`

दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त गर्न वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४० प्रतिशत खर्च गर्नुपर्ने अवस्था रहेकाले वित्तीय स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को सहअध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले बहुपक्षीय विकास साझेदार र विकसित मुलुकहरुले उपलब्ध गराउने भनिएको वित्तीय स्रोत परिचालनका लागि आग्रह गरे ।

‘दिगो विकासका लक्ष्य पूरा गर्न अल्प विकसित देशहरुलाई ठूलो स्रोतको आवश्यक पर्छ, अहिले मात्रै चार अर्ब ३० करोड अमेरिकी डलरको वित्तीय खाडल छ र यो निरन्तर बढिरहेको छ’, उनले भने ।

उनले कोभिड–१९ को दीर्घकालीन प्रभाव, बढ्दो द्वन्द्व र जलवायु परिवर्तनलगायतका सङ्कटले दिगो विकासतर्फको प्रगतिलाई गम्भीर रूपमा असर पारेको उल्लेख गरे । यसले विश्वमा गरिबी, भोकमरी र असमानता बढाइरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले विकासोन्मुख राष्ट्र, अल्पविकसित देश, साना टापुजस्ता विशेष अवस्थाका देशले विकसित देशको तुलनामा बढी जोखिम भोग्नु परिरहेको उल्लेख गर्दै अहिले प्राप्त नतिजा निराशाजनक रहेको बताए ।

असमान व्यापार प्रणाली, बाह्य ऋणको उच्च ब्याजदर र बढ्दो सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीको भारले विकासशील देशहरूको वित्तीय स्थायित्व र आर्थिक क्षेत्रलाई सङ्कुचित गरेको उनको भनाइ थियो ।

दशकौं अघि तयार पारिएको विश्व वित्तीय प्रणालीले गरिबी, जलवायु परिवर्तन र असमानताजस्ता वर्तमानमा देखिएका समस्यालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विश्वको वर्तमान आर्थिक प्रणालीले पछि परेका देशहरूको बढ्दो आवश्यकताहरू र विशेष चुनौतीहरूको सामना गर्न कठिन भइरहेको बताए ।

उनले अन्तर्राष्ट्रिय सहयोग कि त स्थिर रहेको वा घटिरहेको अवस्था उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

‘डिजिटल डिभाइड बढ्दो छ, अधिकांश देशलाई अर्थतन्त्रको रुपान्तरणका लागि डिजिटल प्रविधिको सदुपयोग गर्न सङ्घर्ष गर्नुपरिरहेको छ’, उनले भने, ‘यस सन्दर्भमा हाम्रो दृष्टिकोण, प्राथमिकता र हामीले गरिरहेका काममा हामी कहाँ चुक्यौ भन्ने प्रश्न उठेको छ ।’

विकाससम्बन्धी साझा आकाङ्क्षामा र बहुपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने प्रयासमा अपेक्षाकृत परिणाम प्राप्त नहुनुका व्यवहारिक कारण खोजिनुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

‘विश्वव्यापी सङ्कट र चुनौतीहरूको सामना गर्नका लागि बहुपक्षीय सहयोग तथा साझेदारीलाई कसरी थप सुदृढ पार्न सकिन्छ भनेर हामी यहाँ भेला भएका छौँ । हामीले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्राप्त गर्नका लागि सामूहिक प्रयास थाल्नुपर्छ’, प्रधानमन्त्रीले भने । यसका लागि वित्तीय खाडल प्रमुख चुनौती बनेको उनको भनाइ थियो ।

उनले विकास साझेदारहरूलाई विकासशील देशका लागि कुल राष्ट्रिय आम्दानी (जीएनआई) को शून्य दशमलव सात प्रतिशत र अतिकम विकसित मुलुकका लागि शून्य दशमलव दुई प्रतिशत रकम विकास सहायता परिचालनमा खर्च गर्ने प्रतिबद्धताका पूरा गर्नका लागि आह्वान समेत गरे ।

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि एकीकृत योजना (एसडीजी स्टिमुलस) लागू गर्न, अवैध वित्तीय कारोबार नियन्त्रण गर्न, आन्तरिक स्रोत परिचालनको क्षमता अभिवृद्धि गर्न, सार्वजनिक–निजी साझेदारीलाई सदुपयोग गर्न, समिश्रित वित्तपोषण (ब्लेन्डेड फाइनान्सिङ), हरित बन्ड, र अन्य दिगो वित्तीय उपकरणहरू जस्ता अन्य नवीन वित्तीय उपायहरूको प्रयोगका लागि पनि उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई समावेशी, पारदर्शी, र जवाफदेही बनाउन उनीहरुको संरचनामा सुधार आवश्यक रहेकोमा जोड दिए । “निर्णय प्रक्रियामा विकासशील देशहरूले आफ्नो बलियो आवाज र प्रतिनिधित्व पाउनुपर्छ । जसबाट विकासशील देशहरूको विशेष आवश्यकतालाई थप प्रभावकारी रूपमा पूर्ति गर्न र विश्वव्यापी सङ्कटहरूको सामना गर्न सघाउनेछ”, उनले भने ।

अल्पविकसित र विकासशील देशहरुका लागि सार्वजनिक ऋणसम्बन्धी व्यवस्थामा परिमार्जन गरी तत्काल राहतका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै उनले सार्वजनिक ऋण बढी भएका देशका लागि दीर्घकालीन ऋण पुनःसंरचना गर्ने र सार्वजनिक ऋणका क्षेत्रमा देखिएका समस्या समाधानका लागि निष्पक्ष र पारदर्शी संयन्त्र स्थापना गर्न आवश्यक रहेको उल्लेख गरे ।

‘प्रविधिका माध्यमबाट हामीले सामना गरिरहेका विविध चुनौतीहरूलाई सम्बोधन गर्न सकिन्छ । यसका लागि, डिजिटल डिभाइड कम गर्न र दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग बढाउन म आग्रह गर्दछु’, उनले भने ।

कम आय भएका देशहरूलाई भरपर्दो डिजिटल कनेक्टिभिटीमा पहुँच, बलियो डिजिटल पूर्वाधार, कनेक्टिभिटी लागत घटाउने, र विश्वव्यापी डिजिटल सञ्जालमा पहुँच प्रदान गर्न जोड दिनुपर्ने उनले उल्लेख गरे ।

‘संयुक्त राष्ट्र सङ्घ र विकास साझेदारले कम आय भएका देशहरूको प्रविधि हस्तान्तरण र क्षमता निर्माणमा थप प्रयास गर्नुपर्छ ताकि सबैको लागि डिजिटल भविष्य सुनिश्चित गर्न सकियोस्’, उनले भने ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसँग लड्ने प्रतिबद्धता पूरा गर्न स्मरण गराउँदै जलवायु अनुकूलन र न्यूनीकरण कोषहरू बढाउन आग्रह गरे । यसले जलवायु परिवर्तनको असमान प्रभावहरूलाई सम्बोधन गर्न मद्दत पुर्याउनेमा उनले विश्वास व्यक्त गरे ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा हुन्छ : खेलकुदमन्त्री चौधरी

राजविराज । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन हुने बताएका छन् ।

सप्तरीको राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा सोमबार जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा मन्त्री चौधरीले आवश्यक भौतिक पूर्वाधार निर्माणकै क्रममा रहेकाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता यसअघि घोषित मितिमा हुन नसक्ने बताए ।

‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरमा सञ्चालन गर्ने तय गरेका थियौँ, पूर्वाधार निर्माण गर्ने क्रम चलिरहेकाले प्रतियोगिता अब आगामी फागुनमा सञ्चालन गछौँ’, उनले भने।

उक्त प्रतियोगिताको तयारीमा जुट्न मन्त्री चौधरीले खेलाडीहरूलाई आग्रह गरे। कर्णाली प्रदेशमा मङ्सिर, पुस र माघ महिनामा अत्यधिक जाडो हुने भएकाले उक्त प्रतियोगिता फागुन महिनामा गर्ने मन्त्रालयले योजना बनाएको उनले स्पष्ट पारे ।

‘चिसोको समयमा बसोबासको समेत समस्या हुन्छ, यसलाई ध्यानमा राख्दै फागुनमा चिसो कम हुने भएकाले त्यही बेला राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौँ’, मन्त्री चौधरीले भने।

अहिलेकै अवस्थामा सो प्रतियोगिता गर्ने अवस्था नरहेको उनको भनाइ थियो । यस अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरमा आयोजना गर्ने घोषण गरेको थियो ।

सो अवसरमा मन्त्री चौधरीले जनताको चाहना अनुसार सरकारी कार्यालयमा काम काज गर्न कर्मचारीहरूलाई निर्देशन दिए।

नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन काउन्सिलले थाल्यो प्रक्रिया

काठमाडौँ । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इञ्जिनीयरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो । 

इञ्जिनीयरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने निकाय वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकसँग सोमबार प्रारम्भिक अन्तरक्रिया भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा भएको उक्त छलफलमा विभिन्न विश्वविद्यालयका पदाधिकारीले यो प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिए ।।

कार्यक्रममा मन्त्री दाहालले नेपाली इञ्जिनीयरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाका लागि आवश्यक नीतिगत तथा कानुनी प्रक्रियाका लागि मन्त्रालय तयार रहेको बताए ।

‘यो प्रक्रिया अघि बढाउन ढिला भएको छ’,उनले भने, ‘तर ढिलै भए पनि प्रक्रियाको थालनी भयो, सबै मिलेर यसलाई अवरुद्ध हुन नदिइ पूरा गर्नुपर्छ ।’

कार्यक्रममा वासिङ्टन एकडका अध्यक्ष काई साङ् लकले नेपालले थालेको प्रक्रिया पूरा हुनेमा विश्वास व्यक्त गरे । उनले इञ्जिनीयरिङ क्षेत्रमा अन्वेषण, अनुसन्धान तथा नवप्रवर्तनमा जोड दिनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय इञ्जिनीयरिङ अध्ययन संस्थानका प्राडा नरेन्द्रमान शाक्यले नेपालमा इञ्जिनीयरिङ शिक्षा तथा पेसागत अवस्थाका बारेमा आफ्नो प्रस्तुति राखेका थिए ।  एकडमा आवद्ध राष्ट्रहरुका इञ्जिनीयरहरुले सदस्य राष्ट्रमा समान हैसियत पाउने भएकाले यसबाट नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रियस्तरमा सम्मानजनक अवसर प्राप्त हुने सो अवसरमा जानकारी दिइयो । 

काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा यो प्रक्रियाको थालनी गरिएको बताए ।

यो प्रक्रिया पूरा हुन चारदेखि १० वर्षसम्म लाग्ने भए पनि प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरिङ क्षेत्रलाई आशावादी बनाएको उनले उल्लेख गरे । यो प्रक्रियाको थालनीले नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको अध्यक्ष शाहीको भनाइ छ ।

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् ।

उनले सोमबार नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्मित ४०० केभीको सबस्टेसन र विश्व बैङ्कको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० र १३२ केभी ढल्केबर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका हुन् ।

नेपालको सबैभन्दा ठूलो ढल्केवर सबस्टेसन ४०० केभीको ‘जिआइएस’ प्रविधिबाट निर्माण गरिएको छ । उक्त सबस्टेसनबाट बर्सातको समयमा नेपालबाट भारतमा विद्युत् निर्यात र हिँउदमा भारतबाट नेपालमा विद्युत् आयात गरिँदै आएको छ ।

निरीक्षणका क्रममा मन्त्री खड्काले ढल्केवरबाट हेटौँडा जोड्ने प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिए । उनले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक खपत बढाउनुपर्ने बताए ।

सङ्खुवासभामा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ढल्केवर सबस्टेसन हुँदै भारतको सीतामणी जोड्नका लागि प्रसारण लाइन निर्माणको काम भइरहेको छ ।

यस्तै, सोही सबस्टेसनबाट मकवानपुरको हेटौँडा र सुनसरीको इनरुवा सबस्टेसन जोड्नेगरी प्रसारण लाइन तथा सबस्टेसन निर्माणको काम भइरहेको ढल्केवर ग्रिड महाशाखा प्रमुख विनोद लोहनीले जानकारी दिए ।

श्रीलंकाका लागि प्रस्तावित राजदूतले शैक्षिक प्रमाणपत्र नबुझाएपछि सुनुवाइ समितिको बैठक लगातार स्थगित

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन वा अस्वीकृत गर्ने भन्नेबारे सोमबार पनि निर्णय लिन सकेन ।

समितिको सोमबारको बैठकमा नाम अनुमोदन वा अस्वीकृत गर्न आवश्यकपर्ने उपस्थित सदस्य सङ्ख्या अपुग भएकाकारण बैठक निष्कर्षविहीन हुन पुग्यो । समितिका सदस्य श्यामकुमार घिमिरेले प्रस्तावित राजदूतको नाम स्वीकृत वा अस्वीकृत गर्न बैठकमा दुई तिहाइ अर्थात १० जना सदस्य आवश्यकपर्नेमा त्यो नभएपछि बैठक निर्णयमा नपुगी स्थगित भएको जानकारी दिए ।

उनले भने, ‘पन्ध्र सदस्सीय समितिमा आठ जना मात्र उपस्थित हुनुभयो । प्रस्तावबारे निर्णयमा पुग्न कम्तीमा १० जना सदस्य आवश्यक पर्छ, त्यो नभएपछि मङ्गलबार बस्ने बैठकबाट निर्णय लिने सहमति भएको छ ।’

प्रस्तावित राजदूत भट्टराईका विषयमा निर्णयमा पुग्नु अघि समितिले उनीसँग स्नातक तहको शैक्षिक योग्यताको माग गरेको थियो ।

उनको स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नआइपुगेका कारण समितिको अघिल्लो बैठक पनि निर्णयमा पुग्न सकेको थिएन । हालसम्म उक्त पत्र परराष्ट्र मन्त्रालयमै उपलब्ध नभएको बताइएको छ ।

समितिको मङ्गलबारको बैठक अघिसम्म पनि प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र उपलब्ध गराएमा अनुमोदन हुने अन्यथा नाम स्वीकृत गर्न नमिल्ने सदस्य घिमिरेले स्पष्ट गरे ।

समितिले यही असोज ३ गते उहाँका सम्बन्धमा आवश्यक काजजात परराष्ट्रमन्त्रालयसँग माग गरेकामा उपलब्ध नगराएको विषय सभापति इश्वरी न्यौपानेले बैठकको प्रारम्भमै समितिलाई जानकारी गराएकी थिइन् ।

बैठकको प्रारम्भमै सभापति न्यौपानेले प्रस्तावित राजदूतको उपयोगिता वा अनुपयोगिताबारे समितिको राय सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था रहेकाले सदस्यहरुको राय माग गरिन् ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाले न्यूनतम स्नातक तहको शैक्षिक योग्यताकारुपमा तय गरेको छ । सरकारले विभिन्न १७ मुलुकका लागि राजदूतको नाम सिफारिस गरी संसदीय समितिमा पठाएकामा १६ जनाको नाम यसअघि नै समितिले अनुमोदन गरिसकेको छ ।

१५ औं इक्यान शैक्षिक मेला असोज १३ गते

काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा यही असोज १३ गते काठमाडौँको एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना हुने भएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

“नेपाली विद्यार्थीहरूलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली, प्राप्त योग्यताको भावी सम्भावना र असरबारे पर्याप्त सूचना प्रवाह, शैक्षिक संस्थामा प्राप्त हुनसक्ने छात्रवृत्ति, सुविधा तथा जानकारी एवम् परामर्श सेवा प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो”, उनले भने ।

अध्यक्ष भट्टराईले विद्यार्थीको उच्च शिक्षाको सपना साकार गर्न शैक्षिक मेला महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे । मेलामा विद्यार्थीले विशेष गरी विश्वका विभिन्न शिक्षण संस्था, तिनका शैक्षिक प्रणाली, पाठ्यक्रम, भर्ना प्रक्रियालगायतका विषयमा जानकारी प्राप्त गर्नेछन् । साथै विभिन्न देशका प्रतिनिधिहरूसँग पनि साक्षात्कार गर्न पाइने इक्यानले जनाएको छ ।

विद्यार्थी, अभिभावक तथा सरोकार भएकाहरू गरी १५ हजारभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । “मेला अन्तर्राष्ट्रिय मापदण्डअनुरूप तयार पारिएका शिक्षण सामग्री र परामर्श प्रदान गरेर नेपाली विद्यार्थीको ज्ञान, सीप र बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि गर्ने अवसर बन्नेछ”, अध्यक्ष भट्टराईले भने ।

इक्यान उपाध्यक्ष तथा मेला संयोजक गीता सिवाकोटीले कोरोना महामारीपछि पहिलो पटक भौतिक रूपमा आयोजना हुन लागेको मेलाले विद्यार्थी र अभिभावकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिइएको बताए ।

जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

गण्डकी । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी तथा गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार पक्राउ परेका जोशीलाई सोमबार दिउँसो जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडियका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

दुई वर्षपछि ‘डब्लुटिएम’ मा सहभागी हुदैँ पर्यटन बोर्ड

काठमाडौँ । नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता हुने भएको छ । आगामी कात्तिक २० देखि २२ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने मेलामा सहभागिता जनाउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण मञ्चका रूपमा लिइने यस मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तव्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जिम्मेवारी सम्हालेसँगै डब्लुटिएम, आइटीबीलगायत महत्वपूर्ण पर्यटन मेलामा बोर्डको सहभागिता सुनिश्चित गर्न पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेको थियो । सोही प्रतिबद्धतानुसार अन्तर्राष्ट्रिय बजारीकरण नेपालको पर्यटन प्रवर्द्धनका लागि डब्लूटिएममा सहभागिता जनाउने निर्णय भएको जोशीले बताए ।

“बोर्डले डब्लूटिएममा सहभागिता जनाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि ढोका खुलेको छ । अन्तर्राष्ट्रिय मेला, सेल्स मिसनलगायत अन्तर्राष्ट्रिय फोरममा बोर्डको प्रभावकारी उपस्थिति रहन्छ”, कार्यकारी प्रमुख जोशीले भने ।

अघिल्ला दुई वर्ष बोर्डले डब्लुटिएम, आइटिबीजस्ता अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउन सकेको थिएन । नेपालको पर्यटन प्रवर्द्धनका निम्ति बोर्ड स्थापनाभएदेखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुँदै आएको छ ।

हरेक वर्ष नोभेम्बर (कात्तिक) मा आयोजना हुने यो मेलालाई विश्वको दोस्रो ठूलो पर्यटन मेला मानिन्छ । यस्तै प्रत्येक वर्ष मार्च (फागुन) मा जर्मनीको बर्लिनमा आयोजना हुने ‘इन्टरनेश्नल ट्राभल टुरिजम बर्लिन आइटिबी’ मेलालाई विश्वकै पहिलो पर्यटन मेला मानिन्छ ।

बोर्डले आइतबार सूचना प्रकाशित गरी इच्छुक कम्पनीलाई डब्लुटीएममा सहभागिताका लागि अनुरोध गरेको छ । कम्तीमा ३० कम्पनीलाई त्यहाँ सहभागी गराइने बोर्डको योजना छ ।

नेपालले विगत ४० वर्षदेखि डब्लुटिएममा सहभागिता जनाउँदै आएको छ । पच्चिस वर्षअघि बोर्ड स्थापना भएकामा त्यसअघि पर्यटन विभागमार्फत नेपालले यस्ता मेलामा सहभागिता जनाउने गरेको थियो । मेलाबाट व्यावसायिक सम्भावनाका नयाँ आयामबारे सम्पर्क विस्तार गर्ने अवसर मिल्ने दाबी गरिएको छ ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ मा बोर्डको प्रमुख काममा अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उल्लेख छ । “अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई एक आकर्षक पर्यटनस्थलका रूपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड स्थापना गरिएको हो”, ऐनमा भनिएको छ ।

