`

माथिल्लो मनाङमा हिमपात

मनाङ । देशभरि मनसुन सक्रिय भएसँगै हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । माथिल्लो मनाङका टंकी खाङ्सार, तिलिचो बेसक्याम्प, थोराङ्ला भञ्ज्याङ, नार, फुलगायत क्षेत्रमा हिमपात भएको हो ।

हिमपातले माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित बनेका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए। उनका अनुसार ङिस्याङ गाउँपालिकाको हुम्डेबाट माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ ।

हिमपात भएपछि पदयात्री, पर्यटक, स्थानीयलाई सडक तथा सवारीसाधनको अवस्था विश्लेषण गरेर मात्र यात्रा तय गर्न सूचित गरिएको प्रजिअ आचार्यले बताए। उनले भने “हिमपात हुन सुरु भएको भएको छ, हालसम्म अधिक हिमपात भने भएको छैन । यहाँ रहेका पर्यटक रमाइरहेका छन्, तर यात्रा नगर्न आग्रह गरिएको छ ।”

बिहीबार साँझदेखि लगातार वर्षा हुँदा शुक्रबार रातिदेखि हिमपात भइरहेको हो । नार र फू गाउँका साथै मेता र गाउँपालिका केन्द्र च्याखुमा पनि हिमपात भइरहेको नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले जानकारी दिए। उनले भने “नारमा डेढ फिट र फूमा छ इन्च हिउँ जमेको छ ।”

किसानले यति बेला करु काटेर खेत र छतमा सुकाएका थिए । हिउँ छिट्टै पर्दा आलुबालीलाई पनि हिउँले पुरेको छ । यसले किसानमा चिन्ता थपिएको छ । “काङ्ला पास गर्ने पर्यटक नारमा रोकिएका छन्, हिमलुङ हिमाल चढ्न जाने पर्यटक भने हिँडेको गएका छन्, यो हिउँ पर्ने समय नभए पनि हिमपात सुरु भएसँगै चिसो बढेको छ”, पाख्रिनले भने।

जिल्लास्थित पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले मनाङ गाउँमाथि हिउँ परिरहेकाले जनजीवन प्रभावित बनेको बताए। हिउँले पर्यटक आवागमनलाई खासै फरक नपरे पनि किसानलाई बाली स्याहार्न समस्यामा पारेको उनले उल्लेख गरे। उनले भने “समय अघि हिउँ परेपछि किसानलाई गहुँ, फापरलगायत अन्नबाली थन्क्याउन सास्ती भएको हो ।”

माथिल्लो क्षेत्र तिलिचो र थोराङ्ला क्षेत्रमा हिउँ परिरहेको भन्दै अचानक हिमपात हुँदा पर्यटक भने हिउँमा रमाइरहेका बताए। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलले पर्यटकीय सिजन सुरु भएको बेला हिमपात हुँदा पर्यटक थप उत्साहित भएका भएको बताए। देशभर मौसम बदली रहेकाले मौसममा सुधार नभएसम्म सुरक्षित स्थानमा रोकिन पर्यटकलाई आग्रह गरिएको उनले बताए।

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव फेला

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ ।

उनीहरूको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताएका छन् ।

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरू बेपत्ता भएका थिए ।

यसैबीच, इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् ।

अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन, अवरुद्ध भएका सडक सञ्चालनमा ल्याउन पहल थाल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षाको कारण विपद् परेको भन्दै सबै तहका परीक्षा केही समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्तै सरकारले विपद्मा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । अवरुद्ध भएका सडकहरू सञ्चालन ल्याउन पहल थाल्ने निर्णय पनि भएको मन्त्री गुरुङले जानकारी दिए । मृतकका परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने निर्णय भएको पनि उनले बताए ।

तीन दिनदेखि परिरहेको अविरल वर्षा अब मत्थर हुँदै जाने

काठमाडौँ । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने राससलाई जानकारी दिए ।

“आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ”, उनले भने । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उहाँको भनाइ छ ।

“बादल फाट्न चै केही दिन लाग्छ, भोलिदेखि केही क्षेत्रमा मौसमी अवस्थामा सुधार आउन सक्छ, कहीँ छिटफुट वर्षा हुन सक्छ”, पराजुलीले भने, “पूर्व झापादेखि पश्चिम कपिलवस्तुसम्म बढी प्रभाव रह्यो ।” नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेको उहाँको भनाइ छ । अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिनेछ ।

शाखाले बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ । नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएका छन् ।

पछिल्ला तीन दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन् । समग्रतामा तीन सय मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्याङ्क छ । “कहीँ त्यो भन्दा बढी र कहीँ दुई सय मिलिमिटरसम्म वर्षा भएको छ”, प्रमुख पराजुलीले भने ।

चौबीस घन्टामा एक सय ४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । एक सय सात वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ । यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन । बागमती, मधेस, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान शाखाले जल सतह खतराको तह पार गरेका २३ नदी तटीय क्षेत्रका बासिन्दामा जोखिमको एसएमएस र १७ नदी क्षेत्रमा सतर्कताको सूचना निरन्तर पठाइरहेको छ । शाखाले वेभसाइट, नियमित बुलेटिन, सामाजिक सञ्जाल र मोबाइल एसएमएसमार्फत सूचना जारी गरिरहेको छ ।

बाढीपहिरोले काभ्रेमा चार जनाको मृत्यु, १० बेपत्ता

काभ्रेपलाञ्चोक । तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा बाढी–पहिरोले ठूलो जनधनको क्षति भएको छ। बाढी–पहिरोमा परी तीन जनाको मृत्यु भएको छभने १० जना बेपत्ता भएका छन्। जिल्लास्थित तीन राजमार्ग अवरुद्ध छन्।

अविरल वर्षाका कारण शनिबार बिहान बनेपा नगरपालिका–१० जनागालस्थित एक घरमा पहिरो खस्दा छ वर्षीय यूनिष हुमागाईंको मृत्यु भएको छ। घाइते अवस्थामा यूनिषलाई तत्काल उद्धार गरी भक्तपुर अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीय सञ्जिव विष्टले जानकारी दिए। उनका अनुसार घरमाथिको जग्गा प्लटिङबाट आएको पहिरोले हुमागाईँको घर भत्किएको थियो। बनेपा पुलबजारस्थित राजमार्ग डुबानका कारण उनको उपचाररार्थ भक्तपुर लैजानुपरेको थियो।

वर्षाका कारण दुई घर भत्किँदा तेमाल गाउँपालिका–७ चापाखोरीमा दुई महिलाको मृत्यु भएको छ। स्थानीय शिक्षक प्रेमबहादुर लामाका अनुसार मृत्यु हुनेमा ५० वर्षीया पाताली तामाङ र उनकी ३९ वर्षीया बहिनी रहेका छन्। बहिनी पातालीको घरमा मकै भाँंच्ने काममा धुल्खुबाट सघाउन आएकी थइिन्। घटनापछि प्रहरी चौकी नारायणस्थानबाट उद्धार भइरहेको बताइएको छ।

यस्तै बेथान्चोक गाउँपालिकामा घर जाने क्रममा ५ नं वडा च्याल्टीमा गएको पहिरोमा पुरिएर शुक्रबार साँझ ४५ वर्षीय प्रेमबहादुर वाइबाको निधन भएको छ। वडाध्यक्ष राजकुमार वाइबाका अनुसार खोला तरेर घर जाने क्रममा बारीको ढिस्को बाटोमा आँउदा उनी पुरिएका हुन्। च्याल्टीमा खोला ठूलो भएकाले खोला तर्न नसकेका स्थानीयलाई वाइबाले खोला तारी दिएर आफूपछि तर्नुभएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएरातीदेखि १० जना पहिरोमा परी बेपत्ता भएका छन्। आज बिहान साढे ३ बजे पनौती नगरपालिका–१२ कलाँतीमा पहिरोले घर पुरिँदा श्रीमान श्रीमती बेपत्ता भएका छन्। यस्तै बिहान करिब ६ बजे बनेपा–१४ थालचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका हुन्।

बिहान ६ बजे नमोबुद्ध नपा–२ श्यामापाटीमा पहिरोमा परी दुई बेपत्ता तथा पनौती–११ थुम्कीमा एक घर पुरिँदा चार जना बिहानदेखि सम्पर्कविहिन अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनालगत्तै उद्धारमा कठिनाइ भए पनि अहिले यी घटनास्थलमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मी परिचालन भएको जनाइएको छ।

यसैगरि पनौतीकै १२ नं वडास्थित कोलाँतीमा गोपाल तिमल्सिनाको घर पुरिँदा चार जना पुरिएकामा तीन जनालाई जिवितै उद्धार गरिएको छ भने एक जना अझै बेपत्ता रहेको कार्यालयले जनाएको छ। पनौती–१२ थुम्की डाँडामा पहिरोको जोखिममा परेका करिब एक सय जना उद्धारको पर्खाइमा बसेको जनाइएको छ।

मण्डनदेउपुर नपा–१२ स्थित काफलचौर ५ घर र ३ नं वडाको बयरबोटमा एक घर जोखिममा परेको तथा रोशी गाउँपालिकास्थित विपी राजमार्गमा पर्ने नार्के बजारमा सडक छेउका दुई घर पहिरोमा परी बगाएको छ।

मण्डनदेउपुरकै कोदारीभिरमा पहिरो खसेपछि हेलम्बू राजमार्गको जिरोकिलो कुन्ताबेसी–मेलम्ची सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ। नगरप्रमुख टोकबहादुर वाइबाले राजमार्ग खुलाउने तथा जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको जानकारी दिए।

