगै आएको बाढीले मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मधेसमा हालसम्म तीन जनाको मृत्यु भएको छ । प्रदेशको आठवटै जिल्लामा आठ जना घाइते भएका र उनीहरुको अवस्था सामान्य छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुभाष बोहराकाअनुसार महोत्तरीमा दुई र सप्तरीमा एक गरी तीन जनाको मृत्यु भएको छभने सर्लाहीका एक जना बेपत्ता छन् ।

उनकाअनुसार मृत्युहुेनमा महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीका १६ वर्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको छभने सप्तरी बलान बिहुल गाउँपालिका–४ घर भई राजविराज नगरपालिका–८ मा बस्दै आएका आठ वर्षीय प्रिन्सकुमार साह मृत भेटिएका छन् ।

महोत्तरीकै बर्दिबास नगरपालिका–११ खयरमाराका २१ वर्षीय मानबहादुर थिङलाई खयरमारा खोलाले बगाएर मृत्यु भएको छ । सर्लाहीको बागमती नगरपालिका–९ स्थित सक्रोलका १५ वर्षीय मुकेश महतो सोती खोलाले बगाएर बेपत्ता छन् । रौतहटमा तीन, सिरहामा एक, सर्लाहीमा एक र बारामा तीन जना घाइते भएकामा उपचारपछि सामान्य अवस्थामा रहेको प्रहरी उपरीक्षक बोहराले बताए ।

त्यस्तै बेपत्ता हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–५ का ३८ वर्षीय जाविर अन्सारी, पर्साको सिर्सिया नदीमा आएको बाढीमा बगेर भारत विहार मोतिहारी जिल्लाका ३२ वर्षीय किशोर राउत र कमला नदीमा आएको बाढीको बेला दाउरा निकाल्ने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहाका ३५ वर्षीय सान परियार र उनकी श्रीमती माया रहेका छन् ।

प्रहरी उपरीक्षक बोहराका अनुसार यस प्रदेशमा ९६ घरपरिवारका चार सय ८८ जना विस्थापित भएका छन् भने बाढीमा फसेका ३५ जनालाई उद्धार गरिएको छ । प्रहरी उपरीक्षक बोहराले गौर कारागारमा वाग्मती खोलाको पानी पसेपछि १२ जना महिला थुनुवा÷कैदीलाई नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालयको हिरासतमा सुरक्षित राखिएको बताए ।

त्यसैगरी धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीमा आएको बाढीका कारण सिरहा र धनुषामा क्षति भएको छ । अविरल वर्षाले धनुषा–सिरहाको सीमा अवस्थित कमला नदीले विभिन्न स्थानमा क्षति पुर्याएको कमला नदी नियन्त्रण आयोजना धनुषाले जनाएको छ । धनुषाको कमला नगरपालिकाको हरिणेस्थित कमला नदीको ग्यावियन जालीको पर्खाल भत्किनुको साथै आरसिसी पर्खाल पनि भत्किएको छ ।

त्यस्तै कमला नगरपालिकाको हथमुन्डामा कमला नदी छेउमै निर्माण गरिएको बाँधको माथिल्लो भागमा क्षति भएको छभने सोही नगरपालिका–५ स्थित लक्कडबाट फूलबरियासम्मको बाटो कटान भएको कमला नदी नियन्त्रण आयोजनाले जनाएको छ ।

त्यस्तै सबैला नगरपालिका–४ स्थित पटेर्वाबाट सबैला नगरपालिका–१३ स्थित ढोलबज्जासम्म कमला नदीले कटान गरेको छ । त्यस्तै सिरहाको कल्याणपुर नगरपालिका–५ स्थित भेडिया–भोक्राहा, चत्तरी, चिकना–निर्दनास्थित तटबन्धमा नजिक पनि कटान गरेको छ ।

त्यस्तै बाढीले सिरहा–५ स्थित मानपुरमा स्परको लन्चिङ बगाएको छ । सिरहा–१७ स्थित पटेर्वाबाट कल्याणपुर नगरपालिका–७ स्थित भेडियासम्म बाढीका कारण बाटो कटान गरेको जनाइएको छ । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित ज्यूदाही फाँटमा माटोको बाँध कटान गरेको छभने दुधौली नगरपालिका–९ स्थित जीतपुर टाडीमा तटबन्ध नजिक कटानले व्यापक क्षति भएको आयोजनाले जनाएको छ ।

महोत्तरीको रातु नदीमा आएको बाढीका कारण भङ्गाहा नगरपालिका–६ स्थित हतिसर्वा नजिक रहेको नदीको तटबन्ध भत्केको छ । सो तटबन्ध भत्किँदा बाढी गाउँतर्फ पसेको छ । त्यस्तै तटबन्ध बनाउन बाँकी रहेको हतिसर्वा, वनचौरीलगायत विभिन्न स्थानमा निर्माण गरिएका तटबन्धसमेत भत्केको छ । सो बाढी गाउँतर्फ जाँदा क्षति भएको जनाइएको छ ।