`

बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन

बेइजिङ । चीनले बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने प्रयास गरेको छ । 

चीनको केन्द्रीय बैंकले घोषणा गरेको यो कदम राष्ट्रपति सी चिनफिङसहित शीर्ष अधिकारीहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा ‘नयाँ समस्याहरू’ भएको स्वीकार गरेको एक दिनपछि आएको हो । 

बेइजिङले यो साता आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिन विभिन्न उपाय घोषणा गरेको छ । यसका लागि उसले यस वर्ष पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ । विश्लेषकहरूले धेरै प्रतिकूल परिस्थितिहरूलाई हेर्दा यो लक्ष्य अत्यन्त आशावादी भएको बताएका छन् ।

सत्तारूढ कम्युनिस्ट पार्टीले बिहीबार ‘वर्तमान आर्थिक स्थितिको विश्लेषण र अध्ययन’ गर्न आफ्नो शीर्ष निकाय पोलिटब्युरोको बैठक बोलायो । 

बेइजिङले शुक्रबार सात दिने रिभर्स रेपो दरमा पनि कटौती गर्यो । यो व्यापारिक ऋणदाताहरूबाट लिइने ऋणमा केन्द्रीय बैंकले तिर्ने अल्पकालीन ब्याज हो । 

केन्द्रीय बैंकले प्रमुख दरलाई एक दशमलव सात प्रतिशतबाट घटाएर एक दशमलव पाँच प्रतिशत बनाएको घोषणा गर्यो । 

रियल स्टेट क्षेत्रमा लामो समयदेखि चलिरहेको ऋण सङ्कट, सुस्त घरेलु उपभोग र उच्च युवा बेरोजगारीका कारण चीनमा विकासमा गिरावट आइरहेको छ । 

“अर्थतन्त्रको विद्यमान अवस्थामा केही नयाँ परिस्थिति र समस्या देखा परेका छन्”, सिन्ह्वा समाचार समितिले बिहीबारको पोलिटब्युरो बैठकपछि भनेको छ, “हामीले वर्तमान आर्थिक अवस्थालाई व्यापक, वस्तुनिष्ठ र शान्त रूपमा हेर्नुपर्छ, कठिनाइहरूको सामना गर्नुपर्छ र आत्मविश्वास बढाउनुपर्छ ।”

पोलिटब्युरोका सदस्यहरूले अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नीतिगत उपायहरूको केन्द्रीयता र प्रभावकारितामा थप सुधार गर्न’ आवश्यक रहेको कुरामा सहमति जनाए । 

प्रमुख दर कटौती र आवास खरिदलाई प्रोत्साहित गर्ने नीतिहरू समावेशसहितका बेइजिङले घोषणा गरेका विभिन्न उपायलाई लगानीकर्ताहरूले स्वागत गरेका छन् । साङ्घाई र हङकङका सेयरहरूमा यस साता हालसम्म नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

विश्लेषकहरूले नेताहरूले पाँच प्रतिशत वृद्धि लक्ष्य हासिल गर्न अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको तर हालैका घोषणाहरूले उनीहरू अझै साहसी कदमहरू चाल्न तयार हुँदै गएको हुनसक्ने बताएका छन् । 

“बेइजिङ अन्ततः आफ्नो बाजुका प्रोत्साहन कार्यक्रम सुरु गर्न दृढ देखिन्छ”, नोमुराका प्रमुख चीन अर्थशास्त्री टिङ लूले भने, “अर्थतन्त्रको गम्भीर स्थितिको बेइजिङको स्वीकारोक्ति र टुक्रामा विभक्त दृष्टिकोणमा सफलता नभएको कुरालाई बजारले महत्त्व दिनुपर्छ ।”

यसैबीच अधिकारीहरूले मुलुकका ठूला सरकारी बैंकहरूमा एक खर्ब ४० अर्ब डलरभन्दा बढी लगानी गर्नेबारे विचार गरिरहेको ब्लुमबर्गले बताएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटपछि यस प्रकारको पहिलो ठूलो पूँजी लगानी हुनेछ । 

व्यवसायहरूलाई ऋण दिन बैंकहरूलाई अझ बढी क्षमता प्रदान गर्ने उद्देश्यसहितको यो उपाय विशेषगरी ‘नयाँ विशेष सार्वभौम बन्ड’ जारी गरेर कार्यान्वयन गरिने बताइएको छ । यद्यपि विवरणलाई अहिलेसम्म अन्तिम रूप दिइएको छैन ।

पाकिस्तानको कुर्रम जिल्लामा सुन्नी र शिया सम्प्रदायबीच झडप, ३७ को मृत्यु

पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको छ । झडपका घटनामा १५० भन्दाबढी घाइते भएका छन् ।

पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा इस्लामको सुन्नी र शिया सम्प्रदायसँग सम्बन्धित जनजातिबीच रक्तपातपूर्ण मुठभेड हुनेगरेको छ । यहाँ वर्षौंदेखिको जातीय लडाईंका कारण सयौँले ज्यान गुमाएका छन् ।

जुलाईमा भएको झडपमा ३५ जनाको मृत्यु भएको थियो र जिरगा (आदिवासी सङ्गठन) ले युद्धविरामको आह्वान गरेपछि मात्र समाप्त भएको थियो।

कुर्रममा तैनाथ एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई बताएअनुसार सुरक्षा बल र स्थानीयले सहमतिका लागि गरेको प्रयासका बावजुद जिल्लाका १० क्षेत्रमा सशस्त्र भिडन्त जारी छ ।

उनले भने, ‘भूमि विवादको रूपमा सुरु भएको घटना पूर्ण साम्प्रदायिक झडपमा परिणत भएको छ जसमा स्वचालित र अर्ध–स्वचालित हतियारका साथै मोर्टारको प्रयोग पनि भएको छ।’

उनका अनुसार ३७ जनाको मृत्यु भएको छ भने १५३ जना घाइते भएका छन् । प्रान्तीय राजधानी पेशावरमा तैनाथ सुरक्षा अधिकारीले झडपका क्रममा २८ घरमा क्षति पुगेको बताए ।

पाकिस्तानमा आदिवासी र पारिवारिक कलहका घटनामा हरेक बर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।

तथापि, खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रमा जातीय द्वन्द्व विशेष गरी लामो र हिंस्रक हुने गर्छन् । यहाँ समुदायहरूले परम्परागत आदिवासीका स्थानीय नियम र कानुनलाई पालना गर्छन्।

सुन्नी मुस्लिम बहुल देश पाकिस्तानमा शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको छ ।

देश विकासलाई गति दिन संविधान संशोधन: मन्त्री दाहाल

मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे ।

उनले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर ल्याउने, समानुपातिक व्यवस्था व्यवस्थित गर्ने सम्बन्धमा दलहरुबीच छलफल भइरहेको जानकारी दिए।

मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेको अधिकार कुनै हालतमा नखोसिने दाबी गरे। उनले भने, ‘संविधान संशोधनमा जनताले थप अधिकारहरू प्राप्त गर्नेछन् ।’

उनले देशव्यापी रुपमा सङ्घीय मन्त्रालयअन्तर्गतका चार हजार पाँच सय किमी सडकका खाडल पुर्ने काम सुरु गरेको तर मौसमले समस्या भएको बताए । मन्त्री दाहालले आज विराटनगरस्थित रेल्वे, हुलाकी सडक, पुलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

बिपी राजमार्ग एकतर्फी सञ्चालन

काभ्रे । बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

लेदो आउनेक्रम जारी रहेकाले सवारीसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोशी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा कोशी प्रदेशका केही स्थानमा धरै भारी वर्षा भएको जनाएको छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मध्यम वर्षा मापन भएको छ ।

हाल देशभर अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको र आगामी २४ घण्टाका लागि देशभरनै मनसुन सक्रिय रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी देखि अतिभारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार पनि वृद्धि भएको छ । तोलामा  पाँच सय रुपैयाँले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला  एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि  एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला  एक हजार नौ सय ५५ मूल्य रुपैयाँ निर्धारण गरेको छ । 

मनास्लु क्षेत्रमा हेलिकोप्टर उडानलाई सहज बनाउन गृहले बनायो कार्यदल

काठमाडौं । गृह मन्त्रालयले गोरखाको मनास्लु क्षेत्रका  बासिन्दाको माग सम्बोधन गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयले उपसचिव बन्दना राईको संयोजकत्वमासात सदस्यीय कार्यदल गठन गरेको हो ।

मनास्लु क्षेत्रमा हेलिकप्टर अवतरणमा स्थानीय बासिन्दाले अवरोध गरेपछि उनीहरुसँग छलफल गरी माग सम्बोधन गर्न कार्यदल गठन गरिएको हो । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका बासिन्दाले आमभेला गरी हेलिकप्टर उडानमा सरकारले सहज बनाउनुपर्नेलगायत माग राखेका थिए ।

आफूहरुको मागमा सरकार सकारात्मक नदेखिएको भन्दै उनीहरूले बुधबार र बिहीबार सामागाउँका हेलिप्याडमा ढुंगा राखेर हेलिकप्टर अवतरणमा अवरोध गरेका थिए ।

त्यसपछि गृहले कार्यदल गठन गरेको हो । मनास्लु निषेधित क्षेत्र भएकोले स्थानीय बासिन्दाले हेलिकप्टर चार्टर गर्नुपर्दा प्रक्रियागत झन्झट व्यहोर्नु परेको र हेलिकप्टर मगाउने प्रक्रियामा गर्दागर्दै विरामीको मृत्यु हुने गरेको उनीहरुको भनार्ई छ ।

