`

हिजो पनि अन्याय हुँदा सघाउनु भयो, आजपनि अन्याय गर्न खोज्यो भने अलर्ट रहनुहोलाः सभापति लामिछाने

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न सरकारले दशैं कुरेको जस्तो आफूले महसुस गरेको बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले मानिसहरू चाडपर्व मनाइरहेका बेला पक्राउ गर्दा विरोध नहुने बुझेर सरकारले दशैं कुरेको जस्तो आफूलाई लागिरहेको बताएका हुन् ।

लामिछानेले सरकारले अन्याय गर्न खोजे अलर्ट रहन कार्यकर्ताहरूलाई आह्वान गरे । उनले भने, ‘हिजो पनि अन्याय हुँदा सघाउनु भयो आज पनि अन्याय गर्न खोज्यो भने अलर्ट रहनुहोला। आज पनि अन्याय गर्यो भने दसैं, तिहार छठ जे भएपनि अन्यायका विरूद्धमा उभिनुहोला ।’

उनले आफ्नो पक्षमा नभई न्यायको पक्षमा उभिन पनि आग्रह गरे । उनले मिडियाले आफूलाई अनावश्यक रूपमा खेदिरहेको गुनासोसमेत गरेका छन् । उनले सहकारी ठगी प्रकरणमा आफू निर्दाेष रहेको जिकिर गरेका छन् । उनले गोर्खा मिडियामा आफ्नो कार्यकालमा आएको रकमको अपचलनबारे कानुनबमोजिम जिम्मेवारी लिने बताए ।

सहकारी संचालकले बचत फिर्ताको प्रमाण पेश गरे मुद्दा नचलाइने

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले मुलुकी फौजदारी कार्यविधि संहितामा पाँच बुँदे निर्देशन जारी गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ता बडालले पाँच बुँदे निर्देशन जारी गरेका हुन् ।

पाँच बुँदे निर्देशन जारी गर्दै महान्यायाधिवक्ता बडालले कुनैपनि अपराध गरेर अनुसन्धान निकायले बोलाएर पनि अपराधी नआए मात्र त्यस्ता व्यक्तिलाई फरार शब्द प्रयोग गर्नुपर्ने बताए ।

प्रहरीले बोलाएर बयान दिएर गएको मान्छेलाई पनि फरार शब्द प्रयोग गरिएकाले अनुपस्थित प्रतिवादी भन्ने शब्द प्रयोग गर्ने भनेर निर्देशन जारी गरेको बताए ।


त्यस्तै सहकारी ठगीमा संलग्नहरुले मुद्दा दायर हुनुअघि तिर्नुपर्ने साँवा ब्याज भुक्तानी गरेमा मुद्दा नचल्ने निर्णय भएको छ । महान्यायाधिवक्ता कार्यालयले यसअघि चेक अनादर र केही बैंकिङ कसुरमा अभ्यास भइरहेको मिलापत्रको अवधारणालाई सहकारी ऐन अन्तर्गतको कसुरमा पनि कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता रमेश बडालले नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड, २०८० अनुसार सहकारीको हकमा पनि मिलापत्रको व्यवस्था कार्यान्वयन गर्न निर्देशन भएको बताए ।

‘सहकारीसम्बन्धी छानविन विशेष समितिको प्रतिवेदनमा पनि पीडितलाई सक्दो छिटो न्याय दिलाउनु महत्वपूर्ण हुने भनी त्यसतर्फ नीतिगत रुपमा सम्बोधन गर्न सिफारिस भएको रहेछ’ बडालले भने, ‘पीडितले छिटो न्याय पाउने अवस्थामा मुद्दामामिला लम्ब्याउनु भन्दा मिलापत्र गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।’

यस्ता छन् पाँच बुँदे निर्देशन

१. मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गतको सर्वसाधारणको ठगी, अनुचित लेनदेन, सर्वसाधारणको सम्पत्तिको हानी, नोक्सानी सम्बन्धी आपराधिक विश्वासघात, सर्वसाधारणको सम्पत्तिको हानि, नोक्सानी सम्बन्धी ठेक्का वा करारको काममा फरक पार्ने सम्बन्धी मुद्दा, सर्वसाधारणको सम्पत्ति हानि, नोक्सानी भएको मुलुकी अपराध संहिता, २०७४ दफा २८५ बमोजिमको आपराधिक उपद्रव सम्बन्धी मुद्दा कानून बमोजिम मिलापत्र गराउन आदेश दिने

. सर्वोच्च अदालतबाट नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले बादी नेपाल सरकार प्रतिवादी दिव्यकुमार श्रेष्ठ समेत भएको बैंकिङ्ग कसूर मुद्दा (०७९ RF ००२४) मा मिति २०८०।०३।२४ मा अभियोगपत्र दायर हुँदा कर्जा चुक्ता भइसकेको देखिएको अवस्थामा समेत उक्त कार्य बैंकिङ कसुर अन्तरगत पर्ने भनी गम्भीर कसूर कायम गरी सजायका लागि माग दाबी गरेको कार्य न्यायोचित समेत नदेखिने भनी प्रतिवादीहरुले अभियोग दाबीबाट सफाई पाउने गरी फैसला भएको सन्दर्भमा ऋण लिएका व्यक्तिले ऋण चुक्ता नगरेको कारणले उत्पन्न भएको बैकिंङ कसूर वा सहकारी ऐन अन्तर्गतको कसूरको सम्बन्धमाः मुद्दा दायर हुनुभन्दा अगाडि तिर्नु पर्ने सावाँ, व्याज भुक्तान गरेको प्रमाण पेश गरेको मुद्दामा सामान्यतया अभियोजन नगर्ने ।

यस्ता मुद्दामा अभियोजन गरिएको भएपनि सम्बन्धित बैंक वा वित्तिय संस्था वा सहकारी संस्था वा पीडित व्यक्ति र प्रतिवादीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ (२) तथा नेपाल सरकार बादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनु पर्ने मापदण्ड, २०८० बमोजिम प्रक्रिया पूरा गरी मिलापत्र गर्न चाहेमा मिलापत्रको लागि आदेश दिने ।

३. महिला र पुरुष दुबै जना नाबालक भएको र बाबु आमाको मञ्जुरी नलिई विवाह गरेको वा भागी अर्को स्थानमा गई वैवाहिक सम्बन्ध कायम गरेको जरियाबाट उठान भएको मुद्दामा कतिपय सन्दर्भमा जबरजस्ती करणी, शरीर बन्धक तथा अपहरण, एकीकृत कसूर जस्ता विषयमा समेत जाहेरी पर्ने र अभियोजन हुने गरेको देखिन्छ । यसै सन्दर्भमा सर्वोच्च अदालतबाट मिति २०७९।०७।२८ मा परिवर्तित नाम संगिताको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्तोष कुमार यादव भएको (०७५-Cr –२६३८) अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा ‘जबरजस्ती करणी (Qmatutory Rape) र बालविवाह (Chlid Marriage) मा हुन सक्ने करणीको उद्देश्य, पृष्ठभूमि, तयारी, कार्य र मान्यतामा नै आधारभूत रुपमा फरक रहन जाने हुनाले जबरजस्ती करणी ((Qmatutory Rape) लाई बालविवाहको सन्दर्भमा उमेर मात्रको सिमाबद्ध गर्न सकिने अवस्था रहँदैन’ भनी व्याख्या भएको छ।

बालबालिकाको सर्वोत्तम हितलाई संरक्षण गर्नु नेपाल सरकारको कर्तव्य हो । यस्तो अवस्थामा अनुसन्धान र अभियोजन गर्दा अधिक अपराधिकरण गरी नावालकलाई धेरै मुद्दा चलाउने भन्दा सुधार गर्ने गरी अनुसन्धान र अभियोजन गर्नु उचित हुन्छ । बालविवाह बाहेक अन्य विषयहरु बालविवाहको परिणामस्वरुप सृजना भएको परिस्थितिको कारण उत्पन्न भएको र अन्य कसूर गर्ने गराउने मनसाय राखी कार्य भएको रहेनछ भने अधिक अपराधिकरण नहुने गरी बालविवाहको कसूरमा मात्र अनुसन्धान र अभियोजनको कारवाही अगाडि बढाउने।

४. मुद्दाको अनुसन्धानको क्रममा कुनै शंकित उपर पक्राउ पूर्जी जारी नभएको वा अनुसन्धानको क्रममा हिरासतमा नराखी अनुसन्धान भएकोमा अभियोजन गर्दा त्यस्ता व्यक्तिलाई अभियोगपत्र साथ उपस्थित गराउन नसकेकोमा अभियोगपत्रमा निजको हकमा फरार प्रतिवादी भन्ने वाक्यांशको सट्टामा “अनुपस्थित प्रतिवादी“ भनी उल्लेख गर्ने।

५. अनुसन्धानको क्रममा प्रचलित कानून बमोजिम बैंक खाता वा सम्पत्ति रोक्का राखिएकोमा, अभियोगपत्रमा त्यस्तो बैंक खाता वा सम्पत्तिबाट पीडितलाई विगो वा क्षतिपूर्ति भराइपाउने वा जफत गरिपाउने माग दाबी लिनुपर्ने अवस्था रहेनछ भने अनुसन्धानको क्रममा रोक्का राखेको बैंक खाता वा सम्पत्ति अभियोगपत्र दायर गर्दाका बखत वा पक्षको अनुरोधमा अनुसन्धान गर्ने निकायमा फुकुवाको लागि लेखी पठाउने । साथै रोक्का राखेको सम्पत्ति वा बैंक खाताबाट पीडितलाई बिगो वा क्षतिपूर्ति भराई पाउने माग दाबी लिइएको रहेछ भने बिगो वा क्षतिपूर्ति भराई पाउने माग दाबी लिइएको हदसम्मको बैंक खातामा रहेको रकम वा सम्पत्ति रोक्का राखी अन्य सम्पत्ति फुकुवाको लागि अनुसन्धान गर्ने निकायमा लेखी पठाउने।

फिल्म ‘डिएनए’ को टिजर सार्वजनिक

काठमाडौं । फिल्म ‘डिएनए’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नव अभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । पौराणिक कथाको आधुनिक अनुकूलनमा आधारित थ्रिलर फिल्ममा सुधनसँगै दीपक केसी र चिरायु पौडेललगायतका कलाकारहरूलाई देख्न सकिन्छ ।

फिल्मलाई चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने अपेक्षा उनीहरुले गरेका छन् ।

फिल्मा राजु तामाङको एक्सन निर्देशन रहनेछ । सुशान्त केसी र प्रशान्त योगीले छायाङ्कन गर्ने फिल्मको निर्माता कुमार भास्कर हुन् ।

