`

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा

लण्डन । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले  एक करोड सहयोग गर्ने भएको छ ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।

बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ ।

समितिमा सङ्घका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् । पदाधिकारीको बैठक पछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग सङ्कलनमा थप छलफल गरिने जनाइएको छ ।

अध्यक्ष डा केसीका अनुसार एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ । बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जलि व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

यसैक्रममा सङ्घले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाडौँमा रहेका सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय परिषद् (केन्द्रीय समिति) बैठकमा प्रस्तुत गर्नेछ । बाढीपहिरोबाट काठमाडौँ, भक्तपुर, मकवानपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी र सप्तरी जिल्लाका बासिन्दा प्रभावित छन् ।

सङ्घका महासचिव गौरीराज जोशीले सङ्घको वार्षिक साधारणसभाको तयारीबारे पनि बैठकमा छलफल भएको जानकारी दिए । उक्त साधारणसभा आगामी कात्तिकको ११ र १२ मा काठमाडौँमा आयोजना हुँदैछ ।

पाकिस्तानले नेपालका बाढीपीडितलाई सघाउने

काठमाडौँ । पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका छन् ।

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्बद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको छ ।

राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आइतबार विज्ञप्ति जारी गरी विगत तीन दिनदेखि देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातमा ठूलो क्षति भएको भन्दै थप क्षति हुन नदिन बाटोको अवस्था बुझेर मात्र यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

“वर्षा रोकिए पनि राजमार्गमा सुक्खा पहिरोको जोखिम अझै कायम छ, गन्तव्य स्थानसम्म बाटोको अवस्था जानकारी लिएर मात्र सवारीसाधन सञ्चालन गर्नुहोला”, महासचिव गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,“सार्वजनिक सवारी सञ्चालन गर्दा आफ्नो सम्बन्धित कम्पनी, सुरक्षा निकायसँग समन्वय गरी मौसमको अवस्था हेरेर आवतजावत गर्न सम्पूर्ण यातायात व्यवसायी, स्वरोजगार र मजदुरलाई आग्रह छ ।”

यसैगरी महासङ्घले बाढीपहिरोका कारण देशका अधिकांश राजमार्गमा क्षति पुगेकाले चाँडो मर्मतसम्भार गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

“यस्तै बेपत्ता व्यक्तिको चाँडो खोजी गर्न र घाइतेको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन महासङ्घ सरकारसँग आग्रह गर्दछ । यस दुःखद घडीमा विपत्तिमा परेका यात्रु तथा जनताको उद्धार तथा राहतमा लाग्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई हाम्रो आग्रह गरेको छ”, विज्ञप्तिमा भनिएको छ । 

यस्तै, दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेकाले राजमार्गलाई पूर्ण रूपमा मर्मतसम्भार गर्न र यातायात सेवालाई पूर्ववत् अवस्थामा सञ्चालन गर्ने वातावरण निर्माणमा लाग्न सरकारसँग महासङ्घले माग गरेको छ ।

सीधाकुरा डटकमका सम्पादक र प्रकाशकलाई तीन महिना कैदको फैसला

काठमाडौं । सर्वोच्च अदालतले सीधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजासले उनीहरुले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशकसहित तीन जनालाई कैद सजाय सुनाएको हो ।

अदालतले सीधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ । तर उनीहरुले अदालतसमक्ष क्षमायाचना गरेमा ७ दिन कैद सजाय गर्ने फैसला भएको छ ।

अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सीधाकुरा डटकमले ’डार्क फाइल’ नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो ।

सीधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको अडियो कुराकानीका आधारमा उक्त समाचार प्रकाशन गरेको थियो । सर्वोच्च अदालतले तिमल्सिनालाई भने ६ महिना कैद सजायको फैसला गरेको छ ।

नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

कमलामाई (सिन्धुली) । अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आइतबार साँझदेखि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थायी डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारीसाधन चल्न थालेका हुन् ।

बाढीपहिरोले टुप्पीडाँडामा रोकिएका बिरामी, शवसहितका एम्बुलेन्स, सयौँ सवारीसाधन र यात्रु सिन्धुलीमाडीतर्फ फर्किन थालेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

“बिपी राजमार्गको चार खण्डमध्ये, खुर्कोट–नेपालथोक, सिन्धुलीमाडी–खुर्कोट र बर्दिवास–सिन्धुलीमाडी खण्डमा सवारीसाधन चल्न थालेका छन् । नेपालथोक–धुलिखेल सडकखण्ड खुलाउन अझै केही समय लाग्छ,” उनले भने ।

बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर, केही ठाउँमा सुनकोसी नदीले कटान गरेर र कतै सडक भासिएर यातायात ठप्प भएको थियो । यातायात ठप्प हुँदा तीन दिनदेखी सयौँ सवारीसाधन बाटैमा थन्किएका थिए ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, स्थानीय सरकार र स्थानीबासीको संयुक्त प्रयासमा अवरुद्ध भएका सडक मर्मत तथा बैकल्पिक व्यवस्थापन गरेर तत्कालका लागि एकतर्फी यातायातका साधन सञ्चालन गर्न सकिने बनाएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

बिहीवारदेखि परेको वर्षासँगै रोशी खोला र सुनकोसी नदीमा आएको बाढीपहिरोका कारण सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्री, वडा नम्बर १ को नेपालथोक, आँपघारी, भ्याकुरेखोला, बर्खेखोला, घ्याम्पेखोलालगायतका दर्जनौँ स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षतविक्षत बनाएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सरकार र स्थानीयबासीको सहयोगमा नेपालथोक–खुर्कोट सडकखण्डकोे अवरोध हटाएर बीच सडकमा अलपत्र परेका यात्रुलाई सिन्धुलीमाडीतर्फ ल्याउने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए ।

उनले  भने, ‘हामी खुर्कोटदेखि नेपालथोकसम्मको सडक खुलाएर त्यहाँ अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई  सिन्धुलीमाडीतर्फ ल्याउँदै छौँ ।’

यसैबीच मध्यपहाडी लोकमार्गका दर्जनौँ स्थानमा पहिरो गएपछि यातायात अवरुद्ध नै छ । मदन भण्डारी राजमार्ग भने अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

बेलायतमा नयाँ नेतृत्व र भावी दिशा तय गर्न कन्जरभेटिभ पार्टी सदस्य बर्मिङ्घममा भेला

लण्डन । चुनावमा ऐतिहासिक पराजय भोगेका आफ्ना घाउहरूमा मलम लगाउँदै बेलायतको विपक्षी कन्जरभेटिभहरू आइतबार वार्षिक सम्मेलनका लागि भेला भएका छन् । लेबर पार्टीले टोरीलाई सत्ताबाट हटाएको तीन महिनापछि मध्य इङ्ल्यान्डको बर्मिङ्घममा चार दिने बैठक हुन लागेको हो ।

सन् २००९ पछि कन्जरभेटिभ्स विपक्षमा रहेर हुन लागेको यो पहिलो सम्मेलन हो। भेलामा चार जना उम्मेदवारले संसदीय सहकर्मी र ग्रासरुटका सदस्यहरूको अगाडि आफ्ना भनाई राख्नेछन् र उनीहरूलाई पूर्व–प्रधानमन्त्री ऋषि सुनकलाई अर्को टोरी नेताको रूपमा प्रतिस्थापित गर्न सहमत गराउने प्रयास गर्नेछन्।

बेलायतको दोस्रो ठूलो सहरस्थित इन्टरनेसनल कन्भेन्सन सेन्टरको मुख्य हलमा केमी बाडेनोच, रोबर्ट जेनरिक, जेम्स क्लेभरली र टम टुगेन्धाटले भेलालाई सम्बोधन गर्नेछन् ।

युनिभर्सिटी अफ म्यानचेस्टरका राजनीतिका प्राध्यापक रोबर्ट फोर्डले एएफपीसँग भने, “ भेला अनिवार्य रुपमा हुने ‘ट्यालेन्ट परेड’ हुनेछ ।

कन्जरभेटिभ पार्टीका सांसदहरूले अन्तिम दुई उम्मेदवारको टुङ्गो लगाउन अर्को हप्ता मतदान गर्नेछन्। त्यसपछि अक्टोबरको अन्त्यमा बन्द हुने मतदानमा पार्टीका सदस्यहरूले विजेता चयन गर्नेछन्।

बेलायतको नयाँ विपक्षी नेता र पार्टीलाई पुनः एकताबद्ध गर्ने र पुनः निर्वाचित गराउने जिम्मेवारी पाउने नेताको चयन भेलाले गर्नेछ यद्यपि, यसको घोषणा नोभेम्बर २ गरिने छ ।

जुलाई ४ मा कन्जरभेटिभ्सको अहिलेसम्मकै सबैभन्दा खराब आम चुनावको परिणामपछि पार्टीले य नेतृत्वमा जो आएपनि दायाँबायाँ अगाडि बढ्ने वा सिधै अघि बढ्ने निर्णय गर्नेछ ।

बेलायतको ६५० सदस्यीय संसद्मा लेबर पार्टीले १७४ सिटको भारी बहुमत प्राप्त गरेको छ । टोरीहरूले संसद्मा यसअघि रहेको २५१ सिट गुमाएर मात्र १२१ सिट मात्र जितेको छ । यो उनीहरूको इतिहासमा सबैभन्दा कम सङ्ख्या हो।

सन् २०१९ मा भएको अघिल्लो चुनावमा टोरीहरूले बोरिस जोनसनको नेतृत्वमा ३६४ सदस्यसहित लेबर पार्टीको २०३ सिटभन्दा करिब ८० सिटको बहुमत प्राप्त गरेका थिए।