स्थानीयबासीले उत्तरी गोरखाको मनास्लु क्षेत्रलाई हेलिकोप्टर निषेधित क्षेत्र बनाउने चेतावनी दिएका छन् । हेलिकोप्टर चार्टरको प्रक्रिया एकहप्ता लाग्ने गरी ज्यादै झञ्झटिलो भएको भन्दै उनीहरुले यदि प्रक्रिया सहज नबनाए सो क्षेत्रलाई हेली निषेधित क्षेत्र बनाउने चेतावनी दिएका हुन् ।

आफ्नो पैसा खर्च गरेर यातायातको साधन प्रयोग गर्छु भन्दा पनि रोक्नु दुर्गम भेगका बासिन्दालाई सरकारले अन्याय गरेको गाउँलेको भनाई छ ।

उडान गर्नुपर्ने अवस्थामा सम्बन्धित क्षेत्रको स्थानीय प्रहरीको सिफारिसमा जाँच गरी तत्काल उद्धार हुनुपर्ने व्यवस्था मिलाउन यसअघि जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र पेश गरेका थिए । जिल्ला प्रशासन कार्यालयले सो व्यहोरा खुलाई सहजिकरण गराइदिन गृहमन्त्रालयमा पत्राचार गरेको थियो । पाँचदिन पूरा भइसक्दा पनि आफ्नो माग पूरा नभएको भन्दै स्थानीयबासीले हेलिप्याडमा अबरोध सिर्जना गरिरहेका छन् ।

मनास्लु क्षेत्रलाई दशकौँदेखि निषेधित क्षेत्र घोषणा गरेर विभिन्न निकायले पर्यटकसँग बिभिन्न शीर्षकमा शुल्क उठाएर हैरान पार्ने गरेकोप्रति पनि स्थानीयले विरोध गर्दै आएका छन् ।

इजरायलले हिज्बुल्लाहविरुद्ध हमला जारी राख्ने

बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेना सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध पूर्ण शक्ति लगाएर लड्ने काम जारी राख्ने बताएका छन् ।

अमेरिका र अन्य साझेदार देशबाट युद्धविरामका लागि आह्वान भइरहँदा नेतन्याहूको त्यस्तो भनाइ आएको हो । लेबननको स्वास्थ्यमन्त्रालयले बिहीबार इजरायली हवाई हमलाका कारण कम्तीमा ९२ जना मारिएका जनाएको छ ।

अवस्था चर्कन थालेपछि सोमबारयता लेबननमा अन्य सयौँ जनाले ज्यान गुमाएका छन् । बेइरुतको दक्षिणमा पर्ने अपार्टमेन्टमा भएको एक हमलामा परेर हिज्बुल्लाहको ड्रोन एकाई प्रमुख मोहम्मद सुरुर मारिएको उक्त समूहले जनाएको छ ।

सोमबारयता नाटकीय रूपमा लेबननमा इजरायली हमला चर्किएसँगै इजरायल र हिज्बुल्लाहबीच पूर्ण आकारको युद्ध हुने चर्चा यतिखेर उत्कर्षमा छ । शत्रुता गहिरिँदै जाँदा अमेरिका, बेलायत र युरोपेली सङ्घ ईयूसहितका १२ शक्तिहरूले तीन साता लामो इजरायल–हिज्बुल्लाह युद्ध विरामको प्रस्ताव गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका लागि इजरायली राजदूतले यसअघि आफ्नो देश विभिन्न ‘विचारका लागि खुला’ रहेको बताउँदा धेरैलाई आशावादी बनाएको थियो ।

तर बिहीबारसम्ममा त्यसलाई इजरायली राजनीतिज्ञहरूले पूर्ण रूपमा अस्वीकार गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय महासभाका लागि न्यूयोर्कमा अवतरण गरे लगत्तै नेतन्याहूले आफ्ना सबै लक्ष्य हासिल नहुँदासम्म इजरायल लेबननमा ‘नरोकिने’ बताएका थिए ।

गाजा युद्ध सुरु भएयता झन्डै एक वर्षदेखि इजरायल र हिज्बुल्लाहबीच सीमापार हमला हुँदै आएको छ। जसका कारण एक वर्षयता उत्तरी इजरायलबाट ७० हजार मानिसहरू विस्थापित छन् ।

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

ललितपुर । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ ।

सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुनै समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्धार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले बताए ।

तपुपोखरी संरक्षण र व्यवस्थित गर्न बजेट अभाव भएको बताउँदै उनले जीर्णोद्धारका लागि ललितपुर महानगरपालिकाले २४ लाख प्रदान गरेको जानकारी दिए। उक्त रकम पर्याप्त नभएको उनले बताए।

केही वर्षअघि टीकाभैरवबाट बग्ने राजकुलोको पानीले भरिने तपुपोखरी, राजकुलो सुकेपछि अहिले आकाशे पानीले भरिने गर्छ । पिण्ड विसजर्नका लागि पानी आवश्यक पर्ने भएकाले कुमारी क्लब उपभोक्ता समितिले पानीको व्यवस्था गर्दै आएको छ ।

बाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका प्रधानमन्त्री ओली राष्ट्रपति बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका हुन् ।

समारोहमा प्रधानमन्त्री ओलीसहित पत्नी राधिका शाक्य पनि सहभागी थिइन् । प्रधानमन्त्री ओली शनिबार स्वदेश फर्किने तालिका रहेको छ ।

प्रधानमन्त्रीलाई चिनियाँ विदेशमन्त्री वाङको आश्वासनः नेपालको समृद्धिको यात्रामा सक्दो सघाउँछौं

न्युयोर्क (अमेरिका) ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा बिहीबार शिष्टाचार भेट गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गरे ।

विदेशमन्त्री वाङ चीनको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिँदैछन्  । 

नेपालको समृद्धि र विकासका लागि चिनियाँ सहयोग महत्त्वपूर्ण हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा थप सहकार्य गर्नुपर्नेमा जोड दिए । 

चीनका विदेशमन्त्री वाङले नेपाल–चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताए ।

न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले विभिन्न मित्रराष्ट्रका सरकार प्रमुख तथा अन्तर्राष्ट्रिय निकायका प्रमुख र प्रतिनिधिसँग भेटवार्ता गरिरहनुभएको छ । प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार आजै साँझ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

हिमाल र चौँरी

मुस्ताङको थासाङ गाउँपालिका–२ को बुकी पाटनमा धौलागिरी हिमशृङ्खलाको फेदीमा चरनक्षेत्रमा रहेका चौँरीहरु । यहाँ परम्परागत रुपमा गोठ राखेर चौँरीपालन हुँदै आएको छ ।

तस्बिर : कमल खत्री / रासस

फिल्म ‘नरसिंहाः अवतार’को शुभमुहूर्त

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको एनएफडीसी स्टुडियो बालाजुमा फिल्मको मुहूर्त गरिएको हो ।

एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।

शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

महानायक हमालले यो फिल्मको स्टोरी आफूले सोचेकोभन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुनः फिल्ममा फर्किएको बताए ।

आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवरलगायतको अभिनय रहनेछ ।

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार धरौटीमा रिहा

पोखरा । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा पक्राउ परेका श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका हुन् ।भदौ २७ गते पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बिहीबार धरौटीमा छाड्न आदेश दिएको हो । श्रेष्ठ धरौटी बुझाएर रिहा भएका छन् ।

लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका–४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको थियो ।

थापासँग प्रहरीले सोधपुछ गर्दा उक्त ट्याबलेट पोखरा महानगरपालिका –९ पृथ्वीचोकमा रहेको श्रेष्ठको दिया फार्मेसीबाट खरिद गरिएको बयान दिएपछि त्यही बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।

के रवि जेल जाँदैछन् ?

मोनिका सिंह ।
सायद आज फर्किएर सोच्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोस्रो पटक सरकारमा गएर गल्ती गरिएछ कि झैं लागिरहेको होला । किनभने दोस्रो पटक गृहमन्त्री हुनु उनका लागि प्रत्याउत्पादक मात्र भएको छैन, आत्मघाती नै हुने सम्भावना बढेर गएको छ । पहिलोपटक सरकारबाट बाहिरिँदा खासै केही काम नगरेपनि काम गर्न नपाएको र अदालतले पदबाट निकालेको निहुँमा उनले आमजनताबाट सहानुभूति नै बटुलेका थिए जसको बलमा दोस्रोपटक लोकप्रिय मतसहित संसद प्रव्रेश गरेका थिए । राहदानी दुरूपयोग जस्तो संवेदनसील मुद्दा र व्यक्तिगत जीवनका गम्भिर नैतिक प्रश्नका बाबजुद पनि सामाजिक संजालमा उनको पक्षमा व्यापक समर्थन देखिन्थ्यो ।

उनको बारेमा आउने कुनै पनि समाचारमा न्ययम Good luck Rabi dai लेखिएका कमेन्टहरूको ओइरो लाग्थ्यो भने उनलाई आलोचना गर्ने जोसुकैलाई Harass हुनेगरि troll गरिन्थ्यो । तर आज परिस्थिति बदलिएको छ । अहिले उनका बारे लेखिने समाचारमा फाट्टफुट्ट बाहेक Good luck Rabi dai देखिँदैन । उल्टै उनको तिखो आलोचना गरिएको भेटिन्छ । सामाजिक संजालकै बलमा उदाएका रवि लामिछानेका लागि यो पक्कै पनि सुखद संकेत होइन । पुराना पार्टी र नेताहरू नैतिकहीन र भ्रष्ट भएको आरोप लगाएर उदाएका लामिछानेलाइ अहिले थुप्रैले ठगको उपमा भिराएका छन् ।

