`

सर्लाहीमा गोली प्रहार गरी श्रीमतीको हत्या, बाबु घाइते

बरहथवा(सर्लाही) ।  सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रीमानले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् ।

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ‘वल्र्ड ट्रेड सेन्टर’ क्षेत्रस्थित ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा पुगेर मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उक्त स्मारकलाई ९/११ स्मारकका रूपमा चिनिन्छ ।

सन् २००१ मा अल क्वाइदासम्बद्ध आतङ्ककारी समूहले अपहरण गरेको दुई वटा हवाइजहाज ट्वीन टावरमा ठोक्किँदा दुई हजार नौ सय ७७ जनाको दुःखद् निधन भएको थियो ।

उक्त स्थानमा हाल सङ्ग्रहालय र वाटर पार्क निर्माण गरिएको छ । स्मारकमा मारिकाहरू सबैको तस्बिर र विस्तृत विवरणसहित विद्युतीय अभिलेख राखिएको छ ।

प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत भ्रमण दलका सदस्य उक्त स्थानमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई सङ्ग्रहालयका अधिकारीहरूले उक्त आततायी घटना र त्यसका अवशेषहरू समेटेर बनाइएको अत्याधुनिक सङ्ग्रहालयबारे अवगत गराएका थिए ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमालले उक्त घटनाको पीडा स्मरण र धैर्य महसुस गरिएको बताए ।

नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । भुटानलाई पराजित गर्दै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छ । बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा पाहुना टोली नेपालले भुटानविरुद्ध २–१ गोलको जित हात पारेसँगै दुई खेलमा ६ अंक जोडेको नेपाल समूह ‘बी’ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पराजित भुटान भने समान खेलबाट चार अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो ।

यो समूहबाट पाकिस्तान समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गर्यो । पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएको थियो । नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतको सामना गर्नेछ।

बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुने

काठमाडौं । बिहीबारदेखि आइतबारसम्म ५७ जिल्लामा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यसबारे जानकारी दिएको हो ।

बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकोले भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले बिहीबार दिउँसोदेखि आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यी जिल्ला उच्च जोखिममा

महाशाखाका अनुसार विभिन्न ५३ जिल्लालाई रेड जोनमा राखेको छ । ती जिल्ला उच्च जोखिममा रहेको भन्दै विभागले विशेष बुलेटिनमार्फत सावधानी अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङलाई उच्च जोखिममा राखिएको छ ।

यस्तै बागमतीका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप उच्च जोखिममा छन् । गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ जिल्ला जोखिममा छन् ।

यस्तै लुम्बिनीका जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान तथा सुदुरपश्चिमको डोटी, कैलाली र अछाम जिल्ला उच्च जोखिममा रहेको जनाइएको छ ।

शैक्षिक परामर्शदातृ संस्थालाई तीन शर्त पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदातृ संस्थालाई शर्त पालना गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गरी शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्न मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थालाई परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा अनिवार्य पालना गर्न निर्देशन दिएको हो ।

शैक्षिक परामर्शदातृ संस्थाले नेपालका विश्वविद्यालय, तिनमा पढाइ हुने कार्यक्रम र नेपालमा प्राप्त हुने अवसरको बारेमा परामर्श सेवा उपलब्ध गराउनुपर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।

गत आइतबार विद्युतीय अपराधको कसुरमा पक्राउ परेका प्रसाईंलाई अदालतले पहिलो पटक तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।

पहिलो म्याद सकिएपछि बुधबार प्रहरीले थप ७ दिन म्याद माग्दै अदालत लगेको थियो । एक महिलाले चरित्र हत्या गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चीनद्वारा प्रशान्त महासागरमा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण

बेइजिङ । चीनले बुधबार एउटा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको बताएको छ । यसलाई दशकौँमा पहिलो पटक यस्तो अभ्यासमा प्रशान्त महासागरमा प्रक्षेपण गरिएको थियो ।

उक्त प्रक्षेपणले यस क्षेत्रका अन्य मुलुकहरूमा विरोध प्रदर्शन सुरु भएको छ । चीनको छिमेकी जापानले अग्रिम सूचना नदिइएको बताउँदै बेइजिङको सैन्य विस्तारबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ ।

बेइजिङले हालैका वर्षहरूमा आफ्नो आणविक विकासलाई तीव्र पार्दै रक्षा खर्च बढाएको छ । चीनले संयुक्त राज्य अमेरिकाले अनुमान गरेको भन्दा तीव्र गतिमा आफ्नो शस्त्र भण्डार विकास गरिरहेको भन्दै पेन्टागनले गत अक्टोबरमा चेतावनी दिएको थियो ।

सन् २०२३ सम्म चीनसँग पाँच सयभन्दा बढी सञ्चालनमा रहेका आणविक हतियार रहेको र सन् २०३० सम्ममा एक हजारभन्दा बढी हुने सम्भावना रहेको पेन्टागनले बताएको छ ।

चिनियाँ रक्षा मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “बुधबार चिनियाँ सेनाको रकेट फोर्सले सेप्टेम्बर २५ को बिहान ८ः४४ बजे प्रशान्त महासागरको उच्च समुद्रमा एउटा नक्कली वारहेड बोकेको आइसिबिएम प्रक्षेपण गर्यो र क्षेप्यास्त्र अपेक्षित समुद्री क्षेत्रमा खस्यो ।”

यस्ता परीक्षणहरू धेरै दुर्लभ रहेको एक विश्लेषकले बताएका छन् । “यो अन्यन्तै असामान्य छ र सम्भवतः दशकौँमा हामीले पहिलो पटक यस्तो परीक्षण देखेका छौँ”, कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसका स्टान्टन सिनियर फेलो अङ्कित पाण्डाले भने, “यो परीक्षण सम्भवतः चीनको जारी आणविक आधुनिकीकरणलाई दर्शाउँछ जसले परीषणका लागि नयाँ आवश्यकताहरू सिर्जना गरेको छ ।”

जलवायु परिवर्तनका कारण मध्य युरोपमा घातक बाढीको सम्भावना दोब्बर 

वासिङटन । मानव–सिर्जित जलवायु परिवर्तनले यस महिनाको सुरुमा मध्य युरोपमा विनाशकारी बाढी ल्याउने भारी वर्षाको सम्भावनालाई दोब्बर बनाएको र यसको तीव्रता बढाएको एउटा नयाँ अध्ययनले पत्ता लगाएको छ । 

सेप्टेम्बरको मध्यमा बोरिस आँधीबाट आएको मुसलधारे वर्षाले मध्य युरोपको ठूलो भूभागलाई प्रभावित गर्दा रोमानिया, पोल्यान्ड, चेक गणतन्त्र, अस्ट्रिया, हङ्गेरी, स्लोभाकिया र जर्मनीमा व्यापक क्षति भयो । बाढीबाट २४ जनाको ज्यान गयो, पुलहरू क्षतिग्रस्त भए, कारहरू डुबे, सहरहरू विद्युत्विहीन भए र पूर्वाधार मर्मतका लागि ठूलो आवश्यकता भयो । 

चार दिनको भीषण वर्षा मध्य युरोपमा अहिलेसम्म रेकर्ड गरिएको ‘धेरै ठूलो’ रहेको र कोइला, तेल र प्राकृतिक ग्यास जलाउँदा उत्पन्न हुने तापक्रम वृद्धिका कारण यसको सम्भावना दोब्बर भएको युरोपबाट द्रुत जलवायु एट्रिब्युस अध्ययन गर्ने वैज्ञानिकहरूको एक समूह वर्ल्ड एट्रिब्युसन अध्ययनले बुधबार बताएको छ । अध्ययनले जलवायु परिवर्तनले वर्षालाई सात प्रतिशतदेखि २० प्रतिशतसम्म तीव्र बनाएको बताएको छ ।

अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका जलवायु शोधकर्ता जोयस किमुताईले भने, “फेरि पनि एक पटक यी बाढीहरूले जीवाश्म इन्धनसँग प्रेरित तापक्रम वृद्धिको विनाशकारी परिणामहरूलाई उजागर गरेका छन् ।”

मानव सिर्जित जलवायु परिवर्तनको प्रभाव परीक्षण गर्न वैज्ञानिकहरूको टोलीले मौसम तथ्याङ्कको विश्लेषण गरे र जलवायु मोडलहरूको प्रयोग गरेर चिसो पूर्वऔद्योगिक कालदेखि आजसम्म यस्ता घटना कसरी परिवर्तन भएका छन् भनेर तुलना गरेको थियो । 

यस्ता मोडलहरूले पूर्वऔद्योगिक कालदेखि हालको एक दशमलव तीन डिग्री सेल्सियको विश्वव्यापी तापक्रम वृद्धिबिनाको संसारको अनुकरण गर्छन् र त्यस्तो संसारमा यति गम्भीर वर्षा हुने सम्भावना कति हुन्थ्यो भनेर हेर्छन् । अध्ययनले गम्भीर प्रभाव महसुस गरेका मुलुकहरूमा केन्द्रित रहेर चार दिनको वर्षाको घटनाको विश्लेषण गरेको थियो ।

“कुनै पनि जलवायुमा तपाईंले कहिलेकाहीँ रेकर्डहरू तोडिउन् भन्ने अपेक्षा गर्नुहुन्छ तर रेकर्डहरू यति ठूलो अन्तरले तोडिएको देख्नु भनेको त्यो वास्तवमै जलवायु परिवर्तनको छाप हो र यो केवल तातिरहेको संसारमा मात्र देखिने कुरा हो”, एट्रिब्युसन अध्ययन टोलीको समन्वय गर्ने इम्पेरियल कलेजका जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले भने । 

बोरिस आँधीबाट उत्पन्न वर्षाको सबैभन्दा गम्भीर प्रभाव विशेषगरी नदी नजिकका सहरी क्षेत्रहरू भएका पोलिश–चेक सीमा क्षेत्र र अस्ट्रियामा महसुस गरिएको थियो । यस महिनाको बाढीबाट मृत्यु हुनेको सङ्ख्या सन् १९९७ र सन् २००२ मा यस क्षेत्रमा आएको विनाशकारी बाढीको तुलनामा धेरै कम थियो । यद्यपि धेरै मामिलामा पूर्वाधार र आपत्कालीन व्यवस्थापन प्रणालीहरू जलमग्न भएकाले यसलाई ठिक गर्न अर्बौं युरो लाग्नेछ ।

गत साता युरोपेली सङ्घ (इयु) का प्रमुख उर्सुला भोन डेर लेयेनले बाढीबाट पूर्वाधार र आवासीय क्षेत्रमा क्षति भोगेका मुलुकहरूलाई अर्बौं युरो सहायता प्रदान गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

वर्ल्ड वेदर एट्रिब्युसन अध्ययनले अझै बढी तापक्रम भएको संसारमा विशेषगरी पूर्व–औद्योगिक कालदेखि दुई डिग्री सेल्सियसको तापक्रम वृद्धि भएमा हालको स्तरको तुलनामा भयानक चार दिने आँधीको सम्भावना ५० प्रतिशतले बढ्ने चेतावनी दिएको छ । लेखकहरूले यस्ता आँधीहरूको तीव्रता पनि बढ्ने पत्ता लगाएका छन् ।