–राजनीतिक सङ्कट–

पार्टीमा व्यापक उथल–पुथल भएको छ । डाउनिङ स्ट्रिटका कर्मचारीहरूले कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनको समयमा पार्टीका नेताले गरेका थुप्रै स्क्यान्डलहरूले जोनसनलाई पदबाट हट्न बाध्य तुल्याएको थियो।

त्यसपछि उनको उत्तराधिकारी लिज ट्रस बनेको थियो तर उनको मिनी–बजेटको कारण उनको नेतृत्वको सरकार केवल ४९ दिन मात्र चलेको थियो । उनको मिनी बजेटका कारण पाउण्डको मुल्यमा आएको गिरावटले बजारलाई बेलायतको आर्थिक बजारलाई त्रसित बनाएको थियो ।

प्रभावित बजारलाई स्थिर राख्न ल्याइएका सुनकले त्यो स्खलनलाई उल्ट्याउन सकेनन् र उनको २० महिनाको कार्यकाल गुटगत कलहले बिथोलियो।

नयाँ जनमत लिन घोषणा गरिएको चुनावपछि उत्तराधिकारी चयन गर्ने र आफूले राजिनामा दिने सोच उनले बनाएको थियो ।

पार्टीले दुविधाको सामना गरिरहेको छः के यसले नाइजेल फारेजको कट्टर दक्षिणपन्थी सुधारवादी यूके पार्टीमा प्रवेश गरेका मतदाताहरूलाई जिताउन ध्यान केन्द्रित गर्नुपर्दछ वा मध्यमार्गी लिबरल डेमोक्र्याट्समा प्रवेश गर्नेहरूको समर्थन पुनः प्राप्त गर्ने लक्ष्य राख्नुपर्छ ?

हालका वर्षहरूमा समग्र रूपमा पार्टी दक्षिणपन्थी भएको छ तर बाडेनोच र जेनरिकलाई उम्मेदवारहरूको अधिक दक्षिणपन्थीको रूपमा हेरिएको छ भने क्लेवरली र टुगेन्धाट मध्यको नजिक छन्।

लण्डनको क्वीन मेरी युनिभर्सिटीका राजनीतिका प्राध्यापक टिम बेलले भने, “यो सत्य हो कि अन्य दलमध्ये कुनै एकले यसलाई पूर्णरूपमा परित्याग नगरेसम्म यसले मध्यमार्गी बाटो अवलम्बन गर्दा नै बिजय प्राप्त गर्न सक्ने देखिन्छ।”

उनले भने, “अब लेबर पार्टी यसलाई उकास्न पूर्णतया कटिबद्ध देखिन्छ, यस्तो देखिन्छ कि कन्जरभेटिभहरूले सम्भवतः त्यस क्षेत्रमा लड्नुपर्छ।” सम्मेलन बुधबार सकिनेछ ।” 

संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग

रोम। विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको छ ।

रोमस्थित एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो सप्ताह अन्तमा जारी द्वन्द्वले तत्काल मानवीय प्रतिक्रियाको आवश्यकतालाई जोड दिएको छ । यसले देशभरका आश्रयस्थलहरूमा तयारी खानाका लागि खाद्यान्न, रोटी, ताजा खाना र तयारी खानाका पोकाहरू वितरण गरिरहेको छ।

बेरुतको बाहिर क्षेत्रमा भएको बम आक्रमणमा इरान समर्थित समूहका नेता हसन नसरल्लाह मारिएको दुई दिनपछि इजरायलले लेबनानको हिजबुल्लाहका दर्जनाआश्रयस्थललाई लक्षित गरी थप हवाई आक्रमण गरिरहेको आइतबार जनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनको सहयोगी हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेपछि इजरायल र हिजबुल्लाहबीच करिब एक वर्षयता सीमापार गोली हानाहान हुँदै आएको थियो ।

डब्लुएफपीका अनुसार लेबनानमा भएको बम विस्फोटले ‘सञ्चित सङ्कटको बोझले थिचिएको जनसङ्ख्याको समस्यालाई अझ जटिल बनाएको छ।”

लेबनानका लागि डब्लुएफपीका निर्देशक म्याथ्यु होलिङवर्थले भने, “डब्लुएफपीको सहयोग केही दिनमै हजारौँ नयाँ विस्थापितबीच पुगेको छ ।

“सङ्कट गहिरिँदै जाँदा हामीले नगद र खाद्यान्नको मिश्रणबाट १० लाख मानिसलाई सहयोग गर्ने तयारी गरिरहेका छौं,” उनले भने ।

“अन्तर्राष्ट्रिय समुदायलाई १० करोड ५० लाख अमेरिकी डलर परिचालन गरी वर्षको अन्त्यसम्म सञ्चालनका लागि सहयोग गर्न आह्वान गर्दछौं,” उनले अगाडि भने। डब्लुएफपीका क्षेत्रीय निर्देशक कोरिन फ्लेशरले लेबनान समस्याको एउटा केन्द्रविन्दु र अर्को युद्ध सहन नसक्ने बताए । 

यस्ता छन् सर्वदलीय बैठकका नौ निर्णय

काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

आइतबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी पहिरो प्रभावित भएकाहरुको तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले राजमार्गहरुमा अलपत्र यात्रुहरुलाई जिल्ला विपद व्यवस्थापन समिति, यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्याउने पनि निर्णय भएको छ ।

बैठकले राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गको अवरोध हटाई आवागमन सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने पनि निर्णय छ ।

यस्ता छन् बैठकका नौ निर्णय

१. अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्णमा हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं। सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

२. अविरल वर्षाको कारण आएको बाढीपहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने।

३. वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अबरुद्ध भई गन्तब्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने।

४. देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो ठूलो रोकावट आई आवागमन अबरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाएर सडक सूचारू गर्ने। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले क्षतिग्रस्त प्रशारण लाइन र विद्युत गृहहरूको मर्मत सम्भार गरी विद्युत आपूर्ति र सूचना तथा संचार प्रविधि मन्त्रालयले अवरूद्ध इन्टरनेट र टेलिफोन सेवा यथासक्य छिटो सूचारू गर्ने। बाढी र पहिरोको कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत सम्भार गरी खानेपानी आपूर्ति गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने।

५. मौसममा क्रमिक सुधार आइरहेको भएता पनि विनाशकारी बाढीका कारण सिर्जित विषम परिस्थितीमा जनस्वास्थ्यको सवाल अहम हुने भएकोले विपद पछिको महामारीको सम्भावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक दुवै विधि प्रयोग गरी प्रभावित क्षेत्रमा ‍औषधि उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने।

६. विपदको चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दसैं, तिहार, छठजस्ता पर्वलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामान सुपथ मूल्यमा सजिलैसँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने।

७. बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरि पुनर्निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाउने।

८. बाढीपहिरोबाट घरवास गुमाएका पीडितहरूका पुनर्स्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरण सँगको समन्वयमा सहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडी बढाउने।

९. विपतको यस घडीमा सबै राजनीतिक दलहरू तीनै तहको सरकार र नीजि क्षेत्र समेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण नीजि क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपील गर्ने।

हवाई भाडा नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ  ।  राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

      समितिका सभापति रामहरि खतिवडाले आइतबार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध हुँदा हवाई भाडा दरमा नियन्त्रण तथा सहजीकरण गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

‘यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पका रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठूलो असर पारेको देखिन्छ”, निर्देशनमा भनिएको छ, ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।’

      देशका विभिन्न स्थानमा अविरल वर्षापछि आएको बाढीपहिरोकोका कारण देशभरको जनजीवन प्रभावित भएको अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानबाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नुपर्ने समेत उल्लेख गरिएको छ ।

प्रधानसेनापति सिग्देलसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । आइतबार सङ र प्रधानसेनापति सिग्देलबीचसैनिक मुख्यालय जंगी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।

भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जंगी अड्डाको भनाइ छ।

अकबरे खुर्सानी बेचेर बागलुङका महादेव कार्की ६ महिनामैकमाउँछन् १० लाख

ढोरपाटन। बागलुङको गलकोट नगरपालिका-२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लागेका छन् ।

पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गरेका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लारेका थिए । उनी बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लागेका थिए ।

कार्कीले अकबरेखेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेतीतर्फ जोड दिएका छन् । वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेका छन् ।

छ महिनामै रु १० लाखको अकबरे बिक्री गरेका कार्की खेती विस्तार गर्ने योजनामा छन्। बढ्दो बसाइँसराइ र युवाको विदेश मोहले गर्दा अहिले गाउँका खेतीयोग्य जमिन बाँझोमा परिणत भएका छन् ।

बसाइँसराइ गरेर गएको १० वर्षपछि फर्किएर व्यवसाय थालेका कार्कीले गाउँमा ठूलो सम्भावना देख्छन् । अहिले उनले गाउँका बाँझो जमिनलाई उत्पादनसँग जोड्न थालेका छन् । अकबरेको मागसमेत बढेको हुँदा उत्पादन बढाउनुपर्ने दबाबमा कार्की छन् ।

करिब १० रोपनी क्षेत्रफलमा करिब छ हजार अकबरेका बिरुवा सप्रिएर फल दिएपछि उनी बिहानदेखि साँझसम्मै बारीमा व्यस्त छन्। करिब रु तीन लाख लगानी गरेर सुरु गरेको खुर्सानी खेतीबाट यो याममा रु २० लाख आम्दानी गर्ने लक्ष्य रहे पनि सुरुआती चरण भएको हुँदा सोचेअनुसार नभएको कार्कीले बताए ।

प्रतिकिलो दुई सयमा करिब पाँच हजार किलो अकबरे बिक्री गरिसकेको उनको भनाइ छ। अझै केहीमात्रामा खुर्सानी टिप्न बाँकी रहेको उनी बताउँछन् ।