असोज १२ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । सरकारले दशैँका लागि असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ । मंगलबार यातायात व्यवसायी, यातायात व्यवस्था विभागका प्रतिनिधि र सरोकारवाला निकायसँगको उपस्थितिमा भएको छलफलले दशैंका लागि अग्रिम टिकट असोज १२ गतेदेखि खुलाउने निर्णय गरेको हो ।

दशैंका लागि आगामी असोज १२ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

सरकारले लामो दूरीका सवारी सञ्चालनका लागि घटस्थापना अघि नै सडक मर्मत गरिसक्ने र यातायात व्यवसायीले पनि अग्रिम टिकट खुलाइ सेवा दिने विषयमा सरकार र यातायात व्यवसायीबीच सहमति भएको सिटौलाले बताए ।

जनमत पार्टीले गुटबन्दी गरेको भन्दै सोध्यो चार केन्द्रीय सदस्यलाई स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीले चार केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको छ । यही असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीमा आयोजित कार्यक्रममा होहल्ला तथा गुटबन्दी गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

स्पष्टीकरण सोधिएकामा केन्द्रीय कार्यकारिणी सदस्य सञ्जयकुमार यादव, केन्द्रीय सदस्यहरू दीपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुर छन् ।

त्यस्तै पार्टीको जलेश्वर नगरपालिका सचिव संजीत यादव, साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहलाई पनि स्पष्टीकरण सोधिएको छ । सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भन्दै पार्टीका तर्फबाट उपाध्यक्ष दीपककुमार साहले उनीहरूलाई पत्र पठाएका छन् ।

सुनुवाइ समितिबाट श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत

काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ । समितिको मंगलबारको बैठकले प्रस्तावित राजदूत भट्टराईको नियुक्तिका लागि आवश्यक शैक्षिक योग्यतासम्बन्धी कागजात उपलब्ध नभएको र प्रस्तावित व्यक्ति स्वयंले नाम फिर्ता लिन निवेदन दिएकाले उनको नाम सर्वसम्मतिबाट अस्वीकृत गरेको हो ।

यसअघि आजै प्रस्तावित राजदूत भट्टराईले आफ्नो नियुक्ति प्रक्रिया अघि नबढाउन समितिमा निवेदन दिएका थिए । प्रस्तावित राजदूत भट्टराईका विषयमा निर्णयमा पुग्नु अघि समितिले उनीसँग स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेको थियो ।

प्रस्तावित राजदूतको निवेदनलाई समेत आधार मानेर समितिले नाम अस्वीकृत गरेको समिति सदस्य श्याम घिमिरेले जानकारी दिए । ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाअनुसार आवश्यक कागजात उपलब्ध गराउन असमर्थ भएका हुँदा मैले आफ्नो उम्मेदारी फिर्ता लिएको छु भन्ने उहाँको निवेदनलाई आधार बनाएर नै अस्वीकृत गरिएको हो’, उनले भने ।

समितिले राजदूतलगायत राजनीतिक नियुक्तिका पदमा सिफारिस गर्दा समावेशी सिद्धान्तलाई आत्मसात् गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले त्यस्ता व्यक्तिको योग्यता तथा आचरणका सम्बन्धमा सिफरिसअघि नै ख्याल गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हुने साफ महिला च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ ।

मंगलबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । साफ महिला च्याम्पियनसिप अक्टोबर १७–३० सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।

बन्द प्रशिक्षणमा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राणा, अमृता जैशी, समीक्षा घिमिरे, निशा ठोकर, पूजा राना, विमला विक, हिरा भुजेल, प्रतिक चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु साहब, साहब, साहब राई, विमला विक, हिरा भुजेल, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी, चन्द्र भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली माछामासी, सुष्मा, सुष्मा, कृष्णा, चन्द्राकुमारी,  सजिना कोइराला, नेहा कुमारी चौधरी, सजनी थोकर, अनिता लाम्गेल, लीला जोशी, सुशीला चौधरी, कुश्मा राई, सुनिता भुलन बोलाइएका छन् ।

साविक उपविजेता नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान समूह ए मा छन् भने साविक विजेता बंगलादेश, भारत र पाकिस्तान समूह बी मा छन् ।

सागसब्जीखेतीबाटै दैनिक १० हजार कमाई

डोटी । रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढ्दो छ । भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा विदेसिने गरेका छन् ।

हजारौँ युवाको भन्दा अलग सपना थिएन यहाँको आदर्श गाउँपालिका–१ का २३ वर्षीय मुकुन्द अवस्थीको पनि । तीन वर्षे कृषि विज्ञान (आइसिएजी) अध्ययन सकेर कृषिमा राम्रो कमाइ हुने देश जाने उनको चाहना थियो । विदेश जाने योजना स्थगित गरेर गाउँमै व्यावसायिक सागसब्जी खेती गरेका मुकुन्दले सन्तोषजनक कमाइ गरिरहेका छन् ।

‘‘अहिलेको ‘ट्रेन्ड’ भनौँ वा बाध्यता सबै विदेसिने लहर छ, बाहिर जानुपर्छ राम्रो कमाउनुपर्छ भन्ने मेरो पनि सोच थियो । कोरिया वा इजरायल जानुपर्छ भन्ने योजना बनाइसकेको थिएँ तर लकडाउन भएपछि घर आएँ र बाँझो जमिनमा खेती गर्न थाले’’, मुकुन्दले सुरुवाती दिन स्मरण गरे ।

हाल मुकुन्दले करिब १२ रोपनी जमिनमा सागसब्जी लगाइरहेका छन्। उनले दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर २५ ‘प्लास्टिक टनेल’ बनाएर सागसब्जी लगाएका छन् । सबै टनेलमा अहिले गोलभेडा फलिरहेका छन् ।

सुरुवातमा गाउँपालिकाबाट प्राप्त  एक लाख ५० हजार अनुदान र बाँकी आफ्नो लगानीमा दश ओटा टनेलबाट सागसब्जी उत्पादन सुरु गर्नुभयो । गत वर्ष दश ओटा टनेलबाट करिब नौ लाख बराबरको सागसब्जी बिक्री गरेको उनले जानकारी दिए । पहिलो वर्ष लगानी धेरै लागेकोले खर्च कटाएर करिब तीन लाखजति आम्दानी भएको थियो । यो वर्ष २५ ओटा टनेलमा सागसब्जी लगाएकोले कारोबार दोब्बरले बढ्ने उनको अनुमान छ ।

मुकुन्दले हाल दैनिक आठदेखि १० ‘क्रेट’ गोलभेडा बजार लैजाने गरेका छन् । प्रति किलो रु ५० का दरले गोलभेडा बजारमा बिक्री हुँदा उनको दैनिक आठदेखि १० हजार कमाइ हुन्छ ।

गोलभेडाले सजिलै बजार पाएको छ । मुकुन्दले भने, ‘‘डोटी जिल्ला तरकारीमा परनिर्भर थियो सुरुमा उत्पादित सागसब्जी बिक्री गर्न धेरै मेहनत गर्नुप(यो तर अहिले माग धान्न सकिरहेको छैन, दैनिक डेढदेखि दुई क्वीन्टल बजारमा जान्छ । मूल्य पनि राम्रो छ ।’’

उनले सागसब्जीमा ‘मल्चिङ’ र थोपा सिँचाइ प्रविधिको प्रयोग गरेका छन् । स्वच्छ तरकारी उत्पादन गर्न कम्पोस्ट मलको प्रयोग गरिएको छ । घरमा भएका भैँसी, बाख्रा, गाई, गोरुको मलमूत्रबाट बन्ने मल पर्याप्त छ । थप गँड्यौला मलको उत्पादन सुरु गर्ने तयारी गरिरहेको उनले बताए ।

मुकुन्दले थालेको कृषिबाट परिवार मात्रै आत्मनिर्भर भएको छैन । पाँच जनाले रोजगारीसमेत पाएका छन् । यो वर्ष टनेलको सङ्ख्या थप गरेर ५० ओटा पुर्‍याउने योजना उनको छ । तर उत्पादित सागसब्जी बजार पुर्‍याउन भने समस्या छ । दिपायल बजारसम्म पुग्ने बाटो कच्ची हुँदा बेलाबेला अवरुद्ध हुने गर्छ । त्यसो हुँदा पिठ्यूँमा बोकेर बजार पुर्‍याउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।

बृहत् तरकारी उत्पादन क्षेत्र कार्यक्रम अनुसार थोपा सिँचाइ, पानी ट्याङ्की निर्माण, प्लास्टिक घर र गँड्यौला मलको उत्पादन सहयोग गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताए । छोटो समयमै सफल कृषक बनेका मुकुन्द युवाका लागि प्रेरणादायी व्यक्ति रहेको अवस्थीले बताए ।

अनुमति बिना पर्सामा तेजाबको बिक्री र प्रयोगमा रोक

वीरगञ्ज ।  जिल्ला प्रशासन कार्यालय पर्साले  अनुमति बिना तेजाब तथा अन्य घातक रासायनिक पदार्थको प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गरी प्रशासन कार्यालयबाट बिक्री तथा प्रयोग गर्ने अनुमति लिएर मात्र तेजाब तथा अन्य घातक रासायनिक पदार्थको बिक्री तथा प्रयोग गर्न अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उत्तमकुमार घिमिरेले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन, २०७९ को दफा ४ (ख) बमोजिम बिक्री वितरणका लागि प्रशासनबाट अनुमति लिएर मात्रै काम गर्न अनुरोध गरेका छन् ।

‘ऐनको दफा ११ (४) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोग गर्ने उद्योग, प्रयोगशाला, अनुसन्धान केन्द्र, शैक्षिक संस्था, कार्यशाला, धातुका गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसायिक काम गर्ने फर्म, कम्पनी वा व्यक्तिले प्रयोग अनुमति लिई मात्र प्रयोग गर्नुपर्ने व्यवस्थाबमोजिम यस कार्यालयबाट बिक्रीरप्रयोग अनुमति लिई कारोबार गर्नु-गराउनु हुन अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ, ‘ऐनको बर्खिलाप हुने गरी बिना अनुमति बिक्री वितरण गरेमा, प्रयोग गरेमा, प्रयोग अनुमतिको म्याद नाघेका फर्म, कम्पनी, व्यक्तिलाई कानुनबमोजिम कारवाही गरिनेछ ।’

महिला लिग फुटबलमा आर्मी विजयी

काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा चन्द्रा भण्डारीको ‘ह्याट्रिक’मा वालिङ नगरपालिकालाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मंगलबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई ८–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीका लागि चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान दुई–दई गोल गरे भने एक आत्मघाती गोल भएको थियो ।