सार्वजनिक निजी साझेदारी मोडलमा स्थापित बोर्डको करिब दुई अर्ब वार्षिक बजेटमध्ये झण्डै ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय बजारीकरणमा खर्चनुपर्ने हुन्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम तथा मेला महोत्सवमा नेपालले भाग लिएन । बोर्डको विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि २०७८ पारित नहुँदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन नसकिएको बोर्डले जनाएको थियो । डब्लुटिएममा नेपालको पहिचान र पर्यटन प्रवर्द्धनका लागि विभिन्न सामग्रीको स्टल राखिने जनाइएको छ ।

अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालयमा बिदा

महोत्तरी । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ ।

जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण आजदेखि छ दिन विद्यालय बिदा दिने सूचना गरेको हो । महोत्तरीमा असोज सङ्क्रान्तियता ४५ डिग्री सेल्सियस तापक्रम रहँदै आएको छ ।

घामको प्रचण्ड राप बढेर कलिला उमेरका बालबालिकालाई विद्यालय आउजाउमा निकै समस्या बढेपछि उनीहरूको स्वास्थ्यलाई ध्यान दिँदै छ दिन बिदाको निर्णय गरिएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए।

यसअघि गत जेठमा पनि मनराशिशवासहितका जिल्लाका सबै स्थानीय तहले गर्मी छल्न सात दिन बिदा दिएका थिए ।

मनराशिशवा नगर कार्यालयले गर्मी छल्न बिदा दिएपछि जिल्लाका अन्य स्थानीय तहले पनि बिदा दिने तयारी गरेका छन् । जिल्लामा असोज लागेपछि बढेको प्रचण्ड रापले सरकारी कार्यालयमा काम विशेषले पुग्ने सेवाग्राही निकै घटेका छन् ।

यसैगरी हाटबजार, यातायात र व्यापारिक प्रतिष्ठानमा पनि चहलपहल घटेको छ ।

महिला लिगमा कोशी र चन्द्रपुर बराबरीमा

काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले चन्द्रपुर नगरपालिकासँग बराबरी खेलेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा कोशीले चन्द्रपुरसंग १–१ गोलको बराबरी खेलेको हो । खेलमा पहिलो गोल चन्द्रपुरले गरेको थियो ।

चन्द्रपुरका लागि खेलको ५१ औं मिनेटमा सुनिता कुँवरले गोल गरेकी थिइन् , तर खेलको ८० औं मिनेटमा कोशीका तर्फबाट ममता राउतले गोल गर्दै बराबरीको अवस्थामा ल्याएकी थिइन् । त्यसपछि भने दुवै टोलीले कुनै गोल गर्न सकेन ।

बराबरीसँगै कोशी ८ खेलमा ११ अंकका साथ पाँचौ स्थानमा कायमै छ भने समान खेल खेलेको चन्द्रपुर ८ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ ।

नेप्सेमा ५९ अङ्कको गिरावट

काठमाडौं । सोमबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । आइतबार ११ अङ्कले बढेको नेप्से सोमबार ५९ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड र इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

बजार उच्च अङ्कले ओरालो लागेको दिन हिमालयन हाइड्रोपावर कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आज तीन सय २९ वटा कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २१ करोड रुपैयाँको शेयर किनबेच भयो ।

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

डा. विष्णुराज उप्रेती
संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन चार्टरमार्फत दोस्रो विश्व युद्धपछि विश्वमा शान्तिसुरक्षा कायम गर्ने र आर्थिक, सामाजिक र मानवीय समस्यामा सहयोग र सहकार्य गर्ने उद्देश्यबाट भएको हो । विश्वका १९३ देश सदस्य रहेको यो संस्थाको सबैभन्दा शक्तिशाली संरचना चाहिँ सुरक्षा परिषद् हो, जसले विश्व शान्ति सेनाको परिचालनलगायत सबै महत्वपूर्ण राजनीतिक निर्णयहरु गर्दछ । युएनका शान्तिसम्बन्धी अरू संरचनाहरुमा शान्ति सेना परिचालन, महासभा, महासचिवको कार्यालय, मानवअधिकार परिषद्, अन्तर्राष्ट्रिय अदालतहरु छन्भने यसले मानवीय सहायता, निःशस्त्रीकरण, शरणार्थीलगायतका सवालहरुमा पनि काम गरेको छ । यो संस्थाले शान्ति प्रवद्र्धनका लागि विभिन्न दिवस पनि घोषणा गरेको छ । तीमध्यको एक हो, सन् १९८१ देखि हरेक वर्ष सेप्टेम्बर २१ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय शान्ति दिवस ।


यो संस्थाले शान्ति प्रवद्र्धनका लागि विभिन्न कोशिस गर्दागर्दै पनि अपेक्षित परिणाम भने हासिल गर्न सकेको छैन । यसको उदाहरणमा अहिले पनि ३२ वटा देशमा सकृय युद्धहरु चलिरहेका छन् र यसका २४ वटा मिसन पनि सकृय रहेका छन् (तीमध्य ११ वटा मिसनमा नेपालले कुल छ अजार एक सय ४१ जना पठाई सबैभन्दा बढी योगदान गर्ने देश भएको छ) । यो संस्था अति भद्धा, केन्द्रिकृत र शक्ति राष्ट्रहरुको नियन्त्रणमा भएको कारणले नै प्रभावकारी हुन नसकेको हो । यो संस्थालाई प्रभावकारी बनाउने हो भने सुरक्षा परिषद्को आमूल परिवर्तनसहित समग्र पुनःसंरचना गर्न आवश्यक छ ।

शान्तिको अवधारणा
शान्तिको अवधारणा व्यापक छ । रक्तपातपूर्ण युद्ध चलिरहेको देशहरु (युक्रेन, रसिया, इजरायल–प्यालेस्टाइन, इजरायल–लेबनान (हजबुल्लाह) मा हिंसात्मक युद्ध रोकिनु नै शान्तिको आधार मानिन्छ भने तनाब र द्वन्द्व रहेका देशहरु (म्यानमार, इथोपिया, सहेल, हैटी, अर्मेनिया–अजरबैजान आदि) मा तनाव र द्वन्द्वको अन्त्य नै शान्तिको सुरुआत मात्र भन्न सकिन्छ । तर यो नै शान्तिको पूर्ण अवस्था भने होइन । नर्वे, आइसल्यान्ड, स्विडेन वा अरू कुनै हिंसात्मक गतिविधि नभएका शान्त देखिने देशहरुमा अशान्ति छैन भन्ने होइन । त्यहाँका मानिसमा पनि अशान्ति छ । त्यसैले शान्ति भनेको द्वन्द्व वा युद्धको स्थगन हुनु मात्र होइन । हामीले शान्तिको परिभाषा गर्दा परिस्थिति र परिवेश सापेक्ष गर्नुपर्ने हुन्छ । सारमा शान्तिको सरल परिभाषमा शान्ति भनेको मानिसको मन मस्तिष्कबाट सिर्जित मनोभावनात्मक अवस्था हो, जहाँ उसले कुनै अस्थिरता, असुरक्षा, त्रासको अनुभूति गर्दैन अर्थात् सुरक्षित महसुस गर्दछ । यसै आलोकमा विश्व शान्तिलाई हेर्न उपयुक्त हुन्छ ।


विश्व शान्तिका चुनौतीहरु
अहिले विश्व नितान्त नयाँ खाले र निकै जटिल देखिएका चुनौतीबाट गुज्रिरहेको छ । दोस्रो विश्व युद्धपछि सुरु भएका स्थापित मान्यता र अभ्यासहरु जस्तै लोकतान्त्रिक प्रक्रिया, व्यापारमुखी खुला अर्थतन्त्र, मानवअधिकार, कानुनको शासन पनि जटिल अवस्थाबाट गुज्रिरहेका छन् । यिनीहरुको आधारभूत मान्यतामै प्रश्नचिह्न खडा भएका छन् । यी मान्यताहरुको नयाँ र भिन्न चिन्तनबाट व्याख्या र अभ्यास हुन लागिरहेको छ भने थुप्रै नयाँ र विश्वले अघिल्लो शताब्दीमा अनुमानसमेत नगरेका चुनौतीहरु देखापरिरहेका छन् । केही यस्ता चुनौतीहरुका प्रारम्भिक सङ्केतहरु नै कहालिलाग्दो देखिँदैछन् भने कतिपय सवाल त शासक–प्रशासक, आमनागरिक र राजनीतिहरुका परिकल्पनाभन्दा बाहिरका र केवल चिन्तक र दार्शनिकको तहमा रहेका तर उनीहरुको भनाइ सुन्दैमा भयावह लाग्ने खालका छन् । यिनै चुनौतीहरु र यसले पार्नसक्ने प्रभावबारे यहाँ केही चर्चा गरिन्छ ।


लोकतन्त्र र कानुनी शासनमा चुनौती
विश्व चर्चित व्यक्तिहरु अब्राहम लिङ्कन, महात्मा गान्धी, नेल्सन मण्डेलादेखि दार्शनिक विश्वविद्यालयका प्राध्यापक, राजनीतिशास्त्रका विद्यार्थी, राजनीति शास्त्रीहरुले उठाएका, अभ्यास गरेका वा पैरबी गरेका लोकतान्त्रिक मान्यता र अभ्यास जस्तै मानवअधिकार र कानुनी शासन, न्यायपूर्ण शासनहरु लोकतन्त्रको उत्कृष्ट अभ्यास गरेका भनिएका युरोपका देशहरुमा पूर्ण दक्षिणपन्थी पार्टीहरु जस्तैः डेनमार्कको डेनिस पिपुल्स पार्टी, जर्मनीको अल्टरसेटिभ फर जर्मनी, नेदरल्यान्ड फ्रिडम पार्टी, फ्रान्सको नेसनल फ्रन्ट, स्विजरल्यान्डको स्विस पिपुल्स पार्टी, इटालीको नर्दन लिग, फिनल्यान्डको द फिन्स, स्विडेनको डेमोक्र्याट, अष्ट्रियाको फ्रिडम पार्टी, स्लोभाकियाको आवर स्लोभाकिया, हङ्गेरीको जोबिक, ग्रिसको गोल्डेन डावनको प्रभाव बढ्दै गइरहेकाले अब विश्व पहिले स्थापित मान्यताबाट निकै टाढिँदै गएको देखिँदैछ । पहिला विकासोन्मुख देशमा उग्रदक्षिणपन्थी शासकहरु आए, तानासाही शासन बढ्यो भनेर आलोचना गर्ने देशहरुमै दक्षिणपन्थी तानासाही मान्यतालाई प्राथमिकता दिने पार्टीहरुलाई जनताले मत दिई स्थापित गराउनुले पनि अब पहिलेका स्थापित लोकतान्त्रिक मान्यतामाथि चुनौती थपिएको देखाउँछ ।