अकबरेको बजारका लागि कुनै समस्या नभएको भन्दै अहिले बागलुङसहित चितवन पठाउने गरेको कार्कीले बताए। चितवनमा बुबाआमा रहेको हुँदा उनीहरुले बिक्री गर्ने गरेको कार्की बताउँछन् ।

‘हाम्रो परिवारले धेरै वर्ष अगाडि चितवन बसाइँसराइ गरेको थियो, म पनि धेरै वर्ष उतै बसेँ, पछि गाउँ धेरै सम्भावना देखेर आएको हुँ, सुरुमा कुखुरापालन गरियो, राम्रो भएन, पछि बाख्रापालन थाले राम्रो हुँदै गयो, अहिले अकबरेलाई जोड दिएको छु, यसबाट धेरै राम्रो भयो’, कार्कीले भने, ‘सुरुमा धेरै सोच भएन, अलि धेरै आम्दानी गर्न सकिन्छ कि भन्ने लागेको थियो, त्यो हुन सकेन, विस्तारै ज्ञान हुँदै गएको छ, अर्को वर्षबाट राम्रो हुने आशा गरेको छु, गाउँमा जग्गा जति पनि छ, मान्छेहरु कोही बजार झरेका छन्, कोही विदेश गएका छन्।’

कार्कीलाई  श्रीमती सन्दीपाले साथ दिँदै आएकी छन्। चार वर्षदेखि बाख्रापालन गर्दै आउनुभएका कार्कीले यसबाट पनि राम्रो आम्दानी गर्दै आएका छन् । अब अकबरे खेतीलाई नै बढी समय दिने उनको भनाइ छ ।

हाल उनको बाख्रा फार्ममा ६० खसीबोका छन् । बढ्दो बसाइँसराइले गाउँ रित्तिएपछि सुनसान बन्दै गएको छ । गाउँमा व्यवसाय गरेर अरुलाई पनि यहाँ धेरै सम्भावना रहेको देखाउनेगरी काम गर्ने कार्की बताउँछन् ।

नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पछिल्लो समय गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि पालिकाले युवालाई उद्यमसँग जोड्नेगरी काम गर्न थालेको बताए ।

कार्कीले सिँचाइका लागि पाइप माग गरेको हुँदा केही समयमै उपलब्ध गराउने उनको भनाइ छ । कार्कीलाई आवश्यक कृषि अनुदानका साथै आवश्यक प्राविधिक सहयोग पनि गर्दै जाने प्रवक्ता भण्डारीले बताए । खुर्सानीखेती पहिलो पटक गर्न लागेको हुँदा बजारलगायत अन्य समस्या परे नगरपालिकाले सहजीकरण गर्ने उनी बताउँछन् ।

प्रवक्ता भण्डारीले भने, ‘नगरपालिकाले व्यावसायिक रुपमा कृषि गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदानसहित प्राविधिक सहयोग गर्दै आएका छौँ, गलकोटमा नयाँ व्यवसायी थपिनु हाम्रा लागि राम्रो पक्ष हो, यस्ता पौरख गर्ने किसानलाई नगरपालिकाबाट सक्दो सहयोग हुन्छ, उहाँहरुलाई प्रेरित हुनेगरी काम गर्नेमा हामी प्रतिबद्ध छौँ।’

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

मलेखु । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोबाट आइतबार मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ । 

शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आइतबार थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।

सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाको उद्धार कार्य जारी छ । प्रहरीका अनुसार पहिरोमा ना४ख २२७० नम्बरको बस, बा२ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस) फेला परेको छ । 

लु१ज ४५७८ नम्बरको माइक्रोबस (विङ्गर म्यान) शनिबार फेला परेको थियो । अझै अन्य सवारी पनि भेटिनसक्ने आशङ्कामा अहिले पनि उद्धार जारी रहेको प्रहरीको भनाइ छ । 

पहिरोमा भेटिएका सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी निरीक्षक सिलवालले जानकारी दिए । शुक्रबार साँझदेखि त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा क्षेत्र पहिरो बेहाल छ ।

गण्डकी प्रदेशको साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक

गण्डकी । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित गण्डकी प्रदेश सरकारले आइतबार साझा सङ्कल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री खगराज अधिकारीको उपस्थितिमा सरकारका प्रवक्ता आर्थिक मामिलामन्त्री तथा सरकारका प्रवक्ता डा टकराज गुरुङले साझा सङ्कल्प र नीतिगत प्रतिबद्धताबारे जानकारी गराएका हुन्  ।

दुई प्रमुख पार्टीबीच २०८१ असार १७ गते भएको सात बुँदे सहमतिलाई स्वागत गर्दै सहमतिको मर्म र भावना बमोजिम गण्डकी प्रदेशमा २०८१ भदौ १७ गते संयुक्त सरकार गठन भएको थियो । 

सरकारलाई जनभावना अनुरुप प्रभावकारी रुपमा सञ्चालन गरी ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सोचलाई मूर्तरुप दिने सङ्कल्पसहित नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको उनले बताए । 

साझा प्रतिबद्धतामा राजनीतिक अस्थिरताका कारण नागरिकमा बढ्दो निराशालाई भरोसामा परिणत गर्दै राजनीतिक स्थायित्व प्रदान गर्न, प्रदेशका जनताको हितको रक्षा गर्न, प्रदेश संरचनाप्रति उठेका प्रश्नको व्यवहारबाटै सकारात्मक जवाफ दिने भनिएको छ । 

प्रदेशको आन्तरिक आय वृद्धि गर्न, सरकारको संस्थागत क्षमता अभिवृद्धि गर्दै पुँजीगत खर्चमा वृद्धि गर्न, विश्वासनीय व्यावसायिक वातावरण सिर्जना गरी उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्न, नागरिकलाई छिटोछरितो, चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्ने सरकारले जनाएको छ ।

भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गर्न एवं प्रदेश र स्थानीय तहमा हुने विकास निर्माणको अभियानलाई तीव्रता दिन विशेष ध्यान दिइने साझा सङ्कल्पमा उल्लेख छ ।  समुन्नत प्रदेशका लागि प्रभावकारी सार्वजनिक सेवाको मूल मर्मलाई आत्मसाथ गर्दै नीतिगत एवम् संरचनात्मक सुधार गरी सेवा प्रवाहलाई चुस्त, गुणस्तरीय र नतिजामुखी बनाइने सङ्कल्पमा भनिएको छ ।

सदाचारयुक्त गण्डकी प्रदेश अभियानलाई सार्थक बनाउन भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिने, प्रदेश समुन्नतिका रुपान्तरणकारी कार्यक्रम तथा आयोजना, रणनीतिक महत्व तथा प्राथमिकता प्राप्त आयोजना, प्रमुख हस्तक्षेपकारी योजना, क्रमागत योजनाको समग्र प्रगति तथा महत्वको पुनरावलोकन गर्दै समयमै सम्पन्न गर्न विशेष ध्यान दिइने विषय पनि समेटिएको छ । 

प्रदेशवासीलाई सुशासनको प्रत्याभूति गराउँदै विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय अनुशासनलाई कायम गरिने भन्दै सार्वजनिक सेवाका क्षेत्र जनमैत्री, प्रभावकारी र सहज बनाइने उल्लेख गरिएको छ । 

कोरलादेखि त्रिवेणीसम्मको सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइनेछ र व्यापारिक प्रयोजनका लागि आवश्यक पूर्वाधारसहित छिमेकी राष्ट्रसँगको सीमा नाका सुचारु गर्न विशेष पहल गरिने भनिएको सरकारले प्रतिबद्धता जनाएको छ । 

यातायात प्रणालीको अनलाइन सेवालाई थप प्रभावकारी बनाउन सम्पूर्ण सफ्टवयेरको सञ्चालन तथा व्यवस्थापन र सवारी चालक अनुमतिपत्र छपाइ प्रदेशबाट नै गर्ने गरी व्यवस्था मिलाउन सङ्घीय सरकारसँग सार्थक पहल गरिने सरकारले जनाएको छ ।

आधारभूत खानेपानीको पहुँच सुनिश्चित गर्न एक घर एक धारा कार्यक्रम र निर्माणाधीन आयोजना सम्पन्न गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिने साझा सङ्कल्पमा भनिएको छ । खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्याउन थप कार्यक्रम विस्तार गरिने भन्दै सरकारले सतह सिँचाइका सम्भावना न्यून भएका क्षेत्रमा भूमिगत एवम् लिफ्टिङ सिँचाइ जस्ता प्रविधिमा आधारित सिँचाइ प्रणालीको विकास र विस्तार गरिने जनाएको छ । 

स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य बनाउन स्वाथ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्तिको क्षमता विकासलाई जोड दिइएको छ । डाइलोसिस सेवाका लागि प्रतिक्षारत बिरामीलाई शून्यमा राखिने र प्रदेशका ११ वटै जिल्ला अस्पतालको क्रमशः क्षमता विस्तार गर्दै लगिने मन्त्री डा गुरुङले जानकारी दिए ।

दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधासम्पन्न अस्पतालसम्म पुर्याउन एयर लिफ्टिङ कार्यक्रमलाई प्रभावकारी बनाइने र गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश बनाउने अभियानमा जोड दिइने सरकारले भनेको छ । 

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधिकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवद्र्धन, पर्यटकको सेवा तथा तथा सुविधा विकास र विस्तार गरिने जनाइएको छ । 