मध्य युरोपभर भारी वर्षालाई ‘भिबी डिप्रेसन’ को नामले जानिन्छ । यो उत्तरबाट चिसो ध्रुवीय हावा आल्प्स पर्वत माथिबाट बग्दा र दक्षिण युरोपबाट आउने तातो हावासँग भेट्दा बन्दछ । अध्ययनका लेखकहरूले सन् १९५० को दशकदेखि यस्तै भिबी डिप्रेसनहरूको सङ्ख्यामा देख्न सकिने कुनै परिवर्तन फेला पारेनन् ।

विशेषगरी चरम मौसमी घटना पछाडि जलवायु परिवर्तन थियो वा थिएन भनी निर्धारण गर्न धेरै समय लाग्ने कुराप्रतिको निराशाका कारण सन् २०१५ मा वर्ल्ड वेदर एट्रिब्युसन समूह सुरु भएको थियो ।

नेत्रज्योति सङ्घका अध्यक्ष पन्त आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)को ‘बोर्ड अफ ट्रस्टी’मा निर्वाचित भएका छन् ।

‘अनलाइन’ मार्फत सम्पन्न मतदानको नतिजा मङ्गलबार सार्वजनिक गरिएको हो । आइएपिबीका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरु उक्त मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाहरुको छाता सङ्गठनका रुपमा रहेको आइएपिबीले अन्तर्राष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक सङ्घहरू र कर्पोरेट संस्थाहरू समेत आइएपिबीका सदस्य रहेका छन् ।

नेपाल नेत्रज्योति सङ्घ विगत एक दशकभन्दा लामो समयदेखि आइएपिबीको सदस्य रहँदै आएको छ । सङ्घ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाका रुपमा २०३५ साल चैत १३ गते स्थापना भई नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो ।

सङ्घले नेपालका ७७ जिल्लामध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई उपचार सेवा प्रवाह गरिसकेको छभने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

हाल सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू सञ्चालनमा छन् ।

निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ ।

निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो । निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगञ्ज कार्यालयबाट टिकट वितरण गर्नेगरी व्यवस्था मिलाउनेछ । उक्त व्यवस्थापनका लागि निगमका  कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

‘आगामी बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस् भनी निगमका विराटनगर, पोखरा र नेपालगञ्ज स्थित कार्यालयहरुबाट बिक्री गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रुपमा लागू गर्न निर्देशन दिइएको छ’ विज्ञप्तिमा भनिएको छ ।

साथै, यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको ‘वेब–साइट’बाट  ‘अनलाइन टिकट’लिन सकिने व्यवस्था रहेकामा स्थानीय ठाउँबाट समेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढङ्गले टिकेटिङको सेवा लिने निगमको विश्वास छ ।

सहकारी ठगी अभियोगमा जीबी राईसहित १७ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

भरतपुर । चितवनमा सहकारीका बचतकर्ताको रकम ठगी गरी फरार रहेका गीतेन्द्रबाबु राई (जीबी)सहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

चितवनस्थित साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी प्रकरणमा राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । बुधबार राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो ।

राईसहित, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरविरुद्ध मुद्दा दर्ता भएको हो ।

चार सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो ।

प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।


सहकारीसम्बन्धी विशेष संसदीय छानबिन समितिले विभिन्न सहकारी ठगीमा जीबीको संलग्नता रहेको निष्कर्ष निकाल्दै उनलाई कारबाहीको सिफारिस गरेको थियो । राईलाई पक्राउ गर्न प्रहरीको इन्टरपोलमार्फत ’रेड नोटिस’समेत जारी भइसकेको छ । तर उनी पक्राउ पर्न सकेका छैनन् । उनी मेलेसियामा रहेको बताइएको छ ।

पर्यटकको रोजाइमा ‘तीनधारे झरना’

सिबी अधिकारी, काफलडाँडा (काभ्रेपलाञ्चोक)  । काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो ।

रोशिखोलाको तिरबाट उकालो चड्दै गर्दा मन फुरुङ्ग हुन्छ । बादलुको घुम्टोले घरिघरी महाभारतलाई छोपिदिन्छ । केही क्षणमा कपास जस्तै बादल फाटेर महाभारतबाट बगिरहेको तीनधारे झरनाको घुम्टो उघार्दा देखिने मनमोहक दृश्यले सबैलाई मन्त्रमुग्ध बनाउने गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक झरनाको अवलोकन गर्दा जो कोहीलाई मोहित तुल्याउछ ।

छिनभरमा बदलिरहने मौसम र बादलको लुकामारीको दृश्यले पुल्कित बनाउँछ । “मनमोहक झरनालाई नजिकबाट साक्षात्कार गर्न पाउँदा आनन्द आइरहेको छ”, झरनासँग डुबुल्की मार्दै धरानका नवीन किरातीले भने, “सामाजिक सञ्जालबाट थाहा पाएर आएको हुँ । यो ठाउँ सुन्दर र आकर्षित रहेछ, यहाँसम्मको यात्राका क्रममा भएको थकानलाई बिर्सायो ।” सल्लाको सुसेली, चराचुरुङ्गीको चिरबिर सुमधुर आवाजले यात्रालाई थप रोमाञ्चक बनाइदिने उनको बुझाइ छ ।

अग्लो महाभारत, वरिपरि हरियाली पहाडका थुम्काले झरनाको सौन्र्दयतालाई बेहुली झैँ सिँगारको छ । प्राकृतिक विविधतासँग भौतिक पूर्वाधारले झरनाको सुन्दरतालाई निखारपन ल्याएको छ । काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रुपमा विस्तार हुन्दै गएको छ ।

“उचाइ बढ्दै गयो मौसम बदलिन्छ । बादलुको घुम्टो उघार्दा झरनाको रङ्गीविरङ्गी दृश्यावलोकनले जो कोहीलाई मोहित तुल्याउँछ । झरनाको चिसो पानीमा खेल्दा थप मन आनन्दित हुन्छ”, काठमाडौँको कागेश्वरी मनोहरा–७ का प्रमेश थापाले भने, “मनै फुरुङ्ग भएको छ, सारा दुःख, कष्ट बिर्साएर मन हलुङ्गो भएको छ । झरनाको थेरापीले शारीरिक आनन्दको वर्ण गर्न सकिदैन ।” प्रकृतिको अनुपम उपहारका रुपमा रहेको झरनाको प्रचारप्रसार गरी महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

थापाले टिकटकमा भाइरल भएको बाहुबली झरनाको रुपमा चिनिने तीन धारे झरना अवलोकन गर्न आएको बताउँदै प्रकृतिको सुन्दर उपहारका रुपमा रहेको यस झरनाले मानिसका दुःख र पीडाका भारी बिसाउने उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गरे ।

“झरनाको स्पर्शले सबै कष्ट बिर्साउँछ । कञ्चन कलकल बहने पानीले रोमाञ्चकारी दृश्यलाई कैद गर्न/गराउँन बाध्य गराउँछ । अझ पानीमा खेल्दै छाँगाबाट झरना चढ्नुको आनन्द बेग्लै हुन्छ । मानिसका तृप्तिलाई झरनाले दुर गराइदिन्छ”, उनले भने ।

काभ्रेपलाञ्चोकको तीनधारे झरना अवलोकन गर्न जाने जो कोहीलाई उल्लेखित दृश्यले मोहित तुल्याउँछ । समुद्री सतहबाट एक हजार आठ सय मिटर उचाइमा रहेको यो झरना अहिले आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको छ । यो झरना अहिले सामाजिक सञ्चालमा पनि चर्चामा छ ।

दक्षिण भारतीय फिल्म बाहुबलीमा देखाइएको झरनासँग मिल्दोजुल्दो भएकाले यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले बाहुबली झरना नाम दिएका छन् । काफलडाँडासम्म सडक पहुँच विस्तार भएको छ । सडकबाटो सकिएपछि मुख्य केन्द्रबाट करिब आधा घण्टाको पैदल यात्रापछि तीनधारे झरना पुगिन्छ । यहाँ पुग्न एक हजार ८० मिटर दूरीको यात्रा गर्नुपर्दछ ।

नेपालका प्रसिद्ध झरनामध्ये तेह्रथुम जिल्लामा रहेको सबैभन्दा अग्लो ह्यात्रुङ झरना र म्याग्दीको चर्चित रुप्से झरना पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेका गन्तव्य हुन् । ती क्षेत्रमा उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने गरेका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पोखराको पातले छाँगोलगायत चर्चित गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । राजधानी नजिकैको तीनधारे झरनाको आनन्द लिन छोटो समय र कम खर्चमा पुगिने उपयुक्त गन्तव्य हो ।

नेपालमा झरना पर्यटन बढिरहेकाले यसको आवश्यक प्रचारप्रसारमा पर्यटन बोर्डले सम्बन्धित स्थानीय तह र सरोकार भएका निकायसँग समन्वय र सहकार्य बढाएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थल तीनधारे झरनाको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको बताए ।

“गाउँपालिकाभित्रको सम्भावित पर्यटकीयस्थलको पहिचान गरी संरक्षण र प्रवर्द्धनमार्फत आन्दानीको स्रोत बढाउन गाउँपालिकाले येजनाबद्ध रुपमा काम गरिरहेको छ”, उनले भने, “झरनाको संरक्षण, प्रवर्द्धन गरी आर्थिक आम्दानीसँग जोड्ने उद्देश्यले वार्षिक नीति र कार्यक्रममा समावेश गरेर अगाडि बढेका छौँ ।”

तीनधारे झरनालाई स्थानीयले कोरोनाको बेला फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि चर्चामा आएको अध्यक्ष लामाले जानकारी दिए । पछिल्लो तीनवर्षयता झरना पुग्ने पहुँच मार्गमा आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थित गरिएको उनको भनाइ छ ।

अध्यक्ष लामाले झरनालाई बाह्रैमहिना सञ्चालनका लागि व्यवस्थापकीय काम गरिरहेको उल्लेख गरे । उनले पदमार्गमा सिँडी निर्माण, शौचालय, फोहर व्यवस्थापन, खानेपानीको व्यवस्थापनलगायत क्षेत्रलाई थप व्यवस्थित बनाएर लैजाने योजनामा पालिका रहेको जानकारी दिए ।

“झरनालाई प्रवर्द्धन गर्नका लागि आसपासका बासिन्दालाई होमस्टे (घरबास) सम्बन्धी तालिम दिएका छौँ । अहिले चार÷पाँच वटा होमस्टे बनिसकेका छन्”, अध्यक्ष लामाले भने, “पर्यटक वृद्धि भएसँगै होमस्टे बढाउने, पदमार्गलाई व्यवस्थित बनाउने, ठाउँठाउँमा विश्रामस्थल, झरनामा पोखरी निर्माणलगायत कार्यक्रमलाई आगामी दिनमा प्राथमिकता दिने छाँै ।” उनका अनुसार तीन/चार वर्षको अवधिमा उल्लेख्य सङ्ख्यामा झरना अवलोकन गर्न पर्यटक पुगेका छन् ।