ऊर्जा र वातावरणीय सुरक्षाको सवाल
शक्ति राष्ट्रहरुले अत्यन्त संवेदनहीन तरिकाले नवीकरण नहुने ऊर्जाहरु जस्तैः पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, कोइला र अति जोखिमयुक्त आणविक शक्तिको विस्तार र प्रयोग गर्दा यसबाट सिर्जना भएको वातावरणीय असुरक्षाको र जलवायुसँग सम्बन्धित सङ्कट सिर्जना भइरहेको छ । शक्ति राष्ट्रहरुले कमजोर राष्ट्रलाई वातावरण संरक्षण र जलवायु परिवर्तन जोखिमसम्बन्धी पण्डित्याईं छाँट्ने र सहयोगमा सर्त राख्ने गरे पनि उनीहरुले आफूले खपत गरेको ऊर्जाका कारण सिर्जना भएको जलवायु परिवर्तन र वातावरणीय असुरक्षाबारे स्वीकार्न तयार छैनन् । सन् २०१६ मा गरिएको अध्ययनमा विश्वमा खपत हुने ऊर्जामध्ये ८० प्रतिशत गैरनवीकरणीय ऊर्जाबाट प्राप्त हुने र यो नै वातावरणीय असुरक्षाको प्रमुख कारक भएको देखाएको छ । सन् २०१७ को तथ्याङ्कअनुरुप विश्व जनसङ्ख्याको ४.२९ प्रतिशत भएको अमेरिकाले विश्व ऊर्जाको १७ प्रतिशत खपत गर्दछ ।


विश्वमा सबैभन्दा धेरै ऊर्जा खपत गर्ने देशहरुमा चीन, अमेरिका, भारत, रुस, जापान, दक्षिण कोरिया, जर्मनी, क्यानडा र इरान छन् र यिनीहरु नै विश्वमा जलवायु परिवर्तन र वातावरणीय असुरक्षाका लागि जिम्मेवार पनि उनीहर नै छन् तर उनीहरु यो यथार्थ स्वीकार्न तयार देखिँदैन । नेदरल्यान्डको सरकारी वातावरणीय मूल्याङ्कन संस्थाको सन् २०१२ को अनुसार २८ देखि ३० नोभेम्बर २०१७ मा जलवायु परिवर्तनका कारक सिर्जना भएको भविष्यमा हुन सक्ने असुरक्षाबारे छलफल गर्न विश्वभरबाट नेदरल्यान्डको हेगमा भेला भएका अनुसन्धानकर्ता, प्राध्यापक, सुरक्षाविद् र नीति निर्माताहरुको निचोड के थियो भने अहिले जसरी नै विश्वका शक्ति राष्ट्रहरुले प्राकृतिक स्रोतको दोहन र वातावरणीय पक्षलाई बेवास्ता गर्ने हो भने मानव अस्तित्व सङ्कट पर्ने खतरा ज्यादै छ ।


कार्बन (सिओ–२) उत्सर्जन गरी जलवायु परिवर्तनमा सबैभन्दा बढी योगदान दिने प्रमुख १० देशमा चीन, अमेरिका, भारत, रुस, जापान, जर्मनी, दक्षिण कोरिया, क्यानडा, ईन्डोनेसिया र साउदी अरयिबा पर्दछन् । तर वातावरणीय असुरक्षा र जलवायु परिवर्तनको मार भने कमजोर राष्ट्रहरले खेपन परिरहेको छ । यी देशका शासकहरुले अझ पनि उनीहरुको केवल आर्थिक विकास केन्द्रित गलत रबैयाका कारण सिर्जित कार्बनडाइअक्साइड उत्सर्जनको मार संसारले भोग्नु परेको यथार्थ आत्मसात् गर्न सकेका छैनन् र यही रबैया कायम रहेमा विश्वमा अशान्ति मात्र हैन मानव अस्तित्व नै सङ्कटमा पर्नसक्ने अवस्था नकार्न सकिँदैन ।


अस्थिरता र द्वन्द्व
विश्वका शक्ति राष्ट्रहरुले विपन्न राष्ट्रमा रहेको अपार प्राकृतिक स्रोत (हिरा, युरेनियम, सुन, तेल र प्राकृतिक ग्यास, पानी, आदि) प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कब्जा गर्न, आफ्नो रणनीतिक, सैनिक र राजनीतिक स्वार्थ पूरा गर्न वा वैचारिक आधारमा कमजोर राष्ट्रहरु माथि सिधै वा अन्य माध्यमबाट आन्तरिक मामलामा हस्तक्षेप गर्ने, सरकार अदलबदल गर्ने, हतियार बिक्री गर्ने वातावरण तयार गर्नेजस्ता कारणले द्वन्द्व सिर्जना गराइएका छन् । यस्ता द्वन्द्वहरुलाई सम्बन्धित देशभित्र रहेका गरिबी, बेरोजगारी, अशिक्षा, प्रदूषण, कुशासन, भोकमरीजस्ता संरचनागत कारण थप जटिल बनाइदिएका छन् र यिनै कारणहरु सम्बोधन गर्न भनी फेरि शक्ति राष्ट्रहरु नै विकास सहायताका नाममा आई स्थिति थप जटिल बनाएको यथार्थ संसारभर स्थापित छ ।


साथै अहिले भनिने आतङ्कवादको आधारभूत कारण खोज्दै जाने हो भने यसमा महत्वपूर्ण भूमिका शक्ति राष्ट्रहरुकै रहेको देखिन्छ । यसमा अतिवादी शक्तिहरु विगत वा वर्तमानमा कुनै न कुनै शक्ति राष्ट्रका रणनीतिसँग जोडिएको वास्तविकता पुष्टि भइसकेका छन् (यसको पछिल्लो उदाहरण अलकायदाका तत्कालीन नेता ओसामा बिन लादेन नै हुन् । यतिसम्मकी ख्यातिप्राप्त विद्वान नोम चोमस्की, इडवार्ड हर्मन्स्, रुथ वेकर्ली, फेडरिक गोरेउले त अमेरिका नै विश्वमा आतङ्कवाद उत्पादन गर्ने प्रमुख देशमध्ये भएकोबारे थुप्रै लेख र पुस्तक नै लेखेका छन् । अहिले पनि अफ्रिकाका ३० देशमा २७० लडाकु समूह द्वन्द्वमा सक्रिय छन्भने एसियाका १६ देशमा १८२ लडाकु समूह, युरोपका १० देशमा ८२ लडाकु समूह, मध्यपूर्वका सात वटा देशमा २६१ लडाकु समूह, अमेरिकी महादेशका सात देशमा ३० लडाकु समूह गरी कुल ७० देशमा ८२५ वटा सक्रिय द्वन्द्व चलिरहेका छन् यी द्वन्द्वहरुको सूक्ष्म विश्लेषण गर्दा शक्ति राष्ट्रहरुको स्वार्थ र प्रभाव व्यापक रहेको पाइन्छ ।


भूमण्डलीकरण
शक्ति राष्ट्रहरुको आर्थिक स्वार्थ संरक्षण र प्रवद्र्धनका लागि प्रविधि विकास, कानुनी, संरचनागत र विषयगत रुपमा मजबुत बनाउँदै लगिएको भूमण्डलीकरणकै कारण रैथाने बीउबिजन, ज्ञान–सीप ध्वस्त भइरहेको, अपार जैविक र आनुवंशिक विविधता बौद्धिक सम्पत्तिमाथिको अधिकारका नाममा वा नयाँ प्रविधिको प्रयोगबाट स्थानीय मानिसको नियन्त्रण र पहँुच निषेधित हुँदै गइरहेको छभने विश्व ब्यापार सङ्गठनका थरीथरीका प्रावधानबाट गरिब देशका नागरिक चटपटाउनै नसकिने गरी बेरिएका मात्र छैनन्, गरिबी, कुपोषण र भोकमरीबाट समेत आक्रान्त छन् ।


खासगरी शक्ति राष्ट्रका बहुराष्ट्रिय कम्पनीहरुले गरिबी र भोकमरी बढाउन, धनी र गरिबबीच दूर बढाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् । उदाहरणका लागि, सन् २००७ को तथ्याङ्कमै विश्वको बीउ बजारको ४२ प्रतिशत अमेरिकाका तीनवटा कम्पनी पूर्व–मोन्सान्टो, डुपोक्ट ल्यान्ड व लेक्सले बीउ नियन्त्रण गरेका छन्भने ६७ प्रतिशत विश्वको बीउ बजार विश्वका १० वटा ठूला कम्पनीले नियन्त्रण गरेका छन् ।


निष्कर्ष 
अहिले विश्वमा जति पनि अशान्तिहरु देखिएका छन् । तिनका प्रमुख कारक भनेको शक्ति राष्ट्रहरु नै हुन् । यिनै शक्ति राष्ट्रहरुकै कारण अब विश्वले नयाँ नयाँ सङ्कटहरु भोग्न परिरहेको छ । तर यी सङ्कट समाधान गर्न भने शक्ति राष्ट्रहरुले खासै चासो देखाएको देखिँदैन । न त संयुक्त राष्ट्रसङ्घ नै प्रभावकारी हुन सकेको छ । विश्वमा अहिले देखिएका जटिलता र सङ्कटहरुको सामना गर्न शक्ति राष्ट्रहरु गम्भीर भई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को पुनःसंरचना गर्नै पर्दछ । नत्र भने शक्ति राष्ट्रहरुले सिर्जना गरेका जटिलता र सङ्कटहरुले विपन्न देशहरुमा अकल्पनीय नोक्सान पु¥याउने र संयुक्त राष्ट्रसङ्घ पनि विफल हुनेछ ।