अविरल वर्षाका कारण काभे्रपलाञ्चोकको रोशीस्थित चिउरीबासमा रोशी खोलाको बाढीले आज मध्यान्ह करिब १०० मिटर सडक बगाएको छ। यस्तै खहरे खोलाको लेदो तथा सडक बगाउँदा रोशीस्थित विपी राजमार्गको दुई स्थानमा शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध भएको छ।

यस्तै अरनिको राजमार्गअन्तर्गत बनेपास्थित पुलबजार डुबान हुँदा यातायातका साधान रोकिएका छन् । शुक्रबार साँझ पाँचखाल नगरपालिका–५ स्थित सडकमा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको थियो।

यस्तै अरनिको राजमार्गअन्तर्गतकै निर्माणाधीन धुलिखेल–खावा सडकको विभिन्न स्थानमा पहिरो तथा लेदोका कारण यातायातका साधाव आज बिहानदेखि ठप्प रहेको खावा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक उमेश थपलियाले जानकारी दिनुभयो ।

रोही गाउँपालिकाको ११ नं वडास्थित माम्तीमा शुक्रबार दिउँसो खहरे खोलाको बाढीले सडकको ह्यूमपाइपसमेत बगाउँदा विपी राजमार्गको नेपालथोक–मङ्गलटार सडकखण्ड अवरुद्ध हुँदै आएको छभने गाउँपालिको ८ नं चारसयबेंसीमा माथिबाट लेदो झरेका कारण कटुञ्जे–मङ्गलटार सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सुरक्षाकर्मीले अवरुद्ध सडक खुलाउन स्थानीय निकाय तथा सडक विभागसँग समन्वय भइरहे पनि प्रतिकूल मौसमका कारण अवरुद्ध राजमार्ग सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि गोरखाको सुलिकोट गाउँपालिकाका निरोज भट्ट क्षेत्रीले जितेका छन् ।

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध उद्यान लगायतका पर्यटनका सम्भावना रहेका गन्तव्यको थप प्रवर्द्धनका लागि पोखरा क्लिक प्रालिले दौड आयोजना गरेको हो । खुला पुरुषतर्फ उपाधि विजेता भट्टले निर्धारित आठ किमि दौड ३८ मिनेट २३ सेकेण्डमा पूरा गरे । उनले उपाधिसहित नगद २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

यसैगरी सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दूरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी द्वितीय भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए । पोखरा–१७ का प्रकाश थिकले तोकिएको दूरी ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तृतीय भए र सात हजार रुपैयाँ पुरस्कार पाए ।

यसैगरी महिलातर्फ निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरी काभ्रेको चौताराका नितु तामाङले उपाधि जितिन् । उनले सात हजार रुपैयाँ पुरस्कार पाए ।

यसैगरी १६ वर्षमूनिको दौडमा पोखरा–१२ का सागर देवकोटा पहिलो हुँदै सात हजार रुपैयाँ र मेडल पुरस्कार पाए । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियारले ५३ मिनेट छ सेकेण्डमा दौड पूरा गरी सात हजार रुपैयाँसहित उपाधि जिते । पोखराको विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी वडा कार्यालय हुँदै बुद्ध पार्क (निगालेडाँडा) सम्म पुगेर दौड समापन गरिएको थियो ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, प्रतियोगिता संयोजक दीननाथ बराल लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि प्रतियोगिताको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए । उक्त अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसाङ गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक दीननाथ बरालले पर्यटनको अथाह सम्भावना रहेको र पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको पुम्दीभुम्दीको दौड मार्फत थप प्रवर्द्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता गरिएको बताए ।

देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ ।

सडक विभाग कार्यालयले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् ।

प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन्भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएका विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिए ।

“ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले विभागका कर्मचारी सबै स्थानमा पुग्न सकेका छैनन् । विद्युत् तथा इन्टरनेट सम्पर्क विच्छेद हुँदा सबै विवरण सङ्कलन गर्न पनि सकिएको छैन । यो प्रारम्भिक विवरण मात्रै हो”, अर्यालले भने, “पाँचथरबाट ताप्लेजुङ जाने बाटोतर्फ हेवाखोलामा गत वर्ष राखिएको बेलिब्रिज बगाएको छ । अरनिको राजमार्गको लार्चा भन्ने स्थानको बेलिब्रिज र बिपी राजमार्गको खुर्कोटबाट मन्थलीतर्फ जाने बाटोको पुल बगाएको छ ।”

कुलेखानी जलविद्युत् आयोजनको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले बताए । बिपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ ।

अहिले काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिए । धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका उनले बताए ।

सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ । सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि उक्त सडक अवरुद्ध भएको हो ।

अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चा पुल बगाएपछि यातायात सञ्जाल पूर्ण विच्छेद भएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए ।

त्यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत गुल्मीको राक्स्या र बरल्ला क्षेत्रमा पनि पहिरो खसेको छ ।

राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध छ ।

पुष्पलाल (मध्यपहाडि राजमार्ग) अन्तर्गत ओखलढुङ्गाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छभने भेडेटार–रबि–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध छ ।

सडक डिभिजन नुवाकोटअन्तर्गत ठोरी–भण्ठारा–मलेखु–गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी खण्डअन्तर्गत घादिङको भुट्टार क्षेत्रमा तथा बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी खण्डअन्तर्गत नुवाकोटको ३५ किलो र ताँदी पुलमा आएको बाढीका कारण सडक अवरुद्ध भएको विभागले जनाएको छ ।

भेरी करिडोरअन्तर्गत छिन्चु–कुदु–जाजरकोट–दुनै–तिन्जे–मरिम सडकखण्डमा पश्चिम रुकुमको त्रिवेणी भन्ने स्थानमा सडकमा पहिरो खसेको छ । यो सडकखण्डअन्तर्गत जाजरकोट जिल्लाको नमूना बस्ती क्षेत्रमा पनि बाढी र पहिरोका कारण समस्या देखिएको विभागले जनाएको छ ।

मेची राजमार्गअन्तर्गत केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम–गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला खण्डमा पाँचथरको फिदिम नजिकै पहिरोका कारण सडक अवरुद्ध भएको छ । त्यस्तै माडर–चौराहवा–गोलबजार–सिरहा–साँघुरे–उदयपुर–मिचैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा सल्लेरी सडकखण्ड प्रभावित बनेको छ । मिर्चैया–कटारी–घुर्मी–हिलेपानी–ओखलढुङ्गा–सल्लेरी सडकमा पनि सवारीसाधन सञ्चालन हुने सकेका छैनन् ।

सहिद मार्गअन्तर्गत कोइलाबास–लमही–अर्जुनखोला–घोराही–घर्तिगाउँ–थवाङ–लुकुम खण्ड, रोल्पाको घर्तीगाउँ र दुई खोली खण्डको गरगरे भन्ने ठाउँमा पहिरो गएको छ । यो राजमार्गमा रोल्पाको होलेरी र दारबोट खण्डमा पनि अवरोध सिर्जना भएको छ । अर्घाखाँचीको लौलिहवा–गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत नरपानी–खुम्ती–सन्धिखर्कमा पहिरो गएको सडक विभागले जनाएको छ ।

त्यसैगरी, पुष्पलाल राजमार्गअन्तर्गत खोटाङको खोक्सेली तथा चिसापानी, सिन्धुलीको रिठ्ठाबोट, फिक्कल, ट्याँउ खोला र कुखुरेटार, हर्जेनी, बलेनी, सालघारीलगायत क्षेत्रमा बाढी र डुबानको समस्या देखिएको छ ।

तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडकको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने बाटोमा तथा रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत खण्डअन्तर्गत दाङको मुर्कुटी भन्ने स्टानमा सडक पूर्ण रुपमा अवरुद्ध छ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको ताल डाँडा क्षेत्रमा पनि यातायात सञ्चालनमा समस्या भएको छ ।

कान्ती राजपथअन्तर्गत हेटौँडा–बागमती–टिकाभैरव–भैँसेपाटी–एकान्तकुना सडकखण्ड पनि अवरुद्ध छ । यो राजमार्गको आँपचौर भन्ने स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–दाहालटार खण्डअन्तर्गत ललितपुरको लाँकुरीभञ्ज्याङस्थित मानेदोभान क्षेत्रमा बाढी र पहिरोका कारण समस्या सिर्जना भएको छ । दक्षिणकाली नगरपालिका–८ को सिस्नेरी सडकखण्ड, किर्तीपुर नगरपालिका–६ को बल्खु फर्पिङ र वडा नं १० को त्रिभुवन विश्वविद्यालय सेवा आयोग अगाडि पहिरो खसेका छ । गोदावरी नगरपालिका–६ को लेले टिकाभैरव जाने बाटोमा पहिरो खसेको छ ।

नदीमा पुल बगाएको र ठूलो पहिरो खसेको स्थानमा बाहेक अन्य स्थानहरुमा कम्तीमा दुई घण्टाभित्र अवरोध हटाउने गरी विभागको टोली परिचालन गरिएको विभागको सम्भार महाशाखा प्रमुख अर्यालले जानकारी दिए । सडक सञ्चालन गर्न शवभिन्न सडक डिभिजन तथा मातहतका कार्यालयका टोली तयारी अवस्थामा रहेका उनले बताए ।