प्रादेशिक पर्यटन गुरुयोजना तयार गरी क्रमशः कार्यन्वयनमा लगिने भन्दै सरकारले पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको सन्दर्भमा ‘पोखरा जाऔँ प्रकृति र संस्कृतिसँग रमाऔँ’ भन्ने मूलमर्मका साथ पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिइने उल्लेख गरेको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई सञ्चालन  गर्नुका साथै आन्तरिक उडानका सेवालाई सबै प्रदेशमा विस्तार गर्न आवश्यक पहल र समन्वय गरिने जनाइएको छ । कृषि उत्पादनको ब्लक तथा पकेट क्षेत्र विस्तार गरी कृषि उत्पादन वृद्धि गरिने भन्दै साझा सङ्कल्पमा कृषि बजारलाई बिचौलियामुक्त बनाइने सरकारको योजना छ । 

कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउन तुलनात्मक लाभको क्षेत्र पहिचान गरी सोही अनुरुप कार्यक्रमको क्षेत्र विस्तार गरिने जनाइएको छ । आँषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन गर्ने प्रयोजनका लागि गाजा खेतीको आवश्यक कानुनी व्यवस्था गरी कार्यन्वयन गरिनुका साथै स्थानीय मदिराको ब्राण्डिङलाई कानुनतः व्यवस्थित गरिने उल्ल्ेख छ ।

रोजगारी र उद्यमशीलता उन्मूख स्वरोजगारीका लागि व्यावसायिक सीप तथा तालिमको व्यवस्था गर्दै उत्पादनसँग युवा अभियान सञ्चालन गरी युवालाई उद्यमशीलता तर्फ प्रोत्साहन गरिने सरकारको योजना छ । सुरुवाती व्यवसाय गर्न चाहनेका लागि बीउ पुँजी सहुलियतपूर्ण ब्याजदरमा सहजरुपमा उपलव्ध गराइने उल्लेख गरिएको छ ।

खेल क्षेत्रलाई राष्ट्रको छवि निर्माणको माध्यम बनाउदै खेलाडी र खेल पूर्वाधारमा लगानी वृद्धि गरिने, नवप्रवर्तनलाई प्रवद्र्धन गर्न आवश्यक कानुनको निर्माण गरी कार्यान्वयन गरिने उल्लेख छ । सूचना प्रविधि क्षेत्रमा व्यावसायिक विस्तारको सम्भावनालाई सहजीकरण गरी पोखरालाई आइटि हवको रुपमा विकास गर्दै रोजगारी सिर्जना तथा निर्यात व्यापारको माध्यमका रुपमा विकास गरिने सरकारको योजना छ । 

प्रदेशको मुख्य आयस्रोतको रुपमा रहेको वनको व्यवस्थापन तथा यसको उपयोगसँग जोडिएका समस्याको समाधान गर्दै प्रदेश वन ऐनको प्रभावकारी कार्यान्वयन गरिने भनिएको छ । शिक्षामा समन्यायिक पहुँच र गुणस्तर सुनिश्चत गर्दै जीवनोपयोगी ज्ञान र सीपको विकासमार्फत  उद्यमशील र शिक्षित युवा जनशक्ति उत्पादनको नीति लिइनेछ भन्दै सरकारले गण्डकी विश्वविद्यालयलाई विशिष्टिकृत प्राविधिक अध्ययन र अनुसन्धान केन्द्रको रुपमा विकास गरिने भनेको छ ।

संविधानमा व्यवस्था भएको प्रदेशको एकल र साझा अधिकार सूची एवं सङ्घीयताको मर्म र भावनाअनुसार प्रदेश सरकारले प्राप्त गर्नुपर्ने कानुनी, वित्तीय र प्रशासनिक अधिकार प्राप्तिका  लागि  सङ्घीय सरकारसँग आवश्यक समन्वय र सार्थक पहल गरिने साझा सङ्कल्पमा भनिएको छ । 

सहकारीमा देखिएका अनियमितता तथा अपचलनलाई रोक्न प्रभावकारी अनुगमन र नियमन गर्दै बचतकर्ताको बचत सुरक्षण गर्न गम्भीरतापूर्वक कार्य गरिने सरकारले जनाएको छ । 

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार मातहतका वर्तमान साङ्गठनिक संरचना र साङ्गठनिक स्वरुपलाई वैज्ञानिक, तथ्यपरक र मितव्ययी बनाउन आवश्यक पुनरावलोकन गरी चुस्त सार्वजनिक सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्य गरिने जानकारी गराए । सरकार अधिकतम परिणाम दिने कुरामा अघि बढ्ने उनले बताए ।
एमाले संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको औचित्यलाई स्थापित गर्ने गरी प्रमुख दुई पार्टी सम्मिलित सरकार लाग्ने बताए । जनताका निराशालाई आशामा बदल्ने गरी सरकार अघि बढ्ने उनले विश्वास व्यक्त गरे । 

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या एक सय ४८ पुग्यो

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या एक सय ४८ पुगेको छ ।


प्रहरीकाअनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोसी प्रदेशमा १७ र मधेस प्रदेशमा दुई जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन् । सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट तीन हजार छ सय २६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।


नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको एक सय ९३ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले बढी जोखिममा फसेका नागरिकको उद्धारका लागि दुई दिनदेखि खटिरहेको छ ।


विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक नियमित गर्न सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेको उपचारका लागि अस्पताल पुर्याउनेलगायत कार्यमा सुरक्षाकर्मी सक्रिय भएर लागिपरेका छन् ।

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ ।


आइतबार परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज तीन सय २७ कम्पनीको एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता शेयर ५८ हजार चार सय एक पटक खरिदबिक्री हुँदा कारोबार रकम रु चार अर्ब पाँच करोड छ लाख ५८ हजारमा खुम्चिएको छ । नेप्सेमा आज भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो ।


आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक एक दशमलव ०३ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह दुई दशमलव ९७ र जलविद्युत् समूह दुई दशमलव ३६ प्रतिशले घटेको छ ।


बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ८९, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन एक दशमलव ४७ र लगानी समूह एक दशमलव ४० प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा समूह शून्य दशमलव ३१, म्युचुअल फण्ड एक दशमलव २१, निर्जीवन बिमा शून्य दशमलव १५ र अन्य समूह एक दशमलव ०२ प्रतिशतले घटेको छ ।


आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ९३ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव ६६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ । 


आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको रु १५ करोड ९२ लाख ३० हजार आठ सय २० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको चार लाख ८७ हजार चार सय ४१ कित्ता शेयर किनबेच भएको छ ।

११ ब्राण्डका पानीमा कोलिफर्म भेटियो, बिक्री वितरणमा रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि बिक्री वितरणमा रोक लगाएको छ ।

बिक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ ।

यस्तै कोलिफर्म भेटिएको पानीको नमूना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शून्य देखिएपछि बिक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ ।

भदौ १२ गतेदेखि २८ गतेका बीचका विभिन्न दिनमा विभिन्न स्थानहरुबाट २० वटा पानीको नमूना लिइएको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सिएफयु) मापदण्ड विपरीत देखिएको हो । कोलोनी फर्मिङ् युनिट (सिएफयु) सुक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिशामा पाइन्छ । दिशामा पाइने सुक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ ।

जरिवाना र बिक्री वितरणमा रोक लगाइएका पानीका ब्राण्डहरुमा व्याच नं. १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखियो । उपभोक्ताबाट गुनासो आएपछि भदौ १८ गते यसको नमूना लिइएको थियो । पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका वडा नं. ८ बाट उत्पादन भइरहेको छ ।

भदौ १२ गते नमूना लिइएका पानीमध्ये व्याच नं. १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखियो । अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ् वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एस. एन. एस. वेभरेजले उत्पादन गरेको पानी हो ।

व्याच नं. ६ को कोलभोतेश्वर व्राण्डको भदौ २४ गते नमूना लिइएको हो । यसमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ् युनिट (सिएफयु) छ । यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड वेभरेजले उत्पादन गरेको हो ।

भदौ २४ गते नै नमूना लिइएका पानीहरुमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा, वडा नं. ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ् वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ् मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटियो ।

अक्वा डिवीमा ५, अकुवामा १७, व्याच नं. २०० को क्युव प्रोसेस ड्रिङ्किङ् वाटरमा ३ सयभन्दा धेरै र व्याच नं. ४२ को अक्वा माइल्ड व्राण्डको पानीमा २१ कोलोनी फर्मिङ् युनिट (सिएफयु) भेटिएको छ ।

भदौ २८ गते संकलन गरिएका नमूनामध्ये अक्वा कपन र अक्वा गौरशंकरमा कोलिफर्म भेटियो । अक्वा कपनमा फिकल कोलिफर्म मान ४ र अक्वा गौरशंकरमा ३ सयभन्दा धेरै कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । अक्वा कपन एम. के. मिनरल वाटर उद्योगले वुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ । अक्वा गौरी शंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्छ ।

ढोरपाटनका मेयर नेपालीलाई प्रहरीले पठायो काठमाडौंबाट बागलुङ

काठमाडौँ । भारतको नयाँदिल्लीमा शुक्रबार पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीले काठमाडौँ ल्याएर बागलुङ पठाएको छ ।

प्रहरीले दिल्लीबाट काठमाडौं ल्याई नेपालीलाई आइतबार बागलुङ पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले जनाएको छ ।

पोखरा र बागलुङमा सञ्चालित ईमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष तथा पोखरामा सञ्चालित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको संचालकसमेत रहेका नेपालीले सहकारीको एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ ।

सोही प्रकरणमा मेयर नेपालीसँगै बागलुङको बुर्तिबाङका ५८ वर्षीय ओमप्रसाद दर्जीलाई समेत पक्राउ गरी बागलुङ पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सहकारीको बचत रकम अपचलन गरेको खुलेपछि उनीविरुद्ध बचतकर्ताले उजुरी दिएका थिए ।

त्यसपछि उनी फरार भएका थिए । फरार भएपछि नेपालीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भएको थियो । उनीविरुद्ध बाग्लुङ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