(लेखक द्वन्द्व विशेषज्ञ हुनुहुन्छ)

संसदीय समितिले गर्‍यो नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण

भक्तपुर । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले सोमबार भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गाको अनुगमन निरीक्षण गरेको छ ।

सभापति थापासहित समितिका सदस्य एवं सांसद देवेन्द्र पौडेल, उर्मिला थेबे, रामप्रकाश चौधरी, लीलादेवी बोखिम, विनिताकुमारी सिंह, ज्ञानुदेवी सुवेदी, समिति सचिव दशरथ धमला, उपसचिव पुष्पप्रकाश खनाल र शाखा अधिकृत यमुना सुवेदीको टोलीले त्यहाँस्थित ट्रष्टको जग्गासहित हनुमन्ते करिडोर, भक्तपुर पालिकाद्वारा सञ्चालित कलेज र ख्वप अस्पतालको निरीक्षण गरेको हो ।

त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टोलीलाई नेपाल ट्रष्टको जग्गाबारे जानकारी गराउँदै उक्त जग्गा ख्वप विश्व विद्यालयका लागि दिन माग गरे ।

निरीक्षणपछि भक्तपुर नगरपालिकामा आयोजित छलफल कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गर्न र नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीस्थित जग्गा विश्व विद्यालय सञ्चालनका लागि प्रदान गर्न माग गरे ।

छलफलमा पूर्वशिक्षामन्त्री एवं सांसद देवेन्द्र पौडेलले भक्तपुर नगरपालिकाले शिक्षामा गरेको कार्य अनुकरणीय रहेको र यसबाट देशका ७५३ वटै स्थानीय तहले सिक्नु पर्ने आवश्यकता औँल्याए ।

टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको स्थलगत अवलोकन गरे।

उनीहरूले भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालय, वडा नं १ स्थित शिशुस्याहार केन्द्र, भाज्या पुखु र सिद्धपोखरीको समेत अवलोकन गरेका थिए ।

देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण गर्न राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार भएको समारोहमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

“हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान, परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो”, उनले भने ।

राष्ट्रपति पौडेलले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताए । ‘भाषा मानिसका चाहना, भावना, विचारको विनिमय गर्ने सशक्त माध्यम हो, साहित्य भाषाको सबैभन्दा सुन्दर एवं कलात्मक अभिव्यक्ति हो, यसले भाषालाई श्रुतिमधुर बनाउने काम त गर्छ नै, भाषालाई युगौँ युगसम्म जीवित राख्ने काम पनि गर्छ’, उनको भनाइ थियो ।

मानिसका ज्ञान, अनुभव, अनुभूति, विचारलाई संरक्षण, सम्प्रेषण र सञ्चारमा साहित्यको अहम् भूमिका रहेकाले यो महत्वलाई कायम राख्न नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो देशको महत्वपूर्ण प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने राष्ट्रपति पौडेलले उल्लेख गरे ।

नेपालमा बोलिने जुनसुकै मातृभाषाका कविताले पनि महोत्समा सहभागिता जनाउन सकिने व्यवस्था गरी महोत्सवलाई अझ सहभागितामूलक बनाइएको र यसबाट कविको सहभागितामा उल्लेख्य रूपमा बढोत्तरी भएको थाहा पाउँदा खुसी लागेको उनको भनाइ थियो ।

‘मलाई आशा छ, आगामी वर्षमा नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुनेछन् र राष्ट्रिय कविता महोत्सव नेपाली कविताको विकासका लागि कोशेढुङ्गा सावित हुनेछ’, राष्ट्रपति पौडेलले भने । त्यस अवसरमा उनले विजयी कविलाई पुरस्कार प्रदान गरे । 

इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह

बेइजिङ । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बीचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल छोड्न आग्रह गरेको छ ।

हाल, इजरायल–लेबनान सीमामा अत्यन्त तनावपूर्ण स्थिति रहेको तथा बारम्बार बढ्दो सैन्य द्वन्द्वको सम्भावना देखाउँदै इजरायलस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई सुरक्षाको लागि स्थानान्तरणको निर्देशन दिएको हो ।

नागरिकहरूलाई इजरायल छोडी स्वदेश तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न आह्वान गर्दै जारी गरिएको विज्ञप्तिमा इजरायलको सुरक्षा अवस्था गम्भीर भएको उल्लेख गरिएको छ ।

यसैबीच, इजरायल र हेजबुल्लाहले आइतबार दुवै पक्षलाई पूर्ण युद्धबाट पछि हट्न अन्तर्राष्ट्रिय आह्वानको बाबजुद सीमापार आक्रमण बढाउने धम्की दिएका छन् ।

दक्षिणी बेरुतको सघन जनसङ्ख्या भएको हेजबुल्लाहको गढमा शुक्रबार इजरायली हवाई आक्रमणमा हेजबुल्लाहको कुलीन रादवान फोर्सका प्रमुख इब्राहिम अकील मारिएका थिए ।

श्रीलङ्कामा हत्या गरिएका सम्पादकका परिवारद्वारा नयाँ राष्ट्रपतिसँग न्यायका लागि अपील

कोलम्बो । श्रीलङ्काकी पत्रकार लासन्था विक्रमातुङ्गेका परिवारले अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको श्रीलङ्काको हत्याको छानबिन पुनः सुरु गर्न सोमबार नयाँ राष्ट्रपतिसमक्ष अपील गरेका छन् ।

सन् २००९ को जनवरीमा सत्तामा रहेका राजपाक्ष परिवारसँग सम्बन्धित सैन्य गुप्तचर एकाइका सदस्यका रूपमा प्रहरीले पहिचान गरेका आक्रमणकारीहरूले संस्थापनविरोधी सम्पादकको हत्या गरेका थिए।

विक्रमातुङ्गेकी छोरी अहिंसाले देशको पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाको शनिबार भएको निर्वाचनले परिवारमा न्यायको ‘नयाँ आशा’ जगाएको बताइन् ।

उनले भनिन्, “यो नेतृत्वले श्रीलङ्काको पछिल्लो मानव अधिकार इतिहासमा भएका ज्यादतीलाई सम्बोधन गर्न नयाँ दृष्टिकोण ल्याउनेछ भन्नेमा हामी आशावादी छौं ।”

विक्रमामातुङ्गेले तत्कालीन रक्षा मन्त्री गोटबाया राजापाक्षले युक्रेनबाट सेकेन्ड ह्यान्ड मिग जेट लडाकु विमान खरिदलगायत हातहतियार खरिदमा व्यापक भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।

उनको परिवारले राजपाक्षलाई हत्याका लागि जिम्मेवार ठहर गर्दै क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरेको थियो तर सन् २०१९ नोभेम्बरमा उनी राष्ट्रपति बनेपछि मुद्दा स्थगित भएको थियो ।

श्रीलङ्कामा महिनौंसम्म खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीको अभाव भएपछि आन्दोलित समूहले सन् २०२२ को जुलाईमा राजपाक्षको निवासमो आक्रमण गरेपछि उनी विदेश पलायन हुनुपरेको थियो ।

राजपाक्षका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले राजपाक्षेको शासनकालमा भएका एक दर्जनभन्दा बढी पत्रकार र सञ्चारकर्मीको हत्याको पुनः अनुसन्धान सुरु गरेका छन् ।

तत्कालीन प्रशासनका प्रमुख आलोचक विक्रमातुङ्गेलाई गोटबाया राजापाक्षेसँग जोडिएको भ्रष्टाचारको मुद्दामा बयान दिनुभन्दा केही दिनअघि छुरा प्रहार गरिएको थियो ।

गोटबायाका दाजु महिन्दा राजापाक्षेको शासनकालमा श्रीलङ्कामा भएको मानवअधिकार उल्लङ्घनको घटनालाई पुष्टि गर्ने विक्रमातुङ्गेको हत्या पनि एउटा बलियो प्रमाण हो ।

विक्रमातुङ्गेको हत्यालगायतका घटनाले श्रीलङ्कालाई मानव अधिकार उल्लङ्घन र दण्डहीनताको संस्कृति बोकेको मुलुकको प्रतीकको रूपमा समेत हेरिने गरिएको छ। यो मुद्दा संयुक्त राष्ट्र संघीय अधिकार निकाय र अन्य सङ्गठनले बारम्बार उठाएका छन्।

श्रीलङ्कामा गृहयुद्धका क्रममा पत्रकार र राजनीतिक विद्रोहीको हत्यामा संलग्न रहेको गोटबाया राजपाक्षमाथि आरोप लाग्ने गरेको छ । उनीमाथि एक छद्म सैन्य सङ्गठनलाई उनीहरूको हत्याका लागि आदेश दिएको आरोप लागेको छ ।

लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह

इजयाल । इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निशानाबाट ‘टाढा जान’ आग्रह गरेको छ ।

इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटीक’ आक्रमण गर्ने प्रतिबद्धता जनाएको छ।

इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले लेबनानका जनतालाई गरेको दुर्लभ अपीलमा भने, “हिजबुल्लाहले सैन्य प्रयोजनका लागि प्रयोग गर्ने भवन र क्षेत्रको छेउछाउमा रहेका लेबनानी गाउँका नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि तत्काल आफ्नो बाटोबाट बाहिर निस्कन आग्रह गर्दछौँं।”

उनले भने, “इजरायली सेनाको रक्षा बल (आईडीएफ) लेबनानमा आश्रय लिँदै आएका आतङ्कवादीविरुद्ध व्यापक आक्रमण गर्नेछ ।”

हगारीका अनुसार सेनाले सोमबार बिहानदेखि हिजबुल्लाह क्षेत्रमा थप आक्रमण सुरु गरेको छ । उनले भने, “यो आक्रमण निकट भविष्यमा पनि जारी रहनेछ ।”

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोगका बिरामीको चाप रहेको छ । अस्पतालमा डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो । 

अस्पतालका निर्देशक डा युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताए । उनले बिरामीको चापका कारण अस्पतालले शय्याको अभाव हुन थालेको बताए । उनका अनुसार डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् । 

अस्पतालका निर्देशक डा बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताए । तीमध्ये धेरै डेङ्गी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन् । भदौयता डेङ्गीका १९५, स्क्रब टाइफसका १३ र सर्पदङ्शका ७१ बिरामीले उपचार गरेका छन् । स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

मुसामा हुने किर्ना प्रायः झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । आजभोलि मानिस घाँसपात गर्न जाने गर्दछन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्दछ । चिकित्सकहरूका अनुसार मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन । 

धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अङ्गले काम गर्न छाड्नु, कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न जस्ता स्क्रप टाइफसका लक्षण हुन् । समयमा यसको उपचार गर्न नसकेपछि मिर्गौला, कलेजामा असर पर्ने अस्पतालका निर्देशक डा बसौलाले बताए । सय शैय्याको स्वीकृत पाएको अस्पताल अहिले ८५ शैय्यामा सञ्चालनमा रहेको छ ।

रविलाई पक्राउ गर्न माग गर्दै पोखरामा सहकारी पीडितको प्रदर्शन

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा सोमबार बिहानैदेखि पोखरामा प्रदर्शन भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीअगाडि सहकारीका पीडित बचतकर्ता र रास्वपाका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् । सहकारीपीडितले लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै कारबाही माग गरेका छन् भने रास्वपाका कार्यकर्ताले उनको बचाउ गर्दै नाराबाजीमा उत्रिएका हुन् ।

दुई पक्ष प्रदर्शनमा उत्रिएपछि त्यसक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी एवं लामिछानेको पूर्वसाझेदार छविलाल जोशी आइतबार पक्राउ परेपछि रवि पनि प्रहरी निगरानीमा परेका छन् ।

प्रहरीले पक्राउ गर्न लागेको खबरले रवि आइतबार मध्यरातसम्म पार्टी कार्यालयमा बसेका थिए भने ठूलो संख्यामा रास्वपाका नेता कार्यकर्ता पनि पार्टी कार्यालयमा भेला भएका थिए । रविलार्ई पक्राउ गर्न प्रहरीले अदालतबाट पक्राउ पुर्जीसमेत लिइसकेको बताइएको छ ।

पार्टी सभापति पक्राउ पर्ने खबर सार्वजनिक भएपछि रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोली चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किँदैछ ।

पूर्वडीआईजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

पोखरा । सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । जोशीलाई सोमबार दिउँसो अदालतमा उपस्थित गराइएको हो ।

आइतबार काठमाडौंबाट पक्राउ गरी जोशीलाई पोखरा ल्याइएको थियो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

समितिले गोरखा मिडियाका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको छानबिन समितिले फेला पारेको छ

प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान

काठमाडौँ ।  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गरेका छन् । एथेन्समा आयोजना हुने ३८ औंँ अन्तर्राष्ट्रिय लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर  त्यसतर्फ प्रस्थान गरेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादर कार्कीले जानकारी दिए ।

उनका अनुसार यही असोज ८ गतेदेखि १० गतेसम्म उक्त सञ्चालन हुने र उक्त सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य समेत सहभागी हुनेछन् ।

प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत प्रहरी वरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिदाइ गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

साक्षर घोषणा गर्न तोकिएका १२ सूचक पूरा भएपछि साक्षर घोषणा गरिएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

सिञ्जामा ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर रहेका छन् । गाउँपालिकाबाट शिक्षा शाखा प्रमुख शंकर धितालले भने, ‘जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रुपमा संकलन गरिएको तथ्यांकले साक्षर पालिका घोषणायोग्य देखिएपछि पालिकालाई साक्षर घोषणा गरिएको छ ।’

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्नसक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावना व्यक्त गर्नसक्ने जस्ता सूचक पूरा भएपछि सिञ्जालाई साक्षर घोषणा गरिएको शिक्षा शाखा प्रमुख धितालको भनाइ छ ।

हिमाको कूल १२ हजार आठ सय जनसङ्ख्यामध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९६ दशमलव पाँच प्रतिशत नागरिक साक्षर छन् । शिक्षक, सामाजिक परिचालक र कर्मचारी साक्षर नागरिकको तथ्यांक संकलनका लागि गाउँबस्तीमै पुगेर पालिकाको साक्षरदर सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको भनाइ छ ।

चन्दनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाइँले कूल २१ हजार ३६ जनसङ्ख्या रहेको नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत नागरिक साक्षर रहेको जानकारी दिए। गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसङ्ख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने तीन सय ८० जना मात्रै भेटिएका थिए ।

उक्त व्यक्तिलाई साक्षर बनाएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको चन्दननाथको शिक्षा शाखाले जनाएको छ । पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर रहेका छन् । साक्षर घोषणा गर्न तोकिएका १२ मध्ये छ वटा सूचक पूरा भएपछि साक्षरता घोषणा गर्न मिल्ने प्रावधानअनुसार स्थानीय तहलाई साक्षर घोषणा गरिएको पातारासीका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।

यहाँको कनकासुन्दरीभित्रका ९७ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। तोकिएका १२ सूचकमध्ये ५० प्रतिशत सूचक पूरा भएपछि साक्षर पालिका घोषणा गर्न मिल्ने ऐनअनुसार यहाँका स्थानीय तह धमाधम साक्षर घोषणा भइरहेका छन् ।

संविधान संशोधनको विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारी आवश्यक छः सभामुख घिमिरे

मोरङ । सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिएका छन् । 

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताए ।

त्यसअवसरमा उनले सङ्घीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको पनि बताए । सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी सङ्गठन सञ्चालनसम्बन्धी ऐन, शिक्षा ऐन निर्माण गर्न सकियो भने संविधान कार्यावन्यनमा देखिएका समस्या समाधान हुने बताए ।

उनले हालै अन्त्य भएको बर्खे अधिवेशनमा २० वर्षदेखि अधुरो रहेको शान्ति प्रकियालाई टुङ्गो लगाउने विधेयक पास गरेको, बजेट समयमै पास गरेको र सहकारीको रकम अपचलनका सम्बन्धमा गठित संसदीय विशेष छानबिन समिति गठन गरी प्रतिवेदन समेत सरकारलाई बुझाएकाले संसद्ले  प्रतिकुलताका बीच समयमा काम सम्पन्न गरेको बताए । 

जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’मा खटाएको छ ।  

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षण गर्नका लागि नेताहरुलाई जिम्मेवारी तोकेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी  दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा उपमहासचिव दीपक कार्की, लुम्बिनी प्रदेशमा उपाध्यक्ष राजकिशोर यादव, गण्डकी प्रदेशमा उपाध्यक्ष शिवलाल थापा मगरलाई खटाइएको छ । 

यसैगरी बागमती प्रदेशमा सचिव सुनी लामा, मधेस प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्य हरिनारायण यादव तथा कोसी प्रदेशमा सचिव राजकुमार राई र जयराम यादवलाई तोकिएको छ ।

पार्टीले खटाएका पदाधिकारी तथा कार्यकारिणी सदस्यले आ–आफ्नो प्रदेशमा रहेका केन्द्रीय कार्यकारिणी सदस्यका साथै प्रदेश समितिसँग समन्वय एवं सहकार्य गरी कार्य गर्न भनिएको तथा तोकिएका अभियानकर्मीले अभियानको प्रतिवेदनसमेत तयार पार्नुपर्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए । 

जसपा नेपालले चार महिने अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत आज पाँचथरमा अभियानकर्मी अभिमुखिकरणको आयोजना गर्न लागिएको  पार्टीले जनाएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि जसपा नेपालले काठमाडौँ, जनकपुर, वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा अभियानकर्मीको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको जनाइएको छ ।

श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाद्वारा राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण

कोलम्बो । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ ।

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहनुभएको थियो भने सन् २०२२ को आर्थिक सङ्कटको चरम अवस्थामा पदभार सम्हालेका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गरेका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहेका थिए ।

सन् २०२२ मा श्रीलङ्कामा आएको आर्थिक मन्दीका कारण आम श्रीलङ्कावासीले पीडादायी कष्ट भोग्नु परेपछि दिसानायकाको समर्थनमा वृद्धि भएको थियो ।

सांसदहरू, बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबीच ५५ वर्षीय दिसानायकाले प्रधान न्यायाधीश समक्ष शपथ ग्रहण गरेका हुन् । सपथ ग्रहणपछि दिसानायकाले भने, “जनताको राजनीतिज्ञप्रतिको विश्वास लाई पूर्ण रुपमा पुनस्र्थापित गर्न म सक्दो प्रयास गर्नेछु ।”

उनले भने, “म जादुगर होइन। मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु। त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।”

प्रधानमन्त्रीद्वारा राजीनामा
श्रीलङ्काको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायका निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिएका छन् ।

आफ्नो राजीनामा पत्रमा गुणवर्धनाले श्रीलङ्काको नवौं कार्यकारी राष्ट्रपतिको रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रीमण्डल गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिन लागेको उल्लेख गरेका छन् । दिसानायकाले चुनावमा विजय हासिल गरेपछि गुणवर्दनाले आइतबार राति नै उनलाई बधाई दिएका थिए ।

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबको भव्य स्वागत

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेर स्वदेश फर्किएको नेपाल पुलिस क्लबलाई सोमबार काठमाडौंमा भव्य स्वागत गरिएको छ।
सोमबार काठमाडौं आइपुगेको च्याम्पियन टोलीललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्याण्डबाजासहित भव्य स्वागत गरिएको हो ।
टोलीलाई नेपाल पुलिसका अफिसियल, नेपाल भलिबल संघका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।
माल्दिभ्सको मालेमा शनिबार भएको च्याम्पियनसिपको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको थियो ।

पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पुलिसले अपराजित रहँदै उपाधि जितेको हो ।
६ टोली सहभागि च्याम्पियनसिपमा लिगको पाँचै खेल जित्दै पुलिस शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको थियो ।फाईनलमा पनि सोही लय कायम राख्दै पुलिसले हुमोलाई हरायो ।

पुलिसले लिग चरणामा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० ले पराजित गरेको थियो भने माल्दिभ्सको वाम्को क्लबलाई ३-२ ले तथा माल्दिभ्सको माल्दिभ्स पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका समान १ तथा माल्दिभ्सको २ गरी कूल ६ टोलीको सहभागिता थियो ।

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य सोमबार तोलामा चार सय रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएका सोमबारका लागि  एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु एक हजार सात सयले बृद्धि भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ । आइतबार प्रतितोला एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ ।

नेपाल र इण्डोनेशियाबीच दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौता

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी  छन् । उनीहरु संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा अहिले अमेरिकाको न्युयोर्कमा छन् ।

मन्त्री डा राणाले आइतबार इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौतापत्रमा हस्ताक्षर पनि गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल र इन्डोनेसियाबीचका द्विपक्षीय हितका विविध विषयका साथै आगामी दिनमा आपसी सम्बन्धको विस्तार, विकासमा साझेदारीको पहल, जलवायु परिवर्तनको असर कमगर्न आपसमा हुनसक्ने सहयोग र सहकार्य जस्ता विषयमा कुराकानी भएको थियो ।

यसैगरी उनीहरुबीच नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवद्र्धनका क्षेत्रमा हुनसक्ने आपसी सहकार्य र लगानीका विषयमा पनि कुराकानी भएको थियो ।

त्यसअवसरमा नेपाल र इण्डोनेशियाबीच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्ट वाहकका लागि दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

सो सम्झौतापत्रमा नेपालका तर्फबाट मन्त्री डा राणा र इन्डोनेशियाका तर्फबाट विदेशमन्त्री मर्सुदीले हस्ताक्षर गरेका थिए ।

मन्त्री डा राणाले उक्त सम्झौताले इन्डोनेशियासँगको आपसी सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

त्यसैगरी मन्त्री डा राणाले हिजो नै बुरुन्डीका विदेशमन्त्री अल्बर्ट सिङ्गिरोसँग पनि द्विपक्षीय भेटवार्ता गरिन् । त्यस अवसरमा उनीहरुबीच आपसी सम्बन्ध र द्विपक्षीय हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

नेपाल र बुरुन्डी जलवायु परिवर्तनका कारण बढी प्रभावित दुई भूपरिवेष्टित देश रहेकाले जलवायु परिवर्तनको असर कम गर्ने कार्यमा मिलेर कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि मन्त्री डा राणाले कुराकानी गरेकी थिइन् ।

त्यस्तै आइतबार नै परराष्ट्रमन्त्री डा राणा र फिनल्याण्डका वैदेशिक व्यापार तथा विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच पनि न्युयोर्कमा भेटवार्ता भएको थियो ।

भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्याण्डबीच रही आएको मैत्रीपूर्ण र आत्मीय सम्बन्ध तथा सहकार्यको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक क्षेत्रमा फिनल्याण्डले पुर्याउँदै आएको सहयोगको सराहना गरेकी थिइन् ।

भेटमा दुई देशबीचका द्विपक्षीय हितका विविध विषयहरुका साथै आगामी दिनमा गर्न सकिने आपसी सहयोग र साझेदारीबारे पनि कुराकानी भएको थियो ।

दुई महिनामा ११४ मन्दिर, ११ हिटी, १० कुवा र ६ पोखरी सफाइ गर्‍यौँः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालने साहले चालु आर्थिक वर्षको दुई महिनामा ११४ वटा मन्दिर, १११ वटा हिटी, १० वटा कुवा र ६ वटा पोखरीको सफाइ भएको र ४ वटा हिटी पुनरुत्थान गरिएको बताएका छन् ।

सामाजिक संजालमार्फत सोमबार उनले सफाइसँगै मर्मत सम्भार, पुनर्निर्माण र पुनरुत्थानको काम नियमित भइरहेको उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘चालु आर्थिक वर्षको २ महिनाभित्र ११४ वटा सानाठूला मन्दिरको सरसफाइ भएको छ । गएको आर्थिक वर्षभरिमा ३३३ वटा सानाठूला मन्दिर सरसफाइ गरिएको थियो । महानगरपालिकाको स्वर्णिम योजना ‘सम्पदा मर्मत तथा संरक्षण’ कार्यक्रमअन्तर्गत मन्दिरहरूको सरसफाइ भएको हो ।’

सरसफाइ कार्यमा ४० जना अपाङ्गता भएका व्यक्तिहरू (बोल्न सुन्न नसक्ने) र ६० जना सिसडोलबासी रहेको उनको भनाइ छ । १० जना सबइञ्जिनियरलाई सुपरभाइजरले गराएको कामको सुपरीवेक्षण गर्ने जिम्मेवारी दिइएको उनले उल्लेख गरेका छन् ।

चुनावमा पराजित हुने कुरा सोचेको छैनः ट्रम्प

बीबीसी । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा पराजित भएमा सन् २०२८ मा पुनः चुनाव लड्ने नसोचेको बताएका छन् ।

लगातार तीनवटा चुनावमा रिपब्लिकन दलका तर्फबाट उम्मेदवार बनेका ७८ वर्षीय ट्रम्पले पछिल्लो आठ वर्षमा उक्त दललाई फरक स्वरूपको बनाएको रूपमा हेरिन्छ ।

सिन्क्लेअर मिडिया ग्रुपसँगको एक अन्तर्वार्तामा उनलाई डेमोक्र्याटिक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिससँग हारेको अवस्थामा अर्को प्रतिस्पर्धा हुन सक्ने सम्भावनाबारे सोधिएको थियो । ‘हुन्न। म त्यस्तो सम्भावना देख्दिनँ। मलाई लाग्छ… यही नै हो,’ ट्रम्पले भने। ‘म त्यस्तो सम्भावना कत्ति पनि देख्दिनँ।’ तर उनले थपे, ‘आशा छ, हामी निकै सफल हुनेछौँ।’

अमेरिकी कानुनले दुई कार्यकालभन्दा बढी समय राष्ट्रपति हुन रोकेको छ। त्यसैले उनी जितेको खण्डमा समेत सन् २०२८ मा पुनः चुनाव लड्ने छैनन् ।

कुनै बेलाका प्रभावशाली घरजग्गा व्यवसायी ट्रम्पले विगतमा पराजित हुन सक्ने सम्भावनाबारे बिरलै कुरा गर्थे। बरु उनले आफ्ना चर्का सम्बोधन र सोसल मिडिया पोस्टमार्फत् समर्थकहरूलाई जितको वाचा गर्थे । तर चार वर्षमा उनले दोस्रो पटक पराजयको सम्भावनाबारे उल्लेख गरेका हुन् ।

बिहीबार इजरायली–अमेरिकी काउन्सिलले आयोजना गरेको एक कार्यक्रममा उनले हारको कुरा निकाल्दै यदि त्यसो भए त्यो यहुदी मतदाताको भूलका कारण हुने बताए । ट्रम्पले हारको सम्भावनालाई हेर्न थाल्नुले कमला ह्यारिस उम्मेदवार भएपछि डेमोक्र्याटिक पार्टीको सम्भावना कसरी फेरिएको छ भन्ने झल्काउँछ ।

राष्ट्रपति जो बाइडन चुनावी अभियानकै बीचमा प्रतिस्पर्धाबाट पछि हटेपछि ह्यारिस उम्मेदवार बनेकी हुन् । ह्यारिसको अभियानले अगस्ट महिनामा १९ करोड अमेरिकी डलरभन्दा बढ्ता रकम चन्दा उठाएको छ जुन ट्रम्प र उनी सम्बद्ध संस्थाहरूका हकमा भने १३ करोड उठेको देखिन्छ ।

बीबीसीले गरिरहेको राष्ट्रिय मत सर्वेक्षणहरूको औसतमा ह्यारिस ट्रम्पभन्दा अगाडि देखिन्छिन् । सीबीएसले आइतवार सार्वजनिक गरेको राष्ट्रव्यापी मत सर्वेक्षणमा ह्यारिस करिब ५२ प्रतिशतसाथ अगाडि छन् भने ट्रम्पले ४८ प्रतिशत मत प्राप्त गरेका छन् ।

पर्वत अस्पतालले पाएन स्वास्थ्य बीमाको रकम 

पर्वत । लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै  तीन करोड भुक्तानी पाउन नसकेको हो ।


गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा डाइलाइसिसबापतको  दुई करोड ९५ लाख १७ हजार पाँच सय २२ रकम भुक्तानी लिन नसक्दा अस्पतालका अन्य सेवा प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए । 


अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको उनले बताए ।


स्वास्थ्य बीमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीको तलबभत्ता भुक्तानी तथा अन्य नियमित काममा समस्या परेको डा बाँस्तोलाले बताए । रकम भुक्तानीका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।


स्वास्थ्य बीमा गरेका बिरामी सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्छन्, उनीहरूलाई सेवा दिनैपर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको छ ।


अस्पताल व्यवस्थापन समितिको कोषवाट जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब सङ्कट सिर्जना हुन थालेको उनको भनाइ छ । 


“अहिले डेङ्गीको जोखिम छ, बिरामीले अस्पताल भरिभराउ छ, सरकारले दिएको डेङ्गी परीक्षण कीटले नपुगेर अस्पताल व्यवस्थापन समितिले आफैं खरिद गर्नुपर्ने अवस्था छ”, उनले भने, “सरकारबाट बीमाको रकम भुक्तानी नआउँदा खरिद प्रक्रियासमेत अवरोध भइरहेको छ ।”


पर्वतमा स्वास्थ्य बीमामा आबद्ध भएका झण्डै ४२ प्रतिशत नागरिकले अस्पतालबाट सेवा लिने गरेका छन् । सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए ।