होमस्टेमा फापरको ढिँडो, हरियो मकै, गुन्द्रुकको अचार, काँक्रोलगायत स्थानीय परिकारको स्वाद लिन पाइन्छ । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ भन्ने नाराका साथ गाउँपालिकाले पर्यटकीय गन्तव्यको विकासलाई प्राथमिकता दिएको छ । चालु आर्थिक वर्षमा झरना स्थलमा स्वागतद्वार निर्माण गर्ने, बाटोमा रेलिङ र ढुङ्गा विछ्याउने योजना छ ।

भविष्यमा निश्चित शुल्क तोकेर आम्दानीको स्रोत बनाउने गाउँपालिकाको योजना छ । नमोबुद्ध आउने पर्यटकलाई तीनधारे झरनामा आकर्षण गर्ने र झरनाबाट माथितिर ताराखसे तालभएर पदमार्ग विस्तार गर्ने योजना छ ।

सङ्घीय राजधानी काठमाडौँ नजिक रहेको यो गन्तव्यमा पछिल्लो समय पर्यटक बाक्लो सङ्ख्यामा जाने गरेका छन् । तीनधारे झरनाको उद्गम स्थान महाभारत पर्वत शृङ्खला हो । काभ्रेको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दूरीमा झरना स्थल पुगिन्छ । महाभारत लेकबाट तीनवटा धारा झरेकाले यसलाई तीनधारे झरना भनिएको स्थानीय बताउँछन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण झरना हेर्न सो ठाउँमा सिजनमा दैनिक पाँच छ सय आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका घरबास कार्यक्रम ‘होमस्टे’ एण्ड फम हाउसका सञ्चालक सुनिल तामाङले जानकारी दिए । उनका अनुसार अन्य समयमा भन्दा साउनदेखि असोजसम्म उल्लेख्य सङ्ख्यामा पर्यटक आउँछन् । शुक्रबार र बिदाको दिन आन्तरिक पर्यटकको उल्लेख्य उपस्सित हुने उनले बताए ।

विसं २०८० मा स्थापना भएको होमस्टेमा अहिले पाहुनाको भीड लाग्ने गर्दछ । उक्त स्थानबाट सूर्य उदाएको र अस्ताएको देख्न पाइन्छ । हिउँदमा यहाँबाट सर्वोच्च शिखर सगरमाथा पनि अवलोकन गर्न सकिन्छ ।

काठमाडौँ नजिकको गन्तव्य भएर पनि धेरै सङ्ख्यामा पर्यटक आउन नसकेका घरबास सञ्चालक बताउँछन् । सडक बाटो राम्रो भइदिए अगामी दिनमा पर्यटकको आगमन बढ्ने पर्यटन व्यवसायीको विश्वास छ । झरना अवलोकनमा जाने पर्यटकलाई रोशी किनारका हरियाली फाँटले झनै मोहित बनाउँछ । रैथाने बस्ती, आकर्षक घर, स्थानीय बालीनाली र परिकारको आनन्द यहाँका विशेषता हो ।

कसरी पुग्ने झरनामा

विसं २०२८ मा पत्ता लागेको यो झरनाको उचित प्रचारप्रसार हुन नसक्दा राजधानी नजिक रहेर पनि ओझेलमा परेको छ । पछिल्लो सयम सामाजिक सञ्जाल, सञ्चारमाध्यमलगायतमा झरनाको चर्चा चुलिएपछि अहिले स्थानीय तहले उक्त गन्तव्यको पूर्वाधार विकासका क्षेत्रमा काम गरिरहेका छन् । विस्तारै पर्यटक बढ्न थालेपछि पर्यटक व्यवस्थापनका लागि होटल तथा होमस्टे सञ्चालन गरिएका छन् ।

तीनधारे झरनामा काठमाडौँबाट सडक मार्गबाट धुलिखेल, नमोबुद्ध दाप्चा हुँदै जान सकिन्छ । पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको रोशी गाउँपालिकाले जनाएको छ ।

रोशी गाउँपालिकाका प्राविधिक हिमाल जिसीले पदमार्ग संरक्षण र व्यवस्थित बनाउन प्राथमिकता दिइएको बताए । चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएको जनाउँदै उनले जानकारी दिए । शौचालय, कपडा फेर्ने कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संरचना निर्माण गरिएको उनले जानकारी दिए ।

वर्षातको समयमा हरियाली र झरना हेर्न आन्तरिक र विदेशी पर्यटक लालायित हुने गरेका छन् । गर्मी छल्नका लागि चिसो पानीमा नुहाउने र फोटो खिच्दै रमाउने युवायुवतीको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालका पहाडी जिल्लामा मनमोहक, आकर्षक र सुन्दर झरनाहरू छन् । वर्षायाममा झरनासँगै हरियाली अवलोकन गर्न आउने पर्यटक लालायित हुने गरेका स्थानीय बताउछन् ।

नेपाली यू–२० टिम उज्बेकिस्तानसँग ६ शून्यले पराजित

काठमाडौं । एएफसी यू–२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । बुधबार न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा भएको खेलमा उज्बेकिस्तानले नेपाललाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल खाएको थियो । समूह बीमा यो जितपछि उज्बेकिस्तानको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपालले भने ३ खेलमा तीन अंक जोडेको छ । अघिल्लो खेलमा उज्बेकिस्तानले कम्बोडियालाई ७–० को फराकिलो अन्तरले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३–१ गोलको जित हात पारेको थियो । अब नेपालले शुक्रबार बहराइनसँग खेल्नेछ ।

चितवनमा डेङ्गी र स्क्रब टाइफसका बिरामीको संख्यामा वृद्धि

भरतपुर ।  चितवन जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये एक हजार चार हजार ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ। यहाँका विभिन्न अस्पतालमा उपचार गर्न आएकामध्ये एक हजार एक सय ५५ जना चितवनका हुन् भने तीन सय ३७ जना बाहिरी जिल्लाका हुन्।

साउनयता जिल्लामा डेङ्गीको सङ्क्रमण र स्क्रब टाइफसका बिरामी बढ्दै गएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए। उनका अनुसार हालसम्म पाँच हजार एक सय १३ जनाको परीक्षण गर्दा एक हजार चार हजार ९२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो।

सबैभन्दा बढी भरतपुर महानगरपालिकामा चार सय ६२ जनामा डेङ्गीको सङ्क्रमण देखिएकामा दुई जनाको मृत्यु भएको प्रमुख रुपाखेतीले बताए। उनका अनुसार इच्छाकामना गाउँपालिकामा तीन सय ७६, रत्ननगर नगरपालिकामा एक सय ८४, खैरहनी नगरपालिकामा ६५, राप्ती नगरपालिकामा २९, कालिका नगरपालिकामा ३१ र माडी नगरपालिकामा आठ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ।

प्रमुख रुपाखेतीका अनुसार गत आवमा २३ हजार आठ सय ४० जनाको परीक्षण गर्दा एक हजार आठ सय ३१ जनामा डेङ्गीको सङ्क्रमण देखिएको थियो। वर्षा हुने र घाम लाग्ने समय लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले भदौ, असोजमा डेङ्गी सङ्क्रमण देखिने गर्दछ। उनले भने, “अहिले साउनको सुरुवतादेखि डेङ्गीको सङ्क्रमण बढ्दै गएको हो।”

यो रोग घरवरिपरी बस्ने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने भएकाले यो समयमा बढी सतर्कता अपनाउनुपर्ने उनले उल्लेख गरे।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्कीलगायत स्थानमा फूल पार्ने गर्दछ। यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको सङ्क्रमण बढ्ने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पट्टेलले जानकारी दिए। डेङ्गी लगेमा पाँचदेखि सात दिनसम्म ज्वरो रहन सक्ने उनले सुनाए।

यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्दछन्। त्यस्तै, वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने उनले बताए।

डेङ्गीबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायरलगायतमा पानी जम्न नदिने जनस्वास्थ्य अधिकृत पट्टेलले उल्लेख गरे।

दुई सय २१ जनामा स्क्रब टाइफस

जिल्लाका विभिन्न अस्पतालमा साउनयता दुई सय २१ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ। उपचारका गर्न आएका एक हजार छ सय २१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालयका प्रमुख रुपाखेतीले जानकारी दिए।

उनका अनुसार सङ्क्रमितमध्ये एक सय १५ चितवन र एक सय छ जना बाहिरी जिल्लाका हुन्। गत आर्थिक वर्षमा सात सय ६२ को परीक्षणका क्रममा दुई सय ४८ जनामा स्क्रब टाइफस देखिएको थियो। स्क्रफ टाइफस मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने उनले जानकारी दिए।

स्क्रफ टाइफस भएमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुखाइ र पखालाले सताउने, श्वास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

यसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रण गर्न उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्ने रुपाखेतीले सुनाए।

अध्यागमनको छवि सुधार गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ  । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

अध्यागमन कार्यालयका बारेमा नकरात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले यसतर्फ सचेत हुन आग्रह गरे ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख गर्दै यहाँ हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे । विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिए ।

‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो, यहाँ आउने नागरिकले नेपाल हेर्ने यहीँ हो । बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो’, गृहमन्त्री लेखकले भने । अध्यागमनका कर्मचारीको व्यवहार सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको उनको भनाइ थियो ।

सो अवसरमा त्यहाँ कार्यरत अध्यागमनका कर्मचारीहरुले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव र विभिन्न भौतिक संरचना सुधारको आवश्यकता रहेको उल्लेख गर्दै कर्मचारीलाई समयक्रमअनुसार तालिम तथा प्रशिक्षण आवश्यक रहेको गृहमन्त्री लेखकलाई अवगत गराएका थिए । गृहमन्त्री लेखकका साथमा गृहसचिव गोकर्णमणि दुवाडीसमेत रहेका थिए ।

शेयर बजारमा उच्च अंकको बृद्धि, कारोबारमा भने कमी

काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको शेयर बजार नेप्से साताको चौथो दिन बुधबार भने उच्च अंकले बढेको छ । बुधबार नेप्से ४९ दशमलव १८ अङ्कले बढेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज विन लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् कम्पनी र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन हिमालयन हाइड्रोपावर र स्वरोजगार लघुवित्त कम्पनीको शेयर भने ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम भने घटेको छ । मंगलबार साढे पाँच अर्बको कारोबार भएकोमा बुधबार तीन सय २७ वटा कम्पनीका एक करोड २४ लाख कित्ता शेयर चार अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएका छन् ।

नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालको यसवर्षको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत हुने अनुमान गरेको छ ।

बैंकले बुधबार एशियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत थियो । आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता तथा पर्यटनसम्बन्धी सेवाको पुनरुत्थान, विद्युत् क्षमता वृद्धि लगायतले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सुधार देखिएको एडीबीको नेपालका लागि राष्ट्रिय निर्देशक आर्नो कोश्वाले बताए ।

मनसुन राम्रो हुँदा रोपाइँ सप्रिएकाले धानको उत्पादन बढ्ने एडीबीले उल्लेख गरेको छ । यस्तै एडीबीले यो वर्ष नेपालको मूल्यवृद्धि दर पाँच प्रतिशतको सीमाभित्रै रहने अनुमान गरेको छ । दक्षिण एसियामा सबैभन्दा धेरै भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहने प्रक्षेपण एडीबीको छ ।

सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत रहने अनुमान गरिएको छ । कृषि उत्पादनमा सुधार, उर्जा उत्पादनमा वृद्धि र पर्यटन आगमनमा वृद्धि लगायतले अर्थतन्त्र सुधारमा मद्दत गरेको एडीबीले जनाएको छ । वैश्विक अर्थतन्त्रमा समस्यामा आएका नेपालको पर्यटन घट्ने र जलवायुसम्बन्धीका ठूला घटनाले पनि नेपालको अर्थतन्त्रमा चुनौती सिर्जना गर्नसक्ने एडीबीले जनाएको छ ।

चट्याङ लागेर तीनजनाको मृत्यु, दुई  घाइते

कञ्चनपुर । कञ्चनपुर र दाङमा गरी चटयाङ लागेर तीनजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो । 


चटयाङ लागेर दोधारा चाँदनी–६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ । उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ ।


दाङमा चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते


दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।


चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।


चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उहाँकी छ वर्षीया छोरी सविना साहु घाइते भएकामा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

लमजुङ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गरेको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गरेकी थिइन् ।

काम गर्ने इच्छा र जाँगर भएमा तालिम विना पनि दक्षता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी चित्रकार सापकोटाले विभिन्न परियोजनाअन्तर्गत स्वदेश तथा विदेशबाट चित्रकलासम्बन्धी काम आउने गरेको बताइन। “कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै कुची र रङ्ग खेलाउन थालेँ, अहिले व्यावसायिक रुपमा चित्र बेच्न थालेकी छु”, उनले भनिन्।

एरिकाले कडा मेहनत र लगावका कारण आफू चित्रकार बनेको बताइन् । ‘फुपूदिदीको घरमा फर्निचर उद्योग थियो । सुरुआती दिनमा त्यहाँ गएर रङ्ग, कागज र काठका टुक्रामा चित्र बनाउन सिक्थेँ । पछि इन्टरनेटको माध्यमबाट रङ्गको समायोजन र कसरी चित्र बनाउने भन्ने विषयमा अध्ययन र अनुसन्धान गर्दै बनाउन थालेकी हुँ’, उनले भनिन।

फुर्सदको समयलाई त्यतिकै फाल्नुहुँदैन भन्ने मान्यता राख्ने सापकोटा आफ्नो इन्जिनियरिङको कामबाट केही समय सदुपयोग गरी वा कम्प्युटर हेर्दाहेर्दै दिक्क लागेको समयमा चित्र बनाउने गर्दछिन । यसबाट ध्यान विकेन्द्रित नहुने र मनलाई प्रफुल्लित बनाउने उनको अनुभव छ ।

‘अहिले रङ्गमा हात बसिसकेको छ’, सापकोटाले भनिन, सुरुआती चरणपछि आफैँले रङ्ग, ब्रस र कागज किनेर ल्याई क्यानभासमा चित्र बनाउन थालेकी थिएँ ।’ एउटा चित्र बनाउन डेढदेखि दुई घण्टा लाग्ने उनले जानकारी दिइन् ।

चित्र बनाउँदै गर्दा भेटिनुभएकी सापकोटाले भने, ‘चित्र बनाएर त्यसलाई पूर्णता दिनुपर्छ । कहीँकतै कही अपुग वा कमी भएमा त्यसलाई अन्तिम चरणको तयारी गर्नुपर्छ ।’ उनले एउटा चित्र न्यूनतम सात हजारसम्म र अधिकता १२ हजारसम्ममा बिक्री हुने उल्लेख गरिन् ।

कम्प्युटरमा काम गर्ने भएका पनि आवश्यक रङ्ग, ब्रस र कागज ‘अनलाइन’बाट मगाउने गरेको बताउँदै सापकोटाले चित्र बनाउने माग पनि अनलाइनबाट बढी आउने गरेको जानकारी दिइन । विदेशमा रहेका साथीभाइ र आफन्तले प्रोत्साहन तथा प्रचारप्रसार गरिदिनुभएको उनको भनाइ छ ।

विदेशमा रहेका शुभचिन्तकको सहयोगले अमेरिकामा एउटा चित्रलाई २० हजार र अष्ट्रेलियामा १२ हजारमा बिक्री हुने गरेको सापकोटाले बताइन् ।

पोखरामा फपूदिदीको घरमा बसेर पढ्दा आफूले सिकेको कलाकारितालाई उनले जतनका साथ निखार ल्याउँदै छिन । नेपालमा पनि अनलाइनबाट चित्र बनाउन माग आउने भन्दै अनलाइनबाटै बिक्री हुने गरेको उनको अनुभव छ ।

चित्र कस्तो, रङ्ग कुन मनपर्ने भन्ने कुरा मानिसको व्यक्तित्वमा भरपर्ने बताउँदै माग रङ्ग समायोजन गरेर चित्र बनाउने गरेको सापकोटाले उल्लेख गरिन।

‘माग (अर्ड) आएका चित्र सबै बनाउन समय पर्याप्त भएको छैन । आइटीको क्षेत्रमा काम गर्ने भएकाले व्यस्तता पनि निकै छ, फुर्सदमा रङ्गहरुसँग खेल्ने गरेकी छु’, उनले भनिन ।

चित्र बिक्री हुँदा र पुरस्कार पाउँदा अझ बढी गरुँ गरुँ लाग्ने सापकोटाले अनुभव सुनाइन् । गत वर्ष गण्डकी प्रज्ञा–प्रतिष्ठान र क्यानले संयुक्त रुपमा आयोजना गरेको चित्रकला प्रतियोगितामा पुरस्कृत भएको जानकारी दिँदै उनले त्यसबाट प्राप्त हौसलाले ठूलो ऊर्जाको काम गरेको बताइन ।

घरमा बसेर आइटीको क्षेत्रमा देश विदेशका काम गर्नु र त्यसबाट फुर्सद निकालेर चित्र बनाउनु अहिले उनको दिनचर्या बनेको छ । आँट र मेहनत गर्ने हो भने जस्तोसुकै कठिन काम गर्न पनि सकिन्छ भन्ने एरिकाले त्यसका लागि तालिम वा प्रत्यक्ष कक्षा लिनु नपर्ने बताइन ।

‘पछिल्लो समय प्रविधिमा भएको विकासका कारण इन्टनेटको माध्यमबाट जस्तोसुकै काम गर्न र सिक्न सकिँदो रहेछ’, उनले भनिन, ‘परिवार र आफन्तको सहयोगले आत्मनिर्भर बनाउँदै लगेको छ ।’

अनलाइनबाटै विभिन्न परियोजनाका काम गरिरहेको बताउँदै सापकोटाले चित्रकला कोरिरहँदा मन शान्त र आनन्दित हुने अनुभव सुनाइन । चित्रकला रोजाइको विषय भएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको योजना छ ।

चितवन खाद्यान्नमा आत्मनिर्भर

चितवन । जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन आत्मनिर्भर रहेको छ । धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न बालीमा जिल्ला आत्मनिर्भर भएको हो ।

कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ ३७ हजार ११८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यस्तै, १७ हजार ११० हेक्टर क्षेत्रफलमा मकै, चार हजार ९४१ हेक्टर क्षेत्रफलमा गहुँ, एक हजार ५० हेक्टर क्षेत्रफलमा कोदो र फापर लगाउने गरिएको उनले बताए ।

उनका अनुसार सबै उत्पादन दुई लाख ५२ हजार ८४५ मेट्रिक टन खाद्यान्न जिल्लामा उत्पादन हुँदै आएको छ । त्यसमा धान एक लाख ६७ हजार ३३ मेट्रिक टन, मकै ६८ हजार ५९१ मेट्रिक टन, गहुँ १६ हजार १३ मेट्रिक टन, कोदो र फापर एक हजार २०८ मेट्रिक टन उत्पादन हुने गरेको कँडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम सार्वजनिक तथा आर्थिक वर्ष २०८०/८१ को प्रगति समीक्षा कार्यक्रममा कँडेलले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार जिल्लामा सात लाख १९ हजार ८५९ जना स्थायी रुपमा बसोबास गर्ने रहेका छन् । त्यसले एक लाख ४० हजार १९ मेट्रिक टन खाद्यान्न खपत गर्ने गरेको सो अवसरमा जानकारी गराइयो ।

त्यसमध्ये धान ९८ हजार २७४ मेट्रिक टन, मकै २६ हजार ७७७ मेट्रिक टन, गहुँ १३ हजार ८८८ मेट्रिक टन, कोदो र फापर एक हजार ८० मेट्रिक टन उपभोग भएको कँडेलले बताए ।

उनका अनुसार दुई हजार ५२६ दशमलव ३० मेट्रिक टन प्रशोधित खाद्यान्न बचत हुने गरेको छ । जिल्लामा स्थायी बसोबास गर्ने जनतालाई आफ्नो उत्पादनले खान पुग्ने जनाउँदै उनले अस्थायी रुपमा बसोबास गर्नेहरुको हकमा बाहिरबाट ल्याउनुपर्ने बताए । 

दाङमा चट्याङ लागेर एकजनाको मृत्यु, दुईजना घाइते

देउखुरी (दाङ) । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।

चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उहाँकी छ वर्षीया छोरी सविना साहु घाइते भएकामा दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इरानबाट मेरो जीवन ठूलो खतरामा छ : ट्रम्प

रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले उहाँको जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गरेको बताएका छन् । अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको आफ्नो प्रचार टोलीले बताएपछि उनको यस्तो भनाइ आएको हो । 

‘इरानबाट मेरो जीवनमा ठूलो खतरा छ, सम्पूर्ण अमेरिकी सेनाले हेरिरहेको छ र प्रतीक्षा गरिरहेको छ’, उनले आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा लेखेका छन्, ‘इरानले पहिला नै केही प्रयास गरेको थियो जुन सफल भएन तर फेरि उसले प्रयास गर्नेछ । म पहिला कहिल्यै नदेखेको जति धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु ।’


उनले आफ्नो जीवनमा भएका दुई हत्या प्रयासपछि अमेरिकी गुप्तचर सेवाको बढ्दो निगरानीलाई उल्लेख गरे । ट्रम्पको प्रचार टोलीले मङ्गलबार एक वक्तव्यमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई इरानबाट उनको हत्या गर्ने ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको बताएको छ । 


प्रचार टोली र ट्रम्प स्वयंले उल्लेख गरेका यी खतराहरू नयाँ हुन् वा पहिले नै रिपोर्ट गरिएका खतराहरू हुन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन । 

‘आज राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले राष्ट्रपति ट्रम्पलाई अमेरिकामा अस्थिरता र अराजकता फैलाउने प्रयासमा उहाँको हत्या गर्ने इरानको वास्तविक र विशिष्ट खतराका बारेमा जानकारी दिएको थियो’, प्रचार सञ्चार निर्देशक स्टिभन चेउङले विज्ञप्तिमा भनेका छन्, ‘गुप्तचर अधिकारीहरूले यी निरन्तर र समन्वित आक्रमणहरू पछिल्ला  केही महिनामा बढेको पहिचान गरेका छन् र सबै एजेन्सीका कानून कार्यान्वय अधिकारीहरू राष्ट्रपति ट्रम्पको सुरक्षा र निर्वाचनलाई हस्तक्षेपबाट मुक्त राख्न काम गरिरहेका छन् ।’