बेरुतमा फैलिएको त्रासदीबाट गम्भीर राष्ट्रसङ्घ प्रमुख चिन्तित

न्यूयोर्क, अमेरिका । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले मध्यपूर्वमा बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई तुरुन्तै हिंसा रोक्न आग्रह गरेका छन् ।

बेरुतमा इजरायली हवाई आक्रमणमा परी हेजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युपछि गुटेरेसले यो टिप्पणी व्यक्त गरेका हुन्।

सामाजिक सञ्जाल एक्समार्फत गुटेरेसले भने “विगत २४ घण्टामा बेरुतमा भएका घटनाहरुमा म गम्भीर चिन्तित छु। हिंसाको यो चक्र तत्काल बन्द हुनुपर्छ ।”

“लेबनानी जनता, इजरायली जनता साथै सम्पूर्ण क्षेत्र युद्धको खर्च वहन गर्न सक्दैनन्”, उनले बताए ।

यसैबीच,संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले एक्समा एउटा पोस्ट साझा गर्दै भन्यो, “लेबनानको त्रासदी माथि त्रासदी थपिँदै छ । हाल हिंसाको वृद्धिले हजारौँको ज्यान लिएको छ र मानिसमा अकल्पनीय डर पैदा गरेको छ । लेबनानका बालबालिकाका लागि विशेष व्यवस्था गर्न आवश्यक छ ।”

इजरायली रक्षा बल (आईडीएफ) ले पनि शनिबार बेरुतको दहिह जिल्लामा गरेको आक्रमणमा वरिष्ठ हिजबुल्लाह गुप्तचर हसन खलील यासिनको मृत्यु भएको सेनाले जनाएको छ ।

यसैबीच, हिजबुल्लाहले बेरुतमा भएको इजरायली हवाई आक्रमणमा आफ्ना नेता हसन नसरल्लाहको मृत्युलाई आधिकारिक रूपमा स्वीकार गरेको सिएनएनले जनाएको छ ।

लेबनानको स्वास्य्म मन्त्रालयले हसन नसरल्लाहलाई लक्षित गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु र दर्जनौँ घाइते भएको जनाएको छ।

साथै, नसरल्लाहको मृत्युपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आयातोल्लाह शासनलाई चेतावनी दिँदै इजरायललाई लक्षित आक्रमण गर्नेले भयानक परिणाम भोग्नुपर्ने र इरान वा मध्यपूर्वको कुनै पनि स्थान इजरायलको पहुँचभन्दा बाहिर नभएको बताए । 

अमेरिकामा आँधीका कारण ६३ जनाको मृत्यु

अमेरिका । अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ । उद्धारकर्ताले शनिबार विनाशकारी आँधीबाट बेपत्ता भएकाहरुको खोजी प्रयास जारी राखेका छन् ।

चौथो श्रेणीको आँधीको रूपमा बिहीबार फ्लोरिडामा अवतरण गरेको हेलेन बिस्तारै निष्क्रिय हुँदै उत्तरतर्फ बढेको थियो ।

अलाबामा, फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना, साउथ क्यारोलिना र टेनेसी गरी छ वटा राज्यमा सङ्घीय आपतकालीन अवस्था घोषणा गरिएको छ र उद्धारका लागि सङ्घीय आपतकालीन व्यवस्थापन प्रशासन (फेमा) का ८०० भन्दा बढी कर्मचारीहरू तैनाथ गरिएको छ ।

हाल ‘उत्तर–उष्णकटिबन्धीय चक्रवात’ को रूपमा वर्गीकृत गरिएको आँधी ओहायो उपत्यका र मध्य एपलाचियनलाई आइतबारसम्म रहने अपेक्षा गरिएको नेशनल शुरिकेन सेन्टरले जनाएको छ ।

आँधीजन्य विपत्का कारण दक्षिण क्यारोलिनामा कम्तिमा २४, जर्जियामा १७, फ्लोरिडामा ११, उत्तरी क्यारोलिनामा १० र भर्जिनियामा एक जनाको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएको छ ।

मौसम पूर्वानुमानसम्बन्धी राष्ट्रिय निकायले ‘विगत दुई दिनदेखि आएको विनाशकारी बाढीपछि आज स्थितिमा सुधार हुने जानकारी गराएको छ । तर बिजुली कटौती लामो समयसम्म हुनसक्ने चेतावनी दिएको छ ।

आँधीको प्रभावले दक्षिणपूर्वी फ्लोरिडादेखि मिडवेस्ट इन्डियानासम्म १० राज्यमा २६ लाख मानिसहरू विद्युत्को अभावमा अध्यारोमा बसिरहेका छन् । 

निजी एयरलाइन्स कम्पनीहरुलाई महंगो हवाई भाडा नलिन अमेरिकाबाट प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् ।

अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत हवाई भाडा अरु बेला भन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको भन्दै विपदका बेला महंगो हवाई भाडा नलिन आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरु बेला भन्दा महंगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ। नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको छ। हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नुपर्छ।’

एकसय भन्दाबढी युक्रेनी ड्रोन नष्ट गरेको रूसको दाब

मस्को । रूसले रातभरमा आफ्नो क्षेत्रमा प्रवेश गरेका १२५ युक्रेनी ड्रोन नष्ट गरेको साथै आक्रमणबाट कुनै क्षति नभएको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । ‘करिब १२५ युक्रेनी ड्रोन रुसी हवाई रक्षा प्रणालीद्वारा नष्ट गरिएको छ,’ मन्त्रालयले टेलिग्राममा भनेको छ ।

दक्षिणी रूसको भोल्गोग्राद क्षेत्रमा ६७ वटा ड्रोन नष्ट गरिएको गभर्नर आन्द्रे बोचारोभले बताए । त्यसैगरी, बेलगोरोड क्षेत्रमा १७ र भोरोनेज क्षेत्रमा १७ वटा ड्रोन नष्ट गरिएको गभर्नर अलेक्सान्डर गुसेभले बताए । भोरोनेज सहर र यसको उपनगरमा ड्रोन खस्दा दुई आवासीय भवनमा आगलागी भएको तर कुनै हताहती नभएको उनले बताएको छ ।

रोस्तोभ क्षेत्रमा थप १८ वटा ड्रोनहरू नष्ट गरिएको गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताए ।

ब्रायन्स्क, कुस्र्क र क्रास्नोडार क्षेत्रमा एक/एक युक्रेनी ड्रोन नष्ट गरिएको र आजभ सागरमा तीन ड्रोन नष्ट गरिएको रक्षा मन्त्रालयले बताएको छ ।

कामगार सेनाका अध्यक्षद्वारा बिहारका राज्यपाललाई सीमा सुरक्षाकाबारेमा ध्यान दिन आग्रह

विष्णु गौतम, मुम्बई । नेपाल भारतको सुरक्षा विषयलाई लिएर नेपाली कामगार सेनाका राष्ट्रिय अध्यक्ष एवं सनातन हिन्दू प्रचार अभियानता माष्टर थापाले बिहारका राज्यपाललाई भेटी ध्यानाकर्षण गराएका छन् ।

थापाले भारतीय नेपाली कामगारसेनाको बिहार शाखाको उद्घाटनका अवसरमा भेटगरी सुरक्षाका विषयमा ध्यानाकर्षण गराएका हुन् । भारत र नेपालको सीमा खुला भएको हुँदा दुई देशमा पर्ने समस्या दिन प्रतिदिन जटिल हुँदै गएको भन्दै थापाले सिधासाधा नेपालीहरुलाई बिना कारण सुरक्षा निकायबाट दुःख दिएको भन्दै त्यसतर्फ बिहार सरकारलाई ध्यान दिन समेत आग्रह गरेका छन् ।

सीमाबाट हुने चोरी तस्करीलाई तत्काल रोक्न समेत उनले दुबै देशका सरकारी निकायहरुमा समेत ज्ञापनपत्र समेत बुझाएको बताए ।

सिमानामा बस्ने नेपालीहरुलाई दैनिकक आवश्यकपर्ने वस्तुहरु खरिद गर्न र सरल सहजीकरण गर्न समेत दुबै देशको पहल हुनुपर्नेमासमेत थापाले जोड दिएका छन् । बिहारको शाखा उद्घाटनमा र बसाईको क्रममा उनले बिहारका राज्यपाल राजेन्द्र ओर्लेकर, बिहार पुलिस अधिकारी, राजनीति नेता लगायत संगठनका व्यक्तिहरुलाई भेटी यस बिषयमा गम्भीर हुन समेत आग्रह गरेका थिए ।

उनले नेपाल सीमा जोडिएका राज्य उत्तरप्रदेशका मुख्यमन्त्री आदित्य योगी र उत्तराखण्डका मुख्यमन्त्रीलाई भेटी दुबै देशका सिमाना, सुरक्षाका बिषयमा समेत पहल गर्ने बताए।

किन हुन्छ युवा अवस्थामै मुटुरोग ?