“बाटो र पुल बगाएको स्थानमा बाहेक ठूलो पहिरो नभएका ठाउँमा बढीमा दुई घण्टाभित्रमा सडक खुलाउन सक्नेगरी तयारी अवस्थामा बसेका छौँ । निरन्तर पानी परिरहेको छ । अधिकांश स्थानमा लेदोसहितको बाढीपहिरो आउने जोखिम रहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा केही समस्या भएको छ”, अर्यालले भने ।

बाढीपहिरोमा परी ४९ जनाको मृत्यु, ४० बेपत्ता

काठमाडौँ । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । 

नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उनले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिए ।

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मकवानपुरमा एन्फा एकेडेमीका ६ विद्यार्थी पहिरोमा पुरिएको आशङ्का

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थी आज बिहानैदेखि सम्पर्कविहीन भएका छन् । 

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका हुन् । उनीहरु पहिरोमा पुरिएका हुनसक्ने सिस्नेरी प्रहरी चौकीका प्रमुख भोषराज न्यौपानेले जानकारी  दिए । उनीहरुको खोजी जारी छ ।

एन्फाले गत वर्षदेखि उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो ।

बाढीपहिरोमा परी ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ ।  अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्याफ्टिङ बोट परिचालन गरेको छ ।

सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । काठमाडौँमा नौ, ललितपुरमा नौ र काभ्रेपलाञ्चोक र भक्तपुरमा तीन–तीन, पाँचथर र धनकुटामा दुई–दुई, झापा र धादिङमा एक–एक जनाको मृत्यु भएको छ । 

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि  उपचारारत १८ जना अपाङ्गता भएका  बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । 

अबिरल वर्षाले भक्तपुरका टोलबस्ती डुबानमा (फोटोफिचर)

काठमाडौं । अविरल वर्षाका कारण भक्तपुरका विभिन्न वस्ती डुबानमा परेका छन् । भक्तपुरको राधेराधे भाटभटेनी सुपर मार्केट आसपास क्षेत्र डुबानमा परेपछि उद्धारमा नेपाली सेना खटिएको छ ।

त्यस्तै अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुर राधेराधे पनि डुबानमा परेको छ । त्यसैगरी भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा पर्दा करोडौको क्षति भएको छ ।

तस्बिरः नारायण न्यौपाने, चन्द्रकला क्षेत्री, रमेश गिरी/रासस

भक्तपुर, १२ असोजः भक्तपुर राधेराधेस्थित भाटभाटेनी सुपर मार्केटको अगाडिको सडकमा जमेको पानी पार गर्नेक्रममा एक सवारी साधान । तस्बिरः नारायण न्यौपानी/रासस
भक्तपुर, १२ असोजः भक्तपुर राधेराधेस्थित एक ड्राइभिङ सेन्टरमा जमेको पानी । तस्बिरः नारायण न्यौपानी/रासस
भक्तपुर, १२ असोजः भक्तपुर राधेराधेस्थित नजिक डुबान परेका सटरमा । तस्बिरः नारायण न्यौपानी/रासस
भक्तपुरका १५ बस्ती डुबानमा उद्धार
भक्तपुर, १२ असोज : अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा पर्दा करोडौको क्षति भएको छ । तस्बिरः रमेश गिरी/रासस
भक्तपुरका १५ बस्ती डुबानमा उद्धार
भक्तपुर, १२ असोज: अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्ती डुबानमा पर्दा करोडौको क्षति भएको छ । तस्बिरः रमेश गिरी/रासस
थिमि (भक्तपुर), १२ असोजः भक्तपुरको सिद्बि स्मृति अस्पताल डुबानमा परेपछि बच्चासहितको सुत्केरी उद्धार गर्दै नेपाली सेनाका टोली र स्थानीय बासिन्दा । तस्बिरः रत्न श्रेष्ठ/रासस
थिमि (भक्तपुर), १२ असोजः हिजोदेखि परेको अविरल वर्षाका कारण डुबान झक्तपुरको सिद्बि स्मृति अस्पताल । रतस्बिरः रत्न श्रेष्ठ/रासस
भक्तपुर, १२ असोजः भक्तपुरको राधेराधे भाटभटेनी सुपर मार्केट अगााडि डुबेको मोटरसाइल निकाल्दै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस
भक्तपुर, १२ असोजः भक्तपुरको राधेराधे भाटभटेनी सुपर मार्केट आसपास क्षेत्र डुबानमा परेपछि उद्धारमा खटिएका नेपाली सेनाका सुरक्षाकर्मी । तस्बिरः चन्द्रकला क्षेत्री/रासस
भक्तपुर, १२ असोजः दुई दिनदेखि अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुरको भाटभटेनी सुपर मार्केटलगायत आसपास क्षेत्रमा जलमग्न । तस्बिरः किरणराज विष्ट/रासस
भक्तपुर, १२ असोजः दुई दिनदेखि अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुरको भाटभटेनी सुपर मार्केटलगायत आसपास क्षेत्रमा जलमग्न । तस्बिरः किरणराज विष्ट/रासस
भक्तपुर, १२ असोजः दुई दिनदेखि अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुरको भाटभटेनी सुपर मार्केटलगायत आसपास क्षेत्रमा जलमग्न । तस्बिरः किरणराज विष्ट/रासस
भक्तपुर, १२ असोजः दुई दिनदेखि अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुरको भाटभटेनी सुपर मार्केटलगायत आसपास क्षेत्रमा जलमग्न । तस्बिरः किरणराज विष्ट/रासस
भक्तपुर, १२ असोजः दुई दिनदेखि अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुरको भाटभटेनी सुपर मार्केटलगायत आसपास क्षेत्रमा जलमग्न । तस्बिरः किरणराज विष्ट/रासस
भक्तपुर, १२ असोजः दुई दिनदेखि अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी परेर भक्तपुरको भाटभटेनी सुपर मार्केटलगायत आसपास क्षेत्रमा जलमग्न । तस्बिरः किरणराज विष्ट/रासस
मनोहराखोलामा आएको बाढीले शनिबार डुबानमा परेको कोटेश्वर, बालकुमारी खोला आसपासको क्षेत्र । तस्बिर : किरणराज बिष्ट / रासस

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् ।

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन्भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।

      विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए  ।

यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले जानकारी दिए  ।

कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो

बागमती । कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्दसरोवर ताल) मा पछिल्लो समय पानीको सतह घट्न थालेको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएर ‘ओभरफ्लो’ भएपछि बाँधको सुरक्षालाई मध्यदिँदै आज बिहान करिब ५ बजेतिर ड्यामको दुई ढोका खोलिएको थियो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जलाशयमा पानीको सतह केही घटेको जानकारी दिए ।

उनका अनुसार कुलेखानीको जलाशयमा कूल एक हजार पाँच सय ३० मिटर पानी भण्डारण गर्ने क्षमता भए पनि आज बिहान ४ बजेतिर जलाशयमा एक हजार पाँच सय ३१ मिटर पानी भरिएको थियो । पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका ४ दशमलव ५ मिटर खोलिएको थियो ।

ड्यामको दुई ढोका खोलिएपछि अहिलेसम्म जलसतह घटेर एक हजार पाँच सय ३० दशमलव १० मिटरमा आइपुगेको प्रमुख भट्टले बताए । वर्षा अझै जारी रहेकोले जलाशयको ढोका खोलिएको र जलविद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले निरन्तर वर्षा भइरहेकाले जोखिमको आधारमा थप कुलेखानीको जलाशयको ड्यामका ढोका अझै खोल्नुपर्ने अवस्था देखिन सक्ने भएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा बाढी आउन सक्ने अवस्था देखिएको हुँदा कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत उच्च सतर्क र सुरक्षित स्थानको पूर्वतयारी गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउन सक्ने बाढीपहिरो, डुवान लगायतका अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था रहन लगाइएको जानकारी दिए । साथै जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट व्यवस्थापनको कार्यको लागि आवश्यक तयारी समेत गरिएको उनले बताए ।

ललितपुरमा पहिरोले पुरिएर चार जनाको मृत्यु

पाटन (ललितपुर) । अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ भने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्युु भएको छ । गोदावरी–३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ । 

महाङ्काल गाउँपालिका–३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल–३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए ।

“वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन् । त्यहाँ पाँच जना थिए । उनीहरु सम्पर्क छैनन्”, उनले भने । प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उनले बताए ।

बागमती गाउँपालिका–६ आश्राङमा एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिए । “हालसम्म मानवीय क्षति भएको छैन”, उनले भने ।

बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ । “बागमती पुलमा क्षति भएको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ, बागमती ३ नं वडा कार्यालय जोखिममा छभने वडा नं ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ ।”

काठमाडौं नै पर्यो डुबानमा(फोटोफिचर)

काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

काठमाडौँको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को–इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुललगायत सडकमा सवारी आवागमन प्रभावित भएको काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । वर्षाका कारण डुबानमा परेपछि काठमाडौंमा विभिन्न स्थानबाट प्रहरीले मानिसको उद्दार गरेको छ ।

तस्बिरः नेपाल प्रहरी

हेवा खोलाको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

पाँचथर। अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’बगाएको छ।

फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिए। उनका अनुसार बाढीले हिलिहाङ गाउँपालिकातर्फको पर्खाल भत्काएपछि बेलिब्रिज बगाएको हो।