प्रचार टोलीले यी दाबीबारे थप विस्तार गरेको छैन । विश्व नेताहरू इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको शत्रुतालाई व्यापक क्षेत्रीय युद्धमा परिणत हुनबाट रोक्न प्रयासरत रहेका बेला यी दाबी आएका हुन् । 


यस गृष्ममा ट्रम्पको हत्या गर्ने प्रयास गरिरहेको भन्ने आरोपलाई इरानले अस्वीकार गरेको छ । पेन्सिल्भेनियामा भएको र्यालीमा एक बन्दुकधारीले गोली चलाएर एक व्यक्तिको मृत्यु र ट्रम्पलाई घाइते बनाएको घटनालगत्तै यो आरोप आएको हो ।

जुलाई १३ को हत्या प्रयासको केही दिनपछि अमेरिकी सञ्चारमाध्यमहरूले अधिकारीहरूले रिपब्लिकनविरुद्ध कथित इरानी षड्यन्त्रबारे खुफिया जानकारी प्राप्त गरेको र यसले उनको सुरक्षा बढाइएको बताएका थिए । इरानले यी ‘दुर्भावनापूर्ण’ आरोपहरूलाई अस्वीकार गरेको थियो । 

‘यदि उनीहरूले ‘राष्ट्रपति ट्रम्पको हत्या’ गरे, जुन सधैँ सम्भावना छ, म आशा गर्छु कि अमेरिकाले इरानलाई नष्ट गर्नेछ, पृथ्वीको सतहबाट मेटाइदिनेछ– यदि त्यसो भएन भने अमेरिकी नेताहरूलाई ‘कायर’ मानिनेछ’, त्यसबेला ट्रम्पले आफ्नो सामाजिक मिडिया प्लेटफर्म ट्रुथमा लेखेका थिए । 


इरानी साइबर आक्रमणकारीहरू


अमेरिकी गुप्तचर निकायहरूले इरानमाथि ट्रम्पको प्रचार टोलीलाई निशाना बनाएर ह्याक गरेको र तेहरानले सन् २०२४ को निर्वाचनलाई प्रभावित गर्न खोजिरहेको आरोप लगाएका छन् । 


इरानी साइबर आक्रमणकारीहरूले ट्रम्पका तत्कालीन ह्वाइट हाउस प्रतिद्वन्द्वी राष्ट्रपति जो बाइडेनका कर्मचारीहरूलाई ट्रम्पको प्रचारबाट ‘चोरी गरिएका गैरसार्वजनिक’ सामग्री प्रस्ताव गरेको यसै महिना अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालय, सङ्घीय जाँच ब्युरो र साइबरसुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सीको वक्तव्यमा उल्लेख छ । 


‘निर्वाचनको दिन नजिकिँदै गर्दा विदेशी खेलाडीहरूले आफ्नो निर्वाचनको प्रभाव गतिविधिहरू बढाइरहेका छन्’, रुस, इरान र चीनलाई विशेष रूपमा उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, ‘आफ्नै फाइदाका लागि अमेरिकी समाजमा विभाजनलाई बढाउन केही प्रयास गरिरहेका छन् ।’


इरानी साइबर आक्रमणकारीहरूले ट्रम्प प्रचार टोलीबाट चोरी गरिएका जानकारी अमेरिकी मिडिया सङ्गठनहरूसँग साझा गर्ने प्रयाससमेत गरेको अमेरिकी एजेन्सीहरूले बताएका छन् । तर उनीहरूले ती मिडिया आउटलेटहरूको नाम बताएनन् । 


इरानले आरोपहरूलाई जोडदार रूपमा अस्वीकार गरेको छ ।  ट्रम्पका राष्ट्रपति निर्वाचन प्रतिद्वन्द्वी कमला ह्यारिसको प्रचार टोलीले अगस्ट १३ मा उसलाई पनि ह्याकरहरूले निशाना बनाएको बताएको थियो । तर टोलीले कुन देश यसको पछाडि रहेको विश्वास गरिएको थियो भन्नेबारे सङ्केत दिएन । 


अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति निर्वाचनको मतदान हुँदैछ । ह्यारिस र ट्रम्प बराबरको अवस्थामा रहेको सर्वेक्षणहरूले देखाएका छन् । बाइडेनले यस गृष्ममा उम्मेदवारी फिर्ता लिएपछि ह्यारिसले आफ्नो अभियान सुरु गरेका थिए ।

बंगलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध

ढाका । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १ देखि लागु हुनेछ ।

सरकारले नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लाष्टिकका झोलामाथि प्रतिबन्ध लगाइने सरकारी अधिकारीले मङ्गलबार घोषणा गरेका छन् ।

बङ्गलादेशको अन्तरिम सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले नोभेम्बर १ देखि पोलिथिन र पोलिप्रोपाइलीनका उत्पादकहरूविरुद्ध कडा कारबाही गरिने बताए ।

सन् २००२ देखि लागू भएको प्लाष्टिक झोलामाथिको प्रतिबन्धलाई अब कडाइका साथ लागू गरिने उनले बताए ।

सुपरस्टोर्सले वैकल्पिक ब्यागका लागि अर्डर दिइसकेको र माग पूरा गर्न आवश्यक व्यवस्था मिलाइएको उनले बताए ।

सञ्चारमाध्यमले राष्ट्रव्यापी अभियानमार्फत जनचेतना जगाउने कदमसहित आगामी प्रतिबन्ध लागू गर्न विस्तृत कार्ययोजना बनाइएको अधिकारीहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपति चुनावमा दुई उम्मेदवारबीच २ प्रतिशतको मात्र मतान्तर हुने अनुमान

काठमाडौँ । महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि आगामी नोभेम्बर ५ तारिखका दिन चुनाव हुँदैछ । अर्थात् चुनाव हुन ४२ दिन मात्र बाँकी छ तर राष्ट्रपतिका मुख्य दुई उम्मेदवारमध्ये कसले बाजी मार्छ भन्ने अझै एकिन भइ नसकेको अमेरिकी चुनावी मतसर्वेक्षणहरूले देखाइरहेका छन् ।

यस पटकको चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस मुख्य प्रतिस्पर्धी छन् । दुवै उम्मेदवारले एकअर्का विरूद्ध तिक्ततापूर्ण गालीगलौज गरिरहेका भएपनि आम अमेरिकी नागरिकले भने उनीहरूले अघि सारेका आर्थिक, सामाजिक, राजनीतिक जस्ता घरेलु मामिलाका विषयसँगै विदेश नीतिका बारेमा उहाँहरूका अडानलाई समीक्षा गरिरहेको बताइएको छ ।

एकातिर अमेरिकाको सर्वोच्च नेतृत्वमा कमला ह्यारिसको रूपमा पहिलो महिला र त्यो पनि एसियन–अफ्रिकन मूलकी महिलालाई चुन्ने अवसर प्राप्त भएको छ । ह्यारिसले चुनाव जिते यो अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । तर ह्यारिसलाई चुनावमा सहज जित निकाल्न भने त्यति सहज छैन ।

सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा त्यसबेला निकै लोकप्रिय उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँगै पराजित भएकी थिइन् । अमेरिकी समाज चरम पितृसत्तात्मक र दक्षिणपन्थी–अनुदारवादी छ भन्ने त्यसबेला चर्चामा थियो । तर यसपटक महिलालाई शीर्ष नेतृत्वमा स्थापित गराउन अमेरिकी समाज सहजै तयार होला ? अझै द्विविधा कायम रहेको धारणा चुनावी सर्वेक्षणले देखाएका छन् ।

पछिल्लो पटक फाइभ थर्टी एटले सार्वजनिक गरेको विवरणमा ह्यारिसले ४८ प्रतिशत र ट्रम्पले ४६ प्रतिशत मत पाउने आँकलन गरिएको छ । अर्थात दुई उम्मेदवारबीच २ प्रतिशतको मात्र अन्तर छ ।

गत सेप्टेम्बर १० मा पेन्सिलभेनियामा भएको बहसपछि कमला ह्यारिसले आफ्नो पक्ष निकै मजबूत बनाएको मानिए पनि मतदाताले दुवै उम्मेदवारप्रति खासै धेरै खुलेर समर्थन गरेका छैनन् । राष्ट्रव्यापी मतसर्वेक्षणमा दुई उम्मेदवार अघिपछि देखिए पनि राष्ट्रपतिको चयन भने इलेक्टोरल कलेजका आधारमा हुने गर्दछ । पपुलर मत धेरै ल्याएर मात्र पुग्दैन ।

अमेरिकी राष्ट्रपतिका लागि कूल ५३८ इलेक्टोरल कलेजमध्ये कम्तीमा २७० स्थान जित्नु पर्दछ । अमेरिकाका ५० वटा राज्यबाट जनसङ्ख्याका आधारमा इलेक्टोरल कलेजको सङ्ख्या निर्धारण हुने गर्दछ । यही कारण धेरै जनसङ्ख्या र इलेक्टोरल कलेज रहेका राज्यहरूमा दुवै उम्मेदवारले प्रचारका कार्यलाई तीव्र बनाएका छन् ।

डेमोक्रेट वा रिपब्लिकनका परम्परागत समर्थक बढी भएका राज्यहरूको आधारमा दुवै उम्मेदवारबीच इलेक्टोरल कलेजको सङ्ख्या लगभग बराबर छ । तर इलेक्टोरल कलेज सङ्ख्या ठूलो भएका केही राज्यको परिणाम कुन उम्मेदवारतर्फ सोझिएला भन्ने अनुमान गर्न कठिन भइरहेको छ । स्वीङ स्टेट वा ब्याटलग्राउन्ड स्टेट (जुनसुकै उम्मेदवारले जित्ने अनुमान गरिएका) नामले चिनिएका केही राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर रहेको सर्वेक्षणले देखाएका छन् ।

यसपटक ब्याटलग्राउन्ड स्टेटका रूपमा चित्रित गरिएका मध्ये नेभादा (६ इलेक्टोरल कलेज भोट), पेन्सिलभेनिया (१९), विस्कन्सिन (१०) र मिसिगन (१५) राज्यमा कमला ह्यारिस १ वा २ प्रतिशत मतान्तरले अघि रहेको एबिसी न्यूजको पछिल्लो सर्वेक्षणले देखाएको छ । उता, नर्थ क्यारोलिना (१६), एरिजोना (११) र जर्जिया (१६) मा डोनाल्ड ट्रम्प अत्यन्त झिनो मतान्तरले अघि रहेको देखाएको छ ।

यूगभ, आरएमजी रिसर्च, हार्ट रिसर्च, फ्लोरिडा युनिभर्सिटी समेत अधिकांश मतसर्वेक्षणले डेमोक्रेट उम्मेदवार ह्यारिसले झिनो मतान्तरले चुनाव जित्ने अनुमान गरिरहेको समयमा पछिल्लो पटक दी न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सर्वेक्षणले भने डोनाल्ड ट्रम्प १ प्रतिशत मतान्तर सहित राष्ट्रपतिमा विजयी हुने देखाएको छ ।