डा ओममूर्ति अनिल

विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवापुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्वस्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने मृत्यु नेपालजस्ता निम्न र मध्यम आय भएका राष्ट्रहरुमा हुने गर्दछन् । नेपाललगायत दक्षिण एशियाली राष्ट्रहरुमा युवामा मुटुरोगको प्रकोप बर्सेनि बढ्दै गएको देखिन्छ । केही वर्षअघिको तथ्याङ्कअनुसार विकसित राष्ट्रहरुमा हार्टअट्याक (हृदयाघात) हुने औसत उमेर ६० वर्ष भने तापनि अविकसित राष्ट्रहरुमा १० वर्ष अगाडि हुने देखाएको छ । भारतमा हृदयाघात हुने औसत उमेर ५० वर्षको हाराहारीमा रहेको देखाएको छ भने दुई तिहाइ मृत्यु कम उमेरका व्यक्तिहरुलाई हुने गरकोे अनुसन्धानबाट देखिन्छ । विश्वव्यापी रुपमै वातावरणीय प्रदूषणका कारण पनि मुटुरोग समस्या बढिरहेको पाइन्छ ।


अस्वस्थ खानपिन, शारीरिक निष्क्रियता, मानसिक तनाव, मोटोपना र नियमित स्वास्थ्य जाँच नगर्नु, चुरोट र अत्यधिक मदिरा सेवन युवाहरुमा हुने मुटुरोगको प्रमुख कारणको रुपमा लिन सकिन्छ । धेरै चिल्लो, धेरै पिरो, धेरै गुलियो तथा गुलिया पेयपदार्थहरुको सेवन गर्ने चलनले पनि उच्च रक्तचापको समस्या बढेको विभिन्न अनुसन्धानहरुले पुष्टि गरेको छ । अधिकांश युवाहरुमा मुटुरोगप्रतिको सचेतना अझै आउन सकेको देखिँदैन । आधुनिकीकरणले अस्वस्थ जीवनशैली बढिरहेको देखिन्छ । युवाहरुमा यो समस्या बढी देखिनुको मुख्य कारणहरुमा शारीरिक व्यायाम नगर्ने, मदिरा चुरोटको सेवन बढ़ी गर्ने, स्वास्थ्य जाँच नगर्ने, औषधि खान नचाहने आदि प्रमुख कारण हुन् । युवाहरु मानसिक तनाबको शिकार पनि बढ़ी भएको र यसले पनि मुटुरोगको समस्यालाई बढाएको देखिन्छ । अध्ययन अनुसन्धानले ९० प्रतिशत हृदयघात रोकथाम गर्न मिल्ने बताउँछ । आजको परिस्थितिमा युवाहरुले मुटुरोग र हृदयघातबाट बच्न लिनुपर्ने निम्न पाँच व्यावहारिक सावधानीहरुमा ध्यान दिनु आवश्यक छ । 

स्वस्थ देखिएमा पनि जाँच गर्न जरुरी 

अधिकांश युवाहरुमा कुनै न कुनै किसिमको मुटुरोगका कारणहरू अदृश्य रूपमा रहेको १० वर्ष अगाडि गरिएको अनुसन्धानमा देखिएको थियो । अनुसन्धानको क्रममा अधिकांश युवाहरूले मलाई मुटुरोगको कुनै लक्षण नै छैन, किन जाँच गर्नुप¥यो भन्ने धारणा राखेका थिए । त्यही गलत धारणा र भ्रममा पर्दा समयमै आफूभित्र उक्त रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रलजस्ता समस्याहरु भएको थाहा पाउन सकेनन् र पछि एक्कासी जटिल समस्या भोग्नुपरेको देखिन्छ । त्यसैले समय अनुकूल बाहिर केही रोगको लक्षण नदेखिए तापनि स्वास्थ्य जाँच गरेकामा मुटुरोगको जटिलताबाट बच्न सकिन्छ । समय समयमा आफ्नो रक्तचाप, चिनीरोग र कोलेस्ट्रोलको स्तर नाप्ने गर्नुपर्छ । यसका लागि धेरै खर्च पनि गर्नुपर्दैन । सामान्यतया एक हजार रुपैयाँ खर्च गरे पुग्छ । यदि यी मुटुरोगका कारण अलि बोर्डर मा छ भने जीवनशैलीमा व्यापक परिवर्तन गर्नुपर्छ र नियमित अनुगमन गरिराख्नु पर्छ । 

औषधि प्रयोगको महत्व 

हाम्रो अनुभवमा सहरी भेगमा बसोबास गर्ने ४० वर्षमुनिका युवाहरूमा मुटुरोगका कारणका लागि औषधिको सेवन गर्नुपर्ने देखिन्छ तर यति कम उमेरमा औषधि सेवन गर्न हुन्न भन्ने भ्रममा परी चिकित्सकको सल्लाहविपरीत औषधि सेवन नगरेर स्वास्थ्य दुर्घटना हुने गरेको पाइन्छ । समयमै औषधिको प्रयोग महत्व बुझी यस्ता दुर्घटनाबाट जोगिन सकिन्छ । औषधिको साइडइफेक्टका बारेमा भ्रम पालेर चाहिने अवस्थामा पनि सेवन नगरी हताहत भएको रोगले युवा अवस्थामै जटिलतामा प्रवेश गरेको अनेकौँ उदाहरण छन् । 

चुरोट 

हाम्रो समाजमा असङ्ख्य युवा चुरोटको सेवन गर्दछन् । चुरोटको कुल तुरुन्तै केही हानि गरेको नदेखेता पनि यसले अदृश्य रुपमा मुटुमा असर गरिरहेको हुन्छ । एक/दुई खिल्लीले पनि पछि गएर मुटु रोगको जोखिम निम्त्याउन सक्ने तथ्यबाट अभिज्ञ भएको देखिन्छ । युवाहरूमा हृदयघातको प्रमुख कारण चुरोट मानिन्छ । त्यसैले समयमै चुरोट त्याग्नु जरुरी छ । चुरोट त्यागेको केही समयभित्र यसको दुष्प्रभाव घट्ने अनुसन्धानहरुले देखाएको छ । प्रेरणाको कमीले थाहा भएर पनी चुरोट त्याग्न नसकेका धेरै छन् । 

तयारी (पत्रु) खाना 

बिग्रिँदो जीवनशैलीले गर्दा अधिकांश युवाहरूमा जङ्कफुट÷फास्टफुड अर्थात् तयारी (पत्रु) खाना र घर बाहिरको खाने गरेको देखिन्छ । इच्छा वा बाध्यताले जेले भएपनि यसको दुर्गामी असरबाट बच्न गाह्रो छ । दुर्भाग्यबस अधिकांश युवाले फास्टफुडको सेवनले स्वास्थ्य र मुटु रोगको प्रकोपलाई नजरअन्दाज गरेको देखिन्छ । समयमै यस्तो खालको खाद्य संस्कृतिमा सुधार गरी आफ्नै घरमा बनाएको स्वस्थकर खाना खाने संस्कार विकास गर्नु आवश्यक छ । प्राकृतिक रुपमा उत्पादन भएका र घरको खानालाई प्रवद्र्धन गर्न सकिएमा मुटुरोगको समस्या धेरै हदसम्म कम हुन जान्छ । प्रमुख प्रशोधित खानेकुरामा बिस्कुट, चाउचाउ, पाउरोटी, केक, पेस्ट्रिज, पिजÞा, बर्गर, ससेज, आइसक्रिम, दुनोट, फ्राइड चिकन, हेम बर्गर, चिप्स, चकलेट, जुस, कोल्डड्रिङ्क्स आदि पर्छ । 

व्यायामको महत्व 

बिरामी व्यक्ति, औषधि सेवन गर्ने व्यक्ति र वृद्ध व्यक्तिले मात्र बिहानको हिँडाइ वा नियमित व्यायाम गर्नुपर्ने जनधारणा भएको हामी पाउँछौं । त्यसैले होला आधुनिक युगमा शारीरिक रूपमा निष्क्रिय र मोटोपनको शिकार भएका विचार किशोर र युवाहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ । आधुनिकताले निकट भविष्यमा यसके सङ्ख्या घट्ने देखिँदैन । युवाले २० वर्ष वा कम उमेरदेखि नै आफूलाई नियमित शारीरिक व्यायाममा संलग्नगरी जीवनशैलीको एउटा महत्वपूर्ण अङ्गको रूपमा शारीरिक गतिविधिलाई अवलम्बन गरी विभिन्न किसिमका दीर्घरोग र औषधि उपचारबाट बच्न सकिन्छ । एउटा स्वस्थ्य व्यक्तिले दैनिक ३० मिनेटभन्दा बढ़ी सक्रिय ब्यायाम गर्नपर्छ । बढ़ी गर्न सके अझ राम्रो मानिन्छ । 


कुनै प्रकारको नियमित शारीरिक गतिविधिमा आफूलाई संलग्न गर्नुपर्छ । खेलकूद, साइकल, पौड़ी, योगा, अभ्यास, जुम्बा आदि जे गरे पनि हन्छ । आफ्नो परिस्थिति अनुकूल ब्यायाम रोज्न सक्नुपर्छ । मुटु रोगको थालनी पहिले ४० वर्षमै भइसक्ने विभिन्न अध्ययन अनुसन्धानले देखाउँछ । पहिले ४० वर्षमै मुटु रोगको कारणलाई जीवनशैली र आवश्यकता परे चिकित्सकको परामर्श अनुसार औषधिको सेवन गरेर असामयिक मुटुरोग र त्यसबाट हुने आर्थिक, शारीरिक, मानसिक, पारिवारिक, सामाजिक क्षतिबाट आफूलाई जोगाउन सकिन्छ ।


अन्त्यमा, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हुने भएकाले यसतर्फ सबै सचेत हुन आवश्यक छ । स्वस्थ आहार र व्यायामले नै शरीरका अङ्गहरूलाई स्वस्थ राख्न मद्दत गर्दछ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरूलाई स्वस्थ आहार भनिन्छ । फलफूल र सागसब्जीमा भएको भिटामिन, मिनरल्स, फाइबर र अन्य पदार्थहरूले रक्तनली, मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ । फलफूल र सागसब्जीमा पाइने भिटामिनहरूले हाम्रो रोग निरोधक क्षमतालाई बढाउँछ र सङ्क्रमण हुनबाट बचाउँछ । त्यसैले बजारमा पाइने तयारी खानेकुरा, विलासी जीवनशैली र मानसिक तनावबाट मुक्त हुनु नै निरोगी र दीर्घजीवी बन्ने उपाय हो ।


(लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ)

सरकारले सबै सामथ्र्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामथ्र्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन् । 

चीन भ्रमण पूरा गरी आइतबार दिउँसो स्वदेश फर्किएका मन्त्री  पौडेलले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरेका छन् । उनी विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुटेका थिए ।

अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

बाढीपहिरोका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो ।

हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आँकलन गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको माथिल्लो तामाकोशीको बाँध स्थल तथा बालुवा थिग्रयाउने पोखरीमा क्षति पुगेको छ । सो आयोजनाको नियन्त्रण कक्ष  रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी चार जना बेपत्ता भएका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

आयोजना सञ्चालनका लागि तामाकोशी पाँचौको सहयोग लिन लागिएको छ । कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा बिजुली आयात गर्नु परेको जनाइएको छ । 

बाढी पहिरोका कारण विद्युत् उत्पादन केन्द्रमा क्षति पुग्दा बिजुली प्रवाहमा समेत समस्या भएको छ । वैकल्पिक व्यवस्था गरी बिजुली काटिएका स्थानमा उपलब्ध गराइएको र केही स्थानमा भने अझै मर्मत जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका बाढीपहिरोका अनुसार देशभर नौ सय ८० मेगावाट घण्टा बराबरको बिजुली आपूर्तिमा अवरोध छ । 

इप्पानका अनुसार मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत् आयोजनाको ‘पावर हाउस’ पूर्णरुपमा डुबेको छ । खानी खोला हाइड्रोपावर, माण्डु हाइड्रोपावरलगायतका आयोजनाले बाढीका कारण विद्युत् उत्पादन बन्द भएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएका छन् ।

बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । 

पाँचथर पावरद्वारा प्रवद्र्धित १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजाको विद्युत् उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो ।

साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित तीन मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ ।

इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित नौ दशमलव छ मेगावाट क्षमताको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत आयोजना सिउरीखोला पनि बाढीले क्षति पु¥याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ ।

कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली  एकको क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ । निर्माण सामग्री राखिएको तीन वटा कन्टेनर बगाएको छ ।

हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ । यस्तै, बाढीका कारण प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ ।

सभाखोला बी जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ । यसैगरी पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ । इप्पानका अनुसार सभाखोला सी जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ ।

बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ । कूल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा  छ । आयोजनाको  दुई वटा वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ । त्यस्तै, बेलीब्रिज बगाएको, खन्ने क्रममा रहेको पावर हाउस पुरिएको इप्पानले जनाएको छ ।

बाढीका कारण प्रभावित आयोजनाबाट विद्युत् उत्पादन बन्द हुँदा त्यसको चाप प्राधिकरणको प्रणालीमा परेको छ । सोही कारण शनिबार मात्रै प्राधिकरणले भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्नुपरेको थियो ।

एक सय ६१ बाढीपीडितको हेलिकप्टरमार्फत सकुशल उद्धार

काठमाडौँं ।  गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

शनिबार नै त्यहाँ हेलिकप्टर पठाइए पनि उद्धार गर्न सकिएको थिएन । काभे्रपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ । 

मन्त्रालयका अनुसार शनिबार काठमाडौंँ उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।

मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानबाट हालसम्म एक सय सात जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।  

गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीर्घ सञ्चालनमा ल्याउन तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका छन् । 

विपद कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बाढीपहिरो पीडितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई बाढीपहिरोमा परेकाहरूको उद्धार तथा राहतमा जुट्न पनि निर्देशन दिएको छ।

बैठकले स्थानीय तहको उपचुनावको लागि दल दर्ता गर्ने निर्णय गरेको छ । उपचुनावका लागि उम्मेदवार तय गर्न पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय गरेको पार्टी प्रवक्ता महतले जानकारी दिए ।

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । 

जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । 

बाँध खोलेर जलाशयको पानीलाई निकासा दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनााका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भएपनि शनिबार एक हजार पाँच सय ३१ मिलिमिटर पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका खोलिएको थियो । 

शनिबार साँझदेखि वर्षा रोकिएको भन्दै ढोका खोलेर पानी बाहिर निकालिएकाले जलाशयमा जलसतह घटेको प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार अहिले जल विद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । 

यसैबीच वर्षा रोकिएपछि पहिरोका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ र हेटौँडा–सिन्धुली जोड्ने सडकमा आज बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भएको छ  । 

सडक विभाग र सुरक्षा निकायले हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ र भिमफेदी–दक्षिणकाली खण्डमा बिहानैदेखि पहिरो पन्छाउने काम गरिरहेका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जानकारी दिए । त्यस्तै मदनभण्डारी लोकमार्गअन्तर्गत विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर आवागमन नियमित सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

काठमाडौँ । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला  एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने  एक लाख ६० हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा  १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय ४५ निर्धारण भएको छ ।

आजदेखि सफा र सुकिलो नोट साट्न पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।

     “नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साट्न सकिनेछ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत नोट सटही गर्ने व्यवस्था मिलाइएको छ”, पोख्रेलले भने ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएर सुकिलो नोट साट्न सक्नेछन् । एकजना व्यक्तिले  पाँच, दश, बीस, पचास र एक सय दरका नोटसहितको  १८ हजार पाँच सयसम्म साट्न पाउनेछन् । 

    राष्ट्र बैंकले विगतका वर्षका एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकोमा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो र सफा नोट साट्न सकिने जनाएको छ । दसैँ अगाडि सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र त्यसपछि ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । 

नेपाली नोटकोे कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगबिहीन भइ ढुकुटीमै भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ । यस्तो हुँदा नोटको आयु समेत घट्दै जाँदा पुनःप्रयोग गर्न योग्य नहुने अवस्था समेत आउनसक्ने बैंकको भनाइ छ । 

साथै, बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हात हातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ । यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउने जस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यलाई मितव्ययी एवंं प्रभावकारी बनाउन समेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक भएको राष्ट्र बैंकको भनाइ छ ।

     चाडबाडका समयमा मुख्यतयाः पाँच, १०, २०, ५० र एक सय दरका नोटको माग अत्यधिक हुने गरेको छ । साना दरका यस्ता नोटको ‘होल्डिङ्ग’ लागत समेत न्यून हुने हुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटही गरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलन समेत रहेको पाइन्छ । पाँच सय र एक हजार दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाडलक्षित कारोबार अनुरुप माग हुने गरेको छ ।

देशभर नोटको आपूर्ति गर्ने र पुराना तथा मैला नोटलाई खिचेर प्रतिस्थापन गर्दै जाने कार्य नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ । 

मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७÷६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो । आार्थिक कारोवारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारका क्रममा पुराना मैला नोटहरु खिचेर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो । 

बैंक नोट छपाइको काम अन्तर्राष्ट्रिय टेण्डर प्रक्रियाबाट विदेशमा हुने गरेको छ । नोट छपाइमा विदेशी मुद्राको ठूलो राशी खर्च हुने भएकाले त्यसमा कमी ल्याउनका लागि पनि नोट सफा राखिराख्नु आवश्यक छ ।

     चलन चल्तीमा गुणस्तरीय, विश्वस्त र सफा नोटहरु मात्र चलन चल्तीमा ल्याउने तथा मक्किएका, च्यातिएका, गलेका पुराना तथा मैलो नोटहरु प्रशोधन तथा जलानमार्फत चलनचल्तीबाट हटाउँदै लैजाने काम गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थामा रहेका नोटको गुणस्तर हेरी वर्गीकरण गरेर राख्नुपर्ने व्यवस्था रहेको र यसलाई कार्यान्वयन गरे नगरेको बारे राष्ट्र बैंकले अनुगमनसमेत गर्ने गरेको सहायक प्रवक्ता पोखरेलले बताए । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएमलगायतका मेसिनका माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी नोटलाई तीन वर्गमा छुट्याउनुपर्ने व्यवस्था छ । 

बैंक नोटको अवस्थाअनुसार त्यसलाई छुट्याएको÷नछुट्याएको विषयमा राष्ट्र बैंकले अनुगमन गर्ने गरेको छ । एटिएमलायतका मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङ्गको, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य नोटको प्याकेटमा सेतो रङ्ग र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नुपर्ने व्यवस्था छ ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर अङ्क, चित्र तथा सुरक्षण विशेषता नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको वा पूर्वराजाको तस्वीर अङ्कित नोटलाई पुनः निष्काशन अयोग्य नोटका रुपमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंक नष्ट गर्नेगरेको छ ।

टीका लगाई दक्षिणा दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा साँस्कृतिक कार्य गर्दा रङ लागेको वा मैलिएका हातहरुले नोट छुँदा त्यस्ता नोट चलनचल्तीमा आउँदैनन् । नोट राष्ट्रको सम्पत्तिसमेत भएकाले यसमा रङ लगाउने, लेख्ने वा केरमेट गर्ने, नोटको आकार बिगार्नेजस्ता कार्य गरी नेपाली नोटको दुरुपयोग गर्ने÷गराउने उपर कारबाही गर्न सकिने व्यवस्था छ । 

मुलुकी अपराध संहिता, २०७४ मा परिच्छेद २२ मा मुद्रासम्बन्धी कसूरसम्बन्धी व्यवस्था गरिएको छ । दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने व्यवस्था छ । यदि त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तै, अपराध संहिताको दफा २६४ मा झुत्रो बैंक नोट दुरुपयोग गर्न नहुनेसम्बन्धी व्यवस्था छ ।

नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने, कुनै पनि प्रकारको रङ लगाउन हुँदैन । नोटमा जथाभावी लेख्नु पनि हुँदैन । त्यस्तै, नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस गर्ने जस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्नुहुँदैन । यसमा आवश्यकताअनुसार रबर, प्लास्टिक, पेपर बैण्ड प्रयोग गर्न सकिन्छ ।

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले आइतबार प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य भएको बताएका छन् ।

तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापितलाई पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि तत्काल पहलकदमी लिन नसक्नु दुःखद भएको बताए ।

अध्यक्ष दाहालले बाढीपहिराका कारण अवरुद्ध भएका राजमार्गसहित सडक, सञ्चार र विद्युत्लगायत अत्यावश्यक सेवा यथाशीघ्र पुनःसञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्वप्रधानमन्त्री दाहालले दसैँ, तिहारजस्ता ठूला पर्व नजिकिएकाले युद्धस्तरमा पुनःनिर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

विपद् प्रतिकार्यमा अनवरत खटिइरहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै अध्यक्ष दाहालले बेपत्ता नगारिकको खोजी, बिस्थापितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणलगायत कार्यमा निरन्तर लाग्न निर्देशन दिएका छन् ।

बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

गत विहीबारदेखिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो सङ्ख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौँ नागरिक घरवारविहीन भएका छन् । 

झ्याप्लेखोलाको पहिरोमा अर्को माइक्रोबस पुरिएको अवस्थामा फेला, निकालियो थप १० जनाको शव

काठमाडौं । धादिङको झ्याप्लेखोलाको पहिरोमा अर्को माइक्रोबस पनि पुरिएको फेला परेको छ । आइतबार बिहान खोजी गर्दा पुरिएको अवस्थामा बस फेला परेको हो ।

त्सक्रममा प्रहरीले १० जनाको शव निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । प्रहरीले आठ पुरुष र दुई महिलाको शव निकालेको जनाएको छ । बस पुरिएको स्थानबाट सुरुमा तीन जनाको शव निकालिएको थियो । पछि खोजी गर्दा थप सात जनाको शव फेला परेको हो ।

खोजीका लागि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । यसअघि शनिबार झ्याप्लेखोलामा एउटा बस जिप पुरिएका थिए । त्यहाँबाट १४ जनाको शव निकालिएको थियो।

एमालेले बोलायो केन्द्रीय कार्यालयको आकस्मिक बैठक

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बोलएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी उनले दिए । बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

बाढीपहिरोमा परी १०४ जनाको मृत्यु

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ४ जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता भएका छन् । त्यस्तै ७३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

झ्याप्लेखोला पहिरोबाट निकालियो थप तीन शव

काठमाडौं । नागढुंगा नजिकै धादिङको झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ । पुरिएको बस निकाल्ने प्रयास भइरहेको छ बस निकाल्ने क्रममा पहिरोमा थप तीनवटा शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन ।

गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशंका गरिएको छ । शुक्रबार बिहाने गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ ।

पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोमा परेर उनीहरुको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मृत्यु हुनेमा सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका–९ की २९ वर्षीया रीना तामाङ रहेका छन् ।

स्थानीय डिमादावा शेर्पाको ढुङ्गा र माटोले बनेको घर पहिरोले बगाउँदा ल्हामु, उनका छोरा फुर्वा र रीनाको मृत्यु भएको हो । सोही घटनामा ६२ वर्षीया याङजी शेर्पा घाइते भएकी छिन् । उनको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित वाङछु मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै पहिरोले घर बगाउँदा सोलुदूकुण्ड नगरपालिका–१० चैलुङकी ३३ वर्षीया कविता मगर र सोही ठाउँकी २४ वर्षीया रुपु मगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए । लगातार परेको वर्षाका कारण चैलुङका टेकबहादुर मगरको ढुङ्गा माटोले बनेको काठको छानो भएको एकतले घर पहिरोले बगाउँदा कविता र रुपुको मृत्यु भएको हो ।

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । 

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट तथा नम्बर नखुलेको बसबाट ती शवहरु निकालिएका हुन् ।

‘कुन सवारीसाधनबाट कति जनाको शव निकालेको भन्ने यकिन जानकारी हुन सकेको छैन’, उनले भने, ‘पहिरोबाट तीनवटा सवारीसाधन पुरिएका छन् ।’

पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी रहेको प्रजिअ पाण्डेले जानकारी दिए । 

युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

किएभ(युक्रेन) । युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ जनाको मृत्यु भएको युक्रेनी आन्तरिक मामिला मन्त्रीले बताएका छन्।

सुमी रुसको कुर्स्क क्षेत्रको सिमानाको छेउमा अवस्थित छ, जहाँ किभले गत अगस्ट मा रूसमा “बफर जोन“ सिर्जना गर्ने उद्देश्यले आक्रमण सुरु गरेको थियो ।

युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लिमेन्कोले टेलिग्राम मार्फत सुमीका अस्पतालमा रूसले दुई पटक आक्रमण गर्दा आलसम्म एकजना प्रहरीसहित छ जनाको मृत्यु भएको उल्लेख गरेका छन् ।

पहिलो आक्रमणमा “एक जनाको ज्यान जानुका साथै अस्पतालको संरचनामा क्षति पुर्याएकाले बिरामी तथा कर्मचारीहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गर्न थालेको क्लिमेन्कोले जनाएका छन्।

बिरामीहरूलाई स्थानान्त्रण गर्ने क्रममा भएको दोस्रो प्रहारले एक जना प्रहरी घाइते भएको जनाइएको छ ।

सुमीको क्षेत्रीय प्रशासनले टेलिग्राम मार्फत दुवै आक्रमणमा ड्रोनहरू समावेश भएको जनाएको छ । दोस्रो रूसी आक्रमणले आवासीय क्षेत्रमा प्रहार गरेको जनाइएको छ ।

युक्रेनमा बढ्दो तनावबीच ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी । आसन्न अमेरिकी चुनावको सन्दर्भमा रुससँगको युद्धमा सहयोगी कियभलाई दीर्घकालीन अमेरिकी समर्थनबारे प्रश्न उठाउने क्रममा राष्ट्रपतिय उम्मेदवार एवं पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार उच्चस्तरीय वार्ता गरेका छन् ।

रिपब्लिकनले बारम्बार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको रक्षा गर्दै आएका घटनाको समिक्षा गर्दै विदेश नीतिका विज्ञहरुले ट्रम्पको दोस्रो कार्यकाल युक्रेनको रक्षाका लागि विनाशकारी हुने डर व्यक्त गरेका छन् ।


जेलेन्स्कीले ट्रम्पको चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग बिहीबार वासिङ्टनमा भेट गरेका थिए र दुबैले हाल संकटग्रस्त युक्रेनलाई समर्थन गर्ने वाचा गरेका छन् ।

ट्रम्पले यस हप्ता जेलेन्स्कीलाई द्वन्द्व अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेको आरोप लगाएका थिए। उनले दोस्रो कार्यकाल जितेमा शान्ति ल्याउने वाचा गरेका छन् ।

एक घण्टाभन्दा कम समय चलेको बैठकअघि पूर्व अमेरिकी राष्ट्रपतिले जेलेन्स्कीसँगको आफ्नो गठबन्धनको प्रशंसा गरे साथै राष्ट्रपति पुटिनसँग पनि आफ्नो सुमधुर सम्बन्ध रहेको बताए।

सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति जेलेन्स्कीले बैठक ‘धेरै उत्पादक’ भएको बताए ।

‘मैले उहाँलाई हाम्रो विजय योजना प्रस्तुत गरें, र हामीले युक्रेनको अवस्था र हाम्रा जनताका लागि युद्धको नतिजाबारे राम्ररी समीक्षा गर्यौं’, जेलेन्स्कीले बताए,’धेरै विवरणहरू छलफल गरियो। यो बैठकका लागि म आभारी छु। न्यायपूर्ण शान्ति आवश्यक छ ।’

जेलेन्स्की यस हप्ता संयुक्त राष्ट्र महासभाका लागि न्यूयोर्कमा आएका छन् ।

स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता

एजेन्सी। स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका साथै ४८ जना बेपत्ता भएको राष्ट्रिय समुद्री उद्धार सेवाले शनिबार जनाएको छ ।

उद्धारकर्ताहरूले डुङ्गामा सवार ८४ जना मध्ये २७ जनालाई उद्धार गर्न सफल भएको जनाएका छन् । यो सेप्टेम्बरको सुरुमा आप्रवासीहरू बोकी युरोपका लागि प्रस्थान गरेको डुङ्गा सेनेगलमा दुर्घटनामा पर्दा ३९ जना आप्रवासीहरूको मृत्यु भएको थियो ।

पछिल्लो समयमा हजारौं आप्रवासीहरू ज्यान जोखिममा पारी भीडभाडका बीचमा पुराना डुङ्गाहरूमा चढी युरोपका लागि यात्रा गर्ने क्रम बढेको जनाइएको छ ।

अगस्टको अन्त्यमा, स्पेनका प्रधानमन्त्रीले मौरिटानिया र गाम्बियाको भ्रमण गरी कानुनी आप्रवासनका लागि मार्गहरू विस्तार गर्दै मानव तस्करहरू विरुद्ध कारबाही गर्न सहयोग सम्झौताहरूमा हस्ताक्षर गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सी ‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ ले सन् २०१४ देखि यो क्षेत्रमा दुर्घटनामा परी चार हजार ८५७ जनाको मृत्यु भएको अनुमान गरेको छ ।

आप्रवासीहरूलाई सहयोग गर्ने स्पेनिस गैरसरकारी संस्था ‘क्यामिनान्डो फ्रन्टेरास’ का अनुसार युरोप जाने क्रममा दुर्घटनामा परी हाल सम्म १८ हजार ६८० जनाको मृत्यु भईसकेको छ ।