गत वर्षको असार २ गते आएको बाढीले यहाँ रहेको पुल बगाएपछि यहाँ ‘बेलिब्रिज’ निर्माण गरिएको थियो। ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका अनुसार पाँचथरमा दुई, धनकुटामा दुई, झापामा एक, काठमाडौंमा एक, ललितपुरमा एक, काभ्रेमा तीन र धादिङमा एकजनाको मृत्यु भएको छ ।

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो

मकवानपुर ।  अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए ।

बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो ।

विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।

अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउनसक्ने बाढी, पहिरो, डुबनलगायतको अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था राखिएको उनले बताए

ललितपुर नखिपोटमा खोलाले बगाउँदा चार जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना  बेपत्ता भएका छन् ।


सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उक्त घटना केहीबेरअघि भएको प्रहरी बलले जनाएको छ ।


काठमाडौँका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित

लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । 


काठमाडाँैको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को–इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुललगायत सडकमा सवारी आवागमन प्रभावित भएको काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


पहिराका कारण विभिन्न नाका हुँदै काठमाडौँ भित्रने र बाहिरने सवारीसाधन पनि चल्न सकेका छैनन् । नागढुङ्गा–नौबिसे, फर्पिङ, भीमढुङ्गा, धर्मस्थली–तीनपिप्ले र कान्ति लोकपथ अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । 


पानीको बहाव बढेकाले बनेपा बजार हुँदै चल्ने सवारीसाधन पनि रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ ।

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण

काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । शुक्रबार लुम्बिनी पुगेका राजापाक्षलाई कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरे ।

भेटमा उपाध्यक्ष डा लामाले श्रीलङ्कासँग नेपालको सम्बन्ध निकै पुरानो रहेको स्मरण गर्दै बुद्धजन्मस्थल लुम्बिनीले उक्त सम्बन्ध थप प्रगाढ बनाएको बताए । डा लामाले लुम्बिनी क्षेत्रमा शाक्यमुनि बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीनवटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको उल्लेख गरे ।

उपाध्यक्ष डा लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुनुपर्नेमा जोड दिए ।  त्यस अवसरमा पूर्वराष्ट्रपति राजापाक्षेसँगै नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शना पाथिराना पनि थिए ।

पूर्वराष्ट्रपति राजापाक्षेत्रलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ निर्देशक ज्ञानिन राईलगायतका कर्मचारीहरूले स्वागत गरेका थिए ।

वरिष्ठ निर्देशक ज्ञानिन राईले श्रीलङ्कन मन्दिरको पुनःनिर्माणका लागि अनुरोध गरे । स्वागत कार्यक्रमपछि पूर्वराष्ट्रपति राजापाक्षेले मायादेवी भ्रमण गरे । पूर्वराष्ट्रपतिले महत्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले बताए ।

परिवारसहित नेपाल आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन पनि गरे  । उनले बुद्धजन्मस्थल लुम्बिनीमा पाइला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धि भएको बताए । राजापाक्षेले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ति, पुष्पकरणी पोखरी, अशोकस्तम्भबारे पनि जानकारी लिएका थिए ।

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः राजदूत चेन

काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर चीन खुसी रहेको बताएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले शुक्रबार आयोजना गरेको जनवादी गणतन्त्र चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव समारोहमा उनले आफूहरु सधै बलियो र स्वतन्त्र नेपालको पक्षमा रहेको उल्लेख गर्दै यसबाट दुवै देशका जनताको साझा हित हुने बताएका हुन् ।

उनले  भने, “नेपाल र चीन हिमाल र नदिले जोडिएका छन्, दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएका छन् ।” 

उनले नेपालका सडकमा चिनियाँ विद्युतीय कारहरू दौडिरहेकामा खुसी व्यक्त गरे । उनले ‘भाइब्रेन्ट भिलेज’ परियोजनामार्फत नेपालमा गरिएको अर्ग्यानिक  तरकारी कतारमा निर्यात गरिएको, सुनकोशी मरिन डाइभर्सन सुरुङ सफलतापूर्वक सम्पन्नले आफूलाई खुसी बनाएको बताए । 

राजदुत चेनले चिनियाँ शैलीको आधुनिकीकरणको वास्तविकतालाई उजागर गर्दै चीनमा एक लाख ६० हजार किलोमिटर रेलमार्गको सपना साकार भएको उल्लेख गरे । उनले नयाँ युगको प्रारम्भदेखि हालसम्म चीनले गरिबीविरुद्धको ऐतिहासिक लडाई जितेको समेत स्मरण गरे । 

उनले चिनियाँ अन्वेषकहरूको अन्वेषणप्रतिको समर्पणकै कारण चिनियाँ अन्तरिक्ष स्टेसनलाई अन्तरिक्षमा यात्रा गर्न प्रेरित गरेको बताए । चिनियाँ कम्युनिष्ट पार्टीले विगत ७५ वर्षमा प्रमुख चुनौती, जोखिम, अवरोध र अन्तरविरोधबाट चिनियाँ जनतालाई मार्गदर्शन गरेको उल्लेख गर्दै उनले यसले चीनको सुरक्षा र विकासको स्थिरताका साथै प्रतिस्पर्धात्मकता, विकास र दिगोपनमा पनि निरन्तर सुधार गरेको धारणा व्यक्त गरे । 

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न दलका नेताहरु, सांसद, विभिन्न मुलुकका राजदूत, उच्च सुरक्षा अधिकृत, व्यावसायिक, विभिन्न क्षेत्र विज्ञ, सञ्चाकर्मीलगायतको उपस्थिति थियो । सो अवसरमा नेपाल र चीनका संस्कृतिसँग सम्बन्धित नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कालोबजारी नियन्त्रण गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले चाडपर्वका बेला महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

शुक्रबार एमाले विपद् व्यवस्थापन तथा स्वयं सेवा विभाग प्रमुख खिमलाल भट्टराईले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै दसैं, तिहार, छठ पर्वलाई केन्द्रित गरी सडकको अवस्था सुधार, महँगी नियन्त्रण, सुरक्षा व्यवस्था बलियो बनाउन सुझाव दिएका हुन् ।

चाडबाडका बेला महँगी नियन्त्रण गर्न सरकारी संयुक्त टोली परिचालन गर्नसमेत एमालेको आग्रह छ । ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘चाडपर्वहरुमा हुनसक्ने कालोबजारी र महँगी आदिको नियन्त्रणको निम्ति तत्काल अनुगमनकारी संयन्त्रहरुलाई परिचालन गर्दै गुणस्तरीय र सुपथ मूल्यका पसलहरु देशभरि जनपहुँचका ठाउँहरुमा संचालन गरियोस् । दाल, चामल घिउ, तेल, चिनी, तरकारी, फलफूल र मासुजन्य वस्तुहरु सर्वशुलभ र सुपथ मूल्यमा प्राप्त हुने वातावरण बनाइयोस् ।’

त्यस्तै सडकमार्गका होटलहरुको अनुगमन गरी गुणस्तरीय खाना, खाजा र मूल्य नियन्त्रणका लागि सरकारका संयन्त्र परिचालन गर्न आग्रह गरिएको छ । एमालेले यसअघि पनि आफ्नै नेतृत्वको सरकारलाई महंगी नियन्त्रणका लागि ध्यानाकर्षण गराएको थियो ।

पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीमा सङ्गठनात्मक एकता आवश्यक रहेको बताएका छन् । पार्टी मुख्यालय ललितपुर, च्यासलमा शुक्रबार आयोजित अखिल नेपाल महिला सङ्घको चौथो बैठकमा उनले सङ्गठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने बताए ।

महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी सङ्गठनका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने र यसका लागि पार्टी नेतृत्व आवश्यक सहजीकरण गर्न तयार रहेको धारणा राखे ।

उनले पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि वार्षिक कार्यतालिकामा तर्जुमा गरी पाटी गतिविधिलाई टोलटोल र बस्तीबस्तीसम्म लैजान आवश्यक रहेको बताए ।

महासचिव पोखरेलले यसवर्ष पार्टीले ४० वर्ष मुनिका युवालाई लक्षित गरेर युवा शिखर सम्मेलन गर्न लागेको समेत जानकारी दिए । यसैगरी उनले राजनीतिक स्थायित्व हुनेगरी संविधान संशोधन, सरकारको स्थायित्व र आर्थिक अवस्था सुदृढीकरणका लागि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनु परेकाले सोहीअनुसार बुझ्न र बुझाउन आग्रह गरे ।

“संविधान जारी भएको १० वर्षका सबल र दुर्वल पक्षको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधान गर्ने गरी राजनीतिक समीकरण बनेको छ । यसरी बनेको सरकारले सामाजिक अराजकता, आर्थिक सङ्कट र शान्ति प्रक्रिया टुङ्ग्याउने कुरालाई समाधान गरेर अगाडि बढ्ने छ”, महासचिव पोखरेलले भने ।

उनले ठुला पार्टी मिलेर सरकार बनाउने कुरा उचित नभए पनि राजनीतिक स्थायित्वका लागि मिल्नुपर्ने अवस्था आएको बताए । “पार्टी—पार्टी मिलेर सरकार बनाउने कुरा सामान्यता उचित होइन तर स्थायित्वका लागि दुई पार्टी मिल्नुपरेको हो”, उनले भने ।

महासचिव पोखरेलले सरकारको काममा प्रभावकारी देखिन थालेको, राजस्व बढ्न सङ्कलन बढ्न थालेको, वैदेशिक लगानी र रेमिट्यान्स बढ्नु सरकारको कामको प्रभावकारिता रहेको बताए । यसले मुलुक सङ्कटबाट मुक्त नभए पनि सुधारका सङ्केत देखिएको उनको भनाइ थियो ।