“अमेरिका फस्र्ट” “मेक अमेरिका ग्रेट अगेन” को नारा लगाउँदै आएका डोनाल्ड ट्रम्पले पूर्वी क्षेत्रका तीन राज्य– पेन्सिलभेनिया, नर्थ क्यारोलिना र जर्जिया– मा विजयी भए राष्ट्रपति बन्नबाट उनलाई कसैले रोक्न नसक्ने अमेरिकी अखबार “पोलिटिको”का वरिष्ट स्तम्भकार जोनाथन मार्टिनले लेखेका छन् ।

दुवै उम्मेदवारबीच व्यक्तिगत लाञ्छनायुक्त घोचपेच भए पनि आमरूपमा दुवै उम्मेदवारले केही जल्दाबल्दा विषयलाई सम्बोधन गर्न चाहेको देखिन्छ । खासगरी डोनाल्ड ट्रम्पले अमेरिकाभित्र बढ्दो आप्रवासनलाई निरुत्साहित गर्ने, अवैध आप्रवासीलाई उनीहरूकै देश फर्काउने, दक्षिणी सीमामा पर्खाल लगाउने, इन्धनको मूल्य घटाउने, विदेशी सामानमा कर बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने बताइरहेका छन् ।

देशभित्र आप्रवासीको सङ्ख्या ठूलो मात्रामा बढ्नुमा डेमोक्रेट पार्टीको खराब नीति मुख्य रूपमा जिम्मेवार रहेको ट्रम्पको भनाइ छ । उनले इजरायल–प्यालेस्टिनीबीच जारी युद्ध तथा रुस–युक्रेन युद्धलाई तत्कालै समाधान गर्ने पटक पटक दोहोर्याएका छन् ।

राष्ट्रपतीय बहसका क्रममा डेमोक्रेटिक उम्मेदवार ह्यारिसले भने गाजामा जारी युद्ध रोक्न बाइडेन प्रशासनले भरमग्दुर प्रयास गरिरहेको तथा युक्रेनको स्वतन्त्रतालाई अक्षुण्ण राख्न अमेरिकाले आर्थिक, सैनिक र राजनीतिक सहयोग जारी राख्ने बताएकी छन् । यद्यपि यी दुवै मामिलामा खासै प्रगति गर्न नसकेको भन्दै बाइडेन–ह्यारिस प्रशासनको आलोचना भइरहेको छ ।

अर्कातर्फ, अमेरिकामा बढ्दो बेरोजगारी र मूल्यवृद्धि (मुद्रास्फीति) लाई नियन्त्रणमा ल्याउन दुवै उम्मेदवारबीच दबाब बढ्दो छ । अमेरिकी जनताले दुवै उम्मेदवारलाई यही प्रश्न गरेर हैरान बनाइरहेका छन् जसको अनौठा, अविश्वसनीय जवाफ सुनेर आमजनता र अमेरिकी बौद्धिक समुदाय नै अन्यौलमा रहेको न्यूजविकले लेखेको छ ।

कमनवेल्थ फाउन्डेसनका प्रमुख कार्यकारी एन्ड्रु लेविसले न्यूजविकमा लेखेका छन्, “केही वर्षदेखि पेन्सिलभेनियामा जीवन धान्ने खर्च नियन्त्रण बाहिर पुगेको छ । हरेक सामग्रीको मूल्य तीव्र गतिमा बढेको छ । आफूले रोजेजस्तो घर किन्न सक्ने अवस्था छैन । तलब, ज्याला बढे पनि दैनिक जीवन गुजाराका लागि अत्यावश्यक खाद्यान्न समेतका सामग्रीको मूल्य अकासिएको छ ।”

ह्यारिसले भने पेन्सिलभेनियाका चुनावी सभाहरूमा सम्बोधन गर्दै इन्धन समेतका वस्तुको मूल्यवृद्धिलाई नियन्त्रणमा ल्याउने र आम सर्वसाधारणको जीवनलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । तर यी प्रतिबद्धतामा खासै विश्वस्त हुन सकिने अवस्था नदेखिएको लेविसको भनाइ छ ।

अर्थात् यही प्रवृत्ति अधिकांश राज्यहरूमा छ । यद्यपि, बढ्दो मुद्रास्फीतिलाई नियन्त्रणमा ल्याउन ट्रम्पलाई पनि फलामको च्यूरा चपाएसरह रहेको लेविसको धारणा छ ।

केही वर्षदेखि अमेरिकी चुनाव वर्ग, क्षेत्र, लिङ्ग, ल्याटिनो, आप्रवासन जस्ता अनेक मुद्दाबाट विभाजित हुन थालेकाले रैथाने अमेरिकीहरूको दृष्टिकोण र धारणाले चुनावी परिणामलाई प्रभावित तुल्याउन थालेको धेरैको बुझाइ छ ।

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेशमन्त्री जोन वासबीच भेटवार्ता भएको छ ।

न्युयोर्कमा भएको भेटमा उनीहरूबीच दुई देशबीच दशकौंदेखि रहँदै आएको सहकार्यलाई निरन्तरता दिने र सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्त्वपूर्ण भएको बताएकी थिइन् ।

नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उनीहरूबीच छलफल भएको थियो । नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबीच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रता जस्ता विषयमा साझा मूल्यमान्यता रहेको विषयमा कुराकानी भएको थियो ।

मन्त्री राणाले दुई देशबीच विगत वर्षमा हुँदै आएका विभिन्न तहको भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन प्रेरक भूमिका खेलेको बताइन् । उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकी सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिएकी थिइन् ।

मन्त्री राणाले अमेरिकी सहयोग नियोगले सन् २०२२ देखि २०२७ सम्ममा ६५ करोड ९० लाख अमेरिकी डलर नेपालको शिक्षाको गुणस्तर सुधारलगायत क्षेत्रमा खर्च गर्नेगरी प्याकेज कार्यक्रमसम्बन्धी गत वर्ष भएको सम्झौताको स्मरण गर्दै सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेकी थिइन् ।

हालै काठमाडौंमा दुई देशबीच सातौँ व्यापार तथा लगानी ‘फ्रेमवर्क’ सम्झौतासम्बन्धी काउन्सिलको बैठक सम्पन्न भएकोमा उनले खुसी व्यक्त गरिन् ।

उनले नेपाल सन् २०२६ मा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई सरल परिवर्तन रणनीति अङ्गीकार गरेको र यो ऐतिहासिक कोसेढुङ्गालाई सार्थक तुल्याउन आवश्यक पर्ने स्रोत र आर्थिक साझेदारीका लागि अमेरिकाको सहयोगको आवश्यकता रहेको बताएकी थिइन् ।

हालै काठमाडौंमा दुई देशबीच सातौँ व्यापार तथा लगानी ‘फ्रेमवर्क’ सम्झौतासम्बन्धी काउन्सिलको बैठक सम्पन्न भएकोमा उनले खुसी व्यक्त गरिन् ।

उनले नेपाल सन् २०२६ मा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई सरल परिवर्तन रणनीति अङ्गीकार गरेको र यो ऐतिहासिक कोसेढुङ्गालाई सार्थक तुल्याउन आवश्यक पर्ने स्रोत र आर्थिक साझेदारीका लागि अमेरिकाको सहयोगको आवश्यकता रहेको बताएकी थिइन् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रविले अनुसन्धानमा सहयोग गर्नुपर्छ : महासचिव पोखरेल

सुदूरपश्चिम । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको भन्दै भ्रम फैलाएको बताएका छन् ।

बुधबार कैलालीको धनगढीमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कानुनी प्रक्रियामा गएर अदालतबाट सफाइ पाएपछि मात्र ‘क्लिन चिट’ पाइने बताए ।

उनले संसदीय छानबिन विशेष समितिले कानुनअनुसार कारबाही गर्नु भनेको भन्दै त्यसलाई ‘क्लिन चिट’को संज्ञा दिएर भ्रम फैलाइएको र सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘कानुनी राज्यमाथिको उपहास हुने गरी अनुसन्धानलाई नै रोक्ने गरी गतिविधि भइरहेको छ ।’ उनले कुनै पनि राजनीतिक दल र त्यसको नेतृत्वले अभियोग लागेपछि अनुसन्धानमा सहयोग गर्नुपर्ने भन्दै त्यसबाट भाग्नु उचित नभएको बताए ।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सभापतिले निःसर्त रुपमा अनुसन्धानमा सहयोग गर्नुपर्छ । अभियोग कति गम्भीर छ भन्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेताकार्यकर्ताहरुले बुझ्नु भएको छ होला ।’

महासचिव पोखरेलले सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा छटपटी देखिएको बताए । उनले भने, ‘नयाँ सरकार गठन भएको सय दिन नपुग्दै उहाँको छटपटी संसदमा देखिएको थियो । प्रचण्डले संसदमा दिएको अभिव्यक्ति असंसदीय र अराजनीतिक थियो । माओवादी द्वन्द्वकालमा भएको हिंसाको आलोचना गर्दा संसद रोक्ने काम हुनु गलत हो ।’

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल संचालन

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक संघ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ।

संघका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ।

पर्व लक्षित गरेर संघले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए। उनले अहिले साल्ट ट्रेडिङसँग हतारमा सहकार्य गरिएकाले धेरै ठाउँमा पसल सञ्चालन गर्न नसकिएको बताए।

आगामी दिनमा साल्ट ट्रेडिङसहित सरकारका अन्य सुपथ मूल्य पसल सञ्चालन गर्ने निकायसित पनि सहकार्य गरेर देशैभर पसल सञ्चालन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिए।

नेपाली उत्पादनलाई सर्वसुलभ बनाउन संघ लागिपरेको उनी बताउँछन्। उनले नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन जुत्ता उत्पादक संघले पहल गरिरहेको बताए।

जुत्ता उत्पादक संघले नेपाली जुत्तालाई सिंहदरबारदेखि गाउँसम्म पुर्याउन प्रयत्न गरिरहेको उनको भनाइ छ। उनका अनुसार नेपाली जुत्ताको सुपथ पसल सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत सकारात्मक भूमिका रहेको छ।

संघका अध्यक्ष न्यौपानेले भने, ‘नेपाली जुत्ताको बजार प्रवद्र्धनमा उद्योगमन्त्री दामोदर भण्डारीले पनि हामीलाई राम्रो साथ दिनुभएको छ, उनले नेपाली जुत्ता उत्पादकलाई बढीभन्दा बढी जत्ताको बजार बढाउन उत्साह दिई रहनुभएको छ, मन्त्रीज्यूले हामीलाई नेपाली जुत्ताको विदेशी बजारमा बजारीकरणलगायत अन्य व्यापार मेला तथा महोत्सवमा उद्योग मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’

संघका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले सरकारको प्रतिष्ठित संस्थासँग जोडिएर उपभोक्तालाई विश्वास दिलाउनु जुत्ता उत्पादक संघको प्रमुख लक्ष्य रहेको बताए। उनले नेपाली उत्पादित वस्तुबारे आम उपभोक्तालाई जानकारी गराउन पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताए।

यस्तै संघका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले सरकार मातहतमा सञ्चालन गरिने सुपथ मूल्य पसलमा आगामी दिनमा देशैभर नेपाली जुत्ताका सुपथ मूल्य पसल पनि सञ्चालन गरिने बताए।

उनले सकभर संघले देशैभर वर्षभर नै सञ्चालन गर्ने गरेर सबै नेपाली ब्राण्डमा जुत्ता एकै स्थानमा राखेर बजार सञ्चालनको प्रयास गर्ने बताए।