यसरी सामाजिक संजालमा उनको लोकप्रियताको ग्राफ ओरालो लाग्नुमा उनको दोस्रो पटकको सत्ता यात्राले महत्वपूर्ण भूमिका नै खेल्यो । हुन त त्यही सहकारी ठगीको मुद्दाबाट बच्न लामिछाने सरकारमा गएको भन्नेको पनि कमि छैन । कमसल काम गरिरहको तत्कालिन प्रचण्ड सरकारमा जादा अलोकप्रिय भइने कुरा लामिछाने जत्तिका चतुर राजनीतिक खेलाडीलाइ थाहा नहुने कुरा पनि भएन ।

जे भएपनि यदि उनले कांग्रेसलाई गलहत्याएर पुनर्गठन भएको प्रचण्ड नेतृत्वको सरकारमा एमालेसँगै नगएको भए अहिलेको परिस्थिति नआउन पनि सक्थ्यो । सरकारबाट नबाहिरिएको भए कांग्रेसले सहकारी ठगीको मुद्दा संसदमा उठाउने थिएन र सहकारी बचत संसदीय विशेष छानबिन समिति गठन नै हुने थिएन । धेरै रस्काकस्सीबीच सूर्य थापाको नेतृत्वमा यो समिति गठन हुँदा रवि लामिछानेलाई लागेको हुँदो हो सत्ताधारी दलको बहुमत भएको समितिले उनलाई सफाइ नै दिने छ । तर समितिले काम सकाउँदा उनी प्रतिपक्षमा हुत्तिसकेका थिए र तथ्य प्रमाण उनको पक्षमा थिएन ।

आफ्नो प्रतिवेदनमा समितिले उनलाई कारबाहीको लागि सिफारिस गरेको छ । अझ गजब त के छ भने त्यो सिफारिसमा उनकै पार्टीका सांसदको समेत हस्ताक्षर छ । यस कारबाहीको सिफारिस अगावै उनका निकटतम् विश्वासपात्र रास्वपाका तत्कालिन महामन्त्री डा. मुकुल ढकालले उनले प्रधानमन्त्री हुन भारतलाई गुहारेको लगायतका थुप्रै गम्भीर आरोप लगाएका थिए। त्यसक्रममा तिव्र विवाद हुँदा डा. मुकुल ढकाल महामन्त्रीबाट निष्कासित हुनपुगे । मुकुलका आरोपले धुमिलिएको रविको छविलाई सहकारी विशेष छानबिन समितिको सिफारिसले सकाइ नै पो दिने हो कि भन्ने अड्कल भइरहेको छ ।

गोर्खा मिडियामा रविका साझेदार रहेका पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेसँगै रवि अत्तालिएको देखिन्छन् जसका कारण उनले रातारात पार्टी कार्यालयमा मान्छे थुपारेका थिए । पहिले दलहरूले अदालतकाविरूद शक्ति प्रदर्शन गरे भनेर तिखो आलोचना गर्ने रवि अहिले आफैं कार्यकर्ता जम्मा गरेर शक्ति प्रदर्शन गर्न अग्रसर भएका छन् । यस घटनाले सम्पूर्ण राष्टिय स्वतन्त्र पार्टी नै कति विचलित भएको छ भन्ने त पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमणमा गएको भ्रमण दल भ्रमण छोट्टयाएर फर्किएकोबाट बुझ्न सकिन्छ ।

उनको यो काण्डले तुलनात्मक रूपमा स्वच्छ छवि भएका भनिएका रास्वपाका धेरै नेता कार्यकर्ताको आलोचनात्मक चेत तथा राजनीतिक नैतिकतामै प्रश्न उठाएको छ । पढेलेखेका भनिएका उपसभापति डा. स्वर्णिम वाग्लेले रविले क्लिन चिट पाएको प्रतिक्रिया दिँदा उनको सामाजिक संजालमा troll भएको थियो । सहकारी काण्डले रविको राजनीतिक भविष्यमाथि कालो बादल मडारेको छ । अब यो सहकारी काण्डले कुन मोड लिने हो ? रवि जेल जान्छन् वा जादैनन् ? अहिलेका लागि यी सबै प्रश्नको उत्तर थाहा पाउन प्रधानमन्त्री ओलीको स्वदेश आगमनलाई पर्खिन पर्ने भएको छ ।

कोसी ब्यारेजबाट खस्यो बस

विराटनगर । कोसी ब्यारेजको पुलबाट यात्रु बस खसेको छ । बिहीबार साँझ को १ ख ४६०१ नम्बरको यात्रु बस ब्यारेजबाट नदीमा खसेको हो ।

प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार, विराटनगरबाट सप्तरी जाँदै गरेको बस कोसीमा खसेको हो । नदीबाट ११ जनाको उद्धार गरिएको छ । उनीहरूको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ । बसमा सवार यात्रुको संख्या यकिन हुन बाँकी छ ।

भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौंः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्ने बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले थालेको सुशासनको अभियान सदन र सडकबाट छेड्ने बताएका हुन् ।

उनले भने, ‘सरकारमा हुँदा थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं । भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ ।’

अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए ।

उनले संविधानसभाबाट प्राप्त उपलब्धिलाई खोस्ने षड्यन्त्र भएको त्यसको प्रतिवाद गर्ने बताए । उनले भने, ‘ हिजो संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौं । अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौं, त्यसका लागि तपाईं विद्यार्थीहरु तयार हुनुहोला ।’

उनले पार्टी एकताबारे चाँडै नै नयाँ समाचार सुन्न पाइने बताए । उनले भने, ‘हामी समाजवादी मोर्चालाई बलियो बनाउने,कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा छौं । मलाई विश्वास छ केही समयभित्र नै केही नयाँ समाचार सुन्नुहुनेछ । एकताको र मोर्चाको अभियानमा लागिरहेका छौं । सम्मेलनले त्यो मोर्चामा आवश्यक नीति,योजना र कार्यक्रम गर्नेछ ।’

अग्नि सापकोटाविरुद्धको मुद्दामा काभ्रे प्रहरीबाट सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख अग्नि सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गरी दायर भएको रिटमा सक्कल फाइलसहित उपस्थित हुन जिल्ला प्रहरी कार्यालय काभ्रेलाई आदेश दिएको छ ।

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्ययाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले सक्कल फाइलसहित उपस्थित हुन आदेश दिएको हो ।

सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए ।

आदेशमा भनिएको छ, ‘हालसम्म अनुसन्धानको कारबाही सम्पन्न भयो भएन ? नभएको भए के कारणबाट हुन नसकेको हो ? साथै, यस सन्दर्भमा पूर्वादेशअनुसार नियमित रूपमा प्रगति प्रतिवेदन प्राप्त हुन आएको भन्ने पनि मिसिलबाट देखिएन । त्यसकारण सम्पूर्ण विवरण खोली विपक्षी जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकबाट जाहेरी दरखास्त र सोसम्बन्धमा हालसम्म भएको काम कारबाहीसम्बन्धी सक्कलै फाइल पेसीको दिन देखाई फिर्ता लैजाने गरी झिकाई आएपछि लगाउनका निवेदनहरूसमेत साथै राखी नियमानुसार पेस गर्नू ।’

३२ अंकले घट्यो नेप्से

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ । 

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३४ अङ्कले ओरालो लागेर सात सय ४७ दशमलव ४५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कूल एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता शेयर रु चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० मूल्यमा खरिद बिक्री भएको छ । 

नेप्सेका अनुसार विन नेपाल लघुवित्त नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु पाँच दशमलव शून्य छ, एसबिएल डिवेञ्चर पाँच दशमलव शून्य पाँच, एनआइसी एसिया डिवेञ्चर चार दशमलव ५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले चार दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् । 

ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर सात दशमलव ६९, अपि पावर कम्पनी सात दशमलव ४६, थ्री स्टार हाइड्रोपावर छ दशमलव ७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ६७ प्रतिशतले गुमाएका छन् । 

दुई दिन रात्री बस नचलाउन आग्रह

काठमाडौं । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई दिन रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेकाले हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक भएको बताएका छन् ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)द्वारा बिहीबार राजधानीमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको जानकारी दिए ।

उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधिक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकामा जोड दिए।

संविधानले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई सङ्घ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचिकृत गर्दै तीनवटै तहका सरकारको समन्वय तथा सहकार्यमा अगाडि बढ्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले संविधानले विपद् व्यवस्थापनका सन्दर्भमा स्थानीय तहहरुलाई विशेष जिम्मेवारी प्रदान गरेको र सो अनुसार तीनवटै सरकारले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए ।

‘विपद व्यवस्थापनका क्षेत्रमा सरकारी क्षेत्रका साथै गैरसरकारी क्षेत्रअन्तर्गतका विभिन्न सङ्घ, संस्थाहरूले समेत आ–आफ्नो भूमिका निर्वाह गर्दै हातेमालो गरिरहेका छन्’, उनले भने, ‘युएसएआइडीको सहयोगमा सञ्चालित ‘तयार नेपाल’ परियोजनाले विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।’