स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संविधान संशोधन गरेर हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशतको सुनिश्चित गर्नुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष टुकाभद्र हमालले महिलाका अधिकारलाई संविधान संशोधनबाट थप सम्बोधन गर्नुपर्ने बताइन् ।

नेपाल बहराइनसँग चार शून्यले पराजित

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० ले पराजित भएको छ ।

शुक्रबार चाइनिज ताइपेईमा भएको खेलमा बहराइनलाई जित दिलाउन समी बसम अवादीले दुई गोल गर्दा खलिद अल्खलाफ र अलि अहमेद हसनले समान एक गोल थपे । खेलको २३औँ मिनेटमा अवादीको गोलमा बहराइनले अग्रता बनाएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा अल्खलाफले बहराइनको अग्रता दोब्बर बनाए । ७३औँ मिनेटमा अवादीले व्यक्तिगत दोस्रो गोल गर्दा बहराइनले अग्रतालाई ३–० मा पुर्याएको थियो । यस्तै ८४औँ मिनेटमा हसनले गोल गरेपछि बहराइनले ४–० को जित पक्का गरेको हो ।

यो हारसँगै नेपालको यू–२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपालले प्रतियोगिताका तीन खेलमध्ये दुईमा हार र एक खेलमा जित निकालेको हो ।

महिला लिगमा बागमतीलाई एपिएफको सात गोल

काठमाडौं । एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा एपिएफले बागमतीलाई ७–० गोल अन्तरले पराजित गरेको हो । एपिएफको जितमा रश्मीकुमारी घिसिङले चार गोल गरिन् ।

त्यस्तै अनिता बस्नेतले ४१ र सविता थापा मगरले इन्जुरी समयमा गोल गरिन् भने एक गोल आत्माघातीबाट प्राप्त गरेको थियो । जितसँगै ९ खेलमा २५ अंक जोडेको एपिएफ शीर्ष स्थानमा छ । पराजित बागमती समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा छ ।

धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

धरान (सुनसरी) । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी यही असोजको १७ गते देखि १९ गते तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो ।

आयोजक समितिका संयोजक टङ्कबहादुर लिम्बूका अनुसार प्रतियोगितामा ७७ वटै जिल्लाका दुई सय टिमका छ सय खेलाडी सहभागी हुनेछन् । सुरक्षा निकायका तीन वटा विभागीय टोलीसमेत सहभागी हुने उनले बताए ।

उनले भने, “खेलको माध्यमबाट आपसी भाइचारा, सद्भाव वृद्धि, साथै धरानको खेल र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।” यस्ता प्रतियोगिता हुन नसक्दा युवा प्रतिभा पलायन भई सक्षम खेलाडी उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फका विजयी जोडीलाई एक लाख १५ हजार नगद पुरस्कार, उप विजेताले ५५ हजार र तेस्रो हुने जोडीले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

खुल्ला ‘भेट्रान्स’ ४५ ‘प्लस’, ‘सुपर’ भेट्रान्स ५५ प्लस र ‘लेडिज डबल्स’, ‘मिक्स डबल्स’का विजेताले ६५ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले ११–११ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक लिम्बूले बताए ।

प्रतियोगितामा राष्ट्रिय ‘रेफ्री’ तथा प्रशिक्षक केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ । टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि तीन हजार, मिक्स डबलका लागि दुई हजार पाँच सय र खुल्ला लेडिज डबलका प्रतियोगीका लागि दुई हजार निर्धारण गरिएको धरान ब्याडमिन्टन सङ्घले जनाएको छ ।

खेल प्रतियोगिता धरान उपमहानगरपालिका–१३ अमर सेवा समाजको कभर्ड हलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनमा २२ लाखभन्दा बढी खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितामा कोशी प्रदेश खेलकुद परिषदले आठ लाख, धरान उपमहानगरपालिकाले एक लाख ५० हजार, विभिन्न वित्तीय सङ्घसंस्था र प्रायोजकबाट रकम सङ्कलन गरिएको आयोजकले जनाएको छ ।

सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजान्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सहकारी विकासमन्त्री  प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

शुक्रबार ४५औँ विश्व पर्यटन दिवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याइरहेको योगदानको प्रशंसा गरे । 

सिंहले अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरिरहेकाले सरकारले पर्यटन क्षेत्रलाई सहज बनाउँदै लैजाने बताए ।

उनले देशको आर्थिक तथा सामाजिक विकासका लागि शान्ति अपरिहार्य रहेको भन्दै शान्ति, सुरक्षाबिना पर्यटनको विकास सम्भव नहुने धारणा राखे । “नेपालको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नु आवश्यक छ”, उनले भने, “यसका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको उल्लेख गर्दै पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न राज्य र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । 

“यो वर्षको विश्व पर्यटनको नारा पर्यटन र शान्ति छ । पर्यटनका लागि शान्ति अपरिहार्य छ । एकातिर जलवायु परिवर्तनले विश्व आक्रान्त बनेको अवस्था छ । यसका असरलाई कम गर्दै लैजानु पर्नेछ । अहिले विश्वले शान्ति खोजिरहेको छ । त्यसैले ‘पर्यटन र शान्ति’ लाई सँगसँगै लैजाने गरी आधार तयार गर्नुपर्नेछ”, उनले  भने ।

मन्त्री पाण्डेले देशको कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउन चाहेकाले निजी क्षेत्रको सहयोग आवश्यक पर्ने खाँचो औँल्याए । उनले देशको पर्यटनको विकासका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई बलियो बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै नीतिगत सुधार र व्यावसायिक बजार योजनासहित निगम सुधार गरिने उल्लेख गरे ।

पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन र शान्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै पर्यटनमैत्री नीतिले मात्रै पर्यटन प्रवर्द्धन सम्भव हुने धारणा राखे । होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अर्बौँको लगानी रहेका, करिब १० लाखलाई रोजगारी सिर्जना गरेको अवस्थामा राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए ।

होटल व्यवसायी सङ्गीता श्रेष्ठले नेपालमा पर्यटनको सम्भावना बढी रहेकाले पर्यटनबाट आर्थिक समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखिन् । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

दिवसका अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । यसैबीच आजै जजिरा एयरलायन्स र फ्लाई दुवईबाट नेपाल आउने पर्यटकलाई विमानस्थलमा स्वागत गरिएको थियो । नेपाल पर्यटन बोर्डमा आयोजित स्वगागत कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले पर्यटकलाई खाँदा तथा बुद्ध मूर्ति प्रदान गरी स्वागत गरेका थिए ।

कहाँ-कहाँ भइरहेको छ भारी वर्षा ?

काठमाडौँ ।  पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ ।

महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको उनले बताइन् ।

विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ । झापाको अनारमणीमा दुई सय तीन मिलिमिटर र चन्द्रगढी विमानस्थलमा दुईसय ६० मिलिमिटर र इलाममा दुई सय ४३ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् महर्जनले जानकारी दिइन् ।

पछिल्लो एक घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रुपमा कम वर्षा भएको छ । काठमाडौँका थोरै स्थानमा भारी वर्षा भएको छ । कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर, काठमाडौँका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

ललितपुरको लेलेमा एक सय १५ दशमलव पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको भन्दै भोलि पनि दिनभर वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन् ।

आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ । निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ । काठमाडौँको बागमती, विष्णुमती, धोबीखोला, ललिपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ । वर्षाले काठमाडौँसहित मुलुकभरको जनजीवन सामान्य प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभागले मोबाइलमार्फत सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौँ उपत्यकास्थित बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा रहेको महाशाखाले जनाएको छ ।

सहकारी ठगीमा फरार ढोरपाटनका मेयर देवकुमार नेपाली भारतमा पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्ली विमानस्थलमा पक्राउ परेका छन् । इमेज सहकारी ठगी मुद्दामा फरार नेपाली दिल्लीमा पक्राउ परेका हुन् ।

इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो । इन्टरपोलसँगको समन्वयमा उनी पक्राउ परेको र नेपाल ल्याउने प्रक्रिया अघि बढाइने नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिएका छन्।

उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ । रकम अपचलनमा उनीविरुद्धको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ ।

पूर्व रक्षामन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने

टोकियो ।  सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्ने आधिकारिक मतगणनाले देखाएको छ ।

६७ वर्षीय रेलप्रेमी इशिबाले मुलुकको पहिलो महिला नेता बन्ने दौडमा रहेकी कट्टर राष्ट्रवादी सनाए ताकाइचीलाई एक सय ९४ विरुद्ध दुई सय १५ मत ल्याएर पराजित गरे ।

टोक्योमा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को मुख्यालयमा आफ्नो विजय घोषणा भएपछि इशिबाले मुस्कुराउँदै आफ्नो चस्मा फुकालेर आँसुले भरिएका आँखा पुछेर र आफ्ना सहयोगीहरूले बधाई दिँदा बारम्बार शिर झुकाए ।

“म जनतामा विश्वास गर्न, साहस र इमान्दारीका साथ सत्य बोल्न र यस मुलुकलाई पुनः एकपटक सबैजना मुस्कानसहित बस्न सक्ने सुरक्षित स्थान बनाउन पूरा कोसिस गर्नेछु”, आफ्नो संक्षिप्त सम्बोधनमा उनले भने ।