बंगलादेशले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि गर्ने

ढाका । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पुर्याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि गर्ने घोषणा गरेको छ ।

बङ्गलादेश बैङ्कका गभर्नर अहसान एच मन्सुरले ढाकामा आयोजित पत्रकार सम्मेलनमा नीतिगत दरमा वृद्धि र अन्य मौद्रिक नीतिमा कडाइ गर्न लागिएको जानकारी दिए ।

उनले भने, ‘हामी यो सातासम्ममा यसलाई बढाउनेछौँ र अर्को महिना फेरि यसलाई समायोजन गरिनेछ ।’

केन्द्रीय बैङ्कले गत महिना मौद्रिक नीतिमा परिवर्तन गरेको थियो । बैङ्कले अन्य बैङ्कका लागि उपलब्ध गराउने ब्याजदर (रिपो रेट)मा वृद्धि गरेको थियो । मुद्रास्फीतिलाई नियन्त्रण गर्न वाणिज्य बैंकहरूले केन्द्रीय बैंकबाट लिने ऋणलाई ५० आधार बिन्दुले बढाएर ९ प्रतिशत पुर्याएको थियो।

बङ्गलादेशको मुद्रास्फीति अगस्टमा केही घटेर १०.४९ प्रतिशतमा झरेको थियो तर जुलाईमा ११.६६ प्रतिशतको उच्च रेकर्डपछि लगातार दोस्रो महिना दोहोरो अङ्कमा कायम रहेको थियो ।

महाशिलाले गाउँ फर्कनेलाई ६ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान दिने

पर्वत ।  आफू बसेको गाउँठाउँ छाडेर अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किए महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ ।

गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरेको उनले बताए । गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने उनले बताए ।

गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरूको भरणपोषका लागि गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका लागि पनि अनुदान दिइने उनले बताए ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् । 

लेबननमा जारी इजरायली हमला ‘नरसंहार’ भएको स्वास्थ्यमन्त्रीको भनाइ

बीबीसी । लेबननका स्वास्थ्यमन्त्रीले आफ्नो देशमा नरसंहार भइरहेको बताएका छन् । दुई दिनदेखिका हिजबुल्लाह लक्षित व्यापक इजरायली हवाई हमलामा हताहत भएकाहरूको उच्च सङ्ख्यासँग जुझ्न अस्पतालहरूले सङ्घर्ष गरिरहँदा स्वास्थ्यमन्त्री डा. फिरास अबियादले त्यसो भनाई आएको हो ।

डा. अबियादले सोमबारको हमलामा मारिने ५५० जनामध्ये अधिकांश बालबालिका र महिलासहित सर्वसाधारण रहेका बताए । इजरायलले सयौँ हिज्बुल्लाहका निशानामा प्रहार गरेको जनाउँदै उक्त लडाकु समूहले सर्वसाधारणको बसोबास क्षेत्रमा अस्त्रहरू लुकाएको आरोप लगाएको छ ।

मङ्गलबार इजरायली सेनाले हिज्बुल्लाहको ’रकेट फोर्सेस’का प्रमुखलाई मारिदिएको जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हिज्बुल्लाहले लेबननलाई ‘खाल्टोमा जाक्ने’ बाटोतर्फ लगिरहेको जनाएका छन् ।

लेबननी स्वास्थ्यमन्त्रील पत्रकार सम्मेलनमा बोल्दै मारिने ५५८ जनामध्ये ५० जना बालबालिका, ९४ जना महिला र कैयौँ स्वास्थ्यकर्मीहरू रहेको बताएका छन् ।

लेबननमा ५० भन्दा धेरै अस्पतालमा हाल १,८३५ जना घाइतेहरूको उपचार भइरहेको उनले बताए । हिज्बुल्लाहले हमासलाई साथ दिनेगरी लडिरहेको भन्दै गाजामा युद्ध रोकिएपछि मात्र सीमा पार हमलाहरू रोक्ने जनाएको छ । इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरायल, बेलायत र कैयौँ पश्चिमा देशहरूले आतङ्कवादी सङ्गठन मान्छन्।

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको बताएको छ । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ। स्थानीय तहमा ४३ पद रिक्त छ ।

दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचाको निवेदन दिनुपर्ने आयोगले जनाएको छ।

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

जलेश्वर । आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उनले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत छिन् । पहिले इशारा (साङ्केतिक भाषा) बाट बहिरा बालबालिकालाई पठनपाठन सुरु गरेकी शिक्षिका गौतम सुस्त श्रवण कक्षाका विद्यार्थीलाई निरन्तर इशारा र सङ्केतको भरमा शिक्षादीक्षा दिँदै ज्ञानको ज्योति छर्नमा व्यस्त छिन् ।

भूईमै कार्पेट ओछ्याएर कक्षाभरि पलेटी मारेर पढ्न सक्ने गरी बनाइएको बेञ्चमाथि कापी, किताब, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री राखी सबै विद्यार्थी शिक्षिका गौतमले आफ्नो हात, आँखा र अनुहारले देखाएकी विभिन्न सङ्केत र इशाराको भरमा पढ्ने गर्दछन् ।

बाल कक्षादेखि माध्यमिक स्तरसम्मको पठनपाठनका साथै १० जोड २ र प्राविधिक क्षेत्रमा इञ्जिनीयरिङसम्मको पठनपाठन हुने यस विद्यालयमा सुस्त श्रवण भएका विद्यार्थीका लागि पनि विशेष कक्षा सञ्चालन भइरहेको छ ।

करिब दुई हजार बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा एकै सिफ्टमा सबै कक्षा तथा विद्यार्थीको पठनपाठन सम्भव नहुँदा दुई सिफ्टमा चलाउनु परेको प्रधानाध्यापक विनोद महतो बताउँछन् । कक्षा ११ र १२ को बिहानको अध्यापन सकेपछि १० बजेदेखि सुरु हुने माध्यमिक स्तरसम्मको पठनपाठन हुने गर्दछ ।

विद्यालयको एउटा कक्षा कोठामा १६ जना बालबालिकालाई एक्ली बहिरा शिक्षिकाले पढाइरहेको हेर्न सकिन्छ । उनले विशेष शिक्षाअन्तर्गत साङ्केतिक भाषामा कक्षा १ देखि ४ सम्म सर्लाहीबाट र कक्षा ५ देखि १० सम्म रौतहटको चन्द्रनिगाहपुरबाट अध्ययन गरेको थियो । कक्षा ११÷१२ को पढाइ पोखराबाट पूरा गरेकी उनले साङ्केतिक भाषामै सिरहाबाट नेपाली भाषामा बटिएड।सम्मको अध्ययन गरेको हो । त्यसपछि उनले त्रिभुवन विद्यालयमा बहिरा विद्यार्थीका लागि सञ्चालित विशेष कक्षामा पढाउने जागिर करारमा पाएको हो ।

कानले राम्ररी सुन्न नसक्ने र मुखले पनि राम्ररी बोल्न नसक्ने भएकाले उनी र उनका विद्यार्थीलाई बाहिर कहाँ, के भइरहेको छ भन्ने कुरामा खासै चासो रहेको पाइँदैन ।

सायद त्यसैले होला सबै विद्यार्थीहरु पठनपाठनमा निक्कै अब्बल र मेधावी देखिएको प्रधानाध्यापक महतो बताउँछन् । बालबालिकाहरुले कसरी शिक्षिका गौतमको सबै कुरा बुझ्छन् र कसरी उहाँसँग इशारा र सङ्केतमै कुराकानी गर्छन् भन्नेमा धेरैलाई अनौठो र आश्चर्य लाग्नसक्छ ।

बालबालिकाहरुले कुराकानी मात्रै नभएर उहाँको सङ्केत र इशाराकैभरमा आफ्नो अध्ययन अध्यापनलाई पनि अगाडि बढाएका छन् । इशारा र सङ्केतकै भरमा उनीहरु शिक्षिका गौतमले भनेको कुरा लेखेर, गृहकार्य गरेर र कक्षामा प्रस्तुत गरेर पनि देखाउँछन् ।

ती सबै विद्यार्थी कक्षा १ देखि ५ सम्म अध्ययनरत छन् । प्रत्येक वर्ष अन्य छात्रछात्राहरु सरह बहिरा बालबालिकाले पनि परीक्षा दिने र उत्तीर्ण भएर नयाँ कक्षामा जाने गरेको शिक्षिका गौतम बताउँछन् । कक्षाकोठाको चारैतिरको भित्तामा विभिन्न सन्देशमूलक र बालबालिकालाई अध्ययनको लागि उपयोगी हुने चित्र र सङ्केतहरु कोरिएको छ ।

विद्यार्थीहरुले ती चित्र र सङ्केतहरु र आ–आफ्नो कापी किताबको माध्यमले अध्ययन गर्ने गर्दछन् । आफूजस्तै फरक क्षमता भएका विद्यार्थीलाई पढाउन पाउँदा आफू निक्कै खुसी भएको बताउँदै शिक्षिका गौतमले शिक्षाको ज्योतिले आफू जस्तै बालबालिकालाई आफूजस्तै संसार हेर्ने र बुझ्ने बनाउन पाउँदा निकै खुसी लागेको त्यहाँ पुगेका सञ्चारकर्मीलाई लेखेर देखाए ।

बहिरा बालबालिकालाई पठनपाठन गराउँदा देखिएका चुनौतीको बारेमा सोध्दा उनी भन्छन्, ‘सुस्त श्रवण (फरक क्षमता) भएका छात्रछात्राहरु सामान्य मानिसभन्दा अलिक फरक हुन्छन् ।’

त्यस्ता क्षमता भएका बालबालिकाहरु सामान्य विद्यार्थीभन्दा बढी जिद्धी, झगडालु, चाँडै रिसाउने र भाग्न खोज्ने प्रवृतिको हुने गरेकोले उनीहरुलाई सम्हाल्न निक्कै समस्या र कठिनाइ हुने गरेको उनले बताए ।

अन्य कक्षा जस्तो वैकल्पिक शिक्षिक, शिक्षिका नहुँदा एक्लैले दिनभर पढाउनुपर्दा आफू र विद्यार्थीहरु पनि थकित हुने गरेको उनको गुनासो छ । शिक्षिका गौतमले अरु शिक्षक, शिक्षिका सरह सामान्य परिस्थितिमा बिदा पनि पाउँदैनन् । 

बिरामी वा अन्य कारणले उहाँ विद्यालय आउन नसकेको दिन ती विद्यार्थीले राम्ररी पढ्न पाउँदैनन् । आफू विद्यालय आउन नसक्ने दिन आफैँले विकल्पको रुपमा अरु शिक्षक ल्याउनुपर्ने र विद्यार्थीलाई पनि सम्झाइबुझाइ जानुपर्ने बाध्यता रहेको उनले बताए ।

शिक्षिका गौतमले विद्यार्थीहरु त आफूजस्तै भएकाले उनीहरुसँग बस्न, पठनपाठन गर्न कुनै समस्या नभएको तर विद्यालयमा बाहिरबाट आएका आगन्तुक, अतिथि र अन्य व्यक्तिहरुसँगको संवादको लागि विद्यालयमा बहिरा विद्यार्थी र आफ्नै लागि पनि दोभासेको व्यवस्थापन गरिनुपर्ने माग गरे ।