गृहमन्त्री लेखकले ‘सबल प्रणाली’ स्थापना गर्ने सन्दर्भमा बहु–निकायसँगको सहकार्य तथा निर्देशनमा विभिन्न नीति, निर्देशिका, कार्यविधि, सङ्गठन संरचना तथा कार्यढाँचा बनाउन परियोजनाबाट सहयोग समेत भएको बताए। परियोजनाले सङ्घलगायत आठ स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन क्षेत्रको संस्थागत विकासमा पुर्याएको योगदानको उनले प्रशंसा गरे।

अमेरिकी सरकारले ‘तयार नेपाल’ परियोजनामार्फत उपलब्ध गराएको सहयोगका लागि गृहमन्त्री लेखकले धन्यवाद दिनुका साथै आगामी दिनमा समेत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।

ललितपुरले कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने

पाटन (ललितपुर)  । ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ ।

कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन जोनसहितको प्रतिनिधिमण्डलको स्वागतमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा आज आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण र कृषि क्षेत्रमा भएका सकारात्मक अभ्यास आदानप्रदान गर्न चाहना व्यक्त गरे ।

नगरप्रमुख महर्जनले चेरवन सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्धले नेपाल र कोरियाबीचको दौँत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । एक महिनाअघि महानगर प्रमुख महर्जन चेरवन सहरको निमन्त्रणमा भगिनी सम्बन्ध कायम गर्नका लागि त्यहाँ गएका थिए ।

चेरवनका मेयरसहितको प्रतिनिधिमण्डललाई स्वागत गर्दै ललितपुर महानगरप्रमुख महर्जनले कृषि र वातावरणको क्षेत्रमा चेरवनबाट ललितपुरले असल अभ्यासहरु सिक्नसक्ने बताए ।

“कृषि र वातावरणको क्षेत्रमा हामी चेरवनको असल अभ्यासहरु सिक्छौँ । हस्तकला र सम्पदा क्षेत्रमा हाम्रा असल अभ्यासहरु चेरवन सहरलाई हस्तान्तरण गर्न चाहन्छौँ, यो हामी दुवै पक्षका लागि प्रभावकारी हुनसक्छ”, उनले भने ।

चेरवन सहरका प्रमुख ली ह्युन जोनले ललितपुर महानगरसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । उनले कृषि, पर्यावरण प्राथमिकतामा रहेको भन्दै नेपालीहरुको सद्भावको शैलीबाट आफू प्रभावित भएको बताए ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले चेरवन सहरसँग भगिनी सम्बन्ध कायम भएकामा खुसी व्यक्त गर्दै दुई सहरबीचको भिन्नता र एकतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताइन् ।

उनले अघिल्लो वर्ष कोरिया भ्रमण गर्दा कृषि र पर्यावरणको क्षेत्रमा भएका सकारात्मक कामबाट आफू प्रभावित भएको बताइन् । “यी दुई क्षेत्रमा महानगरले धेरै सिक्नुछ, हालै कायम भएको भगिनी सम्बन्धले त्यसलाई मार्गप्रशस्त गरेको छ”, उनले भनिन् ।

चेरवन सहरका उपाध्यक्ष जाङ योङले ललितपुरको आवश्यकता र मागबारे जानकार हुन भ्रमण तय गरेको प्रस्ट पारे ।

ललितपुर महानगरका प्रवक्ता तथा वडा नंं ९ का वडाध्यक्ष राजु महर्जनले दुई सहरबीचका असल अभ्यास आदानप्रदान गर्नुपर्ने धारणा राख्दै रोजगारी सिर्जना गर्न ‘स्टार्टअप’लाई सहयोग गर्नुपर्ने बताए । उनले दुई सहरबीच भगिनी सम्बन्ध कायम भइसकेको अवस्थामा नागरिकले अनुभूत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

चेरवन सहरका कृषि प्रविधि विभागका निर्देशक ली हुङजोङले कृषि क्षेत्रमा के र कसरी सहयोग गर्न सकिन्छ त्यस बारेमा अध्ययन गरी छलफल गर्ने बताए ।

कार्यक्रममा वडा नं २० का वडाध्यक्ष चन्द्रलाल महर्जन, वडा नंं १२ का वडाध्यक्ष नारायणलाल अवाले, वडा नं २७ का वडाध्यक्ष कृष्णहरि महर्जन, वडा नं २६ का वडाध्यक्ष सुरेश महर्जनले ललितपुर महानगरभित्र कृषि क्षेत्रमा उल्लेख्य सम्भावना रहेको बताउँदै कोरियाको प्रविधि भित्र्याएर उत्पादन बढाउनुपर्ने धारणा राखे ।

महानगरका कृषि सल्लाहकार धर्म महर्जनले ललितपुर महानगर मात्रै नभएर प्रविधिका कारण नेपाल पछि परेको तर्क गर्दै कोरियाको प्रविधि ललितपुर भित्र्याएर उत्पादन बढाउनुपर्नेमा जोड दिए । उनले भने, “कोरियाको प्रविधि प्रयोग गरेर फलफूल र तरकारी उत्पादन गर्ने एउटा नमूना कृषि फर्म बनाउनुपर्छ ।”

ललितपर महानगरमा कृषिको अध्ययन अनुसन्धान र सम्भावना खोजी गर्नका लागि कोरियाको चेरवन सहरका प्रमुख जोनसहितको प्रतिनिधिमण्डल ललितपुर आएको हो ।

ललितपुर महानगर र छिमेकी पालिकामा सञ्चालित कृषि फर्महरुको अवलोकन गर्ने, त्यहाँका उत्पादनहरुका बारेमा छलफल गर्नेछ । एक साता लामो भ्रमणका लागि यहाँ आएका जोनसहितको टोलीले कृषि मन्त्री तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ । 

पोखरा महानगरपालिकाले दसैंका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने

गण्डकी । पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले यही असोज ११ गतेदेखि  पोखरा –८ स्थित  सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।

उनकाअनुसार चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

पोखराको लेखनाथ क्षेत्रमा पनि सुपथ मूल्य पसल खोल्ने सम्बन्धमा कर्मचारी उपलब्ध भएमा सञ्चालन गर्न सकिने कुरा आएकाले त्यसबारे पनि सम्बद्ध पक्षसँग छलफल बढाइएको उनले बताए । सुपथ मूल्य पसलमा चिनी, नुन, तेल, पीठो, मैदा, चामल लगायतका समानहरू पाइने जनाइएको छ ।

तनहुँ जलविद्युत् आयोजनाः निर्माणका क्रममा क्षति भएकालाई क्षतिपूर्ति वितरण गरिने

दमौली (तनहुँ) । तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका घरलाई क्षतिपूर्ति वितरण गरिने भएको छ ।

निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको चरण–१ अन्तर्गत संरचना निर्माणका लागि विस्फोट गर्दा सो आसपासका घर तथा भौतिक संरचनामा पुगेको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति वितरण गर्न लागिएको हो ।

क्षतिको असर र मूल्याङ्कन गरी क्षतिपूर्ति रकम सिफारिस गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको संयोजकत्वमा गठित उपसमितिको बैठक सम्पन्न भएसँगै सङ्कलन भएका विवरणअनुसार मूल्याङ्कन थालिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

बैठकमा निर्माणका कारण ऋषिङ गाउँपालिका–१ का ९८ परिवार र व्यास नगरपालिका–५ बेतेनीका २० गरी ११८ परिवारका घर तथा संरचनाको मूल्याङ्कन गरी तयार गरिएको प्रतिवेदनमाथि छलफल गरिएको भण्डारीले बताए । उनले भने, “मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रुप दिई क्षतिपूर्ति निर्धारण समितिसमक्ष पेस गर्ने निर्णय भएको छ ।”

यसैबीच, आयोजनाको बाँध निर्माणस्थल भन्दा माथिल्लो तटीय क्षेत्रमा पर्ने ऋषिङ–१ लोक्माका बासिन्दासँग परामर्श बैठक गरिएको छ । लोक्मावासीलाई दमौली क्षेत्रमा आवतजावत गर्न सहजीकरण गर्ने उद्देश्यले गरिएको परामर्श बैठकमा बाँध निर्माणस्थल क्षेत्रबाट सुरक्षित रुपमा आवतजावत गर्न विभिन्न विकल्पमा छलफल गरिएको भण्डारीले जानकारी दिए ।

उनले भने, “दैनिक रुपमा आवतजावतका लागि स्थानीयवासीले बाँध निर्माणस्थलको बायाँतर्फ व्यवस्था गरिएको सटल ट्रकको प्रयोग गर्ने सहमति भएको छ । निर्माण व्यवसायी सोङ्दा कालिकाले सटल ट्रकको व्यवस्था गरेर सुरक्षा मापदण्डहरु पूर्ण रुपमा पालना गरी स्थानीयलाई समूहगत रुपमा हरेक दिन बिहान ८ बजे, ११ बजे, दिउँसो १ः३० बजे, ३ बजे, साँझ ५ बजे र साँझ ७ बजे आवतजावत गराउने सहमति भएको छ ।” 

हाम्रो पार्टीमाथि भइरहेको प्रहारको एकजुट भएर सामना गर्छौंः स्वर्णिम वाग्ले

काठमाडौं । दश दिनका लागि चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीको टोली भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको छ । गत शनिबार राति चीन पुगेको पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएको हो ।

