चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या


काठमाडौँ । चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या आएको छ । धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको हो । त्यसले गर्दा किसानले लगानी उठाउन नसकेको गुनासो गरेका छन् ।
अघिल्लो वर्ष करिब दुई लाख मेट्रिकटन धान उत्पादन हुँदा बजारको मागअनुसार आपूर्ति हुनसकेको थिएन । चालु आर्थिक वर्षमा करिब चार लाख मेट्रिकटन धान उत्पादन भएको अनुमान गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले गत वर्ष धानको बिक्री गरी किसानले राम्रो आम्दानी गरेकाले यस वर्ष दोब्बर उत्पादन गरेकाले भण्डारण तथा बिक्रीवितरणमा समस्या आएको बताए ।
सरकारले गत वर्ष प्रतिक्विन्टल दुई हजार ८०८ रुपैयाँ समर्थन मूल्य तोकेको थियो । धानको नयाँ जात, बीउबिजन, सिँचाइ प्रणाली, उत्पादन लागतको मूल्याङ्कन गरी सरकारले समर्थन मूल्य तोक्ने व्यवस्था छ । अहिले प्रतिक्विन्टल एक हजार ८०० रुपैयाँमा सामान्य बिक्री भएको जनाइएको छ ।
धान समर्थन मूल्यमा खरिद गरी भण्डारण तथा बिक्री गर्न कृषि मन्त्रालयअन्तर्गत उद्योग मन्त्रालयमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पत्रचार गरेको छ । यसो गर्दा नपुग रकम अर्थ मन्त्रालयमार्फत उपलब्ध गराउन तयारी गरिएको छ ।
तराई तथा भित्री मधेसका करिब ३५ जिल्लामा धानबाली पाकेर भित्राउने तयारी गरिएको छ । एक लाख ३० हजार हेक्टर जमिनमा धानखेती गरिएको छ । चालु आर्थिक वर्षमा प्रतिक्विन्टल दुई हजार ८५८ रुपैयाँ समर्थन मूल्य तोकेको छ ।
अखिल नेपाल किसान महासङ्घका इन्चार्ज बलराम बाँस्कोटाले चैते धानले किसानको लगानी पनि नउठेको गुनासो गर्दै सरकारले अविलम्ब त्यसको विकल्प खोज्नुपर्ने विचार व्यक्त गरे ।