खेलको ३८औँ मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाइन् । त्यसपछि खेलको ४२औँ मिनेटमा चन्द्राले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । उनले गोल गरेको दुई मिनेट बित्न नपाउँदै वालिङ नगरपालिकाकी खेलाडीले आत्मघाती गोल गरिन् ।

खेलको पहिलो हाफमा ३–० गोलअन्तरले अगाडि रहेको आर्मीले खेलको दोस्रो हाफमा पाँच गोल थप्यो । खेलको ५४औँ मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरिन् भने उनैले खेलको ७३औँ मिनेटमा एक गोल थप्दै ह्याट्रिक पूरा गरिन् । त्यसैगरी, अमिशा कार्कीले ६१औँ र ७१औँ मिनेटमा गोल गरिन् । विमलाले खेलको ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । खेलमा चन्द्रा ‘प्लेयर अफ दी म्याच’समेत घोषित भइन् ।

जितसँगै आर्मीले आठ खेलबाट १९ अङ्क जोड्दै अङ्क तलिकाको दोस्रो स्थानमा रहेको छ । समान आठ खेल खेलेको वालिङ १२ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न दश टोलीको सहभागिता रहेको छ ।

लुम्बिनीको राजधानीमा प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा

लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा प्रशासनिक पूर्वाधार संरचना निर्माण तीव्र गतिमा भइरहेको छ । प्रदेश गौरवको आयोजनाका रुपमा प्रशासनिक पूर्वाधार निर्माण सुरु भएको दुई वर्ष नपुग्दै ५० प्रतिशत बढी भौतिक प्रगति भएको छ ।

विसं २०७९ फागुन ३ गते लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसर पारेर प्रशासनिक भवनको तत्कालीन मुख्यमन्त्री लिला गिरीले शिलान्यास गरेको थियो । निर्माणाधीन प्रशासनिक भवनबाट प्रदेशको सम्पूर्ण प्रशासनिक कामकाज सञ्चालन हुने जनाइएको छ । मन्त्रालय, विभाग, निर्देशनालयहरु, मातहतका अन्य कार्यालयहरुले एकै थलोबाट सेवा प्रवाह गर्नेछन् ।

यसबाट नागरिकहरुलाई प्रादेशिक सरकारको अनुभूति हुने स्थानीय बासिन्दा भरतमणि न्यौपाने बताउँछन्। “बलियो प्रदेश बनाउन आफ्नै संरचना चाहिन्छ । नयाँ दृष्टिकोणसहित प्रदेशको प्रशासनिक कामलाई चुस्त र सबैको पहुँचमा पु¥याउन सुविधा सम्पन्न प्रशासनिक केन्द्र आवश्यक पर्दोरहेछ”, उनले भने, “डेढ वर्षमा भएको भौतिक प्रगति राम्रो छ ।”

हालसम्म ५६ प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति हासिल भएको प्रदेश राजधानी कार्यान्वयन एकाइले जनाएको छ । अब एक वर्षभित्र प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने गरी निर्माण भइरहेको छ । १९ बिगाह क्षेत्रफलमा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ । प्रदेशसभा र प्रदेश प्रशासनिक केन्द्र एकै थलोमा छन् । प्रदेश सरकारको प्रशासनिक केन्द्र एउटै परिसरभित्र स्थापना गर्ने, भौतिक संरचना मण्डला आकारमा हुने र त्यसले सेवा प्रवाहमा एकरुपता प्रदान गर्ने विश्वास गरिएको छ ।

अबको एक वर्षभित्र नयाँ भवनबाट प्रशासनिक कामकाज सुरु गर्ने लक्ष्य रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । “अहिले जहाँ जे छन्, त्यसैगरी चल्छन् । नयाँ संरचना सरकारलाई हस्तान्तरण भएपछि सारिनुपर्ने कार्यालयहरु नयाँ प्रशासनिक भवनमा सारिनेछ”, उनले भने, “एकै ठाउँबाट प्रशासनिक काम हुँदा सेवा लिने र सेवा दिनेलाई सजिलो हुन्छ । यसले प्रदेशको कार्यसम्पादनमा नयाँ गति मिल्ने विश्वास गरेका छौँ ।”

मुख्यमन्त्री आचार्यले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन पनि दिएको छ । एउटै हाताभित्र निर्माण हुने सरकारका प्रशासनिक भवन मुलुककै नमूनायोग्य हुने र यसले प्रदेशको प्रशासनिक कामकाजलाई नयाँ उचाइमा पुर्याउने विश्वास उनको छ ।

एउटै हाताभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा भव्य प्रशासनिक भवन निर्माण भइरहेको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ । कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी प्रदीप भट्टराईले निर्धारित समयमै निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको बताए । अहिले भवनको बाहिरी र भित्री भाग ‘फिनिसिङ्’को काम भइरहेको उनले बताउ।

निर्माणाधीन भवनमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन छ तलाको हुनेछ । जसमा मुख्यमन्त्री, प्रमुख सचिव कार्यकक्ष, बैठक कक्ष र बहुउद्देश्यीय हलसहित ९६ कोठा रहनेछन् । जसमा दुईवटा ‘लिफ्ट’ रहनेछन् भने भुइँतला अपाङ्ग मैत्री हुनेछ ।

मण्डला आकारमा निर्मित मन्त्रालयका प्रशासनिक भवनले मुलुकमै फरक पहिचान स्थापना गर्ने विश्वास इन्जिनियर भट्टराईको छ । अन्य नौवटा मन्त्रालयका भवनहरू पाँच तलाका हुनेछन् । हरेक भवनमा ५४ वटा कोठा हुनेछन् । सम्पूर्ण भवनमा लिफ्ट, अपाङ्ग मैत्री, ‘अन्डरग्राउन्ड पार्किङ’को व्यवस्था हुनेछ । भ्याटबाहेक तीन अर्ब नौ करोडको लागतमा निर्माण हुने संरचनाअन्तर्गत सडक सञ्जाल, बगैँचा निर्माणका आयोजना समेटिएका छन् ।

जग्गा, विशेषज्ञ चिकित्सक र शय्या बिस्तारका लागि सरकारको साथ खोज्दै भक्तपुर क्यान्सर अस्पताल

शरद शर्मा, काठमाडौं ।  सानो भवन साँघुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ। साँघुरो साना—साना कोठामा बिरामीलाई विशिष्टकृत सेवा प्रवाह गरिरहेको क्यान्सर अस्पतालको भने आफ्नो जग्गा छैन। आफ्नो जग्गा नभएकोले अत्याधुनिक भवनको अभावमा अस्पतालले बिरामीलाई क्यान्सरको गुणस्तरीय सेवा पैदान गर्दै आइरहेको छ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन बनाएर सेवा सञ्चालन गरिरहेको बताउँछन्। ‘भक्तपुर अस्पताल र भक्तपुर नगरपालिकाको जग्गामा हामीले भवन बनाएर सञ्चालन गरिरहेका छौँ’ उनले भने, ‘सरकारसँग जग्गा माग गरिरहेको छौँ। तर पाएका छैनौँ।’

उनले बिरामीलाई सस्तो र विशिष्टकृत सेवा दिइरहेको हुनाले सानोसानो साँघुरो कोठामा भए पनि उपचार कक्ष बनाएर सेवा दिने गरेको बताउँछन्। ‘अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको छ। आएका बिरामीको उपचार त गर्नु नै पर्‍यो। शौचालयसमेत फोडेर पनि उपचार कक्ष बनाएका छौँ,’उनले भने, ‘हामी सारै नै साँघुरो ठाउँमा अस्पताल सञ्चालन गरेका छौँ। सरकारले जग्गा उपलब्ध गराउन सक्ने हो भने अस्पताललाई अझ विशिष्टकृत बनाउन सकिन्छ।’

उनले सरकारले आफूलाई जग्गा उपलब्ध गराए सेवा विस्तार गरेर क्यान्सर रोगका जस्तोसुकै बिरामीको पनि उपचार स्वदेशमा गराउन सकिने बताए। नेपाल अर्बुद रोग निवारण संस्थाले दुई शय्याबाट सुरु भएको अस्पताल अहिले सरकारी स्वामित्वमा एक सय ३० शय्यामा सञ्चालनमा रहेको छ। संस्थाबाट अस्पताल २०७७ सालमा सरकारले विकास समिति गठन आदेश गरेर सरकारको नाममा ल्याएको हो।

क्यान्सरका सरकारका तीन वटा अस्पतालमध्ये काठमाडौँ उपत्यकामा रहेको भक्तपुर अस्पतालमा क्यान्सरका बिरामीको चाप धेरै नै हुने गरेको छ। चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पनि सरकारी अस्पताल रहेका छन्। तर तीमध्ये काठमाडौँ उपत्यकामा रहेको भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको पहिलो रोजाइ बनेको छ।

काठमाडौँ आइसकेपछि उपचारका अन्य विकल्प पनि हुने भएकोले बिरामी चितवन र बाँकेको सट्टा भक्तपुर नै आउने गरेका छन्। बिरामीको उपचारलाई ध्यानमा दिएर अस्पतालले हालै मात्र नयाँ अत्याधुनिक सिटी स्क्यान मेसिन, रेडियोथेरापी मेसिन, मोडुलेटर शल्यक्रिया कक्ष थपेको छ। नयाँ २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनले क्यान्सर कहाँ देखिएको छ भनेर सानासाना ठाउँ पनि पत्ता लगाउने गर्दछ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा चालिसेले नयाँ सिटी स्क्यान मेसिन सञ्चालनमा आएसँगै बिरामीलाई सिटी स्क्यान गर्न अयन्त्र जानु नपरेको बताउँछन्। अस्पतालसँग पहिले १६ स्लाइसको सिटी स्क्यान मेसिन रहेको थियो। ‘पहिलो एउटा सानो सिटी स्क्यान बिरामीलाई प्रयाप्त सेवा दिन सकेका थिएनौँ’ उनले भने, ‘अहिले नयाँ सिटी स्क्यान आइसकेपछि बिरामीलाई दैनिक ३० देखि ३५ जनाको सिटी स्क्यान गर्नसक्ने भएका छौँ।’

टिकट लिँदा नै चिकित्सक भेट्ने समय निश्चित
अस्पतालले बिरामीको समयलाई मध्यनजर गर्दै बहिरङ्ग सेवामा चिकित्सकको जाँच गराउनेका लागि निश्चित समय निर्धारण गरिएको छ। टिकटमा नै कति बजे चिकित्सकलाई भेट्ने भनेर समय तोकिएको हुन्छ। ‘अहिले पनि बहिरङ्ग सेवा लिन आएका बिरामी टिकटमा नै आधा घण्टाभित्र चिकित्सकलाई देखाउन पाउँछन्’ उनले भने। अब निश्चित समय तोकेर बिरामीलाई बढीमा १० मिनेट मात्र कुर्ने गरी समय व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ। अस्पतालले अनलाइन टिकट र परीक्षणको भुक्तानी क्यूआरमार्फत तिर्ने व्यवस्था गरेको छ।