इशिबा पहिले पनि शीर्ष पदको नजिक पुुगेका थिए । सन् २०१२ मा उनी राष्ट्रवादी शिन्जो अबेसँग पराजित भएका थिए । अबे जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने नेता थिए र पछि उनको हत्या गरिएको थियो ।

जापानमा एलडिपीले दशकौँदेखि करिब निरन्तर शासन गरेको छ र बहुमत कायम राखेको छ । यसको अर्थ इशिबालाई मङ्गलबारसम्म संसद्ले प्रधानमन्त्री चुन्नेछ ।

सन् १९७० को दशकमा पप आइडलहरूप्रति झुकाव राख्ने सैन्य मोडल निर्माता इशिबाले कृषि सुधारजस्ता कठिन मुद्दाहरू सम्हाल्ने आफ्नो अनुभवले आफूलाई यो पदका लागि योग्य बनाएको बताएका छन् ।

शनिश्चरे नगर अस्पतालमा सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि

झापा ।   अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।

नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएपछि यहाँ प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको हो। नगर अस्पतालमा आर्थिक वर्ष २०८१/८२ को हालसम्म ७६ जनाले प्रसूति सेवा लिएको अस्पतालका अभिलेख शाखा प्रमुख किरणकुमार खरेलले जानकारी दिए। आव २०८०/८१ मा ८३ जनाले सेवा लिएका थिए।

आमा सुरक्षा नमूना कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट आवश्यक अत्याधुनिक उपकरण प्राप्त भएपछि प्रसूति गराउन आउने सङ्ख्या उल्लेख्य वृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा योगेश चेम्जोङले बताए।

‘दक्ष जनशक्तिसँगै पूर्वाधार पर्याप्त भएकाले पनि आकर्षण बढ्दै गएको छ’, उनले भने, ‘सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने प्रयास गरिरहेका छौँ, सेवाग्राहीको विश्वास पनि बढिरहेको छ।’

गत आवमा नगर अस्पतालबाट ७९ हजार आठ सय ६२ जनाले बहिरङ्ग सेवा लिएका थिए भने चालु आवको भदौसम्म १७ हजार तीन सय ३४ जनाले सेवा लिएको अस्पतालले जनाएको छ। हालै नगर अस्पताललाई सङ्घीय सरकारले  ७६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ।

अस्पतालको सेवाको स्तरवृद्धिका लागि सङ्घीय सरकारले अत्याधुनिक प्रसूति शय्या, इसिजी मेसिन, फोटोथेरापी मेसिन एक–एक थान, बिरामी शय्या नौ थान, एक्स–रे मेसिन एक थान, बिपी सेट पाँच थान, ल्याब्रोटेरी माइक्रोस्कोप एक थान, सिटीजी मेसिन एक थान र पोर्टेबल भिडियो एक्स–रे मेसिन एक थान प्रदान गरेको हो।

नगर अस्पतालको भवन निर्माणका लागि सरकारले चालु आवमा रु सात करोड बजेट विनियोजन गरेको उनले बताए। नयाँ भवन सञ्चालनमा आएपछि सेवा विस्तार हुने उनले बताए। अस्पतालमा दुई चिकित्सक अत्यावश्यक रहेकाले मन्त्रालयसँग माग गरिएको नगरप्रमुख गोम्देनले बताए।

पहिरोले काठमाडौं–नौबिसे सडक अवरुद्ध

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–९ खत्रीपौवामा सडक अवरूद्ध भएको छ । सुरूङमार्ग नजिकै लेदोसहित पहिरोले शुक्रबार दिउँसो सडक अवरूद्ध हुँदा काठमाडौं प्रवेश गर्ने र बाहिने सवारी साधन रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङले लेदो पहिरो खसेका कारण सडक अवरुद्ध भएको जनाएको छ । पानी निरन्तर परिरहेको हुँदा पहिरो पन्छ्याउन समय लाग्ने प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे सिफारिस भएका छन् । शुक्रबार बसेको न्याय परिषद् बैठकले निरौला र पाण्डेको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

हाल निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरमा मुख्य न्यायाधीशका रूपमा कार्यरत छन् । यस्तै बैठकले १४ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ ।

युक्रेन युद्धबारे ट्रम्पले र जेलेन्स्कीसँग छलफल गर्ने

न्यूयोर्क । रूससँगको द्वन्द्वलाई लिएर अमेरिकी रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरूद्ध निरन्तरको आलोचनापछि ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता हुने भएको छ ।

जेलेन्स्कीले एक दिनअघि पहिले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पका प्रतिद्वन्द्वी कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता भएको थियो । नेताद्वयले किएभको युद्धलाई समर्थन गर्ने वचन दिएका थिए।

जेलेन्स्कीले द्वन्द्व अन्त्यका लागि ‘सम्झौता गर्न नमानेको’ आरोप लगाएका ट्रम्पले न्युयोर्कस्थित ट्रम्प टावरको गगनचुम्बी भवनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ९ः४५ बजे भेट हुने बताएका छन् ।

जेलेन्स्कीले न्युयोर्कर पत्रिकालाई दिएको टिप्पणीबाट ट्रम्प रुष्ट भएपछि अमेरिकी सञ्चारमाध्यमले यसअघि नै उक्त बैठक अघि नबढ्ने बताएका थिए। जेलेन्स्किीले उक्त पत्रिकासँग युद्ध कसरी रोक्ने भन्नेबारे रिपब्लिकन पार्टीलाई वास्तविक ज्ञान नभएको बताएका थिए ।

ट्रम्पले बुधबार नर्थ क्यारोलिनामा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै भनेका थिए, “सम्झौता गर्न इन्कार गर्ने व्यक्ति जेलेन्स्कीलाई हामी अर्बौं डलर दिइरहेका छौं ।”

जेलेन्स्की यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा छन् । उनले मस्कोको आक्रमणको तेस्रो वर्षमा युद्धभूमिमा सङ्घर्ष गरिरहेको आफ्नो देशको युद्धको लागि समर्थन सहयोग बढाउने अभियानलाई जारी राखेका छन् ।

युक्रेनी नेताले बिहीबार ह्वाइट हाउसमा बाइडेन र ह्यारिससमक्ष उनकै शब्दमा ‘विजय’ योजना प्रस्तुत गर्नुभएको थियो भने बाइडेनले किएभका लागि करिब आठ अर्ब अमेरिकी डलर बराबरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेका थिए ।

सहायता प्याकेजको घोषणाका समय जेलेन्स्कीको छेउमा उभिएकी ह्यारिसले नाम उच्चारण नगरिकन ट्रम्पलाई सङ्केत गर्दै भनिन्, “मेरो देशमा केही यस्ता व्यक्ति छन् जसले युक्रेनलाई आफ्नो सार्वभौम भूमिको ठूलो हिस्सा छोड्न बाध्य पार्नेछन्।”

बाइडेनले जेलेन्स्कीसँगको छुट्टै भेटमा सन् २०२२ को फेब्रुअरीमा रूसले सुरु गरेको युद्धमा ‘रूसको विजय नहुने’ बताएका थिए ।

आफ्नो ट्रेडमार्क सैन्य शैलीको पहिरनमा सजिएका जेलेन्स्कीले भने, “हामी युक्रेनी र अमेरिका सँगसँगै उभिएका छौ र यसका लागि खुशी पनि छौँ ।”

यद्यपि, नोभेम्बरमा हुने अमेरिकी चुनावले युक्रेनलाई उसको सबैभन्दा ठूलो समर्थकबाट प्राप्त समर्थनलाई कसरी उकास्न सक्छ भन्ने कुरा ट्रम्पसँगको विवादले उनको भ्रमणलाई धुमिल बनाएको छ।

ट्रम्पले लामो समयदेखि युक्रेनका लागि अमेरिकाले उपलब्ध गराउँदै आएको अर्बौं डलरको सहयोगको आलोचना गर्दै आएका छन् । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साताको सुरुमा एक र्यालीमा रूसले हिटलरलाई हराएकाले युक्रेनले जित्न नसक्ने बताएका थिए ।

जेलेन्स्कीले बाइडेनको गृहनगर पेन्सिलभेनियामा रहेको हतियार कारखानाको भ्रमण गरेपछि आक्रोशित रिपब्लिकनहरूले पक्षपातपूर्ण राजनीतिक कार्यक्रम आयोजना गरेको भन्दै युक्रेनी राजदूतलाई बर्खास्त गर्न युक्रेनसँग माग गरेका छन्।

भारतमा ७ वर्षीय बालकलाई दिइयो बलि

लखनऊ (भारत), । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ ।

प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो ।

अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीले बताएको छ ।

प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि नै बालकको हत्या गरिएको बताए । “बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो तर समारोह पूरा हुनुभन्दा अघिनै उनलाई मारियो”, उनले भने ।

माथुरका अनुसार बघेल र उनका पितासहित विद्यालयका अन्य तीन शिक्षकलाई पक्राउ गरिएको छ ।

बालकको मृत्यु कसरी भयो भन्नेबारे माथुरले कुनै जानकारी दिएनन् । स्थानीय सञ्चारमाध्यमहरूले शवको परीक्षण भइरहेको बताएका छन् ।

भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार सन् २०१४ देखि सन् २०२१ को बीचमा मुलुकभर एक सय तीन वटा मानव बलिका घटना दर्ता भएका छन् ।

अनुष्ठानमा गरिने हत्याहरू सामान्यतया देवताहरूलाई प्रसन्न पार्न गरिन्छ । बोक्सी र गुप्त विद्यामा विश्वास व्यापक भएको आदिवासी तथा दुर्गम क्षेत्रहरूमा मानव बलि बढी प्रचलित छ ।