स्वदेश फर्किएसँगै त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उपसभापति वाग्लेले सभापति रवि लामिछानेलाई मात्र नभई पार्टी संस्थामाथि नै प्रहार भएको बताएका छन् ।

उनले पार्टीमाथि कुनै राजनीतिक इगोका कारण प्रहार भइरहेकाले सबै एकजुट भएर सामना गर्नुपर्ने बताए । उनले भने, ‘यो अप्ठ्यारो घडीमा पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन् त्यो संस्था हो । पार्टी संस्थामाथी प्रहार भइरहेको छ एउटा ईगोका कारण हामी एकजुट भएर यसको सामना गर्नुपर्छ ।’

यस्तै, नेतृ डा. तोसिमा कार्कीले क्रान्ति उग्र मात्र नभइ अब शालीन क्रान्ति हुने बताइन् । दश दिनका लागि चीन गएको टोलीले पार्टी सभापति लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्ने हल्ला चलेपछि भ्रमण छोट्याएको हो । बिहीबार आठ जना फर्किएका र बाँकी ६ जना शुक्रबार फर्किनेछन् ।

ढोरपाटन– सिकार र पर्या–पर्यटनको आधार

सन्तोष गौतम, म्याग्दी  । ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । २०४४ सालमा घोषणा गरिएको यो नेपालको एकमात्र सिकार आरक्ष हो ।

यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसरहरु छन् । हरेक वर्षको वसन्त र शरद्याममा ढोरपाटनमा सिकार खेल्न विश्वका सौखिन र धनाढ्य सिकारीहरु आउँछन् । कम्पनीहरुले ठेक्का प्रतिस्पर्धामार्फत सरकारलाई राजस्व तिरेर सिकार गर्न पर्यटक ल्याउँछन् । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पक्षीहरु छन् ।

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट चार करोड २६ लाख ८८ हजार ७०० राजस्व सङ्कलन भएको छ । आव २०६७/६८ देखि हालसम्म ३९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा एक हजार २९० भेटिएका थिए ।

आव २०७९/८० मा १९ नाउर र ११ झारल, २०७८/७९ मा १७ नाउर र आठ झारल, २०७७/७८ मा १० नाउर र छ झारलको सिकार भएको थियो । सिकार कम्पनी ग्लोवल सफारी काठमाडौँका सिकार गाइड मानबहादुर पुनका अनुसार स्पेन, अमेरिका, रसिया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरु सिकार खेल्न आउँछन् । “विश्वका धनाढ्य व्यक्तिहरु जङ्गली जनावरको सिकारको सोख पूरा गर्न करोडौँ खर्चेर ढोरपाटन आउने गरेका हुन्,” १३ वर्षदेखि सिकार गराउँदै आएका उनले धभने, “युवादेखि ७४ वर्षका बृद्ध पनि सिकार खेल्न आउने गर्दछन् ।”

वार्षिक १५ हजार पर्यटकको आगमन

विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु ढोरपाटन घुम्न आउने क्रम बढेको छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार आव २०८०/८१ मा १५ हजार ५७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्या–पर्यटन शिर्षकमा १९ लाख ३३ हजार ७०० राजस्व सङ्कलन भएको थियो ।

ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार ५०० र अन्य देशकाले तीन हजारका दरले शुल्क तिर्नुपर्छ ।

गत आवमा चार करोड ७१ लाख दुई हजार ६२८ राजस्व सङ्कलन भएको छ । अघिल्लो आव २०७९/८० मा तीन करोड ४८ लाख राजस्व सङ्कलन भएको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजस्व बढेको आरक्षले जनाएको छ ।

गत आवमा सार्क राष्ट्रका चार र अन्य देशका १०२ जना पर्यटक ढोरपाटन आएका थिए । सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक घरवास (होमस्टे)का सञ्चालक रामबहादुर घर्तीमगरले बताए । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक ३०० जना बास बस्न सक्ने क्षमता छ ।

ढोरपाटनको आकर्षण

सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको थप आकर्षण र विशेषता हो । सिकार आरक्ष कार्यालय परिसरको सूचना केन्द्र छ । आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारीसहित विभिन्न जनावर र पशुपन्छीको छालासमेत सङ्ग्रहालयमा राखिएको छ ।

ढोरपाटनमा उत्तरगङ्गाको ढोरबराह मन्दिर, उत्तरगङ्गा, रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर रहेका छन् । जनैपूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भिड लाग्छ । ढोरपाटन आरक्ष कार्यालयको तीन किलोमिटर पूर्वमा रहेको छेन्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नैपर्ने गन्तव्य हो । ढोरपाटनबाट २२ किलोमिटर दूरीमा रहेको जलजलाबाट हिमाल, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

ढोरपाटन उपत्यकाको पुरानो हवाई मैदान, उत्तरगङ्गा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्पसम्म घुम्ने गर्छन् । त्यसका साथै गुर्जाघाट, जलजला र माथिल्लो भागमा बुकीलगायतका बस्ती यहाँका अन्य रमणीय स्थान हुन् ।

पर्यटकहरुको बसाई लम्बाउनका लागि सहायक गन्तब्य पहिचान गरेर सङ्घीय, प्रदेश सरकार र नगरपालिकामार्फत पूर्वाधार निर्माण थालिएको ढोरपाटन पर्यटन प्रर्वद्धन विकास संस्थाका सचिव जीवन पुनले बताए । यसवर्ष पाखाथरमा होमस्टे सञ्चालन, काडेको डाडाखेदी किटेनी जोड्ने पदमार्ग र गर्पाछेडाको बुकीमा ‘ब्लु सिप गोठ स्टे’ सञ्चालन गरेका छन् ।

बुकी, पशुपालन र पर्यटन

ढोरपाटन सिकार आरक्ष समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइमा रहेको रुकुमको तकसेरादेखि सात हजार २४३ मिटर उचाइएको चुरेन हिमालसम्म फैलिएको छ । स्थानीयवासीले हिमाली क्षेत्रका पाटनहरुलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूलहरुलाई बुकी फूल भन्ने गरिएको हो । बर्खायाम सुरु भएपछि पूर्वी रुकुम, म्याग्दी र बागलुङका किसानले पालेका गाईभैँसी, भेडा, बाख्रा, घोडालाई घाँस खुवाउन बुकीतर्फ उकालो लाग्छन् ।

बेंशीका खेतबारीमा बाली लगाएपछि ठूलो सङ्ख्यामा पालिने बस्तुभाउलाई पोषिलो घाँस खुवाउन बुकी लैजाने चलन रहेको छ । वैशाखमा लेकतिर उक्लिएका गोठालाहरु असोजमा मात्र बेंशी झर्ने चलन छ । गोठाला जनजीजवनलाई नियाल्नका लागि बुकीको यात्रा रोमाञ्चक अवसर हो । पर्यटकहरु घोडा चढेर रमाउँछन् ।

बुकीको पोषिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान लछुमन थापा बताउनुहुन्छ । बुकीफुलको ढोरपाटन र आसपासका गाउँहरुमा मनाइने चाडपर्व, धर्म, संस्कार र संस्कृतिसँग गाँसिएको छ । भूमे पुजामा युवायुवतीहरुले फूल टिपेर एक अर्कालाई दिने चलन छ । साउने सङ्क्रान्तिमा बुकी फूल जम्मा पारेर लेक र गाउँका देवता पुज्ने गर्छन् ।

मगराँत क्षेत्रको प्रमुख मानिने उत्तरगङ्गा ढोरबराहमा जनै पूर्णिमामा लाग्ने मेला ढोरपाटनलाई बुकी फूलले ढाकेको समयमा लाग्ने गर्छ । ढोरपाटनमा ढकमक्क फूल फुलेर स्वर्गजस्तो बनेको जनैपूर्णिमाको दिन पारेर यहाँ बलि राजा प्रकट भएका र उनको स्वागतका लागि मेला लगाउने चलन रहेको छ ।

ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । “बर्खायाममा ढोरपाटनको आकर्षण नै बुकी हो,” उनले भने, “यहाँ पाइने फुलहरुको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौँ ।”

संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरकफरक फूलको तस्बिर र स्थानीय नाम सङ्कलन गरेका छन् । ओठफुटे, काप्चुच्चे, दहीठेकी, दूधे, नाकेफुली, पुतली, प्याउली, फट्याङग्री, बिजौरी, बुकी (१), (२), (३), बोक्सी, मदाने र राके स्थानीय नाम गरेका फूलको तस्बिर सङ्कलन भएको छ । यीबाहेक कप्टेरी, भुइँपाटी, बटारे, घोप्टे, अतिशलगायतका फूलहरु पनि बुकीको पाटनमा फुल्ने गर्छन् । बर्षात्को समयमा मात्रै फुल्ने यी फूलहरु असोज लागेपछि सुक्न थाल्छन् । बुकी फूलको बारेमा वैज्ञानिक अध्ययन अनुसन्धान भएको छैन् ।

सङ्कलन भएका तस्बिरहरुलाई सम्बन्धित विज्ञहरुको सहयोगमा अङ्ग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पंगेनीले बताए । आरक्षले फूलहरुलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्याक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ । सिमसार क्षेत्रमा गाईवस्तुले गोब्राउने भएकाले मलिलो माटोमा फूलका बोटबिरुवा सजिलै हुर्कन्छन् ।

यहाँसम्म कसरी पुग्ने ?