शिक्षिका गौतम फरक क्षमताका बालबालिकाहरु देशभर नै रहेकाले उनीहरुलाई पढ्ने वातावरण निर्माण गर्न तीनै तहका सरकारहरुले गम्भीरता देखाउनुपर्ने बताउँछन् ।

प्रत्येक गाउँबस्तीमा रहेका सुस्त श्रवण भएक बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् र सामान्य नागरिक जस्तो बोल्न र सुन्न नसके पनि शिक्षाको माध्यमले ज्ञानको ज्योतिको साहारामा यस संसारमा सम्मानित जीवनयापन गर्न सकुन् भने उनको धारणा रहेको छ ।

उनी फरक क्षमता भएकाहरुका लागि जिल्ला, प्रदेश र सङ्घमा रहेका विभिन्न सङ् सस्थाहरुमा समेत आवद्ध छन् । हाल उनी महोत्तरी जिल्ला बहिरा सङ्घको अध्यक्ष हुन् भने राष्ट्रिय बहिरा महासङ्घ मधेश प्रदेशको सचिव हुन् । त्यसैगरी राष्ट्रिय बहिरा महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय अपाङ्ग महासङ्घको मधेश प्रदेश सदस्यको रुपमा समेत शिक्षिका गौतम कार्यरत रहेको छ ।

फरक क्षमताका सवालहरुमा देश विदेशमा आयोजना हुने सभासमारोहमा पनि उनको प्रतिनिधित्व रहने गर्दछ । प्रधानाध्यापक महतोका अनुसार त्यस विद्यालयमा २० वर्षदेखि विशेष कक्षा (सुस्त श्रवण कक्षा) सञ्चालन हुँदै आएको छ । उनले अहिलेसम्म यस विद्यालयबाट थुप्रै विद्यार्थीले प्राथमिक शिक्षा पाएर यहाँबाट गइसकेको बताए । यहाँबाट उत्तीर्ण भएका विद्यार्थी सिरहा र सर्लाहीसहितका जिल्लामा जाने गर्दछन् ।

शिक्षिका गौतम जस्तै थप शिक्षक, सुस्त श्रवण भएका विद्यार्थी र शिक्षकलाई बाहिरी व्यक्तिसँगको संवादका लागि दोभासे र उनीहरुको समूचित व्यवस्थापनका लागि आफूले पटक–पटक सम्बन्धित निकायमा लिखित र मौखिक रुपमा माग गर्दै पत्राचार गर्दै आएको प्रधानाध्यापक महतोले बताए ।

विशेष कक्षा सञ्चालनका लागि यस विद्यालयमा शिक्षा मन्त्रालयबाट प्रत्येक वर्ष प्रतिविद्यार्थी चार हजारका दरले प्राप्त हुने गरेको र त्यसै रकमबाट विद्यालयले उनीहरुको आवास, खानपिन, लत्ताकपडादेखि शैक्षिक सामग्रीको व्यवस्थापन हुँदै आएको छ ।

अर्थमन्त्री पौडेल र चिनियाँ उपप्रधानमन्त्री लिफेङबीच बेइजिङमा भेटवार्ता, विगतमा गरिएका घोषणा कार्यान्वयन गर्न आग्रह

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री ही लिफेङबीच भेटवार्ता भएको छ । चीनको राजधानीमा बेइजिङमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशका आपसी हित र सहयोगबारे छलफल भएको थियो ।

भेटमा चीनका उपप्रधामन्त्री ही लिफेङले चीन सरकारका तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने बताएका थिए । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

भेटमा अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौं रेल निर्माण, टोखा– छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्कलगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन आग्रह गरेका छन् । त्यसैगरी, चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न पनि अर्थमन्त्री पौडेलले आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालका तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र काम अघि बढाउने प्रतिबद्धता जनाएको बताए ।

करिब एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू सहभागी थिए ।

चीन सरकारका तर्फबाट उपप्रधानमन्त्री ही लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेसनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उड्डयन प्रमुख सोङ च्योङलगायत सहभागी थिए ।

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन

तनहुँ । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९/८० को तुलनामा छ करोडले बढी हो ।

गत आवमा ३० करोड २१ लाख ४९ हजार चार सय ३२ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए । सङ्कलित रकममध्ये १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ सङ्घीय सञ्चित कोषमा, चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छभने बाँकी १८ करोड १३ लाख आठ हजार नौ सय ७० मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ ।

जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व सङ्कलनमा वृद्वि भएको सो कार्यालयले जनाएको छ । कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्वि भएको हो ।

बैँक तथा वित्तीय सङ्घसंस्थाले ऋण लगानी गरी असुली गर्न नसकेपछि लिलाम गरी दाखिला खारेजी गर्दा, घरजग्गाको न्यूनतम मूल्य छाडेर धितोमा कारोबारलगायत कार्यबाट उल्लेखनीय राजस्व सङ्कलन बढ्नुको अर्को कारण हो । 

प्रचण्डसँगको भेटलाई रविन्द्र मिश्रले आफ्नो स्वार्थ अनुकुल प्रस्तुत गरेको भन्दै सचिवालयको खण्डन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले प्रचण्डसँगको भेटलाई आफ्नो स्वार्थ अनुकुल प्रस्तुत गरेको बताएको छ । बुधबार प्रचण्डको सचिवालयले मिश्रको भनाईको खण्डन गर्दै यस्तो बताएको हो ।

यस्तो छ प्रचण्डको सचिवालयको खण्डन
हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्र जीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनु भएको छ साथै पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नु भएको छ । जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान वलिदानीपुर्ण आन्दोलनको नेतृत्व गर्नु भयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नु भयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तब्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ। उहाँका विचार भनेर मिश्र जीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।
पन्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोहि नेपाली भ्रममा होलान् र मिश्र जी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?

प्रचण्डको भेटपछि मिश्रले यस्तो लेखेका थिए

सोमबार कार्यक्रममा भेट भयो । मंगलबार वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो । ‘अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विष्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ । र त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।’ लामो व्याख्यासहित सारमा मैले यही भनेँ ।
त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्योः

१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु ।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गजबका ‘भिजनरी’ राजा रहेछन् ।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाकाबारे पुरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गएपनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो ।

५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।

६. अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन ।

७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।

कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए ।
सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ/वित्नेछ भन्नेमा संभवतः उनीहरू अनभिज्ञ थिए । म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।

बाबुराम भट्टराईको आपत्ति
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि मिश्र र प्रचण्डबीचको भएको कुराकानीलाई ‘बिरालो’को संज्ञा दिएका थिए ।

भट्टराईले यस्तो टिप्पणी गरेका थिए

बयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा–बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउ गरिहाल्छ रे ! प्रचण्ड र रविन्द्र मिश्रबीचको अन्तरंग कुराकानीको सत्यतथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखिजान्ने सबैलाई थाहा छ अहिले ‘बिरालो म्याउ’ गरेकै हो ! किनकी प्रचण्डको वास्तविकता त्यही हो ।

यसको अर्थ हो– गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन् ! खोस्न दिनु हुँदैन !

वर्षाका कारण नेपाल र ओमानबीचको खेल रद्द

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज हुने भनिएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

क्यानडाको किङसिटीमा आज राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन् ।

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज चौथो खेल खेल्न लागेको थियो । शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो । 

लिग–२ को अङ्क तालिकामा नेपाल आठ खेलमपछि  तीन अङ्कका साथ  सातौ स्थानमा छ भने ओमान भने सात खेलमा छ अङ्कका साथ छैटौं स्थानमा छ । उक्त एकदिवसीय शृङ्खलापछि अब नेपालले क्यानडामै आयोजना हुने  क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला खेल्नेछ ।

महानगरले समुदाय स्तरमा सचेतना र लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाउने

काठमाडौँ । डेङ्गी रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ ।

मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको अध्यक्षतामा साझेदार अधिकारीहरुसँग बसेको बैठकले व्यक्तिको घरमाभन्दा सार्वजनिक निकायका भवन कम्पाउण्ड बढी जोखिममा रहेको भन्दै तालिकावद्ध सफाइको संस्कृति चलाउनु पर्ने खाँचो औंल्याइएको छ ।

यसपछिका कम्तीमा ४ हप्ता डेङ्गी नियन्त्रणका कार्यक्रममा थप सक्रिय हुनु पर्ने, डेङ्गीबाट बच्न हरेक व्यक्ति सचेत र सावधान हुनुपर्ने निष्कर्ष निकालियो ।

बैठकमा डेङ्गी संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले, पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय राखि नरहन सचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताए ।

महामारी रोग नियन्त्रणका लागि महानगरपालिकाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएको जनाउँदै प्रशासन विभागका प्रमुख नमराज ढकालले, पानी जम्न नदिनु नै सम्भावित जोखिम घटाउने उपाय भएकोले यसमा व्यक्ति व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताए ।

सार्वजनिक निकायले कार्यक्रमको नेतृत्व गर्ने र सर्वसाधारणले यो कार्यक्रम आफ्नै सुरक्षाका लागि हो भनेर ग्रहण गर्ने वातावरण सिर्जना गर्नमा जोड दिँदै स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले भने, ‘संक्रमण हुन्छ कि भनेर डर राख्नु र सावधानी अपनाउनु पर्छ, संक्रमण भइ हाल्यो भने चाहिँ आत्तिनु वा डराउनु हुँदैन । आत्मविश्वाशले रोगसँग लड्न सघाउ हुन्छ ।’

सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मीहरु, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघ संस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारीलाई लार्भा नष्ट गर्ने अभियानमा सहभागी गराउने योजना बनाएको छ । बैठकमा स्वास्थ्य विभागका प्रमुख दीपक केसीले भने, ‘प्रवर्धनात्मक कार्यक्रममार्फत तथ्य र सूचना प्रवाह हुनेछ ।’

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा, भेक्टर डिजिज शाखा प्रमुख डा. गोकर्ण दाहालकाअनुसार सीतापाइला, कालीमाटी, कोटेश्वरलगायत क्षेत्रमा डेङ्गीका विरामी बढेका छन् ।

उनी भन्छन्, ‘१० जना सक्रिय विरामी भेटिएका ठाउँमा कम्तीमा १ सय जना निष्क्रिय विरामी हुन सक्छन् । यसकारण महामारी नियन्त्रणका प्रभावकारी चाहिएको हो ।’

बर्षायाममा साउन, भाद्र, असोज र कात्र्तिक महिनासम्म यस रोगको संक्रमण दर तीब्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा महानगरले, डेङ्गी रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिन्छ ।

डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ ।

एडिस जातको संक्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्क्ने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेङ्गी रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाकवाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिन सक्छ ।

१४३ डीएसपीको सरुवा(सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक १४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरको असोज ७ गतेको निर्णयानुसार असोज महिनादेखिको तलब, भत्तासमेत खानेगरी उनीहरुको सरुवा एको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

४१ जना प्रहरी उपरीक्षकको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकले सोमबार सरुवाको निर्णय गरेको जानकारी दिएको हो । असोज महिनादेखि तलब भत्ता खानेगरी उनीहरुको सरुवा भएको हो ।