गत वर्ष प्रहरीले सन् २०१९ मा ६४ वर्षीया महिलाको हत्याको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो । ती महिलाको भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा एक मन्दिरमा गएपछि हत्या गरिएको थियो र टाउको छिनालिएको थियो ।

प्रहरीका अनुसार आरोपित मुख्य व्यक्तिले आफ्नो भाइको मृत्युको वार्षिकोत्सव मनाउन धार्मिक अनुष्ठान गरिरहेको थियो । 

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा निकुञ्ज

चितवन । वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ ।

उनले भने, ‘पश्चिम क्षेत्रमा काम सम्पन्न भइसकेको छ भने पूर्वमा कामको तयारी गरिएको छ ।’ वर्षातका कारण निकुञ्जभित्रका तीनवटा पुलमा क्षति पुगेकाले ती पुलहरू मर्मत, सडक सरसफाइ र सडक छेउका झाडी पन्छाउने काम सुरु गरिएको उनले बताए ।

पुनले निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जिप सफारी रहेकाले सो सञ्चालनको तयारी थालिएको बताए । डुङ्गा सफारी, चरा हेर्ने (बर्ड बाचिङ्), हात्ती सफारीलगायत गतिविधि सञ्चालन भइरहेका उनले जानकारी दिए । सामुदायिक वन क्षेत्रमा हात्ती सफारी भइरहेको उनले बताए ।

प्रमुख संरक्षण अधिकृत पुनले भने, “कुमरोज वन क्षेत्रमा जिप सफारीको गतिविधि भइरहेको छ । मौसमको परिस्थिति हेरेर मात्र निकुञ्जका अन्य स्थानमा जिप सफारी सञ्चालन गरिने उनले बताए ।

यही असोज १६ गतेदेखि जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको भए पनि पानी परिरहेकाले परिस्थिति अनुसार निर्णय गरिने पुनले उल्लेख गरे । उनले भने, ‘पानी परिरहे पनि दसैँ अघिसम्ममा निकुञ्ज क्षेत्रमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।’

संस्कृत विश्वविद्यालयकाे ताला तीन महिनापछि खुल्याे

दाङ । दाङको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला खुलेको छ। विभिन्न विद्यार्थी संगठनहरूले तीन महिनादेखि लगाएको सबै ताला बिहीबारबाट खुलेको हो।

विद्यार्थी संगठन र आंशिक प्राध्यापकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए। आंशिक प्राध्यापकहरूले यसअघि नै ताला खोले पनि विद्यार्थी संगठनहरूको बाँकी थियो।

लामो वार्ता र छलफलपछि विद्यार्थी संगठन ताला खोल्न सहमत भएको विश्वविद्यालयका तर्फबाट गठित वार्ता टोलीका संयोजक जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माले बताए।

विश्वविद्यालयको बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनीक काम पूर्ण रूपमा प्रभावित भएका थिए।

दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी…

गण्डकी ।
महँगी बढेर सेक्यो ढाड पनि
गरिबै रुवाउन आउँछन् चाड पनि
रित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी…!’

गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दसैँ उमंग लिएर भित्रिँदैन । महँगीको मार खेप्न बाध्य निम्न वर्गीय परिवारको दुःखसाह्रोलाई उक्त गीतले चित्रित गरेको छ ।

गायिका गौतम र गायक विष्णु खत्रीले गाएको दसैं गीत ‘रित्तो भकारी…’ ले गरिबी र अभावको दुष्चक्रमा फसेको परिवारका लागि चाडबाड कसरी दशा बनेर आइपुग्छन् भन्ने देखाउँछ । शब्द, संगीत र अभिनयको जीवन्त प्रस्तुतिले गीत जोकोहीलाई यथार्थपरक बोधगम्य लाग्छ ।

गीतले भन्छ –
‘मन हुन्छ अमिलो खल्ती छाम्दा नि
दुई पैसा कहीँबाट छैन आम्दानी
दसैँ आइसक्यो
रित्तो गोजी, रित्तै छ भकारी
परान खाइसक्यो…।’

गायक खत्रीलाई दसैँगीतका पर्याय भन्दा अतियुक्ति नहोला ! ‘रित्तो भकारी…’ उनको सत्रौँ दसैँगीत हो । विसं २०६४ यता खत्रीले सालिन्दा दसैँगीत सार्वजनिक गर्दै आएका छन् । उनको पहिलो दसैँगीत ‘सुनको जलप…’ हो । जुन गीत उबेला चर्चित बनेको थियो । ‘यसपालिको दसैँगीतले देशको वर्तमान अवस्था र नेपाली समाजको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ’, उनले भने ।

१७ वर्षका अन्तरालमा पनि खत्रीका हरेक दसैँगीतका विषय, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उनका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख–बेदना समेटिएको पाइन्छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् ।

मार्मिक सिर्जना र ग्रामीण परिवेशको झ–झल्को खत्रीका दसैँगीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारंगत छन् ।

‘हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ’, खत्रीले भने, ‘दसैँगीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ ।’

दुई दशकदेखि लोकसंगीतमा सक्रिय उनका दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् । गत वर्षको दसैँमा खत्रीले ‘दसैँ–तिहार गाउँमा…’ ल्याएका थिए । त्यसअघि उनका ‘दसैँ–तिहार सँगै मनाउँला…’, ‘रिनै रिनको…’, ‘दसैँमा आउ प्यारा…’, ‘जहाजको टिकट…’, ‘कति रुनी हो…’लगायत गीत सार्वजनिक भएका थिए । प्रायः सबै गीतमा शब्द र संगीत पनि गायक खत्रीकै रहेको छ ।

दसैँको छेकोमा गायक खत्रीसहित कैयन गायकगायिकाका दसैँगीत युट्युबमा छाइरहेका छन् । कतिपय गीत सार्वजनिक हुने क्रममा छन् । केही दसैँगीत युट्युब ‘ट्रेन्डिङ’समेत उक्लेका छन् । कुनै गीतमा परदेशीका पीडा छचल्किएका छन् भने कुनै गीतमा दसैँले गाउँघरमा ल्याउने रौनकको चित्रण छ ।

गायक पुरुषोत्तम पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको ‘आयो है दसैँ आयो…’ गीतमा दसैँमा गृहथलो फर्किन लागेका परदेशी र उनलाई घरमा पर्खिरहेका स्वजनको सम्वाद छ ।

परदेशी भन्छन् –
‘मनमा खुसी उमंग छाउँदैछु
पाँच वर्षपछि म नेपाल आउँदैछु
आयो है दसैँ आयो
नाच्न र गाउन रमाउन मन लाग्यो…।’

घरमा रहेकी उनकी जीवनसाथी भन्छिन् –

‘भित्ताको पात्रो फेरेको फेरै छु
तिम्रै मूलबाटो हेरेको हेरै छु
आयो है दसैँ आयो
नाच्न र गाउन रमाउन मन लाग्या…।’

वर्षौँपछि दसैँमा घर फिरेका परदेशीको खुसी एकातिर, अर्कातिर दसैँमा घर आउन नपाएकाको पीडा । गायक ऋषि खड्का र गायिका तुलसी विकको दसैंगीत ‘परदेशी हरायो’ले यही भनिरहेको छ । दसैँमा घर आउन नपाउँदा परदेशीको मन यसरी कुँडिन्छ –

‘तिम्रो जुनी फेर्नु थ्यो त्यस्तै भो
यो साल पनि आइन घर यस्तै भो
दशैँ आयो तिहारै आयो
परदेशी हरायो…।’

दसैँका बेला परदेशीको पखाईको पीडा गीतमा यसरी पोखिन्छ –

‘प्यारा तिमी हङकङ मलाय
यता घर जमारा पलाए
दशैँ आयो तिहारै आयो..।‘

गायक हेमन्त शर्मा र गायिका मेलिना राईको ‘आउँथ्यो दसैँ आउन त पहिले नि…’ गीतलाई पनि दर्शक/स्रोताले रुचाएका छन् । नौ दिनअघि सार्वजनिक उक्त गीतको चलदृश्यलाई युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको छ ।

युट्युबमा सबैभन्दा धेरै हेरिएकोमध्ये उक्त गीत दोस्रो स्थानमा पर्न सफल भएको छ । गायक ईश्वर सिंह र गायिका सुनिता बुढा क्षेत्रीले दसैँगीत ‘हाँसे पुग्छ, बोले पुग्छ…’ ल्याएका छन् ।

गायक बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, पशुपति शर्मा र गायिका समीक्षा अधिकारीले गाएको दसैँगीत ‘शुभकामना दसैँको…’ केही दिनअघि सार्वजनिक भएको छ । अधिकांश दसैँगीतले आजको नेपाली समाजको मनोदशालाई समेटेका छन् ।

‘सम्झाना गाउँघर…’ गीतमा गायक अमृत बराल र गायिका रञ्जिता विश्वकर्माले झैँ –
‘कोही घरदेशमा कोही परदेशमा भइयो टाढा–टाढा
जहाँ छौँ हामी त्यही बसेर मनाऔँ चाडबाड
आइहाल्यो चाडबाडको लर्को
आइहाल्यो सम्झना गाउँघरको…।‘

https://youtube.com/watch?v=pu6_ZRTdhvI%3Fsi%3D9wSPKOJS8lel1WIV

काठमाडौं उपत्यकामा चाडपर्व लक्षित प्रहरीको सुरक्षा योजना: १४ क्षेत्रमा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन

काठमाडौँ । काठमाडौँ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार  पत्रकार सम्मेलन गरी दशैँ, तिहार र छठ पर्व लक्षित गरी सुरक्षा योजना सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले चाडपर्वलक्षित सुरक्षाका क्षेत्रहरू पहिचान गरेको उल्लेख गर्दै जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने बताएका छन् ।

उनले भने, ‘जनमानसमा सुरक्षाकर्मीको सहज पहुँच तथा सर्वसुलभताको वातावरण तयार गर्ने अपराधको न्यूनीकरण गर्ने, अपराधीलाई कारबाहीको दायारामा ल्याउने, साधन स्रोतको दुरुस्त तथा प्रभावकारी तरिकाले परिचालन गर्ने उद्देश्य छ । हाम्रो लक्ष्यमा दशैँ, तिहार र छठ पर्वमा शान्ति–सुरक्षालाई सुदृढ तुल्याइ काठमाडौँ उपत्यकाको जीवनलाई सहज र सरल बनाउने लक्ष्य हो ।’

चाडवाडमा लुटपाट, चोरीडकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली, बजारमा वस्तुको कृत्रिम अभाव जस्ता अपराध हुनसक्ने प्रहरीको आँकलन छ । यस्ता अपराधिक घटनाहरू न्यूनीकरणका लागि उपत्यकामा तीन हजार सात सय ६५ जना प्रहरी परिचालन गरिने रजौरेले बताए ।

सम्भावित अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा क्षेत्रमा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन, २ रुटमा लङ रेन्ज गस्ती, ४२ रुटमा सर्ट रेन्ज गस्ती गरिने परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

त्यस्तै ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको प्रहरीले जनाएको छ । सूचना संकलनको रुपमा सादा पोशाकका ३८ वटा टोली बनाएर परिचालन गरिने प्रहरीले जनाएको छ ।

सिल एण्ड सर्च र कर्डन सर्चको रुपमा २८ टोली खटाइने छ । २२ ठाउँमा एम्बुसिङ चेकिङ गर्ने प्रहरीको तयारी छ । नाकाहरुमा हरेक दिन कुकुर पनि परिचालन गरिने, पर्चा पम्प्लेटमार्फत जनचेतना गर्ने प्रहरीको तयारी छ ।

कलंकी, बल्खु सून्धारा, पूरानो बसपार्क, गोंगबु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, हल्चोकलगायत १२ स्थानमा यात्रु सहायता कक्ष खडा गरिने प्रवक्ता अधिकारील बताए । त्यसैगरी ड्रोन क्यामेरामार्फत पनि सर्भिलेन्स गरेर निगरानी गरिने प्रहरीले जनाएको छ । कुनै घटना भइहालेमा ५ देखि १० मिनेटभित्र प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा.राणाले बिहीबार सम्पन्न एशियाली कोअपरेसन डायलग (एसिडी) मा संलग्न देशहरूका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राखेकी हुन् । 

बैठकमा उनले भनिन्, ‘हामीहरू अहिले विश्वमा सबैभन्दा बढी समस्यामा रहेका छौँ । एकातर्फ हाम्रो साझा घर पृथ्वीले जलवायु परिवर्तनको असरका कारण दिनप्रतिदिन नसोचिएको समस्या झेलिरहेको छ । हिमालहरू पग्लिने क्रम तीव्र बन्दैछ । हिमताल फुटेर कहाँ कतिबेला बाढी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढेको छ । मानवनिर्मित विकासका संरचना तथा पूर्वाधारसमेत भत्किँदै छन् । असमयमै बाढीको प्रकोप बढ्दै गएको छ । मानवीय सभ्यताको विनाश सुरु भएको त होइन भन्ने त्रास देखिँदैछ ।’


यस्ता समस्याबाट नेपालजस्ता विकासशील राष्ट्रहरू, भूपरिवेष्टित राष्ट्रहरू तथा विश्वका अतिकम विकसित राष्ट्रहरू बढी मारमा परिरहेका मन्त्री डा.राणाको भनाइ थियो । त्यसैले यी देशहरूलाई सहयोगको बढी खाँचो परिरहेकाले ‘क्लाइमेट जस्टिस’ का लागि ‘क्लाइमेट फाइनान्सिङ’ आवश्यक रहेको उनले बताइन्। यस्तो समस्यामा परेका देशहरूलाई दिगो विकासका लागि सहयोग बढाउन मन्त्री राणाले आग्रह गरिन् ।

उनले भनिन्, ‘एकातर्फ प्राकृतिक विपत्तिमा छौँ भने अर्कातर्फ अहिले पनि विश्वका विभिन्न ठाउँमा मानव सिर्जित हिंसा र द्वन्द्वको सिकार बनिरहेका छौँ । विभिन्न नाम र बहानामा बढ्दो हिंसा तथा द्वन्द्वले सिङ्गो मानवतालाई नै क्षति गरिरहेको छ । जसको परिणामस्वरुप देशहरू र मानिसबीचमै आर्थिक, प्राविधिक असमानता तथा ‘डिजिटल डिभाइड’ को अवस्था सिर्जना भइरहेको छ ।’

यस्तो अवस्थामा एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली देश र जनताबीचको सहकार्यको खाँचो अझ बढी महसुस भइरहेको उनले बताइन् ।

मन्त्री डा। राणाले एशियाली देशहरूले यस्ता समस्यासँग जुध्न कस्तो रणनीति बनाएर कसरी अगाडि बढ्ने र सबै किसिमका समस्याको सामना गर्ने भन्नेबारेमा सोच्नुपर्नेमा पनि जोड दिइन् ।

‘हामी एशियालीहरुको दृष्टिकोण, प्रयास र प्रतिबद्धता एशिया र विश्वका चुनौतीहरूको सामना गर्ने माध्यम बन्न सकोस् । हामी जसरी प्राचीन सभ्यताका धनी छौँ, त्यसैगरी समग्र वैश्विक समस्याको समाधानमा पनि हाम्रो अग्रसरता अर्थपूर्ण बन्न सकोस् ।’

उनले एशिया बहु संस्कृति, ज्ञान तथा प्राचीन सभ्यताको सम्पन्न भूमि रहेकाले हाल विश्वमा देखापरिरहेको मानवताको सङ्कटको निकासका लागि पनि एशियाले भूमिका निर्वाह गर्न सक्ने बताइन् ।

त्यसैगरी बिहीबार नै परराष्ट्रमन्त्री डा.राणाले राष्ट्रसङ्घीय शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई पनि सम्बोधन गरिन् । त्यसक्रममा उनले नेपालले द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको कामलाई निष्कर्षमा पु¥याउने अन्तिम तयारी गरिरहेको जानकारी दिइन् ।

नेपालको संसद्ले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेको र सो कानुन पीडितमैत्री रहेको जानकारी दिँदै उनले अब नेपालले शान्ति स्थापनाका बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने बताइन् ।

मन्त्री डा राणाले भनिन्, ‘हुन त वर्तमान विश्वमा शान्ति स्थापनाको काम जटिल बन्दै गएको छ, तर पनि हामीले आन्तरिक रूपमा गरेको शान्ति स्थापनाको काम विश्वका लागि उदाहरण बन्न सक्दछ । किनभने हामीले समयमै यो जटिल कामलाई सम्पन्न गर्न सकेका छौँ ।’

मन्त्री डा.राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रूपमा सुरक्षा परिषद्, महासभा र इस्कोसजस्ता निकायसँग साझेदारी गरेर अगाडि बढ्नुपर्ने सुझाव बैठकमा दिइन् ।

नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री  राणाले सकारात्मक सोच र व्यवहार तथा सांस्कृतिक मूल्यमान्यताहरूको सम्मान र पालनाबाट नै शान्तिपूर्ण र हिंसारहित समाज निर्माण गर्न सकिन्छ भनेर सबै लाग्नुपर्ने बताइन् । बिहीबार नै परराष्ट्रमन्त्री डा.राणाले अतिकम विकसित देश (एलडिसी)का विदेशमन्त्रीहरूको वार्षिक बैठकको अध्यक्षता गरिन् । नेपाल हाल एलडिसीको अध्यक्ष छ ।

न्युयोर्कमा आयोजित  बैठकलाई सम्बोधन गर्दै राणाले एलडिसी देशहरूलाई दिगो विकासका लक्ष्य हासिल गर्ने प्रयोजनार्थ थप र अतिरिक्त सहयोगको खाँचो औँल्याइन्। विश्वका यी देशहरूले पछिल्लो समय धेरै समस्या झेलिरहेका दृष्टान्त मन्त्री डा राणाले पेस गरिन् ।

उनले भनिन्, ‘नेपालसहितका यी देशहरूले महामारी, भू-राजनीतिक तनाव, द्वन्द्व र जलवायु परिवर्तनका कारण बहुआयामिक चुनौतीको सामना गर्नु परिरहेको छ । साथै दिगो विकासको एजेण्डा २०३० का लक्ष्य हासिल गर्न विविध अवरोधको सामना गर्नु परिरहेको छ ।’

बैठकमा मन्त्री डा.राणाले ग्लोबल समन्वय ब्युरोको नेतृत्व नेपाललाई दिएकामा विश्व समुदायलाई धन्यवाद दिँदै यी अल्पविकसित देशहरूको उत्पादन र उत्पादकत्व क्षमताको वृद्धि गरी क्षेत्रीय र विश्व बजारमा पहुँचका लागि सहयोग गर्न आग्रह गरिन् ।