पोखरादेखि मध्यपहाडी लोकमार्ग भएर बस, गाडी वा मोटरसाइकलमा बागलुङ सदरमुकाम हुँदै झन्डै पाँच घन्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङ पुगेपछि लोकमार्गलाई छाडेर अधिकारीचौर, बोबाङ हुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप र मोटरसाइकलमा दुईदेखि तीन घण्टामा ढोरपाटन पुगिन्छ । म्याग्दीको बेनी हुँदै धवलागिरि गाउँपालिकाको मुनासम्म ४५ किलोमिटर सडकमा र त्यसपछि मरेनी जलजला हुँदै दुई दिन पैदलयात्रा गरेर ढोरपाटन पुगिन्छ । पूर्वी रुकुमको टकसेरा हुँदै पनि ढोरपाटन आउन सकिन्छ । गुरील्ला पदमार्गले समेटिएको ढोरपाटन हुँदै डोल्पा पनि जान सकिन्छ ।

ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको पहुँचमार्ग बागलुङको बुर्तीवाङबाट छ । ढोरपाटन घुम्न जाने धेरैजसोले बुर्तिबाङ–ढोरपाटन सडक प्रयोग गर्छन् । ढोरपाटनबाट लाभ लिनका लागि म्याग्दी हुँदै जलजला र ढोरपाटन जोड्ने सडक निर्माण कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

“बागलुङको बुर्तिबाङभन्दा म्याग्दीबाट ढोरपाटन पुग्न ४० देखि ४५ किलोमिटर नै छोटो पर्छ,” उनले भने “बेनीदेखि दरवाङ, मुना, खोरिया हुँदै मरेनीसम्म पुगेको सडकलाई स्तरोन्नति गर्ने र मरेनीदेखि जलजला जोड्ने सडकको मार्ग खोल्ने कार्यलाई प्राथमिकता दिएका छौँ ।”

यस वर्षपनि मरेनी जलजला ढोरपाटन जोड्ने सडकका लागि सङ्घीय सरकारबाट छ करोड ६० लाख विनियोजन भएको छ । ढोरपाटन उपत्यकादेखि छेन्तुङ, गुर्जाघाट हुँदै जलजलासम्म २२ किलोमिटर सडकको मार्ग खुलिसकेको छ । यो सडकमा पर्ने विभिन्न ठाउँका खोलाहरुमा कजवे, कल्भर्ट र मोटरेबल पुल बनाउन आवश्यक छ ।

ढोरपाटनदेखि पूर्वी रुकुम सडकले जोडिन नौ किलोमिटर मात्र बाँकी छ । म्याग्दी, ढोरपाटन र पूर्वी रुकुम सडकले जोडिएमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बन्न सक्छ । बागलुङ हुँदै पूर्वी रुकुम पुग्नुभन्दा म्याग्दीबाट जाँदा ६५ किलोमिटर छोटो पर्ने धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।

ढोरपाटनलाई सडक सञ्जालसँग जोड्ने र स्तरोन्नति गर्ने योजनालाई म्याग्दीका सबै राजनीतिक दल तथा सरोकारवालाहरुले प्राथमिकता दिएका छन् । गण्डकी प्रदेश सरकारले बेनी–दरवाङ सडक स्तरोन्नतिलाई पूर्णता दिने र दरवाङदेखि धारापानी ताकम मुना जोड्ने सडकलाई स्तरोन्नति गर्न प्राथमिकता दिएको पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद रेशमबहादुर जुग्जालीले बताए ।

उनका अनुसार धारापानीदेखि शिवाङ जोड्ने चार किलोमिटर सडक स्तरोन्नतिका लागि यस वर्ष २५ करोड विनियोजन भएको छ । दरवाङ धारपानी र शिवाङ– मुना सडक कालोपत्र गर्ने लक्ष्यसहित यसै वर्ष सङ्घीय र प्रदेश सरकारको साझेदारीमा कार्यान्वयन हुनेगरी एक अर्बको आयोजना भित्रिएको छ ।

बेनीदेखि मुनासम्मको सडक कालोपत्र र मुना खोरीया जलजला हुँदै ढोरपाटन सडकले जोड्न सकिएमा पोखरा, काठमाडौँका पर्यटक तथा रुकुम, जाजरकोटका बासिन्दालाई ढोरपाटन भित्र्यउन र आवतजावत गराउन सकिन्छ । यसबाट म्याग्दीको पश्चिमी क्षेत्रको समग्र विकासमा टेवा पुग्ने र आर्थिक समृद्धि हासिल हुने अपेक्षा गरिएको छ ।

१३ महिना भन्दाबढीको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

विवरण अनुसार विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको हो । त्यस्तै साउन महिनासम्म १५ अर्ब ५८ करोड डलर सञ्चिति रहेको बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो । एक महिनामा २ प्रतिशतले डलर सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाली रुपैयाँमा यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर हो । यस्तै आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको बैंकको भनाइ छ ।

साउनमा भित्रियो एक खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको हो ।

साउन महिनामा मात्रै ३६ हजार ९२८ ले नयाँ र २२ हजार ६४७ जनाले पुनः गरी करिब ५९ हजार जनाले वैदेशिक राजेगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् । साउनमा खुद ट्रान्सफर एक खर्ब ४८ अर्ब ४९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै साउन महिनासम्म १५ अर्ब ५८ करोड डलर सञ्चिति रहेको बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो । एक महिनामा २ प्रतिशतले डलर सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ । नेपाली रुपैयाँमा यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर हो ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा थियो ।

गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्यसेवा दिन राष्ट्रपति पौडेलको आग्रह

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताएका छन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गरिब तथा असहाय वर्गलाई प्राथकितामा राखेर सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थ्यकर्मीसँग अनुरोध गरे ।

‘स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको विदितै छ । यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो’, राष्ट्रपति पौडेलले भने, ‘दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवं प्रभावकारी नवीनतम् प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिने मैले विश्वास लिएको छु ।’

आवश्यक पूर्वाधार र अत्याधुनिक प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र (हब)का रुपमा विकास हुन लागेकामा खुसी व्यक्त गर्दै उनले अब उपचारका लागि यसअघिजस्तो राजधानी काठमाडौँ नै धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे ।

‘क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न तथा अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विशेष ध्यान पुर्याउनु आग्रह गर्दछु’, राष्ट्रपति पौडेलले भने ।

क्यान्सर रोगबाट ग्रसित प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले विदेशमा गएर उपचार गर्नुपरेकाले स्वदेशमै यससम्बन्धी रोगको उपचार गर्ने सुविधा सम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गर्नुभएको स्मरण गर्दै उनले २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रुपमा यो अस्पताल निर्माण भएको बताए ।

राष्ट्रपति पौडेलले भरतपुरस्तिथ राष्ट्रियस्तरको अस्पताल क्यान्सर रोगका बिरामीको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणका क्षेत्रमा पनि अगाडि बढेकामा खुसी व्यक्त गर्दै क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याएर विशिष्टता अभिवृद्धि हासिल गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका हुन् । महामानव बिपी कोइरालाको स्मृतिमा २०४८ सालमा तत्कालीन प्रधानमन्त्री जिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच सम्झौता भई यो अस्पताल स्थापना भएको हो । स्थापनाकालमा १०० शय्या क्षमतासहितको क्यान्सर अस्पताल अहिले ५०० शय्यामा विस्तार भएको छ ।

सो अस्पतालले गत आव २०८०/८१ मा छ हजार ७९५ क्यान्सरका बिरामीसहित एक लाख ८८ हजार ५१४ जनाको उपचार गरेको जनाएको छ ।

वडा नम्बर १६ लाई प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नम्बर १६ विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर १६ ले वडा नम्बर १२ लाई ५–२ गोल अन्तरले जितेको हो ।

१६ का लागि आयुष कुँवर, रविन निरौला, साजन डङ्गोल र श्रेयान्स मानन्धरले गोल गर्नुभएको थियो । वडा १२ को एउटा आत्मघाती गोल उपहार पाएर वडा नम्बर १६ को ५ गोल भएको हो । वडा नं. १२ का लागि मनोज महर्जन र सिद्धार्थ देउलाले गोल गरेका थिए ।

उपाधिसँगै विजेता टोली वडा नम्बर १६ ले २ लाख रुपियाँ प्राप्त गरेको छ । उपविजेता वडा नम्बर १२ ले १ लाख रुपियाँ पुरस्कार पायो । वडा नं. १६ का आयुष कुँवर सर्वाेकृष्ट खेलाडी र मनोज महर्जन सर्वाधिक गोलकर्ता बने ।

यस्तै वडा नं. १६ का सुशान्त महत उत्कृष्ट गोलकिपर बने । उत्कृष्ट सबैलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।

असोज १ गतेबाट सञ्चालित प्रतियोगिताको समापन खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न महानगरपालिकाका प्रमुख बालेन साह खेल मैदानमा गएका थिए । खेल समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ र वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले पुरस्कार प्रदान गरेका थिए ।


प्रयागराजसिंह सुवाल २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि सम्पन्न निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । सुवाल एनआरटी क्लवको संस्थापकसमेत हुन् । २०८० सालबाट प्रतियोगिता सुरु भएको हो । यसपटकको खेलमा वडा नं. ७ र २४ बाहेक अरु सबै वडा र महानगरपालिका केन्द्रबाट एउटा टीमले भाग लिएको थियो ।

चीन र रुसका विदेशमन्त्रीद्वारा राष्ट्रसङ्घमा युक्रेन सङ्टबारे छलफल

बेइजिङ । चीन र रूसका विदेशमन्त्रीहरूले संयुक्त राष्ट्रसङ्घीय महासभामा युक्रेन युद्धबारे छलफल गरेका छन् ।

पछिल्लो समयमा चीन र रूसले सम्बन्ध बलियो भएको छ भने सन् २०२२ मस्कोले युक्रेनमा आक्रमण गरेपछि द्विपक्षीय व्यापारले बढवा पाएको छ ।

पश्चिमी मुलुकहरूले रूसको आक्रामक युद्धको समयमा बेइजिङले राजनीतिक आवरण र आर्थिक समर्थन प्रदान गरेको आरोप लगाएका छन् । आरोपलाई चीनले अस्वीकार गर्दै द्वन्द्वमा तटस्थता कायम राखेको जनाएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सिसिटिभीले बिहीबार विदेशमन्त्री वाङ्ग यीले संयुक्त राष्ट्रसङ्घीय महासभामा आफ्ना रूसी समकक्षी सर्गेई लाभरोभलाई भेटवार्ता गरेको जनाएको छ ।

छलफलमा दुवै पक्षले युक्रेन सङ्कटलगायत बिषयमा विचार आदानप्रदान गरेको सिसिटिभीले उल्लेख गरेको छ ।

विदेशमन्त्री वाङले द्विपक्षीय सम्बन्ध उतार–चढावबाट गुज्रिएको उल्लेख गर्दै स्थायी असल छिमेकीको रुपमा चीन–रूस सम्बन्धलाई अगाडि बढाउने उल्लेख गरेका छन् ।

चीन र रूसले ‘नो–लिमिट्स’ साझेदारी अनुरुप विश्वव्यापी मामिलामा अमेरिकी नेतृत्वको पश्चिमी प्रभुत्वको विरोध गर्दै आएका छन् ।

बेइजिङ र मस्कोले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको सातौँँ वार्षिकोत्सव मनाउँदैछन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी महिना रूसमा हुने उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको छ ।

मेक्सिकोमा सुरक्षा कारबाहीमा ११ बन्दूकधारीको मृत्यु

मेक्सिको । मेक्सिकोको उत्तरपूर्वी क्षेत्रमा बुधबार सुरक्षा फौजको कारबाहीमा ११ जना बन्दुकधारीको मृत्यु भएको छ ।

नुएभो लियोन राज्य सरकारले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुरक्षाकर्मीले एक सशस्त्र समूहलाई पछ्याउने क्रममा उनीहरूले गोली चलाएपछि भएको झडपमा ११ जना बन्दूकधारीको गोली लागी मृत्यु भएको छ भने एक जनालाई सुरक्षा नियन्त्रणमा लिइएको छ । सुरक्षाकर्मीले उक्त सशस्त्र समूहबाट हतियार र सवारी साधन जफत गरेको छ ।’

कमाण्ड पोस्टमा आक्रमण भएपछि हवाई र स्थलमार्गबाट खोजी सुरु गरिएको र सुरक्षा फौजतर्फ कुनै हताहती भएको छैन ।

सुरक्षाकर्मीले करिब आठवटा पिकअप ट्रकमा यात्रा गरिरहेका बन्दुकधारीलाई लखेट्ने क्रममा लस रामोनेस नगरपालिकामा गोली हानाहान भएको थियो ।

हिरासतमा लिइएका संदिग्ध व्यक्ति राजमार्गमा छद्म भेषमा हतियार र सामरिक उपकरण बोकेर हिँडेका थिए ।

मेक्सिकोमा सुरक्षा बल र संदिग्ध कार्टेल सदस्यहरूबीच भिडन्त हुने गरेको छ।

सन् २००६ देखि अहिलेसम्म ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोमा चार लाख ५० हजारभन्दा बढी मानिसको सशस्त्र झडपमा मृत्यु भइसकेको छ।

देशको सबैभन्दा शक्तिशाली र हिंस्रक लागूऔषध गिरोहमध्येको एक उत्तरपश्चिमी राज्य सिनालोआमा लागु औषधको ओसारपसार गर्ने समूहमा आन्तरिक कलहका कारण यो महिना दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।

गत जुलाईको अन्त्यतिर सिनालोआ लागु औषत्र कारोबार गर्ने संस्थाका सहसंस्थापक इस्माइल ‘एल मायो’ जाम्बाडालाई अमेरिकी भूमिमा अचानक पक्राउ गरिएपछि यो हिंसा भएको हो ।

निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले सामाजिक कार्यक्रममार्फत गरिबी र असमानतासँग जुझ्दै हिंसात्मक अपराधसँग जुध्न ‘हग्स नट बुलेट्स’ रणनीतिको वकालत गरिरहेका समय पछिल्लो झडप र मृत्यु भएको हो ।

बुकीमा चरेका च्याङग्राको माग उच्च

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आएका छन् ।

“वर्षमा ४० जति च्याङग्रा बिक्री हुन्छ,” उनले भने “घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिएका हुन्।

याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङग्रा पालेका छन् । दशै तिहारमा पोखरा, काठमाडौ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ ।

सडक यातायात र बजारको सुबिधासँगै च्याङग्रा पाल्ने पेशा व्यवसायिक बन्न थालेको लोघेकर दामोदरकुण्ड –४ घाराका पेमा छिरिङ गुरुङले बताए ।

“पहिले दशै तिहारका लागि एक महिना पहिलेनै च्याङग्रा हिडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँबस्ती र पोखरामा लैजाने गरिन्थ्यो,” उनले भने “अहिले गाउँबाटै प्रतिगोटा रु ३३ देखि ३५ हजारमा च्याङग्रा बिक्री भइरहेको छ ।”

तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ । बर्खामा समुन्द्रि सतहदेखि छ हजार मिटर उचाईको हिमालको फेदमा पुग्ने च्याङग्रा गोठहरु असोज लागेपछि बेशीतर्फ झार्ने गर्छन् ।

तीन/चार वटा घरले वार्षिक रुपमा एक लाख पचास हजार ज्याला दिएर च्याङग्रा हेर्न गोठाला राखेका छन् । स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरु च्याङग्रा गोठाला बस्ने गर्छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मुस्ताङमा १२ वटा मिश्रित ठूला च्याङग्रा फार्म छन् । २० देखि ५० वटाको संख्यामा च्याङग्रा पाल्ने कृषकहरुको संख्या धेरै रहेको केन्द्रका प्रमुख पशु चिकित्सक डा लालमणी अर्यालले बताए ।

उनका अनुसार मुस्ताङमा हाल ५० हजार च्याङग्रा पालिएको छ । थासाङ बाहेक, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा व्यवसायिक च्याङग्रापालन भएको छ । यसवर्षको दशै तिहारका लागि मुस्ताङबाट च्याङग्रा निकासी हुन थालेको छ ।

बुधबारसम्म तीन सय ९७ च्याङग्रा निकासी गर्न स्वास्थ्य परीक्षण गरि सिफारिस दिएको केन्द्रका प्रमुख अर्यालले बताए । स्वास्थ्य परिक्षण गरेर निरोगी पशुु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ ।

स्थानीय व्यापारीले गाउँका किसानहरुबाट खरिद गरेर जोमसोममा च्याङग्रा ल्याउन थालेका छन् । देशका विभिन्न ठाउँका ब्यापारीहरुले जोमसोममा खरिद गरेका च्याङग्रा हिडाएर म्याग्दीको बेनीसम्म ल्याउँछन् ।

बेनी देखि ट्रकमा राखेर देशका विभिन्न बजारमा च्याङग्रा लैजाने गर्छन् । मुस्ताङबाट गत वर्ष रु। २० करोड भन्दा बढी मूल्य बराबरको सात हजार च्याङग्रा निकासी भएको थियो ।

यसपालीको दशै तिहारका लागि १० देखि ११ हजार च्याङग्रा निकासी हुने अनुमान गरिएको केन्द्रका प्रमुख अर्यालले बताए । मुगु र डोल्पाको च्याङग्रा पनि मुस्ताङ हुदै बजार पठाउने गर्छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा जोन र स्थानीय तहका पशु सेवा शाखाहरुले मुस्ताङमा च्याङग्रापालन विस्तार र प्रर्वद्धन सम्बन्धी कार्यक्रममा जोड दिएका छन् ।

पिपिआर रोग विरुद्धको निःशुल्क खोप लगाउने ब्यवस्था मिलाएको भेटेरीनरी अस्पतालले च्याङग्राको नश्ल सुधार गर्न स्रोत केन्द्र स्थापना गर्ने, घुम्ती गोठ सुधार र घुम्ति पशु स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख अर्यालले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा जोन कार्यक्रमले परम्परागत रुपमा हुदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यवसायिक बनाई गुणस्तरीय मासु, ऊन र पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चार वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विभिन्न गतिबिधी गर्दै आएको छ ।

च्याङग्राको पाठापाठी उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्नुका साथै च्याङग्रालाई बन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको परियोजनाका प्रमुख नेत्र भट्टले बताए ।

हिमचितुवाको आक्रमणबाट च्याङग्रा मर्ने समस्या र हिउँदको समयमा आहराको ब्यवस्थापन मुस्ताङको च्याङग्रापालनमा चुनौतिका रुपमा देखिएको किसान तथा कृषि प्राविधिकहरुले बताएका छन् ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ । 

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन् । काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ फकिर्एको छ । सोही एयरलाइन्सको काठमाडौँबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बिचबाटोबाटै काठमाडौँ फर्किएको छ ।

मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली रहनाका साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

रेड नोटिस जारी भएका तीन अभियुक्तलाई प्रहरीले ल्यायो दुबईबाट पक्राउ गरी नेपाल

काठमाडौं । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन(इन्टरपोल)बाट रेड नोटिस जारी भएका तीन जनालाई दुबईबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले ठगी मुद्दा र बलात्कार मुद्दामा फरार रहेका प्रतिवादीलाई दुबईबाट पक्राउ गरी बुधबार नेपाल ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा ठगी मुद्दामा फरार रहेका भूपेन्द्र बोहोरा र रियाज भन्ने कबिर बुढाथोकी र करणी मुद्दाका रोमन कार्की छन् । उनीहरुलाई इन्टरपोलबाट अन्तर्राष्ट्रिय स्तरमा समन्वय गरी पक्राउ गरिएको र अब सम्बन्धित मुद्दामा कारबाही चलाउने प्रहरीले जनाएको छ ।

वीरगञ्ज नाकाबाट दुई महिनामा पाँच अर्ब २६ करोडका सामान निर्यात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा  पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा  पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो ।वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेले रु ४९ करोड ५९ लाख २८ हजार मूल्य पर्ने ६९ लाख ५३ हजार किलोग्राम पिना निर्यात भएको जानकारी दिए । विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ ।

चालु आवको भदौ मसान्तसम्मको ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार आठ सय चार किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ ।

त्यसैगरी, गत आवको सोही अवधिमा रु २० करोड ३६ लाख ६८ हजार मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो । चालु आवको भदौसम्म १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख नौ हजार एक सय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ ।

चालु आवको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ८२ लाख ९९ हजार मूल्य पर्ने ५४ हजार एक सय ८२ वर्ग मिटर उनी गलैँचा निर्यात भएको छ । गत आवको तुलनामा चालु आवको सोही अवधिमा उनी गलैँचा कार्पेटको निर्यातमा २० दशमलव ४३ प्रतिशतले गिरावट आएको छ ।

चालु आवको भदौ मसान्तसम्म एक अर्ब २९ करोड तीन लाख ७९ हजार मूल्य पर्ने एक करोड ३६ लाख ४५ हजार आठ सय लिटर जुस जाम निर्यात भएको छ । गत आवको भदौ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा जुस जामको निर्यात भने पाँच दशमलव ११ प्रतिशतले बढेको छ । चालु आवको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ७९ लाख ८४ हजार मूल्य पर्ने ६७ हजार तीन सय ८० किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात भएको छ ।

सुनको मूल्यमा कीर्तिमान

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।

तोलामा  तीन सय रुपैयाँले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला  एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबारका लागि भने  एक लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला  एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि पनि समान नै निर्धारण भएको छ ।

अतिकम विकसित मुलुकलाई सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडिसीको अध्यक्षका हैसियतले उनले अल्पविकसित देशहरुलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।

पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले कोभिड–१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित भएका बताएको उनको निजी सचिवालयले जनाएको छ ।

‘पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरु चरम गरिबीतर्फ धकेलिएका छन् । एलडिसीहरुमा समावेशी आर्थिक वृद्धि, दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन, ‘डिजिटल डिभाइड’कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक समस्या घटाउन जि‐२० को सहयोग महत्वपूर्ण हुनेछ’, परराष्ट्रमन्त्रीलाई उदृत गर्दै उनको निजी सचिवालयले जनाएको छ ।

जी‐२० को अध्यक्ष ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्रमन्त्रीले धन्यवाद ज्ञापन गरिन् । ब्राजिलले भोकमरी र गरिबी घटाउन विश्वव्यापी अभियान सुरु गर्न लागेकामा त्यसको उनले स्वागत गरिन् ।

जी ‐२० मा एलडिसीका तर्फबाट प्रतिनिधित्व गर्ने औपचारिक संयन्त्र निर्माणको आग्रह परराष्ट्रमन्त्रीले गरिन् । उनले हाल एलडिसीमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई कम गर्न जी‐२० कै नेतृत्वमा ‘क्लाइमेट चेञ्ज फण्ड’ स्थापना गर्न, एलडिसीका उत्पादनलाई कोटा निर्धारण गरी भन्सार छुटको व्यवस्थाका साथै ऋण मिनाहाका कार्यक्रम ल्याउन आग्रह गरिन् ।

भरतपुरमा अतिक्रमित संरचना हटाउन सुरु

चितवन । चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन थालिएको हो ।

सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवन सहितका संरचना डोजर लागएर भत्काइएका छन् ।

महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुङ्गी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै गत साउन १२ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

भदौ २८ गतेको बैठकले पुङ्गी खोला तथा अन्य स्थानमा अवैधानिक रुपमा बनाइएका घर टहरा लगायतका संरचना भत्काउने निर्णय भएको थियो ।

महानगर प्रमुख रेनु प्रमुख दाहालले पुङ्गी खोलालाई पुनर्जीवन दिने लक्ष्यसहित संरक्षण तथा नगरको शोभा अभिवृद्धि अभियान एक साथ सुरु गरेको बताइन् ।

महानगरको गौरवको योजनामा समावेश भएको पुङ्गी खोला सिमाङ्कन, संरक्षणको पहिलो चरणअन्तर्गत दुवैतर्फ ३५५ मिटर क्षेत्रमा बोटविरुवा तथा फूल रोपिनेछ । वृक्षरोपण, फुटरेल, रिटेनिङवाल, रेलिङसहित हिँड्न मिल्नेगरी संरचना निर्माण गरिने उनले जानकारी दिइन् ।

लेबननमा स्थल आक्रमण गर्नसक्ने इजरायली सेना प्रमुखको भनाइ

बीबीसी । इजरायली सेना प्रमुखले लेबननमा लडाकु समूह हिज्बुल्लाह लक्षित व्यापक हवाई हमलाले आफूहरूलाई ‘शत्रुको भूभाग प्रवेश’ गर्ने बाटो खुला गर्न सक्ने बताएका छन् ।

लेफ्टिनेन्ट जेनरल हेजरी हालेभीले भने, ‘तपाईँले आकाशमा जेटका आवाज सुनिरहनु भएको छ; हामी दिनभरि हमला गरिरहेका छौँ। त्यो त्यहाँ सम्भावित प्रवेश र हिज्बुल्लाहलाई कमजोर पार्ने दुवै कुराका लागि आधार तयार पार्न हो।’

लेबननका स्वास्थ्यमन्त्रीले बुधबार भएका हमलामा ५० जनाभन्दा धेरै मानिसहरू मारिएको जनाएका छन् । जसलाई इजरेली सेनाले हिज्बुल्लाहको गुप्तचर निर्देशनालयका साथै लन्चर र अस्त्र भण्डारहरूमा गरिएको हमला बताएको छ ।

चर्किरहेको परिस्थितलाई मत्थर पार्नका लागि कूटनीतिक प्रयासहरू भइरहँदा र फ्रान्स र अमेरिकाले २१ दिने युद्ध विराम प्रस्ताव गरेका छन् । लेबननमा स्थल अतिक्रमण तत्काल हुनसक्ने लेफ्टिनेन्ट जेनरल हालेभीको अभिव्यक्ति वरिष्ठ इजरेली अधिकारीबाट आएको पछिल्लो प्रस्ट सङ्केत हो ।

‘हामीले जहाँतहीँ उनीहरूलाई हमला र प्रहार गरिरहेका छौँ,’ उनले इजरयलको उत्तरी सीमा सैन्य अभ्यास गर्न लागेका सैनिकहरूलाई सम्बोधन गर्दै बताएको इजरेली सेनाले आफ्नो एक विज्ञप्तिमा जनाएको छ ।

सेना प्रमुखले आफ्ना बलले ‘शत्रुको नास गर्ने’ र तिनका पूर्वाधारसमेत ध्वस्त पार्ने बताएका छन् । इजरायल लेबननमा प्रवेश गर्न चाहेको भन्ने तत्काल कुनै सङ्केत नरहेको बताइँदै आएको थियो । बुधवार अमेरिकी पेन्टागनले त्यस्तो अवस्था ‘तत्काल’ नदेखिएको जनाएको थियो।

तर सेनाका दुई रिजर्भ ब्रिगेडलाई ‘उत्तरी मोर्चाको कारबाही मिशन’का बोलाएको केही बेरमा इजरेली सेना प्रमुखको उक्त भनाइ आएको हो । इजरायली सेनाले हिज्बुल्लाह लडाकुहरू सीमाबाट निकै पछाडि हट्नुपर्ने जनाएको छ ।

सन् २००६ मा संयुक्त राष्ट्रसङ्घले पारित गरेको एक प्रस्तावमा लितानी नदीको उत्तरमा बस्नुपर्ने भनिएको छ । अमेरिका लगायत इजरायलका साझेदारहरूले त्यस क्षेत्रमा पूर्ण आकारको युद्ध नहोस् भनेर काम गरिरहेको जनाएका छन् ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले संयुक्त राष्ट्रसङ्घमा बोल्ने क्रममा ’लेबननमा युद्ध हुन नसक्ने’ बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले युद्ध विराम तत्काल कार्यान्वयन गर्न अपिल गर्दै स्थिति नियन्त्रण बाहिर गइरहेको बताएका छन्।