नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला सञ्चालन


ललितपूर । नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला ललितपूरको मानभवनमा सुरु भएको छ । स्विस सरकार विकास सहयोग (SDC) अन्तर्गत रहेको स्थानीय सडक पुल सहयोग इकाई (LRBSU) को आयोजनामा मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला मानभवको क्रिस्टल ब्याङ्क्वेटमा सञ्चालन भैरहेको छ ।
प्रदर्शनी मेला मंगलबार र बुधबार सर्वसाधारणका लागि खुला गरिएको छ । यस मेलाले नेपालमा पुल निर्माण प्रविधिको विकास र दीर्घकालीन पूर्वाधार सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिएको इन्जिनियर हरिशंकर जोशीले बताए । प्रदर्शनी मेलाले इन्जिनियरिङ अध्ययन, अभ्यास र नवप्रवर्तनमा नयाँ ढोका खोल्ने उनको भनाई छ ।
यसले निर्माण व्यवसायमा आबद्ध निकाय, विशेषज्ञ र विद्यार्थीहरूबीच ज्ञान आदानप्रदानको अवसर सिर्जना गर्नुका साथै आम नागरिकमा पुल निर्माणप्रति चासो र समझदारी बढाउने अपेक्षा गरिएको छ । आयोजक संस्थाले प्रदर्शनीमार्फत प्राप्त हुने सुझाव र अनुभवहरू आगामी योजनामा उपयोग गरिने जनाएको छ ।
आयोजक संस्थाका प्रमुख शकिल मानन्धरका अनुसार प्रदर्शनीमा पुल निर्माणमा प्रयोग भइरहेको नवीनतम प्रविधि र मोडेलहरू, पुलसम्बन्धी डकुमेन्टरी, डिजाइन ज्ञान तथा देशभर निर्माण भएका पक्की पुलहरूको फोटो प्रदर्शनी समावेश गरिएको छ ।
मंगलबार शहरी विकास मन्त्रालयका सहसचिव गणेश प्रशाद वस्तीको अध्यक्षतामा भएको दुई दिने प्रदर्शनीको उद्घाटन समारोहमा नेपालका लागि स्विस राजदूत डा. डेनियल मेउली प्रमुख अतिथी रहेकी थिईन् ।
उद्घाटन समारोहमा बोल्दै राजदूत मेउलीले दिगो साझेदारी र यसको परिवर्तनकारी प्रभावको प्रशंसा गरिन् । “यो सहकार्यले विकासको सारलाई मूर्त रूप दिन्छ, जहाँ साँझा विशेषज्ञता र प्रतिबद्धताले मानिसहरूलाई मूर्त लाभ पु¥याउँछ ।” उनले भनिन’ । राजदुत मेउलीले स्थानीय सडक पुल कार्यक्रम १४ वर्षअघि नेपाल सरकारको अनुरोधमा सुरु गरिएको उल्लेख गरे । यस कार्यक्रमले आफ्ना ४ चरण पार गरेकोमा प्रशंसा गर्दै सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभाग, सातै प्रदेशका भौतिक मन्त्रालयहरू र कार्यक्रम टोलीलाई उनीहरूको उपलब्धिको लागि बधाई र्दिएकी छिन् ।
मन्त्रालयका सहसचिव वस्तीले नेपालको पुल क्षेत्रमा झोलुङ्गे र मोटरेबल पुल दुवैको लागि निरन्तर सहयोगको लागि स्विस विकास तथा सहयोग एजेन्सी (SDC) लाई धन्यवाद व्यक्त गरे । उनले कार्यक्रम मार्फत निर्मित र हस्तान्तरण गरिएको प्राविधिक विशेषज्ञता र संस्थागत ज्ञानले आगामी वर्षहरूमा यस क्षेत्रलाई स्वतन्त्र रूपमा व्यवस्थापन गर्ने दिशामा नेपाल अगाडि बढ्दै जाँदा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
मेलामा सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवहरू, सडक विभाग, स्थानीय पूर्वाधार विकास विभाग, स्केप नेपाल, निर्माण व्यवसायी संघ, शैक्षिक संस्था, इन्जिनियर, विज्ञ, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति रहेको छ ।