स्वास्थ्य बीमा बोर्ड अस्पतालबाट प्राप्त बिल भर्पाइका आधारमा उक्त रकम स्वास्थ्य मन्त्रालयमा माग गरिएको भए पनि भुक्तानी नआउँदा अस्पताल सङ्कटमा पर्न थालेको उनको भनाइ छ । 


एक परिवारका लागि  तीन हजार पाँच सयको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले  एक लाख बराबरको बीमा रकम भुक्तानी दिने गर्दछ ।


पाँच जनाभन्दा बढी सदस्य रहेको साधरण परिवारको हकमा प्रतिसदस्य थप  सात सय योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा  एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम  दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ । 


अस्पतालमा पछिल्ला केही वर्षयता बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । अस्पतालको नयाँ भौतिक संरचना निर्माणसँगै १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएपछि बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढेको हो ।


आव २०८०/८१ मा झण्डै ६० हजार बिरामीको उपचार गरिएको पर्वत अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा बाँस्तोलाका अनुसार सीमित स्रोत र जनशक्तिका बीच बिरामी उल्लेख्य मात्रामा उपचारका लागि आएको बताए ।


उनका अनुसार आव २०७९/८० मा ५२ हजार चार सय ६६ जनाको उपचारका लागि आएका थिए भने त्यसभन्दा अघिल्लो वर्ष ३९ हजार बिरामीले सेवा लिएका थिए ।


अस्पतालबाट विशेषज्ञ सुविधासँगै ५० शय्यामा विस्तार भएपछि विगतका वर्षहरुमा भन्दा सेवाग्राहीको चाप ह्वात्तै बढेको छ । दुई वर्ष अगाडि दैनिक एकदेखि डेढ सय जानाको स्वास्थ्य परीक्षण हुने गरेकामा अहिले दैनिक करिब तीन सय पुगेको छ ।


भौतिक संरचना निर्माण र सेवा विस्तार भए पनि सरकारले ५० शय्याको अनुमति नदिँदा समस्या भइरहेको डा बास्तोलाले बताए । अस्पतालमा अझै बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञलगायतको अभाव रहेको उनको भनाइ छ ।


अहिले अस्पतालवाट नियमित स्वास्थ्य परीक्षणसँगै १० शय्याको डायलासिस सेवा, आँखा रोग, दन्त रोग, शल्यक्रियामार्फत सुत्केरी सेवा, हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिसलगायत सामान्य खालका शल्यक्रिया सेवा, इसिजी, एक्सरेलगायतका सेवा सञ्चालन भइरहेका छन् । 


दक्ष जनशक्तिकै अभावमा अस्पतालमा रहेका आइसीयू र भेन्टिलेटर विगत पाँच वर्षदेखि थन्किएका छन् । सरकारले जनशक्ति दिएर तिनलाई समेत प्रयोगमा ल्याउन पाए अस्पतालको विश्वास अझै बढ्ने डा बास्तोला बताउँछन् ।   

नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना र नेताहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।

पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भोगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिइएको हो । हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो ।

महाधिवेशनले तत्कालीन पोलिटब्यूरो कमिटीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो । केन्द्रीय १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य निर्वाचन प्रक्रियाबाट छनोट गरिएको थियो । केन्द्रीय सचिवालय गठन गर्न बाँकी रहेको पार्टीको सबै केन्द्रीय पदाधिकारीलाई स्थायी कमिटीमा लैजाने व्यवस्था छ ।

नेताहरुको जिम्मेवारी तथा कार्यविभाजन तोक्न पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने जनाइएको छ । कार्यदलले विभागीय नेतृत्वदेखि जिल्ला इन्चार्जसम्म तोक्ने छ ।

नेताहरूको कार्यविभाजनपछि देशभर सङ्गठन सुदृढीकरणका कार्यक्रम तथा भेला, प्रशिक्षण सञ्चालन गरिने सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

धनुषामा प्रहरी हिरासतबाट ८ थुनुवा फरार

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट आठ जना थुनुवा फरार भएका छन् । सोमबार बिहान करिब ३ बजेतिर हिरासत कक्षको भेन्टिलेसन फोडेर उनीहरु फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् ।

हिरासत कक्षमा रहेका ९ जना थुनुवा भेन्टिलेसन फोडेर निस्किएका थिए । जसमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएका सबै थुनुवाहरु लागू औषध र चोरी मुद्दाका थिए ।

फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार, अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा सहभागी हुने कार्यक्रम असुरक्षाका कारण स्थगित

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सहभागी हुने तय भएको एक कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

नेपाली महावाणिज्य दूतावास, न्युयोर्कले सूचना जारी गरी कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । ओली र राणाको व्यस्तता तथा समारोहस्थलको सुरक्षा संवेदनशीलताका कारण कार्यक्रम स्थगित भएको जनाइएको छ ।

सूचनामा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनुपरेको र समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझावसमेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगत गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’

नेपालले क्यानडालाई दियो एक सय ८२ रनको लक्ष्य

काठमाडौँ ।  आइसीसी एक दिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले क्यानडालाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ । 

क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो । 

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ४८ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ४९ रनको योगदान गरेका हुन । सन्दीपको एकदिवसीय करियरको यो उत्कृष्ट ब्याटिङ हो । यस अघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए ।

त्यसैगरी गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भिम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए । 

बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हरर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र साद विन जफरले समान एक एक विकेट लिए ।

मध्यरातमा रविले प्रधानमन्त्रीलाई भने-न्युयोर्कबाट फर्केर आउनुस्, बसेर कुरा गरौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीई न्युयोर्कबाट आँखा नसन्काउन चेतावनी दिएका छन् ।

आइतबार मध्यरातमा सामाजिक संजालमार्फत लामिछानेले सहकारी पीडितलाई न्याय नियत भए वार्ता गर्न आफू तयार रहेको बताएका हुन् । उनले त्यसका लागि आफूले रुम मिलाउने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु, फर्केर आउनुस् , बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि…।’

मलाई कहाँ लानुहुन्छ, लैजानुहोस्, म जहाँ पनि जान तयार छुः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको बताएका छन् । आइतबार राति पार्टी कार्यालयमा भेला भएका पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू मान्छे बेचेर राजनीतिमा नआएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

उनले आफू कानुनी, नैतिक र राजनीतिक रुपमा स्वच्छ रहेको दाबी गरे । उनले भने, ‘सबैलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन । बेचेका मान्छेलाई बचाएर राजनीतिमा आएको हो । संसदीय समितिले छानबिनका क्रममा काहीँ कतै कुनै पनि किसिमको संलग्नता छैन भन्छ । म भागेर लुकेर डराएको होइन। म भागेको पनि छैन लुकेको पनि छैन।’

उनले कसैको राजनीति बचाइदिनका लागि मैले बलि चढिदिनुपर्ने भन्दै प्रश्न गरे । उनले भने, ‘मैले हिजो पनि भनेको थिएँ । मलाई कहाँ लानुहुन्छ ? लैजानुहोस् म जहाँ पनि जान तयार छु । छानबिनका लागि सघाउन ।’

उनले आफू हिजो पनि अन्यायको शिकार भएको बताए । उनले दुई तिहाईको सरकारको ध्यान बचत फिर्ता गर्नु भन्दा पनि रवि लामिछानेलाई जेल पठाउनेमा रहेको बताए ।

उनले भने, ‘यो सरकारको ध्यान बचत फिर्ता गराउनेमा छैन, रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ ।’

उनले यो सरकारले आफूलाई जुनसुकै बेला पक्राउ गर्न सक्ने भन्दै कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । उनले भने, ‘यो सरकारको मलाई भरोसा छैन । तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन थुनामा राख्ने अनुमति दिएको छ । आइतबार दिउँसो पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले तीन थुनामा राख्न अनुमति दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् । प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।

रवि लामिछाने प्रहरीको निगरानीमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ पर्ने खबर फैलिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएको छ ।

काठमाडौं उपत्यकाकाभित्र रहेका कार्यकर्तालाई रास्वपाले वनस्थलीस्थिल केन्द्रीय कार्यालयमा बोलाएको हो । पार्टीले बोलाएपछि कार्यकर्ताहरू केन्द्रीय कार्यालयमा भेला भएका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले लामिछानेलाई कारबाही सिफारिस गरेको छ । आजै रविका तत्कालीन साझेदार छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ । जोशी पक्राउ परेपछि लामिछाने पनि आजै पक्राउ पर्ने खबर फैलिएको छ ।

ट्रम्पद्वारा ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार

वासिङटन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो प्रतिष्पर्धी वर्तमान उपराष्ट्रपति कमला ह्यारिससँगको दोस्रो प्रत्यक्ष बैठकको प्रस्ताव अस्वीकार गरेका छन् ।

उनले केही राज्यहरूमा पहिले नै प्रारम्भिक मतदान भइरहेको हुनाले बहसका लागि ‘धेरै ढिलो’ भइसकेको बताए ।

ट्रम्पले प्रस्ताव अस्वीकार गरेको अघिल्लो दिन ह्यारिसले अक्टोबर २३ को बहसका लागि प्रसारणकर्ता सिएनएनको निमन्त्रणा स्वीकार गरेको बताएकी थिइन् । यदि बहस भएमा सेप्टेम्बर १० मा भएको प्रत्यक्ष बहसपछि दुई प्रतिष्पर्धी उम्मेद्वारबीचको यो दोस्रो बहस हुनेछ ।

“अमेरिकी जनतासँग उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पको अर्को बहस हेर्न पाउने अधिकार छ,” ह्यारिसको चुनावी अभियानका अध्यक्ष जेन ओमाले डिलनले एक विज्ञप्तिमा भनेका छन् ।

“मलाई आशा छ ट्रम्प मसँग बहसमा सामेल हुन तयार हुनुहुनेछ,” ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेकी थिइन् ।

उत्तरी क्यारोलिनाको एक चुनावी र्यालीमा ट्रम्पले आफू बहसका लागि इच्छुक रहेको तर केही राज्यहरूमा प्रारम्भिक मतदान सुरु भइसकेकाले धेरै ढिला भइसकेको बताएका थिए ।