रेडियोथेरापी र शल्यक्रियाका लागि पालो कुर्नुपर्दैन
अस्पतालले नयाँ रेडियोथेरापी उपकरण जडान गरेसँगै बिरामी क्यान्सरको उपचार गर्नका लागि पालो कुर्नुपर्ने समस्या पनि हटेको छ। अस्पतालका कार्यकारी निर्देशक डा चालिसेले रेडियोथेरापीका लागि क्यान्सरका बिरामीले लामो समयसम्म पालो पर्खनु नपर्ने बताउँछन्।

‘पहिले एउटा रेडियोथेरापी मेसिनले बिरामीले दुई महिनासम्म पालो कुर्नु पर्दथ्यो’ उनले भने, ‘तर अहिले नयाँ रेडियोथेरापी मेसिन आएपछि दैनिक बिरामीको रेडियोथेरापी गर्न सक्ने भएका छौँ।’ रेडियोथेरापीले क्यान्सरका कणलाई मार्ने गर्दछ।

यस्तै अस्पतालले अध्याधुुनिक शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको छ। अस्पतालका निर्देशक डा चालिसेले थप दुई वटा मोडुलेटर शल्यक्रिया कक्ष निर्माण गरिएको बताए।

‘शल्यक्रिया कक्ष नहुँदा बिरामीको समयमा नै क्यान्सरको शल्यक्रिया गरेर उपचार गर्न सकिएको थिएन’ उनले भने,‘अब पाँच वटा मोडुलेटर शल्यक्रिया कक्ष भएपछि बिरामीले शल्यक्रियाका लागि पालो कुर्नुपदैन।’

उनका अनुसार पहिले एक डेढ महिना शल्यक्रियाका लागि पालो कुर्नुपर्ने अवस्था रहेको थियो। उनले अब ढिलामा एक हप्ताभित्र बिरामीको शल्यक्रिया गरिन्छ।

शल्यक्रिया गर्दा नै क्यान्सर पत्ता लगाउने विधि
अस्पतालमा शल्यक्रिया गर्दा नै क्यान्सरको आशङ्का गरिएमा तुरुन्तै परीक्षण गर्ने विधिसमेत रहेको छ। कार्यकारी निर्देशक डा चालिसले शल्यक्रिया गर्दा क्यान्सरको आशङ्का गरिएको ठाउँको क्यान्सर परीक्षण गर्नका लागि फ्रोजोन सेक्सन उपकरणबाट गरिने बताए।

‘सिटी स्क्यानले सबै क्यान्सर पत्ता लगाउन सक्दैन। सिटी स्क्यानमा देखिएको मासु क्यान्सर हो कि होइन भन्ने कुरा थाहा हुँदैन’, उनले भने, ‘शल्यक्रिया गर्दागर्दै क्यान्सर कहाँसम्म फैलिएको छ भन्ने कुराको जानकारी फ्रोजोन सेक्सनले दिन्छ। फ्रोजोन सेक्सनले परीक्षण परीक्षणबाट क्यान्सर कहाँसम्म फैलिएको भन्ने थाहा हुन्छ र सोही अनुसार क्यान्सरको उपचार गरिन्छ।’ यो प्रविधि भक्तपुर क्यान्सर अस्पतालमा मात्र रहेको छ।

निजी अस्पतालभन्दा भक्तपुर क्यान्सर अस्पतालमा करिब चार गुणा सस्तो बिरामीको उपचार हुने गरेको अस्पताललको दाबी छ। अस्पतालका कार्यकारी निर्देशक डा चासिलेका अनुसार स्तन क्यान्सरको उपचार बाहिर निजी अस्पतालमा गर्दा करिब पाँच लाख लाग्ने गरेकामा भक्तपुर क्यान्सर अस्पतालमा गर्दा एक लाख रुपियाँसम्म लाग्ने गर्दछ।

यस्तै रेडियोथेपारी बाहिर निजी अस्पताल गराउँदा पाँच लाख रुपियाँसम्म लाग्ने गरेकामा अस्पतालमा भने एकदेखि एक लाख ५० हजारमा गरिन्छ। अस्पतालका लागि एमआरआई, रगत क्यान्सर रोगको उपचारका लागि बोन म्यारो प्रत्यारोपण जस्ता सेवा थप्न सके बिरामीलाई अझ उपचार दिन सकिने उनको भनाइ रहेको छ।

कर्मचारीको वृत्ति विकास बढ्ने

सरकारले हालै अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको संशोधन गरेपछि त्यहाँ रहेका कर्मचारीको वृत्ति विकास बढ्ने भएको छ। नेपाल अर्बुद रोग निवारण संस्थाबाट सरकारले आफैंँ सञ्चालन गरेको अस्पतालका तीन सय बढी कर्मचारी संशोधन अभावमा नियमावली बन्न नसक्दा वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए।

सरकारले अस्पतालको स्वामित्व ग्रहण गर्नुअघि स्थायी कर्मचारीलाई २०७७ को गठन आदेशले करारमा राख्ने व्यवस्था गरेको थियो। पहिले स्थायी रहेर पनि करारमा परिणत भएका कर्मचारी अब स्थायी हुनेछन्। साथै, अब नयाँ नियमावलीअनुसार नयाँ करार कर्मचारीलाई लोक सेवामार्फत स्थायी हुने बाटोसमेत खुलेको छ।

अस्पतालमा दैनिक पाँच सय जना उपचारमा आउने गर्दछन्। गत आर्थिक वर्षमा ९५ हजार पाँच सय चार जनाको उपचार गरिएको थियो। तीमध्ये दुई हजार ५०५ जनाको शल्यक्रिया गरेर क्यान्सरको उपचार र एक हजार ४० जनाको रेडियोथेरापी विधिबाट क्यान्सरको उपचार गरिएको थियो। कार्यकारी निर्देशक डा चालिसेले जग्गा, विशेषज्ञ चिकित्सक र शय्याको अभावले कारणले अस्पतालको क्षमता बढाउन नसकिएको बताए। सरकारले अस्पताललाई जग्गा उपलब्ध गराए तीन सय शय्याको सञ्चालन गर्ने तयारी रहेको छ।

समयमा नै उपचार गरे निको हुन्छ

क्यान्सर रोग विशेषज्ञसमेत रहेका डा चालिसेले समयमा नै क्यान्सर पहिचान गर्नसके निको हुने बताउँछन्। उनका अनुसार क्यान्सरका चार चरण (स्टेज) मध्ये शून्यदेखि तीन स्टेजसम्मको क्यान्सर केही हदसम्म निको पार्न सकिने बताए। अस्पतालमा आएका धेरै बिरामी निको भएर घर फर्किएको अस्पतालको दाबी रहेको छ।

पहिलो चरणमा बिरामीले क्यान्सर भएको थाहा पाएमा ९० प्रतिशत निको हुने, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गर्दा ५० प्रतिशत निको हुने सम्भावना रहने भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा चालिसेले जानकारी दिनुभयो। उन जति छिटो रोग पत्ता लगाउन सक्यो त्यति नै चाँडो उपचार गरेर निको हुने बताउँछन्।

नेपालमा बर्सेनी २५ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने भन्दै करिब १५ हजारको यस रोगबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ। सबैभन्दा बढी फोक्सो र दोस्रोमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको छ। त्यसपछि क्रमशः स्तन क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर र रगतको क्यान्सर हुने गर्दछ। नेपालमा फोक्सोको क्यान्सरबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन्। अत्यधिक धूमपान तथा मद्यपान र सूर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको तथा, वंशाणुका कारण पनि धेरै क्यान्सरका रोगी बनेका छन्।

नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । सोमबार ५९ अङ्कले घटेको नेप्से मंगलबार ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले बढेको छ । आज तीन सय नौ वटा कम्पनीका एक करोड ५५ लाख कित्ता शेयर पाँच अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ ।

न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’

वेलिङ्टन। न्युजिल्यान्डका वैज्ञानिकहरूले मंगलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल शिकार खोज्दछ।

वेलिङ्टनस्थित नेसनल इन्स्टिच्युट अफ वाटर एन्ड एटमोस्फेरिक रिसर्च (एनआइवाइए) का वैज्ञानिकहरूका अनुसार अस्ट्रेलेसियन न्यारो-नोज्ड–स्पुकफिस अस्ट्रेलिया र न्युजिल्यान्डको गहिरो पानीमा बस्ने पाइएको छ।

यी नमूनाहरू चाथम राइज क्षेत्रमा गरिएको अनुसन्धानका क्रममा पत्ता लगाइएको थियो। चाथम राइज प्रशान्त महासागरको एक भाग हो र यो न्युजिल्यान्डको दक्षिणी टापू नजिक पूर्वतर्फ करिब एक हजार किलोमिटर फैलिएको छ।

घोस्ट सार्क वा किमेरा सार्क र किरणहरूसँग सम्बन्धित छन् तर यी माछाको त्यस्तो समूहका अङ्ग हुन् जसको कङ्काल पूर्ण रूपमा नरम हाडले बनेको हुन्छ । स्पुकपिस नामले पनि चिनिने घोस्ट सार्कका काला आँखा र चिल्लो, हल्का खैरो र कत्लारहित छाला हुन्छ।

तिनीहरूले आफ्नो विशिष्ट चुच्चो जस्तो मुख प्रयोग गरेर दुई हजार छ सय मिटरसम्मको गहिराइमा क्रस्टेसियनहरू खान्छन्।

अनुसन्धान वैज्ञानिक ब्रिट फिनुक्सीले भने, “यस्ता प्रकारको घोस्ट सार्क धेरै हदसम्म समुद्रको पिँधमा सीमित हुन्छन्।” उनले यस नयाँ प्रजातिलाई आफ्नी हजुरआमाको सम्झनामा ‘हेरियोटा एभिया’ वैज्ञानिक नाम दिए।

“तिनीहरूको वासस्थानका कारण तिनीहरूलाई अध्ययन र अनुगमन गर्न कठिन हुन्छ, यसको अर्थ हामी तिनीहरूको जीवविज्ञान वा खतराको स्थितिबारे धेरै जान्दैनौँ तर यसले यस्ता खोजहरूलाई अझ रोमाञ्चक बनाउँछ”, उनले भने।

वैज्ञानिकहरूले स्पुकफिस आनुवांशिक रूपमा र आकारका आधारमा फरक छ भन्ने पत्ता लगाउनुअघि यसलाई विश्वव्यापी रूपमा वितरित एकल प्रजातिको हिस्सा मानिन्थ्यो।

श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का प्रवक्ताले श्रीलङ्काका लागि आफ्नो विवादास्पद दुई अर्ब ९० करोड डलरको उद्धार कार्यक्रमबारे मुलुकको नयाँ सरकारसँग छलफल गर्न तयार रहेको बताएका छन् ।

सोमबार मुलुकको पहिलो वामपन्थी राष्ट्रपतिका रूपमा सपथ लिएका अनुरा कुमारा दिसानायकाले अलोकप्रिय कटौती उपायहरू ल्याएको उक्त सम्झौताबारे पुनः वार्ता गर्न चाहेको बताएको थियो ।

‘श्रीलङ्कालाई आर्थिक पुनरुत्थानको मार्गमा लैजान सहयोग गरेको कठोर परिश्रमबाट हासिल गरिएका उपलब्धिहरूलाई अगाडि बढाउने दिशामा हामी राष्ट्रपति दिसानायकासँग मिलेर काम गर्न तयार छौँ’, वासिङ्टनस्थित आइएमएफका एक प्रवक्ताले उद्धार कार्यक्रमको आवधिक समीक्षालाई सन्दर्भ गर्दै सोमबार भने, ‘हामी नयाँ सरकारसँग आइएमएफ–समर्थित कार्यक्रमको तेस्रो समीक्षाको समयबारे सकेसम्म चाँडै छलफल गर्नेछौँ ।’

निर्वाचनको एक दिनपछि नयाँ राष्ट्रपतिका वरिष्ठ सहयोगी विमल रत्नायकेले आफ्नो पिपुल्स लिबरेसन फ्रन्ट पार्टीले सम्झौताई ‘नच्यात्ने’ बताए । ‘हामी आइएमएफ कार्यक्रमलाई च्यात्दैनौँ, यो बाध्यकारी दस्तावेज हो तर पुनः वार्ता गर्ने प्रावधान छ’, उनले भने ।

दिसानायकाले पदभार ग्रहण गरेको दिन सोमबार श्रीलङ्काको सानो सेयरमा बजार कारोबारको पहिलो केही मिनेटमै तीव्र गिरावट आयो तर चाँडै यसमा सुधार भयो र दिनको अन्त्यमा मुख्य सबै सेयर सूचकाङ्क एक दशमलव १९ प्रतिशतले बढ्यो ।

दिसानायकाले आफ्ना पूर्ववर्ती रनिल विक्रमासिङ्घेले दोब्बर बनाएको आयकरलाई घटाउने र खाद्यान्न तथा औषधि बिक्री कर पनि कटौती गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

रत्नायकेले भने, ‘हामी ती कटौतीहरूलाई कार्यक्रममा समावेश गर्न र चार वर्षे उद्धार कार्यक्रमलाई निरन्तरता दिन सक्छौँ भन्ने हामीलाई लागेको छ ।’

दिसानायकाका प्रतिद्वन्द्वीहरूले उनको मार्क्सवादी पार्टीले आइएमएफ कार्यक्रमलाई रद्द गर्ने र मुलुकलाई सन् २०२२ को अराजकताजस्तै आर्थिक सङ्कटमा धकेल्ने आशङ्का व्यक्त गरेका थिए । 

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

संयुक्त राष्ट्रसङ्घ । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्व नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो वार्षिक बैठक सुरु गर्दैछन् ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबारको ‘भविष्यको शिखर सम्मेलन’ मा राष्ट्रपति, प्रधानमन्त्री, राजा र मन्त्रीहरूलाई आफ्नो प्रारम्भिक ‘स्टेट अफ द वर्ल्ड’ भाषणको पूर्वावलोकन गर्दै भने, “हाम्रो संसार लिकबाट हटिरहेको छ र हामीलाई पुनः लिकमा फर्कन कठोर निर्णयहरूको आवश्यकता छ ।”

उनले ‘मध्यपूर्वदेखि युक्रेन र सुडानसम्म भड्किरहेका र बढ्दै गएका द्वन्द्वहरूको अन्त्य देखिँदैन’ भने । उनले विश्वव्यापी सुरक्षा प्रणाली ‘भू–राजनीतिक विभाजन, आणविक शक्ति प्रदर्शन तथा नयाँ हतियार र युद्धका मैदानहरूको वृद्धिले धम्की’ मा परेको बताए ।

महासचिव गुटेरेसले असमानता, उदीयमान अस्तित्वको खतरामा प्रतिक्रिया दिन प्रभावकारी विश्वव्यापी प्रणालीको अभाव र जलवायु परिवर्तनको विनाशकारी प्रभावबारे पनि चर्चा गरे ।

मङ्गलबार उद्घाटन हुने महासभाको उल्लेखनीय क्षणमा अमेरिकी राष्ट्रपति जो बाइडेनको सम्भवतः विश्व मञ्चमा अन्तिम प्रमुख उपस्थिति हुनेछ ।

राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले गत साता पत्रकारहरूलाई करिब दुई अर्ब मानिस द्वन्द्व प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने भन्दै महासभामा अमेरिकाको ध्यान ‘युद्ध सङ्कट’ अन्त्य गर्नेमा केन्द्रित हुने बताए ।

तर उनले भने, “विश्वभरका सबैभन्दा कमजोर मानिसहरूले हामीले प्रगति गर्ने, परिवर्तन ल्याउने र उनीहरूका लागि आशाको भावना ल्याउने कुरामा भरोसा गरिरहेका छन् ।”

उद्घाटनको दिन अन्य वक्ताहरूमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान, जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियान सहभागी हुनेछन् ।

इरानी राष्ट्रपति पेजेस्कियानले सोमबार इजरायलमाथि मध्यपूर्वमा व्यापक युद्ध खोज्न र आफ्नो मुलुकलाई विस्तृत द्वन्द्वमा लैजान ‘जाल’ थापेको आरोप लगाए ।

उनले इजरायललाई दोष दिँदै गत साता लेबनानमा पेजर, वाकी–टाकी र अन्य विद्युतीय उपकरणहरूको घातक विस्फोटतर्फ सङ्केत गरे । साथै उनले आफ्नो सपथ ग्रहणको केही घन्टापछि जुलाई ३१ मा तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्यालाई पनि सङ्केत गरे ।

उनले भने, “हामी लड्न चाहन्नौँ, इजरायलले सबैलाई युद्धमा तान्न र यस क्षेत्रलाई अस्थिर बनाउन चाहन्छ, तिनीहरूले हामीले नचाहेको विन्दुमा हामीलाई तानिरहेका छन् ।” इरानले गाजामा हमास र लेबनानका हिजबुल्लाह लडाकूहरू दुवैलाई समर्थन गर्दछ ।

अन्तर्राष्ट्रिय उद्धार समितिका अध्यक्ष डेभिड मिलिबान्डले संयुक्त राष्ट्रसङ्घ स्थापना भएको सन् १९४५ मा सान फ्रान्सिस्कोमा आयोजित सम्मेलनलाई सम्झे ।

तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले प्रतिनिधिहरूलाई ‘शक्ति नै अधिकार हो’ भन्ने मान्यतालाई अस्वीकार गर्न र त्यसलाई उल्ट्याएर ‘अधिकार नै शक्ति हो’ बनाउन आग्रह गरेका थिए र यसलाई राष्ट्रसङ्घको बडापत्रमा समावेश गरिएको थियो ।

मिलिबान्डले भने, “करिब ८० वर्षपछि हामीले यो समीकरणलाई उल्ट्याउन नसक्दाको भयानक परिणाम देखेका छौँ । गाजा, सुडान र युक्रेनजस्ता सन्दर्भहरूमा शक्तिले नै अधिकार बनाइरहेको छ ।”

बढ्दो वैश्विक मानवीय आवश्यकता, अनियन्त्रित द्वन्द्व, अनियन्त्रित जलवायु परिवर्तन र बढ्दो चरम गरिबीको सामना गर्दै मिलिबान्डले विश्व नेताहरूलाई चुनौती दिँदै प्रश्न गरे, “आगामी ८० वर्षका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरूलाई तपाईंहरू कसरी कमजोर नभई बलियो बनाउनुहुन्छ ?”

दुई दिवसीय ‘भविष्यको शिखर सम्मेलन’ पछि आयोजना भएको महासभाको वार्षिक बैठक सेप्टेम्बर ३० मा समाप्त हुन्छ । ‘भविष्यको शिखर सम्मेलन’ ले विश्वका बढ्दो विभाजित मुलुकहरूलाई २१औँ शताब्दीका द्वन्द्वदेखि जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (एआई) र महिला अधिकारसम्मका चुनौतीहरूको सामना गर्न एकजुट गर्ने लक्ष्यसहितको खाका अपनाएको थियो ।

बयालीस पृष्ठको ‘भविष्यका लागि सम्झौता’ ले राष्ट्रसङ्घका एक सय ९३ सदस्य मुलुकका नेताहरूलाई प्रतिज्ञाहरूलाई वास्तविक काममा परिणत गर्न चुनौती दिन्छ । यसले विश्वका आठ अर्बभन्दा बढी मानिसको जीवनमा परिवर्तन ल्याउँछ ।

“हामी बहुपक्षवादलाई विनाशको किनारबाट फर्काउन यहाँ भेला भएका छौँ”, महासचिव गुटेरेसले भने । उनले सम्झौतालाई ग्रहण गरेर नेताहरूले ढोका खोलेको बताए । “अब यसमार्फत हिँड्नु हाम्रो साझा नियति हो, यसले सहमतिको मात्र नभई कामको पनि माग गर्दछ ।”

गत वर्षको राष्ट्रसङ्घीय वैश्विक भेलामा युक्रेन र त्यसका राष्ट्रपति भोलोदिमर जेलेन्स्की केन्द्रीय स्थानमा थिए । तर अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको घातक आक्रमणको पहिलो वार्षिकोत्सव नजिकिँदै गर्दा गाजामा भइरहेको युद्ध र इजरायल–लेबनान सीमामा बढ्दो हिंसामा ध्यान केन्द्रित हुने निश्चित छ । हिंसा अहिले पूरै मध्यपूर्वमा फैलिन खतरामा छ ।

प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले बिहीबार बिहान र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार अपराह्न बोल्ने कार्यक्रम छ । 

श्रीलंकाका प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता

काठमाडौं । श्रीलंकाको राजदूतमा सिफारिस रामकृष्ण भट्टराईले नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि समितिले उनको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो । त्यसपछि उनले आफ्नो फिर्ता लिन निवेदन दिएका छन् ।

दुईपटकसम्म समितिको बैठक स्थगित गरेर प्रमाणपत्र बुझाउनका लागि उनलाई समय दिइएपनि उनले मंगलबारसम्म प्रमाणपत्र बुझाउन सकेनन् ।

भट्टराईले प्रमाणपत्र बुझाउनका लागि यही ११ असोजसम्मको समय मागेका थिए । तर, मंगलबारसम्म उनीबारे निर्णय गर्नैपर्ने बाध्यतामा समिति थियो । किनकी मन्त्रिपरिषद्ले उनको नाम सिफारिस गरेको मंगलबार ४५ दिन पुग्दै थियो ।

सर्वोच्चद्वारा दुर्गा प्रसाईं पक्राउविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । प्रहरीले प्रसाईलाई एक महिलाको चरित्र हत्या गरेको आरोपमा आइतबार पक्राउ गरेको थियो ।

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

मोरङ । कोशी प्रदेश सरकारको  मंगलबार  बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनैतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लिला बल्लभ अधिकारीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति मन्त्रिपरिषद्स्तरीय समिति गठन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले जानकारी दिए ।

प्रदेश सिँचाइ नियमावली, २०८१ लाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरिएको छ । कोशी प्रदेश नवीकरणीय ऊर्जा नीति, २०८१ स्वीकृत गर्ने, एसियाली विकास बैंकको ऋण सहयोगमा र ‘साउदी फन्ड फर डेभलेप्मेन्ट’को सहलगानीबाट कार्यान्वयन हुने अत्याधुनिक सिँचाइ परियोजनाका लागि वार्ता र सहमति गर्न स्वीकृति दिने, जलवायु अनुकुलित बृहत् खानेपानी आयोजनामा कार्यरत ३३ कर्मचारीको आर्थिक वर्ष २०८१/८२ को अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ ।

नेपाल स्वास्थ्य सेवा, एघारौँ तहका निर्देशक डा वीरेन्द्रकमार मण्डललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट जिल्ला अस्पताल उदयपुरमा कामकाज, प्रदेश स्वास्थ्य सेवा, दसौं तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सरुवा, प्रदेश स्वास्थ्य सेवा दशौँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा सुरेश मेहतालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा सरुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री अधिकारीले जानकारी दिए ।

नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत देखिए पनि अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ।

आईएमएफको श्रीलङ्काका लागि आवासीय प्रतिनिधि सारवत् जहाँको नेतृत्वमा यही सेप्टेम्बर ११ देखि २२ तारिखसम्म नेपाल भ्रमणमा रहको आईएमएफ टोलीले उक्त भ्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रगत सुधारका लागि नेपालले थप कदम चाल्नुपर्ने जनाएको हो।

यो भ्रमणको मुख्य उद्देश्य आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे समीक्षा र समष्टिगत आर्थिक स्थितिको जानकारी लिनु रहेको विज्ञप्तिमा उल्लेख छ। नेपालको अर्थतन्त्रले पुनःउत्थानको प्रारम्भिक सङ्केत देखाइरहेको छ।

‘नयाँ तथ्याङ्कले आयातको वृद्धि सकारात्मक दिशामा प्रवेश गरिरहेको देखाएको छ। कर सङ्कलनमा सुधार भइरहेको छ र सार्वजनिक लगानी वृद्धि हुँदै गएको छ’, आईएमएफद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कर्जा विस्तारमा सुधार भइरहेको, मुद्रास्फीति घटेको, विदेशी मुद्राको सञ्चिति बढेकोलगायत सुधारका सङ्केत देखिएको आईएमएफको भनाइ छ।

विदेशी मुद्रा सञ्चिति बढ्नुमा विप्रेषण आप्रवाह बढ्नु, पर्यटन क्षेत्र लयमा फर्किनु र वैदेशिक व्यापारमा आयातको अंश घट्नुलाई जिम्मेवार मानिएको छ। अर्थतन्त्र सुधारका सुरुवाती सङ्केत देखिए पनि त्यसलाई गति दिन नेपालले अझै केही महत्वपूर्ण काम गर्नुपर्ने सुझाव आईएमएफले दिएको छ।

‘सुदृढ र समावेशी आर्थिक विकासको बाटोमा अर्थतन्त्रलाई लैजान सुधारको गतिलाई तीव्र बनाउन आवश्यक छ। यसका लागि सार्वजनिक लगानी कार्यान्वयनलाई सुदृढ गर्नु, आन्तरिक राजस्व सङ्कलनलाई अझ सशक्त बनाउनु, र अनुदान वितरणलाई प्रभावकारी तथा छरितो गर्न आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ।

नेपालमा इसिएफ कार्यान्वयनका लागि आईएमएफले राखेको एउटा महत्वपूर्ण शर्तमध्ये १० वटा ठूला वाणिज्य बैंकहरुको कर्जा ‘पोर्टफोलिया’ समीक्षा (क्रेडिट पोर्टफोलिया रिभ्यु–सिपिआर) पनि एउटा हो ।

नेपाल राष्ट्र बैंकले सिपिआर प्रक्रिया अघि बढाउन प्रस्ताव आह्वान गरेको भए पनि आर्थिक तथा प्राविधिक मूल्याङ्कनपछि कुनैपनि कम्पनी योग्य नदेखिएको भन्दै यो प्रक्रिया रद्ध भएको छ।

राष्ट्र बैंकले यो प्रक्रिया पुनः प्रस्ताव आह्वान प्रक्रिया अघि बढाएको छ। तर आईएमएफले भने ठूला बैंकहरुको ‘सिपिआर’ आवश्यक रहेको बताएको छ। ‘बैंकहरूले बढ्दो खराब कर्जा र पुँजी व्यवस्थापनमा समस्या भोगिरहेको अवस्थामा निरन्तर निगरानी आवश्यक छ। बैंक तथा वित्तीय संस्थाको नियमनलाई अझ सुदृढ बनाउन र ठूला १० वाणिज्य बैंकको ऋण पोर्टफोलियोको समीक्षा पूरा गर्नु महत्वपूर्ण छ’, आईएमएफले विज्ञप्तिमा भनेको छ।

बचत र ऋण सहकारी संस्थामा रहेका समस्या समाधानलाई प्राथमिकतामा राख्न आईएमएफले सुझाव दिएको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन संशोधन हुनु सकारात्मक रहेको उल्लेख गर्दै आईएमएफले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन, राष्ट्र बैंकको बाह्य लेखापरीक्षण, र सार्वजनिक संस्थानको पारदर्शीता बढाउनुपर्नेमा जोड दिएको छ। आईएमएफ ईसिएफको पाचौँ किस्ता निकासाका लागि समीक्षाको चरणमा छ।

आईएमएफ टोलीले नेपालमा रहँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीलगायत उच्चपदस्थ अधिकारी र राष्ट्र बैंकका अधिकारीसँग भेटघाट र छलफल गरेको थियो। त्यस्तै निजी क्षेत्रका प्रतिनिधि र विकास साझेदारसँग पनि आईएमएफ टोलीले छलफल गरेको विज्ञप्तिमा उल्लेख छ।

करातेमा रजत पदक विजेता एरिकालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ ।  सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ मंगलबार स्वदेश फर्कएकी छन् ।


चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उहाँलाई त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गरेका छन् । 


एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट भएकी थिइन् । उक्त प्रतियोगितामा पनि उनले रजत पदक हात पारेकी थिइन् ।

परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गरेकी छिन् ।

सोमबार भएको असंलग्न आन्दोलन (नाम)को मन्त्रिस्तरीय बैठकमा उनले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् । नेपाल विपीन जोशीको रिहाइको प्रतिक्षामा रहेको बताउँदै उनले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गरिन् ।

गत अक्टोबरमा ७ मा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमासले जोशीलाई नियन्त्रणमा लिएको थियो । सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको परराष्ट्रमन्त्रीले बताइन् ।

विश्वशान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्यक भएको बताउँदै उनले भनिन् “दोश्रो विश्वयुद्धपछि विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ । हामी इतिहासको जटिल मोडमा उभिएका छौँ, सशस्त्र द्वन्द्वबाट आफ्ना नागरिकहरुको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नुपरेको छ । जेनेभा अभिसन्धिमा हस्ताक्षर भएको ७५ औँ वर्षमा हामी छौँ तर पनि नागरिकहरुको रक्षाका लागि यसले आत्मसात् गरेका सिद्धान्तहरुलाई बेवास्ता गरिरहेका छौँ । यस्तो अवस्थाको चाँडै अन्त्य हुनुपर्छ र हामीहरु सबै शान्तिपूर्ण सहअस्तित्वको सम्मानका साथ अघि बढ्नुपर्छ ।”

परराष्ट्रमन्त्रीले गाजा, रुस र युक्रेनमा जारी द्वन्द्व तत्काल रोकेर समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन् । उनले गाजामा नागरिक, पत्रकार, राष्ट्रसङ्घीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको हत्या, पूर्वाधारहरुमाथिको आक्रमणको निन्दा गरिन् ।

मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरुको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल असंलग्न आन्दोलनको प्रतिबद्ध सदस्य भएकाले सबै देशसँग शान्ति, मैत्री र सहअस्तित्वका आधारमा सम्बन्ध विस्तार गर्न चाहन्छ भनिन् ।

सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबी टोली पोखरा जाँदै

काठमाडौं ।पोखरा उपमहानगरपालिका–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पोखरा जाने भएको छ । अनुसन्धानमा सघाउन सीआइबीको दुई जनाको टोली मंगलबार पोखरा पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाका अनुसार दुई जनाको टोली आज साँझ पोखरा पुग्नेछन् । पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी तथा गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडियका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

राजा ज्ञानेन्द्र २०६२/६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्योः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगेको बताएका छन् ।

मंगलबार आफूलाई भेट्न आएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँगको भेटमा प्रचण्डले आफूले आजभोलि प्रशिक्षणमा यही भनिरहेको बताएका हुन् ।

उनले पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेर्दा पंचायतकालमा धेरै राम्रो का म भएको आफूले पाएको बाएका छन्।

प्रचण्डसँगको भेटपछि मिश्रले सामाजिक संजालमा लेखेका छन्, ‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गजबका ‘भिजनरी’ राजा रहेछन् । द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाकाबारे पुरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गएपनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।’

प्रचण्डसँगको भेटपछि मिश्रको भनाई

सोमबार कार्यक्रममा भेट भयो । मंगलबार वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो । ‘अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विष्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ । र त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।’ लामो व्याख्यासहित सारमा मैले यही भनेँ ।
त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्योः

१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु ।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गजबका ‘भिजनरी’ राजा रहेछन् ।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाकाबारे पुरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गएपनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो ।

५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।

६. अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन ।

७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।

कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए ।
सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ/वित्नेछ भन्नेमा संभवतः उनीहरू अनभिज्ञ थिए । म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।

सुक्खाबन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

वीरगञ्ज । पर्साको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को भदौसम्ममा आठ अर्ब ३९ करोड ४१ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई भदौसम्म नौ अर्ब ९७ करोड ७९ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर भदौसम्मको लक्ष्य पछ्याउन भने सकेन ।

कार्यालयले चालु आर्थिक वर्षको साउनमा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार सङ्कलन गर्यो भने चालु आर्थिक वर्षकै भदौमा भने चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व सङ्कलन गरेको छ ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले चालु आवको दुई महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए ।

‘भन्सार विभागले दिएको लक्ष्यको साउनमा ७९ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भयो भने भदौमा पनि मासिक लक्ष्यको ८८ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन गरेका छौँ’, उनले भने, ‘भदौमा चाडपर्व लक्षित आयात भएर लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्ने अपेक्षा भए पनि शतप्रतिशत सङ्कलन हुन भने सकेन ।’

भन्सार विभागले कार्यालयलाई ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य दिएको छ । कार्यालयले चालु आवको दुई महिनासम्मको अवधिसम्म कुल वार्षिक लक्ष्यको १३ दशमलव ९८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

प्रमुख भन्सार अधिकृत बरुवालले दशैँ र तिहारजस्ता चाडपर्व नजिकै आउन लागेकाले पनि विदेशी तयारी मदिराजन्य आयात बढेको बताए ।

कार्यालयले आव २०८०/८१ को भदौसम्ममा भने आठ अर्ब ६५ करोड २० लाख ५९ हजार राजस्व सङ्कलन गरेको थियो । त्यस्तै आव २०७९/८० को भदौसम्ममा सात अर्ब ६० लाख २२ लाख ३४ हजार राजस्व सङ्कलन गरेको थियो ।

पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ ।

लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो ।

निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नयाँ भवनबाट बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको पृथ्वीचन्द्र अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर ज्ञवालीले जानकारी दिए ।

भवन निर्माण कम्पनीका इन्जिनियर अरविन्द मण्डलका अनुसार नयाँ भवनमा अस्पतालले विद्युत् जडान नगरेकाले हस्तान्तरणमा समस्या भएको बताए । उनका अनुसार भवनको रङरोगन र ‘फिनिसिङ’लगायतका काम सम्पन्न भइसकेको छ ।

अस्पतालको भवन सञ्चालनमा आएसँगै त्यहाँ कार्यरत चिकित्सकलाई आवास र बिरामीलाई पनि थप सहज हुने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए ।

भवन हस्तान्तरण गर्नेबित्तिकै बिरामीलाई सोही भवनबाट आइसीयू सहित अन्य स्वास्थ्य सेवा प्रदान गरिने उनले जानकारी दिए । रासस

त्रिविमा २०५८ सालपछिका परीक्षार्थीले एकपटक मौका परीक्षा दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको भेटिए परीक्षा रद्द गर्ने भएको छ । सोमबार बसेको परीक्षा सुधार समितिको बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिए परीक्षा रद्द हुने निर्णय गरेको हो ।

त्यस्तै बैठकले त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थाअन्तर्गतका विद्यार्थीको हकमा वार्षिक प्रणालीअनुसार २०५८ देखि र सेमेस्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीलाई एकपल्टका लागि मौका परीक्षाको अवसर दिनेसमेत निर्णय भएको छ ।

बैठकपछि जारी सूचनामा भनिएको छ, ‘त्रिवि अन्तरगतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून शंकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका विद्यार्थीहरुको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ सालदेखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरुका लागि एक पटकका लागि मौका परीक्षाको अवसर दिने व्यहोरा सूचित गरिन्छ ।’

लेबननमा इजरायली हमलामा ४९२ जनाको मृत्यु

बीबीसी । लेबननमा हिजबुल्लाहलाई लक्षित गरेर इजरायलले गरेका भीषण हवाई हमलामा परी कम्तीमा ४९२ जना मारिएका त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन् ।

झन्डै दुई दशकमा त्यहाँको द्वन्द्वको सबैभन्दा घातक दिनको रूपमा सोमवारका घटनालाई लिइएको छ । हिज्बुल्लाहले सन् २००६ को युद्धयता तयार पारेका पूर्वाधार ध्वस्त पार्ने गरी उक्त सशस्त्र समूहका १,३०० निशानामा प्रहार गरेको इजरायलले जनाएको छ ।

त्यसैबीच हिज्बुल्लाहले उत्तरी इजरेलमा २०० भन्दा धेरै रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार विस्फोटनका भग्नावशेष लागेर दुई जना मानिसहरू घाइते भएका छन् । दुवै पक्ष पूर्ण आकारको युद्धतर्फ धकेलिईरहँदा विश्व शक्तिहरूले उनीहरूलाई संयम अपनाउन आग्रह गरेका छन् ।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ जना महिला छन्। अन्य १,६४५ जना घाइते अवस्थामा छन् । उसले हताहत हुने सर्वसाधारण र लडाकुहरू छुट्याइएको विवरण दिएको छैन ।

लेबननका स्वास्थ्यमन्त्री फिरास अबियादले हमलाका कारण हजारौँ परिवार विस्थापित भएको बताएका छन् । सीमापार लडाइँबाट भाग्न खोजेका सर्वसाधारणको भिडले सोमवार उत्तरी क्षेत्र जोड्ने सडकमा गाडीहरूको ठूलो जाम देखापरेको थियो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले चर्कँदो अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफूले लेबनन ‘अर्को गाजा बनेको’ देख्न नचाहेको बताएका छन् । यसैसाता राष्ट्रसङ्घीय महासभामा लेबननको सङ्कट अन्त्य गर्ने गरी ठोस योजना प्रस्तुत गरिने बाइडन प्रशासनले जनाएको छ ।

पेन्टागनले ‘सावधानी स्वरूप’ मध्यपूर्वमा ‘सानो सङ्ख्यामा’ अतिरिक्त फौज पठाउने घोषणा गरेको छ । गाजा युद्ध सुरु भएयता झन्डै एक वर्षदेखि इजरायल र हिज्बुल्लाहबीच सीमापार हमला हुँदै आएको छ। जसमा मारिने सयौँ मानिसहरूमध्ये अधिकांश हिज्बुल्लाह लडाकु छन् ।

लय गुमाएको नेपाल आज ओमानसँग खेल्दै

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमान भिड्दैछन् । किङ सिटीस्थित माफ्ले लिफ नर्थ वेस्ट मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

लिगमा लय गुमाएको नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । जारी लिगमा नेपालले सात खेल खेल्दा मात्र एक जित निकाल्न सकेको छ । क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा पनि खराब प्रदर्शन गरेको नेपालले तीन खेलमा पराजय भोगेको छ ।

पहिलो खेलमा घरेलु टोली क्यानडासँग १ सय ३ रनको हार बेहोरेको नेपाल दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पनि नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।
त्यसैले नेपाल आज सुखद अन्त्यको खोजीमा हुनेछ ।

नेपाललाई आजको खेलमा बदला लिने अवसर पनि रहेको छ । हाल नेपाल सात खेलबाट एक जितसहित दुई अङ्क जोड्दै लिगको सातौं स्थानमा रहेको छ । गत फेब्रुअरीमा घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराएपछि नेपाल लिगमा जितविहीन रहेको छ ।

यता ओमानले पनि सिरिजमा सोचे अनुरुप प्रदर्शन गर्न सकेको छैन । पहिलो खेलमा नेपाललाई हराउँदै सिरिजको सुरुवात गरेको ओमानले दोस्रो खेलमा क्यानाडासँग ५८ रनको हार बेहोरेको थियो । ओमान ६ खेलबाट पाँच अङ्क जोड्दै लिगको छैठौं स्थानमा रहेको छ।

विश्वकप लिग–२ को सिरिजपछि तीन टोलीले क्यानडामै त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने तालिका रहेको छ ।

राखेपमा एनपीएलको हेल्प डेक्स स्थापना

काठमाडौ । नेपाल क्रिकेट संघ (कयान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ । राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताए ।

डेक्सको उद्घाटन गर्दै सदस्य–सचिव घिसिङले विदेशी खेलाडीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने जानकारी दिए । क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहजिकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको जानकारी दिए ।

क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपीएल सञ्चालन गर्दै छ । एनपीएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाईज लिग सन्चालन तथा आयोजना सम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको हो ।
डेक्स उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारश खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेक्समार्फत लिग सम्पन्न गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरि प्रशासकिय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेक्स स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिए ।

सेनेगलको तटमा डुङ्गामा ३० जनाको शव फेला

डकार । अफ्रिकी देश सेनेगलको नौसेनाले राजधानी डकारको तटबाट करिब ७० किलोमिटर (४३ माइल) टाढा भेटिएको एउटा डुङ्गाबाट कम्तीमा ३० शव फेला पारेको सेनाले सोमबार जनाएको छ ।

उक्त जहाज कहाँबाट आयो थियो भन्नेबारे र मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्न अनुसन्धान जारी रहेको सेनाले सामाजिक सञ्जालमा पोस्ट गरिएको विज्ञप्तिमा जनाएको छ ।

सेनेगलको तटवर्ती क्षेत्रमा डुङ्गाबाट युरोप पुग्ने प्रयासमा बारम्बार दुर्घटनाहरू हुने गर्दछन् ।

आइतबार राति घटनाबारेमा सूचित भएपछि नौसेनाको गस्तीले माछा मार्ने डुङ्गालाई तानेर डकार बन्दरगाह ल्याएको थियो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, “शव सड्ने अवस्थाका कारण उद्धार, पहिचान र स्थानान्तरण कार्य अत्यन्त जटिल बनेको छ, अहिलेसम्म ३० शवको गणना भइसकेको छ ।”

सेनेगलका तटहरू हरेक वर्ष युरोप पुग्ने आशामा धेरै आप्रवासीको प्रमुख प्रस्थान विन्दुमध्ये एक हो ।

लेबनानमा इजरायली आक्रमणमा २७४ जनाको मृत्यु

लेबनान । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरूको सङ्ख्या दुई सय ७४ पुगेको जानकारी दिएका छन् । यसमा २१ जना बालबालिका छन् ।  हजारौँ परिवार बमबारीबाट भागेका छन् ।

“एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको छ । यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले पत्रकार सम्मेलनमा भने, “लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन् ।”

उनकाअनुसार हिजबुल्लाह पेजर र वाकी–टाकीहरू विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरू हिंसामा तानिएका थिए ।

इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयले ‘बिहानदेखि दक्षिणी सहर र गाउँहरूमा इजरायली शत्रुको आक्रमण’ ले ‘एक सय ८२ जनाको ज्यान लिएको र अन्य सात सय २७ जनालाई घाइते बनाएको’ बताएको छ । मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मीहरू पनि छन् ।

विश्व शक्तिहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनहरूमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्र रूपमा सरेको छ ।

तनहुँका प्रकाश गुरुङद्वारा मनास्लु हिमालको सफल आरोहण

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण गरेका हुन् । भदौ १४ गते काठमाडौँबाट पैदलयात्रा गरी २२ गते वेसक्याम्प पुगेका गुरुङले गत शुक्रबार मनास्लु हिमालको आरोहण पूरा गरेका हु्न् । आफूसँगै एक अमेरिकी पर्यटकले समेत हिमालको आरोहण गरेको गुरुङले जानकारी दिए ।

“सबै प्रतिकूलतालाई सामना गर्दै कठोर मौसमका बाबजुद पनि हामी मनास्लुको शिखरमा पुग्न सफल भयौँ,” उनले खुसी साट्दै भने, “हावा भीषण चलेको थियो, चिसो ज्यादै थियो तर हाम्रो दृढ सङ्कल्पले हामीलाई शिखरमा पुर्यायो ।” विश्वको आठौँ अग्लो हिमाल मनास्लुको उचाइ आठ हजार एक सय ५६ मिटर छ ।

गुरुङले सगरमाथाको दुईपटक सफल आरोहण गरेका छन् । विसं २०८० जेठ ११ र विसं २०८१ जेठ ७ गते उनले सगरमाथा आरोहण गरिसकेका छन् ।

सन् २०१४ देखि पर्यटन व्यवसायमा आवद्ध गुरुङले सन् २०१५ मा पर्वतारोहणसम्बन्धी प्रशिक्षण लिएपछि यो व्यवसायमा लागेका हुन् । गुरुङले यसअघि लघुचे, मिरा हिमाल, मनास्लु हिमाल सफल आरोहण गरिसकेका छन् ।

पर्वतारोहण गाइडमा सुरुका दिनमा शेर्पाहरुको बर्चस्व रहँदा पनि सङ्घर्ष गर्दै अगाडि बढेको उनको भनाइ छ । उनले भने, “पर्यटनमार्फत् नेपाललाई विश्वमा चिनाउने अभियानमा छु ।”

गुरुङले गत वर्षको पुस महिनामा ६ हजार सात सय ५९ मिटरमा अवस्थित खुम्जुङ्गार हिमालको सफल आरोहण गरेका थिए । अपर मुस्ताङमा अवस्थित उक्त हिमालमा चिसो मौसममा हालसम्म आरोहण गरिएको थिएन ।

बीमा बापतको रकम प्राप्त नहुँदा नेपाल-कोरिया मैत्री अस्पतालको सेवा बन्द हुने अवस्थामा

भक्तपुर ।  भक्तपुरको मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ । 


अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा डिके रौशनले लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा बिरामीको लागि खरिद गर्नुपर्ने औषधि खरिददेखि चिकित्सक, नर्सको तलबभत्ता दिन समस्या परेकाले सेवानै बन्द गर्नु पर्ने अवस्थामा पुगेको गुनासो गरे ।


नेपाल कोरिया नगरपालिका अस्पतालको स्वास्थ्य बीमा वापतको  २१ करोड ५७ लाख रुपैँया भुक्तानी प्राप्त गर्न बाँकी रहेकाले दैनिक नौ सय बिरामीलाई सेवा दिँदै आएको अस्पतालले बीमा रकमकै कारण सेवा बन्द हुन अवस्थामा पुगेको र मेडिकल उपकरणसमेत खरिद गर्न नसकेको उनले बताए । 


मेसु डा रौशनले दसैँअघिसम्म पैसा नआए कर्मचारीलाई दसैँको मुखमा तलब र दसैँभत्ता दिन नसक्ने बताए ।

प्रमोद खरेलको ‘उद्यमी’

काठमाडौं । बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन् । गीतमा गायक प्रमोद खरेलले स्वर दिएका छन् । संगीत गैरेको शब्द र संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।

भिडियोमा संगीत आफैंले अभिनय गरेका छन्। यसको भिडियो पनि उनकै कथा र निर्देशनमा बनेको हो । विभिन्न सपना बोकेर गाउँबाट रित्तो हात शहर छिरेको युवाले नयाँ ठाउँमा गरेको मेहनत र प्राप्त गरेको सफलतालाई भिडियोमा देखाइएको छ । भिडियोलाई दीपक गिरीले छायांकन गरेका हुन् भने अमृत चापागाईँले सम्पादन गरेका छन् ।

https://www.youtube.com/watch?v=qukd5hdMaro

मेलम्ची भ्रष्टाचार मुद्दामा दोषी ठहर चारै जनालाई ८ वर्ष जेल सजाय

काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिको सजाय निर्धारण गरेको छ ।

सोमबार अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको हो ।

अदालतले गत भदौ २५ उक्त खानेपानी आयोजनाको भ्रष्टाचार गरेको प्रकरणमा पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । सोमबारको फैसलाको सजाय निर्धारण गर्दै पूर्वसचिव ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद ठहर गरेको हो ।

अदालतले सजाय निर्धारण गर्दा पूर्वसचिव तथा मेलम्ची खानपानी समितिका तत्कालीन् अध्यक्ष तथा पूर्वसचिव गजेन्द्र ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही आठ वर्ष एक महिना कैद र जरिवाना १० करोड १० लाख ६१ हजार ७५ निर्धारण गरेको छ ।

अदालतले तत्कालीन खानेपानी विकास र समितिको कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारीसमेत रहेका रामचन्द्र देवकोटालाई आठ वर्ष एक महिना कैद र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना र परामर्शदाता कम्पनी इप्टिसा जेभीका टिम लिडर शिवकुमार शर्मालाई आठ वर्ष कैद तर ज्येष्ठ नागरिक भएकाले दुई वर्ष कैद छुट र दुई करोड ९५ लाख ६५ हजार छ सय ३ जरिवाना रहेको छ ।

अदालतले दोषी ठहर गरी सजाय निर्धारण गरेका कम्पनीमा ईपिआईआईएसए मतियार ठहर जरिवाना ६ करोड २१ लाख ९३ हजार पाँचसय ९६ रहेको छ । बिईटिएसलाई मतियार ठहर गर्दै जरिवाना दुई करोड ९५ लाख ६५ हजार छ सय तीन गरेको छ भने सिएमसी डी राभेनालाई २६ करोड ११ लाख छ हजार नौ सय ९१ जरिवाना गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०८० फागुन ६ गते विशेषमा उक्त प्रकरणमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अदालतले डा सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेल, रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा, घनश्याम भट्टराई, मणिभद्र न्यौपाने, भोजविक्रम थापा, रामचन्द्र न्यौपाने, वेगनाथ पौडेल र केदारप्रसाद अर्याललाई सफाइ दिएको थियो ।

सरकारको एजेण्डा संविधान संशोधन होइन, माओवादीको सरकारलाई हटाउनु मात्र होः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दलले सत्ता प्राप्तीको लागि संविधान संशोधनको कथा बनाएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान संशोधनको कुरालाई ख्याल गर्दा सरकारको एजेण्डा संविधान संशोधनको नभएर माओवादीको सरकारलाई हटाएर सत्ता प्राप्ती गर्ने रहेको बताएका हुन् ।

उनले भने,‘मेरो विमति कहाँ छ भने, अहिले दुई ठूला दलले त्यसको मर्म अनुसार अगाडि बढ्नुभएको छैन । २–४ दिनसम्म उहाँहरुको एजेण्डा संविधान संशोधन थिएन । उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादीको सरकारलाई जसरी पनि हटाउनैपर्ने भयो भनेर संविधानको संशोधनको कथा बनाउनुभयो ।’

प्रचण्डले संविधान संशोधन गर्दा विचार नपुर्याए देश सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्ने बताए । उनले भने,‘संविधान संशोधन निकै संवेदनशील गम्भीर विषय हो । यसमाथि हामीले अलिकति पनि छेडखान गर्ने ढंगले गयौं भने पान्डोराको बाकस खोलेको जस्तो हुने र देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ ।’

राजनीतिक दलका शक्तिशाली नेताहरुले नै समानुपातिकता या संघीयता मन नपराउने भन्दै कसरी कार्यान्वयन गराउने भन्ने विषय ठूलो चूनौती रहेको बताए ।

उनले भने,‘संविधान र संघीयता जसरी पनि कार्यान्वयन गर्ने या समावेशी समानुपातिकलाई कार्यान्वयन गर्नेतिर होइन् यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने योजना छ । राजनीतिक दलका शक्तिशालि नेताहरु नै समानुपातिकता या संघीयता मन पराउनुहुन्न । त्यसैले यसलाई कसरी कार्यान्वयन गराउने यो ठूलो चूनौती छ ।’

ओलीलाई सुमनाको प्रश्नः कुन नैतिक धरातलदेखि प्रधानमन्त्रीले अमेरिकाबाट नेपाल फर्क भन्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशमा रहेका नेपाली युवालाई ‘कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने हो’ भन्दै प्रश्न गरेकी छन् । सोमबार सामाजिक संजालमार्फत श्रेष्ठले हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले सम्बोधन लागेको भन्दै यस्तो प्रश्न गरेकी हुन् ।

उनले भनेकी छन्, ‘नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन शपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नु भएको छ। न्युयोर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है । अनि मेरोतर्फबाट एउटा प्रश्न पनि सोधिदिनु होला–नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलदेखि फर्क भन्ने हो ?’

नेपाली कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य मनोनित गरेका छन् ।

गोविन्दबहादुर शाह प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनित गरेका हुन् ।

मनोनित भएका सदस्यहरूमा प्रा.ई.महेश सिंह कठायत, (काठमाडौं), बासु कार्की (काठमाडौं), टेकबहादुर कुँवर (अछाम), लाक्पा शेर्पा (दोलखा), नरेन्द्र साह (पर्सा), अस्मिता लामा ‘खुशीमाया’ (लम्जुङ), तेज शाह (कञ्चनपुर), धनबहादुर गिरी (ओखलढुंगा), माधव पाण्डे (कालिकोट) र मोहन सुनार (दाङ) रहेका छन् ।

साफ च्याम्पियनसिप फुटबलमा नेपालद्वारा श्रीलंका पराजित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

यता दुवै खेलमा पराजित श्रीलङ्का अङ्कविहिन छ । श्रीलङ्का पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो । आज नेपालको जितमा सुजन डङ्गोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे । खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो । त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले गोल गर्दै आफनो टोलीको अग्रता दोब्बर बनाए ।

सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाए । नेपालले आफनो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ गते खेल्नेछ ।