‘मौलिक सभ्यता पुनःजागरणमा गुरुकुलको भूमिका महत्वपूर्ण’ पर्यटनमन्त्री पाण्डे


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनःजागरण गर्ने काममा गुरुकूल लाग्नुपर्ने बताउनुभएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित कान्ति भैरव गुरुकुलले यहाँ आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’ शुभारम्भ समारोहमा उहाँले गुरुकुलकालीन शिक्षाका माध्यमबाट दार्शनिक चाणक्यले मानिसलाई ब्युँझाएजस्तै भूमिका अहिलेका गुरुकूलले खेल्नुपर्ने बताउनुभएको हो ।
पर्यटनमन्त्री पाण्डेले नेपालको संस्कृति र प्रकृति विश्वलाई देखाएर यहाँको पर्यटन प्रवद्र्धन गर्न सकिने बताउँदै त्यसतर्फ मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो । “संस्कृत विश्वविद्यालय जुन उद्देश्यका लागि स्थापना भएको हो, त्यसअनुसार काम हुन सकेको छैन, संस्कृत विश्वविद्यालय भौतिक सम्पत्ति भएको संस्था हो, त्यसको सदुपयोग गरिनुपर्छ, पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमलाई महाविद्यालयका रुपमा स्थापित गर्न गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।
उहाँले नेपाल संस्कृत विश्विद्यालयका विद्यार्थीहरु अहिले विश्वमै उत्कृष्ट ठहरिएका विश्वविद्यालयमा संस्कृत प्राध्यापन गरिरहेको बताउनुभयो । संस्कृतको उन्नयनमा जयतु संस्कृतम् संस्थाको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।
पर्यटनमन्त्री पाण्डेले नेपाल वेद र बुद्ध दुवैको भूमि भएकाले दुवै ज्ञानको केन्द्रका रुपमा यसलाई विश्वमा स्थापित गर्न सकिने बताउनुभयो । पछिल्लो समय भौतिकभन्दा आध्यात्मिक पक्ष महत्वपूर्ण हुँदै गएकाले सभ्यता, संस्कृति, पूर्वीय साहित्य र संस्कृत भाषाको गरिमाबाट समाजलाई प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो ।